• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
लेखनाथ पौडेल/ लक्ष्मण श्रेष्ठ काठमाडाैं
२०७६ असार ७ शनिबार ०७:०८:००
समाज

कर्पोरेट हिन्दुत्वको मोदी मिथक

२०७६ असार ७ शनिबार ०७:०८:००
लेखनाथ पौडेल/ लक्ष्मण श्रेष्ठ काठमाडाैं

भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले प्राप्त गरेको बहुमतलाई लिएर सञ्चार माध्यममा अनेक विश्लेषण भएका छन् । राहुल गान्धीमाथि मोदीको इमेज हाबी भएको, मुद्दामाथि पैसा हाबी भएको, जातमाथि धर्म हाबी भएकोलगायत विश्लेषण गलत छैनन्, तर एकांगी अवश्य छन् । यी विश्लेषणले सतहमा देखिने लक्षणलाई सम्बोधन गर्छन्, अन्तर्यमा पुग्दैनन् । मोदी विजयसँग जोडिएको अर्को महत्वपूर्ण  विश्लेषण हो– हिन्दुत्व । विश्लेषकहरू भन्छन्, ‘हिन्दुत्वलाई प्रश्रय दिने र पाकिस्तानलाई दुस्मन करार गर्ने राष्ट्रवादकै आडमा मोदीको विजय भएको हो ।’

मोदीकालमै भएको उरी घटना र पुलवामा आक्रमणपछिको घटनाले ‘दीर्घदुस्मन’ पाकिस्तानविरुद्ध लड्न सदैव तम्तयार नेतृत्वको रूपमा मोदीलाई स्थापित ग-यो भन्ने विश्लेषण पनि आफ्नो ठाउँमा सही छ । तर, यी विश्लेषणसँगै केही प्रश्न जोडिएर आउँछन् । यदि हिन्दुत्वकै बलमा भाजपा विजयी बन्न सफल हो भने भारतीय समाजमा हिन्दुत्व कसरी मौलायो ? के भारतीय समाजमा त्यसका वैकल्पिक चिन्तन अस्तित्वमै थिएनन् ? के भारतीय समाज धर्मान्ध हो ? भारतीय समाजमा हिन्दुत्व मौलाउने वातावरण तयार गर्न भएका अभ्यास नजरअन्दाज गर्न सकिएला ? यसका राजनीतिक, आर्थिक र सांस्कृतिक पाटा के–के हुन् ?

भाजपा विजयको चर्चा गर्दा मूलतः पछिल्लो दशकको घटनाक्रममा आधारित हुने गरिन्छ । त्यसो गर्दा यी प्रश्नको अन्तर्यसम्म पुग्न सकिँदैन । यी प्रश्नको अन्तर्यमा पुग्न भारतबारेको धारणा निर्माण, भारतीय राष्ट्रवादको निर्माण र त्यस क्रममा रोपिएका बीजहरूको कथासम्म पुग्नैपर्छ । त्यसैले इतिहासबोध भाजपा विजयको अन्तर्य बुझ्नका लागि आवश्यक न्यूनतम सर्त हो । यसको अर्थ भाजपा विजयमा वर्तमानका अन्य पाटाको भूमिका नै छैनन् भन्ने अवश्य होइन । इतिहासको बिरासत र वर्तमानका घटनाको संयोजनमा भाजपा दोस्रो इनिङ पनि कब्जा गर्न सफल भएको हो । 

मोदीको दोस्रो विजयलाई भारत निर्माण, त्यसअघि र पछि भएका आन्दोलन, राजनीतिक उतारचढावले सिर्जना गरेको प्रक्रियाको निरन्तरताको रूपमा लिइनुपर्छ । यो लेखमा इतिहास र वर्तमानको सामाजिक पहलु केलाउने प्रयत्न गरिएको छ । यद्यपि विषयको गहनता, विविधता र स्थानभावका कारण सन्दर्भहरूको विस्तृति र विवेचनासम्म पुग्न नसक्नु यो लेखको सीमितता हो । 

‘आधुनिक’ भारतको मान्यता निर्माण 
विश्वको समकालीन नक्सामा जुन भूगोललाई भारत भनेर चिनिन्छ इतिहासमा सधैँभरि यसरी नै चिनिँदैनथ्यो । इतिहासमा यो भूगोलमा बेग्लाबेग्लै राज्य अस्तित्वमा थिए । हिस्ट्री फर पिसको वेभपोर्टलमा सबाल्टर्न अध्येता गायत्री स्पिभाकसँग कुराकानी गर्दै प्राचीन भारतको इतिहासकी ज्ञाता रोमिला थापरले भनेकी छन्, ‘वैदिक कालमा गंगा नदी र यमुना नदीको बीचदेखि गंगाको उपत्यकासम्मको भागलाई आर्यव्रत भन्ने गरिन्थ्यो । मनुस्मृतिमा आइपुग्दासम्म आर्यव्रतले सिन्ध नदीदेखि हिन्द महासागरसम्मको भूगोललाई जनाउन थालेको थियो । १२औँ शताब्दीबाट यो भूगोललाई भारत वर्ष भन्न थालियो । यद्यपि त्यतिवेलासम्म पनि यो भूगोलमा साना–ठूला थुप्रै राज्य थिए ।

बहुल जाति, भाषा र शासन प्रणाली यहाँको विशेषता थियो ।’ थापरका अनुसार, बेलायती उपनिवेशले जरा गाडेपछि यो भूगोललाई इन्डिया (भारत) भन्न थालियो । तर, एस्को पर्पोलाले ‘द रुट्स अफ हिन्दुइज्म’मा इन्डिया शब्दको प्रयोग इसापूर्वदेखि नै थालिएको तर्क गरेका छन् । उनका अनुसार, इसापूर्व ५१५मा पर्सियाली राजा दरिउसले सिन्धु उपत्यकामा हमला गरेका थिए । पर्सियाली भाषामा सिन्धुलाई हिन्दू भनियो । तर, पछि ग्रिकहरूले आफ्नो भाषामा ‘ह’ उच्चारण नहुने भएकाले हिन्दूलाई इन्दु भन्न थाले । त्यसैबाट सिन्धु उपत्यका वरिपरिको भूभागलाई इन्डिया भन्न थालियो । यद्यपि पर्पोलाको तर्कले पनि हालको भारतलाई नभई अहिले भारत–पाकिस्तानको सीमा वरपर पर्ने भूभाग इन्डिया भएको जनाउँछ । 

तत्कालीन सामाजिक सम्बन्धका आधारमा स्वाधीनताको आन्दोलनले एक भारतको संकथनलाई संगठित ग¥यो । बेलायती औपनिवेशिक शासनको विरोध र स्वाधीनता आन्दोलन विकास हुँदै जाँदा भिन्नाभिन्नै भूगोल, पर्यावरण, भाषाभाषी र संस्कृति भएका समुदायलाई एउटै वृत्तमा राख्ने मियो बनेको थियो, स्वाधीन एकीकृत भारतको परिकल्पना । यही परिकल्पनाले भारतीय राष्ट्रवाद जन्मायो । त्यसैले ‘इन्डियन नेसनलिज्म’मा भारतीय इतिहासकार इरफान हबिब भारतीय भावनालाई उपनिवेशको प्रतिवादको रूपमा व्याख्या गर्छन् ।

मोदीको भारत नयाँ हिन्दुस्तान हो, जहाँ पुराना उत्पादन पद्धति भत्किएका छन् । सँगै तिनमा उभिएका मान्यता पनि भत्किएका छन् । आधारमा आएको परिवर्तनसँगै सामाजिक शक्तिबीचको सम्बन्ध पनि बदलिएका छन् । पुराना शक्ति विघटित हुँदै नयाँ शक्ति स्थापित भइरहेका छन् । यससँगै परम्पराहरू पनि पुनर्गठित भइरहेका छन् । नयाँ संकथनहरूको निर्माण, विनिर्माण र पुनर्निर्माण हुँदै छ ।

भारतीय राष्ट्रवाद सुरुमा समावेशी, विविधता र बहुलतायुक्त थियो । तर, यसले जग हाल्दा–नहाल्दै यसमा धार्मिकताको लेपन लाग्न सुरु भइहाल्यो । भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व गरिरहेको भारतीय राष्ट्रिय कंग्रेसका नेताहरूमा मूलतः हिन्दू बाहुल्य थियो । आफ्नो उपस्थिति कमजोर हुँदा मुसलमान नेताहरू सशंकित भए । कोनार्ड इल्स्टले ‘डिकोलोनाइजिङ द हिन्दू माइन्ड’मा बताएअनुसार त्यही शंकाले मुहम्मद अलि जिन्नाको नेतृत्वको मुस्लिम लिग जन्मायो । यसरी भारतको स्वाधीनता आन्दोलनको अन्तरालमै दुईथरी धार्मिक राष्ट्रवादको जन्म हुन पुग्यो ।

हबिबका अनुसार यी दुवै राष्ट्रवाद बेलायती उपनिवेशले हिन्दू र मुसलमानबारे गरेको एकपक्षीय विभाजनकारी व्याख्या र शासनबाट प्रभावित छन् । त्यसैले यी दुवैथरी राष्ट्रवाद उपनिवेशविरोधी थिए । सँगसँगै यसका अगुवाले राजनीतिक विचारधारा र व्यक्तिगत महŒवाकांक्षालाई धर्मको सहारामा वैधानिक बनाउने प्रयत्न गरिरहेका थिए । बंकिमचन्द्र चट्टोपध्याय, बाल गंगाधर तिलक, विपीनचन्द्र पाल, लाला लाजपत राय, श्री अरुविन्दोलगायतले हिन्दू धर्ममा आधारित राष्ट्रवादको वकालत गर्थे भने मौलाना हुसेन अहमद मदानी, अल्लामा इक्बाललगायतले मुस्लिम धर्ममा आधारित । 

भाजपाको बीज 
धार्मिक राष्ट्रवादले दुई राज्यको जग बनाउँदै गरेको परिस्थितिमै भारतीय जनता पार्टी (भाजपा) को बिउ रोपिएको थियो । यसको पहिलो बीज हो, सन् १९१५ मा स्थापित हिन्दू महासभा । इल्स्टका अनुसार, मुस्लिम लिग स्थापनाको जवाफमा सन् १९०६ मै प्रान्तीय रूपमा पन्जाबमा हिन्दूसभा गठन भएको थियो । सन् १९१० मै स्थानीय हिन्दुसभाहरूको मोर्चाको रूपमा अखिल भारतीय हिन्दूसभा गठन भएको थियो । यद्यपि यो कागजमा सीमित थियो । 

हिन्दूसभालाई इल्स्ट क्रमिक विकासको परिणति मान्छन् । त्यसकै जगमा सन् १९२५ मा राष्ट्रिय स्वंयसेवक बंघ (रासस) गठन भयो । राससको स्थापना सावरकरको हिन्दुत्वको अवधारणामा आधारित थियो, जसको मूल दस्ताबेज १९२३ मा प्रकाशित ‘हिन्दुत्व’ नामक पुस्तिका हो । हिन्दुत्व मान्यता स्थापनाका कारण खोज्दै जाँदा मुगलकालसम्म पुग्न सकिन्छ । मुगलकालमा मुसलमान शासकको दमनकारी व्यवहारको प्रतिरोधमा हिन्दुत्वको धारणा बीजारोपण भएको इल्स्टको तर्क छ । त्यसको उदाहरणको रूपमा उनी दयानन्द सरस्वती नेतृत्वको ‘आर्य समाज’को चर्चा गर्छन् । तर, राजनीतिक विचारधाराको रूपमा हिन्दुत्वलाई स्थापित गर्ने श्रेय भने सावरकरलाई नै जान्छ ।

सावरकरले हिन्दुवाद र हिन्दुत्व फरक भएको दाबी गरे । उनका अनुसार, हिन्दुवादले हिन्दू धर्मलाई एउटा मान्यता वा सिद्धान्तको रूपमा ग्रहण गर्छ । तर, हिन्दुत्वले हिन्दू हुनुको अभिप्रायः बोक्छ । उनले हिन्दूलाई जातिको रूपमा परिभाषित गरे । सावरकरका अनुसार, भारतवर्षका प्राचीन बासिन्दा सबै हिन्दू हुन् । ‘हिन्दुत्वः हु इज हिन्दू’ नामक निबन्धमा उनले सिन्ध नदीदेखि समुद्र (श्रीलंका) सम्मको भूमिलाई भारतवर्षको रूपमा चिनाएका छन्, जसलाई उनी सिन्धुस्तान भन्छन् ।

हिन्दुत्वको अवधारणाले भारतवर्षलाई मातृभूमि, पितृभूमि र पवित्रभूमिको रूपमा व्याख्या गर्छ । मातृभूमि जन्म र भूमिप्रतिको प्रेमसँग जोडिन्छ । पितृभूमि वंशजसँग र पवित्रभूमि आस्थासँग जोडिन्छ । यो अवधारणाले भारतवर्षमा विकसित सबै धर्म–सम्प्रदायलाई हिन्दूभित्रको विभिन्न शाखा मानिदिन्छ । यो परिभाषाअनुसार बुद्ध, जैन र प्रकृति पूजक पनि हिन्दूकै शाखा मानिन्छन् । र, परिणाममा यो भूमिमा रहेका दुइटा धर्म इस्लाम र इसाईलाई पराइ र अतिक्रमणकारी मान्छ । 

त्यसैले हिन्दुत्वको एजेन्डा एकैपटक भूमि र चिन्तनसँग जोडिन्छ । यसले धर्मलाई राजनीतिक दर्शनको रूपमा लिन्छ । राजनीतिलाई आधार र धर्मलाई अधिरचनाको रूपमा व्याख्या गर्छ । हिन्दुत्वको अवधारणाअनुसार, हिन्दू नभएसम्म भारतीय हुन सकिँदैन । अर्थात् धर्म नै राष्ट्रको आधार हुन्छ । 
हिन्दुत्वको यही अवधारणाको जगमा एम. एस. गोलवालकरको नेतृत्वमा राससको जन्म भएको हो । रासस मूलतः सुसंगठित तालिम प्राप्त लडाकु प्रतित हुने दस्ता हो, जसले हिंसाको प्रत्यक्ष–परोक्ष प्रयोग गर्छ । 

रासस हिन्दू महासभालाई अलग राखेर भाजपाको उदयलाई बुझ्न सकिँदैन । यद्यपि हिन्दुत्वको अवधारणा सुरुबाटै सफल भने होइन । भारतीय राष्ट्रवादलाई परिभाषित गर्ने प्रयत्न गान्धीको हिन्दूवाद र सावरकरको हिन्दुत्वको संघर्षको परिणति हो । 

हिन्दूवाद र हिन्दुत्व
हिन्दुत्वको राजनीतिक आधार ‘अन्यकरण’ र बहिष्करण हो । इस्लाम र इसाईलाई दीर्घ दुस्मन करार गरेर स्थापना गरिएको थियो यो अवधारणा । तर, यसविपरीत महात्मा गान्धीले धर्मलाई आस्था, मान्यता र वैचारिक शिविरको रूपमा भन्दा पनि गुणको रूपमा बुझेका थिए । त्यसैले उनको हिन्दूवाद धर्मको सात्विकतासँग जोडिएको छ । उनी धर्मलाई नैतिकता र परम्पराको रूपमा व्याख्या गर्थे । उनको हिन्दूवादमा अहिंसा, परस्पर सम्मान, सहअस्तित्व पर्छ । गान्धी यिनै आदर्शको मातहतमा राजनीति रहनुपर्छ भन्ने ठान्थे । 

गान्धीको भारत चिन्तन पनि यही धर्मको मान्यतामा आधारित छ । उनका निम्ति धर्म अहिंसा हो । हिंसात्मक संघर्षको विरोध गर्दै उनले सन् १९०९ मा लेखेको पुस्तक ‘हिन्द स्वराज’लाई गान्धी चिन्तनको आधार कृतिका रूपमा लिने गरिन्छ । उक्त पुस्तकमा गान्धीले अहिंसाको वकालत मात्र गरेका छैनन्, स्वाधीन भारतको परिकल्पना पनि गरेका छन् । उनको परिकल्पनाको भारत बेलायती मोडलको भने थिएन । गान्धी भारतलाई ग्रामीण लघु उद्यममा आधारित अर्थव्यवस्था र ग्राम पञ्चायतको राजनीतिक व्यवस्था बनाउन चाहन्थे जुन बेलायती शैलीको पुँजीवादी प्रजातन्त्रभन्दा भिन्न थियो । उनी त चिन्तनको तहमा पनि विऔपनिवेशीकरणको पक्षमा थिए । 

जसरी सावरकरको हिन्दुत्वले भारतलाई भूगोल र सांस्कृतिक मान्यताको रूपमा अभिव्यक्त गर्छ, त्यसैगरी गान्धीको हिन्दुवादले पनि भारतलाई निश्चित अर्थ–प्रणाली र जीवन दर्शनसहितको राज्यको रूपमा परिकल्पना गर्छ । यद्यपि स्वाधीन भारत भने गान्धीले आँकलन गरेजस्तो भएन । यसमा मूलतः जवाहरलाल नेहरूको चिन्तन प्रभावी भयो । 

नेहरूको राष्ट्रवाद मूलतः उदारवादी चिन्तनमा आधारित थियो । उनले धर्मनिरपेक्ष, सहिष्णु, समावेशी, विभेदरहित राष्ट्रवादको वकालत गरे । शासन प्रणालीमा बेलायती मोडल अंगीकार गरेको स्वाधीन भारतको जगमा यिनै मान्यता छन् । त्यसैले वर्तमान भारतको संवैधानिक चिन्तनमा गान्धीभन्दा नेहरू प्रभावी छन् । गान्धी चिन्तन र व्यवस्थामा पूर्वीयता खोज्थे भने नेहरू पश्चिमी मोडलको प्रजातन्त्र, धर्मनिरपेक्ष र लोक–कल्याणकारी राज्यको पक्षपाती थिए ।राष्ट्रलाई परिभाषित गर्ने संघर्षको चुरोमा कस्तो भारत र कसको भारत भन्ने संघर्ष निहित छ । यो साम्प्रदायिक र हिन्दू वर्चस्व वा बहुल र सर्वधर्म चिन्तन हो भन्ने बहस आजपर्यन्त छ ।
सारमा, स्वाधीन भारतको निर्माण हुँदै गर्दा सावरकरको हिन्दुत्वलाई गान्धीको हिन्दूवादले कमजोर बनाइदियो । तर, भारतको आधार भने नेहरूले चाहेजस्तो धर्मनिरपेक्ष र उदार चरित्रको भयो । भारतीय कंग्रेस बलियो भएकैले नै यसो हुन सम्भव भएको थियो । 

कंग्रेसको वर्चस्व
स्वाधीनता संग्राम उत्कर्षमा पुग्दै गर्दा भारतीय राजनीतिमा कंग्रेसको वर्चस्व बढ्दै गयो । हिन्दुत्वको राजनीति कमजोर हुँदै गयो । यसको पछाडि विचारधारा र सामाजिक सम्बन्धले काम गरेको थियो । हिन्दू महासभा र राससले स्वतन्त्रता संग्राममा अस्पष्ट भूमिका देखाए । सावरकर, गोड्सेहरूकै भूमिका पनि अस्पष्ट र कमजोर देखियो । धार्मिक आधारमा बढ्दै गएको अन्तरविरोधका कारण १९३० को दशकको अन्त्यतिर कांग्रेसले त रासस, हिन्दू महासभा र मुस्लिम लिगका सदस्य भएकालाई आफ्नो सदस्यता नदिने नीति नै बनाउनुपरेको थियो । 

भारतको स्वतन्त्रता संग्राममा सबै क्षेत्र र जातका मानिस सहभागी थिए । उनीहरू प्रस्ट रूपमा स्वाधीनताको पक्षमा थिए । भारतीय कंग्रेस निरन्तर रूपमा स्वतन्त्रता संग्रामको मियो बनिरहेको थियो । त्यसैले गर्दा समाजको यो ठूलो तप्का ऊसँग जोडिन पुग्यो । ग्रामीण तहमा भने वामपन्थीहरू बलिया थिए । तर, सामाजिक शक्तिबीचको संघर्षलाई स्वाधीनता आन्दोलनले गौण गराइदियो । 

कंग्रेसको सामाजिक सम्बन्ध मुख्यतः चारवटा वर्गले निर्माण गरेको थियो । ती थिए– सबैजसो जात र भाषाका गाउँका जमिनदार, शिक्षित युवा, सहरको नवउदीयमान राष्ट्रवादी पुँजीपति वर्ग र बेलायती साम्राज्यमा काम गरिरहेको भारतीय कर्मचारीतन्त्र । यो समीकरण नै कंग्रेसको शक्ति थियो । गान्धी र नेहरू नेतृत्वको राजनीतिक अभिजात्य वर्ग (एलिट)ले उपनिवेशविरोधी राष्ट्रवादी नाराको माध्यमबाट यो शक्तिसँग आफूलाई जोडेको थियो । उसले नयाँ राष्ट्र, नयाँ देश भन्ने भावनाले सबैलाई बाँधिराखेको थियो । यस अर्थमा स्वाधीनता संग्रामताका भारतीय राष्ट्रिय कंग्रेस ग्राम्सीको भाषामा आधुनिक नरेश (मोर्डन प्रिन्स) बन्न सफल भयो । यही आधारमा उसले हिन्दुत्व र वामपन्थी दुवै शक्तिमाथि वर्चस्व स्थापित ग¥यो । यसको चुरोमा कंग्रेसप्रति बेलायती औपनिवेशिक शक्तिको सद्भाव र समर्थनले काम गरेको थियो । 

स्वाधीनतासँगै भारत–पाकिस्तान विभाजन भएपछि सावरकरहरूले भारतवर्षको अवधारणामा खलल भयो भनेर विरोध जनाए । उनीहरूले यसको मुख्य दोषी गान्धीलाई ठह-याए । हिन्दुत्व र हिन्दूवादबीचको बहस फेरि एकपटक चुलियो । यो संघर्षको दुःखद परिणाम हो, गान्धीको हत्या । यद्यपि हिन्दुत्व पक्षधर शक्ति बलियो हुन सकेन । हिन्दुत्वको अवधारणा केवल मराठा र ब्राह्मणलगायतका निश्चित समुदायमा सीमित थियो । 

खासमा स्वाधीन भारत निर्माण नयाँ काल्पनिकीको खोजी पनि थियो । त्यो काल्पनिकी भारतीय राष्ट्रवाद, पाकिस्तान र हिन्दुत्वको संघर्षबाट निर्मित थियो, जसले दुई राज्य (सन् १९७१ मा बंगलादेश निर्माणसँगै तीन) निर्माण ग-यो । हिन्दुत्व भने ओझेलमा प¥यो तर निरन्तर आफ्नो उन्नयन खोज्न भने छाडेन ।

नेहरूको राज्य संगठन
यिनै संघर्षको जगमा नेहरूले राज्य संगठन गरे । पन्थ–निरपेक्ष र बहुलतामा आधारित संवैधानिक सिद्धान्तको आधारमा नेहरूले राज्य निर्माणको अभिभारा अगाडि बढाउन थाले । अवश्य पनि यो प्रक्रियामा नेहरू एक्लै थिएनन् तर भारत नामक डुंगाको मुख्य नाविक अवश्य थिए । प्रारम्भमा नेहरूले क्षेत्रीय शक्ति, ग्रामीण शक्ति, बाबुवर्ग (कर्मचारीतन्त्र), उदीयमान पुँजीपति वर्ग र विभिन्न समुदायका शक्तिहरूले निर्माण गरेको शक्ति संरचनाको आडमा सत्ता सञ्चालन गरेका थिए । यही समीकरणको आडमा नै कंग्रेस बलियो भएको थियो । त्यसैले पराजित हिन्दुत्वको धार कांग्रेसभित्रै आफ्नो पक्षधर खोजिरहेथ्यो । भारतका पहिलो उप–प्रधानमन्त्री बनेका सरदार बल्लभभाइ पटेल हिन्दुत्व धारको आशाको केन्द्र बनिदिए । पटेलमार्फत राससले कंग्रेसभित्रै आफ्नो प्रभाव स्थापित गर्ने प्रयास ग-यो । उसले पटेल र नेहरूबीचको अन्तरविरोधबाट फाइदा उठाउने प्रयास ग-यो । तर, पटेलको निधनसँगै यो प्रयास असान्दर्भिक भयो । अधुरो नै रहेको भए पनि रासस र भाजपाले पटेलको त्यो गुण बिर्सेको छैन भन्ने प्रमाण हो, गत वर्ष गुजरातमा स्थापित १८२ मिटर अग्लो उनको मूर्ति । 

कांग्रेसमा प्रभाव पार्ने आफ्नो प्रयास असफल भएपछि सन् १९५० मा राससले हिन्दुत्वको राजनीतिका लागि आफ्नो बेग्लै राजनीतिक शक्तिको आवश्यकता महुसस गर्न थाल्यो । र, बिस्तारै राजनीतिक संगठन निर्माण गर्न थाल्यो । संघ, परिवारलगायत संगठन बन्न थाले । यी संगठन मूलतः कम्युनिस्ट पार्टीहरूको जनवर्गीय संगठनकै ढाँचाका थिए । अन्ततः सन् १९५१ मा जनसंघको स्थापना भयो । सन् १९५२ देखि लोकसभा निर्वाचनमा भाग लिन थालेको जनसंघले सन् १९६२ सम्म अत्यन्त न्यून मत पायो, तर निरन्तर बढ्दो मात्रामा । १९५२ मा ३.१ प्रतिशत, १९५७ मा ५.९ प्रतिशत र १९६२ मा ६.४ प्रतिशत । 

हिन्दुत्वको धारले राजनीतिक शक्तिको जग बनाउँदै गरेको यो वेलामा नेहरू भने तीनखम्बे अर्थनीतिको अभ्यास गर्दै थिए । चिन्तनले लोकतान्त्रिक समाजवादी थिए नेहरू । शीतयुद्धको समय थियो । सोभियत संघसँग बढी नजिक थिए । यी सबैको परिणाम थियो, तीनखम्बे नीति । निजी, सरकारी र सहकारी तीनवटै क्षेत्रलाई उनले उत्तिकै प्रश्रय दिए । औद्योगिकीकरण र सहकारीमा जोड दिए । औद्योगिकीकरणका लागि सरकारी र निजी पुँजी परिचालन गरे । कृषिमा भने सहकारीकरणलाई जोड दिए । सहकारी आन्दोलनले पुराना जमिनदारलाई कमजोर बनाउन थाल्यो । कमजोर बन्दै गएको यो वर्ग कंग्रेसको ठूलो सामाजिक आधार पनि थियो । त्यसैले एक खालको तनाव पनि सिर्जना भयो । तर, सहकारी आन्दोलनले ग्रामीण क्षेत्रमा नयाँ वर्ग उदायो । यो वर्ग क्रमशः प्रभावकारी बन्दै गयो, जसले कंग्रेसभित्रकै समीकरणलाई पनि प्रभाव पार्न थाल्यो । 

यो परिदृश्यबीच भएको नेहरूको निधनले कंग्रेसभित्र शक्तिको होडबाजी सुरु भयो । नेहरूको निधनलगत्तै भारतका दोस्रो प्रधानमन्त्री बनेका लालबहादुर शास्त्रीको अप्रत्याशित (केही इतिहासकारको आँखामा विवादास्पद) निधनलगत्तै भएको इन्दिरा गान्धीको उदयले भारतीय राजनीतिमा ठूलो उथलपुथल ल्यायो । गान्धीकाल र उनले लगाएको ‘आपत्काल’ले भाजपा उदयमा मलजल ग-यो । 

यदि हिन्दुत्वकै बलमा भाजपा विजयी बन्न सफल हो भने भारतीय समाजमा हिन्दुत्व कसरी मौलायो ? के भारतीय समाज धर्मान्ध हो ? भारतीय समाजमा हिन्दुत्व मौलाउने वातावरण तयार गर्न भएका अभ्यास नजरअन्दाज गर्न सकिएला ? यसका राजनीतिक, आर्थिक र सांस्कृतिक पाटा के–के हुन् ?

इन्दिराले बनाएको पानीढलो 
इन्दिरा गान्धीको शासनकाललाई भारतीय राजनीतिको एउटा पानीढलोको रूपमा लिइन्छ । इन्दिरा गान्धीको उदयले एकातिर भारतीय कंग्रेसमा वंश परम्पराको सुरुवात ग-यो भने अर्कोतिर फुटको सिर्जना पनि भयो । रअको स्थापना, सिक्किम बिलय, पूर्वी पाकिस्तानको विभाजन (बंगलादेशको स्थापना) लगायतका उपलब्धिबाट इन्दिरा गान्धिले आफ्ना पिता जवाहरलालको शासनकालमा लागेको चीनसँग पराजयको घाउमा खाटा बसाल्ने प्रयास गरिन् । तर, आन्तरिक राजनीतिमा भने एकपछि अर्को गरी विवादित बन्दै गइन् । 


इन्दिरा तीनपटक प्रधानमन्त्रीको रूपमा निर्वाचित भइन् । १९६६ देखि १९७७ सम्म लगातार दुई कार्यकाल पूरा गर्दा उनले जे–जे अभ्यास गरिन्, त्यसले भारतीय राजनीतिलाई नयाँ मोड दियो । भारतीय समाजमा असमानता गहिरिँदै जाँदा प्रधानमन्त्री बनेकी थिइन् उनी । गरिबी बढ्दो थियो । रामचन्द्र गुहाले ‘इन्डिया आफ्टर गान्धी’मा उल्लेख गरेअनुसार, ४० प्रतिशत ग्रामीण जनता र ५० प्रतिशत सहरी जनता गरिबीको रेखामुनि थिए । यसबीच प्रधानमन्त्री बनेकी इन्दिरा गान्धीले औद्योगिकीकरणलाई जोड दिइन् । १९६९ मा १४ वटा ठूला बैंकको राष्ट्रियकरण गर्ने घोषणासँगै भारतीय कंग्रेसमा फुट आयो । फुटपछि इन्दिरा नै शक्तिशाली बनिन् । १९७१ मा भएको आमनिर्वाचनमा भारी मतले पार्टीलाई विजयी बनाएपछि उनी भारतीय राजनीतिमा झनै प्रभावशाली भइन् । 

औद्योगिकीकरणको नीतिसँगै भारतीय कंग्रेसको पुरानो सामाजिक आधार कमजोर बन्दै गएको थियो । इन्दिराले त्यसमा व्यक्तिनिष्ठता स्थापित गरिदिइन् । त्यसको परिणाम राजनीतिमा नातावाद, कृपावाद बलियो बन्न थाल्यो । अर्थराजनीतिक क्षेत्रमा आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म) ले प्रश्रय पायो । पुत्र सञ्जय गान्धीलाई मारुती कार कम्पनीको लाइसेन्स दिने परिघटना त्यसको एक मुख्य उदाहरण थियो । 

कंग्रेसभित्रको फुट र बढ्दो भ्रष्टाचार भारतीय जनसंघको उदयका लागि मौका बन्न पुग्यो । इन्दिराको शासनकालमा भारतीय समाजवादी नेता जयप्रकाश नारायणको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनमा जनसंघले महत्वपूर्ण  भूमिका निर्वाह ग-यो । अमृता वासुले ‘रुटलेज ह्यान्डबुक अफ इन्डियन पोलिटिक्स’मा उल्लेख गरेअनुसार, जनसंघको यो भूमिकाले उसलाई मध्यम वर्गीय विद्यार्थी, उपभोक्ता र हेपिएका जातिका किसानबीच लोकप्रिय बनाइदियो । यसैबीच इन्दिराले संकटकाल लगाइन् । 

इन्दिरा गान्धीको दोस्रो कार्यकालमा लगाइएको संकटकाल भारतीय राजनीतिकै लागि कष्टप्रद र परिवर्तनकारी बन्न पुग्यो । संकटकालका दुइटा महत्वपूर्ण परिणाम देखिए । एक, राज्यले अंगीकार गरेको धर्मनिरपेक्षतामाथि प्रश्न उठाउन थालियो । दुई, राज्य नियन्त्रित अर्थनीतिमाथि प्रश्न उठाउन थालियो । यसबाहेक संकटकालको अर्को परिणाम थियो, क्षेत्रीय राजनीतिको उदय ।

जयप्रकाश नारायण, राममनोहर लोहियाहरू क्षेत्रीय राजनीतिमा बलियो हुँदै गए । क्षेत्रीय राजनीतिकोे आधार थिए– क्षेत्रीय पुँजीपति वर्ग, जात र सम्प्रदाय । यही आधारमा विहारमा लालु यादव, उत्तर प्रदेशमा मुलायम सिंह, ओडिसामा बिजु पटनायकलगायतको उदय हुन पुग्यो । कंग्रेसभित्र पहिल्यैदेखि क्षेत्रीय वंशहरू थिए । तीमध्ये केही क्षेत्रीय पार्टीको रूपमा उदाए । कारण, एउटै सूत्रमा बाँध्ने भारतीय कंग्रेसको मियो भत्किसकेको थियो । 

सन् १९७७को लोकसभा निर्वाचनमा इन्दिरा गान्धीको हारपछि जनता पार्टीको सरकार बन्यो । जनता पार्टी मूलतः इन्दिरा शासनको विरुद्धमा गठित पार्टी थियो । भारतीय जनसंघ, समाजवादी पार्टी, भारतीय लोकदललगायत मिलेर उक्त दल बनाएका थिए । यही जनता पार्टी नै भाजपाको औपचारिक स्थापनाको बिउ बन्न पुग्यो । सन् १९८० मा जनता पार्टीले जनसंघका कार्यकर्तालाई राससको गतिविधिमा संलग्न हुन रोक लगाएको प्रतिक्रियास्वरूप भाजपाको औपचारिक स्थापना भयो । 

इन्दिराको प्रतिक्रियाको रूपमा उदाए पनि जनता पार्टीले सामाजिक शक्तिबीच समीकरण बनाउन सकेन । एकपछि अर्को फुटबाट गुज्रिन पुग्यो । परिणाम, १९७५ को निर्वाचनमा पुनः इन्दिरा शक्तिमा आइन् । १९७७ मा उनको हत्यापछि राजीव गान्धीलाई सत्ताको कमान सुम्पियो, जहाँबाट कंग्रेस वंश पार्टी बन्यो । 

कर्पोरेटको उदय 
इन्दिरा शासनकालमा भारतीय सामाजिक–आर्थिक क्षेत्रमा भइरहेको परिवर्तन पनि हिन्दुत्वका लागि एउटा महत्वपूर्ण कारक थियो । उनको शासनको अन्त्यसम्म आइपुग्दा उत्पादन पद्धतिमा तीव्र परिवर्तन आइरहेको थियो, जसले ग्रामीण क्षेत्रमा ठूलो समुदायलाई जमिनसँग सम्बन्ध–विच्छेद गराउँदै थियो । यसका दुई कारण थिए । एक, पुँजीको संकेन्द्रीकरण र त्यसले थोपरेको हिंसा ।

औद्योगिकीकरणका लागि गरिएको जमिन अधिग्रहण, बाँध निर्माणलगायत परियोजनाले ठूलो जनसंख्यालाई गाउँबाट विस्थापित गरेर सहरमा पठायो । हिजोसम्म सानो जमिनको भए पनि स्वामित्वधारी भएकाहरू सहरमा ज्यालादारी मजदुर बन्न आइपुगे । दुई, जमिनको उत्पादनभन्दा सहरमा मजदुरीबापत प्राप्त ज्याला आकर्षक बन्न पुग्यो । आर्थिक आधारमा आएको परिवर्तनसँगै जीवनपद्धतिमा सहरी संस्कारले प्रभाव पा-यो, जसले उपभोक्ताहरू जन्माउन थाल्यो । राजनीतिक अर्थशास्त्रको भाषामा भन्दा जमिनमा आधारित उत्पादन प्रणालीलाई उद्योगमा आधारित बजार अर्थतन्त्रले कमजोर बनाउन थाल्यो । परिणामस्वरूप ज्यालादारी श्रमिकको सिर्जना भयो । 

यसरी सहरमा आएकाहरूलाई जोडिरहन कंग्रेसले मुख्यतः दुइटा उपाय अपनाएको थियो । एकातर्फ  उसले लोककल्याणकारी परियोजना ल्याइरहेको थियो भने अर्कोतर्फ  अर्थतन्त्रमा रहेको अनौपचारिक क्षेत्रलाई करको दायरामा नराखेर मौन स्वीकृति प्रदान गरिरहेको थियो । तर, सामाजिक संरचनामा आइरहेका परिवर्तनले शक्ति सम्बन्धहरूको पुनर्संरचना गर्छ, जसले अन्ततोगत्वा राज्यको स्वरूपमै परिवर्तन ल्याउँछ । 

अर्कोतर्फ इन्दिरा गान्धीकोे समयमा कर्पोरेट वर्गको उदय हुन थालिसकेको थियो । लाइसेन्सराज यसको मुख्य कारक थियो । लाइसेन्सराजले कर्मचारीतन्त्र, शासक र पुँजीपति वर्गबीच बलियो गठजोड स्थापना गरिदियो । सरकारी संस्थानले काम गरेनन्, सरकारी पुँजी उत्पादनमूलक हुन सकेन लगायत बहस सुरु हुन थाले । त्यतिवेला नै सरकारी पुँजीभन्दा निजी पुँजी बलियो भइसकेको थियो । 

त्यो निजी पुँजीले आफ्नो वृद्धिको भोक शान्त पार्ने अवसर खोजिरहेको थियो अर्थात् कर्पोरेट वित्तीय पुँजीअनुकूलको उत्पादन सम्बन्धका लागि आवश्यक अधिरचनाको निर्माण अनिवार्य थियो । त्यही आधारमा भाष्यहरू बनाइन थाले । त्यहीअनुकूलका बुद्धिजीवि तयार भए, जसले नवउदारवादी नीतिको वकालत गर्न थाले । सामाजिक शक्ति संरचनामा यो नवशक्ति बलियो हुँदै गयो । परिणाम, कंग्रेसले हिजोको पुरानो शक्ति समीकरण जोगाइराख्न भन्दा नयाँ शक्तिलाई साथमा लिने प्रयास थाल्यो । त्यसकै परिणतिको रूपमा पि.भि. नरसिंह रावको प्रधानमन्त्रीत्व कालमा नवउदारवादी नीति लागू गरियो । 

हिन्दुत्वको लडाकु रूप 
उदीयमान अर्थ–राजनीतिक शक्तिलाई आफूसँगै जोडिराख्न नवउदारवादी नीति अपनाए पनि कंग्रेस बिस्तारै कमजोर हुने अवस्थामा पुगिसकेको थियो । पार्टीभित्र वंशवाद मौलाइरहेथ्यो । सामाजिक शक्ति–संरचनामा परिवर्तन आइरहेथ्यो । हिजोका संरचना भत्किएर पार्टीभित्र इन्ट्रोपी (विशृंखलता) बढ्दो थियो ।भारतीय राजनीति र अर्थतन्त्रमा यी महत्वपूर्ण  परिवर्तन भइरहँदा हिन्दुत्व मौन थिएन । उसको लडाकु संगठन रासस निरन्तर कार्यरत थियो । राससले मूलतः ग्रामीण क्षेत्रमा काम गरिरहेको थियो । उसले मानिस चयन गथ्र्यो । तालिम दिन्थ्यो । गाउँ–गाउँमा खटाउँथ्यो ।

राससका कार्यकर्ताले मूलतः हिन्दुत्व प्रसारकै काम गर्थे । तर, उनीहरू निकै मसिनोसँग काम गरिरहेका थिए– स्थानीय मानिसलाई सहयोग गर्थे, स्कुल–मन्दिर बनाउनेजस्ता सामाजिक गतिविधिमा सक्रिय हुन्थे, मुसलमानविरोधी गतिविधि गरेर हिन्दू समुदायलाई उक्साउँथे । यी सबै कार्यले सामाजिक रूपमा भाजपाको जग बलियो बनायो, जसको अन्तर्यमा थियो गैरहिन्दूमाथिको हिंसा । जबकि कंग्रेसले भने सामाजिक जग गुमाउँदै गएको थियो । राष्ट्रिय राजनीतिमा पनि भाजपाले महत्वपूर्ण स्थान बनाउँदै गएको थियो । उसले अटल विहारी बाजपेयीजस्तो वक्ता, लालकृष्ण आडवाणीजस्तो कुशल संगठक पाइरहेको थियो । यिनैको आडमा टेकेर भाजपाले हिन्दुत्वको राजनीतिलाई अगाडि बढायो ।

बाबरी मस्जिद काण्ड हिन्दुत्वको राजनीतिक स्थापनाका निम्ति एउटा प्रमुख घटना बनिदियो । आफैँले तयार पारेको मुसलमानविरोधी मानसिकता प्रवद्र्धनका निम्ति भाजपाले बाबरी मस्जिदलाई निहुँ बनायो । हिन्दूहरूका देवता रामको जन्मभूमि मानिने अयोध्यामा रहेको बाबरी मस्जिद रहेकै ठाउँ रामको जन्मस्थान भएको दाबी गरेर उसले त्यो मस्जिद भत्काएर मन्दिर बनाउनुपर्ने माग ग-यो । यो केवल मन्दिर निर्माणको माग थिएन, मुसलमानहरू पराइ हुन् र उनीहरूलाई सिन्धुस्तान (हिन्दुस्तान)मा कुनै स्थान छैन भन्ने हिन्दुत्व राजनीतिको जनस्तरमा अभ्यास पनि थियो ।

१९९० बाट भाजपाले बाबरी मस्जिदको मुद्दालाई जोडतोडका साथ उठाउन थाल्यो । निरन्तर अयोध्यामा नारा, जुलुस र प्रदर्शन गर्न थाल्यो । १९९२ मा रासस नेतृत्वको हुलले बाबरी मस्जिद भत्काइदियो । देशभित्र मात्रै होइन, बंगलादेशसम्म यही काण्डका कारण साम्प्रदायिक दंगा मच्चियो । रक्तमुछेल धार्मिक दंगा र बाबरी मस्जिदको भग्नावशेषका बीच भाजपा राष्ट्रिय शक्तिको रूपमा उदायो । र, दमित हिन्दुत्वको बहस मूलधारको विषय बन्न पुग्यो, जसले पछिल्लो कालमा गाई जोगाउने नाममा मान्छेको नाश गरिरहेको छ । हिन्दुत्वको परिभाषाभित्र नअटाउने र हिंसाको प्रतिकार गर्नेमाथि निरन्तर दमनको शृंखला चलिरहेको छ । गौरी लंकेश र कुलबर्गीको हत्या, बुद्धिजीवीको गिरफ्तारी यही असहिष्णुताको परिणाम हो । 

कर्पोरेटको साथ 
भाजपा उदयलाई धार्मिक अन्धताको जति साथ थियो, त्यति नै साथ कर्पोरेटहरूको पनि थियो । माथि उल्लेख गरेजस्तै कर्पोरेट वर्गको उदय भइसकेको थियो । तर, यसले राम्रोसँग फैलिन पाइरहेको थिएन । यो कर्पोरेटतन्त्रलाई बजार चाहिएको थियो । उसलाई उत्पादन र वितरण दुवैमा आफ्नो एकहत्ती चाहिएको थियो । तर, राज्यमातहत रहेका उद्योगलाई कमजोर नबनाई उत्पादन आफ्नो हातमा पर्दैनथ्यो । वितरणतर्फ  लोककल्याणकारी अवधारणालाई कमजोर बनाउनुपथ्र्यो ।

कर कटौतीलगायत नवउदारवादी नीति लागू गर्नुपथ्र्यो । त्यसैले उसले राज्यलाई नै आफ्नो हातमा पार्न चाह्यो, जसका लागि उसले भाजपालाई समर्थन ग-यो । 
भाजपालाई नै समर्थन गर्नुका केही कारण थिए । नेहरूकालदेखि नै रासस केवल धार्मिक मान्यताका कारण कंग्रेसको विरोधी थिएन । उसले कंग्रेसको अर्थ–राजनीतिक मोडलको पनि विरोध गरिरहेको थियो । नेहरूको सोभियत संघसँगको निकटता र लोककल्याणकारी राज्यको अभ्यासलाई हिन्दुत्वले विरोध गथ्र्यो ।

तर, यो विरोध कम्युनिस्टहरूले भनेजस्तो पूर्ण समाजवादी राज्यको वकालत थिएन । बरु, नवउदारवादी मान्यता सुहाउँदो थियो । जति पनि अल्पकालीन र गठबन्धन सरकार बने हरेकपटक नेतृत्वमा जाँदा भाजपाले यही अर्थ–राजनीतिक नीतिलाई निरन्तरता दिइरह्यो । गुजरातमा प्रान्तीय सरकार सञ्चालन गर्दा नरेन्द्र मोदीले आपूmहरू कर्पोरेट तन्त्रका पक्षपाती भएको कुरा स्थापित गरिदिए, जसले गर्दा कर्पोरेट क्षेत्रको बलियो आड उनले पाए । 

हिन्दुत्वको राजनीतिले बनाइदिएको ऐतिहासिक आधार र कर्पोरेट क्षेत्रले दिएको आडको आधारमा सन् २०१४ मा मोदीले लोकसभा निर्वाचन जितेका थिए । यद्यपि त्यतिवेला उनले दिएको नारा विकासको थियो । र, त्यो विकास मूलतः कर्पोरेटतन्त्रको पक्षपाती भाष्य थियो । यसको उदाहरण हो– मिनिमम गभरमेन्ट, मेक्सिमम गभरनेन्स (न्यूनतम सरकार, अधिकतम शासन)को कथ्य । 

आम मनोविज्ञानको निर्माण 
भाजपा विजयको अन्तर्य केलाउँदै गर्दा के बिर्सनु हुँदैन भने उसले मतदानकै प्रक्रियामार्फत विजय प्राप्त गरेको हो । उसलाई मतदान गर्ने जनसमुदाय भारतका मध्यम र तल्लो वर्गका पनि हुन् । ठूलो जनसमुदायको मत पाएरै ऊ विजयी भएको हो । त्यसैले भाजपाले कसरी आफूअनुकूल आममनोविज्ञान अर्थात् मोदी मिथकको निर्माण ग-यो भन्ने केलाउन पनि आवश्यक छ । 

१. साधनमा वर्चस्व सञ्चार माध्यम :  सामाजिक सञ्जाल, संगठन, परम्परा सांस्कृतिक उत्पादन र वितरणका साधन हुन्, जसले आममनोविज्ञानको निर्माण गर्छन् । हिन्दुत्व मौलाउन परम्परा, संस्कृति र संगठनले त साथ दिए नै सञ्चार माध्यम र सामाजिक सञ्जालले पनि साथ दिए । ती साधनमा कर्पोरेट वर्गको नियन्त्रण थियोे, जो भाजपाका दाहिने थिए । विश्वविद्यालय र अन्य ज्ञान उत्पादन केन्द्र पनि आम मनोविज्ञानको निर्माण गर्ने साधन हुन् । तिनलाई आफ्नो कब्जामा लिन भाजपाले प्रयास गरिरह्यो । जेएनयू विश्वविद्यालयमाथिको आक्रमण यसको उदाहरण हो । यी साधनको सहारामा उसले हिन्दुत्व मानसिकताको निर्माण गरिरह्यो । 

२. अर्थमानवको उदय : विश्वव्यापीकरण र नवउदारवादका कारण संसारभरि अहिले अर्थमानवको निर्माण भइरहेको छ । अर्थमानव नवउदारवादी मान्यताभित्र पर्ने मानिस हो, जोे काम र केवल काममा विश्वास गर्छ, राजनीतिक विषयमा चासो दिन्न र काम गरेपछि प्रगति हुन्छ भन्ने ठान्छ । सबैभन्दा पहिले संसारभरि छरिएका भारतीयमा यो मानसिकता निर्माण भयो । कर्पोरेट वर्गको वर्चस्व बढ्दै जाँदा भारतीय सहरियामा पनि यही मानसिकता निर्माण भयो ।

सामाजिक सञ्जालमार्फत ग्रामीण भारतीय युवामा यसको आकर्षण बढ्यो । जसरी होस्, नाफा कमाउने मान्छे र शक्ति आर्जन गर्ने मान्छे सफल भन्ने धारणा निर्माण भयो । यस्तो खालको मानसिकताले वंशजको राजनीतिलाई अस्वीकार गर्छ । कंग्रेस वंशज राजनीतिको प्रतीक भइरह्यो भने भाजपा लगानीकर्ता र मिहिनेतीको प्रतीक बन्न पुग्यो । मोदीले आफूलाई चियावाला र चौकीदार भन्नुका पछाडि यही मानसिकता आफ्नो पक्षमा पार्ने उपाय हो । भाजपाको यो जितले एउटा प्रगतिशील काम गरेको छ । पूर्वपुँजीवादी अर्थतन्त्रमा आधारित वंशीय राजनीतिको विघटनको प्रारम्भ गरिदिएको छ । यो काम खासमा वामपन्थीले गर्नुपथ्र्यो, उनीहरूले आफूलाई जनस्तरमा पु-याउनै सकेनन् । यस्तो वेला पनि कंग्रेसले विजय अस्त्रको रूपमा प्रियंका गान्धीलाई अघि सा¥यो, जुन यो मानसिकताका लागि पाच्य भएन । 

३. सांस्कृतिक उत्पादनमा हिन्दुत्व : भारतीय राजनीतिमा हिन्दुत्व यति आक्रामक बनेर आयो, कंग्रेसले यसको प्रभाव थेग्नै सकेन । आफूलाई धर्मनिरपेक्ष भने पनि कंग्रेसमा कुनै न कुनै हिसाबले हिन्दुवादी धारणा रहिरह्यो । जवाहरलाल नेहरूको समयसम्म धर्मनिरपेक्ष रहेको कंग्रेस सर्वधर्म समन्वयको पक्षपाती भएको थियो । अवश्य पनि कंग्रेस तुलनात्मक रूपमा धर्मनिरपेक्ष शक्ति हो । अल्पसंख्यकको अधिकारको पक्षपाती हो । तर, कुनै न कुनै मात्रामा ऊ पनि हिन्दूवादी हो । यसको एउटा उदाहरण इन्दिरा गान्धीको समयमा लागू गरिएको बन्ध्याकरण कार्यक्रम हो ।

त्यतिवेला मुसलमानलाई जबर्जस्ती बन्ध्याकरण गरिएको थियो । यसको सम्झना मुसलमानहरू आज पनि गर्छन् । त्यसमाथि पछिल्लो दशकमा भाजपाको गतिविधिका कारण कंग्रेसले पनि हिन्दूवादी विचारधाराकै सहारा लिनुपरेको छ । त्यसैले राहुल गान्धीलाई कैलाश भ्रमण गर्नुपरेको हो भने दिग्विजय सिंहलाई जोगी जुलुस । घोषणापत्रमा कुनै न कुनै हिसाबले हिन्दुत्वको एजेन्डाले प्रवेश पायो । परिणाम, कंग्रेसले आपूmलाई हिन्दुत्वको विकल्प बनाउन सकेन । खासमा ऊ प्रतिबद्ध धर्मनिरपेक्षतावादी हुन सकेन । त्यसैले पछिल्लो निर्वाचन हिन्दुत्व र धर्मनिरपेक्षताबीच भन्दा पनि कडा र नरम हिन्दुत्वबीचको प्रतिस्पर्धा हुन पुग्यो, जसमा भाजपा विजयी हुनु स्वाभाविक थियो । 

४. राष्ट्रियता : भारतीय चुनावी राजनीतिमा राष्ट्रियताको प्रयोग सधैँ हुने गरेको छ । भाजपाले राष्ट्रियताको नाराले चुनाव जित्यो मात्र भन्दा इतिहासबोध फितलो हुन्छ । नेहरूकालको प्रभुत्व पनि राष्ट्रवादी शक्तिको गठबन्धनमा आधारित हो । नेहरूले पनि भारतीय राष्ट्रवादकै कुरा गरेका हुन्, यद्यपि त्यो हिन्दुत्वमा आधारित थिएन । इन्दिरा गान्धीले गरेको सिक्किम बिलय, पूर्वी भारतमा दमन राष्ट्रवादमै आधारित हो । त्यसैले भारतीय राजनीतिमा राष्ट्रवादको प्रयोग नौलो होइन । नयाँ यति मात्र हो, राष्ट्रवादलाई भाजपाले हिन्दुत्वको आधारमा परिभाािषत ग-यो । चुनावको मुखैमा भएको पुलवामामाथिको आक्रमणले राष्ट्रवादलाई फेरि एकपटक परिचालित गर्ने मौका दियो । पाकिस्तान र चीनविरुद्ध उभिन सक्ने र अमेरिकासँग पनि नझुक्ने नेताको रूपमा मोदीको छवि बन्यो ।

५. मोदी मिथक : चौकीदार, चियावाला, सामान्य मान्छे, जोगी जीवन, परिवारको अति सामान्य जीवनपद्धतिले आमजनजीविका बिताउन गाह्रो भइरहेका मजदुर, बेरोजगार सबैको दृष्टिमा आशा जगायो । पाकिस्तानमाथिको प्रत्याक्रमणले बलियो शासकको प्रतिबिम्ब दियो । वर्षौंदेखि जमेर बसिरहेका वितृष्णालाई तरंगित बनाइदियो । आमजनजीवनको आवेग र संवेगसँग खेल्यो । स्मृति र विस्मृतिको राजनीति अर्थात् मेमोपोलिटिक्सको सहारा लियो, जसले विगत बिर्सायो, नयाँ आगतको निर्माण ग-यो । यो प्रक्रियाको केन्द्रमा थिए मोदी । यसैबाट तयार हुन्छ– मोदी मिथक । निर्वाचनमा आमजनताले मोदीलाई विकल्पहीन नेता ठाने ।
समकालीन पाटाहरूयो लामो ऐतिहासिक र अर्थ–राजनीतिक पृष्ठभूमि भाजपा उदयको महत्वपूर्ण  हिस्सा हो । यो पाटोले भारतीय राजनीतिमा भाजपा कसरी स्थापित हुँदै गयो भन्ने बुझ्न सघाउ पु-याउँछ । थप एक पाटो हो, सामाजिक शक्ति संरचनामा आएको परिवर्तन ।

इन्दिरा गान्धीको शासनको अन्त्यसम्म आइपुग्दा कंग्रेसले क्षेत्रीय अभिजात वर्ग जन्माएको थियो । त्यसपछि बनेका जातीय–क्षेत्रीय शक्तिले भारतीय राजनीतिमा प्रभुत्वकारी भूमिका खेलेका थिए । त्यसैले केहीले मोदीको वर्तमान विजयलाई जातमाथि धर्मको जितको रूपमा व्याख्या गर्ने गरेका छन् । तर, त्यो कमजोर बुझाइ हो । वास्तवमा धर्मको आधारमा जातीय समीकरणलाई आफ्नो हातमा लिइएको हो । जाति भन्नासाथ उत्तर प्रदेशमा मायावती र विहारमा यादव मात्र देख्ने दृष्टिदोष हटाउनु आवश्यक हुन्छ । जातीय अवधारणालाई धर्मले पराजित गरेको भन्दा पनि जमिनी तहमा जातीय समीकरणहरू उपयोग गर्न भाजपा बढी सफल भएको हो । यसबारे स्पष्ट हुन भाजपाको शक्ति संरचना बुझ्न जरुरी छ । 

भाजपाको शक्ति संरचनाको केन्द्रमा कर्पोरेट पुँजीपतिहरू छन् । उनीहरूले कर्पोरेट विचार र संस्कृति प्रवद्र्धन गरिरहेका छन् । अर्को शक्ति हो– कर्मचारीतन्त्रभित्रको ठूलो हिस्सा । त्यस्तै सहरिया वर्ग र विश्वभरि छरिएको भारतीय डायस्पोरा पनि प्रभावशाली शक्ति हो, जसले भाष्य निर्माणमा ठूलो भूमिका खेल्छ । भाजपाले निर्माण गरेको अर्को महŒवपूर्ण शक्ति हो– पूर्वस्थापित अभिजात वर्गभित्र सिर्जना गरिएको नयाँ अभिजात वर्ग । उसले कुनै एक स्थापित जातिको ठाउँमा अर्को जाति स्थापना गरेन, बरु त्यही जातिको नयाँ वर्ग खडा गरिदियो । 

यो परिदृश्यमा देखा पर्छन्– अमित शाह र नरेन्द्र मोदी । यो आकस्मिकताको पाटो हो । मोदी देखिने अनुहार हुन् भने शाहले संगठन निर्माणमा भूमिका खेले । पछिल्लो पाँच वर्षमा भाजपाले अरूसँग तुलना नै गर्न नसकिने संगठन बनायो । त्यो निर्वाचन जित्ने कडी बन्यो । अर्कोथरी थिए, क्षतविक्षत् विपक्ष । 
अन्तर्राष्ट्रिय आयाम
मोदीको वर्तमान विजयका लागि अन्तर्राष्ट्रिय आयामले उल्लेखनीय साथ दिएका छन् । समकालीन विश्वमा अहिले वर्चस्वकारी शक्ति हो अन्तर्राष्ट्रिय वित्तीय पुँजी । अहिले भारत संसारका दुईवटा ठूला बजारमध्ये एक हो । त्यसैले ऊ सबैखाले पुँजीका लागि आकर्षक थलो हो । अन्तर्राष्ट्रिय शक्तिका लागि सकेसम्म उदार भारत चाहिएको छ । अर्कोतर्फ आन्तरिक रूपमा उदाएको कर्पोरेट वर्गलाई पनि अन्तर्राष्ट्रिय पुँजी र बजार चाहिएको छ । त्यस्तै ठूलो भारतीय डायस्पोरालाई भारत फर्किने अवसर चाहिएको छ । यी सबैका लागि भाजपाले लिएको नवउदारवादी नीतिले साथ दिन्छ । वित्तीय पुँजीको वर्चस्वका लागि पनि भाजपा भरपर्दो सहयोगी बन्न पुग्यो । वित्तीयकरणको उदाहरण हो, विमौद्रीकरणको नीति । 

त्यस्तै संसारभरि विकास भइरहेको लोकप्रियतावाद (पपुलिज्म)ले पनि मोदीको लोकप्रियतावादलाई सघाउ पु-याएको छ । हिजोको भारतमा गान्धीको हत्यारा नाथुराम गोड्से ठीक हो भन्ने मानिस जित्न सक्दैनथ्यो । आजको भारतमा त्यो सम्भव भएको छ । मोदीको विजयलाई नेहरूले कोरेको महान् भारतको सपनाले पनि साथ दिएको छ । भारतलाई विश्वशक्ति बनाउने सपना देखाएका थिए नेहरूले । उक्त सपनाको जगमा महान् भारतीय सभ्यताको मिथक थियो, जुन हिन्दू धर्मसँग कुनै न कुनै हिसाबले जोडिन्छ । आज मोदी शक्तिशाली भारत र महान् सभ्यताको मिथकलाई जनस्तरमा सम्भावनाको रूपमा प्रसार गर्न सफल भएका छन् । 
निष्कर्ष
यो लामो छलफलले हामीलाई मोदी उदयको अन्तर्यसम्म पु-याउँछ । त्यो अन्तर्य हिन्दुत्वको भाष्य निर्माण, त्यसका लागि भएको निरन्तर प्रयत्न, हिन्दुत्व उदयका लागि सामाजिक संरचनामा आएको परिवर्तनले दिएको साथ, नवउदारवादी नीतिको प्रभाव, भाजपाको बलियो संगठन परिचालन र कमजोर प्रतिपक्षलगायत अवयव मिलेर बनेको छ । 

मोदीको भारत नयाँ हिन्दुस्तान हो, जहाँ पुराना उत्पादन पद्धति भत्किएका छन् । सँगै तिनमा उभिएका मान्यता पनि भत्किएका छन् । आधारमा आएको परिवर्तनसँगै सामाजिक शक्तिबीचको सम्बन्ध पनि बदलिएका छन् । पुराना शक्ति विघटित हुँदै नयाँ शक्ति स्थापित भइरहेका छन् । योसँगै परम्परा पनि पुनर्गठित भइरहेका छन् । नयाँ संकथनहरूको निर्माण, विनिर्माण र पुनर्निर्माण हुँदै छ । यो वर्चस्वका लागि निरन्तर हुने संघर्षको प्रक्रिया हो, जसमा हिन्दुत्वले राजनीतिक, आर्थिक र सांस्कृतिक प्रभुत्व स्थापित गरेको छ । तर, प्रस्ट देखिने संकेत के हो भने हिन्दुत्व राजनीतिको विकल्पमा आउने शक्ति वर्तमानमा देखिएका शक्ति हुने सम्भावना निकै कम छ ।

(पौडेल स्विट्जरल्यान्डस्थित लोजान विश्वविद्यालयको ‘सेन्टर फर इन्टरनेसनल हिस्ट्री एन्ड पोलिटिकल स्टडिज अफ ग्लोबलाइजेसन’मा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि अनुसन्धानरत छन् । श्रेष्ठ त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्दै छन् ।)