• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नवीन विभास काठमाडाैं
२०७६ जेठ ३२ शनिबार १०:५५:००
समाज

नाम झिम

कुइनेटो– थवाङका घर

२०७६ जेठ ३२ शनिबार १०:५५:००
नवीन विभास काठमाडाैं

प्रिय स्वयंवर हाङ, माओवादी मक्का थवाङ पस्ने मूल ढोकामा तिम्रा ‘कलर–कुरुस’ले कुँदेका पाँचटाउके (माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओ) बड्डाहरूले स्वागत गरे । र, गाउँभित्र पस्नेबित्तिकै कमरेड चे ग्वेभाराले । आश्चर्य ! पुँजीवादी मौसममा पनि ती सबका अनुहारमा चमक थाँती थियो । बिस्मतकी बातजस्तो के थियो भने खरानी रङे कागतको खाली पाना फिँजेजस्तो लाग्ने थवाङ (हरियो–नीलो जस्तापाताका छाना र कंक्रिट घर थपिएपछि) डन्डीफोरले बिगारेको अनुहार हो कि उही थवाङ हो ? ठम्याउन नसकी अलमलमा परेँ । भन त हाङ, सरकारी समृद्धि किरिम अनुहारमा नदली के थवाङ पनि समृद्ध (?!) र सभ्य (?!) नहुने नै भयो हो ? अलमलले टुसाएको कलमल मेट्न तिमीलाई ‘इ–पत्राचार’ गर्दै छु । इ–हुलाकबाट पत्र प्राप्त हुनासाथ फौरन ‘निजो सनिस इ–डाँक’ गरे है, बड्डा !

पिलर समाउँदै कोठाका भान्ना (गारो) उभिँदै थिए । मंगोल युवतीका जोर आँखा घरी भान्ना समाएर उभिन थालेको सिमेन्ट घरमा पुग्थे त घरी काठे फल्याक–छाने रैथाने घरमा । आदिवासी गोडाले उभिएका मौलिक घर थवाङमा दिनानुदिन ढल्दै थिए भने सिमेन्ट–घर उभिँदै ।  ‘सहरमा हुर्केकाले हाम्रा घरलाई नराम्रो आँखाले हेरे । पाहुना आउँदा (अलग–अलग कोठा नहुँदा) अप्ठ्यारो पनि भयो,’ पिलरमा अडेसिएर उभिन लागेका भान्नाछेउमा उभिएकी जोगमया बुढा मगर (३९) ले भनिन् ।

सहरीकरण र ‘मूलधारे’ खसआर्य र पुँजीवादी संस्कृतिको ‘जबर्जस्त’ प्रभाव, देखासिकी गरे सभ्य भइन्छ भन्ने सोचको घरमा सडक र भुइँचालो चेतना थवाङमा एकसाथ पुगेका थिए । त्यसपछि त लाग्ने नै भयो, रैथाने घरमा बस्नु त असभ्य, अविकसित र पाखे हुनु हो । तीन महिनाअघि घरवालाले थवाङमा एउटा बूढो घर भत्काए । अंशबन्डा हुँदा त्यो घर जोगमयाकी कान्छी सासूको भागमा परेको थियो । तीन सौतामध्ये जोगमया जेठीपट्टिकी बुहारी थिइन् । भत्काएपछि थवाङ गाउँमा त्यस्तो अनुहारको बूढो घर एक मात्र बचेको थियो । 

थवाङमा एउटै बच्यो 
रैथाने घर– नाम झिम 

बचेको त्यो एक्लो घर थवाङ ठूलो गाउँको झन्डै माझमा उभिएको छ । त्यस घरको न बैंकल छ न झ्याल न त बार्दली । करिब १५ हात लामो त्यस घरको पूर्वीछेउमा एउटा ढोका छ । गाउँले बच्चाले खेल्ने मोजाको भकुन्डोजत्रो दुलो छ, घरको बीच भागमा । जुन दुलोबाट घरभित्र उज्यालो पसेको छ । घामपानीबाट जोगाउन काठे फल्याकले घरको माथिल्लो भाग ढपक्क ढाकिएको छ । 

घरमा कोही छैनन् । ढोका बन्द गर्न फलामे साङ्लो लागेको छ । ‘यो घरलाई थवाङको सबैभन्दा बूढो पुस्ताको घर मानेका छौँ । ... अहिलेजस्तो घरमा अलग–अलग कोठा छैनन् । एउटै हलजस्तो छ । र, बीच भागमा चुलो । चुलो वरपर बस्थे/सुत्थे,’ नाम झिमभित्र पस्दै थवाङी युवा अमिट घर्तीमगर भन्छन्, ‘खासमा घरको भित्ता पनि काठको नै हुन्थ्यो रे । यसको भने भान्ना लगाएर माटोले लिपिएको छ ।’ 

अठार मगरात खाम भाषामा ‘नाम झिम’को अर्थ हो– भुइँतले भुइँघर । नाम झिम अब थवाङ ठूलो गाउँमा एउटा छ भने अर्काे दहवाङमा ।ढोकामा झुन्डिएको फलामको साङ्लोबाहेक सबै स्थानीय साधनले नाम झिम उभिएको छ । थवाङसँगै जोडिएको जेलवाङ फलाम खानीबाट लिइएको फलामले बनेको साङ्लो छ । 
(उहिले त थवाङी फाली, कोठर्ना र ओदान पनि जेलवाङी फलामबाट बन्थे ।) 

‘पुगनपुग पौने दुई शताब्दी पुरानो होला,’ घर उभिन मद्दत गरेका काठ र घर बनोट नियालेर औँला भाँच्दै अमिट बुढापाकालाई उद्धरण गर्छन् । ‘त्यसवेला त नौ दिन नौ रात हिउँ पथ्र्यो रे । त्यसैले झ्याल नराखी चिर्कुङ–फिर्कुङ राखे होलान्,’ झ्यालको बदला प्वाल राख्नुको कारण खुलाउँदै अमिट थप्छन्, ‘वातावरणमैत्री’ बनाउन नाम झिममा झ्यालको काम गर्ने गरी प्वाल राखे होलान् । अहिलेजस्तो जलवायु परिवर्तनको असर त्यसवेला कहाँ थियो र ?’ लम्बाइतिरबाट करिब दुई हात लामो वारपार खाली छ । थवाङमा यसलाई लाहा भन्छन् । पाहुना र काम गरेर आउने थकित गाउँलेले भारी बिसाउने, सुस्ताउने र आराम गर्ने ठाउँ यही हो । घरपतिले नवागन्तुकलाई लाहामा स्वागत गर्दै घरभित्र लैजान्छन् ।

लाहामा रित्तो डोको घोप्टो परेको छ । र, भित्तामा झुन्नारा । झुन्नारामा दुई–चार लुगा तुर्लुंग झुन्डिएका छन् । लुगामा माकुराले जाल बुनेका छन् ।समय बित्यो । थवाङमा एकतलेबाट दुईतले घर बने । भुइँतलामा वस्तुभाउ र खेतीकिसानीका सामान राखे । माथिल्लो तलामा भान्सा र मान्छे बसे । दुईतले घरमा झ्याल थिए । झ्याल, ढोका, सँघार र लाहाका फाँटामा बुट्टा भरिएका थिए । घरमा खला र आँगन पनि थिए । तिनका अनुहार त झन्डै प्यागोडा शैलीको थियो । 

घरभित्र भने नाम झिमको जस्तै चुलो थियो । घरभित्र कोठाजस्ता अलग कोठा थिए, जसमध्ये एउटा घुर थियो भने अर्काे बुँडी । पित्तर पुज्ने ‘चोखो ठाउँ’ भन्थे । त्यहाँ घरमूली र खासखास मात्र जान पाउँथे । अरू गए छल गर्छन् भन्थे । तिनैमा घरको महत्वपूर्ण सामान राख्थे । लाहासँग बरन्डाजस्तो जोडिएको हुन्थ्यो । नाउँ थियो– टाँड । निगालो बिछ्याएर बनेको टाँडमा घाम ताप्थे । सामान राख्थे । अन्नपात सुकाउँथे । भाँडाकुँडा धुन्थे । टाँड नै ट्वाइलेटका रूपमा प्रयोग हुन्थ्यो ।  त्यसवेला ट्वाइलेट बनाउने चेतना र प्रविधि थिएन । बाटोछेउछाउ दिसा गर्नुभन्दा टाँडमा दिसा व्यवस्थापन धेरै जाती थियो । भाँडा माझेको, बढारेकोलगायत घरबाट निक्लने सबै फोहोर टाँडमुनि मलखाडामा पुग्थ्यो । फ्याँकिएको फोहोर र दिसापिसाब मल बन्थ्यो ।

मलखाडामा घुँघुँ गर्दै सुँगुर बस्थे । सुँगुरले मल बनाउन मद्दत गर्थे । मल बारीमा पुग्थ्यो । (अहिले थवाङमा एक–दुई घरमा मात्र सुँगुर छन् । टाँड छैनन् । सुँगुर मात्र होइन, कुखुरा र हाँस पनि पाल्न मनाही छ ।)दुईतले घरसँगै टाँड बने । के थवाङमा टाँड आउनुअघि सुँगुर पाल्दैनथे ? खोजीको विषय छ । छानो भने नाम झिमको जस्तै काठे फल्याक थिए । लामो अन्तरालपछि नयाँ रूपका घर बने, थवाङमा । त्यसका बैंकल थिए । छानो भने काठे फल्याक या ढुंगाका थिए । त्यसपछि थवाङमा ढुंगालाई कुँदँर बनाएका गारोले उभिएका घर बने । तिनका बार्दली पनि थिए । र, ती घर तीन तलासम्म अग्लिए । लामो समयपछि थवाङमा जस्ता–छाने घर उभिए । छोटो अन्तरालमै थवाङमा कंक्रिट–घर बने । 

स्थानीय युवा अजय घर्तीमगरका अनुसार मोटर बाटो नजिक सर्न थालेपछि थवाङमा आरसिसी घर बने । मोटर पुग्नुअघि दुईवटा सिमेन्ट घर बनेका थिए । अहिले कंक्रिट घर संख्या २८ पुगेको छ । थवाङमा पहिलोपालि आरसिसी घर उभिँदा तीन दर्जनजति जस्ता–छाने घर थिए । थवाङ ठूलो गाउँमा दुई सय ६५ घरधुरी छन् भने सिंगो (साविक थवाङ गाविस) थवाङमा झन्डै एक हजार । मगर बहुल थवाङमा एक घर ठकुरी, तीन घर क्षेत्री (खत्री), करिब १५ घर गुरुङ छन् भने एक सय ५० घर दलित (त्यसमा करिब २० घरधुरी दमाई र बाँकी कामी) । 

थवाङ गाउँ
प्युठान जेलबाट निक्लेपछि मोहनविक्रम सिंह र खगुलाल गुरुङ थवाङ पुगे । थियो, विक्रम संवत् २०१३ । तिनले थवाङमा कम्युनिस्ट पार्टी गठन गरे । त्यसवेलादेखि ‘विद्रोही’ परिचय बनायो, थवाङले । थवाङले समयक्रमसँगै मोहनविक्रम सिंहलाई छाड्यो भने मोहन वैद्य (जहाँ प्रचण्ड पनि थिए)लाई पछ्यायो । संसद् पसेका प्रचण्डलाई थवाङले छाड्यो र विद्रोही मोहन वैद्य किरण–नेत्रविक्रम चन्द विप्लवलाई पछ्यायो । त्यसपछि ? विप्लवलाई पछ्यायो । अहिले थवाङ सरकारी नेकपा र विद्रोही नेकपामा विभाजित छ । 

थवाङ ‘जनयुद्ध’ अध्ययन थलो हो । जनमुक्ति सेनाको तालिमस्थल लामुहिखार थवाङमै छ भने राचिवाङमा अजम्मरी जनकम्युनको अवशेष । 
ढिकुरे नाच, छुरे पैसरी, सिंगारु नाच, नचारु नाच, मयुरपंखे नाच, नाम्क (भूमे) नाच जस्ता थवाङमा मगर संस्कृति छ । थवाङ, मगर, मगर महिला, खाम भाषा, मगर संस्कृति, कम्युनिस्ट, बर्मन बुढा मगर, कम्युनबारे अमेरिका र युरोपेली देशका गतिला विश्वविद्यालय र भारतको जवाहरलाल विश्वविद्यालयका विद्यार्थीले पनि अनुसन्धान गरेका छन् । 

थवाङ बाटो 
पुराना नेता कमरेड पूर्णबहादुर रोकामगर उर्फ कमरेड गोरे सम्झन्छन्– थवाङको ‘मोटरबाटोमोह’ नयाँ होइन । पञ्चायतकालमा पटक–पटक मोटरबाटो माग गरिएको हो । बाटो विषयमा माओवादीभित्र धूमधाम बहस चल्यो । अन्त्यमा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बाटो खन्न राजी भए । बाटोको नाम  दिइयो– सहिदमार्ग । ‘जनयुद्ध’कालको २०६० मा जनमुक्ति सेनासहित तत्कालीन मगरातअन्तर्गतका ११ जिल्लावासीले झारा लागेर बाटो खने । त्यसवेला आधार इलाका इन्चार्ज नेत्रविक्रम चन्द विप्लवको सहिदमार्ग खन्ने प्रस्तावप्रति प्रचण्ड किन राजी भए ? 

सहिदमार्गलाई दुई अथ्र्याइ छ ।पत्रकार एवं लेखक कुमार शाह प्रचण्ड र विप्लव हिँडेको बाटो देखाउँदै अथ्र्याउँछन्– विप्लवले सहिदमार्ग हुँदै आधार इलाका विस्तार गर्ने र समाजवाद पुग्ने सोचे भने प्रचण्डले सहिदमार्गमा गुडेर सकेजति छिटो काठमाडौं संसद् पुग्ने । आखिरमा प्रचण्ड सहिदमार्ग हुुँदै काठमाडौं संसद् पुगे । पुष्पकमल दाहाल भए । आफ्नै आँगनमा गाडी चढ्न भने थवाङीले २०७२ सम्म कुरे । काठमाडौंबाट रोल्पा सदरमुकाम लिवाङ पुग्न गाडीलाई १२ घन्टा लाग्छ । लिवाङबाट थवाङ (७४ किमि कच्ची सडक) सात घन्टा । घोराहीबाट थवाङ (१३६ किमि) पुग्न आठ घन्टा ।

 

थवाङीलाई मौलिक अनुहार चिन्ता 
थवाङमा एकै अनुहारका घर एकपछि अर्को लहरै थिए । एक घरबाट अर्को हुँदै परपर पुगिन्थ्यो । घरजति एक ठाउँमा थिए भने तिनका बारी अलि पर । एकै अनुहारका छाना । गारो । टाँड । टाँडमुनिबाट सुँगुरको घुरघुर संगीत झर्थे । रातमा चाँखी संगीतमा नानी लैजस्ता लोकगीत झुल्थे । रैथाने घरमा सिर्फ ढुंगा, माटो र काठ मात्र थिएनन् । तिनमा थिए, आदिवासी कला, सीप, जीवनशैली र स्थानीय सुवास । खाम भाषी मगर, आदिवासी जीवनशैली र विद्रोही चेत थवाङका थप परिचय थिए । यी जम्मै परिचय विकासे जलपले थवाङको मौलिक मुहार दिन दुगुना र रात चौगुना सकिँदै थियो । थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरले तर्क गर्दै थिए, ‘थवाङ अब समृद्धितिर लम्केको छ ।’ अन्य गाउँजस्तै थवाङ पनि डोजर सरकारी समृद्धितिर लम्केको थियो । 

जनप्रतिनिधि अनुहारमा रैथाने थवाङबारे कुनै सन्ताप नदेखेपछि स्थानीय बुद्धिजीवी प्रवेश रोकामगर उर्फ कमरेड छिरिङ, स्थानीय कलाकार एवं शिक्षक रेशमकुमार शाह पनि निराश छन् । शाहको कथन थियो, ‘अहिले भइरहेको विकास त अनुहारमा किरिम पाउडर लाएजस्तो न हो । यसले त अनुहारलाई असर गरिहाल्छ नि ।’पुष्पकमल दाहाल प्रचण्डको थवाङलाई ‘राजधानी’ बनाउने आश्वासन थवाङीले भुलेका छैनन् । दाहालले सुरुसुरुमा भने, ‘नेपालको राजधानी थवाङ हो । तपाईंहरू ढुक्क हुनुस् ।’ केही वर्षको अन्तरमा फेरि दाहालले भने, ‘मगरात राज्यको राजधानी त पक्का हो ।’ आखिरीमा त गाउँपालिका केन्द्र बनाउन पनि थवाङीलाई जिल्ला सदरमुकाम लिवाङ पुगेर आन्दोलन गर्नुप-यो । हाल थवाङ भएको छ, थवाङ गाउँपालिकाको केन्द्र । 

फेरिँदो थवाङ अनुहारले समाज र समयप्रति सचेत ‘जान्नेभान्ने’लाई पिरोलेको थियो । स्थानीय शिक्षक धनबहादुर रोकामगर सुनाउँछन्, ‘इन्डिजिनियस सीप प्रयोग गरेका घर भत्कँदै छन् । फेरि त्यस्तो बन्ने सम्भावना छैन । यसरी घर भत्कँदै सकिनु सीप, कला र ज्ञान बिर्संदै जानु पनि हो ।’ रैथाने अनुहार बचाउन केही उपाय निक्लिहाल्छ कि भनी तिनले मन्थन गर्न भने छाडेका छैनन् । ‘टाउन प्लानिङ गरी छुट्टै बस्ती बसाल्ने योजनामा पनि छलफल भयो,’ विद्रोही नेकपा नेता जयप्रकाश रोकामगर उर्फ कमरेड प्रताप भन्दै थिए । कमरेड गोरे थप्दै थिए, ‘अवशेष मात्र भए पनि अलिकति बचाउन पाए हुन्थ्यो भन्नेतिर सोचियो पनि । आखिरमा पूरा भएन ।’ र, अमिट उकेरा लाउँदै थिए, ‘थवाङ त विकासको नाउँमा कुरूप हुँदै छ । आदिवासी सीपले उभिएका मौलिक घर फोटोमा मात्र हेर्ने दिन धेरै कुर्न पर्दैन ।’ 

नाम झिम मालिक राजेन्द्र नेपाली केही दिनअघि मात्र वैदेशिक रोजगारबाट घर फिरेका थिए । उनले केही वर्षअघि स्थानीय पुनको घर किनेका थिए । अहिले नाम झिम उभिएको घडेरी मात्र किन्नलाई कम्तीमा सात लाख लाग्छ । थवाङ बस्तीको सिरानमा कामी छन् । दमाईं पूर्वमा । मगरमध्ये बुढा, घर्ती, रोका, झाँक्री र पुन टोल अलग–अलग छन् । काला बुढा र बैजाली रोका थवाङका आदिवासी मानिन्छन् । 

हाङ, तिम्रा बुढानीलकण्ठे सहपाठी आदित्य अधिकारी र ज्ञानु अधिकारीले जसरी तिम्रो चित्र–चिन्तनकारितामाथि थवाङीले पनि चिन्ता गरे । जस्तो, तिनलाई चिन्ता छ, रैथाने थवाङ अनुहारको । तिनका सन्तापमा आदिवासी फ्लेबरको रापती बगेको थियो । रातै रापतीमा बग्दै थिए– आदिवासी अनुहार, लोकजीवन, लोकमन र आदि–पहिचान । 

हाङ, तिमीले नि त धेरै कालापारे चिठी पढिदियौ होला । प्रत्युत्तर लेखिदियौ होला । उहिले–उहिले कालापारे (कालापार तन्केर अरब नपुग्दैका कुरा) चिठीमा नबिर्सी लेखिएको हुन्थ्यो नि– लेखेर मनका बात कहिल्यै फारिक हुन्नन् । गल्ती भए, मेरो छ, कलमको छैन जी । गल्ती भए माफ गर्नू जी । डेराबाराका सबैलाई म परदेशी ... को तरफबाट साइनोअन्सार्को सेवाढोग र सम्झना सुनाइदिनू जी । चिठी हात परेको भोलिपल्ट चिठी ‘डाँक’ गर्नू जी । कालापारे चिठी ऐजनऐजन गर्दै नबिर्सी सम्झना सुनाइदिनू है– कमरेड स्याउलालाई, कमरेड असिनालाई, कमरेड एटमकी आमालाई, कमरेड सुमन्तीलाई, कलाकार तलब आरएमलाई, बोतलसिंह नेपालीलाई, कमरेड दीर्घ र कमरेड साङपत्नीलाई, जलजला उकालो लाग्नेनेरकी लाहुरेपत्नीलाई, कमरेड अर्जुन साइँला र कमरेड टार्जनलाई ।
अन्त्यमा,
प्रिय स्वयंवर हाङ, जहाँ भए नि ‘निकाराम’ रहनू । थवाङको ‘निजो सनिस’ डाँक गर्नू ।  तिम्रो नवीन