• वि.सं २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
सुरेश निरौला काठमाडौं
२०७६ जेठ १८ शनिबार ११:०२:००
रिपाेर्ट

ब्ल्याक होलको पहिलो तस्बिर

२०७६ जेठ १८ शनिबार ११:०२:००
सुरेश निरौला काठमाडौं

ब्ल्याक होलको तस्बिर खिच्ने टेलिस्कोप यति ठूलो र शक्तिशाली थियो कि यसको आकार पृथ्वीजत्रो (भर्चुअलमा) थियो । र, अधिक हाई–रिजोलुसनको तस्बिर खिच्न सक्थ्यो । भनिन्थ्यो, पेरिसको एउटा कफी पसलबाट उक्त टेलिस्कोप लगाएर हेर्ने हो भने न्युयोर्कको समाचारपत्र पढ्न सजिलै सकिन्छ । यही टेलिस्कोपले ५ करोड ५० लाख प्रकाश वर्ष टाढाको ‘एम ८७’ नामक ब्ल्याक होलको तस्बिर खिचेको हो ।

गएको अप्रिल १० खगोलविद् र भौतिकशास्त्रीका लागि एउटा ऐतिहासिक दिन थियो । त्यति मात्रै होइन, मानव जगत्कै सबैभन्दा ठूलो उपलब्धिको दिन पनि । त्यस दिन वैज्ञानिकहरूले ब्ल्याक होलको वास्तविक तस्बिर सार्वजनिक गर्दै थिए । र, दाबीका साथ भन्दै थिए ‘हो, ब्ल्याक होल छ, त्यसको प्रमाण हामीले जुटाएका छौँ ।’

ब्ल्याक होल, नेपालीका लागि खासै चासो भएको विषय होइन । तर, विश्वभरका वैज्ञानिक चैनले बस्न नसकेको विषय हो । विभिन्न सिद्धान्तले ब्ल्याक होलको अस्तित्व किटान गरे पनि ठोस प्रमाण जुट्न सकेको थिएन । जति प्रमाण थिए, ती केवल ब्रह्माण्डसम्बन्धी तथ्यांक मात्र थिए, काल्पनिक चित्र–भिडियो, सिम्युलेसन थिए । त्यसैले सर्वसाधारणका लागि यो ‘वैज्ञानिकहरूको काल्पनिक खोज’ थियो । हावादारी विषय थियो । तर, वैज्ञानिकका लागि वास्तविक रहस्य थियो । ब्ल्याक होलको अस्तित्व पुस्ट्याउनुपर्ने चुनौती पनि थियो वैज्ञानिकहरूले । त्यही मौका अप्रिल १० ले दिएको थियो ।

‘हामीले ब्ल्याक होलको पहिलो तस्बिर लिएका छौँ,’ इएचटी परियोजनाका निर्देशक सेफर्ड एस डोलेमन पत्रकार सम्मेलनमा भन्दै थिए, ‘यो एक असाधारण वैज्ञानिक उपलब्धि हो, जसमा दुई सयभन्दा बढी अनुसन्धानकर्ताको निष्कर्ष सामेल छ ।’वास्तविक तस्बिर पनि ठ्याक्कै त्यस्तै थियो, जस्तो वैज्ञानिकहरूले विभिन्न तथ्यका आधारमा काल्पनिक तस्बिर बनाउँथे । अर्थात्– वरिपरि रातो चम्किलो घेरा र बीचमा कालो धब्बा । यो तस्बिर इभेन्ट होराइजन टेलिस्कोप (इएचटी) ले खिचेको हो । 

इभेन्ट होराइजन टेलिस्कोप, यस्तो टेलिस्कोप हो, जसलाई विश्वका विभिन्न आठ स्थानबाट आकाशतिर एउटै दिशामा केन्द्रित हुने गरी फर्काइएको थियो । टेलिस्कोपहरू अमेरिकाको हवावे, एरिजोना, मेक्सिको, स्पेनको सिएरा नेभाडा, चिलीको अटाकामा मरुभूमि र अन्टार्कटिकामा जडान गरिएको थियो । ती टेलिस्कोप यसरी राखिएका थिए, सबैले एकै समयमा एउटै वस्तुको फोटो खिच्न सक्थे । तिनले खिचेको फोटोलाई सिंक्रोनाइज गर्न एटोमिक क्लक (एक सेकेन्डलाई एक अर्ब भागमा विभाजन गर्न सक्ने घडी) को प्रयोग गरिएको थियो । 

आठ स्थानका टेलिस्कोपमा विश्वभरका अन्य दूरबिनको शक्ति पनि ‘भर्चुअली’ जोडिएको थियो । सबै जोडिँदा टेलिस्कोपको आकार पृथ्वीजत्रै बन्यो । तर, साँच्चै पृथ्वीजत्रो थिएन । टेलिस्कोपको शक्ति मात्र पृथ्वीजत्रो थियो । यसले दुनियाँभरका टेलिस्कोप सुविधाको सिंक्रोनाइज गर्छ, १.३ एमएम माइक्रोवेभ लिन सक्ने पृथ्वीजत्रो टेलिस्कोप बन्न सक्छ । इएचटीको अनुसन्धान ‘भेरी लङ बेसलाइन इन्टरफेरोमेट्र (भिएलबिआई) नामक उच्च प्रविधिमा आधारित थियो । भिएलबिआईले २० माइक्रोआर्क सेकेन्ड कोणीय रिजोलुसन प्रदान गर्छ । यस्तो टेलिस्कोपबाट हेर्ने हो भने पेरिसको एक कफी पसलबाट न्युयोर्कको समाचारपत्र पढ्न सकिन्छ । 

यसको क्षमता १० लाख जिबीको थियो । र, त्यसले पठाएका तस्बिरलाई २ सय वैज्ञानिकको टोलीलाई ६ भागमा विभाजन गरी २ वर्ष लगाएर एसेम्बल गरिएको थियो । परियोजनामा युरोप र अमेरिकाका १३ वटा विज्ञानसम्बन्धी संस्थाको सहकार्य थियो । 
यही इएचटीले सुपर म्यासिभ (सर्वाधिक ठूलो) एम ८७ नाम ब्ल्याक होलको तस्बिर खिचेको हो । त्यो पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा (सूर्यको प्रकाश एक सेकेन्डमा २ लाख ९९ हजार ७ सय ९२ किलोमिटर दौडिन्छ) थियो । र, सूर्यभन्दा ६ अर्ब ५० करोड ज्यादा द्रव्यमान थियो । 

के हो ब्ल्याक होल ?
ब्ल्याक होल भनेको ब्रह्माण्डमा रहेको एक अत्यधिक घनत्व भएको पिण्ड हो, जसमा अत्यधिक कम क्षेत्रमा यति धेरै द्रव्यमान हुन्छ कि त्यसबाट उत्पन्न हुने गुरुत्वाकर्षण अन्य कुनै बलभन्दा शक्तिशाली हुन्छ । यसको प्रभावमा प्रकाश पनि जोगिन सक्दैन । प्रकाशलाई पनि यसले निलिदिन्छ ।

 प्रकाशको नियमअनुसार, जुन वस्तुबाट प्रकाश परावर्तन भएर फर्किन्छ, त्यो मात्र उज्यालो देखिन्छ । प्रकाश नफर्किने ठाउँ अँध्यारो देखिन्छ । त्यसैले यसलाई ब्ल्याक होल भनिएको हो ।यसको अत्यधिक गुरुत्वाकर्षण शक्तिले आकाश पुञ्जमा रहेका ग्रह–तारालाई बिस्तारै–बिस्तारै आफूतिर तानिरहेको हुन्छ । र, ती ग्रह तथा ताराहरूले ब्ल्याक होलको बाहिरपट्टिको भाग (जसलाई इभेन्ट होराइजन भनिन्छ, जहाँबाट फर्किन असम्भव हुन्छ)मा चक्कर लगाउन थाल्छन् । ती प्रकाशको गतिमा चक्कर लगाउँछन् । 

ब्ल्याक होलको अलि टाढा वा छेउछाउ वा इभेन्ट होराइजनमा एकै समयमा अर्बौं तारा गह्रहरूले चक्कर लगाइरहेका छन् । तिनको चलायमान हेर्दा कम्प्याक्ट डिस्कजस्तो लाग्छ । अर्थात्, वरिपरि चम्किलो, रातो, बीचमा खाल्डो परेको कालो धब्बा । चक्कर लगाउँदा–लगाउँदै एउटा समय यस्तो आउँछ, ग्रहहरूको गुरुत्वाकर्षण बल सकिँदै जान्छ र ब्ल्याक होलसँग सामना गर्न नसक्ने हुन्छ । अनि ब्ल्याक होलले आफूतिर तानेर निलिदिन्छ । त्यसपछि ती तारा वा ग्रहको अस्तित्व सकिन्छ ।

कति छन् ब्ल्याक होल ?
विज्ञानले ब्ल्याक होलको संख्याको यकिन तथ्यांक दिन सकेको छैन । वैज्ञानिकका अनुमानअनुसार एक आकाश गंगामा करिब १ खर्ब तारा हुन्छन् । तिनमा मध्यम खालका ब्ल्याक होल करिब १० करोड हुन सक्छन् । हामीले देखेजस्तो आकाश गंगा नै कति छन् भन्ने यकिन छैन ।

अनुमानअनुसार, यस्ता आकाश गंगा १० करोडभन्दा बढी छन् । अहिलेसम्म वैज्ञानिकले ५० भन्दा बढी सुपर म्यासिभ ब्ल्याक होल रहेको तथ्य सार्वजनिक गरेका छन् । ब्ल्याक होल विशेषतः तीन प्रकारको हुने वैज्ञानिकले बताउँदै आएका छन् । पहिलो सुपर म्यासी ब्ल्याक होल हो । यो सूर्यभन्दा अर्बौं गुणा ठूलो हुन्छ । वैज्ञानिकका अनुसार यसको शक्ति यति बृहत् रूपमा बढ्दै गइरहेको छ कि यसले ठुल्ठूला तारा पनि निलिसक्यो । र, आसपासका स–साना ब्ल्याक होललाई पनि यसले समेटिसकेको छ । 
दोस्रो, स्टेलर ब्ल्याक होल हो । यो सूर्यभन्दा २० गुणाजति मात्रै ठूलो हुन्छ । यो त्यतिखेर बन्छ, जब कुनै ठूलो तारा टुक्रिन्छ । यस प्रक्रियालाई सुपर नोभा भनिन्छ । 

सबैभन्दा सानो मिनिएचर ब्ल्याक होल हो । यसको खोज वैज्ञानिकहरूले गरेका छैनन् ।  हाम्रो आकाश गंगाको बीचमा रहेको ब्ल्याक होलको नाम ‘स्यागिटेरियस ए’ हो । मध्यम खालको यो ब्ल्याक होल पृथ्वीबाट सबैभन्दा नजिक करिब २६ हजार प्रकाश वर्षको दूरीमा छ । यसको द्रव्यमान सूर्यभन्दा ४० लाख गुणा बढी छ ।

नजिकको ब्ल्याक होलबारे अनुसन्धान नगरेर वैज्ञानिकहरूले किन त्यति टाढाको, त्यति ठूलो ब्ल्याक होल नै रोजे ? यसको आफ्नै कारण छ । वैज्ञानिकहरूको पहिलो योजना त ‘स्यागिटेरियस ए’ कै तस्बिर लिने थियो । तर, धुलो र अन्य कणका कारण त्यो ब्ल्याक होल यति धमिलो देखिन्थ्यो कि टेलिस्कोपले त्यसलाई पहिचान (डिटेक्ट) गर्नै सकेन । बरु त्योभन्दा १४ गुणा टाढा रहेको र करिब १ सय ६० गुणा ठूलो ‘एम ८७’ नामक ब्ल्याक होल पहिचान गर्न सक्यो । र, वास्तविक तस्बिर निकालिदियो ।