• वि.सं २०८१ असार २ शनिबार
  • Saturday, 15 June, 2024
गौरब केसी/ प्रणब खरेल काठमाडाैं
२०७६ जेठ ३२ शनिबार ०९:२७:००
सम्झना

छायामा प्रयागराज

बुद्धिजीवी

२०७६ जेठ ३२ शनिबार ०९:२७:००
गौरब केसी/ प्रणब खरेल काठमाडाैं

नेपाली समाज–विज्ञानको क्रम विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने व्यक्तिहरू खोतल्ने प्रयत्न गर्ने हो भने केही सीमित व्यक्तिलाई सूचीकृत गर्न सकिन्छ । तीनैमध्येका एक हुन्– प्रयागराज शर्मा ।  विश्वविद्यालयको परिधिभित्र रही आफ्नो प्राज्ञिक कर्मलाई अगाडि बढाएका शर्मा गएको केही दशकयता ओझेलका पात्र बन्न पुगेका छन् । मृदुभाषी, मुहारको एकापट्टि पूर्ण श्यामल धब्बा, तर आकर्षक बाल मुस्कान विशेषता झल्किने शर्माले उमेरले झन्डै ८० वसन्त पार गरिसकेका छन् । बहुविद् र बहुसिर्जनात्मक लेखन क्षमता हुँदाहुँदैे पनि शर्माले कलम चलाउन चटक्कै बन्द गरेको झन्डै एक दशकभन्दा बढी भइसकेको छ । 

हाल नेपाली समाजमा व्याप्त वैचारिक विमर्शबाट टाढा रहेका शर्मा भन्नुपर्ने वा गर्नुपर्ने आफ्नो कुनै नयाँ काम नरहेको बताउँछन् । लेखन संसारबाट शर्मा किन अलग्गिए भन्ने प्रश्न अधिकांश समाज–विज्ञानका अन्वेषक, विद्यार्थी र नेपाली समाज, संस्कृतिमा अभिरुचि राख्ने उत्साहीबीच चासोको विषय बनिआएको छ । 
विगत पाँच वर्षदेखि लेखकद्वयले शर्माको अन्तर्वार्ता लिने भरमग्दुर प्रयत्न गरे, तर सधैँ विफल भए । किनकि उनले यसमा कहिल्यै अभिरुचि देखाएनन् र सधैँ हाम्रो अनुरोधलाई कुनै न कुनै बहानामा टारिरहे । यसले हामीलाई सधैँ निराश बनाउँथ्यो । 

कुरो सन् २०१६ को हो, हामीले उनको समग्र लेखनको ग्रन्थसूची बनाउन उनैसँग सहयोग माग्यौँ । यसमा भने हामीलाई सहयोग गर्ने वचन दिए उनले । तर, यसअलावा आफ्नोबारे अरू केही कुरा नखोतल्न आग्रह गरे । जनवरीको महिना थियो, हामी उत्साहका साथ बालुवाटारमा अवस्थित उनको निवास गयौँ र उनका प्रकाशित लेख रचनाको अभिलेखीकरण गर्यौं । कतै बोलिहाल्छन् कि भनेर साथमा रेकर्डर पनि बोकेका थियौँ ।

उनले आफ्नो अध्ययन र प्रकाशित सामग्रीबारे हामीलाई जानकारी त दिए । तर, त्यसअलावा अरू केही बोल्न रुचाएनन् । यसले हामीलाई पुनः खिन्न बनायो । तर, पहिलोपटक ११ अप्रिल, २०१६ मा मार्टिन चौतारीको वेबसाइटमा उनका समग्र प्रकाशित लेख एकैठाउँ राखी अपलोड गर्न हामी सफल भयौँ । उनीसँग लामो संवाद गर्ने हाम्रो चित्तवृत्ति भने मेटिइसकेको थिएन ।   अन्तर्वार्ता लिने लामो समयदेखिको हाम्रो प्रयत्न निकै पछि सफल भयो । अन्ततः हामीले उनीसँग अन्तर्वार्ता ग-यौँ । यस लेखमा आएका विचार उनीसँग लिएको दुई घन्टाभन्दा बढीको अन्तर्वार्ता, उनका प्रकाशित सामग्री र हामीले बनाएको शर्मामाथिको सन्दर्भग्रन्थमा आधारित छन् । 

पहिलो पुस्ताका बुद्धिजीवी
उत्तरराणा युगमा आफ्नो अमिट छाप छाड्न सफल शर्मा पहिलो पुस्ताका बुद्धिजीवी र नेपाली समाज–संस्कृति समष्टिगत रूपमा बुझेका एक प्रशिक्षित समाज वैज्ञानिक हुन् । उनका प्रकाशित किताब अहिले पनि उत्तिकै सान्दर्भिक, प्रासंगिक, गम्भीर र परिपक्व छन् । उनले उठान गरेका विचार र विश्लेषण अहिले पनि समाज विज्ञानका अनुसन्धानकर्मीले उत्तिकै साभार गर्ने गरेको पाइन्छ । सन् १९५७ मा कोलोम्बो प्लानको छात्रवृत्तिअन्तर्गत उनले भारतको अलाहाबाद विश्वविद्यालयबाट प्राचीन भारतीय इतिहास, संस्कृति र पुरातत्वमा स्नातकोत्तर गरेका थिए । पछि, सन् १९६० मा पुनाको डेक्कन कलेजबाट ऐतिहासिक पुराततत्वमा विद्यावारिधि गरी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनमा आबद्ध भए । 

आश्चर्यलाग्दो के छ भने पुरातत्व भित्र पर्ने महत्वपूर्ण विषय हो– उत्खनन कार्य । तर, उत्खननको अधिकार विश्वविद्यालयलाई थिएन । तत्कालीन श्री ५ को सरकार पुरातत्व  विभागले यसमा एकाधिकार लिएको थियो । तसर्थ, पुरातत्व विभागले रुचाएको व्यक्तिले मात्रै उत्खननको जिम्मा पाउने भएकाले विश्वविद्यालयभित्रको इतिहास र संस्कृतिको सैद्धान्तिक अध्यापनमा खुम्चिन बाध्य थिए शर्मा । त्यसैले उनी निकै उदासीन थिए । भारतीय पुरातत्वशास्त्री एस.बी.डियोसँगको सहकार्यमा सन् १९६३ देखि १९६५ सम्म उत्खनन कार्यमा संलग्न भएका थिए शर्मा ।

मध्यतराईका केही भाग र काठमाडौंको हाडीगाँउमा लिच्छविकालीन समयको पुरावशेष सार्वजनिक गर्न उनले योगदान दिएका थिए । पुरातत्वमा दख्खल हुँदाहुँदै पनि पुरातत्व विभागको अभिरुचिमा नपारिँदा हतास भएका शर्माको अभिरुचि मानवशास्त्र विधातर्फ उन्मुख हुन्छ । सन् १९६५ देखि १९७० सम्म शर्माले एकजना फ्रेन्च मानवशास्त्री मार्क ग्याब्रको सहयोगी भई तनहुँ, जुम्ला, दैलेख, सुर्खेत, महाकाली नदीपारिका जिल्ला, भारतको कुमाउका बासिन्दा र तिनको रहनसहनको अध्ययन गरेका थिए । त्यही सहकार्य र सहचर्यपश्चात् उनले ऐतिहासिक र सांस्कृतिक मानवशास्त्रवरिपरि केन्द्रित भई लेखेको पाइन्छ । 

इनासको जिम्मेवारी 
सन् १९७२ मा त्रिभुवन विश्वविद्यालयमा नयाँ शिक्षा योजना लागू भयो र संयोगले उनी डिनमा नियुक्त भए । जसको सिफारिसमा उनी नियुक्त भए, त्यो दरबारनिकट शक्तिशाली शिक्षा समितिअन्तर्गत पर्दथ्यो र त्यसको सदस्यसचिव मोहम्मद मोसिन थिए । यस योजनाअन्तर्गतका विश्वविद्यालयका १२ वटा कार्यक्षेत्रभित्र शर्माले इन्स्टिच्युट अफ नेपाल एन्ड एसियन स्टडिज् (इनास) को जिम्मा पाए । इनासमा उनले गरेका कामको लेखाजोखा गर्नुअघि एउटा कुरा प्रकाश पार्नु जरुरी छ । 

व्यक्तिगत रूपमा पञ्चायत र दरबारसँग उनको खासै मोह थिएन । पञ्चायतनिकट उनका केही मिल्ने साथीहरू त थिए । तर, उनले आफ्नो जागिरका लागि कहिल्यै दौडधुप गरेनन् । यस्तो महत्वपूर्ण नियुक्ति उनले कसरी र कुन परिस्थितिले पाए– आफूले अहिलेसम्म पनि बुझ्न नसकेको अभिव्यक्ति हामीसामु राखे । शर्मा भन्छन्, ‘दरबारको कुनै मान्छेले म आज्ञाकारी, काम लगाउन सजिलो र विद्रोही स्वभाव नभएको भनी सिफारिस गरेको हुनुपर्छ ।’ आफूलाई दिइएको जिम्मेवारी सम्हाले उनले । प्राज्ञिक लेखनमार्फत दरबार र पञ्चायतको प्रचारप्रसार गर्न आफूलाइ नियुक्ति गराइएको उनले पछि मात्रै बुझे । तर, विश्वविद्यालयभित्र उनले पञ्चायतले खोजेअनुरूपको काम नगरिदिँदा केही पात्र उनीसँग निकै चिढिएका थिए । यसले उनलाई हतास बनायो र उनको काम गर्ने आत्मबल घट्दै गयो । 
यी परिस्थितिमाझ इनासमा आबद्ध छँदा शर्माले आफूलाई त्यस समयका एक अब्बल अध्येताका रूपमा उभ्याइसकेका थिए । तत्कालीन राज्य र त्यसका वाहकलाई खुसी पार्नुभन्दा पनि प्राज्ञिक कर्मलाई प्राथमिकतामा राखी उनले कार्य सम्पादन गरिरहे । इनासमा उनले गरेको मुख्य काम थियो– नेपालको इतिहास र संस्कृतिमा केन्द्रित रहेको संस्थामा मानवशास्त्र, समाजशास्त्र र भाषाशास्त्रको अध्ययन पद्धतिलाई पनि सँगसँगै लैजाने प्राज्ञिक जग बसाल्नु । साथै, इनासभित्र एउटा अभिलेखालयको गठन गरी नेपालसम्बन्धी विभिन्न विषयको अभिलेख राख्ने थालनी पनि गरे । 

आफ्नै नेतृत्वमा स्वदेशी र विदेशी शोधकर्तालाई यस संस्थासँग आबद्ध गराउँदै उनीहरूको काममा सहजीकरण–समन्वय गर्ने व्यवस्था पनि मिलाए । विशेषतः पश्चिमा राष्ट्रहरूबाट आउने शोधार्थीलाई उनीहरूका प्रारम्भिक अनुसन्धानको नतिजा सिनासको जर्नलमा प्रकाशन गर्ने परिपाटी बसाले । विदेशी–नेपालीले नेपालसम्बन्धी के कस्ता काम गरिरहेका छन् भनी जान्न, त्यसलाई प्रकाशन गर्न एउटा इकाइको निर्माण गरे । त्यो इकाइमा धनबज्र बज्राचार्य, सुभद्रा सुब्बा र जगदीशचन्द्र रेग्मीले उनलाई सघाएका थिए । यस अतिरिक्त त्रिविबाहिर अनुसन्धानको विषयमा रुचि राख्ने व्यक्तिलाई पनि शर्मा बारम्बार प्रोत्साहन गर्थे ।

उदाहरणका लागि डोटी जिल्लाका देवकान्त पन्तलाई त्यस ठाउँको लोकसाहित्य अध्ययन गर्न भनी उनको सिफारिसमा इनासले केही आर्थिक स्रोतको व्यवस्था गरेको थियो । त्यसैगरी एसियाली अध्ययनको सन्दर्भमा भारतबारे जानकारी राख्ने केही मानवस्रोत भए पनि त्यसवेला चीन मामिलामा विज्ञ कोही थिएनन् । यस अभावलाई पूर्ति गर्न शर्माकै परामर्शमा चीनसम्बन्धी विज्ञता हासिल गर्न त्रिवि इतिहास विभागका हेमन्त राणा र सुरेन्द्रबहादुर श्रेष्ठलाई अमेरिका पठाइयो । 

इनासबाट निस्कने अर्धवार्षिक जर्नल ‘कन्ट्रिब्युसन् टु नेप्लिज स्टडिज्’लाई चुस्त बनाउन जर्नलको समितिमा हर्क गुरुङ र मोहम्मद मोसिनजस्ता त्यस समयका प्रभावशाली व्यक्तित्वलाई राख्दै उनले जर्नलको सम्पादकीयको नेतृत्व सम्हालेका थिए । सन् ७० को दशकमा निस्कने ‘कैलाश’ नामक जर्नलको पनि उनी सम्पादक थिए, जसमा फ्रेन्च भाषाका लेख पनि छापिन्थे । शर्मा फ्रेन्च भाषामा पनि पोख्त थिए । समीक्षाका लागि फ्रेन्च भाषाका ती लेख उनीसामु आइपुग्थे ।

यति हुँदाहुँदै पनि पञ्चायतका केही शक्तिशाली कर्मचारी र व्यक्तिहरू गुनासो गर्थे– शर्माको काम गराइ पटक्कै भएन । शर्माको बुझाइमा, इनासका अनुसन्धानमूलक सामग्रीमा व्यवस्थाअनुकूलको सामग्री आउनुपर्नेमा त्यसको विपरीत काम गरिरहँदा उनले समय–समयमा खप्की खानुपथ्र्यो । यसैले आफ्नो पहिलो तीनवर्षे कार्यकाल समाप्त हुँदा उनले सो पदमा रहन अनिच्छुक रहेको भनी पहिलोपटक आफ्ना घनिष्ट मित्र कमलप्रकाश मल्ललाई जानकारी गराएका थिए । तर, तत्कालीन दरबारका शिक्षा हेर्ने सचिव नारायणप्रसाद श्रेष्ठले शर्मालाई दोस्रो कार्यकाल गर्नैपर्ने अन्यथा ‘जे पनि हुन सक्ने’ भनी धम्क्याएका थिए रे !

व्यवस्था हाँक्नेहरूले सोचेअनुसारको काम गर्न नसकिरहेको, आफूले गर्न चाहेको र गरिरहेको कामको सही मूल्यांकन नभएको विरोधाभासपूर्ण अवस्थामा शर्माले आफूलाई पाए । तसर्थ, उनी काम गर्न अनिच्छुक भए र निकै हतोत्साही भए । दोस्रो कार्यकाल सकिएपछि उनलाई सम्भावित उत्तराधिकारीको नाम सोधियो । शर्माले डोरबहादुर विष्टको नाम सिफारिस गरे । सिनासको नेतृत्वबाट हटिसकेपछि पनि त्यस संस्थाबाट प्रकाशित हुने शोध, लेखनको मूल्यांकन र सम्पादकीयमा आफ्नो आबद्धत्ता जनाइरहे ।

प्रयागराज शर्मा एक अब्बल दर्जाका प्राज्ञिक हुन् । तर, संस्थागत राजनीति नजानेका बुद्धिजीवी भएकाले उनी हाम्रो समाजमा संरचनात्मक श्रेणीमा तल परे भन्न मिल्ला ।

नेपाल, बहुरंगी नेपाली समाज र संस्कृति
अब शर्माको लेखन–समीक्षातिर लागौँ । उनको समग्र लेखनको मूल्यांकन यत्ति सानो लेखमा सम्भव छैन । यहाँ हामी शर्माका केही लेख र उनको बुझाइमाथि कुरा गर्नेछौँ । मूलतः पुरातत्वमा विशेषज्ञता हासिल गरेका शर्माले कालान्तरमा पूर्णतया इतिहास, मानवशास्त्र र समाजशास्त्रमा कलम चलाए । उनका कृतिमा नेपाली जात, व्यवस्थामाथि बढी व्याख्या छन् । विशेषगरी विसं. १९१० को मुलुकी ऐन र त्यसले नेपाली जात व्यवस्थामा पारेको प्रभाव, नेपाली राज्यमा बाहुनको उपस्थिति, हिन्दू र जनजातिको अन्तर्घुलन–अन्तक्र्रिया, समयक्रममा राज्यले गरेको जमिनको व्यवस्था र स्वामित्वजस्ता विषयमा शर्माले प्रकार्यगत सैद्धान्तिक धारमा लेखेका छन् । उनको बुझाइमा नेपाली समाज एक मिश्रित र अन्तर्घुलित प्रक्रियाबाट निर्माण भएको हो । उनले नेपाली समाज र संस्कृतिको विकाक्रिमलाई कालानुक्रमिक चक्रमा देखाएका छन् । 

सन् १९६० देखि १९७० को आरम्भमा उनका लेख पूर्णतया नेपाली इतिहास र पुरातत्ववरिपरि केन्द्रित रहेको देखिन्छ । १९७० देखि १९८० को उपरान्त नेपाली समाज, संस्कृति र यसका घटनाक्रमलाई सह–अस्तित्व  र समन्वयमा व्याख्या–विश्लेषण गरेको पाइन्छ । १९८० देखि १९९० को उत्तरार्धसम्म नेपाली समाजमा संरचनात्मक स्वरूप ग्रहण गरेको मूल्य, मान्यता, संस्कार, संस्कृति र राजनीतिक परिपाटीको आलोचना गरेको पाइन्छ ।

विशेषगरी ८० उपरान्त उनका विचारोत्तेजक दृष्टिकोण पञ्चायतमा हुर्के–बढेका प्रशासक र बुद्धिजीवीहरू (अधिकांश) लाई पच्ने किसिमको थिएन । उदाहरणका लागि अधिकांश विदेशीले नेपाललाई हेर्ने दृष्टिकोण भारतका चर्चित मानवशास्त्री एम. एन श्रीनिवासले विकास गरेका धारणा ‘संस्कृटाइजेसन’ अर्थात्, संस्कृतीकरणको अवधारणाबाट हेर्ने गरिएको पाइन्थ्यो । संस्कृतीकरणको अर्थ हुन्छ– तल्ला जातले माथिल्लो जातको रहनसहन, वेशभूषा, खानपान अर्थात् मूल्य–मान्यतालाई ग्रहण गर्नु । शर्माले भने नेपालमा रहेका जातजातिका विशेषतामाथि प्रकाश पार्दै संस्कृतीकरणको अवधारणा अप्रासंगिक भएको हुनाले अब आउँदा दिनमा संस्कृतीकरणलाई आधुनिकीकरण र पश्चिमाकरणले विस्थापित गर्ने तर्कलाई ‘कास्ट, सोसल मोबिलिटी एन्ड संस्कृटाइजेसनः अ स्टडी अफ नेपालस् ओल्ड लिगल कोड’ भन्ने आफ्नो लेखमा प्रस्तुत गरेका छन् । 

सन् १९७८ मा सिनासको जर्नलमा छापिएको उनको लेख हो, ‘नेपाल ः हिन्दू–ट्राइबल इन्टरफेस’ । यस लेखमा शर्माले हिन्दू र जनजाति विपरीतार्थक श्रेणी नभई यी दुईलाई संवद्यपरक श्रेणीमा हेरिनुपर्छ भनी तर्कपूर्ण वकालत गरेका छन् । उनका तर्कमा यी दुई अवधारणालाई नेपालमा अलग्याएर अध्ययन गर्न मिल्दैन किनकि यी दुई एक–अर्कासँग अविच्छिन रूपमा अन्तर्सम्बन्धित छन् । तर, यही कुरालाई ब्रिटिसहरूले भारतमा विभाजित गरेर आफ्नो राजनीति गरे र नेपालमा पश्चिमा मानवशास्त्रीले यही गरिरहेका छन् भनी तर्क गरेका छन् । तसर्थ, यस लेखमा उनको जोड नेपालमा रहेको सांस्कृतिक बहुलता र त्यसभित्रको एकता ऐतिहासिक रूपदेखि नै रहिआएको भन्ने हो ।

त्यस्तै, सन् १९८३ मा छापिएको उनको ‘द ल्यान्ड सिस्टम अफ लिच्छिविज्’ भन्ने लेखमा धनबज्र बज्राचार्यले ‘पञ्चालि’ शब्द लिच्छिविकालीन समयमै अस्तित्वमा रहेको र त्यसैको विकसित रूप पञ्चायत हो भन्ने तर्कलाई प्रामाणिक रूपमा तर्कसँगत मान्दैनन् । सांस्कृतिक बहुलतामा जोड दिने शर्माको सन् १९८९ मा छापिएको लेख ‘नेपाली कल्चर एन्ड सोसाइटी ः एन हिस्टोरिकल ओभरभ्यु’ थोरै फरक ढंगबाट प्रस्तुत हुन्छ । हुनत यस लेखमा पनि उनले ‘हिन्दू–ट्राइबल इन्टरफेस’ मै जोड दिएका छन् । तर, यस लेखमा उनी नेपाली राज्यले समय–समयमा हिन्दूकरण गरेको तर्क अघि सार्छन्, साथै आफ्नो सामाजिक हैसियत उच्च राख्न र राजनीतिक महŒवाकांक्षा पूरा गर्न हिन्दूकरणको नारालाई पनि समय–समयमा हतियारका रूपमा प्रयोग गर्ने गरिएको तर्क अघि सार्छन् । शर्माले यो तर्क गरिरहँदा ८० को बदलिँदो परिस्थितिमा पञ्चायत र राजतन्त्रलाई कतै इंगित गरिरहेको हो कि भन्ने भान हुन्छ । 

शर्माले नेपाली समाजका विविध आयामलाई अंग्रेजीमा पस्किरहँदा यसले पश्चिमा अन्वेषकलाई समष्टिगत रूपमा नेपाल बुझ्न र  आफ्नो कार्य गर्न सहज बनायो ।

भ्यालुज् इन द डोल्ड्रम्स र बाहुन्स इन् द नेपाली स्टे
यस खण्डमा हामी शर्माका दुई लेखमाथि परिचर्चा गर्नेछौँ । यी दुवै लखमार्फत शर्माले बदलिँदो सामाजिक र राजनीतिक परिस्थितिमा फरक तर्क प्रस्तुत गरेको पाइन्छ । तर, यी दुवै लेखमार्फत धेरै पात्रमाझ शर्मा अलोकप्रिय रहे । सन् १९८६ को डिसेम्बर ७ देखि ११ सम्म चलेको ‘पोलिटिकल डेभलपमेन्ट एन्ड सोसियल चेन्ज इन नेपाल’ नामक गोष्ठीमा उनले ‘भ्यालुज् इन द डोल्ड्रम्स : डज द वेस्ट मिट द इस्ट इन नेपाल’ शीर्षकमा आफ्नो कार्यपत्र पञ्चायतको रजतजयन्तीको अवसर पारी प्रस्तुत गरेका थिए । 

यस लेखमा शर्माले पूर्वीय मान्यता र पश्चिमी जीवनशैली एक–अर्काका विरोधाभास रहेको र यसले नेपालमा सही गति नलिने निक्र्योल निकालेका छन् । पूर्वीय भन्ने मान्यतालाई जसरी हामीले शुद्धतामा हेरिरहेका छौँ, के ती मान्यता हाम्रा शासक र बुद्धिजीवीले अपनाइरहेका छन् भनेर व्यंग्यात्मक ढंगमा विश्लेषण गरेका छन् । जब कि अधिकांश हाम्रा मूल्य–मान्यता पश्चिमा जीवनशैलीमा आधारित छन् । मननयोग्य कुरा के छ भने सो लेख पञ्चायतको उत्तरार्धमा र जनमतसंग्रहको आधा दशकपछि आएको थियो । 

यो लेख प्रस्तुत गरिसक्दा शर्मामाथि सभाकक्षमै व्यवस्थाका पृष्ठपोषकहरूले कडा आलोचना गरेका थिए । त्यसको नेतृत्व साहित्यकार तारानाथ शर्माले लिएका थिए । प्रयागराज शर्माकै शब्दमा तारानाथ शर्माले सभाकक्षमा रहेका पञ्चहरूलाई उक्साउँदै ‘के हेरिरहेका छौ पञ्च हो, यसलाई लाठो बज्राऊ’ भनी उक्साहटपूर्ण अभिव्यक्ति दिएका थिए रे ! शर्माका अनुसार सोही सभाकक्षमा समाजशास्त्री चैतन्य मिश्रले पनि आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । तर, उनले क्लिस्ट माक्र्सवादी शब्दावली प्रयोग गरी प्रस्तुत गरेकाले उनलाई कसैले बुझेनन्, तर शर्माको सहज प्रस्तुतिले उनलाई अप्ठ्यारो अवस्थामा पु-यायो ।

यो लेखसम्बन्धी थप रोचकता के छ भने तत्कालीन सिनासको नेतृत्व राजा वीरेन्द्रका भिनाजु कुमार खड्गविक्रम शाहले गरिरहेका थिए । शर्मालाई गोष्ठीका लागि केही लेखिदिन शाहले नै आग्रह गरेका थिए । लेख तयार भएपछि शर्माले शाहलाई यसको एकप्रति उपलब्ध गराए, जुन शाहले तत्कालीन दरबारमा पठाए । व्यवस्था र त्यसले बोकेको मान्यतालाई आलोचना गर्दै लेखिएको उक्त लेख दरबारबाट स्वाभाविक रूपमा अस्वीकृत भयो । तर, प्रयागराज शर्माका अनुसार सो लेखबारे एउटा वृत्तमा चर्चा भइसकेको हुनाले कुमार खड्गविक्रम शाह असमञ्जस्यताको स्थितिमा पुगे र अन्ततः उनले शर्मालाई सो लेख प्रस्तुत गर्न अनुमति दिए । 
अब अर्को लेखको चर्चा गरौँ, सन् १९९४ मा अंग्रेजी पत्रिका ‘हिमाल’मा छापिएको ‘बाहुन्स इन द नेपाली स्टेट’ को । नब्बेको राजनीतिक परिवर्तनपछि आएको जातीय उभारसँगै बाहुन र जनजातिलाई दुई वर्गमा विभाजित गरी हेरिने चलन बढ्यो । यसै सन्दर्भमा जनजाति समुदायका कलम चलाउने अधिकांश अध्यताले बाहुनलाई तिखो कटाक्ष गर्दै नेपालको केन्द्रीकृत राज्यव्यवस्था र त्यससँग जोडिएको अरू नकारात्मक पक्षमा बाहुन नै प्रमुख कारक तत्व  ठाने ।

शर्माले भने यस लेखमा बाहुन समुदायलाई प्रगतिशील, परिवर्तनवाहक र सबै जिल्लामा छरिएर सबैसँग मिलेर बसेको एक बहुपक्षीय र बहुसामुदायिक विशेषता बोक्ने प्रतिकथनलाई अघि सार्दै जनजाति बुद्धिजीवीका स्थापित तर्कलाई काटेका छन् । साथै, बाहुनविरोधी चर्का नाराले दूरगामी प्रभाव पार्दै यसले नेपाली समाज खण्डीकृत हुने भय चिन्तापूर्ण तवरमा यस लेखमा प्रकट गरेका छन् । तर, सबै तप्काबाट बाहुनलाई आइरहेको आलोचना र त्यस बखतको बदलिँदो जनजाति उभारसामु यो तर्कले कुनै अर्थ राखेन । तसर्थ, पञ्चायती खेमाबाट पनि उनी आलोचित भए । अर्कातिर, जनजाति बुद्धिजीवीहरूमा पनि उनी त्यत्तिकै आलोचित भए ।
प्रयागराज शर्मा एक अब्बल दर्जाका प्राज्ञिक हुन् भन्नेमा दुई मत छैन । तर, संस्थागत राजनीति नजानेका बुद्धिजीवी भएकाले उनी हाम्रो समाजमा संरचनात्मक श्रेणीमा तल परे भन्न मिल्ला । ‘बाहुन्स् इन अ नेपाली स्टेट’को त्यतिखेरको जनजाति उभारमा महŒव नरहे पनि प्राज्ञिक दृष्टिकोणले यो लेख एउटा प्रतिकथन र प्रतिस्पर्र्धी विचारधारा भने पक्कै हो । 

उनको प्राज्ञिक क्षमतालाई कदर गरेर नै डेबिड गेल्नर र एन्ड्रस होफरलगायत अरू विदेशीले समय–समयमा आफ्नो पुस्तकमा उनलाई प्राथमिकतासाथ राखेको देखिन्छ । नेपाली समाजका विभिन्न पाटालाई सूक्ष्म ढंगबाट अध्ययन र विश्लेषण गर्न सक्ने शर्मा अंग्रेजी, नेपाली र फ्रेन्च तीनै भाषामा अब्बलताका साथ लेख्न सक्छन् । शर्माले नेपाली समाजका विविध आयामलाई अंग्रेजीमा पस्किइरहँदा यसले पश्चिमा अन्वेषकलाई समष्टिगत रूपमा नेपाल बुझ्न र आफ्नो कार्य गर्न सहज बनायो । केही विचारधारामा भने उनी अझै अडिग छन् । अन्तर्वार्ताको अन्त्यमा पनि शर्माले दोहो¥याएर भनेको एउटै कुरा हो, ‘म अहिले पनि भन्छु, नेपालको वास्तविकता भनेको हिन्दू–ट्राइबल इन्टरफेस नै हो ।’