• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिव प्रकाश काठमाडाैं
२०७६ जेठ ३२ शनिबार ०८:३९:००
इतिहास

के छ कामसूत्रमा ?

रतिरहस्य–२

२०७६ जेठ ३२ शनिबार ०८:३९:००
शिव प्रकाश काठमाडाैं

कामसूत्रलाई कुन आँखाले हेर्ने ? कस्तो मस्तिष्कले पढ्ने ? प्रश्नको जवाफ खोज्न आवश्यक छ ।आफ्ना आँखाले हेर्ने कि अरूका ? अश्लील आँखाले हेर्ने कि श्लील ? अश्लील आँखाले हेरेर, कामुक मस्तिष्कले पढ्ने हो भने पूरै अश्लील किताब हो, कामसूत्र । निषेध गर्नु र निषेधित हुनु स्वाभाविक हो । वस्तुतः मानिसको मस्तिष्कमा सबैभन्दा बढी अश्लीलको आवादी छ । आँखाले नग्नता खोज्छन् । त्यही आँखाले बढी हेरिन्छ । चोरीचोरी हेरिन्छ । धेरैजसो बजारमा पाइने चौवन्नीमार्काका कामसूत्रका किताब पढ्ने गरिन्छ । तर, ती बजारिया कामसूत्र फोहोरका भारी र बकवास हुन् ! 

एउटा सत्य के पनि हुन सक्छ भने कामसूत्रले मनमा तरंग मात्र होइन, भेल ल्याउन सक्छ, थेग्ने तागत पनि हुनुपर्छ । पढ्नु हुँदैन भन्नुको एउटा कारण यो नहुन सक्छ भन्न सकिँदैन । एक शब्दमा कामसूत्रलाई ‘भल्गर’ ठान्नु भनेको भल्गर बुझाइ मात्र हो । यसभित्र यौन र भोगका कुरा २० प्रतिशत पनि छैन भने बाँकी ८० प्रतिशतभन्दा बढी जीवन र जगत्का कुरा छन् । ज्ञानका कुरा छन् । विज्ञानका कुरा छन् । नीतिशास्त्रदेखि समाजशास्त्र, अर्थशास्त्र, धर्मशास्त्रका कुरा छन् । 
काम तथा यौनसँग के–के कुरा ‘सम्बन्धित’ हुन्छन् ? कामभित्रका ‘विषय र वस्तु’ के–के हुन् ? ती सबैले मानव मस्तिष्क र सम्पूर्ण मानव जीवनमा कस्तो प्रभाव पार्छ ? वात्स्यायनले वर्णन गरेका छन् । तर, दृष्टि र दृष्टकोणको जन्म मानिसको चेतनाशक्तिबाट हुन्छ । कामसूत्र यौन मात्रै हो, यसमा सम्भोगका ‘पोजिसन’ मात्र छन् भन्ने कुरा एकदमै ‘मिसकन्सेप्सन’ हो । 

के छ कामसूत्रमा ?
नारी–पुरुषलाई जोड्ने एउटा शक्ति हुन्छ । त्यो शक्तिलाई प्रेम भनिन्छ । यो शक्तिको निर्माण कसरी हुन्छ ? कामसूत्रमा यसको उत्तर दिएका छन् महर्षि वात्स्यायनले । नारी–पुरुषको सम्बन्धलाई सुन्दरतम बनाउन कलाको भूमिकालाई वात्स्यायनले प्रमुखता दिएका छन् । जसलाई चौँसट्ठी कला भनिएको छ ।
सबैभन्दा ठूलो भ्रम, यिनै चौँसट्ठी कलालाई चौँसट्ठी यौनासनका रूपमा बुझिएको छ ।

यो भ्रमको सिकार कतिपय मानिसहरू भएका छन् । के हुन् ती चाैँसट्ठी कला ? चाैँसट्ठी कलामा गायनदेखि वैजायिका (जित्ने) र वैतालिका (जागरण) सम्मका ज्ञान छन् । यी कलाभित्र वाद्यवादनदेखि नृत्य, नाट्य, चित्र, शृंगार, पाक, घर–कोठा सजावट, वस्त्र सिलाइ, भाषा, साहित्यको ज्ञान, गणितको ज्ञान, खेलकुद, मनोरञ्जन, पहेलीको ज्ञान, व्यक्तिगत स्वास्थ्य, सफाइ, पूजापाठ, धर्म, नीति, कूटनीति, मन्त्रविद्या, जडीबुटी, चिकित्सा, धातु तथा रत्नको पहिचान र गहना बनाउन सिकाउनेसम्मका कुरा छन् ।नारीभन्दा पुरुष कामकलामा अनिपुण मानिन्छन् । वात्स्यायनका विचारमा जीवनका अन्य कलामा पुरुष निपुण भएजस्तै काम कामकलामा पनि निपुणता होस् भन्ने चाहना नारीको हुन्छ । त्यो ज्ञान र बोध छ, चौँसट्ठी कलामा । वात्स्यायनको कामसूत्रमा सात भाग र ३३ अध्याय छन् । सातभाग मध्ये एक भाग मात्र यौनसँग सम्बन्धित छ । पहिलो भागमा भूमिका छ । जसलाई साधारणम् भनिएको छ । 

दोस्रोमा संप्रयोगिक छ । यसलाई यौनमिलन भनिएको छ । यौनसँग सम्बन्धित यो भागमा पनि यौनकला र यौनासनको वर्णन मात्र छैन, यौनिक जीवनको अध्ययन छ । मानिसको शरीर मात्र होइन, मस्तिष्क पनि पूर्ण रूपले रत (भोग्य) हुनुपर्छ भन्छन्, वात्स्यायन । यो भागमा प्रेम प्रदर्शन, आलिंगन, चुम्बनजस्ता क्रिया–प्रतिक्रियाले यौनलाई आनन्दमयी बनाउने सीप र कला छन् । यौनसुखले नै प्रेम प्रगाढ बनाउने हुँदा भोगमा कलाको महत्व  दर्साइएको छ ।

वात्स्यायनको कामसूत्रमा यौनासनका चित्रहरू थिएन् । भाग दुईको अध्याय ६ मा संवेशन प्रकरण भनेर संभोग क्रियाका आसनबारे विभेदात्मक व्याख्या मात्र थिए । अनुवादसँगै चित्र थपिए । व्याख्या मात्र भएको कामसूत्रलाई सचित्र बनाएर बजारिया बनाइयो । भनिन्छ, पहिलो अनुवादमा ६९ चित्रहरू कोरिएका थिए । तेस्रो भागलाई कन्या सम्प्रयुक्तक भनिएको छ । यसलाई पत्नीलाभका रूपमा अथ्र्याइएको छ । कस्ती कन्यासँग विवाह गर्ने ? यहाँ परस्परको विश्वास र प्रेमपछि मात्र विवाह गर्नुपर्ने बुझाइएको छ । विवाहपूर्व प्रेम गर्न आवश्यक मानेका छन् मुनि वात्स्यायनले । 

पत्नीप्रति पतिको कर्तव्य के हो ? स्त्री मनोविज्ञानलाई कसरी अध्यययन गर्ने ? यस्ता मिहिन प्रश्नको उत्तर वात्स्यायनले चौथो अध्यायमा दिएका छन् । भार्याधिकारिक भनिएको यो अध्यायमा सुखी दाम्पत्य जीवनको सुन्दर र सरल परिकल्पना गरिएको छ । आर्चाय भन्छन्– जुन गृहस्थी देखेर भित्री मन खुसी हुन्छ त्योभन्दा ठूलो सुख अरू केही हुँदैन । 

पाँचौँ भागमा पारदारिक छ । यसलाई पत्नी संक्रान्त भनिएको छ । यसमा परपुरुष र परस्त्रीप्रतिको आकर्षण, सम्बन्ध र समस्याका बारेमा विवेचना गएिको छ । वात्स्यायन भन्छन्– धेरै स्त्री–पुरुषमा परसम्भोगको इच्छा हुन्छ, तर समाजको डरले आफूलाई वञ्चित गर्छन् । स्त्री–पुरुषबीचको झुकाउ र प्रवृत्ति बोलेको छ, यो भागमा । 

जहाँ बनावटी प्रेम हुन्छ, त्यो पनि वेश्यावृत्ति नै हो भन्छन् आचार्य वात्स्यायन । यौन व्यापार जसलाई वेश्यावृत्ति पनि भनिन्छ, यसैका बारेमा वर्णन गरिएको छ, छैटौँ भागमा । महर्षि लेख्छन्– अर्थसाधनाका लागि पुरुषलाई नायक मान्ने स्त्रीको धनप्रति आकर्षण कृत्रिम हुन्छ, तर सम्भोगको प्रकृति जन्मजात हुन्छ । यो भागलाई वैशिकं भनिएको छ । यद्यपि ‘वेश्या’को पनि शोषण हुनु हुँदैन भन्ने बलियो धारणा राख्छन् वात्स्यायन । 

कामसूत्रको सातौँ र अन्तिम भाग हो, औपनिषदिक । यसलाई वशीकरण विद्याका रूपमा वर्णन गरिएको छ । औपनिषदिक विचार अनुसार आदि मानव स्त्रीलाई मानव मानिँदैनथ्यो, तर वात्स्यायनले आदिशक्ति मात्र होइन, स्त्रीलाई पूर्णशक्ति मानेका छन् । नारीको रूप र लावण्यसामु पुरुष ज्यादै कमजोर प्रतीत हुन्छ । त्यसका लागि यौनिक सुखसँगै शारीरिक सुन्दरता र त्यसको हेरचाह हुनुपर्ने धारणा छ, मुनि वात्स्यायनको । वशीकरणका लागि नारीको सुन्दरता एक अचुक अस्त्र मानिएको छ । कामशक्ति, तन्त्रमन्त्र र योगविद्याका बारेमा वर्णन छ । 

नारीशक्ति र कामसूत्र
वात्स्यायन लेख्छन्, ‘वेश्याको पनि शोषण हुनु हुँदैन । वेश्याले पनि समाजमा सम्म्मानपूर्ण जीवन जिउनुपर्छ ।’ कामसूत्रले वेश्यागमनलाई वर्जित र अनैतिक मानेको छैन, समाजको अंग मानेको छ । नारी के हो ? शक्ति, कमजोरी, अस्तित्व, उपयोग, वस्तु, विषय, विलास ? उत्तर अनेक छन् । पौराणिक तथा पूर्वीय प्राचीन ग्रन्थले नारीलाई आधी शक्तिका रूपमा श्रेष्ठ मानेको छ, तर त्योभन्दा धेरै तुच्छ मानेको छ । नारी, जसलाई मानवको मादा स्वरूप भनिन्छ, तर विषय, वस्तु र विलासका रूपमा प्रयोग गरेको छ ।

हुन त ती नारी स्वयं पनि प्रयोग भएका छन् । पौराणिक र प्राचीनकालमा गणिका, अभिसारिका, रूपाजीवा, वारांगना तथा नगरवधूका रूपमा नारी स्वयं पनि प्रयोग हुने गरेका थिए । आधुनिक कालमा फरक नाउँले प्रयोग भएका छन् । पूर्वीय मात्र होइन, प्रायशः प्रत्येक धर्मग्रन्थमा नारी शक्तिभन्दा साधनका रूपमा प्रयोग गरिएका छन् । तुच्छ मानिएका छन्, साक्षी छन् धर्मग्रन्थ र पुराणहरू । तर, कामसूत्र ती सारा धार्मिक ग्रन्थविरुद्ध उभिएको छ । यो ग्रन्थले नारीलाई आधी शक्ति होइन, पूर्णशक्ति मानेको छ । 

कामसूत्रले जायजेथा र सम्पत्तिमा स्त्रीको पूर्ण अधिकार हुनुपर्छ भन्ने धारणा राखेको छ । घरमूली पुरुष होइन, स्त्रीलाई मान्नुपर्ने विधान बनाएको छ । पतिपत्नीको काम–कर्तव्यको व्याख्या गरेको छ । कामसूत्रले प्रेम, श्रद्धा र विश्वासलाई सुखी वैवाहिक जीवनको पूर्वसर्तका रूपमा स्वीकार गरेको छ । विवाहपूर्व प्रेम अनिवार्य ठानेको छ । वास्तवमा विवाहपूर्वको प्रेमले पारस्पारिक पराधीनताबाट बचाउन सक्छ । समानान्तर र स्वस्थ यौनजीवनले दाम्पत्य जीवनलाई दीर्घायु बनाउँछ । त्यसका लागि पुरुषले आफ्नो खुसी र सन्तुष्टिसँग नारीलाई बराबरी सहभागी गराउनुपर्छ । यस्ता कुरालाई वात्स्यायनले मिहिन अध्ययन गरेको पाइन्छ । कामसूत्रले प्रेम, विवाह र वरको रोजाइका लागि नारीलाई स्वतन्त्रता दिएको छ । ‘सेक्सुअल’ प्रेसर छ, तर ‘प्लिजर’ छैन भने त्यस्ती नारीले पति र घरबार त्यागेर नयाँ घरबार गर्नु सामाजिक नियमभन्दा बाहिर नहुने तर्कसँगै विधवा विवाहको पक्षमा उभिएको छ, कामसूत्र ।

कामसूत्र पढ्न हुन्छ कि हुँदैन ? समाजमा सुनिन्छ, कामसूत्र पढ्नु हुँदैन । असाध्यै फोहोरी किताब हो । सेक्स मेनुअल हो । यौन र सेक्सभन्दा केही छैन । पूरै भल्गर छ । मान्छेले पढ्ने किताब होइन । पढे बौलाइन्छ । यद्यपि कामसूत्र प्राचीन पूर्वको असाधारण ग्रन्थ मानिन्छ । मानव सभ्यताको आधारशीला मानिन्छ । बुझेर मान्ने र नबुझेरै जान्ने मत आफ्नै ठाउँमा छ । आखिर आकर्षण विज्ञान के हो ? हामीले कहिल्यै सोचेनौँ ।

कामसूत्रले प्रेम, श्रद्धा र विश्वासलाई सुखी वैवाहिक जीवनको पूर्वसर्तका रूपमा स्वीकार गरेको छ । विवाहपूर्व प्रेम अनिवार्य ठानेको छ । 

 हामी केही नबुझी सबै जान्ने भएका छौँ, केही नजानी सबै बुझ्ने भएका छौँ । पूर्वीय सम्पदाका मालिक आफूलाई ठान्छौँ । तर, हाम्रो माल बेचेर हाम्रै मालिक पश्चिमा भएका छन् । व्यापार उनीहरूले गरेका छन् । फाइदा उनीहरूले लिएका छन् । कामसूत्र बेचेर पश्चिमाले कति अर्ब डलर कमाए, हिसाब छैन । ब्रिटिस–भारतको बम्बई सेनामा एक खोजकर्ता थिए– रिचार्ड फ्रान्सिस बर्टन (सन् १८२१–१८९०) । उनी अनुवादक पनि थिए । सन् १९८३ मा कामसूत्रको पहिलो अंग्रेजी अनुवाद उनैले गरे । संसारभरि नै एक प्रकारको कम्पन आयो । पराकम्पन अझै चलिरहेको छ । 

आजभन्दा झन्डै एक सय ५० वर्षअघि कामसूत्र एक सय ५० पाउन्डसम्ममा बिकेको तथ्य अनुवादक वर्टनसँग जोडिएका छन् । अहिलेको हिसाबले त्यो वेलामा एउटा किताबको मूल्य झन्डै १६ हजार रुपैयाँ थियो । एक सय ५० वर्षअघिको एक सय ५० पाउन्डको मूल्य अहिले कति हुँदो हो ? यद्यपि महँगो किताबमध्येमा पर्छ कामसूत्र । 

‘सुगन्धित बाग’लाई अरबको कामसूत्र भनिन्छ । वात्स्यायनको कामसूत्रकै सूत्रहरूको सूत्र हो भन्छन्, खोजकर्ताहरू । कामसूत्रलाई संसारकै पहिलो यौनसंहिता मानिएको छ । प्रश्न उठ्छ– पढ्न नहुने भए संसारमा सबैभन्दा धेरै आँखाले त्यही कामसूत्र किन हेर्थे ? सबैभन्दा धेरै मस्तिष्कले त्यही किन खोज्थे ? सबैभन्दा महँगो किताब त्यही किन हुन्थ्यो ?हावा छेक्न सकिन्छ, तर रोक्न सकिँदैन । काम जीवनको त्यही हावा हो, जुन शरीरमा भरिन्छ । शरीर त भकुन्डो मात्र हो । हावा भरियो उफ्रन्छ, हावा खुस्कियो थन्किन्छ ।

भ्रम नै भ्रम फैलाइएको छ । शक्तिशाली भ्रम उत्पादन गर्ने थोत्रा कारखाना हुन् ती कथित पण्डित, पुजारी, सन्त–महन्त र महात्मा ! जसले पढ्नु हँुदैन भनेका छन् उनीहरूसँग तर्क–शास्त्र छैन, तर शासन गर्ने कुतर्कको शस्त्र छ । समाजमा शासन त्यही वर्गले गरेको छ । धेरै कुरा रोकेको छ ।कामसूत्रभन्दा धेरै गुना भल्गर छ, श्रीस्वस्थानी व्रतकथा । तर, हामी सुत्नुअघि हातमा फूलप्रसाद लिएर सुन्छौँ । तीन पुस्ता एकैठाउँ बसेर कथाको आनन्द लिन्छौँ, तर घरीघरी घोसेमुन्टो लगाउँछौँ । एउटाले अर्काको अनुहार हेर्न सक्दैनौँ । बुझ पचाउँछौँ । पुराण तथा धार्मिक ग्रन्थका नाउँमा शिव पुराणभन्दा भल्गर किताब अर्को पक्कै छैन ! तर मुस्लिम धर्मभीरुका लागि हजरत मोहम्मदको वाणी संग्रहित कुरान जत्तिकै छ शैवमतवालीका लागि शिवपुराण !

कामसूत्र किन यति धेरै पढियो ? एकथरीले पढेर बुझे । अर्काथरीले नबुझेर पढे । बुझ्नेले कामसूत्र दाम्पत्य जीवनको दर्शनसूत्र हो भन्ने बुझे । अर्काथरीले कामसूत्र भनेको कोकशास्त्र हो, जसमा प्रचुर सेक्स मेनुभन्दा केही छैन भने । तर, दुवैले पढे । प्रत्येक पुरुषको मनमा एक सुन्दरी स्त्री बसेकी हुन्छे, जसलाई अनिमा भनिन्छ । प्रत्येक स्त्रीका मनमा एउटा सुन्दर पुरुषको बसेको हुन्छ, त्यसलाई अनिमस भनिन्छ । अनिमा र अनिमस कामका प्रतीक हुन् ।