• वि.सं २०८२ बैशाख १० मंगलबार
  • Tuesday, 22 April, 2025
डा. अहसन एच. मन्सुर, गभर्नर, बंगलादेश बैंक
रव डेभिस
२०८१ चैत २३ शनिबार ०८:३८:००
समाज

विदेश पुर्‍याइएको अर्बौँ डलर खोजिरहेका बंगलादेशका गभर्नर

सेख हसिनाको शासनमा उनीनिकटका ११ कुलीन परिवारले बंगलादेशको बैंकिङ प्रणालीबाट अर्बौँ डलर विदेशमा पुर्‍याएका थिए । सरकारले त्यो विशाल रकम पहिल्याउने प्रयास तीव्र बनाएको छ ।

२०८१ चैत २३ शनिबार ०८:३८:००
रव डेभिस

 

अगस्ट २०२४ मा बंगलादेशमा उठेको सडक आन्दोलनले सेख हसिना नेतृत्वको सरकार ढालिदियो । अबामी लिगकी नेतृ हसिना डेढ दशक अनवरत सरकारमा थिइन् । कठोर तानाशाही तरिकाले शासन गरेकी हसिनाले डेढ दशकको शासनकालमा आफूनिकटका केही व्यापारीलाई ठुलो आर्थिक अपचलन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सघाएकी थिइन् । यसै परिपे्रक्ष्यमा हसिनाको सरकार ढलेपछि देशको केन्द्रीय बैंकका गभर्नर नियुक्त भएका डा. अहसन एच. मन्सुरले नियमित कामका अतिरिक्त हसिनानजिकका कुलीन वर्गले विदेश पुर्‍याएको अर्बौं डलर खोज्ने जिम्मेवारी पाए । 


मन्सुरको यो अनुसन्धानलाई सघाउन बंगलादेश बैंकले ११ वटा विशेष टिम बनाएको छ । टिमलाई बंगलादेशको बैंकबाट बेलायत, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, मलेसिया र सिंगापुर पुर्‍याएर लुकाएको अर्बौं डलर खोज्ने जिम्मा दिइएको छ । अनुसन्धानको घेरामा अहिलेसम्म ११ शक्तिशाली कुलीन परिवार देखिएका छन् । अनुसन्धानको दायरामा रहेको रकमको परिणाम असाधारण रूपमा ठुलो छ । उदाहरणका लागि, ११ परिवारमध्ये एउटाले मात्र बंगलादेशबाट १५ अर्ब डलरबराबरको रकम विदेश पुर्‍याएको आशंका छ । एउटा घटनामा एउटा बैंकको कुल निक्षेपको झन्डै ९० प्रतिशत रकम झिक्दा सो बैंक झन्डै धराशयी भएको थियो । मन्सुर अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)का पूर्वअर्थशास्त्री हुन् । पहिलो भेटमा साना कद र नरम स्वरमा बोल्ने डा. अहसान मन्सुर क्लेप्टोक्रेट (लुटतन्त्र) बाट फाइदा उठाउनेहरूको मनमा डर पैदा गर्न सक्षम व्यक्तिजस्ता लाग्दैनन् । तैपनि, पछिल्लो समय यी गभर्नरले देशका शक्तिशाली व्यक्तिलाई हल्लाएका छन् । 


मन्सुरलाई पनि आजकाल एउटा डरले सताइरहन्छ । देशबाहिर लुकाएको रकमबारे छिटै आवश्यक सूचना पत्ता लाग्न सकेन भने तीमध्ये धेरै राज्यले सधैँका लागि गुमाउन सक्छ । ‘समय अहिले हाम्रा लागि एकदम महत्वपूर्ण छ,’ मन्सुरले अल जजिरासँग भने । रकम खोजीमा पछिल्लो समय उनी स्वयं विदेश भ्रमणमा निस्किएका छन् । बेलायत उनको पहिलो गन्तव्य बनेको छ । यसै महिना लन्डन पुगेर मन्सुरले बंगलादेशबाट लुटेको अनुमानित २५ अर्ब डलर पहिचान गरी जफत गर्न ब्रिटिस विदेश मन्त्रालय र लन्डनका कानुनी फर्मसँग अन्तत्र्रिmया गरे । त्यसबाहेक उनले एनजिओ र सम्पत्ति पहिल्याउने विज्ञलाई पनि भेट गरे । तिनले मन्सुरसँग बंगलादेशको बैंकिङ प्रणालीबाट चोरिएका दसौँ अर्ब डलर पहिल्याउन सघाउने वाचा गरेका छन् । 


‘बंगालदेशबाट रकम बाहिर लगेका अधिकांश परिवारको सम्पत्ति लन्डनमा ल्याइएको छ । त्यसैले यहाँ धेरै सम्पत्ति फेला पार्छौं भन्ने लागेको छ,’ मन्सुरले भने, ‘यो भ्रमणको मुख्य उद्देश्य कम्तीमा पनि बेलायत विश्वभरबाट चोरी हुने सम्पत्ति ल्याइने प्रमुख गन्तव्य हो भन्ने जनचेतना जगाउने हो । तीमध्ये बंगलादेश पनि एउटा देश हो,’ उनी भन्छन् ।


उनको बेलायत भ्रमणअघि कैयौँ ब्रिटिस सांसदलाई मन्सुरलाई बदनाम गर्ने खालका इमेलहरू पठाइएको थियो । अभियानको पछाडि को छ भन्ने नखुले पनि त्यो भ्रमण बिथोल्ने हिसाबले चलाइएको अभियानजस्तो देखिएको एक ब्रिटिस सांसदले गार्जियनलाई बताए । मन्सुरलाई भने यो अभियान कसले चलाइरहेको थियो भन्नेमा कुनै आशंका छैन । ‘ती को हुन्, हामीलाई राम्ररी थाहा छ । हामी सबैलाई तिनको नाम थाहा छ । तिनीहरू वा तिनीहरूबाट परिचालितहरूले यो ‘कथित मिथ्या सूचना अभियान’ चलाएका हुन्,’ मन्सुरले भने, ‘तिनैले मेरो प्रतिष्ठामा प्रहार गरेर म बाहिर देखेजस्तो नभएको देखाउने अभियान चलाएका छन् ।’ 


लक्ष्यमा स्पष्ट मन्सुर


मन्सुर आफ्नो लक्ष्यमा स्पष्ट छन् । ‘सम्पत्ति पुनः प्राप्तिका लागि बंगलादेशबाट र विशेषगरी त्यहाँको बैंकिङ प्रणालीबाट ठुलो मात्रामा स्रोत अन्यत्र सारेका व्यक्तिलाई पछ्याउने काम भइरहेको छ । जुन पैसा लुटिएको छ, त्यो सर्वसाधारण जनताको पैसा हो । तिनले विश्वासमा बैंकहरूमा जम्मा गरेका पैसा कानुन मिचेर बाहिर लगिएको छ,’ मन्सुरले भने । 


ब्रिटिस सांसदहरूलाई पठाइएको इमेलमा विभिन्न ‘पत्रकार’ले लेखेको भनिएको समाचारको लिंक पनि छ । तथापि, जति पनि पत्रकारको नाम दिइएको छ, ती नक्कली साबित भएका छन् । तथापि, लिंक खोल्दा देखिने ‘समाचार’हरूले विशेषगरी मन्सुरकी छोरी मेहरिनको महँगो लुगा र विलासिताको चर्चा गरेका छन् । 
समाचारमा बंगलादेशीको सम्पत्तिको अनुसन्धान गरिरहेका मन्सुर किन आफ्नै परिवारमाथि अनुसन्धान गरिरहेका छैनन् भन्ने प्रश्न गरिएको छ । ‘उनी (छोरी मेहरिन) अमेरिकी नागरिक हुन् । उनको बंगलादेशसँग खासै सम्बन्ध छैन । अमेरिकामा बस्ने मानिसले त्यहाँको ड्रेसकोड पछ्याउनु कुन नयाँ कुरा भयो त ? मेरा सल्लाहकारले मलाई यो कुरामा बेवास्ता गर्न भन्छन् । नत्र त मैले राजीनामा दिने सोचेको थिएँ । तर, मैले राजीनामा दिएँ भने तिनको जित हुनेछ ।’


‘नैतिक अनिवार्यता’


मन्सुरको चासोमा रहेकामध्ये पूर्वभूमिमन्त्री सैफुज्जमान चौधरी पनि एक हुन् । अलजजिराको अनुसन्धान एकाइ (आई–युनिट)ले गरेको खोजमा उनले लन्डन र दुबईमा ५० करोड डलरभन्दा बढीको घरजग्गा किनेको पाइएको थियो । गत वर्ष आई–युनिटले गरेको उक्त खोजमा चौधरीको परिवारले बेलायतभर ३६० भन्दा बढी विलासी अपार्टमेन्ट किनेको पत्ता लगाएको थियो, जसमध्ये अधिकांश लन्डनमै थिए । 


बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले अहिले चौधरीका लगभग ४० बैंक खाताहरू फ्रिज गरेको छ । उनलाई विदेश यात्रामा प्रतिबन्ध लगाएको छ । तर, केन्द्रीय बैंक चौधरीको विदेशमा रहेको सम्पत्तिसमेत फ्रिज गर्न चाहन्छ । यसले मात्र ती सम्पत्तिको सम्भावित किनबेच रोकिने बैंकको विश्वास छ । चौधरीले भने आफू अघिल्लो सरकारसँग सम्बन्धित व्यक्तिविरुद्ध वर्तमान सरकारले चलाइरहेको ‘नियोजित अभियान’को सिकार भएको दाबी गरेका छन् । उनले विदेशमा रहेका सबै सम्पत्ति वैध रूपमा कमाएको दाबी गरेका छन् । 


बंगलादेश बैंक विदेशमा रहेको सम्पत्ति फ्रिज गर्ने विषयमा केन्द्रित हुँदा मन्सुरले थप कारबाही चाहेका छन् । उनी ‘कुलीन’ परिवारलाई अर्बौं डलर विदेश सार्न सघाउने वकिल, बैंकर र सम्पत्ति एजेन्टमाथि पनि अनुसन्धान होस् भन्ने चाहन्छन् । यसमा बेलायत र अन्य देशका अधिकारीले सघाउनुपर्ने उनको सोच छ । ‘कानुनको उल्लंघन भइरहेको छ । धेरै अवस्थामा एजेन्ट वा सञ्चालक, बैंकहरू नै अपराधीलाई पुनस्र्थापना गर्न सघाइरहेका छन् । एक अवस्था मात्र होइन यो धेरै ठाउँमा देखिन्छ । मेरो विचारमा बेलायतलगायत देशका अधिकारीको यी चिजविरुद्ध कडा अडान लिनु नैतिक अनिवार्यता हुन आउँछ ।’


प्रमाणका लागि आममाफी ?
मन्सुरको अनुमानमा देशबाट बाहिर लगिएको रकम पुनः प्राप्त गर्न पाँच वर्षसम्म लाग्न सक्छ । कामको जटिल प्रकृतिका कारण प्रगति सुस्त भएको उनी स्विकार्छन् । अहिले उनले ठुला रकम स्थानान्तरण गर्नेहरूविरुद्ध सुराकी दिनेहरूको सजाय घटाउने विषयमा विचार गरिरहेका छन् । साथै, देशको बैंकिङ प्रणालीबाट हराएको पैसा बंगलादेश फिर्ता ल्याउन सघाउनेलाई कुनै प्रकारको आममाफी दिने योजनामा पनि छलफल भइरहेको उनले बताए । 


अमेरिकामा डोनाल्ड ट्रम्पको आगमनले पनि मन्सुरको कामलाई प्रभावित बनाएको छ । विभिन्न क्षेत्राधिकारमा अर्बौं डलर पहिल्याउने जटिल कार्यलाई अमेरिकाले सघाउने प्रतिबद्धता जनाएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि उनले ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)’लाई दिँदै आएको कोष रोके । यस परिवर्तनले यसै वर्ष बंगलादेशमा काम सुरु गर्ने तय भएको अमेरिकी अनुसन्धानकर्ताको टोलीको काम अब रोकिएको छ । उनीहरूलाई कामबाट हटाइएको छ । ‘उनीहरू पूर्ण क्षमताका साथ ढाकामा पुग्ने तय भइसकेको थियो । तर, रद्द भयो । हाम्रा धेरै विज्ञलाई युएसएआइडीले वित्तीय सहयोग दिएको थियो । तर, यो रोकिएको छ,’ मन्सुरले भने, ‘यो हाम्रा लागि दुर्भाग्यपूर्ण छ । तर, परिस्थिति यस्तै–यस्तै छ ।’


बैंकिङ प्रणालीमा बनाइएका ठुल्ठुला खाडल पुरेर मात्र बंगलादेशी अर्थतन्त्रलाई दीर्घकालीन रूपमा स्थिर बनाउन सकिने मन्सुरको विश्वास छ । यसै उद्देश्यका कारणले उमेरले ७० को दशकमा हिँडिरहेका मन्सुर अवकाश त्यागेर गभर्नर बन्न तयार भएका हुन् । 


(द गार्जियनमाबाट श्रवण उप्रेतीले गरेको अनुवाद)