
बर्खाबाहेक हरेक दिनजसो वायुप्रदूषणको चपेटामा रहने काठमाडौं उपत्यका एक सातादेखि उकुसमुकुसको अवस्थामा छ । उपत्यकामै उत्सर्जन (गाडी, इँटाभट्टा, विकास निर्माणका लागि खनिएको सडकलगायत) हुने प्रदूषणमा वनजंगलमा लागेको डढेलोको धुवाँ मिसिँदा काठमाडौंको हावा निकै हानिकारक बनेको छ । आकाश धुलोधुवाँले ढाकिएको छ भने दिउँसै घाम देख्न मुस्किल छ । यद्यपि शुक्रबार दिउँसो केही सुधार भए पनि साँझबाट पारदर्शिता घटेर वायुप्रदूषण हानिकारकस्तरमै रह्यो ।
वातावरण विभाग, वायु गुणस्तर अनुगमन ड्यासबोर्डअनुसार भक्तपुरको वीरेन्द्र स्कुल वायु गुणस्तर मापन केन्द्रमा पछिल्ला आठ दिनमा वायुप्रदूषणको मात्रा उच्च छ । यहाँ पिएम–२.५ (रौँभन्दा तीन गुणा मसिना धुलोधुवाँका कण) २४ घन्टामा २२ चैतमा १३१ माइक्रोग्राम प्रतिघनमिटर, २१ चैतमा १८४ माइक्रोग्राम, २० चैतमा १६० माइक्रोग्राम, १९ चैतमा १५६.५७ र १८ चैतमा १५४.७९ माइक्रोग्राम मापन भएको छ । जबकि सरकारी मापदण्डअनुसार नै यो मात्रा २४ घन्टामा ४० नाघ्दा जनस्वास्थ्यका लागि हानिकारक हुन्छ । ‘आइक्यु एयर’को तथ्यांकअनुसार गत सोमबारबाट काठमाडौं विश्वमै प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा पर्दै आएको छ । निकै प्रदूषित भनेर चिनिने दक्षिण एसियाका दिल्ली, ढाका र लाहोर सहरलाई पनि काठमाडौंले पछि पार्दै आएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वायुप्रदूषण विश्लेषक सागर अधिकारी उपत्यकामा तिहारपछि बढ्दै आएको प्रदूषणमा डढेलोको धुवाँ थपिँदा उपत्यका निस्सासिन पुगेको बताउँछन् । ‘उपत्यकामा वायुप्रदूषण सधैँको समस्या हो, मनसुनबाहेक सबै सिजनमा बढ्छ । अझ मार्च–अप्रिलतिर धेरै हुने गरेको छ,’ अधिकारीले भने, ‘सुक्खा अवस्थाका कारण देशभरि वन डढेलोका घटना बढेका छन् । आवासीय, यातायात र धुलोजस्ता विभिन्न क्षेत्रबाट उत्सर्जित भइरहेको विद्यमान प्रदूषणको अतिरिक्त, वन डढेलोले झनै खराब बनाएको हो । ठुलो हावा नचल्दा र पानी नपर्दा उपत्यकामा प्रदूषण स्थिर भइरहेको छ ।’
‘विश्व वायु गुणस्तर प्रतिवेदनअनुसार गत वर्ष २०२४मा नेपाल विश्वमै सातौँ अति प्रदूषित मुलुक र काठमाडौं शीर्ष आठौँ प्रदूषित राजधानीमा परेको थियो । नेपालको वायुप्रदूषणको मात्रा (पिएम–२.५) वार्षिक औसतमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ८.५६ गुणा बढी हो ।