• वि.सं २०८१ चैत २१ बिहीबार
  • Thursday, 03 April, 2025
चन्द्र रानाहँछा
२०८१ चैत १६ शनिबार ०९:३१:००
समाज

चखियामै पहिचान पुरस्कार वितरण किन ?

२०८१ चैत १६ शनिबार ०९:३१:००
चन्द्र रानाहँछा

 

वसन्तयामको मध्यतिर, फूलहरूको मौसमबिच कुनै विशेष साइत जुराएर चखिया डाँडामा पुग्नैपर्ने हुन्छ । सुप्रसिद्ध मुन्दुम पथको दायाँ काखमा अवस्थित खोटाङ र भोजपुरको संगमस्थल चखियाको दर्शन र मिथ अनेकौँ छन् । त्यही मिथकीय भूमिको मनोरम आँगनमा नेपालकै सर्वाधिक ठुलो राशिको पहिचान पुरस्कार कोषका संस्थापक एवं वरिष्ठ युद्ध साहित्यकार काङमाङ नरेश राईले हामीलाई पर्खिरहेका हुनेछन् ।

 

पहिचानको आन्दोलनलाई सघाउ पुर्‍याउने गरी सीमान्तमा पारिएका वर्ग तथा समुदायका अधिकार र पहिचानका मुद्दालाई केन्द्रमा राखेर लेखिएकामध्येबाट एक वा दुई उत्कृष्ट कृतिलाई छनोट गरी सालन्ने पुरस्कृत गर्दै लैजाने उद्देश्यअनुरूप काङमाङ नरेशकै पहलमा सन् २०१५ (०७२) मा पहिचान पुरस्कार स्थापना भएको थियो । बेलायतमा स्थापित यो पुरस्कार सुरुका केही वर्ष काठमाडौंमै भव्य समारोहबिच प्रदान गरियो । लेखक राजन मुकारुङकृत कृति ‘फेरिँदो सौन्दर्य’लाई ०७२ को पहिलो पहिचान पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कार सर्वत्र चर्चा र खुल्दुलीको विषय बन्न पुग्यो । त्यसपछि ०७३ मा कवि एवं कलाकार स्व. अर्जुन खालिङकृत कृति ‘गोयाङको सुगन्ध’लाई पुरस्कार प्रदान गरियो । त्यसपछि ०७४ मा लेखक एवं पत्रकार यज्ञशको ‘भुइयाँ’ र ०७५ मा लेखक सरस्वती प्रतीक्षाकृत कृति ‘नथिया’ साथै उन्मुक्त पुस्ताकृत ‘आफर’ले यो पुरस्कार संयुक्त रूपमा बाजी मार्‍यो ।

 

संस्थाको विधानअनुसार ०७६ मा वरिष्ठ साहित्यकार एवं विचारक खगेन्द्र संग्रौलालाई संस्थाद्वारा सम्मान गरिएसँगै पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राई कसोकसो आफ्नो थातथलो सम्झेर बेस्सरी दुखे । त्यसपछि पुरस्कार बोकेर उनी लागे चखियातिर । तब हाम्रा हार्दिक पाइलाहरूले उनको पदचापलाई नपछ्याई धरै पाएनन् । हक्की, स्पष्ट स्वभाव र सहयोगी भावनादार काङमाङ नरेश ताल होइन, चाल हेरेर मान्छेका संगत गर्छन् । सोही संगतका आधारमा कार्यक्रमको भूमिका बाँडफाँड हुन्छ । यसकारण की संस्थाको गरिमामा तब साँध लाउँदै लानुछ उनलाई । चार वर्षदेखि खै के जोजन मिलेर हो ? ममा पनि एउटा जिम्मेवारी आइलागेको छ, आयोजकका आँखामा परेका अतिथिगणलाई चखियामा सकुशल अवतरण गराउनुपर्ने हुन्छ । 

 

०७८ मा संयुक्त रूपमा पुरस्कृत गरिएका कृति ‘पथेर’का लेखक श्याम शाह र अर्का कृति ‘कदम’का लेखक अनन्त वाग्लेलाई बोकेर गुडेको गाडीले साँगा भञ्ज्याङ छाड्दै गर्दा प्रमुख अतिथिका रूपमा सँगै थिए, लेखक खगेन्द्र संग्रौला । ०७९ मा यो पुरस्कार स्रष्टाद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङकृत कृति ‘सिरिजङ्गा,’ फाल्गुनन्द र इमानसिंह चेम्जोङको लेखोट साथै कविता राईकृत कृति गुरुको पोल्टोमा पुग्यो । प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा प्रतिष्ठाका कुलपति भूपाल राई ।

 

यसैगरी, गतवर्ष अर्थात् ०८० को पुरस्कार पनि खगेन्द्र संग्रौलाकै हातबाट लेखक प्रगति राईकृत कृति ‘थाङ्ग्रा’ र लेखक एवं पत्रकार प्रकाश गुरागाईंकृत कृति ‘जङ्क्सन पिपलबोट’लाई संयुक्त रूपमा प्रदान गरिएको थियो । यस वर्ष अर्थात् ०८१ को पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख एवं पहिलो पहिचान पुरस्कार प्राप्त लेखक राजन मुकारुङको प्रमुख आतिथ्यमा ५ चैत मंगलबार कवि तथा पत्रकार राजु स्याङ्तानकृत कृति ‘ओ पेङ्दोर्जे’लाई प्रदान गरिएको हो । तथापि, अलिकन मज्जा महसुसचाहिँ यति भव्य समारोहमा पुरस्कृत स्रष्टा स्वयं उपस्थित नहुनुले गरायो । छोरा बिरामी भएका कारण उपचारको सिलसिलामा भारतको दिल्लीमा रहेका उनको पुरस्कार प्रतिनिधिका रूपमा मैले ग्रहण गरिदिनुपर्‍यो । राजुजीलाई पुनः बधाई भन्दै बाबुको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गर्छु ।

 

यसपटकको पुरस्कार वितरण समारोहलाई ताकेर काठमाडौंबाट छुटेका टोलीमा वरिष्ठ गीतकार एवं संस्कृतिकर्मी शुभ मुकारुङ, गीतकार दिलीप राई सगरलगायत थियौँ । कविहरू बोकेर काठमाडौंबाट हुइँकिएको गाडी रोशी खोलाका कुइनेटाहरू छिचोलेर सुनकोसीका निला छालहरू पछ्याउँदै पुल तरेर ओखलढुंगाको हिले भञ्ज्याङ पुग्दै गर्दा पूर्वतिरबाट कविहरू मुनाराज सेर्मा, हाङयुग अज्ञात, सुमित्रा बाङ्देल चेली, विराट् किराँती, देवान किराँती, साङसेन पन्धाक, रुमानी कुलुङ, सुरेन्द्र राई, कृष्ण बराल, सेलिङ केसी, केजी सुब्बा, प्रकाश दिप्साली, मुकुन्द प्रयास, ओम डिसीआर, दीपा मग्राती, अभागी थेगुवा, सुष्मा दाहाललगायतलाई बोकेर चखिया हाँकिएको गाडी उस्तै समयमा अरुण तरेर भोजपुर लाग्दै गरेको भन्ने कविहरूको तात्तातो पोस्ट देख्दा वास्तवमा चखिया फगत डाँडा नभएर एउटा ठुलो धाम बनिरहेको प्रतीत भयो । 

 

हलेसीपार गरेर आदिम किरात चेलीहरूले मानवजीवनका सभ्यता र सिपको सुरुवात थालेका पुज्यस्थल तायाचुङ डाँडाको काखैकाख गाडी हुइँकिन थालेसँगै कार्यक्रमस्थलबाट काङमाङ नरेशको फोन आउन थाल्छ ।

 

कहाँ आइपुग्नुभो बाङा ?
हामी अहिले अर्खौले भतिज ।
भनेपछि सरासरी आउनुभो भने अब अढाई घण्टा लाग्छ तपाईंहरूलाई ।

 

                             ०००                             ०००

 

दिक्तेल, भुलभुले, बानाचुङ, लामाखु हुँदै मुन्दुमीखोला साप्सु तरेर उकालिएको हाम्रो गाडी सम्भावित समयमै चखियाको रिमाचुङ र सिलिचुङ होटलको ठिक अगाडि रोकिँदा चिमालको फूलझैँ रंगिन्छ मन । उता कार्यक्रमको धपेडी, थकान र जिम्मेवारीबोधले गलेका कवि काङमाङ नरेशको अनुहारमा हामी पुग्नासाथै गज्जबको चमक छाउँछ । त्यसपछि त कवि कविता राईको आग्रहमा सामाजिक, सांस्कृतिक अभियन्ता पाविहाङ राई भनौँ या झापाबाट आएका कवि विराट् किराती अथवा काठमाडौंबाट पुगेका चन्द्र रानाहँछाले पलेटी कसेसँगै जुहारी गीतको माहोल तात्न सुरु भइहाल्छ ।

 

भोलिपल्ट नमुना होटेलको हलमा जब ब्यानर टाँगेर जीवन किराँतीले समारोह सञ्चालनका लागि माइक समात्छन्, त्यो क्षण यसै भावमय र आफैँमा ध्वनिमय बनिदिन्छ । मुन्दुमी थलोमा वितरित पहिचान पुरस्कारद्वारा पुरस्कृत जुनसुकै स्रष्टाका संस्कृतिलाई पुजेर समारोहको शुभारम्भ गर्नु यस पुरस्कार कोषको अर्को विशिष्टता हो । 

 

काङमाङ नरेश राई आफ्नो माटोमा भावुक उभिएर आजको सत्य उप्काउँछन् । म यो देशको नागरिक, जहिल्यै देश सम्झिएर रुन्छु । तर, मेरो घरमा यतिखेर दुइटा देश छ, नेपाल र बेलायत । चिन्ता लाग्छ, मपछि मेरो दर सन्तानसँग यहाँको माटो बिरानो हुँदै छ । उनीहरू फर्केर यो भुइँमा के आउलान् र ? मान्छेको सबैभन्दा पहिलो पहिचान भनेकै उसको माटो र पैताला हो । पुर्खाले पसिना, आँसु र रगत बगाएको यो माटो, यहाँको बाटो, पहाड, पहरा, पानी, पँधेरा र यतै सर्वत्र फुलेका सपनालाई भेट्न, तिनलाई छुन भए पनि बेलायतदेखि मचाहिँ बाँचिन्जेल आइरहनेछु । उनको विक्षिप्त आवाजमा थर्थराएका कम्पन र आँखामा टिल्पिलाइरहेको आँसुले यो पल हाम्रो अन्तर्यलाई समेत बेहिसाब कोपर्छ । 

 

यता पुरस्कारको प्रमाणपत्रसँगै चार लाख दुई हजार दुई रुपैयाँ नगद राशिको मोटो थैली समातेर पुरस्कृत स्रष्टा साथै अतिथि वक्ताहरूले प्रशन्न मुद्रामा काङमाङ नरेश राईसहित पुरस्कार कोषलाई धन्यवाद दिएपछि कार्यक्रम समापन हुन्छ ।

 

चखियामा सबैतिरबाट अतिथिहरूलाई जम्मा गरेर यो हैसियतको समारोह आयोजना गर्न निःसन्देह सजिलो छैन । समारोहको चाँजो मिलाउने कुरा, मेस व्यवस्थापनको कुरा, अतिथिहरूलाई झिकाउने र बिदाइ गर्ने कुरा । घरीघरी काङमाङ नरेश निरासिन्छन् । तर, उनलाई आफ्ना कार्यकालभर साथ दिने वचनसहित टेम्के मैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत छेउमा उभिन्छन् ।