• वि.सं २०८१ चैत १८ सोमबार
  • Monday, 31 March, 2025
पवन बराइली
२०८१ चैत ९ शनिबार १०:४८:००
सम्झना

०१५ सालको आमनिर्वाचनमा पुष्पलालको चुनाव चिह्न बनाउँदा...

२०८१ चैत ९ शनिबार १०:४८:००
पवन बराइली

 

मामा पुष्पलालले खैरो रंगको एक चाङ कागज दिनुभयो र चुनाव चिह्न ‘तीन घोगा मकै र हँसिया’ कोर्न भन्नुभयो

 

वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठ प्रतीकात्मक चित्र बनाउँछन् । उनले दर्जनौँ प्रतीकात्मक चित्र बनाएर धेरैको मन जितेका छन् । क्यानभासको आर्ट पेपरमा चित्र बनाउँछन् । उनी कविसमेत भएकाले मनका भावनालाई सरल र सहज ढंगले क्यानभासमा उतार्छन् । उनले बनाएका चित्र अरूका भन्दा पृथक् हुन्छन् । चित्रमा मौलिकता पस्किनु उनका विशेषता नै हुन् । उनले क्यानभासमा रुखका जरा टाँसेर प्रतीकात्मक चित्र बनाएका छन् । भित्तामा परेका चिराले नै कलाकार बन्ने प्रेरणा मिलेको उनी बताउँछन् । कलाकार श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँगको सामीप्य यसरी सम्झिए :

 

सानैदेखिको कल्पनाशील स्वभावले म कला र साहित्यसँग नजिक बनेँ । विद्यालयमा पढ्दैदेखि पेन्टिङ गर्थें । त्यही बाल स्वभावलाई निरन्तरता दिँदै कलामा घोत्लिन थालेको ५० वर्ष नाघेको छ ।

 

०३२ सालको कुरा हो । त्यतिवेला विराटनगरमा लामै समय ओछ्यान परेँ । ओछ्यानबाट चिरा परेका भित्तामा अनेक आकृति देख्थेँ । घरमा दाउरा बाल्न ल्याएको काठको थुप्रोमा बेग्लै आकृति देख्थेँ । फ्याँकिएका काठका टुक्रा, रुख र जरालाई समेत कलामा परिणत गर्न थालेँ । 

 

स्मरणीय विषय, मैले पुष्पलाल श्रेष्ठको चुनाव चिह्न पेन्टिङ गरेको छु । नाताले पुष्पलाल मेरो मामा पर्नुहुन्छ । मेरी आमा र उहाँ (ठुलोबुबाको छोरा) दाजुबहिनी हुन् । ०१५ सालको आमनिर्वाचनमा उहाँ उम्मेदवार हुनुहुन्थ्यो । त्यतिवेला पुष्पलाल र गणेशमान सिंहले काठमाडौंको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए । त्यसवेला म ११ वर्षको थिएँ । मामा पुष्पलालको भाइ तोरणलाल र मलाई चुनाव चिह्न बनाउन लगाइएको थियो । त्यतिवेला म राम्रो चित्र बनाउन नसक्ने भए पनि चित्र बनाउन रहर गर्थें । मामाले खैरो रंगको एक चाङ कागज दिनुभयो र त्यसमा हँसिया र तीन घोगा मकैको चिह्न बनाउन भन्नुभयो । अहिलेजस्तो त्यसवेला पेन्टिङ गर्ने ब्रस हुँदैनथ्यो । हामी अम्रिसोको कुचोको डाँठमा कपडा बेरेर चित्र बनाउँथ्यौँ । कागज भने भारतबाट आउँथ्यो । रंग यहीँ काठमाडौंमै किन्न पाइन्थ्यो ।

 

वनारसमा भान्जाहरू नरेन्द्रबहादुर श्रेष्ठ र गौतमदास श्रेष्ठको बिचमा पुष्पलाल श्रेष्ठ

 

उहाँको चुनाव चिह्न पनि कुचोको डाँठमा रातो रङमा चोप्दै खैरो कागजमा बनायौँ । पहिलोपटक हँसिया र सँगै तीन घोगा मकैको चित्र बनायौँ । त्यतिवेला चुनाव चिह्न मात्रै होइन, भोट भाग्ने नारा पनि लेखेको थिएँ । उहाँको भाइ (तोरणलाल) र मैले झन्डै १५ दिन चुनावको पोस्टर बनायौँ । तर, मलाई पार्टीले चुनाव चिह्न बनाउन लगाएको होइन । पेन्टिङमा रुचि राख्ने भएकाले लगाउनुभएको हो ।

 

हातले बनाएको चुनावी पोस्टर निर्वाचन क्षेत्रमै पुर्‍याउनुपर्थ्यो । त्यो पोस्टरलाई पिठोको माडले भित्तामा टाँसिन्थ्यो । एउटा टोललाई ३–४ वटा पोस्टर छुट्याइन्थ्यो । अहिलेजस्तो त्यसवेला प्रेसहरू थिएनन् । उहाँहरूसँग भारतबाट पर्चा र पोस्टर छाप्ने खर्च पनि थिएन होला । 

 

त्यसवेला कांग्रेसले भने चुनाव चिह्न रुख र ब्ल्याक एन्ड ह्वाइट पोस्टर भारतबाटै छापेर ल्याएको थियो । कम्युनिस्ट पार्टी भएकाले पुष्पलालहरूसँग पैसा थिएन भन्ने पछि थाहा पाएँ । 

 

पुष्पलालहरूको चुनाव प्रचारका लागि एउटा मान्छे बोक्ने जिप पनि थियो । म पनि चुनाव प्रचार–प्रसारमा हिँड्थेँ । चुनाव प्रचारसँगै मञ्चहरूमा समेत पुग्थेँ । चुनाव प्रचारमा हिँड्दा खाजा–खाना पाइन्थ्यो । मलाई रमाइलो पनि लाग्थ्यो । 

 

चुनाव प्रचारका लागि काठमाडौंका चोकचोकमा मञ्च बनाइन्थ्यो । त्यहाँ सबै नेताले भाषण गर्थे । लैनचारको दुग्ध विकास संस्थानअगाडि स्टेज बनाएको मलाई अझै याद छ । चारतिर काठको खम्बा राखेर मण्डली बनाइएको थियो । खुला आकाशमुनि स्टेज हुन्थ्यो । दुई–तीन फिटको उक्लिने भर्‍याङ हुन्थे । मञ्चमा काठका कुर्सी हुन्थे । त्यही कुर्सीमा गणेशमान, पुष्पलालहरू बस्थे । अहिलेका नेतालाई जस्तो सोफा राखिँदैनथ्यो । मञ्चको चारैतिर स्पिकर (ढङ) राखिन्थ्यो । पालैपालो आफ्नो चुनावको घोषण पत्र पढ्थे ।

 

अहिले कांग्रेस र कम्युनिस्टको फरक–फरक मञ्च हुन्छ । त्यसवेला सबै नेताले एउटै मञ्चबाट चुनावको घोषणपत्र भन्थे । एउटै मञ्चबाट नेता केआई सिंह, पुष्पलाल र गणेशमान सिंह भाषण गर्थे । केआई सिंहले चुनाव प्रचारमा पुष्पलाल र गणेशमानलाई व्यंग्य गर्थे । केआई सिंहको चुनावी नारा ‘धानको बाला झुल्यो हजुर दसैँ रमाइलो, केआई सिंहको जुंगा देखेर सबै रमायो’ थियो । केआई सिंहले यो नारा भनेपछि मात्रै भाषण सुरु गर्थे । त्यसवेला केआई सिंहको पार्टीको चुनाव चिह्न धानको बाला थियो । केआई सिंहले जुंगा पालेका थिए । त्यसवेला एउटै मञ्चमा फरक–फरक पार्टीका नेताले भाषण गरे पनि एक–अर्कालाई गाली गरेको सुनिँदैनथ्यो । 

 

मामा (पुष्पलाल)ले चुनावमा थोरै मतले हार्नुभयो । कांग्रेसका गणेशमानले जित्नुभयो । कांग्रेसले विजय जुलुस निकाल्यो । हामी त्यतिवेला क्षेत्रपाटीमा बस्थ्यौँ । गणेशमानले सयपत्रीको माला लगाएका थिए । कर्यकर्ताले विजयको नारा लगाउँदै आए । हाम्रो (पुष्पलालकी दिदी मेरी आमा सुभद्राको) घर क्षेत्रपाटी भएको थाहा पाएपछि जुलुस आयो । हाम्रो घरअगाडि आएर ‘यो जित कसको ? वीर गणेशमानको’ भन्दै नाराबाजी गरिरहे । 

 

अनि पुष्पलालको वेश फेरिएको देखेँ 

 

१ पुस ०१७ मा तत्कालीन राजा महेन्द्र शाहले ‘कु’ गरी शासन सत्ता आफ्नो नियन्त्रणमा लिए । कांग्रेस नेता बिपी कोइराला र गणेशमान सिंहलाई जेल हाले । त्यसपछि पुष्पलाल भूमिगत हुनुभयो । ०१७ सालकै कुरा हो । हिउँदको वेला थियो । त्यसवेला काठमाडौंका चोकचोकमा भागवत, महाभारत, रामायणजस्ता पौराणिक कथा सुनाइन्थ्यो । कथा सुन्न प्रत्येक घरका मान्छे भेला हुन्थे । म पनि कथा सुन्न टोलतिर (क्षेत्रपाटी घरनजिकै चोक) निस्किन्थेँ । हामी (पुष्पलालकी दिदी मैया, म र भाइ गौतमदास श्रेष्ठ) कथा सुन्न जाँदै गर्दा एक दिन बाटोमा मामा पुष्पलाललाई देखेँ । म ‘पुष्पलाल मामा...’ भन्दै चिच्याएँ । म चिच्याएपछि कथा सुन्न भेला भएका मान्छे हेर्न थाले । त्यसपछि मामा गायब हुनुभयो । त्यसवेला उहाँको वेश परिवर्तन (भूमिगत) भइसक्नुभएको थियो । उहाँले घुँडासम्म कछाड, चप्पल, कालो स्टकोट, दाह्री पालेको, चस्मा र कालो टोपी लगाउनुभएको थियो । राजा महेन्द्रको ‘कु’पछि उहाँ भारतमा निर्वासित हुनुभयो होला भन्ने लागेको थियो । तर, उहाँलाई काठमाडौंमै देख्दा छक्क पर्‍यौँ । उहाँलाई पक्रन प्रहरीले धेरै कोसिस भएको रहेछ । सोही कारण वेश बदलेर हिँड्नुभएको रहेछ ।

 

त्यति वेला पुष्पलाल मामा टुम्बहालमा डेरा लिएर बस्नुहुन्थ्यो । राजा महेन्द्रको ‘कु’पछि उहाँले आफन्तहरूसँग भेटघाट गर्न छोड्नुभएछ । पछि गुप्तचरले उहाँमाथि चासो राख्न थालेपछि भारततिर लाग्नुभयो । मेरो आमा र ठुलीआमा उहाँलाई तिहारमा भाइटीका लगाउनसमेत वनारस नै जानुहुन्थ्यो ।

 

पुष्पलालको डेराअगाडि प्रहरी देखेपछि...

 

०२८ सालमा म विराटनगर गएँ । मेरो दाजु राजेन्द्रबहादुर श्रेष्ठ विराटनगरको सुगर मिलमा काम गर्नुहुन्थ्यो । म पनि काम गर्न विराटनगर पुगेँ । ०३३ सालमा मेरो विवाहपछि श्रीमती (निरु)लाई लिएर हनिमुन मनाउन भारतको वनारस गएँ । पुष्पलाल मामा पनि वनारसमै हुनुहुन्छ भन्ने थाहा थियो । वनारस पुगेपछि उहाँ बस्ने ठाउँ सोधखोज गरेँ । उहाँ वनारसको दशपुत्र गल्लीमा बस्नुहुँदो रहेछ । 

 

मेरो उहाँसँग ०१५ सालपछि एकैचोटि २०३३ सालमा भेट भएकाले झन्डै चिन्नुभएन । उहाँलाई भान्जीबुहारी चिनाउन आएको बताएँ । मैले श्रीमतीलाई परिचय गराएँ । संखुवासभा चैनपुरका मदनप्रसादकी बहिनी मात्रै के भनेको थिएँ, उहाँले त्यसो भए त निरु मेरो भान्जी बुहारी होइन, बहिनी हो’ भन्नुभयो । एकछिन उहाँको डेरामा हाँसोठट्टा गर्‍यौँ । 

 

ज्वाइँसँग पुष्पलाल श्रेष्ठ र सहना प्रधान वनारसमा 

 

मामाको कोठामा एक–डेढ घन्टा बस्यौँ । त्यसबिच उहाँले चिया खाऊँ समेत भन्नुभएन । तर, हिँड्ने वेला भोलि बिहान ८ बजे चिया खाना आउन निम्तो दिनुभयो । त्यसपछि हामी होटेल फर्कियौँ ।

 

भोलिपल्ट बिहान म र निरु पुष्पलालको कोठामा जाँदै थियौँ । हामीले पुष्पलालको कोठाअगाडि ८÷१० जना प्रहरी उभिएको देख्यौं । प्रहरी देख्नेबित्तिकै मलाई डर लाग्यो । पुष्पलाललाई समात्न प्रहरी आएका पो हुन् कि भन्ने शंका लाग्यो । कोठाभित्र छिर्ने आँट आएन, बाहिरैबाट फर्कियौँ । त्यसवेला भारतमा इन्दिरा गान्धी नेतृत्वको सरकारले संकटकाल लगाएको थियो । 

 

फर्किने वेला रिक्सा चढेका थियौँ, त्यही रिक्सामा भारतका युवानेता चढेका रहेछन् । छोटो गफगाफ भयो । सोही क्रममा आफू पुष्पलालको भान्जा भएको र भेट्न आएको बताएँ । पुष्पलालाई भेट्न गएको प्रहरी देखेपछि कोठामा छिर्न डर लाग्यो भनेँ । उहाँले हास्दै भन्नुभयो, ‘त्यहाँ स्कुलको परीक्षा केन्द्र छ । त्यसैले प्रहरी गार्ड बस्न आएका हुन् ।’ त्यहाँ एउटा स्कुल रहेछ । 

 

त्यसपछि हामी केहीबेर घुमेर फेरि गयौँ । यतिवेलासम्म अपराह्नको ४ बजिसकेको थियो । कोठामा पुग्दा मामा रिसाउनुभयो । उहाँले पर्खंदापर्खंदै हैरान भएएको र बिहान किन नआएको भनेर प्रश्न गर्नुभयो । मैले पखला लाग्यो भनेर बहान बनाएँ । सत्य बोल्न आँट आएन ।

 

                            ०००                                      ०००

 

०३५ सालमा पुष्पलालकी छोरी उषाको वनारसमै विवाह गर्ने टुंगो लागेछ । पुष्पलाल नेपाल आउन सक्ने अवस्था थिएन । विवाहका लागि नेपालबाट परिवार र आफन्त जाने सल्लाह भयो । विवाहमा मेरो आमा (सुभद्रा)सहित म पनि गएको थिएँ । आमालाई पुष्पालाल (मामा)ले मेरो भेटको प्रसंग निकाल्दै भन्नुभयो, ‘नरेन्द्र भान्जा त फटाह पो रहेछन् दिदी । बिहान ८ बजे चिया खान बोलाउँदा आएनन् । अघिल्लो दिन मसँग पैसा थिएन । त्यसैले भोलिपल्ट चिया खाना बोलाएको थिएँ । साथीहरूसँग १० रुपैयाँ खोजेर चियाको व्यवस्था गरेको थिएँ । तर, उनीहरू दिनभरि बस्दा पनि आएनन् ।’ त्यतिवेला पनि रमाइलो भयो । उहाँ भूमिगत जीवन बिताइराख्नुभएको थियो । त्यसैले उहाँको जीवन समान्य थियो । मलाई अझै याद छ, उहाँले छोरी उषाको विवाहमा सुट लगाउनुभएको थियो । ढाका टोपी पनि लगाउने चलन थियो । तर, उहाँको ढाका टोपी थिएन । मैले उहाँलाई आफ्नै ढाका टोपी लगाउन दिएको थिएँ ।

 

हामी (म र श्रीमती) पहिलोपटक उहाँ (पुष्पलाल)लाई भेट्न जाँदा चिया नखुवाएको कारण पत्ता लगाएँ । पुष्पलाल र साथीहरू दुई–तीन दिनसम्म भोकभोकै बसेको पनि थाहा पाएँ । मामाहरू त्यसवेला धर्मशालातिर जाने र नेपालका चिनेका मान्छेसँग दुई–चार रुपैयाँ मागेको पैसाले चना खाएर गुजारा गर्नुहुन्थ्यो रे ! मलाई पछि पुष्पालालका साथीहरू बलराम उपाध्याय र गोविन्द ज्ञवालीले सुनाए । 

 

बहिनी उषाको विवाहपछि हामी सबैजना नेपाल आयौँ । उहाँको आर्थिक अवस्था कमजोर भएको थाहा पाएँ । म विराटनगरमै काम गर्ने भएकाले महिनाको दुई सय भारतीय रुपैयाँ जोगबनी पुगेर पठाउँथेँ । मैले ६ महिनासम्म पैसा पठाएँ ।