
२०२३ को सुरुमा आफूमाथि फौजदारी अभियोग लगाइएदेखि नै ट्रम्पले विपक्षीलाई निसाना बनाउँदै आएका छन्
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि धेरै उल्लेखनीय कार्यको पहिचान गर्न गाह्रो छ । यस्तै कार्यमध्ये युक्रेन युद्धमा हालैको रुसी अडानले धेरैको ध्यान तानेको छ । ट्रम्पले प्रशासन सम्हालेपछि भएका धेरै गतिविधिमा उनको भूमिका भए पनि कतिपय जानकारीमै छैनन् । यस्तै, एउटा विषय हो, डिपार्टमेन्ट अफ जस्टिस (डज) माथिको राजनीतीकरण ।
लामो समयसम्मको कार्यसञ्चालनमा डज राजनीतिक रूपमा तटस्थ रहेको नजिर रहे पनि पछिल्ला घटनाक्रमले त्यो परम्पराबाट नाटकीय रूपमा विच्छेद भएको संकेत गरेका छन् । महत्वपूर्ण विषय त इतिहासभरका अधिनायकवादी सरकारले प्रयोग गरेको प्रचार रणनीति अनुसरण गरेर ट्रम्पले करिब दुई वर्षदेखि यसलाई औचित्य दिन आधार तयार पार्दै आएका थिए ।
यसमा ट्रम्पका गलत कार्यमाथि अनुसन्धान गरिरहेका विशेष वकिल ज्याक स्मिथको कार्य पनि समावेश छ, जुन अहिले रोकिएको छ । वर्तमान प्रशासनले अहिलेका राष्ट्रपतिको पूर्वअनुसन्धान र अभियोजनमा संलग्न जोकोहीलाई बर्खास्त गर्ने वा किनारा लगाउने प्रयास गरिरहेको छ । धेरै वकिललाई बर्खास्त गरिसकेको छ, किनभने ‘कार्यवाहक महान्यायाधिवक्ताले यी अधिकारीले राष्ट्रपतिको एजेन्डालाई इमानदारितापूर्वक कार्यान्वयनमा सहयोग गर्ने विश्वास गर्दैनन् ।’ यो कार्य केवल प्रतिशोधात्मक मात्र होइन, बरु सम्भावित अनुसन्धानकर्तालाई धम्की दिन र ट्रम्प वा उनका सहयोगीले गरेको कुनै पनि कर्तुतको थप जाँच गर्नुअघि दुईपटक सोच्न बाध्य पार्ने डिजाइन हो । न्युयोर्कका मेयर एरिक एडम्सविरुद्ध लागेको भ्रष्टाचारको आरोप खारेज गर्न पनि डजको प्रयास उल्लेखनीय छ । आधिकारिक कारण यो हो कि आरोपको पछि लाग्दा एडम्स पुनः निर्वाचित हुने प्रयासमा बाधा पुग्न सक्छ ।
यद्यपि, वास्तविकतामा एडम्सलाई अहिले प्रशासनसँग सम्झौता तोडेको आरोप लगाइएको छ । उनी ट्रम्पको आप्रवासन नियन्त्रण नीतिलाई सहयोग गर्न राजी भएका थिए, जसको बदलामा उनीविरुद्ध लगाइएका आरोप फिर्ता लिइएको थियो (यद्यपि, आरोप पूर्ण रूपमा खारेज भइसकेको छैन) । एडम्सले अदलबदलको अस्तित्वलाई अस्वीकार गरे ।
समस्या यति गहिरो थियो कि न्युयोर्कको दक्षिणी काउन्टीका दुई वकिलले खुला भ्रष्टाचारमा मूकदर्शक भएर बस्नुभन्दा त्यसको विरोधमा राजीनामा दिने निर्णय गरे । सम्पूर्ण परिदृश्यले सन् १९७३ को ‘स्याटर्डे नाइट नरसंहार’को भयानक सम्झना दिलाउँछ, जतिवेला राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट काण्डको अनुसन्धान गर्ने विशेष अभियोजकलाई बर्खास्त गर्न महान्यायाधिवक्ता इलियट रिचर्डसनलाई आदेश दिएका थिए । तर, निक्सनलाई सहयोग गर्नुभन्दा महान्यायाधिवक्ता रिचर्डसन र उपमहान्यायाधिवक्ता विलियम रकलेस दुवैले राजीनामा दिए । निक्सनको कदमले नाटकीय रूपमा आफ्नै पतन निम्त्यायो । यस्तै, ट्रम्पको मनोमानीपूर्ण कार्यप्रति अहिले मुस्किलले प्रश्न तेस्र्याइएको छ । आखिर किन ? यसको जवाफ ‘नरसंहारका लागि उक्साउने’ भनेर चिनिने प्रचार प्रविधिमा निहित छ, जहाँ गलत कार्य ढाकछोप गर्न आफ्ना विरोधीलाई झुटो आरोप लगाइन्छ । एक कानुनविद्ले व्याख्या गरेझैँ अहिले डिपार्टमेन्ट अफ जस्टिसलाई विगतमा रुवान्डाको नरसंहारमा जस्तै घृणा फैलाउन प्रयोग गरिएको छ । त्यहाँ, कथित विश्वसनीय व्यक्तिले तुत्सीहरूले हुतुको ‘नरसंहार’ गर्न चाहेको दाबी गरे । तर, दुर्भाग्यवश यसले ठिकविपरीत परिस्थिति ल्याउन मद्दत गर्यो ।
यस्तै, फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सरकारले दोनबास क्षेत्रमा रुसीभाषीविरुद्ध नरसंहार गरेको आरोप लगाए । यो आधारहीन आरोपले युक्रेनमा आक्रमण गर्ने अवसर प्रदान गर्यो, जसले युक्रेनी नागरिकमाथि रुसले अन्धाधुन्ध गोलाबारी गर्यो ।
हाम्रो विचारमा ट्रम्पले यो प्रचार प्रविधि व्यापक ढंगले प्रयोग गर्दै आएका छन्, जब सन् २०२३ को सुरुमा जालसाजीसँग सम्बन्धित ३४ वटा गम्भीर विषयमा पहिलोपटक उनीमाथि फौजदारी अभियोग लगाइएको थियो । उनी र उनका समर्थकले राष्ट्रपति जो बाइडेनको नेतृत्वमा डिपार्टमेन्ट अफ जस्टिसलाई आफूविरुद्ध ‘हतियार’ बनाइएको आरोप लगाए । ट्रम्पले आफूमाथि लगाइएका आरोप र त्यसपछि लगाइएका अभियोग राजनीतिक रूपमा प्रेरित भएको दाबी गरे । कंग्रेस (संसद्)मा उनले ती दाबी दोहोर्याइरहे । रिपब्लिकनबाट निर्वाचित धेरै नेताले पनि त्यो विषयलाई समर्थन गरे । दाबीले उनलाई पूर्ण रूपमा पक्षपाती बनेको पुष्टि गर्छ ।
वास्तवमा तथ्य सरल थिए । अभियोजकहरू निश्चित थिए कि मुद्दा अगाडि बढाउन पर्याप्त प्रमाण छन्, जसमा ट्रम्पले अवैध रूपमा आफ्नो मार–ए–लागो निवासमा कागजात राखेको र तिनीहरूलाई पुनः प्राप्त गर्ने प्रयासमा अवरोध पुर्याएको प्रमाण समावेश छ । कानुनी प्रणालीमा कोही पनि ‘कानुनभन्दा माथि’ हुँदैन । यसको अर्थ यदि पर्याप्त प्रमाण छ भने पूर्वराष्ट्रपतिहरूमाथि पनि मुद्दा चलाउन सकिन्छ । तैपनि, ट्रम्पको पक्षपाती डोजको आरोपले कथित राजनीतिक प्रतिशोधको वैध अनुसन्धानलाई पूर्ण रूपमा पुनः आकार दियो । यसले प्रभावकारी रूपमा उनका पछिल्ला निर्णयलाई जायज ठहर गर्यो ।
प्रतिद्वन्द्वीलाई तह लगाउने हतियार
‘यदि विरोधीले मलाई आपराधिक अभियोग लगाए भने म त्यसलाई खारेज गरिदिन्छु,’ सन् २०२३ को अन्त्यमा ट्रम्पले स्पष्ट पारेका थिए । उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पछ्याउन डज प्रयोग गर्लान् त भनेर सोधिएको प्रश्नमा आफूले केवल ‘खेल मैदानलाई समथल गरेको’ जवाफ दिएका थिए । संक्षेपमा भन्नुपर्दा राजनीतीकरण गरिएको जस्टिस डिपार्टमेन्टलाई ट्रम्पले आफ्ना कर्तुत ढाकछोप गर्न र विरोधीलाई तह लगाउने हतियारको रूपमा प्रयोग नगर्लान् भन्न सकिँदैन ।
यो रणनीति लामो समयदेखिको अधिनायकवादी नेताहरूको खेल हो । हन्ना एरेन्ड्ट र ज्याक एलुलजस्ता विद्वान्ले कसरी अधिनायकवादी शासकले जनतालाई भ्रमित नबनाउँदासम्म झुट दोहोर्याउँछन् भन्ने विषय प्रस्ट पारेका छन् । धेरै मानिसमा एकपटक प्रणाली पहिले नै भ्रष्ट र अविश्वसनीय छ भन्ने नजिर स्थापित भइसकेपछि उनीहरू वास्तविक शुद्धीकरण (जस्तै डज अधिकारीहरूलाई बर्खास्त गर्ने)बाट स्तब्ध हुने सम्भावना कम हुन्छ । यस्ता रणनीतिको प्रभाव अमेरिकामा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा फैलिएको छ ।
इतिहासले हामीलाई यस प्रकारको सार्वजनिक बहसको जोखिमबारे पुकार्छ । यसले संस्थाहरू र उदार लोकतान्त्रिक प्रक्रियामाथिको विश्वासलाई कमजोर बनाउँछ, नेताहरूलाई अझ कमजोर पार्ने मार्गप्रशस्त गर्छ र भ्रष्टाचार उन्मूलन गर्ने नाममा प्रणालीलाई भ्रष्ट बनाउँछ । अन्ततः सबैभन्दा राम्रो औषधि भनेको जागरुकता हो । खराब रणनीतिको पर्दाफास गरेर हामी गलत सूचनाबाट जोगिन, कानुनी शासनको रक्षा र नेताहरूलाई जवाफदेही बनाउन सक्छौँ ।
ह्यारिङटन क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका स्कुल अफ कम्युनिकेसनका सहप्राध्यापक हुन् भने ग्राहम सोही विश्वविद्यालयका डिजिटल मिडियाका सहप्राध्यापक हुन् ।
(द कन्भर्सेसनबाट सुभाष शर्माले गरेको अनुवाद)