• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. महेशराज पन्त काठमाडाैं
२०७६ असार ७ शनिबार ०७:३८:००
इतिहास

के नेपाली भाषाको उत्पत्ति सिँजामै भएको हो ?

२०७६ असार ७ शनिबार ०७:३८:००
डा. महेशराज पन्त काठमाडाैं

बाह्रौँ शताब्दीदेखि लिखित रूपमा पश्चिम नेपालमा देखिन थालेको पहाडिया भाषा समय–समयमा थरीथरीका नाउँले सम्बोधित हुँदै गएर अहिले भित्र–बाहिर सबैतिर ‘नेपाली’ भन्ने नाउँले चिनिन्छ । यस भाषाको उद्भव सिँजामा भएको हो भन्ने कुरा एक मुखले ठूला–साना सबैले भनेको र यस्तै खालको प्रश्न लोकसेवा–आयोगको परीक्षामा सोधिने गरिए पनि सिँजामा उत्पत्ति भएको भाषा पूर्व–पश्चिमतर्फ  फैलिँदै गएको कुरा सिद्ध गर्न नसकेसम्म यस भाषाको उद्भव सिँजामै भएको हो भनी भन्न सकिँदैन । अर्कोतर्फ, कुमाउका राजाका उत्कीर्ण लेखका देशभाषालाई नेपालका खस राजाका उत्कीर्ण लेखका देशभाषासँग भाषाको दृष्टिले फरक छुट्ट्याउन नसकिने हुनाले कुमाउका त्यस्ता लेखमा देखिएको भाषालाई ‘कुमाउनी’ र नेपालका त्यस्ता लेखमा देखिएको भाषालाई ‘नेपाली’ भनी छुट्ट्याइएको ठीक देखिँदैन भनी मैले पटक–पटक भन्दै आएको कुरा फेरि एकपल्ट जोड दिएर भन्छु (मारी लकौंत–तिलुइनद्वारा सम्पादित ‘बार्ड्ज् यान्ड् मीडिअम्ज्ः हिस्टरि, कल्चर् यान्ड् पल्इटिक्स् इन् द सेन्ट्रल् हिमालयन् किङ्डम्ज्’, ‘पूर्णिमा’ १३४ पूर्णाङ्क, २०६९, २४९ पृ., इत्यादि ।)

यही कुरा प्रकारान्तरले भन्दा, कालीवारका र कालीपारका उत्कीर्ण लेखका देशभाषामा भेद पाइँदैन । उदाहरणको लागि, शाके १२५९ तदनुसार वि.सं. १३९४ को, कुमाउको सोरमा रहेको शक्तिवर्माको ताम्रपत्रको देशभाषा र त्यही सालको पुण्य मल्लको बाजुरा जिल्लाको जुगाडाथलीको देशभाषाको रूप दाँजेर हेरे मात्र पनि पुग्छ (‘बार्ड्ज् यान्ड् मीडिअम्ज्’मा छापिएको, महेश्वरप्रसाद जोशीको ‘याड्भेन्ट् अफ् पल्इटिज् इन् उत्तराखण्ड्’, ३३८–३३९ पृ. र मोहनप्रसाद खनाल, ‘नेपाली भाषाका हजार वर्ष’, राइनो पब्लिकेसन, काठमाडौँ, २०६८, ५८ पृ. दाँज्नू) । यस कारण सिँजालगायत खसान र कुमाउमा समेत वर्तमान नेपाली भाषाको पूर्वरूपका उत्कीर्ण लेख पाइएकाले सिँजामै नेपाली भाषाको उत्पत्ति भयो भनी भन्न मिल्दैन । 

जोर्ज एब्रह्यम ग्रीर्सन (वि.सं. १९०७–१९९७)ले पूर्वी पहाडी अर्थात् नेपाली (‘लिङ्ग्विस्ट्इक् सर्भे अफ् इन्डिअ’ ९ ठेली ४ भाग, गभ्अर्न्मेन्ट प्रेस, कलकत्ता, ई.सं. १९१६, १७–१०७ पृ.), मध्य पहाडी अर्थात् कुमाउनी गढवाली (उही, १०८–३७१ पृ.) र पश्चिमी पहाडी अर्थात् जौनसारी सिरमौरी आदि (उही, ३७३–९२३ पृ.) गरी पहाडी भाषाका तीन समूह बनाएको, खास गरी नेपाली र कुमाउनी गढवालीलाई अलग्गै बनाएको कुराको प्रतिवादमा महेश्वरप्रसाद जोशी (वि.सं. १९९८ मा जन्म)को अन्वेषण श्लाघनीय छ (महेश्वरप्रसाद जोशी आदिद्वारा सम्पादित ‘हिमालयः पास्ट् यान्ड् प्रेज्अन्ट्’ ३ ठेली, अल्मोरा बुक डीपो, अल्मोडा, ई.सं. १९९४ मा छापिएको, महेश्वरप्रसाद जोशी र विद्याधर एस. नेगीको ‘वज् देर् अ सेन्ट्रल् पहारी ? यान् अप्राइजल् अफ् ग्रीर्सन्’ज् क्लास्इफिकेशन् अफ् थ्री पहारी ल्याङ्ग्विज् गू्रप्ज्’, २५९–२७४ पृ.; महेश्वरप्रसाद जोशी, ‘अन् दि अर्इजिन् अफ् द निओ इन्डो–एर्इअन् पहाडी ल्याङ्ग्विज् अफ  उत्तराखण्ड् यान्ड् वेस्टर्न् नेपाल् हिमालय’, ‘लिङ्गुआ पोस्नानीन्सिन्स्’ ५२ ठेली, ई.सं. २०१०, ५१–६५ पृ.; महेश्वरप्रसाद जोशी आदिद्वारा सम्पादित ‘बिफोर् इमर्जेन्स् अफ  नेशन् स्टेट्स्ः इन्डो–नेपाल् रिलेशन्ज् यान्ड् उत्तराखन्ड्’, अल्मोरा बुक डीपो, अलमोडा, ई.सं. २०१४ मा छापिएको, उनैको ‘पीस्इङ् टुगेद्अर् द पास्ट्ः इन्डो–नेपाल् रिलेशन्ज् थ्रू उत्तराखण्ड्’, १२–१४ पृ.) । 

मल्लकालमा नेपाली भाषाले नेपाल खाल्डोमा जनभाषाको रूपमा प्रवेश पाएको थिएन, प्रताप मल्ल (वि.सं. १६८०–१७३१, राज्यकाल वि.सं. १६९८–१७३१)ले आफ्नो एउटा शिलापत्र नेपाली भाषामा राख्नुको अर्थ यो जनभाषा भएर होइन, खालि उनले आफ्ना अरू शिलापत्रमा छिमेकमा चलेका अनेक भाषा र लिपि हालेजस्तै आफ्नो भाषाज्ञान देखाउन राखेको मात्र हो, पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)को विजयको साथै नेपाली भाषाको विस्तार हुन लाग्यो भनी बालचन्द्र शर्मा (वि.सं. १९७६–२०३३)ले आफ्नो ‘नेपालको ऐतिहासिक रूपरेखा’मा लेखेका थिए (बाबू माधवप्रसाद शर्मा, वाराणसी, २००८, ४२८–४२९ पृ.) । यसको सप्रमाण खण्डन गरी नयराज पन्त (वि.सं. १९७०–२०५९)का दुईजना प्रशिष्य अर्थात् भोलानाथ पौडेल (वि.सं. १९७८–२०६६)का शिष्य लक्ष्मण सत्याल (वि.सं. १९९१ मा जन्म) र अक्रु र कुइँकेल (वि.सं. १९९५–२०३८)को नाममा ६ पृष्ठको, एउटा ‘इतिहास–संशोधन’ निकालिएको थियो 

(२०११।५।१७।३ मा प्रकाशित) ।

प्रताप मल्लको मात्र होइन, उनका बाबु लक्ष्मीनरसिंह (वि.सं. १६५५–१७१७, राज्यकाल वि.सं. १६७७–१६९८)को शिलापत्र पनि नेपाली भाषामा पाइएको छ । खुलाएर भन्दा, शाके १५६३ ने.सं. ७६१ तदनुसार वि.सं. १६९८ को, मखनटोलको त्यस शिलापत्रमा मखन महादेवस्थानको चारकिल्लाभित्र काटमार नगर्नू भन्ने व्यवस्था गरिएको छ । लक्ष्मीनरसिंहको र प्रताप मल्लका शिलापत्रमा दृष्टसाक्षीमा खस र मगर पनि भएकाले तिनीहरूको दरबारमा प्रवेश भएको देखिन्छ । यसैले ती राजाहरूले खसहरूसँग व्यवहार गर्न खस भाषा अर्थात् वर्तमान नेपाली भाषाको प्रयोग गरेको देखिन्छ । खसद्वारा नै यहाँ यो भाषा पसेकोले यसले यहाँ ‘खय् भाय्’ भन्ने नाम पाएको हो । पृथ्वीनारायण शाहको प्रवेश यहाँ हुनुभन्दा पहिल्यैबाट नेपाली भाषाको विस्तार हुन आएको देखिनाले उनीसँगै यहाँ नेपाली भाषाको विस्तार हुन लाग्यो भन्ने कुरा खण्डित हुन्छ भन्ने आशय त्यस ‘इतिहास–संशोधन’को थियो ।

प्रताप मल्लको रानीपोखरीको शिलापत्रको वि.सं. २०१४ मा सम्पादन गर्दा टी. डबूल्यू. क्लार्कले यसको भाषा नेपाली भएकोले यस विषयमा पनि केही लेखेका छन् । माथि भरखरै चर्चा गरिएको ‘इतिहास–संशोधन’ उनले वा उनका खेतालाले देखे कि देखेनन्, त्यो त थाहा भएन, त्यसमा भएको कुरा भने शब्दान्तरले उनको लेखमा आयो ।

नेपाल खाल्डोमा भएको राजनीतिको परिवर्तनले नै नेपाली भाषाले प्रतिष्ठा पाएको हो, पृथ्वीनारायण शाहले नेपाल खाल्डो जित्दा नेपाली भाषा यहाँ पराई भाषा नै थियो भन्नु ठीक होइन, रानीपोखरीको शिलापत्र र अरू अभिलेखबाट यहाँ नेपाली भाषा पराई भाषा थिएन भन्ने देखिन्छ । नेवारी र नेपाली दुवै भाषाको यहाँ प्रतिष्ठा थियो, धेरै अगाडिदेखि यहाँ नेपाली भाषा स्थापित भइसकेको थियो, रानीपोखरीको शिलापत्रबाट मात्र होइन त्यसभन्दा २९ वर्षअगाडिको शिलापत्रबाट पनि यहाँ नेपाली बुझिन्थ्यो र त्यसको प्रयोग औपचारिक रूपले हुन्थ्यो, गोरखालीले नेपाल खाल्डो जित्नुभन्दा १३० वर्षअगाडि नै काठमाडौँमा नेपालीको प्रयोग भएको यसबाट देखिएको छ, राजकीय घोषणामा नेपालीको प्रयोगबाट यहाँका थुप्रै मानिस नेपाली बोल्थे भनी ठान्नुपर्छ भन्ने निष्कर्ष क्लार्कको छ (‘द रानी पोख्री इन्स्क्रिप्शन्’, काठ्मान्डु, ‘बुल्इटिन् अफ् द स्कूल् अफ् अइ्अन्टल् यान्ड् याफ्रिकन् स्टड्इज्’ २० ठेली, ई.सं. १९५७, १८४–१८५ पृ.) ।

पछि संशोधन–मण्डलले यही विषयमा बढी खोजी ग-यो र ‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’मा बढी प्रकाश पारियो (धनवज्र वज्राचार्य (प्रधान सम्पादक), जगदम्बा–प्रकाशन, ललितपुर, २०१९, ८०–८९ पृ.) । लक्ष्मीनरसिंह र प्रताप मल्लका नेपाली भाषामा लेखिएका शिलालेख पाइएका छन्, तिनमा साक्षी बस्नेहरूमा खस पनि छन्, भक्तपुरका राजा जगतप्रकाश मल्लले जग्गा दिँदा गरिदिएको दानपत्र र उनका नाति भूपतीन्द्र मल्लले जग्गा दिँदा गरिदिएको ताम्रपत्र नेपालीमा छ, मल्लकालमा नेपाल खाल्डोमा बसोबास गरेका प्रजाहरूमा खस र पर्वते ब्राह्मणहरूको पनि उल्लेख पाइने हुनाले पृथ्वीनारायणको उपत्यका विजयभन्दा अगाडिदेखि नै यहाँ नेपाली भाषाले जनभाषाको रूपमा प्रवेश पाइसकेको थियो भन्ने कुरा स्पष्टसँग बुझिन्छ भनी त्यहाँ सप्रमाण लेखिएको छ ।

नेपाल खाल्डोमा मल्लकालमा नेपाली भाषाको केही प्रभाव थिएन, प्रताप मल्लले आफ्ना शिलालेखमा फ्रेन्च र ल्याटिनका शब्द हालेजस्तै नेपालीमा शिलालेख राखेका हुन्, फ्रेन्च र ल्याटिन लेख्न सक्ने, मैथिली र बंगालीमा नाटक लेख्न सक्ने मानिस नेपाल खाल्डोमा भए जस्तै, काँठमा र सहरमा बस्ने केही पहाडिया बाहुन नेपालीमा अभिलेखको पाठ तयार गर्न सक्थे भन्ने कमलप्रकाश मल्ल (वि.सं. १९९३–२०७५)ले तर्क गरी यहाँ नेपाली भाषाभाषी धेरै मानिस स्थायी बासिन्दा थिए र दुवै भाषा अर्थात् नेवारी र नेपाली भाषा दरबारमा र सहरमा प्रयोग हुन्थ्यो भनी क्लार्कले लेखेको कुराको खण्डन उनले वि.सं. २०३८ मा गरे (‘क्ल्यास्इकल् नेवारी लिट्अर्इचर्ः अ स्केच्’, एड्युकेशन्अल इन्टर्प्राइज, काठमाडौँ, ई.सं. १९८२, ३१–३२ पृ.) । उनको यो कुरा बालचन्द्र शर्माले ३० वर्षअघि लेखेकै कुरालाई पल्लवित गरेको मात्र हो ।

तर, यिनै कमलप्रकाश मल्लले वि.सं. २०३० मा काठमाडौँ खाल्डोमा पछिल्लो मल्लकालमा नेपालीको पनि खास गरी जनभाषाको रूपमा प्रशस्त चलनचल्ती भइसकेको थियो भनी लेखिसकेका थिए (पशुपतिशमशेर जङ्गबहादुर राणा र कमलप्रकाश मल्लद्वारा सम्पादित ‘नेपाल् इन् पर्स्पेक्टिभ्’, आर्थिक विकास तथा प्रशासनकेन्द्र, काठमाडौँ, ई.सं. १९७३ मा छापिएको, कमलप्रकाश मल्लको ‘दि इन्टेलेक्ट्युअल् इन् नेपालीज् ससाइइटि’, २७१ पृ.) । जुन वेला उनले यो लेखे, उनी शासनमा घुसिसकेका थिएनन्, शासनको छतरीमुनि बस्ने तयारी गर्दै थिए । यसको ८ वर्षपछि वि.सं. २०३८ मा मल्लकालमा नेपाल खाल्डोमा नेपाली भाषाको स्थितिबारे उनले जुन लेखे, त्यो शासनमा घुसी केही वर्ष रमझम गरी शासनबाट हटाइएपछि मात्र लेखिएको थियो । यस विषयमा खुलाएर मैले अन्त लेखिसकिएकोले बढी लेख्नु आवश्यक छैन (‘के श्री ५ पृथ्वीनारायण शाहको उपदेश संशोधन–मण्डलको विद्वत्ताको अनुपयुक्त नमूना हो त ?’, ‘पूर्णिमा’ ५८ पूर्णाङ्क, २२–२५ पृ.) ।

क्लार्कले चर्चा गरेको, शाके १५९२ ने.सं. ७९० तदनुसार वि.सं. १७२७ को, रानीपोखरीको, प्रताप मल्लको शिलापत्र नै लिऔँ (‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, ८२–८४ पृ.) । आफ्ना दिवंगत छोरा चक्रवर्तीन्द्र मल्लको उद्धारका लागि बनाइएको त्यस पोखरीलाई तीर्थको रूप दिन नेपाल र भारतका ५१ वटा तीर्थका जल प्रताप मल्लले त्यहाँ खनाउन लगाएका थिए । नेवारी उनकै राज्यभित्र पनि सबैतिर नचल्ने हुँदा आफूले तीर्थको रूपमा रानीपोखरी बनाएको खबर पूर्व–पश्चिम सबैतिर पैmलियोस् र यस पोखरीले तीर्थको रूप लेओस् भन्ने मनसायले त्यो पोखरीसम्बन्धी शिलापत्र उनले नेपालीमा राखेका हुन् । 

कुन कुन तीर्थको जल रानीपोखरीमा राखिएको छ भनी त्यो पोखरी बनाइसकेपछि प्रताप मल्लले नेपाली भाषामा राखेको शिलापत्रमा जे लेखिएको छ, त्यसको तात्कालिक नेवारी रूपको लेखोट पनि भेट्टाइएको छ (महेशराज पन्त, ‘प्रताप मल्लको तीर्थजात्रा’, ‘पूर्णिमा’ १३७ पूर्णाङ्क, २०६९, २०–२१ पृ.) । नेपाली र नेवारीका ती २ लेख हेर्दा नेवारीकै उल्था नेपाली रूप भएको देखिन्छ । नेवारी लेखअनुसार रानीपोखरीको प्रतिष्ठा ने.सं. ७८९ तदनुसार वि.सं. १७२५ माघशुक्ल त्रयोदशीको दिन भएको हो । त्यही मिति सँगसँगै रानीपोखरीमा कुनकुन तीर्थका जल परेका छन् भन्ने कुरा त्यस लेखमा भएकोले नेपाली रूप प्रतिष्ठित हुनुभन्दा २० महिनाअगाडि नै नेवारी रूप तयार भएको देखिन्छ ।

दुई भाषामा प्रस्तुति कतिसम्म मिल्छ भने नेवारी पाठमा ‘थम शास्त्रस सोयाओ असंख्यात फल खङाओ पिकायाओ गङ्गासमुद्र आदिननानातीर्थया जल कायकल छोयाओ’ भएकोमा नेपालीमा ‘आफुले शास्त्र हेरिकन असंख्यात पुण्य देखिकन निकासिकन गङ्गा आदि नाना तीर्थको जल लेइकन’ मात्र नभई नेवारीमा भएको ‘असंख्यात’ शब्द नै नेपालीमा पनि आउनु चाखलाग्दो छ । नेपाली पाठ नेवारीकै शब्दानुवाद भएको कुरा दुई भाषाका ती पाठ दाँजेर हेर्दा छर्लङ्ग हुन्छ । यस कारण नेवारीमा शिलापत्र राख्दा त्यति व्यापक प्रचार नहुने हुनाले प्रताप मल्लले नेपालीको आश्रय लिएको स्पष्ट देखिन्छ ।

नेवार राजाको, नेपाली भाषामा लेखिएको पाइएसम्ममा पहिलो अभिलेख शाके १५५४ तदनुसार वि.सं. १६८९ को हो (मोहनप्रसाद खनाल, ‘मध्यकालीन अभिलेख’, काठमाडौँ, २०३०, २१–२३ पृ.) । भक्तपुरका राजा जगज्ज्योतिर् मल्ल (निश्चित राज्यकाल वि.सं. १६७१–१६९३)को लाहाछाप लगाई कागतमा लेखिएको यो पत्र अनन्तलिङ्गेश्वरको पूजाआजाको व्यवस्था गरी त्यहाँका जङ्गम पुजारीलाई लेखिएको हो ।

मल्लकालमा नेपाल खाल्डोमा बसोवास गरेका प्रजाहरूमा खस र पर्वते ब्राह्मणहरूको पनि उल्लेख पाइने हुनाले पृथ्वीनारायणको उपत्यका विजयभन्दा अगाडिदेखि नै यहाँ नेपाली भाषाले जनभाषाको रूपमा प्रवेश पाइसकेको थियो भन्ने कुरा स्पष्टसँग बुझिन्छ ।

नेवार राज्यका राजकीय पत्र नेपाली भाषामा जे जति पाइएका छन्, ती नेवार राजाहरूले आफ्नो भाषाज्ञानको प्रदर्शन गर्न लेखेको नभई नेवारीमा लेख्दा काम नचल्ने भएकोले खाँचो परेरै लेखेका हुन् । उदाहरणका लागि, माथि भरखरै चर्चा गरिएको, अनन्तलिङ्गेश्वरको पूजाआजाको व्यवस्था गरी लेखिएको अभिलेखकै कुरा गरौँ । कति पुस्ताअगाडिदेखि कर्णाटक वा महाराष्ट्रबाट आई भक्तपुरको काँठमा बसोबास गरेका ती जङ्गम पुजारी त्यतातिर चलेको नेपाली बुझ्ने र नेवारी भने नबुझ्ने भएरै नेपालीमा त्यो पत्र लेखिएको देखिन्छ । त्यो पत्र नेपालीको राम्रो ज्ञान भएर होइन कि कनीकुथी लेखिएको थियो भन्ने कुराका लागि ‘मठ’लाई ‘मथ’, ‘को’ (षष्ठी विभक्ति)लाई ‘क्व’ लेखेकोतर्फ  औँल्याउन सकिन्छ । यो एउटा मात्र दृष्टान्त होइन, त्यसताका यहाँको नेपालीमा नेवारीपना आउने अरू अरू उदाहरण पनि दिन नसकिने होइन (महेशराज पन्त, ‘नेवार दरबारमा नेपाली भाषा’, ‘राजधानी’, २०६९।८।१५।६, ७ पृ.) ।

इत्यादि कारणले गोरखा राज्यको विस्तारसँगै नेपाली भाषा फैलियो भनी भन्ने गरिए पनि सत्यको कसीमा यो टिक्न सक्दैन । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट दखल गर्नुभन्दा ११२ वर्षजति अगाडि यो भाषा नेपाल खाल्डोमा पहिलोपटक लिखित रूपमा देखा परे पनि यहाँ खसहरूको प्रवेश ठूलो संख्यामा सोह्रौँ शताब्दीमा भइसकेकोले र उनीहरू सत्रौँ शताब्दीमा शासनमा पनि घुसिसकेकाले यहाँ त्यसैताका यो भाषा भित्रिसकेको थियो भनी भन्न नसकिने होइन (महेशराज पन्त, ‘नेपालमण्डलमा अग्राधिकार’, ‘राजधानी’, २०६९।६।१९।६, ७ पृ.) ।

हजारौँ वर्षदेखि संस्कृतभाषाले भारतवर्षलाई एक सूत्रमा बाँध्दै आएको भए पनि वैदिक वाङ्मय छोडेर संस्कृतका अरू ग्रन्थमध्ये धेरैजसोचाहिँ जन्मभाषा अर्थात् मातृभाषा संस्कृत भएकाले लेखेको नभई हामीले जस्तै पढेरै संस्कृत जानेकाले लेखेका हुन् । अर्को शब्दमा भन्नुपर्दा, पाणिनिको ‘अष्टाध्यायी’ छोडेर चलनचल्तीका संस्कृत पुस्तक जजसले लेखे, तिनीहरूको आफ्नो भाषा संस्कृत होइन । अरू त के कुरा, संस्कृतभाषाका महाकवि कालिदासले पनि मिहिनेत गरेरै संस्कृत सिकेका हुन्, त्यो उनको आफ्नो भाषा होइन ।

भारतमा विधर्मीको शासन चलेपछि क्रमशः संस्कृत ओरालो लाग्यो र त्यसको ठाउँ फारसीले लियो । मुसलमानी साम्राज्य अस्ताउँदै र अङ्ग्रेजी साम्राज्य उदाउँदै जाँदा फारसीको पकड खुकुलो हुँदै गयो र अङ्ग्रेजीको भने मजबूत भएर आयो । कालान्तरमा भारतभर सरकारको, अड्डा–अदालतको, व्यापार–व्यवसायको र मूलधारको शिक्षाको भाषा पनि अङ्ग्रेजी बन्यो । अहिले भारतबाट अङ्ग्रेजी शासन गएको ७० वर्षभन्दा बढी भए पनि अङ्ग्रेजीको ठाउँ स्वदेशी भाषाले लिन सकेको छैन ।

अङ्ग्रेजी छोडेर त्यसको ठाउँमा हिन्दी चलाउने उद्योग हुँदै आए पनि खास गरी दक्षिण–भारतीयले नमानेकाले हिन्दीलाई भिन्नाभिन्नै भाषा बोल्नेहरूको साझा भाषा बनाउँदा त्यसले देशको एकीकरण होइन कि विखण्डन हुने सम्भावना भएकोले अङ्ग्रेजीलाई विवश भई सरकारी कामकाजको भाषा मान्नुपरेको छ । यस कारण भारतमा अहिलेसम्म पनि अङ्ग्रेजीको जुन प्रभुत्व कायम छ, त्यो कृत्रिम होइन, आवश्यक हो भन्ने स्पष्ट छ । यसैले प्रादेशिक भाषामा जतिसुकै उत्तम रचना आए पनि त्यो एकदेशीय हुन जान्छ र अङ्ग्रेजीमा जस्तो त्यो भारतभर फैलन सक्दैन ।

नेपालमा भने स्थिति एकदम उल्टो छ । लामो इतिहासले गर्दा नेपाली भाषा बहुसंख्यकले बुझ्ने भाषा बन्न गएको छ । रुम्जाटारको गुरुङले आपूmले बुनेको राडी बेची असनमा मरमसला किन्न आउँदा उसको गुरुङ भाषाले पनि काम गर्दैन र मसला बेच्ने साहूको नेवारीले पनि काम गर्दैन, ती दुवैलाई जोड्ने भाषा नेपाली भइआएको छ । त्यसमाथि, नेपालमा अङ्ग्रेजीमा लेखेर प्रतिष्ठित त हुन सकिएला, थुप्रो पाठक पाउन भने सम्भव छैन ।

गोरखा राज्यको विस्तारपछि राजकाज नेपाली भाषामा चलेर आइरहे पनि यसलाई राष्ट्रभाषा भनेर पुकार्ने चलन थिएन । पछि पञ्चायतीकालमा यसले राष्ट्रभाषाको संज्ञा पायो । नेपालीलाई राष्ट्रभाषामै कायम राखी ‘नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन्’ भनी वि.सं. २०४७ को संविधानमा लेखिएकोमा गणतन्त्र आएपछि ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ भनी नेपाली भाषालाई ‘सरकारी कामकाजको भाषा’ भन्न थालियो । यसले गर्दा बोलीचालीमै सीमित भाषाहरूले पनि क्रमशः लिखित रूप लिँदैछन् । यस्तो गतिविधि देख्दा सोभियत संघको भाषानीतिको सम्झना हठात् हुन्छ । 

नेपाली भाषाको अखबार ‘गोरखापत्र’मा नियत अवधिको अन्तरालमा नेपालका थरीथरीका भाषामा खबर र लेख छापिन थालेको १२ वर्ष पुग्नै लाग्यो । त्यस्ता भाषाको संख्या अहिले ४० पुगिसकेको छ । त्यहाँ हरेक दिन एउटा भाषाले एक पृष्ठ ओगट्ने गरी अरू दुई भाषा आउने हुँदा ‘गोरखापत्र’ भाषाहरूको प्रदर्शनस्थल भएको छ । भारत जस्तो विशाल देशले अङ्ग्रेजीसमेत २३ भाषालाई संविधानमा सरकारी कामकाजको भाषा मानेकोमा यता नेपालमा भने १२३ भाषाको अलग अलग अस्तित्व मानी ती सबै भाषा संविधानअनुसार ‘राष्ट्रभाषा’ भएकाले ‘गोरखापत्र’मा छापिने भाषाको संख्या ४० मै अड्ने सम्भावना छैन ।

जुनसुकै भाषाका पनि भेद र उपभेद हुन्छन्, त्यस्ता भेदलाई आजभोलि ‘बोली’ वा ‘भाषिका’ भन्ने चलन छ । ‘चार कोसपर पानी बदले, आठ कोसपर बानी’ अर्थात् ‘चार कोसमा पानीको स्वाद बदलिन्छ, आठ कोसमा बोली फरक हुन्छ’ भन्ने सूक्तिले पनि त्यस्तो भेद देखाउँछ । पाणिनिले आफ्नो व्याकरणमा त्यस्ता भेदलाई ‘विभाषा’ र ‘अन्यतरस्याम्’ शब्दले बुझाएका छन् । जबसम्म मूल भाषा बोल्नेले त्यस्तो भेद बुझ्छ र भेदरूपको त्यो बोली बोल्नेले मूल भाषा बुझ्छ, त्यो बोली भाषिकामै सीमित हुन्छ ।

नबुझिने अवस्था आएमा पनि त्यस्तो बोलीमा साहित्यको सिर्जना खास गरी भएको छैन भने त्यस अवस्थामा पनि त्यो भाषिका नै कहलाउँछ । त्यो बोली बोल्नेको संख्या निकै धेरै छ, त्यो बोली बोल्नेले बसोबास गरेको क्षेत्र ज्यादै ठूलो छ, त्यस बोलीमा साहित्यसिर्जनाको लामो इतिहास छ र त्यस बोलीलाई भाषाको दर्जा दिनुपर्छ भनी ठूलो स्वरले कराउनेहरू प्रभावशाली छन् भने त्यो बोली एकाएक भाषा बन्न जान्छ । केही वर्षअगाडिसम्म हिन्दीको बोली भएर आएको मैथिली अहिले भारतमा भिन्नै भाषाको रूपमा प्रतिष्ठित हुनु यसको एउटा दृष्टान्त हो ।

कुनै समय साहित्य भएको भाषाको रूपमा मानिएका व्रजभाषा र अवधी अहिले आएर खडी बोलीबाट विकसित हिन्दीका भाषिका हुन पुगेको पनि यस्तै हो । केही वर्षअगाडिसम्म नेपालीकै भाषिका भनी भाषाशास्त्रीहरूले ठह¥याएका अछामी, खस (जुम्ली) र डोटेली अहिले भिन्नै भाषाको रूपमा ‘गोरखापत्र’मा छापिन लागेका छन् र भाषाशास्त्रीहरू नै कुनै भाषालाई पनि भाषिका भन्न पाइँदैन भनी कुर्लन लागेका छन् । डडेलधुरी, दार्चुलेली, दैलेखी, बझाङी, बाजुरेली, बैतडेलीलाई पनि सरकारले अलग भाषा मानिसकेकोले ती भाषाले पनि ‘गोरखापत्र’का पृष्ठ क्रमशः रङ्गिँदै जाने दिन अब टाढा छैन । नेपाली भाषाको यस्तो खण्डीकरण आगामी जनगणनामा अझ बढ्दै गएमा अचम्म मान्नुपर्दैन । यसले गर्दा कालान्तरमा नेपाली भाषा अल्पसंख्यकको भाषामा परिणत हुन पनि त्यति असम्भव छैन ।