
संग्रहालयमा १४ प्रकारका माटो देख्न सकिन्छ । कुनै समय माटोमै जीवन व्यतीत गर्ने अर्थात् कृषि पेसामा आबद्ध ज्यापू समुदाय र माटो पर्याय नै थियो ।
पाटन भोलढोका पुग्ने जोकोहीका आँखा कलात्मक ज्यापू प्रज्ञा भवनमा पर्छ । नेपाल भाषा, नेपाली भाषा र अंग्रेजीमा लेखिएको छ, ज्यापू प्रज्ञा भवनको ठुलो बोर्ड, जुन सडकबाट प्रस्टै देखिन्छ । प्रज्ञा भवनभित्र छिर्नेबित्तिकै विभिन्न कार्यक्रम गर्न सकिने तीन सयजना अट्ने क्षमताको हल देख्न सकिन्छ । संग्रहालयको भेउ कसैगरी पाउन सकिन्न । यसका लागि हलको बायाँतर्फ अगाडि बढेर एक तला झर्नुपर्छ । त्यसपछि भने ज्यापू संग्रहालय देख्न सकिन्छ । संग्रहालय छिर्ने ढोकैमा रातो मच्छिन्द्रनाथको लिंगोको ठुलो तस्बिर छ । त्यसपछि भित्र धेरै महत्वपूर्ण सामग्री छन्, जुन नेवाः संस्कृति र इतिहासबारे चासो राख्नेहरूका लागि महत्वपूर्ण गन्तव्य हुन सक्छ ।
मच्छिन्द्रनाथको लिंगोपछि संग्रहालयमा १४ प्रकारका माटो देख्न सकिन्छ । कुनै समय माटोमै जीवन व्यतीत गर्ने अर्थात् कृषि पेसामा आबद्ध ज्यापू समुदाय र माटो पर्याय नै थियो । रातो, खैरो, सेतो, कालो माटो गरी १४ प्रकारका माटो संग्रहालयमा देख्न सकिन्छ । ती माटो पाटन क्षेत्रकै विभिन्न ठाउँबाट संकलन भएको हो । खेती हुने जमिनमा घर बनेपछि हामी को हौँ र कस्ता थियौँ भन्ने देखाउन माटो संकलन गरी राखिएको संग्रहालयका व्यवस्थापक विनोद अवालेले बताए ।
‘किसानले खेती गर्न छाडे । अब आउने पुस्तालाई हामी को थियौँ ? कस्ता थियौँ ? हाम्रा पुस्ताले कस्ता संघर्ष गरे ? कृषिबाट कसरी जीविकोपार्जन गरे ? भनेर देखाउन माटो संकलन गरिएको हो,’ अवालेले भने, ‘अब जग्गा छैन । खेतिपातीबारे अबका बालबालिकालाई जानकारी नै छैन । यहीकारण संग्रहालयबाट भए पनि सन्देश दिनुपर्छ भनेर माटोको संकलन गर्न उपयुक्त ठान्यौँ ।’ उनले भनेअनुसार नै संग्रहालयमा धान रोप्नेदेखि भित्र्याउनेसम्मको चरण देख्न सकिन्छ । उनका अनुसार सुरुवाती दिनमा पुराना सामग्री उपलब्ध गराउन टोलटोलमै गएर आग्रह गरिएको थियो । ‘कपडा बुन्ने तान, थाङ्का धेरै ठाउँमा थिए । कतिपयले यस्ता पुराना सामग्रीको महत्व नबुझेर फाल्नेसमेत गरेका रहेछन् । त्यसैले सुरुवाती दिनमा टोलटोलमै गएर पुराना सामग्रीको महत्व बुझाएर संकलन गरेका थियौँ,’ अवालेले भने ।
संग्रहालयमा तीन सय वर्ष पुराना सामग्री
ज्यापू संग्रहालय भनिए पनि यहाँ समग्रमा नेवाः समुदायको जन्मदेखि मृत्यु संस्कारसम्मका लागि आवश्यक सामग्री देख्न सकिन्छ । नेवाः समुदायले विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने मल्लकालदेखिका सामग्री संग्रहालयका विशेषता हुन् । विभिन्न समयमा भान्छामा प्रयोग हुने सामान, खेतबारीमा प्रयोग हुने औजार, सन्दुक, कपडा बुन्ने औजार, बाजागाजा, जात्रापर्वलगायत दैनिक जीवनयापनका क्रममा प्रयोग हुने पुराना सामग्री पनि संग्रहालयमा छन् ।
चक्रपथबाहिरका बागडोल, चक्रपथभित्रका शंखमूलदेखि लगनखेल र पुल्चोकदेखि ग्वार्कोसम्मका ४० वटा टोलबाट ती सामग्री संकलन गरिएका हुन् । ती सबै सामग्री स्वस्फूर्त रूपमा स्थानीयले उपलब्ध गराएका हुन् । संग्रहालयमा भएका ९० प्रतिशत सामग्री टोलबाट नै उपलब्ध भए भने माटोका भाँडालगायत १० प्रतिशत सामान संग्रहालयले किनेको हो ।
अहिले पनि स्थानीयले आफूसँग भएका पुराना सामग्री संग्रहालयलाई प्रदान गर्न वेलावेलामा पत्र आउने गरेको छ । ‘पुराना सामान अहिले पनि संकलन गरिरहेका छौँ । पुराना सामान छन् भने हामीलाई सम्झनू भन्छौँ । टोलको प्रतिनिधिमार्फत भनिरहेका छौँ,’ उनले भने । संग्रहालयभित्रै पनि ‘कसैको घरमा ज्यापू संग्रहालयमा राख्न योग्य पुराना सामान भएमा सम्पर्क गर्नुहोला’ सम्पर्क नम्बरसहित भित्तामा टाँसिएको छ । यसरी संकलित केही सामग्री ठाउँअभावमा अझै व्यवस्थित हुन सकेका छैनन् । संग्रहालय थप विस्तारका लागि काम भइरहेको छ । तर, संग्रहालयका लागि बजेट व्यवस्थापन चुनौती बनेको छ । वार्षिक रूपमा ललितपुर महानगरपालिकाले १० लाख उपलब्ध गराए पनि त्यो रकम अपुग भएको संग्रहालयले जनाएको छ । संग्रहालयमा अध्ययन, अनुसन्धानमा रुचि हुने, नेवाः समुदायबारे जिज्ञासु, विद्यार्थी र जातीय संग्रहालय स्थापनाका लागि काम गर्ने व्यक्तिहरू अवलोकनकर्ताका रूपमा आउँछन् । उपत्यकाबाहिर केहीले यही संग्रहालय हेरेरसमेत संग्रहालय बनाउने काम गरिरहेका छन् ।
संग्रहालय विस्तारका लागि ज्यापू समाजले विभिन्न उपसमितिसमेत बनाएको छ । समाजले दीर्घकालीन योजनाअनुरूप दक्षिण एसियालीस्तरको संग्रहालय बनाउने योजना बनाएको छ । ‘हामीसँग अझै थुप्रै सामान छन् । जसले नेवाः रहनसहन, रीतिरिवाज, संस्कृति झल्काउँछन् । त्यसैले, यसको स्तरवृद्धि गरेर साउथ एसियन लेभलको बनाउने योजना छ,’ अवालेले भने ।
२५ भदौ ०५१ मा समाजको स्थापना भएर विभिन्न काम गरे पनि संग्रहालयका लागि सामान संकलन भने ०६९ सालबाट मात्र भएको हो । ज्यापू समाज ०६५ सालमा भोलढोका सर्यो । त्यसपछि नेवाः संस्कार, संस्कृति झल्कने र १२ महिना नै मनाइने चाडपर्वमा प्रयोग हुने सामग्री संकलन गर्न थालिएको हो । ०६९ देखि भने संग्रहालय औपचारिक रूपमा सञ्चालनमा आयो ।