
कविता के हो ? भन्ने चेत नपस्दै कविता लेख्न थालेकी हुन्, बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले । विद्यालय पढ्दाताका आमाको मायामा पोखिने केही शब्द, घरमा पालेको कुकुर, बिरालोको अन्त्येष्टिपछि लेखिने शोकका केही वाक्य, विद्यालयबारे गरिने गुनगान समेटेर उनी कविता लेख्थिन् । उनी यही भावनालाई विचार र लय भरिदिने काम भने राजनीतिक चेतनाले गर्यो । त्यसपछि उनका कविताले भावना मात्र व्यक्त गरेन, समाजको यथार्थ बोल्न थाले ।
त्यो यथार्थता बोल्ने काम ०४७ सालको प्रवेशिका परीक्षापछि अझ सशक्त बन्यो । किनभने, उनी ०४६ मा पञ्चायती व्यवस्था फाल्ने र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना गर्ने आन्दोलनमा सहभागी भइन् । त्यसपछि शोषण, दमनविरुद्ध र न्यायको पक्ष उनको कविता बोल्यो । ‘कवितालाई कविताजस्तो बनाउन कविताको चेत चाहिन्छ । त्यो चेतका लागि विचार भर्नुपर्ने रहेछ । पञ्चायती व्यवस्था फाल्ने क्रममा मान्छेलाई सचेत गराउने पक्षमा काम गर्नुपर्छ भन्ने मभित्र चेतना जन्मियो । त्यही चेतनाले कवितालाई लय प्रदान गर्यो,’ लामाले भनिन् । कवितासँगै सुरुवाती दिनमा उनले एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघमा आबद्ध भएर जनवादी गीत गाइन् । त्यही ताका कविता लेख्ने रफ्तार बढाइन् ।
साहित्यिक गतिविधि खासै नहुने त्यो वेला तत्काल कविता लेख्न सक्ने क्षमताका कारण उनलाई थप सहज भयो । पाएका अवसरलाई उपयोग गर्दै जाँदा उनी कविको रूपमा स्थापित हुँदै गइन् । ‘अहिले जस्तो ठाउँको ठाउँ अवसर पाइँदैनथ्यो । त्यसैले पाएको अवसरलाई प्रयोग गर्न सिकेँ । ०५० पछि साहित्यका प्लेटफर्म बढ्दै गयो,’ उनी भन्छिन्, ‘०५४ को स्थानीय निर्वाचनका लागि गीत गाइयो । कविता लेखियो । निर्वाचनको माहोल नै गीतमय, कवितामय बनाएर निर्वाचनमा आफू बसेको वडा र छिमेकी वडा पनि जित्यौँ । त्यसपछि राजनीतिक पार्टीभित्र मेरो अलि प्रचार भयो । अतिरिक्त क्रियाकलापमा अब्बल व्यक्ति हो भनेर अरूले पनि बोलाउन थाले ।’ ०५५ सालमै उनले ‘अनुराग’ कवितासंग्रह प्रकाशित गरिन् । त्यसपछि त उनी साहित्यिक क्षेत्रमा स्थापित भइहालिन् ।
अनिताको सामाजिक सञ्जाल हेर्ने हो भने साहित्यकार कि जनप्रतिनिधि छुट्याउन गाह्रै पर्छ । साहित्य र नगरपालिकाका गतिविधि दुवैले उनको जीवनमा उत्तिकै प्राथमिकता पाउँछन् । उनलाई लाग्छ, कवि अनिता लामा र जनप्रतिनिधि अनिता लामा दुवैले अन्याय भोग्नुहुँदैन । ‘साहित्य र नगरपालिकाका काम दुवै सँगै लिएर अगाडि बढिरहेको छु । साहित्य भनेपछि त्यसले छुट्टै खालको रिफ्लेक्सन दिन्छ । नगरपालिकाको कामले पनि छुट्टै रिफ्लेक्सन गर्छ । यी दुई अलग कुरा पनि होइन,’ उनी भन्छिन् । अहिलेसम्म उनको तीनवटा कविता संग्रह बजारमा आइसकेका छन् । जुन उनी निर्वाचित हुनुभन्दा अघि नै बजारमा आएका हुन् ।
अनिता जब न्याय सम्पादन गर्ने भूमिकामा हुन्छिन्, तब कवि मन एकाएक गायब हुन्छ । न्याय निरूपण गर्दा दुवै पक्षको हित र जितको पक्षलाई हेर्नुपर्छ भन्ने समान तुला आएपछि सबै कठिनता र जटिलता हट्ने उनी बताउँछिन् ।
उनका लागि हिजो कविता जन्मिने अवस्था फरक थिए । आज कविता जन्मिने अवस्था केही फरक छन् । योबाहेक उपमेयर अनिता लामामा खास केही फरक छैन । हिजो समाजका बेथिति, विसंगति, राजनीतिक क्रान्ति, व्यवस्थाबारे बोल्थिन् । आज आफूले लिएको अवधारणाअनुसार कार्यसम्पादन हुन नसकेपछि आउने असन्तुष्टि, नगरपालिकाकै काममा विभिन्न समुदाय, भूगोलमा पुग्दा देखिने गतिविधिलाई कविताको रूप दिन्छिन् । त्यसैले आज नगरपालिकाभित्र गरिरहने कामका विषयका ठाउँबाटै कविता जन्माइरहेकी छिन् । जनप्रतिनिधि र कवि दुवैको भूमिका उत्तिकै न्यायसंगत रूपमा निभाइरहेकी छिन् । ‘दुवै व्यक्ति बनेर हेर्दा मलाई अलग लाग्दैन । समयको बाँडफाँड गर्दा कहिलेकाहीँ चरित्रको रूपमा चाहिँ अलग भइदिनुपर्छ, कवि र जनप्रतिनिधि,’ उनले भनिन्, ‘दुवैलाई सँगै अगाडि बढाउन त्यति गाह्रो छैन । आत्मविश्वास र प्लेटफर्मलाई कति न्याय गर्न सक्छु भन्ने मात्र हो । र, सँगै लैजाऔँ भन्ने मेरो चाहना हो ।’
साँघुरिएकी उपमेयर अनिता
कवि अनिता लामा जति स्वतन्त्र, सार्वभौम छिन् । त्यस्तो सार्वभौम उपमेयर अनिता लामा नभएको उनी पाउँछिन् । उनी कवि मनलाई पनि त्यसरी नै जवाफ फर्काउँछिन् । उपमेयर अनिताका लागि अवरोध छ । हजार लक्ष्मणरेखा छन् । उसको अगाडि राजनीतिक पार्टी छ । चुनावमा मत दिएर जिताएर पठाउने नागरिक छन् । ऊभन्दा माथिल्लो स्तरका जनप्रतिनिधि छन् । प्रदेश र केन्द्र सरकार छ । तर, कवि अनिताले सबै फाँडेर संसार एकै हो, त्यहाँभित्र सीमितता हुनुहँुदैन, मत मतैक्य हुनुहुँदैन । अन्तरद्वन्द्व हुनुहुँदैन भन्ने सोच राख्छ । त्यसैले कवि मन र उपमेयरको द्वन्द्व छ । भेट हुन कहिलेकाहीँ गाह्रो पनि छ । ‘कविताले क्षेत्राधिकार हुँदैन, ब्रह्माण्ड नै मेरो हो भन्छ । अहिले पो संघीय लोकतान्त्रिक गणतन्त्र आयो । कविता उहिले नै सार्वभौमसत्ता सम्पन्न भएको हो,’ उनी भन्छिन्, ‘उपमेयर मनले चाहिँ कविता लेखेर मात्रै भूगोल तिम्रो हुन सक्दैन । यो संसार बसाउन सक्दैनौँ । यो संसार तिमीले भनेकोजस्तो बसाउन कार्यउन्मुख हुनुपर्छ भन्छ ।’
कवि मन र उपमेयर मनबिच द्वन्द्व त चल्छ नै । द्वन्द्वभन्दा धेरै उनी अहिले कार्यउन्मुख क्षेत्रमा भएकाले सोहीअनुसार काम गर्छिन् । ठुलै मुद्दा पनि सजिलै सल्टाइरहेकी छिन् । करिब तीन वर्षदेखि उपमेयरको भूमिकामा रहँदै गर्दा उनी न्यायिक समितिको संयोजक हुन् । अर्थात्, नगरपालिकामा सही र गलत छुट्याउने तुला लिएर बसेकी व्यक्ति । उनीसमक्ष सम्पत्तिसम्बन्धी मुद्दा लिएर धेरै नगरवासी आइपुग्छन् । घरघडेरी मिचेको, प्लटिङ गर्नेहरूले बिगारेर जग्गा बेचेको, श्रीमान्–श्रीमती मात्रै होइन, बाबुछोराबिचको अंशबण्डाका समस्या आइपुग्छन् । कतिपय वेला श्रीमान् पनि हिंसामा परेको भन्ने उजुरीसमेत न्यायिक समितिमा आइपुग्छन् । तर, उनी लैंगिक संवेदनशीलतामा उत्तिकै सजग छिन् । किनभने, आज पनि हाम्रो समाजमा पितृसत्तात्मक सोच व्याप्त छ । ‘हामी पितृसत्तात्मक समाजबाट रूपान्तरित हुने क्रममै छौँ । आज पनि पितृसत्ता र पितृसत्तात्मक सोच समाजमा व्याप्त छ ।
नगरपालिकाकै उपमेयर भए पनि मैले पनि कहिलेकाहीँ त्यस्ता कुरा भोग्नुपर्छ । त्यो भनेको हामीभित्रैको सोचमा रूपान्तरित हुन नसकेको प्रक्रिया हो । त्यसकारण न्यायिक समितिमा आउने मुद्दामा पनि त्यस्ता कुरा देखिन्छ,’ उनी भन्छिन्, ‘मानिसहरू विभिन्न बहानामा बसाइँसराइ गरिरहँदा सहर र सहर हुँदै गरेका ठाउँ भरिभराउ हुँदै गएका छन् । जुन यो नगरपालिकामा पनि देखिन्छ । सहरको धेरै भाग ओगटेको यो नगरको मुख्य समस्या बसाइँसराइबाट पनि निम्तिरहेको उनी बताउँछिन् । उनका अनुसार अहिले मान्छेहरू श्रम, व्यापार, उद्यमशीलता, रोजगारी सिर्जनालाई प्राथमिकता दिनेभन्दा पनि त्यसबाट आफ्नो दिनचर्यामा परेको असरबारे धेरै सोच्ने भएका छन् । उनीसमक्ष विभिन्न कारखानाबाट आएको गन्धले असर गर्यो । दुध डेरीबाट आएको गन्धले बसिखान भएन । पार्टी प्यालेसबाट आएको आवाजले ध्वनि प्रदूषण भयो । बंगुरपालनको दुर्गन्ध हटाइदिनुपर्यो । पाउरोटी कारखानामा चलेको मेसिनले ध्वनि प्रदूषण भयो, जीवनमा असर पर्यो । त्यसैले कारखाना बन्द गरिदिनुपर्यो भन्नेजस्ता उजुरीका चाङ समितिमा आइपुग्छन् । लेनदेनको मुद्दा पनि समितिमा त्यत्तिकै छन् । चेक दिएर चेक बाउन्स हुने मुद्दा पनि आइरहेकै हुन्छन् । ‘जस्तो मुद्दा आए पनि हामी न्यायिक समितिमा बसेर काम गर्ने क्रममा हित सोचेर बस्यो भने सबै किसिमका मुद्दा मिलाउन सक्छौँ,’ उनले भनिन् ।
उनी जब न्याय सम्पादन गर्ने भूमिकामा हुन्छिन् । तब कवि मन एकाएक गायब हुन्छ । न्याय निरूपण गर्दा दुवै पक्षको हित र जितको पक्षलाई हेर्नुपर्छ भन्ने समान तुला आएपछि सबै कठिनता र जटिलता हट्ने उनी बताउँछिन् । त्यसैले न्यायिक निरुपणमा उनले अहिलेसम्म कुनै पनि द्वन्द्व व्यहोर्नुपरेको छैन । सोहीकारण गत आर्थिक वर्ष नगरपालिकाले सबैभन्दा धेरै मुद्दा मेलमिलाप गर्न सफल भएको छ । त्योभन्दा अघि न्यायिक समितिले धेरै मुद्दा टुंग्याउन नसक्दा अदालतमा पुगेका थिए । ‘कवित्व मन भएको मानिस अलि धेरै आवेगमा आउने, अलि धेरै मनोविनोद प्रकट गर्ने हुन्छ । जब न्यायिक निरुपणको क्रममा रहन्छु । त्यो सबै हराउँछ । कविताभित्र पनि निरंकुशता, सदाशयता, समावेशी, एकल चरित्र भएजस्तै न्याय निरुपणका क्रममा कवितात्मक भाव आउँदैनन्,’ उनले भनिन् । तीनजनाको न्यायिक समितिले दैनिक तीनदेखि १३ वटासम्म मुद्दा दर्ता गर्छ । उनी उजुरी प्रशासक, कानुनी सहजकर्ता, कानुनी सल्लाहकारसमेतको सहयोग लिएर साताको दुई दिन इजलासमा बसी न्यायिक निरुपण गर्छिन् ।
उपमेयर अनिता जनताको कामलाई समयसँग तुलना गर्दिनन् । बिहान १० देखि साँझ ५ बजेको समयलाई दायरा बनाउँदिनन् । मुद्दालाई किनारा लगाउन रातिसम्मै बस्न तयार हुन्छिन् । दुवै पक्षको जित हुने अवस्था रहेमा मात्र तीन महिनाभन्दा पर मुद्दाको समय लम्बिन्छ । होइन भने तीन महिनाभित्रै जित–जित बनाएर दुवै पक्षलाई आदेश दिएर पठाउँछिन् । यो वर्ष समितिमा परेका मुद्दा यही वर्ष समाधान गरी मेलमिलाप गराउनसमेत उनी प्रतिबद्ध छिन् ।
जनप्रतिनिधिभन्दा कवि हुन सजिलो
न्यायको तुला बोकेर सही–गलत छुट्याउने भूमिकामा रहेकी अनिताको कविमनले आज पनि नगरपालिकामा धेरै समस्या देख्छ । तर, उपमेयर अनिता त्यो समस्या असन्तुष्टि मात्र भएको दाबी गर्छिन् । ‘कविमनले देखेका विषय, द्वन्द्व जनप्रतिनिधिको मनले हेर्दा समस्याचाहिँ होइन । जनप्रतिनिधिलाई अथाह अधिकार दिएको छ । त्यो अथाह अधिकारलाई परिणाममुखी हुने गरेर काम गर्न धेरै समस्या छ । जनप्रतिनिधि पनि नागरिक हो भन्ने बुझाइ कमजोर छ । आमनागरिकको सरकारप्रति हेर्ने दृष्टिकोण कमजोर छ,’ उनले भनिन् । उनी पछिल्लो तीन दशकमा भएका व्यवस्था परिवर्तनले आममान्छेको सोचाइमा भने अझै फेरबदल आउन नसकेको बताउँछिन् । आममानिसमा अझै पनि मतदानमा भाग लिएबापत आफूले सुविधा पाइरहनुपर्ने, मतसँगै सबै काम उसलाई नै गर्न सुम्पिएको भन्ने चेतना विकास हुनु दुःखलाग्दो भएको उनी तर्क गर्छिन् । ‘सबै कामका लागि सरकारतर्फ मात्र केन्द्रित हुने तर राज्यको सचेत नागरिक भएको कारणले निर्वाह गर्नुपर्ने कर्तव्यप्रति च्यूत भएर बसिरह्यो भने समाज देश उत्पादन, उत्पादनशील, सिर्जनात्मक कुरामा अगाडि बढ्दैन । र त हाम्रा सन्तति यो देशमा केही हुन सक्दैन भन्नेतर्फ लाग्छन्,’ उनले भनिन्, ‘त्यसैले प्रत्येक नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्छ । सरकारलाई दबाब दिने, प्रभावकारी बनाउने, समस्या सुनाउने र समाधानको विकल्प दिने पनि नागरिकले हो । त्यसो गरिएन भने सरकार निरंकुश हुन्छ ।’
धेरै स्थानीय तहमा आज पनि उपप्रमुख अर्थात् न्यायिक समिति संयोजक महिला छन् । निष्पक्ष स्वभाव, इमानदार, समयको पालना गर्ने भएकाले महिलाले गर्ने न्याय सम्पादनका काम प्रभावकारी हुने भए पनि महिला भएका कारण आफूलाई सजिलो–अप्ठ्यारो नभएको उनी बताउँछिन् । तर, कवि हुँदाहुँदै उपमेयर भएकी उनी कवि नै हुन सजिलो भएको अनुभव गर्छिन् । ‘कहिलेकाहीँ कविको भावनामा न्यायिक मनले सोच्दा कविलाई पनि अन्याय परेको छ भन्ने अनुभूति हुन्छ । तर, न्यायिक समितिको संयोजक भएर बसिरहँदा म कवि हुन पाएको भए खुसी हुन्थेँ भन्नेचाहिँ लागेको छैन । कवि हुँदा कविकै रूपमा खुसी छु । दुनियाँलाई पनि खुसी दिन्छु । न्यायिक समितिको संयोजक भएर काम गर्दा पनि खुसी छु । अरूलाई पनि खुसी दिन सकेको छु,’ उनले भनिन् । करिब तीन वर्षदेखि उपमेयर अनिता भएर बाँचिरहेकी उनलाई कहिलेकाहीँ कवि अनिता लामा हराएजस्तो लागिसकेको छ । किनभने कविका रूपमा जुन स्वतन्त्रता उनले भोगेकी थिइन्, त्यो स्वच्छन्दता, स्वतन्त्रता उनमा छैन । ‘म यहाँ नहुँदा म जति स्वच्छन्द कवि थिएँ । तर, आज छैन । आज म सबै कुरा लेख्न सक्दिनँ । व्यक्त गर्न पनि सक्दिनँ । आफूभित्रका उकुसमुकुस अव्यक्त हुन्छ । त्यो कुरा दिमागमा असन्तुष्टिका रूपमा पत्र–पत्र गरेर जम्मा हुँदै जान्छ,’ उनले भनिन् ।