• वि.सं २०८२ बैशाख १० मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका
२०८१ चैत २३ शनिबार ०८:४७:००
साहित्य

मन परेका ६ पुस्तकबारे लेखक, अनुसन्धाता जेबी विश्वकर्मा

२०८१ चैत २३ शनिबार ०८:४७:००
नयाँ पत्रिका

मलाई दर्शनशास्त्र, इतिहास, समाज, राजनीति र संस्कृतिका विषयमा लेखिएका आख्यान र गैरआख्यान दुवै किसिमका पुस्तक मनपर्छ । यस्ता पुस्तकले राजनीति र समाजका विविध पक्ष, जस्तै– समाज र संस्कृतिको गठन–विघटन, शक्ति–सम्बन्ध र रूपान्तरणका संघर्षका बहुआयमिक सवालबारे बुझ्न, चिन्तन गर्न र विचार निर्माण गर्न सहयोग पुर्‍याउँछ । 

 आदिवासी विद्रोहको इतिहास : अनुसन्धाता राजकुमार दिक्पालले लेखेको यो पुस्तक विशेषगरी पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारसँगै आदिवासी जनजातिले गरेको विभिन्न विद्रोहको दस्ताबेजीकरण हो । नेपालका अधिकांश इतिहासकारले राजा, महाराजा र ठुलाबडाको इतिहास लेख्दै आएका छन् । ती इतिहासमा आदिवासी जनजाति, दलित र सीमान्तीकृत समुदायमाथि भएका अत्याचारका सन्दर्भ लेखिएका छन्, उनीहरूले राज्य सञ्चालनका क्रममा गरेका योगदान इतिहासमा लेखिने गरेको छैन । राजा महाराजाको महिमागान गाउने इतिहास लेखनको प्रवृत्तिलाई यो पुस्तकले चुनौती दिएको छ । पुस्तकमा लिम्बू, तामाङ, माझ किरात, भोटे, मगर, गुरुङ र आठपहरिया राईलगायतले विभिन्न समयमा गरेका सशक्त विद्रोहका गाथा समेटिएका छन् । यसले मूलधार भनिने इतिहासकारले नदेखेका, नलेखेका वा लेख्न सान्दर्भिक नठानेका आदिवासी जनजातिको ऐतिहासिक विद्रोहबारे खोज, अनुसन्धान र विश्लेषण गरेको छ । 

 

 पेडागोजी अफ द अप्रेस्ट :  विश्व विख्यात शिक्षाविद् पाउलो फ्रेरेले यो पुस्तक लेखेका हुन । शिक्षामा फ्रेरेइरियन अवधारणा निकै चर्चित छ । उनले यो पुस्तकमा ऐतिहासिक सम्भ्रान्त वर्गले सीमान्तीकृत वर्गलाई कसरी अमानवीकरण, अपमान, अस्वीकार गर्छ र त्यसको प्रतिक्रियामा हुने संघर्षले कसरी मानवीकरण गर्छ वा समाजमा स्वीकार बन्न बाध्य बनाउँछ भन्ने सन्दर्भमा उत्पीडित सामाजिक समूहको संघर्षको दृष्टान्त प्रस्तुत गरेका छन् । उनले विभेदकारी र उत्पीडनकारीको राज्य व्यवस्थाका विविध संरचना, प्रणाली र संयन्त्रबारे बुझ्ने र संघर्ष गर्न तयार हुनुपर्छ र यस्तो संघर्षले पक्कै सफलता दिन्छ भन्ने विचार दिएका छन् । उनले पुस्तकमा शिक्षकको वैज्ञानिक ज्ञान र विद्यार्थीको अनुभवजन्य ज्ञानको द्वन्द्ववादले मानिसमा आलोचनात्मक चेतना र दृष्टिकोण दिने सन्दर्भ सटिक रूपमा प्रस्तुत गरेका छन् । आलोचनात्मक चेतनाको विकासका लागि यो पुस्तक निकै महत्वपूर्ण छ । 

 

आमा :  यो पुस्तक म्याक्सिम गोर्कीले लेखेका हुन् । गोर्की जीवन र अनुभूतिलाई सशक्त रूपमा रचनामा पस्किने सशक्त स्रष्टा हुन् । उनका थुप्रै रचनामध्ये आमा अत्यन्तै सशक्त र विश्वविख्यात कृति हो । यो उपन्यास मैले ५० को दशकको अन्तिमतिर पहिलोपटक पढेको थिएँ । त्यतिवेला रसियाली समाजमा महिलामाथि पुरुषबाट हुने अत्याचार, औद्योगिक क्षेत्रमा श्रमिकमाथि हुने दमन, राज्यको संलग्नतामा मजदुर र मजदुरका पक्षमा उठ्ने आवाजमाथिको दमन र दमनविरुद्ध भएको सशक्त संघर्षको नेतृत्वकर्ता पावेलको प्रतिरोधी भूमिकालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । तीव्र संघर्षका वेला छोरा पावेलमाथि राज्यले गरेको दमनविरुद्ध उनकी आमा पेलागयाले गरेको संघर्ष साँच्चै सशक्त र प्रेरणादायी छ । नेपालमा भएका राजनीतिक क्रान्ति, ती क्रान्तिमा जीवन आहुति दिन तयार युवा र ती योद्धाका आमा र परिवारले गरेको संघर्षको झल्को दिन्छ । 

 

 एन्हिलिएसन अफ कास्ट :  यो पुस्तक भारतीय समाज सुधारक डा. भीमराव अम्बेडकरले लेखेका हुन् । उनले हिन्दु समाजको विशद अध्ययन गरेका छन् । यो पुस्तकमा दक्षिण एसियाली हिन्दु समाजमा जात व्यवस्थाको अभ्यास, यसले दलित समुदायमा पारेको सामाजिक–आर्थिक प्रभावको चर्चा गरिएको छ । भारतीय उपमहाद्वीपमा विकसित जात व्यवस्थाले समाजको एउटा ठुलो हिस्सालाई अमानवीकरण गर्ने मात्र होइन, सिंगो समाजलाई नै विखण्डित गरेको छ । साथै, राष्ट्रिय एकता र सामाजिक प्रगतिमा निकै ठुलो बाधा पुर्‍याएको सवालमा विस्तृत चर्चा गरेका छन् । भारतीय दलित आन्दोलनसँगै महात्मा गान्धीले दलितलाई ‘हरिजन’को परिचय दिएका थिए, जुन अवधारणालाई अम्बेडकरले खारेज गरेका थिए । त्यसैले दलितको राजनीतिक र आर्थिक अधिकार सुनिश्चितता गर्नुका साथै भारतमा रहेको धार्मिक सत्तालाई नष्ट गर्नुपर्ने तर्क उनले पुस्तकमा गरेका छन् । 

 

 कास्ट :  द ओरिजन अफ आवर डिस्कन्टेन्ट :  इजाबेल विकर्सनले यो पुस्तक लेखेका हुन् । पुस्तकमा अमेरिकाको रंगभेद र दक्षिण एसियाली समाजमा रहेको जात व्यवस्थाको पछाडि रहेको ठुलो षड्यन्त्र र बेइमानीलाई एउटा विस्तृत पर्दाबाट हेर्ने र विश्लेषण गर्ने गरिएको छ । रंगभेदी र जातिवादी राज्यको संरचनाका कारण कसरी एउटा समूहले राज्यबाट निरन्तर लाभ लिइरहन्छ र अर्को समूह आधारभूत अधिकार प्राप्तिका लागि लडिरहन बाध्य बन्छ भन्ने विषय रोचक ढंगमा उल्लेख गरिएको छ । नाजीहरूले एक करोड १० लाख मानिस मारे । अमेरिकामा लाखौँ मानिस दास बनाइए । दक्षिण एसियामा करोडौँ मानिसलाई जातका कारण मानिस बन्ने अधिकार दिइएन । जसरी रंगभेदको अन्त्य भएको छैन, त्यसैगरी जात व्यवस्थाले पनि सिंगो विश्वलाई नै पिरोलिरहेको छ । यो पुस्तकमा अफ्रिकन अमेरिकनमाथि भएको रंगभेद र दलित एसियाका साथै संसारभरि छरिएको जात व्यवस्थाका विविध आयाम प्रस्तुत गरिएको छ । 

 

नयाँ घर :  यो पुस्तक आहुतिले लेखेका हुन् । आहुतिको ‘गहुँगोरो’ कविताबाट अत्यन्तै प्रभावित भएपछि मलाई आहुतिसँग भेट्न मन थियो । उनीसँग परिचित एकजना दाइले नयाँ घर उपन्यास पढेपछि भेट गराउने कुरा गरे । मैले २०५८ तिर नयाँ घर किनेर पढेँ, त्यसपछि आहुतिसँग भेट भएको हो । भर्खर–भर्खर समाजिक–राजनीतिक विषयप्रति चासो हुँदा नै यो पुस्तक पढेको हुँ । यसले नेपालको वर्गीय समाजको शक्ति–सम्बन्ध, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनप्रतिको बुझाइलाई बढाउन निकै मद्दत पुर्‍यायो । खासगरी निम्नवर्गीय परिवारको जीवन, तिनका उतारचढाव र संघर्षकै बिचमा देखिएका सपनालाई उपन्यासमा सशक्त रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा सत्य, समानता र न्यायको पक्षमा नलड्ने, जात व्यवस्था, रुढीवाद र विभेदविरुद्ध नउभिने मानिस प्रगतिशील र कम्युनिस्ट हुनै सक्दैन भन्ने सवाललाई सटिक ढंगले प्रस्तुत गरिएको छ ।