
पुस्तक पढ्ने कारण व्यक्तिपिच्छे फरक हुन सक्छ । मैले चाहिँ आफूलाई द्विविधाबाट निकाल्न पुस्तक पढ्न थालेको हुँ । कुनै काममा द्विविधा भएमा त्यो सफल हुन सक्दैन । त्यसैले आफ्नो दृष्टिकोण स्पस्ट राख्न, विचारलाई सफा र दरिलो बनाउन अध्ययन आवश्यक हुन्छ । पुस्तकले नभएको ज्ञानलाई उमार्दैन, तर तपाईंमा कुनै ज्ञानको बिज छ भने त्यसलाई हुर्कन, बढ्न र फैलन मद्दत गर्छ । तर, जतिसक्दो पढ्नु भन्ने मान्यताले मान्छेलाई ओभरलोड दिन्छ । एउटा मान्छेले एउटा मात्र काम राम्रो जानेको छ भने त्यसबाट समाजलाई पनि मनग्य सहयोग पुग्छ । त्यसकारण भेटेजति सबै पुस्तक पढ्नैपर्छ भन्ने छैन ।
भाग्यवाद र विकास : यो पुस्तक मानवशास्त्री डोरबहादुर विष्टले लेखेका हुन् । पुस्तकमा शासकहरूले कसरी कमजोर मान्छेलाई अछुत बनाएर जातीय पिरामिड उठाए भन्ने उल्लेख छ । शासकलाई खुसी पारे ठुला जात हुने र बेखुस भए जात जाने नियम बनाएका रहेछन् । त्यसको आडमा समाजमा विभाजन ल्याई शासन गरेका रहेछन् । एक पुस्तालाई अछुत÷दलित बनाई उसका दरसन्तानलाई युगौँदेखि थिचोमिचो गरेका छन् । त्यसमाथि मान्छेको ठुला या साना जात हुने भाग्यको भरमा हुन्छ, जन्मँदै उच्च र निच जात हुन्छ, ब्राह्मण पुजे अर्को जन्ममा ठुला जात भइन्छ भन्ने खालका भ्रमपूर्ण जालको पर्दाफास पुस्तकमा छ ।
ब्लु प्लानेट : यो ‘कथासंग्रह’ विजय हितानले लेखेका हुन् । मानिसले आफ्नो खुसीका लागि बोटबिरुवालाई कसरी जथाभावी प्रयोग गरेका छन्, वातावरण बिगार्न कस्ता काम भइरहेको छ भन्ने पुस्तकमा उल्लेख छ । जस्तो कि, देवताका नाममा हरेक बिहान सयौँ फूलहरूको हत्या हुन्छ । प्रेमका नाममा कैयौँ गुलाफको नाश हुन्छ । विवाह, समारोहको नाममा फूलको नाश भएको छ । त्यसो गर्नुको सट्टा एक थुंगा लिए पनि आखिर जनाउने भावमा कमी आउनेछैन । जल, जमिन, पृथ्वी र सबै प्राणीको बराबर अधिकार छ । त्यसैले प्राणीमाथि घात गर्नुहुँदैन भन्ने कुरा पुस्तकले पढाउँछ ।
द सेकेन्ड सेक्स : सिमोन द बोउआरले यो पुस्तक लेखेकी हुन् । पुस्तकमा महिलाहरू पनि सम्पत्तिका हकदार हुन् । उनीहरूले पनि चुलोचौको छोड्नुपर्छ भन्ने सिद्धान्त उल्लेख छ । लेखकको व्यक्तिगत जीवनले पनि यो कुरा बताउँछ । उनले एउटै पुस्तकले चार–पाँच पुस्ता धानिदिने गरी लेखेकी छिन् । त्यो जमानामा उनको विचार ठिक थियो । जतिवेला महिलाहरू भान्सा सम्हाल्ने र बच्चा जन्माउने मेसिनका रूपमा मात्र सीमित थिए । पुस्तकमा पुरुषले कति कुरूप तरिकाले महिलाको चित्रण गरेका छन् भन्ने पढ्न पाइन्छ । यसै विचारलाई अँगाल्दै पारिजातको ‘शिरीषको फूल’ उपन्यास आयो । जसले गर्दा बाल्यकालदेखि बुढेसकालसम्म चुलामा पिल्सिएका आमा, दिदी–बहिनीहरूले राहत पाए । त्यसैले सिमोनीय विचारअनुसार महिलाले सम्पत्तिमा अधिकार जमाउनुपर्छ भन्ने सिद्धान्तमा टेकेर मैले पनि छोरीलाई वंशको अधिकार दिनुपर्छ भन्ने गरेको छु । वंशसँगै अंश पनि विरासतमा आएमा बल्ल सम्पत्तिको बाटो बन्छ । अनि महिलाले चुला छाड्छन् भन्ने मान्यतालाई परिमार्जन गर्दै मैले चुला महिलाको सत्ता हो भन्दै आएको छु । यसलाई छाड्ने होइन, पालो लिने हो । घरका सबै सदस्य मिलेर आलोपालो भान्सा हराभरा बनाउने हो । स्वस्थ खाना नै स्वस्थ जीवनको आधार हो भनेर मैले ‘थाङ्ग्रा’ उपन्यासमा लेखेँ । महिलाले पुरुषजस्तो बन्नुपर्छ भन्ने सिद्धान्त गलत छ । महिलाले महिलाजस्तै भएर जिउन पाउनुपर्छ । नरम स्वभाव, आभूषण मनपराउनु महिलाको स्वाभाव हो, यसलाई मार्न हुँदैन ।
अफगानी रणमैदान : यो पुस्तक केदार सुनुवारले लेखेका हुन् । यसमा पूरै युद्धको कथा छ । पुस्तकमा अमेरिकाले अफगानिस्तानमा सुरक्षाको नाम दिएर कसरी हैकम जमाएको छ भन्ने उल्लेख छ । कथासँगसँगै लेखक स्वयं अमेरिकाको तर्फबाट युद्धमा होमिएको यथार्थ घटना छ । त्यहाँका जनताको दुःख, सेनाबाट तर्सिएका जनता, यी सबैको दुःख पढिरहँदा लाग्छ, युद्धले मानिसलाई विनाकारण दोषी बनाउँछ । केही सनकी व्यक्तिको सनकमा धेरै मानिस अनाहकमा दोषी करार हुन्छन् । मानिसले आलोपालो आगोपानी हुन सिक्ने हो भने युद्ध हुनुपर्ने कुनै कारण देखिँदैन ।
नवयुगकी सुम्निमा : कवि शकुन आँशुले लेखेको यो कविता संग्रह मैले भर्खरै पढिसकेँ । संग्रहमा समय यात्राका २७ वटा र वैचारिक कविता सिली सिलसिला नाममा १५ वटा कविताहरू छन् । अगाडिका कवितामा प्रेमको भाव बगेको छ । अरू जीवनवादी मिठा कविता छन् । प्रेमको कविता धेरै रहेको संग्रहमा एउटै परिकारलाई फरक–फरक भाँडामा भाग लगाइएजस्तो प्रेम नै प्रेम देखिन्छ । त्यो पनि मान्छेसँगका प्रेम । प्रेम त प्रकृति, जीवजन्तुसँग पनि हुनुपर्ने हो । त्यो त छैन । तर, कवितामा बिम्बहरू कति मिठो गरी तानेको रहेछ । बिम्बहरूकै लोभमा सबै कविता पढिसकिन्छ । दोस्रो भागमा वैचारिक कविता छन् । जसका शीर्षकले नै सामाजिक, राजनीतिक र लैंगिक असमानताको तितो गन्ध दिन्छ । कवि शकुन डेढ दशक कोरियामा बसेर भर्खरै फर्केका कारण कोरियाको जनजीवनमा आधारित धेरै कविता छन् । कोरिया बसी फर्केकालाई नोस्टाल्जिक बनाइदिन्छ भने कोरियाको सपना देख्नेहरूलाई त्यहाँको यथार्थ बताइदिन्छ । कविता साँच्चै मिठा छन् । धेरै विषयलाई छोटोछोटो छुवाइले मात्र लेखिएका कविता अल्पायुको हुन्छ । कुनै एक विषयमाथि गहिरो डुबेर लेखिएका कविताको आयु अनन्त हुन्छ । अब कविले समय लगाएर त्यस्ता कालजयी कविता पनि लेखून् ।