• वि.सं २०७७ कार्तिक ४ मंगलबार
  • Tuesday, 20 October, 2020
गनेस पौडेल काठमाडाैं
२०७६ जेठ ३२ शनिबार १०:४९:००
साहित्य

शालिग्राम

जोगी जिन्दगी

२०७६ जेठ ३२ शनिबार १०:४९:००
गनेस पौडेल काठमाडाैं

शालिग्राम निकै सफा थियो । उसका हातमा नसाको नीलो छाप देखिन्थ्यो । आँखा कञ्चन तलाउका झैँ शान्त र सफा, जसको वरपर काला र बाक्ला आँखीभौँको मिहिन पहरा । दुवैतिर भुक्क परेका गाला टाँसेर बसेको गोलाइरो अनुहार । बाबियोझैँ सलक्क तर रेशमझैँ कोमल कपाल । छोटो घाँटी । शालिग्राम सेतो शालिग्रामजस्तै पो थियो । स्कुल पढ्दा सबैको कपडामा कतै न कतै दागमैलो हुन्थ्यो । कतिका घुँडा र चाकमा भ्वाङ परेका हुन्थे, कतिका भ्वाङ टालिएका ।

टालाहरूको पत्रैपत्र चाकमा टाँसेर हामी हिँडिरहँदा, उसको भने कुनै पनि कट्टु र पाइन्ट सधैँ दुरुस्त हुन्थे । पुगिसरी आएर पनि होइन, असाध्यै जतन गर्ने भएर । ऊ कतिसम्म सफा थियो भने घाँटीको कल्लारको डिलमा समेत कुनै मयल हुँदैनथ्यो । हामी बरु उफ्रिन्थ्यौँ, पसिनै पसिना हुन्थ्यौँ र छिनछिनमा हात मुख र खुट्टा धोइरहन्थ्यौँ । ऊ त्यसो गर्दैनथ्यो त्यसैले छिनछिनमा धोइपखाली पनि गर्दैनथ्यो ।

उसको घर स्कुलबाट २० मिनेटको दूरीमा थियो । हामीजस्तै ऊ हिँड्ने बाटो पनि त्यही थियो । बाटोमा खोल्सा थिए, खोल्सामा पानी बगेको हुन्थ्यो । भैँसीले आहाल खेल्ने पोखरीहरू थिए, जसको डिलबाट हिलोमा नटेकी पाइला चाल्नै मुस्किल हुन्थ्यो । खेतका आली नै बाटो थिए, जहाँबाट अलिकति ध्यान अन्त गयो भयो धानको गाँजभित्र गजगज खुट्टा गढ्थ्यो । डहरभरि गाइडिँगाका बथान हुन्थे, जसको बीचबीचबाट पसेर गुहुमुतले भिजेको पुच्छरको सप्को नखाई निस्कनु मुस्किल प्रायः हुन्थ्यो । कतिखेर भैँसीको हिलाम्मे पुच्छर सोझै कमिजमा आएर बजारिने हो, अनुमान हुँदैनथ्यो । हिलो र गोबरको बरोबरी गन्ध हाम्रा कपडाभरि हुन्थे । 
तर, ऊ खै कसरी जोगिन्थ्यो जोगिन्थ्यो !

हाम्रोमा जस्तै उसको घरमा पनि इस्त्री थिएन । कपडामा इस्त्री लगाउन दमाईं दाइकै घरमा पुग्नुपथ्र्यो । अहिलेजस्तो बिजुलीले चल्ने आइरन थिएन । गाउँमा बिजुली भए पो त्यो वेला ? बिँडपट्टिको भागबाट खुल्ने ढकनीमा आगोको कोइला हालेर बल्ल तताइन्थ्यो आइरन । विद्यार्थीका पोसाक नयाँ सिलाउँदा मात्रै आइरन गरिएका हुन्थे । पुरानोमा आइरन गर्ने चलनै थिएन । तर, उसको कपडा सधैँ तिनिक्क । हाम्रा कमिज र कट्टुका टाँक फुत्तिसकेका हुन्थे, सट्टिमा थपिएका टाँक रंगिबिरंगी हुन्थे । तर, उसका कमिजका टाँक सधैँ ठाममा । कपडा मात्रै होइन, उसले किताबको पनि साह्रै जतन गथ्र्यो । हाम्रा किताबका कुनाकाप्चा एक गुजुल्टो परिसक्दा पनि उसका भने धमिलोधरि हुँदैनथे । 

साह्रै सफा थियो शालिग्राम सुवेदी । साह्रै मिलनसार थियो । उसका अक्षर टंकन गरिएका जस्ता बाटुला, सफा र एक रूपका हुन्थे । पाँच कक्षा पढ्दापढ्दै ऊ स्कुल आएन । ऊ मेरो मिल्ने साथी थियो । खै किन हो, मजस्तो चकचके, फोहरीसँग पनि ऊ निकै मिल्थ्यो । साँझपख उसको घर छेवैबाट कतै जाँदै थिएँ, उसले देखेर बोलायो ।

‘गनेस, म अब वनारस जाने अरे ! बासँग । उतै बसेर संस्कृत पढ्ने रे ! बाले तिमीलाई पनि जाने भए सोध भन्नुभएको थियो । तिम्रो घरमा गएर तिम्रा बाआमासँग पनि सल्लाह गर्ने भन्नुभाछ । जाने हो ? तिमी भयौ भने मज्जा हुन्छ । संस्कृत पढेपछि तिमीले पूजापाठ गर्न पनि सकिहाल्छौ । म त ज्योतिष पढ्छु । तिमी कर्मकाण्ड वा व्याकरण पढ ।’

इन्डिया जाने, रेल चढ्ने, फिरीमा खाने–बस्ने, यताउति पूजापाठ हुँदा दक्षिणास्वरूप खाइखर्चको पनि जोहो हुने, लड्डु, पेडा र जेरी मात्रै होइन, आँप र केरा त जति खाए पनि पाइने ... । उसले सुनाएको संसार स्वादिलो थियो त्यसैले मायावी थियो । म पूरापूर लोभिइसकेको थिएँ । नभन्दै उसका बा हाम्रो घरमा आउनुभयो । भोलिपल्ट साँझमा हो कि जस्तो लाग्छ । उहाँले पनि मेरी आमासँग त्यही कुरा गर्नुभयो ।  ‘ल भाउजू, विचार गर्नुस् । मेरो भन्दा हजुरको छोरा निकै टाठा छन् । फर्किंदा ठुला पण्डित भएर आउँछन् । चौकामा बस्ने गरी आएनन् भने भन्नुहोला । अर्को सोमबार या मंगलबार पठाउने कुरा छ ।’

शालिग्रामका बा हाम्रो घरबाट निस्केपछि आमाले मलाई ‘तेरो विचार के छ ?’ भनेर सोध्नुहोला जस्तो लागेको थियो । मेरो त मनपेट सबै वनारस पुगिसकेको थियो । किन कसो केही नभनी म त सोझै ‘हुन्छ’ भन्दिनेवाला थिएँ । तर, आमाले केही सोध्नुभएन । भोलिपल्ट बिहान पनि वास्तै गर्नुभएन । पर्सिपल्ट पनि त्यही भयो । हुँदाहुँदै हप्ता दिन सकियो । आइतबार साँझ आइपुग्यो । भोलि त सोमबार, अनि पर्सि मंगलबार । आज पनि कुरा चलेन भने मेरो वनारस यात्रा खुच्चिङ हुने पक्का हुने भयो ।

साँझमा भात खाने वेला डराइडराई आमासँग कुरा झिकेँ, ‘आमा शालिग्रामहरू भोलि जाने हुन् कि पर्सि ?’‘पर्सि होला नि !’ आमाले त्यसपछि बोल्नुभएन । ‘अनि मलाई पनि पठाउने हो र तपाईँले ?’ धक मानी–मानी मैले सोधेँ ।‘पर्दैन जान । कस्तो हो, के हो नबुझीकन त्यसै पठाउने ? भोलि बिरामी भइस् भने कसले हेर्छ तँलाई ? त्यसमाथि पण्डितै हुने भए किन जान प-यो वनारस ? घरमै बासँग सिके भैगो नि । तेरा बाले पनि आफ्ना बासँग सिकेका हुन् क्यारे !’ आमाले यति भनेपछि मेरो बोल्ने ठाम रहेन । ‘डाक्टर, इन्जिनियर, पाइलट हुन खोज्छ कि छोरो भनेको त पुरेत पो हुन खोज्छ बा !’ भातको गाँस घुपुक्क निलेपछि पुरेत बाले पनि थप्पु लगाउनुभयो । मेरो वनारस यात्रा सुरु नभई टुंगियो ।

शालिग्राम वेलावेलामा घर फर्किइरहन्थ्यो । तीन वा चार महिनाको बीचमा । दोस्रोपटक फर्किंदा उसले साइकल चलाउन जान्ने भइसकेको थियो । उतै सिकेछ । मंसिर महिनापछि कक्षा सकेर छुट्टी भएको समय थियो, मेरो स्कुल पनि बन्द थियो । ऊ हरेक दिन आफ्ना बाको साइकल कुदाउँदै मेरो घरमा आउँथ्यो । म क्यारियरमा बस्थेँ, उसले कैँची हानेर कुदाउँथ्यो । एक दिन ऊसँग साइकल सिकाउन मागेँ । उसले पछाडि क्यारियरमा समात्यो । मैले उसको सिको गर्दै कैँची पारेर पेडलमा खुट्टा घुसारेँ । तर, यसो अलिकति कुदेको के थियो साइकल पल्टियो । जन्जिरले मेरो खुट्टो लछा-यो । साइकलको घन्टी भाँचियो । ‘अब बाले मार्छन्’ भनेर ऊ डराई–डराई घर भाग्यो । म हेरेकोहे-यै भएँ । मैले साइकल सिक्नै पाइनँ ।

उसलाई बाले मारे कि मारेनन् थाहा भएन, तर भोलिपल्ट पनि ऊ साइकल लिएर आयो । तर, भोलिपल्ट न मैले साइकल सिक्न मागेँ, न उसले नै मलाई ‘सिक न त’ भनेर दियो । दुई–चार दिनमा त उसको छुट्टी पनि सकियो । फेरि वनारस गयो । म एक्लिएँ । प्रायः चार–चार महिनामा घर फर्किने शालिग्राम यसपाला चाहिँ फर्केन । बरु उसका बा आफैँ वनारस गए । शालिग्राम बिरामी परेको हुनाले उसको उपचार गर्न र उसलाई घर फर्काउन भनेर उसका बा त्यता गएका रहेछन् । तर, उसका बा पनि लामो समयसम्म फर्केर आएनन् । धेरै पछि फर्किंदा छोरोलाई पनि सँगै लिएर आए । त्यसपछि शालिग्राम फर्केर बनारस गएन । उसको टाउकोमा जटिल समस्या देखिएको रहेछ, जसको उपचार असम्भव छ भन्ने सुनेँ ।

फर्केर आएको शालिग्राम हामीसँग हाम्रो स्कुलमा पढेन, अन्तै कतै पढ्न थाल्यो । यसपटकको शालिग्राम पहिलाको जस्तो थिएन । उसले कहिल्यै साइकल कुदाएन । चुँगी खेल्न पाटनमा निस्केन । कहिलेकाहीँ मलाई भेट्न आउँथ्यो, त्यसबाहेक अरू साथीलाई भेट्दा पनि भेटेन । ऊ एकांकी हुँदै गयो ।उसको टाउको पहिल्यैदेखि कमलो थियो । हावा कम भएको भलिबलमा छामेजस्तो थिल्थिल्याउँदो थियो । कदाचित कोही साथी उसको टाउकोमा ठोक्कियो भने ऊ रनाहा परेझैँ हुन्थ्यो । त्यो वेला हामीले खासै वास्ता गरेका थिएनौँ । तर, आज उसको रोग परिपक्व भएर आएको थियो । उसले आँखा धमिलो देख्न थालेको थियो । मोटो न मोटो चस्मा नभई नदेख्ने भएको थियो । र, समयक्रमको एक दिन ऊ पूरै आँखा नदेख्ने भयो । मेरो घरमा पनि आउन नसक्ने भयो । अत्यास लागेका वेला सूचना कसैकसैमार्फत पठाएर, मलाई बोलाउँथ्यो । म जान्थेँ ।

अचम्मको कुरा के भने हामी सबैजना बिस्तारै बढिरहेका थियौँ तर शालिग्राम जत्राको तत्रै थियो । जस्ताको तस्तै थियो । उस्तै बालखी अनुहार । उस्तै कोमल छाला । एक खालले भन्ने हो भने उसको उमेर झ्याप्पै रोकिएको थियो । तर, शरीरले बढ्न छोड्दैमा, उमेर रोकिँदैमा, आयु नरोकिने भए पो ?उसलाई देखेर म निराश हुन्थेँ तर मेरो उपस्थितिले भने ऊ उज्यालो र खुसी देखिन्थ्यो । ‘एक दिन सबैजना मर्ने नै हो गनेस । बाँचिन्जेल कसैको कुभलो गर्नु हुँदैन । मैले जानेको यत्ति हो,’ उसले निकै परिपक्क कुरा गर्न थालेको थियो । म त अल्लारे नै थिएँ, उसका कुरा बुझे पनि बुझ्न सक्दिनथेँ । भर्खरको उमेरमा भलो–कुभलोको चिन्ता लिने कुरा पनि भएन । यो कलिलो उमेरमा कसले कसको कुभलो गर्छ र ?

शालिग्राम अमरसिंह स्कुलको अन्धा सेक्सनमा भर्ना भयो । त्यतिवेला दृष्टिविहीन भन्ने शब्द चलनमा थिएन । यत्रो शारीरिक र मानसिक दबाबका बाबजुद पनि उसले स्कुल जान छाडेको थिएन । मलाई उसको जीवनशैली देखेर ताज्जुब लाग्थ्यो । उस्तै सफा, उस्तै मिहिनेती, उस्तै कोमल । अन्धा सेक्सनमा पढेको केही समयमै उसले ब्रेल लिपि जानेको थियो । उसले मलाई पनि सिकाउन खोज्थ्यो । मैले केही अक्षर चिनेको पनि थिएँ । जस्तो कि अघिल्लो कुनाका दुइटा थोप्लोले ‘क’ । पछिल्लो कुनाका दुइटा थोप्लोले ‘ख’ । म हेरेर त भन्न सक्थेँ, तर छामेर भन्न सक्दिनथेँ । एक दिन कोठामा बसिरहेका वेला उसले मलाई आँखामा पट्टी लगाउन भन्यो । मैले लगाएँ । इमानदारीपूर्वक पट्टीका कापबाट छिरेको उज्यालोलाई समेत मिलाई–मिलाई बन्द गरेँ । 

‘जाम् हाम्रा बारीमा गएर गाँजर उखेलेर खाम्,’ उसले प्रस्ताव राख्यो ।म उसको हात समातेर पछिपछि लागेँ । उसको गाँजर बारी घरको पछाडिपट्टि थियो तर धेरै टाढा थिएन । त्यस्तै सय मिटर पर थियो होला, तर आँखामा पट्टी लगाएर हिँडेको भएर होला, मलाई त्यो निकै टाढाजस्तो लाग्यो । उसले मलाई तान्दै–तान्दै बारीमा पु-यायो ।‘गनेस तिमीले सम्झेका छौ, सानोमा हामी यहाँ पुतली समात्न दौडेको ? धनियाँ र मुलाको फूलमा कति धेरै पुतली बस्थे है ?’

‘हो नि । किन नसम्झनु ?’ मैले सम्झेँ । खासमा त्यो दिन विज्ञान पढाउने राधा म्याडमले स्कुलमै पुतली पक्रिन लगाउनुभएको थियो । हामीले झुसिलकिरा कसरी पुतली बन्छ भन्ने पढेर घर फर्केको दिन थियो त्यो ।‘अहिले पुतली छन् कि छैनन् नि ?’ उसले सोध्यो ।‘मेरो आँखामा पनि पट्टि बाँधेको छ, साथी । के थाहा 
नि ?’ म अझै आँखामा पट्टी बाँधेरै बसिरहेको थिएँ, ‘हिजोअस्ति त देखिन्थे । पक्कै होलान् नि ।’बारीमा पुगेपछि उसले एउटा गाँजर उखेलेर मलाई दियो । उसले पनि राख्यो होला । हामी कोठामै फर्कियौँ, उसैगरी । उसले भान्छाबाट लोहोटामा पानी ल्यायो । गाँजर पखाल्यो । मलाई पनि पखाल्न भन्यो ।

‘गाँजर खाएर फेरि बारीमा जाऊ है । पट्टी खोलेर जाऊ । पुतली छन् कि छैनन् हेरेर आऊ ।’ उसको अनुरोधलाई मैले सामान्य लवजमा ‘हुन्छ’ भनेँ ।गाँजर खाइन्जेलसम्म मेरो आँखाको पट्टी जिमका तिम थियो । खाइसकेर पट्टि खोलेँ र बारीमा गएँ । धनियाँको फूलमा दुइटा सेता पुतली डुलिरहेका देखिए । माहुरी, बारुला र अनेकन् जातका भँवरा पनि देखिए । केटाकेटीमा छोपेको जस्तो पहेँलो पखेँटामा कालो टिकटिक भएको पुतली पनि देखियो । कोठामा फर्केर मैले उसलाई बारीमा देखिएका किराको वर्णन गरेँ । ऊ निकै खुसी भयो ।त्यस दिन अबेर गरी म फर्किएँ । फर्किंदा अँध्यारो भइसकेको थियो । बाटोमा खोल्सो पथ्र्यो, जहाँ भँयेन्नीले तर्साउँछ भनेर हामी निक्कै डराउने गथ्र्यौं । तर, त्यो दिन मलाई कुनै डर लागेन । सोचेँ, ‘शालिग्रामका लागि त सधैँ अँध्यारो छ । अँध्यारोसँग पनि डराएर साध्य हुन्छ ?’

स‌ंसार जोगाउनकै लागि भए पनि हामी मरिरहनुपर्छ । हामी मर्नु भनेको संसार जोगाउनका खातिर सहिद हुनु हो । शालिग्राम, तिमी मरेका होइनौ, अस्तित्वको निरन्तरताका खातिर सहिद भएका हौँ !

म काठमाडौं हिडेँ, पढाइको सिलसिलामा । शालिग्राम झन्–झन् बिरामी पर्दै गयो । एक दिन घर पुग्नेबित्तिकै आमाले भन्नुभयो, ‘भान्दाइको छोरा (शालिग्राम)लाई साह्रै रहेछ । तँलाई सोध्दै थिए । जा न भेट्न ।’‘घर फर्केकै दिन के जानु ? भोलि फलफुल–सलफुल दिएर जान्छु,’ आमालाई भनेँ । भोलिपल्ट पनि खै के भयो जान पाइनँ । बरु पर्सिपल्ट बिहानै जानुपर्ला भनेर फलफूल भने किनेर ल्याएँ । तर, पर्सि बिहान म उठ्दा–नउठ्दै खबर आयो– शालिग्राम गैसकेछन् । मैले उनको अन्तिम समयमा साथ दिन पाइनँ । मलाई भेट्ने उनको धोको पु¥याउन पाइनँ । त्यो दिन सामान्य थकथकी मात्रै लागेको भए पनि शालिग्रामलाई अन्तिम अवस्थामा भेट्न नपाएको वा नगएको ग्लानिले मलाई सधैँ लखेटिरह्यो । मैले यो आलेख त्यही लखेट्याइबाट उम्किन गरेको प्रयास मात्र हो ।

यतिसम्मको यो आलेख खासमा काठमाडौंको होटेल एअरपोर्टमा बसेर लेखेको हुँ, महिना दिनअगाडि । फर्केर शालिग्रामका बालाई पढेर सुनाउने र अनि बल्ल प्रकाशन गर्ने विचार थियो । बिहान उठेपछि थाहा पाएँ– शालिग्रामका बा दिनानाथ सुवेदीको हृदयाघातबाट देहान्त भइसकेको रहेछ, अस्ति बेलुका नै ।  किरियापुत्रीलाई भेट्न जाँदा मैले यो आर्टिकलको व्यहोरा सुनाएँ । शालिग्रामका दाजु र दुई भाइहरूसँग लामो गफ गरेपछि एउटा कुण्ठाबाट निवृत्त भएको महसुस गरेँ । साँझमा घर फर्केर डायरीमा लेखेँ 

नित्सेकै घोषणाले लखेटेर सायद ईश्वर उहिल्यै मरिसक्यो । वा हुन सक्छ बाँच्दा–बाँच्दा झ्याउ लागेर ईश्वरले आत्महत्यै पो ग¥यो कि ! तर, ईश्वरकै मृत्युले पनि अस्तित्वलाई केही फरक पार्दैन किनकि ईश्वरकै मृत्युमा पनि मृत्यु ज्युँदो भएको प्रमाण कायम हुन्छ । मृत्यु अझै पनि निस्फिक्रीसँग ज्युँदो छ । जोन डनको ‘दाउ सल्ट डाई’ श्राप लागेर मृत्यु मरेको छैन । 

मृत्यु जीवित रहँदासम्म मानवता ज्युँदो हुन्छ । आध्यात्म ज्युँदो हुन्छ । रहस्य ज्युँदो हुन्छ । यथार्थ, कल्पना र पराकल्पनाले पोतिएको रंगीन कला–साहित्य ज्युँदो हुन्छ । मृत्यु रहँदासम्म प्रेम ज्युँदो हुन्छ, डर ज्युँदो हुन्छ, संवेदना ज्युँदो हुन्छ । सम्पूर्ण भौतिक, अभौतिक वा पराभौतिक चेतनामाथिको विश्वास, अविश्वास र अन्धविश्वास पनि ज्युँदो हुन्छ । 

मृत्यु बाँचुन्जेल हो, संसार बाँच्ने । कल्पना बाँच्ने । मृत्यु मरेको दिन संसार पनि मर्छ । कल्पना मर्छ र कल्पनासँगै मर्छन् कला, साहित्य र सौन्दर्य । स‌ंसार जोगाउनकै लागि भए पनि हामी मरिरहनुपर्छ । हामी मर्नु भनेको संसार जोगाउनका खातिर सहिद हुनु हो । शालिग्राम, तिमी मरेका होइनौ, अस्तित्वको निरन्तरताका खातिर सहिद भएका हौँ !