
पैदलयात्रीलाई छैन सजिलो, दिउँसो पैदलयात्रा लगभग कल्पनाबाहिर
अहिले जति उमेरको भएँ, त्यसको आधाभन्दा बढी अवधि भयो, काठमाडौं बसाइ । लामो समय गुजारेको परिवेशप्रति आशक्त भइँदोरहेछ । निर्वाहका तमाम सीमितता र उतारचढावका बाबजुद पनि सहरसँगको बन्धन यथावत् छ ।
झट्ट हेर्दा सहर भन्नु के नै छ र ! यही सघन आवादी, भिडभाड, निर्वाहका अवसर, भौतिक सरसुविधा यस्तै । अझ काठमाडौंको हकमा त अतिरिक्त धेरै कुरा जोडिन्छन्– अव्यवस्था, असंयम र असंगति । जसै भए पनि काठमाडौं रंगीन छ । रंगीन हुनु सहरको अन्तरंग विशेषता नै भयो ।
रंगीन हुनु सुन्दर हुनु पनि हो । यो सुन्दरतामा मेरो चाख छ । यसैको परख गर्न काठमाडौंमा विचरण गर्दै हिँड्ने सोख बढेको छ । काठमाडौंलाई अनेक कोणबाट चिहाउन र अवलोकन गर्न मन पर्छ ।
काठमाडौं बसाइको हिसाबले डेढ दशकभन्दा लामो अवधि म चक्रपथको बाटुलो घेराभित्रै सीमित रहेँ । जो उपत्यकाको प्राचीन कान्तिपुरी नगरीको केन्द्र हो । नेपाल एकीकरणयता यो सहर आजपर्यन्त देशको केन्द्र हो । एकात्मकदेखि वर्तमान संघीय राजधानीको राजनीतिक, आर्थिक र प्रशासनिक केन्द्र पनि हो ।
पत्रकारको आँखाले बहुरंग देखेकै हुन्छ । यो रंगलाई कुन तहमा अनुभूत गर्ने भन्ने व्यक्तिका स्वभाव, रुचि र सौन्दर्यचेतमा भर पर्छ । यही चेतनाले मलाई यताउता घुमाइरहन्छ । यसैक्रममा मनमा विचार आयो, यो कान्तिपुरी नगरीलाई परिक्रमा किन नगर्ने ? यही सुरमा देशकै केन्द्र कान्तिपुरी नगरीको केन्द्रलाई चक्कर मार्न पुगेँ ।
चक्रपथ किन घुमेँ ?
काठमाडौं उपत्यकालाई सुरक्षाकवच जसरी घेराबन्दी गर्ने हरेकजसो डाँडाकाँडामा मैले आफ्नो पदचाप छाडेको छु, ख्याल नगरेका एकाध बाँकी हुन सक्लान् । शिवपुरी, नागार्जुन, चन्द्रागिरि, चम्पादेवी, फुलचोकीमा त तेहेर्याएर–चौर्याएर पुगेको छु ।
चारैतिर डाँडाकाँडाले घेरिएको यो उपत्यकाको कचौरा आकार सुन्दर लाग्छ । सुन्दर नहुँदो हो त नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहले गोरखा साम्राज्यको विस्तार गर्दै यसलाई केन्द्र सायदै बनाउँथे । ती अग्ला टाकुराबाट काठमाडौं चिहाउन मजा लाग्छ । भलै सहरी स्वरूप हेर्नलायक किन नहोस् ।
यी डाँडाकाँडालाई घेरो मारिसक्दा पनि चक्रपथ घुम्ने सोच भने फुरेको थिएन । जब एकाध मानिसले साइकल या पैदलै चक्रपथ घुमेको थाहा पाएँ । मलाई यो तरिका सिर्जनात्मक लाग्यो ।
बिजुलीसरी विचारको वृत्ति चलेर मात्र हुँदैन, यो लक्ष्यमा सोझिनुपर्छ । यसका लागि समय लाग्छ । लक्ष्यमा सोझिएपछि र प्रयत्न भएपछि त्यो विचार मूर्त हुने हो । यसो भएपछि कार्य सफल हुन्छ । चक्रपथ परिक्रमाको विचार अलि अघिदेखि नै आए पनि, मेरो हकमा यो सघन हुन समय लाग्यो । प्रयत्नमा पनि उस्तै समय ।
यसैक्रममा अघिल्लो शुक्रबार (८ चैत) चक्रपथ परिक्रमा गर्ने सोच आयो । शनिबारको समय आफ्नो कार्यालय छुट्टीको दिन, बिदामा सामान्यतया मानिसको भिडभाड कम हुने स्वभाविकता र समय व्यवस्थापन गर्न सकिने भइयो । सबै संयोग मिलेपछि परिक्रमा गर्ने निक्र्योलमा पुगेँ । यसमा मौसमको अनुकूलताले समेत साथ दियो ।
लामा यात्रासमेत एक्लै गर्ने बानी परिसकेको मलाई सहरको चक्रपथ परिक्रमा गारो लाग्ने कुरै थिएन । तैपनि, एकजना साथीलाई फोन गरेर योजना सुनाएँ । उनी पनि हिँड्न सहमत भएपछि यात्रा योजना अन्तिम टुंगोमा पुग्यो । घाम लागेपछि या दिउँसो धुलोधुवाँ र प्रदूषण बढ्ने अवस्थाको आकलन गरेर बिहानै यात्रा गर्ने निश्चित गरियो । राति साढे १० बजेआसपास योजना निश्चित भएपछि बिहान पौने ५ बजे नै उठेर तातोपानी पिइओरी यात्राका लागि अघि बढेँ ।
दुवैजना भेट भएर बिहान ५:२५ मा पशुपतिनाथ प्रवेश गर्ने द्वार गौशालमा भेटियौं । बसाइँसँगको दूरीअनुकूल स्थान यही गौशालाबाट यात्रा अघि बढाउने भयौँ ।
पशुपति दाहिना कि ‘क्लकवाइज’ !
यात्रामा बिहानी समयलाई शुभ मानिन्छ । दिनको प्रारम्भिक प्रहरमा अवरोध कम हुने, वातावरणीय हिसाबमा शान्त र शारीरिक–मानसिक ऊर्जा पनि तरोताजा हुने हुँदा यसले लक्ष्य प्राप्तिका लागि सहज तुल्याउने इत्यादिका कारणले नै यसलाई शुभ भनिएको हुनुपर्छ । यही शुभ समयमा हाम्रो चक्रपथ परिक्रमा यात्रा अघि बढ्यो ।
सामान्यतया परिक्रमा घडीको सुईअनुकूल (क्लकवाइज) हुने गरी गरिन्छ । तर, हामी जुन बिन्दुबाट यात्रा सुरु गर्न लागेका थियौँ । यसमा द्विविधा भयो । पशुपतिनाथलाई दाहिना बनाउने या दाहिने (क्लकवाइज) घुम्ने । यसमा हामीबिच विमर्श भयो । क्लकवाइज घुम्दा पशुपतिनाथ देब्रे पर्ने भए । कुनै तीर्थ या मन्दिर घुम्दा त्यसलाई दाहिने पारेर घुम्ने परम्परा छ । यसैमा त त्यस्तो केही थिएन । अर्को विषय उठ्यो, चक्रपथ विस्तारका कारण धुलो छल्ने उपाय अपनाउनुपर्छ । केही वर्षयता चक्रपथ विस्तार चलिरहेको छ । यो अहिले कलंकी–चाबहिल खण्डमा ‘साइट क्लियरेन्स’लगायतको काम भइरहेको छ । जसका कारण त्यो खण्डमा धुलोधुवाँ बढी हुन्छ । बिहानी समयमा चहलपहल बाक्लिनुअगावै यो खण्ड पार गर्न सके धुलोधुवाँबाट जोगिन सकिन्थ्यो ।
अन्ततः पशुपति दाहिना नै भए ! धुलोधुवाँबाट जोगिन चाँडै सडक विस्तार चलिरहेको खण्ड पार गर्ने गरी हामी गौशालाको देब्रेतिरबाट यात्रा अघि बढायौँ । झिसमिसेमै यात्रा अगाडि बढ्यो ।
चक्रपथको धुलाम्मे हविगत
गाडीबाट चक्रपथ परिक्रमा नौलो रहेन । तर, हामीले पाइला नापेर चक्रपथ परिक्रमामा अघि बढेका थियौँ । सहर परिक्रमाको मूलमार्ग हुँदै यात्रा गरिने भएकाले यसको अवस्था अवलोकन पनि स्वाभाविक रूपमा गरिने भयो । चक्रपथ विस्तारको काम के कसरी भइरहेको छ भन्ने पनि नजिकबाट नियाल्ने मौका भयो ।
गौशाला–चाबहिल खण्ड चक्रपथ साँघुरो लाग्ने स्थान हो । यहाँ न विस्तारको काम नै अघि बढेको छ । चाबहिलबाट अघि बढ्दा बाटो केही चौँडा भए पनि हालत ठिक लाग्दैन ।
धुम्बाराहीबाट केही अगाडि बढ्दा महाराजगन्ज चोकबारीसम्म सडक विस्तारको काम चलिरहेको देखिन्छ । काठमाडौं सडक डिभिजनले यहाँ ‘साइट क्लियरेन्स’ र विस्तारसहित दायाँबायाँ संरचना निर्माण गरिरहेको छ ।
झलक्क यो देख्दा खुसी पनि लाग्यो कि कम्तीमा सुधारको काम त चलिरहेको छ । कहिले सकिन्छ भन्ने पछिको कुरा । काम नहुनुभन्दा सुरु भएको वा चलिरहेको कामले त्यो लक्ष्य पूरा हुन्छ भन्ने संकेत र उत्साह दिँदो रहेछ । तर, महाराजगन्ज काटेर अघि बढ्दा उस्तै हविगत ! गोंगबु नयाँ बसपार्कदेखि सामाखुसी चोकसम्म आयोजनाले ‘साइट क्लियरेन्स’का काम भने गरिरहेको देखिन्छ । नयाँ बसपार्कदेखि कलंकी चोकसम्मैको हालत लगभग उस्तै छ । सडक दायाँबायाँका खाली भागले ‘साइट क्लियर’ भएजस्तो देखिए पनि काम भइरहेको आभास भएन ।
चक्रपथको यात्रा गर्दा चाबहिलदेखि लगभग कलंकीसम्म नै धुलाम्य स्थिति छ । दिउँसो पैदलै यो खण्ड हिँड्ने कुरा लगभग कल्पनाबाहिरको हो । कलंकी–वसुन्धरा खण्डमा सडकको दायाँबायाँ ट्याक्सी र सवारीसाधन जथाभावी पार्किङ, माटोसहित निर्माण सामग्री थुपारिएको र अधुरा निर्माणले हेरिनसक्नु कुरूप छ ।
आहा चक्रपथ !
कलंकी चोकबाट अघि बढ्दा भने अलिक फरक महसुस हुन्छ । बल्खुचोकसम्म ठिकै देखिएकामा सानेपा हुँदै अघि बढ्दा भिन्न स्वरूप देखापर्छ । भन्न मन लाग्छ, आहा चक्रपथ ! दायाँबायाँ रुखहरू र बिचमा फूल अनि चिटिक्कको आठ लेन सडक । रुखको छहारी ताप्दै दृश्यावलोकन र पैदल हिँड्न मिल्ने । सानेपादेखि एकान्तकुनासम्मको दायाँबायाँ रुख तथा फूल फुलेका दृश्य र चिटिक्कका सडक हेर्नलायक छन् । आधा घण्टाअघिको कलंकीसम्मको यात्रा र कलंकीपछिको यो हरियाली कतै तुलनायोग्य लाग्दैन ।
लगभग ग्वार्को पुलआसपाससम्मै दायाँबायाँ हरियालीसहितको सडक आनन्ददायक लाग्छ । ग्वार्को चोकमा भने ओभरपास निर्माणका कारण धेरै नै अवरोध भइरहेको छ । लगभग निर्माण सकिएको ओभरपासलाई पुनः भत्काएर नयाँ बनाइँदै छ । जसका कारण आसपास सवारीसाधन र मानिसको आवागमन प्रभावित छ । यसलाई छाडेर बालकुमारी हुँदै कोटेश्वर चोकसम्म अघि बढ्दासम्मको सडक राम्रै देखिन्छ ।
तर, फराकिलो र चिटिक्क सडकमा बाटो काट्न व्यवस्थित संरचना छैन । यसले खल्लो महसुस गराउँछ । सडक पनि एकनास व्यवस्थित छैन । कतैकतै बनाउन लागिएका पुल पनि निर्माणाधीन अवस्थामै अलपत्र छन् । यही आयोजनामा कलंकीको अन्डरपासले भने यातायात आवागमनलाई सराहनीय सुधार गरिदिएको आभास हुन्छ ।
कोटेश्वर चोकबाट तीनकुने, सिनामंगल हुँदै गौशालासम्मको सडकमा पनि चक्रपथ विस्तारको कुनै काम अघि बढेको देखिँदैन ।
आधुनिक यातायात प्रणालीलाई गिज्याउने सवारी व्यवस्थापन : न ट्राफिक लाइट, न जेब्राक्रस
सहरी परिवहन चुस्त हुन व्यवस्थित ट्राफिक प्रणाली चाहिन्छ । यसका लागि ट्राफिक लाइट, जेब्राक्रस, बाटो काट्ने पुल अति आवश्यक पक्ष हुन् । तर, चक्रपथभरि कतै पनि यी पूर्वाधार व्यवस्थित देखिँदैनन् । अधिकांश स्थानमा ट्राफिक लाइट छैनन् भने आवश्यक ठाउँमा समेत जेब्राक्रस छैनन्, भएका पनि मेटिएका छन् । यात्रुलाई सडक पार गर्न अन्डरपास, ओभरपास, आकाशेपुललगायत संरचना पनि पर्याप्त छैनन् । अलि व्यवस्थित देखिएको कलंकी–कोटेश्वर खण्डमा समेत यी पूर्वाधार छैनन् । यद्यपि, केही स्थानमा फ्लाइओभर, आकाशेपुल, जेब्राक्रस बनाइरहेको भने देख्न सकिन्छ ।
अनिश्चितताको भुमरीमा चक्रपथ आयोजना
चक्रपथलाई व्यवस्थित बनाउने गरी यसको विस्तारको काम थालिएको पनि १२ वर्ष कट्यो । तर, आयोजनाको एकतिहाइजति काम मात्र बल्ल सम्पन्न भएको छ । विस्तारको काम कहिले सकिन्छ भन्ने टुंगो त परै जाओस्, आयोजना नै अनिश्चयको भुमरीमा फसेको छ ।
चक्रपथ परिक्रमा गरेपछि मैले सडक विभागअन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख सिडिई कृष्णनाथ ओझालाई आयोजनाबारे सोधेँ । यो आयोजनामा हालसम्म कति खर्च भयो र यो कहिले सकिन्छ भन्नेसम्मको कुनै ठोस जवाफ उनीसँग छैन ।
काठमाडौं–चक्रपथ स्तरोन्नति योजनाको काममा चिनियाँ पक्षलाई काममा सहजता ल्याउने उद्देश्यले १८ पुस ०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्रीको निर्णय (मन्त्रीस्तरीय)बाट काठमाडौं चक्रपथ सुधार योजनाको स्थापना गरिएको थियो । चक्रपथ आयोजना चीन सरकारको सहायतामा अघि बढेको थियो ।
नेपाल सरकार र चीन सरकारबिच समझदारी (एमओयु) भएर चक्रपथ स्तरोन्नतिअन्तर्गत पहिलो खण्ड (कोटेश्वर–कलंकी )को १०.३५ किलोमिटरको निर्माण सम्पन्न भइसकेको छ । चीनले यो खण्ड २४ पुस ०७५ मा नेपाल सरकारलाई हस्तान्तरणसमेत गरिसकेको छ ।
लगत्तै आयोजनाको दोस्रो खण्ड कलंकी–वसुन्धराको मुख्य सडक पनि चीन सरकारको अनुदान सहयोगमा निर्माण गर्ने गरी ‘लेटर अफ एक्सचेन्ज’मा सहमति भएको थियो । आयोजना प्रमुख ओझाका अनुसार दोस्रो खण्डको लम्बाइ ८.२ किमि हो । यो खण्डमा नेपाल पक्षले ‘सर्भिस ट्रयाक’ बनाउने र बाँकी काम चीन बनाउने सहमति भएको ओझा बताउँछन् ।
आयोजनाको दोस्रो खण्डमा नेपाल सरकारको तर्फबाट सडक सीमासम्बन्धी काम, साविकमा रहेका विद्युत्, खानेपानी, टेलिफोन तथा अन्य संरचना हटाउने, रुख कटान गर्ने कार्य भइसकेको आयोजनाको भनाइ छ । कलंकी–वसुन्धरा पुलसम्मको दुवैतर्फ सर्भिस ट्रयाक बनाउनुपर्नेमा स्वयम्भूसम्म निर्माण सम्पन्न भएको र स्वयम्भूबाट वसुन्धरासम्म चार प्याकेजमा निर्माणाधीन अवस्थामा छ । ‘नेपाल पक्षले सर्भिस ट्रयाक मात्रै बनाउने हो, पर्याप्त बजेट पाए यो आर्थिक वर्षमा हाम्रोतर्फको काम सकिन्छ,’ आयोजना प्रमुख ओझा भन्छन् ।
तर, चिनियाँ पक्ष भने आयोजना निर्माणबाट विमुख भएकोजस्तो देखिन्छ । आयोजना प्रमुख ओझाका अनुसार कोभिड महामारीपश्चात् चिनियाँ पक्षले काम गरेको छैन । ‘दोस्रो खण्डमा चिनियाँ पक्षले डिपिआर र डिजाइनिङका लागि परामर्शदाता छनोट भएको सुनिएको छ,’ ओझा भन्छन्, ‘यसभन्दा बढी थाहा छैन ।’ दोस्रो खण्डको काम अघि बढाउन चिनियाँ पक्षको आनाकानी र बाँकी रहेको वसुन्धरादेखि कोटेश्वरसम्मको खण्डमा त प्रवेश नै नगरेबाट चक्रपथ विस्तार योजना अन्योलको भुमरीमा परेको प्रस्ट हुन्छ ।
२७ किलोमिटरमा ३४ हजार पाइला
हिँड्दा धेरै कुरा त सोचिँदैन । तर, चक्रपथ परिक्रमा गर्दा भने यसलाई रेकर्डमा राख्ने विचार आयो । त्यसैले यात्रामा निस्किनुपूर्व मोबाइलमा ‘स्टेप ट्रयाकर’ डाउनलोड गरेँ, ताकि कति हिँडियो र समयको रेकर्ड रहोस् ।
गौशालाबाट सुरु गरेको यात्रा गौशालामै आएर टुंगिदासम्म ‘स्टेप ट्रयाकर’ले देखाएअनुसार करिब २५ किलोमिटर हिँडिएछ । तर, यो चक्रपथको पूरा लम्बाइभन्दा कम देखिन आयो ।
काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार चक्रपथको कुल लम्बाइ २७.२ किलोमिटर हो । पैदलमा यो लम्बाइ पूरा देखिएन । हुन सक्छ, हामी सडकको भित्री घेराबाट हिँड्दा दूरी कम देखिन आयो । चक्रपथलाई पूरा फन्को मार्दासम्म करिब ३४ हजार पाइला हिँडिएछ । र, यो पूरा गर्न सवा चार घण्टा लाग्यो ।
पैदलयात्रीलाई हदैको जोखिम
चक्रपथ परिक्रमा गर्न चाहने पैदलयात्रीको सुरक्षित आवतजावतलाई हदै बेवास्ता गरेको देखिन्छ । कोटेश्वर–कलंकी खण्डमा दायाँबायाँ अलि व्यवस्थित लाग्ने पैदलमार्ग देख्न सकिन्छ । तर, यो पनि कतैकतै टुटेको छ । कलंकीदेखि चाबहिलसम्मको लगभग पूरै सडकमा पैदलमार्ग छैन । न, सडक दायाँबायाँ पैदल लेनको रेखांकन नै छ । यसले पैदलयात्रालाई जोखिमपूर्ण बनाइदिएको छ ।
दिउँसो सवारी र बतास चल्दा उडेको धुलोले पैदलयात्रीलाई ढपक्कै ढाक्ने अवस्था छ । चक्रपथमा पैदलयात्रीलाई लक्षित गरेर विश्रामस्थल र शौचालय त बिरलै देख्न पाइन्छ । यसले पैदलयात्रीको न्यूनतम आधारभूत हक–अधिकार पनि कुण्ठित भएको छ ।
चक्रपथ परिक्रमाका क्रममा मास्क पनि लगाएको थिइनँ । शनिबार तुलनात्मक रूपमा न्यून चहलपहल र बिहानी हिँडाइमा धेरै धुलोधुवाँको सामना त गर्नुपरेन । तर, यसको असर भने देखियो । सायद धुलोधुवाँकै असर हुन सक्छ, दुई–तीन दिनसम्म घाँटी समायो ।
सहरी यातायातको हविगत : २७ किलोमिटर छिचोल्न दुई घण्टा ४० मिनेट !
पैदल परिक्रमा गरेपछि यसलाई शब्दचित्रमा उतार्ने सोचसहित फेरि बसको यात्रामा निस्किएँ । यसको उद्देश्य थियो, चक्रपथको सार्वजनिक परिवहनलाई नियाल्नु र अनुभूति लिनु । यसैका लागि सोमबार दिउँसो चक्रपथ परिक्रमा गर्ने बसमा चढेँ ।
बसमा चाहिँ गौशालाबाट दायाँतर्फ हुँदै अघि बढेँ । बसचालकलाई सोधेको थिएँ, पूरा चक्रपथ परिक्रमा गर्न कति समय लाग्ला ? उनले साढे दुईदेखि तीन घण्टा लाग्ने सुनाए । नभन्दै उनको अनुमान मिल्यो । दिउँसो १ बजे सुरु गरेको बसयात्रा सुरुकै बिन्दुमा फर्किन दुई घण्टा ४० मिनेट लाग्यो । जम्मा २७ किलोमिटर यात्राका लागि यो समय अत्यधिक हो । यति धिमा सार्वजनिक परिवहनले सहरी जीवन कसरी चलायमान हुन सक्ला, छक्क पार्ने विषय थियो ।
एकाध स्थानबाहेक जता पनि यात्रु चढाउन र ओराल्न मिल्ने, समयको पालना गर्नुनपर्ने । यति हदैको लचिलो सहरी ट्राफिक व्यवस्थापन सायदै कुनै आधुनिक सहरमा हुन्छ । सडकको हविगत उस्तै । यति अव्यस्थामा सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुको सास्ती कुन मिटरले नाप्ने होला ! लाग्छ, सवारीचालक, ट्राफिक, यात्रु सबै अभ्यस्त छन् ।
अन्तमा
सहर मानव सभ्यताको प्रतीक हो । पृथ्वीको कुनै भागमा मानव आवाद सुरु भएर उसको गतिविधि सघन रूपमा चलायमान भएपछि त्यो सहर बन्छ । जसका मानक अनेकौँ हुने नै भए । सहरको परिभाषा धारण गर्नुअघि मानव आवादीले सयौँ÷हजारौँ वर्षको इतिहास, संस्कृति, परम्पराबाट गुज्रिँदै आएको हुन्छ । यी सबैको सर्जक मानव हो ।
आफूले सिर्जना गरेको सहरलाई जीवन्त राख्ने पनि उसैले हो । यसर्थ, सहर कायम रहने गरी यसको अस्तित्वको ख्याल गर्ने दायित्व पनि मानवकै हो । सहरको सुन्दरता मूल रूपमा त्यो कति जीवन्त छ भन्ने विषयसँग सम्बन्धित हुन्छ । सहर जीवन्त हुन समग्र सहरवासीको भावनालाई कुन हदमा समेटेको छ भन्नेसँग जोडिन आउँछ । बहुरंगी सहरले बहुरंगी सहरवासीको भावनालाई कदर गरेको हुनुपर्छ । तर, आज जसरी सहरी पूर्वाधार निर्माण गरिएको छ, त्यसले सबै सहरवासीको आकांक्षा, आवश्यकता र भावलाई सम्बोधन गरेको छ त ? पक्कै छैन, जसको ज्वलन्त प्रमाण हो चक्रपथ । चक्रपथको पैदलयात्रापछि मेरो निष्कर्ष छ– चक्रपथमा पैदलयात्रीको अधिकार कुण्ठित छ ।
काठमाडौंको ट्राफिक व्यवस्थापनमा २९ वर्ष बिताएका सीताराम हाछेथूको नजरमा चक्रपथ
सीताराम हाछेथूले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा लामो समय काम गरेका छन् । पूर्वट्राफिक प्रहरी निरीक्षक हाछेथूले २९ वर्ष ट्राफिक व्यवस्थापनमा काम गरे । हाल उनी ललितपुर महानगरपालिकाको नगरप्रहरी प्रमुखमा कार्यरत छन् ।
०४७ देखि ट्राफिक प्रहरी भएर खटिरहेका हाछेथूको दृष्टिमा त्यतिवेला र अहिलेको काठमाडौं उपत्यकाको ट्राफिकमा आकाश–जमिनको अन्तर छ । ‘०४८ मा बागमती अञ्चलमा ४८ हजारजति सवारीसाधन दर्ता थिए । अहिले अद्यावधिक तथ्यांक हेर्दा १८ लाख सवारीसाधन बागमती प्रदेशमा दर्ता छन्,’ उनी भन्छन्, ‘यसैबाट अनुमान गर्न सकिन्छ, काठमाडौंमा सवारी चाप कति छ ।’
सवारीसाधन बढेको तुलनामा सडक विस्तार नभएको उनी बताउँछन् । ०५८ मा हाछेथू कोटेश्वरमा ट्राफिक इन्चार्ज थिए । उनले त्यहाँ ६ वर्ष ट्राफिक व्यवस्थापनमा काम गरे । ‘०५८ मा कोटेश्वरमा पिकआवरमा प्रतिमिनेट अन्दाजी १५ वटा मोटरसाइकल र १० वटा चारपांग्रे चल्थे । त्यही स्थानमा पुगेर हालै मैले त्यहाँको ट्राफिक चाप बुझ्दा पिकआवरमा प्रतिमिनेटमा ८० देखि १२० मोटरसाइकल र ६० वटासम्म चारपांग्रे गुडेको रेकर्ड गरेँ,’ उनी भन्छन्, ‘सडकको आकारको अनुपातमा सयौँ गुणा सवारी संख्या बढेको छ ।’ अध्ययनले पिकआवरमा कोटेश्वरमा प्रतिमिनेट ५५ जना यात्रुले बाटो काट्ने देखाएको छ ।
पछिल्ला वर्ष काठमाडौंमा चक्रपथबाहिर सहरीकरण व्यापक फस्टाइरहेको छ । मानिसहरूको बसोवास पनि बढिरहेको छ । तर, उनीहरू व्यवसाय, रोजगारी, अवसर, अध्ययन आदिका हिसाबमा चक्रपथभित्रको कार्यस्थलसँग जोडिएका छन् । आवतजावतका क्रममा उनीहरू चक्रपथसँग प्रत्यक्ष रूपमा जोडिएका छन् ।
काठमाडौं उपत्यकाको जनसंख्या करिब ५० लाख रहेको अनुमान छ । यो जनसंख्याको चहलपहल पनि सडक र ट्राफिक प्रणालीसँग जोडिन्छ । ‘जनसंख्याको आकारको तुलनामा सडकको आकार धेरै नै साँघुरो भयो,’ हाछेथू भन्छन् ।
सवारीसाधन व्यवस्थापन नै हम्मे भइरहेको अवस्थामा काठमाडौंमा पैदलयात्रीको विषय छायामा परेको छ । हाछेथू भन्छन्, ‘पैदलयात्रुको विषय त झनै प्राथमिकतामा छैन । न साइकल लेन व्यवस्थित छ ।’