
दिल्लीमा नेपालीहरू भोकले रुने ठाउँ हो पहाडगञ्ज, रोगले रुने ठाउँ हो रोहिणी । उहिले मुग्लान जानेहरू अहिले रेगिस्तान जान थालिसके । तर, पहाडगञ्जमा अझै पनि नेपाली ‘बहादुर’हरू आफूूभन्दा ठुलो भारी बोकिरहेका भेटिन्छन् । नेपालमा लाखौँ खर्चिन्छन् र जीवन बाँच्ने अन्तिम विकल्प खोज्दै दिल्लीको सोमबजारवरपर थकित शरीर घिर्सिंदै भौँतारिरहेका भेटिन्छन् । अहिलेलाई यो कथाचाहिँ नेपालीहरू रोगले रुँदै हिँड्ने सोमबजारको हो, नेपालदेखि दिल्लीको अस्पताल हुँदै सोमबजारआसपास भौँतारिनेहरूको हो ।
दिल्लीको सोमबजारलाई गरिब इलाकाको रूपमा चिनिथ्यो । चहलपहल शून्य । तर, जब सन् १९९६ मा राजीव गान्धी क्यान्सर अस्पताल सोमबजारनजिकै बन्यो, यो क्षेत्र चम्किन थाल्यो । राजीव गान्धीमा उपचार गर्न नेपालसँगै बंगलादेश, श्रीलंका, अफगानिस्तान, इरान र इथोपियाबाट समेत मानिस आउन थालेपछि सोमबजारको कायापलट सुरु भयो । बाहिरियामध्ये सबैभन्दा धेरै नेपाली नै आए । भाडामा दिन घरघरमा लिफ्ट जडान गरियो । त्यसपछि भित्तामा, चोकमा, बाटोमा सूचना टाँसियो, ‘कैंसरके मरिजोंकेँ लिए कमरे उपलब्ध हें ।’
नेपालीहरूले पहिले स्वदेशकै अस्पतालमा १५–२० लाख खर्च गरिसक्छन् । नेपालमा उपाय नलागेपछि बाँच्ने जिजीविषा बोकी जब दिल्लीतिर रवाना हुन एयरपोर्ट र बसपार्क पुुग्छन्, तब अनजान नम्बरबाट फोन आउँछ । मृदुभाषी आवाजमा भनिन्छ, ‘तपाईंले चिन्ता लिनुपर्दैन । बिरामीको नाम भन्नुस् । डाक्टरलाई अपोइन्टमेन्ट यतैबाट लिइदिन्छु । बस्नेखानेको टेन्सन नलिनु । एयरपोर्टमै अस्पतालको गाडी लिन आउँछ ।’ उता प्लेन छुट्न लागेको हुन्छ, यता ती अपरिचित ‘समाजसेवी’को कुरा सुनिदिनुपर्छ । चिप्लो भाषा बोल्ने दिल्लीवाले अस्पतालका ती नेपाली प्रतिनिधिबाट कतिपयले सहयोग पनि पाए । तर, सोमबजारमा सुनियो, ‘तिनीहरूले भनेको अस्पतालमा गएँ । हामीले दिल्लीको अस्पतालमा तिरेको पैसाबाट उनीहरूले उता कमिसन पाउँदा रहेछन् ।’
भारी मन लिएर जब इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा झरिन्छ, तब फेरि फोन आउन थाल्छ । ती फोन दिल्लीमै बसी काम गर्ने नेपालीका हुन्छन् । उनीहरू भन्छन्, ‘धेरै अस्पताल चिनेको छु । ७० प्रतिशतसम्म डिस्काउन्ट गरिदिन्छु ।’ विपत्मा उनीहरूले सघाएका पनि छन् । तर सोमबजारमा भेटिएका भुक्तभोगी भन्दै छन् ‘उनीहरूले मेरो लाखौँ स्वाहा बनाए ।’
दुुइटा पर्खाल नाघेर, बिरामी बोकी रोहिणी सेक्टर–५ सोमबजार पुुगेपछि फेरि सुरु हुन्छ, लुटको अर्को शृंखला । सुटकेस घिसार्दै, धुलाम्मे झोला भिर्दै साँझपख सोमबजार ओर्लिने नेपाली देख्यो कि जुकाझैँ सल्बलाउँदै आइपुग्छन् इन्डियनहरू । भएभरको सुविधा छ भन्दै ढाँटेर कोठामा लैजान्छन् । ‘भनेको सुविधा भएन, हामी सर्छौं’ भन्यो भने धम्काउँदै पैसा बढी असुल्छन् । कोठाभाडाकै निहुँमा कतिपय नेपाली कुटिएका पनि छन् । थोरै राम्रा घरवाला पनि भेटिन्छन् । कोठा दिने इन्डियनले एकझमट लुटेपछि सुरु हुन्छ, अस्पतालको कठिन यात्रा ।
राजीव गान्धी अस्पतालमा मात्रै नेपालीले बुझाउँछन् वार्षिक ६ अर्ब
सोमबजार बस्ने धेरैजसो पाँच सय मिटरनजिकैको राजीव गान्धी क्यान्सर अस्पताल जान्छन् । बाँकी कोही मेदान्त, कोही एम्स, कोही म्याक्स, कोही गंगाराम, कोही एपोलोतिर जान्छन् । ती अस्पतालको कथा अलग्गै छ । १० वर्षअघिदेखि सोमबजारमै व्यवसाय गरिरहेका विष्णु शाही ठकुरी भन्छन्, ‘राजीव गान्धीमा हरेक दिन ४० देखि ५० जना नेपाली नयाँ बिरामी थपिन्छन् । त्यो अस्पतालमा मात्रै हरेक महिना नेपालीले ३५ देखि ५० करोड बुझाउँछन् ।’ मासिक ५० करोडको दरले वार्षिक ६ अर्ब रुपैयाँ एउटै अस्पतालमा नेपालीले बुझाउँदा रहेछन् । अरू अस्पतालमा कति बुझाउँछन्, त्यसको कुनै हिसाब छैन ।
दिनभरि अस्पतालको चक्कर काटेर बेलुकी नेपालीहरू सोमबजारको चिया पसलमा जम्मा हुन्छन् । सोमबजारमा नेपालीहरू यति धेरै भेटिन्छन् कि मानिसहरू भन्ने गर्छन्, सोमबजारको नाम फेरेर ‘मिनी नेपाल’ लेखिदिए हुन्छ । आधिकारिक तत्थांक छैन । तर, अनिल गुरुङसहित वर्षौंदेखि यतै काम गरिरहेका नेपाली भन्छन्, ‘दुई हजारदेखि तीन हजारजनासम्म नेपाली सोमबजारमा बसेर उपचार गरिरहेका छन् ।’ राजीव गान्धीमा उपचार हुने कुल बिरामीमध्ये ३० प्रतिशतभन्दा धेरै नेपाली हुने बताइन्छ ।
कोही दिल्ली घुम्न जाने भन्दै परिवारलाई ढाँटेर एक्लै आइपुगेका छन् । कोही हरेक महिना जीवन लम्ब्याउन लाखौँ खर्चिएर फलोअपमा आइपुगेका छन् । कोही ३६ घण्टासम्म बसमा चढेर खुट्टा सुन्नाएर आइपुगेका छन् । कोही क्यान्सर लागेपछि श्रीमान्ले छोडिदियो भन्दै उपचार गर्न आफन्त लिएर आइपुगेका छन् ।
सोमबजारको एउटा रुखमुनि छ, चितवनका अनिल गुरुङको खाजा पसल । नजिकै छ, विष्णु शाही ठकुरीको ट्राभल एन्ड टुर्स । यी दुई स्थान नेपाली जमघट हुने, दुःख सुनाएर दुुःख घटाउने चौतारी हो । विष्णु, अनिलहरूले नेपालीलाई मनग्य सघाएका पनि छन् । त्यहीँ ठोकिन पुग्छन् अलग–अलग मुहानबाट बग्दै आएका पीडाका नदीहरू । चिया चौतारीमा नयाँ सदस्य थपिए पहिलो प्रश्न हुन्छ, ‘को लिएर ?’ दोस्रो प्रश्न, ‘नेपालमा के भन्यो ?’ अर्काे डरलाग्दो प्रश्न हुन्छ, ‘कति स्टेज ?’ त्यसपछि एकछिन रोकिन्छ संवाद । ६ महिनादेखि डेढ वर्षसम्म सोमबजारआसपास भौँतारिरहेका भुक्तभोगी सान्त्वनाका शब्द खसाल्छन्, ‘चिन्ता नगर्नू, कस्तो–कस्तो रोग त निको भाको छ । तपाईंको के हो र ?’
चियासभा सकिएपछि सबै लाग्छन्, आआफ्ना डेरातिर । अलग–अलग गल्लीमा अलप हुने ती नेपालीका हातमा झुन्डिएका हुन्छन्, चामल, तरकारी र फलफूूल । सँगै हुँदा पो मन बहलिन्छ, एक्लै हुँदा मन फेरि कहालिन्छ । त्यसपछि गल्ली नापिरहेको पाइला त्यसैत्यसै सुस्तरी चल्न थाल्छ । सोमबजारको गल्लीहरूमा एक केजी चामल, दुइटा स्याउ, तिन्टा आलु बोकेर सुस्तरी हिँडिरहेको कोही देखे सम्झिनु ऊ नेपाली हो । टुटेफुटेको हिन्दी बोल्दै मेडिकल बाहिर दबाई मागिरहेको कोही देखे सम्झिनु ऊ नेपाली हो । ‘साला बिहारी, नेपाली और भिखारी सब एकी हे,’ यस्तो छुद्र वचन कुनै दोकानबाट आइरहेको छ भने सम्झिनु दोकान बाहिर उभिएको त्यो उदास अनुहार नेपालीको हो । ठेलागाडामा फलफूल बेच्नेले पनि हप्काउँछ । ठेलागाडातिर फर्किफर्की हेर्दै निन्याउरो मुख लगाएर आफैँसँग बोलिरहेको कोही देखे सम्झिनु ऊ नेपाली हो । वर्षौंदेखिको यो होचो हुलिया संसारकै अग्लो हिमालयको देशबाट आएको मान्छेको हो । यसमा बदलाव कहिले आएन, बरु दिनहुँ बढिरह्यो ।
अनगिन्ती पीडाहरू
नेपालको सोमबारे हाटजस्तो सुनिने सोमबजारआसपास नेपालीको आँसु नबगेको कुनै गल्ली छैन । निन्याउरो अनुहार लिएर हिँड्ने नेपाली प्रत्येक चोक, गल्ली र मोडमा भेटिन्छन् । उनीहरू जबर्जस्ती आँसु लुकाएर हिँडेका हुन्छन् । डाक्टरले कसैलाई भनेका हुन्छन्, ‘तपाईंको बिरामी बाँच्ने चान्स ४० प्रतिशत छ । के गर्नुहुन्छ ?’ कुनैलाई भनेका हुन्छन्, ‘चार करोड भए उपचार थाल्नू, नत्र कोसिस नगरे हुन्छ ।’ कसैलाई भनेका हुन्छन्, ‘ढिलो आउनुभयो । अब घरमा गएर बिरामीले खोजेको खुवाउनू ।’ यसो पनि भनेका छन्, ‘तपाईंको ब्रेस्ट फाल्नुपर्ने नै थिएन ।’ अनिल भन्छन्, ‘अधिकांश नेपालको अस्पतालले बिगारेको बिरामी यहाँ आउँछन् ।’
एकसाताअघि अनिलको खाजा पसलबाहिर एउटा एम्बुलेन्स रोकिएको थियो । त्यहाँ केही मानिस चढे । ह्विलचेयरमा एकजना बिरामी चढे । अनिल ती बिरामीलाई बिदा गर्न गए । एम्बुलेन्स साइरन बजाउँदै सोमबजारबाट ओझेल प¥यो । अनिलले लामो सास फेर्दै भने, ‘बिचरा !’
अनिलका अनुसार ती व्यक्ति पोखराका रहेछन् । अमेरिकामा ठिकठाकको जिन्दगी चलिरहेको थियो । एक वर्षअघि उनलाई क्यान्सर देखा पर्यो । अमेरिकामै इलाज हुने विश्वासले उतै उपचार थाले । एक वर्षसम्म अमेरिकी डाक्टरले उनको शरीरबाट खुन निकालेर अनेक परीक्षण गरिरहे, अन्ततः नसक्ने भन्दै हात उठाए । त्यसपछि उनी दिल्ली आए । राजीव गान्धी क्यान्सर अस्पतालले भनिदियो, ‘धेरै ढिलो भयो । अब घरमा आराम गर्नू ।’ सपनाका थाक बोकेर अमेरिका पुगेका ती युवा त्यसरात मृत्यु कुर्न एम्बुलेन्समा घर फर्के । बाटोभरि उनले के सोचे होलान् ? फेवातालको माथि–माथि प्याराग्लाइडिङ उडिरहेको देख्दा ती युवाको मनमा कस्तो कुरा खेल्यो होला ?
जापान बस्ने दिदी र अमेरिका बस्ने भाइले यही वर्षको दसैँमा एउटा योजना बनाएका थिए–सरप्राइज दिन एकैपटक सँगै घर आउने । जापानमा नर्स काम गरिरहेकी दिदी साइकल चलाउने क्रममा लडिन् । घाउ निको भएन । एकदिन घाउले क्यान्सरको रिपोर्ट बोकेर आयो । सरप्राइज दिने सपना चकनाचुर भयो । भदौमै नेपाल आइन् । दिदी नेपाल आएपछि भाइ पनि नेपाल आए । घर नपुग्दै दुर्घटनामा परी भाइको मेरुदण्ड भाँचियो । नेपालमा बुबा भाइसँग अस्पतालमा, दिल्लीमा आमा छोरीसँग अस्पतालमा । विपत्को बज्रप्रहार यतिमै कहाँ रोकियो र ! छोरी डोर्याउँदै अस्पताल धाइरहँदा ती आमाले सुनिन्, ‘माइतीमा आमा बित्नुभयो ।’ अनिल चिया बाँड्दै सुनाउँछन्, ‘ती दिदी पागलजस्तै भएकी छिन् ।’
काठमाडौं बालुवाटारका २८ वर्षीय युवाको शरीरबाट जब क्यान्सरग्रस्त ट्युमर निकालियो अस्पतालका डाक्टरले अचम्म मान्दै जिब्रो टोके । इन्जिनियर ती युवाको शरीरको तीन ठाउँमध्ये एक ठाउँबाट मात्रै सात केजीको ट्युमर निकालियो । राजीव गान्धीको इतिहासमा त्यो नै आजसम्मको ठुलो ट्युमर थियो । अप्रेसनपछि छोरा भेन्टिलेटरमा गए । उनको वृद्ध बुबा वेटिङ रूममा साह्रै कठोर प्रतीक्षा गरिरहेका थिए । आँखाबाट आँसु बगेन । आँसु बाँकी भए पो बग्नु ।
सुनसरीकी ५० वर्षीया दिदीलाई रोगसँगै अर्काे पिरलो थपियो । यो पिरलोले दिदीलाई भित्रभित्रै गलाइरहेको छ । उनको टोलछिमेकमा जाँडरक्सीका लती पुलिङहरू दिदीदेखि थुरुरु काम्थे । जहाँ महिलामाथि हिंसा हुन्थ्यो, त्यहाँ घाइते बघिनीझैँ झम्टिन पुग्थिन् । दिदीलाई थाइराइड क्यान्सर भइदियो । दिदी ३० घन्टाको रेलयात्रा गरेर दिल्ली आइपुगिन् । करिब १५ घन्टा त महाकुम्भको कारण रेलमा ठाउँ नपाएर उभिइन् । अस्पतालको आँगनमा भेटिएकी ती दिदी लामो सास फेर्दै भन्छिन्, ‘प्यारप्यार बोल्थी, घाँटीमै क्यान्सर भयो भनेर दुस्मन खुसी भए होलान् ।’
बुटवलका युवाले सुनाए, ‘अस्पतालबाट लास निकाल्ने गोप्य ठाउँ मैले थाहा पाएँ नि !’ अवाक् हुँदै उनको अनुहारमा हेरिरहेँ । ६ महिने बच्चाको उपचार गरिरहेका उनी त्यो गोप्य ठाउँ खोज्दै किन पुगे, थाहा छैन । उनले अघिल्लो साँझ भनेका थिए, ‘डाक्टरले भनेको मेरो बच्चा ४० प्रतिशत मात्रै बाँच्ने सम्भावना छ रे !’ लगत्तै उनले गाउँमा फोन गर्दै भने, ‘जग्गा किन्ने मान्छे नभेटिए दलाल लगाउनू ।’
विष्णु शाही सुनाउँछन्, ‘केही समयअघि एकजना बिरामीले कुुरुवालाई जाडो भयो, हिटर ल्याउनू भनेर बाहिर पठाएछ । हिटर लिएर जाँदा बिरामीले आत्महत्या गरेछ ।’ १० वर्षे सोमबजारको बसाइमा यसरी नै दुईजना नेपाली बिरामीले आत्महत्या गरेको विष्णु सम्झिन्छन् ।
कोही दिल्ली घुम्न जाने भन्दै परिवारलाई ढाँटेर एक्लै आइपुगेका छन् । कोही हरेक महिना जीवन लम्ब्याउन लाखौँ खर्चिएर फलोअपमा आइपुगेका छन् । कोही ३६ घन्टासम्म बसमा चढेर खुट्टा सुन्नाएर आइपुगेका छन् । कोही क्यान्सर लागेपछि श्रीमान्ले छोडिदियो भन्दै उपचार गर्न आफन्त लिएर आइपुगेका छन् । वार्ड थर्किने गरी एकजना वयस्क पुरुष डाँको छाडेर रोए । उनको छेउमा १०–११ वर्षे छोरी टोलाइरहेकी थिइन् । सम्झिएँ, पक्कै छोरी नबाँच्ने भएछ । तर होइन, कारण अर्कै रहेछ । क्यान्सरग्रस्त छोरी च्यापेर हिँडेको महिनौँसम्म कुनै पनि आफन्त साथीभाइले के छ हालखबर भनेर सोधेनछन् । कतैबाट एकजनाले सोध्नेबित्तिकै उनी डाँको छाडेर रोए । संयोगले ती रुने यसपटकलाई नेपाली थिएनन् । यी व्यथा सागरबाट टिपेको केही बुँद पानी मात्रै हो । यस्ता कथाव्यथा कति छन् कति !
आँसुको देश
कतिपयलाई लाग्न सक्छ, ‘पैसा हुने वर्ग जाने हो दिल्ली । नहुने नेपालमै मर्ने हो ।’ यो सत्य होइन । नेपालको अस्पतालले अन्तिममा हात उठाउँदै भनिदिन्छ, ‘हामीले सकेनौँ ।’ जुनसुकै वर्गको होस् आफ्नै अगाडि टुलुटुलु हेर्दै बोलिरहेको बिरामीलाई कसरी भन्न सकिन्छ, ‘नेपालको डाक्टरले सकेन । अब तिमी मर्दै छौ ।’ जे–जति छ सबथोक बेचेर मान्छेहरू दौडिएर आइपुगेका छन् दिल्लीतिर । यति हो, हुनेको केही खती होला, नहुनेको सबैथोक सकिन्छ । उच्च वर्गको केही आर्थिक खती होला । मध्यम वर्ग भुँइमा ओर्लिन्छन् । भुइँको मान्छे अन्त्यहीन गरिबीको दुुश्चक्रमा झन् भासिन्छन् । सास भइन्जेल आस भन्दै बिरामी लिएर आइपुग्छन् दिल्ली । कतिपय निको भएर जान्छन् । कतिपयलाई भनिदिन्छ, ‘ढिलो गर्नुभयो ।’
सोमबजारको गल्ली मात्रै होइन, अस्पतालको हरेक कुनामा नेपाली नरोएको कुनै ठाउँ छैन । नेपाली मात्रै होइन, जटिल रोग लागेपछि सबै रुन्छन् । हो रुन्छन् । तर, आँसुको पनि देश हुँदो रहेछ । भारतीयहरू पनि रुन्छन् । तर, उनीहरू घरबारी खेतको चिन्ताले रुँदैनन् । रोग लागेपछि गरिबीको घन बज्रिएर जिन्दगी टुक्राटुक्रा हुने पिरलोले रुँदैनन् । बरु उल्टै सरकारले पाँच लाखदेखि आठ लाखसम्म दिन्छ । अस्पतालमा सहुलियतमा उपचार हुन्छ । बिमा कम्पनीले काँध थाप्छ । नेपालीहरू रुन्छन्, रोगी आफन्त सम्झिएर, घरबारी, खेत, सामाजिक अपहेलना र निकम्मा देश सम्झिएर ।
डाँको छाडेर रुन मन लाग्छ । तर, रुने ठाउँ भेटिँदैन । बिरामीको अघि रोऊँ, मिल्दैन । उसको आत्मबल बढाउन झुटो बोल्नुपर्छ । घरमा आफन्तसँग रोऊँ, उता गाउँमा घरबारीको साइज हेरेर ऋण दिइरहेका हुन्छन् । पैसा जुटाउन समस्या पर्छ । यता अस्पतालमा पैसाको बिल लम्बिँदै जान्छ, उता गाउँघरमा खेतबारीको साइज छोटिँदै जान्छ ।
त्यसपछि मनको उकुसमुकुस पोख्न नेपालीहरू सोमबजारमा जम्मा हुुन्छन् । जसले सबैभन्दा ठुल्ठुुलो स्वरमा कुरा गर्छ, विनाप्रसंग पटक–पटक हाँस्छ, जोक र ठट्टा सम्झिसम्झी सुनाउँछ, संकेत बुझ्नुपर्छ, त्यो मान्छे भित्रभित्रै खुब रोइरहेको छ ।
जीवन र मृत्युको दोभान
सोमबजारआसपास केही ट्राभल एजेन्सी छन् । त्यहाँ उपचारपछि जानेहरूको झोला सुटकेस राखिएका हुन्छन् । ती दृश्य देख्दा आफ्नो पालो कहिले आउने होला भन्ने पिरलोले मन साह्रै कुँडिन्छ । ‘हामीलाई छुट्टी दियो, अब पर्सि घर जाने,’ सोमबजारमा हिँडिरहँदा कसैले सुनाउँछ । यस्तो लाग्छ, कैदी वर्षौंंको जेल सजाय भोगेर रिहा हुँदै छ । दिल्ली आएर निको हुनेहरू पनि प्रशस्तै छन् । कतिपय वर्षौंपछि रोग बल्झिएर आउनेहरू पनि छन् । विष्णु भन्छन्, ‘८५ प्रतिशत बिरामी निको भएर फर्किएका छन् । क्यान्सर भएकाले पटक–पटक फलोअपमा आउनेहरू धेरै छन् ।’
सोमबजारको चियापसलमा यस्तो पनि सुनिन्छ, ‘जति बाँचिन्छ हाँसेर बाँच्ने हो । अजर अमर हुने को छ र !’ मसिनो स्वरमा अर्कोले सुनाउँछ, ‘फलानो त हिजो राति बित्यो रे !’ एकछिन वातावरणमा सन्नाटा छाउँछ । गाडीको चर्को हर्नले समेत चियापसलको सन्नाटा तोड्न सक्दैन । निकै बेरपछि कोही बोल्छ, ‘हिजो साँझ ऊ त्यो टुलमा बसी हाँसीहाँसी गफ गर्दै थियो ।’ यस्तो लाग्छ, सोमबजारको एउटा गल्लीमा जीवन फूलको माला लिएर घुमिरहेको छ । अर्को गल्लीमा मृत्यु कात्रो लिएर घुमिरहेको छ । सोमबजार जीवन र मृत्यु एकैठाउँमा भेटिने दोभान हो, जिन्दगीको खास अर्थ बुझाउने पाठशाला पनि हो ।
दोष कसको ?
दोष कसलाई दिने ? समयलाई ? भाग्यलाई ? आफ्नै कर्मलाई या राज्यलाई ? चिया पसलमा मतहरू बाझिन्छन् । शान्त स्वरमा एकजनाले तर्क गर्छ, ‘रोगले पनि गरिब नै छान्दोरैछ ।’ चिया पिउँदै अर्कोले थप्छ, ‘धनीहरू त मिठोमिठो छानिछानी खाइहाल्छ । हामी गरिपले अगाडि जे भेट्छ, त्यही खाने हो, जाँ भन्छ त्यहीँ काम गर्ने हो, अनि लाग्दैन रोग ?’ मःमको डल्ला खाँदै अर्कोले भन्छ, ‘हाम्रो भाग्य नै खोटो रैछ ।’ अर्कोले कुरा काटिहाल्छ, ‘भाग्यसाग्य केही होइन । नेता गतिलो नभएर हो । नेता गतिलो भए लाखौँ बुझाएर बिरानो ठाउँमा रुँदै हिँड्नुुपर्ने थिएन । देशमै हुुन्थ्यो उपचार ।’ चियाको बाफभन्दा रिसको बाफ माथि उड्न थाल्छ । गर्मागरम बहसमा अर्काेले कुरा थप्छ, ‘दलाल राज्य आफैँ क्यान्सरग्रस्त छ ।
कहाँबाट सोच्ने जनताको पिरमर्का ?’
परदेशमा गरिब देशको नागरिक हुनुको पीडाले साह्रै दुखाउँदो रहेछ । निकम्मा नेताहरूले ढलिमली गरेको देशको नागरिक हुनुको घाउ असाध्यै चहर्याउँदो रहेछ । भन्नलाई गणतन्त्र आ’को देश भन्ने तर स्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्य कहिले सहारा नबन्ने, अर्काको देशमा आएर नागरिकहरू लुकिलुकी रुनुपर्ने । खै यो कस्तो गणतन्त्र हो ? चिया पसलमा यस्तो पनि सुनिन्छ, ‘अस्ति एकठाउँमा मैले दार्जिलिङबाट आको भन्दिएँ । नेपाली भन्यो कि हेप्न थालिहाल्छ ।’
सोमबजारको यो चियागफ फगत चियाको चुस्कीसँगै बिलाउँछ । यो पीडा न कहिले संसद्मा छलफल हुन्छ, न सरोकारवालाले सुनिदिन्छ । राज्यले विपन्न क्यान्सर रोगीलाई एक लाखसम्म सहयोेग गर्ने बताएको छ । तर, त्यो एक लाख लिन दर्जनौँ ठाउँमा दयाको भिख माग्दै हिँड्नुपर्छ । एक लाखले एक हप्ता पनि उपचार गर्न पुग्दैन । हिमाल चढ्दै गरेको आरोहीलाई एउटा फ्रुटी दिएजस्तो मात्रै हुन्छ ।
सोमबजारमा आएपछि थाहा हुन्छ, नेपालमा क्यान्सर अब भुसको आगो रहेन, डढेलो बनिसक्यो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा विश्वमा दुई करोड क्यान्सर रोगी थिए । २०२३ को रिपोर्टअनुसार भारतमा मात्रै १४ लाख क्यान्सरका बिरामी छन् । नेपालमा हाल क्यान्सर रोगीको संख्या २२ हजार रहेको र सन् २०५० सम्ममा ९१ प्रतिशतले क्यान्सर रोगी बढ्ने विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको छ ।
राज्य गम्भीर हुने हो भने ९० प्रतिशतभन्दा धेरै क्यान्सर हुने कारणलाई रोगथाम गर्न सकिने विज्ञहरूले भनिरहेका छन् । क्यान्सर मौलाउनुमा राजनीतिक कारण जबर्जस्त जोडिएको छ । विषाक्त, पानी, फलफूल र तरकारी, मेसिनजस्तो दैनिकी, नाफा कमाउन प्रकृतिमाथि अतिशय दोहन, माफियाहरूको कब्जामा औषधि उद्योग, यी सबै अपराधलाई अंकमाल गरी बस्ने राज्य यिनै कारण क्यान्सर नेपालीको प्राणहरण गर्ने पहिलो कारण बन्दै छ । विश्व स्वास्थ्य संगठनले क्यान्सरको सामाजिक तथा राजनीतिक कारणमा गरिबी र असमानता मानेको छ । कमजोर वर्ग बढी क्यान्सरको जोखिममा परेको उल्लेख गरेको छ ।
सोमबजारलाई नेपालको स्वास्थ्य स्थिति नियाल्ने ऐना भने पनि हुने रहेछ । यहाँ नेपालीको अनुहार साह्रै टिठलाग्दो देखिन्छ । सोमबजारबाट सगरमाथातिर हेर्दा नेपाल साह्रै दयालाग्दो देखिँदो रहेछ । नेपाल न ‘राष्ट्रियगान’मा भनिएजस्तोे विशाल, अटल र सार्वभौम देखिन्छ, न नेताहरूले भनेजस्तो समाजवादउन्मुख नै । सोमबजारतिर त नेपाल घरबारी बेचेर अस्पतालको आँगनमा जीवनको भिख माग्दै गिडगिडाइरहेको भेटिन्छ ।
०००
अस्ति बेलुकी चिया पसलमा झापाका एकजना ६५ वर्षका पाका व्यक्तिले साह्रै हँसिलो अनुहारमा किस्सा सुनाए । हामी हाँसेजस्तो गर्यौँ, उनको कुरा ध्यान दिएर सुनेजस्तो गर्यौँ । हामीले यसकारण कुरा सुनिरहेका थियौँ कि उनको छोराले अघिल्लो दिन आँसु लुकाउँदै भनेका थिए, ‘बुबालाई अस्पतालले भर्ना लिएन । घर लगे हुन्छ भन्यो । तर, यो कुरा बुवालाई भन्न सकिरहेको छैन । कसरी भन्ने होला ?’