• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
डा. माधव प्रसाद पोखरेल काठमाडाैं
२०७६ असार ७ शनिबार ०८:०४:००
समाज

आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको !

वर्तमान नेपालमा पहिलेजस्तै गरी तर अलिक उमेर खाएर बुढाबुढीचाहिँ अवश्य मर्छन् र मर्दै छन्, तर पृथ्वीनारायण शाहले भनेजस्तो ‘भाका’चाहिँ सन्तानमा सरेर गइरहेको छैन । बुढा मरिरहेका छन्, भाका सरिरहेको छैन ।

२०७६ असार ७ शनिबार ०८:०४:००
डा. माधव प्रसाद पोखरेल काठमाडाैं

नेपालीमा एउटा उखान छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ खर, पराल, झार, सिटा, चोइटा र छेस्काको आगो त ह्वारार्र बल्छ, चाँडै निभ्छ । दाउराको आगो त्योभन्दा धेरै समयसम्म ताप्न सकिन्छ । तर, दाउराको आगो पनि कुनै–कुनै काठको मात्र खरो हुन्छ, धेरैबेरसम्म ताप्न काम लाग्दैन, त्यसैले रुढिबुढीले यो उखान बनाए होलान्, ‘आगो ताप्नु मुढाको ।’ 

मुढाको आगो, त्यो पनि खरो काठको भयो भने त धेरै दिनसम्म ननिभ्ने हुनाले दिगो रूपमा ताप्न सकिन्छ । त्यसै हुनाले शिव–भूमि नेपालका थुप्रै तीर्थहरूमा आगो कहिल्यै ननिभ्ने गरी मुढाको धुनी अखण्ड रूपमा लगाइएको हुन्छ । सुनसरी जिल्लामा ‘राम धुनी’ भन्ने एउटा तीर्थ नै छ, जहाँ मुढाको आगो कहिल्यै निभ्नु नहुने सांस्कृतिक परम्परा छ । त्यहाँ पुगेका भक्तले धुनीमा केहीबेर आगो ताप्नैपर्ने र खरानीको टिको निधारमा लगाउनुपर्ने चलन छ ।

उखानको दोस्रो पाटो छ, ‘कुरा सुन्नु बुढाको ।’ पृथ्वीनारायण शाहले आफ्नो ‘दिव्योपदेश’मा ‘बुढा मरै, भाका सरै’ भनेका थिए । त्यस भनाइको अर्थ बुढाबुढीचाहिँ मरेर जान्छन् । तर, उनीहरूको मातृभाषा, लोक संस्कृति, चलन र परम्पराचाहिँ उनीहरूभन्दा पछिको पुस्तामा सरेर जान्छन् । अर्थात्, कालगतिले मरेर जाने बुढाबुढीले आफू मरेर गए पनि आफ्ना सन्तानलाई यो धर्तीभरिका सबै जातिभन्दा आफूलाई फरक जाति भनेर चिनाउन, आफ्नो पुर्खाको गौरव राख्न, आफ्नो माटामा दरो भएर बाँच्न चाहिने पुर्खाको ज्ञान, अमूल्य अनुभव, इतिहासका पाठ, हामी को हौँ भनेर चिनाउने आफ्ना मिथक, लोककथा र लोक साहित्य (लोकगीत, लोकगाथा, वंशावली, उखान, टुक्का, गाउँ खाने कथा, सबाई, लोक उपमान, आदि), लोक संस्कृति (पोसाक, पहिरन, चाडबाड, पूजाआजा, लोकाचार, जातीय भोजन, ओखतीमुलो, झारफुक, लोकोपचार, बालीनाली, लोक विज्ञान, लोक प्रविधि, लोककला, लोकखेल, भाँडाकुँडा, हातहतियार, आदि) हिमाल, पहाड र तराईको धरातल र त्यहाँका जन्तु, वन–जंगल, बोटबिरुवा, खोलानाला, उकाली–ओराली र छिमेकका अरू जातिसँग लेनदेन र होड गर्दा लाप्पा खेलेर जीविकोपार्जनका आफ्नाआफ्नै परम्पराबाट आएका संस्कार शिक्षा र अर्तीका रूपमा सिकाएरै सार्ने गर्छन् । 

सचेत बुढाबुढीले आफ्ना सन्तानलाई लोक परम्परा यसै गरी सार्ने हुनाले लोक ‘भाका’ मर्दैन र लोप हुँदैन भन्ने पृथ्वीनारायण शाहको भनाइ हो । तर, वर्तमान नेपालमा पहिलेजस्तै गरी, तर अलिक उमेर खाएर, बुढाबुढीचाहिँ अवश्य मर्छन् र मर्दै छन्, तर पृथ्वीनारायण शाहले भनेजस्तो ‘भाका’चाहिँ सन्तानमा सरेर गइरहेको छैन । बुढा मरिरहेका छन्, भाका सरिरहेको छैन । यसले गर्दा हाम्रो आफ्नोपन चिनाउने हाम्रो भाषा, संस्कृति र परम्परासँगै हाम्रो अस्मिता र चिनारी नै लोप हुने बाटामा ढुन्मुनिँदै छ । यस संकटबाट जोगिन ‘कुरा सुन्नु बुढाको’ भनेर हामीलाई हाम्रो उखानले घचघच्याइरहेको छ, तर हामीलाई ‘विनाशकाले विपरीत बुद्धिः’ (नासिने वेलामा बुद्धि बिब्ल्याँटो हुन्छ) भइरहेको छ । हामीलाई माल पाउन्जेल चाल नपाउने रोग लागेको छ । यो लेख त्यसै रोगको ओखती होला कि ?
०००

अहिले विकेन्द्रित सरकारलाई कसरी आफ्नो ठाउँको विकास छिटो, दिगो, जनमुखी र प्रभावकारी बनाउने भन्ने समस्या परेको छ । यस लेखमा कसरी माल पाएर चाल नपाएको सरकारको त्यो रिक्ततालाई आफ्नै साधन र स्रोतबाट बलियोसँग प्रभावकारी रूपमा पूरा गर्न सकिन्छ भन्ने एउटा सूत्र छ । त्यो सूत्र हो विकासमा ज्येष्ठ नागरिकहरूको उचित उपयोग । ज्येष्ठ नागरिकको उपयोग राष्ट्रिय विकासमा कसरी गर्न सकिन्छ भन्ने त्यसै नमुनालाई वर्तमान नेपालको प्रादेशिक र विकेन्द्रित संरचनामा स्थानीय सरकारहरूलाई परेको विशेषज्ञहरूको खाँचो पूरा गर्न उपयोग गर्न सकिन्छ भन्ने चर्चामा यो लेख केन्द्रित छ ।

नेपालमा ज्येष्ठ नागरिकहरू प्रायः काम नलाग्ने, धर्तीलाई र राष्ट्रलाई भार अनि विकास र उन्नतिमा बाधा पु‍¥याउने र अड्को तेस्र्याउने जनता ठान्ने चलन छ । सरकारले कर्मचारीलाई ५८ वर्षमै राष्ट्रलाई काम नलाग्ने घोषित गर्छ, विश्वविद्यालयले ६३ वर्ष पुगेपछि विश्वविद्यालयलाई काम नलाग्ने घोषित गर्छ, अनि सरकारले न्यायाधीशहरूलाई चाहिँ ६५ वर्ष पुगेपछि न्याय दिन नसक्ने ठान्छ, तर उमेरको यो हदबन्दी राजनेताहरूलाई चाहिँ छैन । राजनेताहरूचाहिँ कहिल्यै पनि ज्येष्ठ नागरिक नै हुँदैनन् !

राजा महेन्द्रका पालामा नेपाल भारतको दक्षिणी सिमाना पारिबाट राति चोर, डाँका र लुटेराहरू आई सीमावारिका जनतालाई धेरै सताएर आजित पारेका थिए । त्यसको समाधान गर्न राजाले ‘भूतपूर्व’ सैनिकहरूलाई सीमा क्षेत्रमा बसोवास गराइदिए । त्यसपछि त्यो समस्या काँडो झिकेजत्तिकै भयो भन्ने मैले सुनेको थिएँ । यसरी अवकाशित ज्येष्ठ नागरिकहरूको उपयोग राष्ट्रको सीमा रक्षा गर्न राजा महेन्द्रले उपयोग गरेका थिए । 

दैनिक हाजिरीबाट अवकाशित भए पनि सरकारले नै बेग्ला–बेग्लै विषय र क्षेत्रका थुप्रै विशेषज्ञलाई सल्लाहकार र परामर्शदाताका रूपमा उपयोग गरिरहेको छ । विशेषज्ञ र अनुभवी ज्येष्ठ नागरिकहरूको यस्तो उपयोग सरकारी निकायले बढ्ता गरेका छन् कि निजी उद्यमी र संस्थाहरूले बढ्ता गरिरहेका छन्, त्योचाहिँ म ठ्याक्क अड्कल गर्न सक्दिनँ । बेग्ला–बेग्लै विषय र क्षेत्रका यस्ता विशेषज्ञहरूको सल्लाह, परामर्श र उपयोग लिएर नै स्थानीय तहको रिक्तता पनि पुर्ताल गर्न सकिन्छ भन्ने अनेक उदाहरण अघि सार्न सकिन्छ ।

(क) नेपालका गाउँ–गाउँमा जन्मेका बेग्ला–बेग्लै विषय र क्षेत्रका विशेषज्ञहरू, व्यापारीहरू र उद्योगपतिहरू गाउँ छाडेर काम खोज्न उहिल्यै देशका केन्द्र र विदेशतिर पसेका होलान् । अवकाश पाएपछि तिनीहरू धेरैजसोलाई फुर्सद हुन्छ । आफ्नो जन्मथलो छाडेर देश–विदेशको कुनै कुनामा पुगे पनि आफ्नो जन्मथलोको माया मर्दैन । आफ्नो जन्मथलामा विकासको उज्यालो नपुगेको र अव्यवस्था भएको कुराले तिनीहरू धेरैजसो फत्र्याकफत्र्याक भएका हुन्छन् । आफ्नो जन्मथलाको विकासमा कोही अघि सरिदिए अनि कसैले समन्वय गरिदिए, सकेसम्म तन, मन, धन दिन ती सधैँ तम्तयार हुन्छन् । स्थानीय सरकारले आफ्नै क्षेत्रको विकासमा यस्तो मनकारी जनशक्तिको खोजी र सकेसम्म उपयोग गर्नुपर्छ । 

(ख) नेपाल सरकार (केन्द्रीय, प्रादेशिक र स्थानीय) को सबभन्दा ठूलो कमजोरी केमा भएजस्तो लाग्छ भने, सरकारसँग आफ्नो मातृभूमि छाडेर परदेश गएका यस्ता उपयोग गर्न सकिने विशेषज्ञहरूको लगत (को–को छन् ? देशभित्र अथवा विदेशमा ती कहाँ–कहाँ छन् ? कुन–कुन विषयका ज्ञाता छन् ? आफ्नो ठाउँको विकासमा कसरी सहयोग पु‍¥याउन सक्छन् ? तिनीहरूको फोन नम्बर, इमेल, फेसबुकजस्तो ठेगाना) नै छैन । सबै तहका सरकार लागेर यस्ता विशेषज्ञको लगत बटुल्न आजैदेखि थालिहाल्नुपर्छ । तिनीहरूको एउटा राष्ट्रिय सञ्जाल बनाउनुपर्छ अनि विकासमा तिनीहरूको सकेसम्म उपयोग गर्नुपर्छ । यसबाट ज्येष्ठ नागरिकलाई पनि हामी यो देशको विकासमा लागेका छौँ, हामी देश र धर्तीका लागि भार होइनौँ भन्ने सन्तोक लाग्छ ।

(ग) यस्ता विशेषज्ञ आफ्नै गाउँठाउँका मात्र नभएर जहाँका ज्येष्ठ नागरिक भए पनि हुन्छ, विकासमा उपयोग गर्न सकिन्छ । जागिरमा हुँदा भन्दा अवकाशित हुँदा कर्मचारीहरू भित्री मनैदेखि लागेर काम गर्न सक्छन् । सरकारी पदमा बस्दा कर्मचारीहरूले विकासमा भन्दा यथास्थितिमा बिताउनुपर्ने वातावरण हुन्छ ।

(घ) आफ्ना छोरानातिलाई उद्योग र व्यापार गर्ने जिम्मा लगाइसकेका स्वस्थ उद्योगपति र व्यापारी ज्येष्ठ नागरिकहरूले गाउँ–गाउँ र कुनाकाप्चामा भएका उद्यम र आयस्रोत केही नभएका नेपालीलाई कसरी थोरै पैसाले व्यापार गर्न थाल्ने र कुन–कुन उद्योग कुनै ठाउँमा कसरी खोल्ने र कसरी व्यापार गर्ने भन्ने कुरो आफैँ लागेर प्रयोगात्मक रूपमा सिकाउन र तालिम दिन सक्छन् ।

(ङ) नेपालका अवकाशित बुढा डाक्टरहरूले कुनै नेपाली पनि आफूसँग पैसा नभएकैले उपचार नपाएर नमरोस् र नरोगाओस् भन्ने सामाजिक सेवाको सञ्जाल आफ्नै खर्चमा पनि बनाउन सक्छन् र बिरामीको सेवा गर्न सक्छन् । सबै तहका सरकारले डाक्टरको त्यस्तो सञ्जालसँग समन्वय गरेर कुनाकाप्चाका आफ्ना बिरामीको स्वास्थ्य रक्षा गर्न सक्छन् । सरकारले पनि यस्ता काममा समन्वय गर्न सक्छ र गर्नुपर्छ ।

(च) नेपालको प्रशासनबाट सर्वसाधारण जनताले चित्त बुझ्दो सेवा पाएको अनुभव गरेको छैन । सबै प्रशासक एकैनासका त हुँदैनन्, थुप्रै राष्ट्रवादी र विकासप्रेमी प्रतिभाशाली प्रशासक म नै चिन्छु, तर हाम्रो सरकारको संयन्त्र कस्तो छ भने त्यहाँ आएर केही गरूँ भन्ने भावना भएको मान्छे निकम्मा, दिशाहीन र यथास्थितिवादी बन्न त सजिलै सक्छ, तर चाहेजस्तो क्रान्तिकारी परिवर्तन र जनसेवा गर्नचाहिँ अड्का र झमेला थुप्रै आउने, अनि नुनको ढिको फोर्नचाहिँ गाह्रो पर्ने र प्रचलित गोरखधन्दामै परेर दिशाहीनतामै योगदान गर्ने एउटा सामान्य पुर्जामा परिणत हुने सम्भावना देखिन्छ । अवकाश पाइसकेका कुशल र देशभक्त प्रशासकले चाहिँ नेपालको स्थानीय, प्रादेशिक र केन्द्रीय प्रशासनयन्त्रलाई कसरी जनमुखी, अग्रगामी र परिणाममुखी बनाउन सकिन्छ भनेर सिकाउन सक्छन् ।

(छ) आफ्ना जमानामा सफल बुढा यातायात व्यवसायीलाई नेपालमा कुन–कुन नयाँ–नयाँ ठाउँमा यातायात सेवा कसरी चलाउन सकिन्छ र आफ्नो ठाउँको पर्यटन उद्योगमा र आफ्ना ठाउँका युवाका रोजगारमा आमूल परिवर्तन गर्न सकिन्छ भन्ने कुरो उनीहरूले सिकाउन सक्छन् । नेपालमा धार्मिक यातायात, मनोरञ्जन स्थल जोड्ने यातायात, कलात्मक र साहित्यिक यातायात अनि ऐतिहासिक स्थल, वनभोज व्यवसायजस्ता अनेक यातायात व्यवसाय, होटेल व्यवसाय र अन्य सहायक व्यवसायलाई यसै सूत्रअनुसार जोड्ने काम गर्न सकिन्छ । 

(ज) जागिर र रोजगारको खोजी गर्दै आफ्नो जन्मथलो छाडेर बाहिरिएका थुप्रै ज्येष्ठ नागरिकलाई स्वास्थ्य र सुरक्षाको मात्र सरकारले जिम्मा लिइदिए, उनीहरूकै जन्मथलामा एकीकृत बस्ती बनाएरै भए पनि पुनर्वास गराउन सकिन्छ । आमाबाबु र हजुरबा हजुरआमालाई भेट्न उनीहरूका केटाकेटीहरू सहर–बजारबाट वेला–वेलामा आउँछन् र रमाउँछन् । यसरी सुनसान बनाइएका गाउँबस्तीलाई पुनर्जीवन दिन पनि ज्येष्ठ नागरिकको उपयोग गर्न सकिन्छ ।

(झ) हाम्रो राष्ट्रलाई ज्येष्ठ नागरिकको सबभन्दा ठुलो खाँचो पर्ने कुराचाहिँ हाम्रो जातीय, सांस्कृतिक र भाषिक ज्ञान हो अनि त्यो ज्ञानचाहिँ ज्येष्ठ नागरिकलाई जति अरू कसैलाई पनि हुँदैन । हामी जति सजिलै हाम्रो मातृभाषा र संस्कृति सधैँका लागि बिर्सन सक्छौँ, त्यति सजिलै फेरि चाहिएका वेलामा फर्काउन सक्दैनौँ । हामी नेपाली हौँ, हामी फलानो जातिका हौँ, फलानो चालचलन हाम्रो हो, हाम्रो पोसाक फलानो हो, फलानो खानेकुरा हाम्रो हो, फलानो लोकगीत हाम्रो हो, फलानो नाच हाम्रो हो, फलानो लोककथा हाम्रो हो भन्ने जस्ता अरूलाई देखाउने र अरूका अगाडि हाम्रो वास्तविक चिनारी दिने हाम्रो मातृभाषा, चालचलन, संस्कृति, लोक व्यवहार र लोक विश्वासका कुरा हरेक परिवारका ज्येष्ठ नागरिकलाई जति अरूलाई थाहा हुँदैन । हाम्रो भाषा, संस्कृति र परम्पराका जुन–जुन कुराको ज्ञानले हामीलाई सबभन्दा आलो हृदय र नेपालीपन दिन्छ, त्यो ज्ञान त ज्येष्ठ नागरिकले मात्र तालिम दिएर नसिकाई नयाँ पुस्तामा सर्दै–सर्दैन । 

गएको कात्तिक २७ गते मैले दैलेखको दुल्लु पटाङ्गिनीमा ‘देउडा’, ‘काशीरामको भारत’, बालख जन्मेको दिनदेखि ६ दिनसम्म गाइने ‘धमारी’, बिहे–बर्तमनका मागलका रूपमा गाइने ‘झोडा’, ‘खाँडो जगाउने’, ‘भैलो’, रोपाइँमा गाइने गीत ‘अबाली’, त्यस्तै ‘मारुनी’, ‘पञ्चै बाजा’, ‘फड्को’ र लोक सङ्ग्रहालयका सर्दामजस्ता हाम्रो लोक परम्परासित नङमासु भएर जोडिएका अनेक लोक सांस्कृतिक कुरा देखेँ । हाम्रो अस्मिता चिनाउने यस्ता लोक संस्कृतिको रक्षा गर्ने जिम्मा ज्येष्ठ नागरिककै हातमा रहेछ । पछिल्लो पुस्तामा यस्ता अनेक लोक सांस्कृतिक सम्पदालाई सार्न हाम्रो राष्ट्र अविवेकी भएकाले सम्भव भइरहेको छैन । मैले कालिकोटका तुलाराज विष्टसँग हाम्रा किसिम–किसिमका कुलदेवता, मस्टा र कुलदेवीहरूका विषयमा अनि लोकज्ञान र लोक विज्ञानका अनेक सूचना लिएँ । 

थोमस मेकालेले भारतमाथि बेलाइती सरकारको शासन दिगो बनाउन हाम्रो परम्परागत संस्कृति र संस्कृत शिक्षा दिने परम्परालाई चटक्क छाडेर त्यसका ठाउँमा अङ्ग्रेजी भाषा अनिवार्य बनाएर लाद्‍नुपर्ने सिफारिस गरेर हानिएको घातक र कुटिल अस्त्रलाई हामी नेपालीले पनि ‘शिक्षा’ ठानेर स्वीकार गर्नाले हामीलाई आफ्नो मातृभाषा, संस्कृति र परम्परा सिक्ने उद्योग चटक्क छाडेर विदेश, विदेशी भाषा र विदेशी चलन अपनाउने कहिल्यै निको नहुने रोग लागेको छ । यस रोगबाट नेपालीहरूको उद्धार गर्न कसैले सक्छन् भने तिनै ज्येष्ठ नागरिकले सक्छन् ।

वर्तमान नेपालमा पहिलेजस्तै गरी तर अलिक उमेर खाएर बुढाबुढीचाहिँ अवश्य मर्छन् र मर्दै छन्, तर पृथ्वीनारायण शाहले भनेजस्तो ‘भाका’चाहिँ सन्तानमा सरेर गइरहेको छैन । बुढा मरिरहेका छन्, भाका सरिरहेको छैन ।

स्थानीय सरकारले हरेक जातिको आआफ्नो लोपोन्मुख संस्कृति सिकाउन र तिनीहरूलाई आयआर्जनको स्रोत बनाउन ज्येष्ठ नागरिकलाई गुरु बनाएर पछिल्लो पुस्तामा संस्कृति सिकाउने कक्षा र तालिमको व्यवस्था गर्न सक्छ, जसलाई त्यसै जातिकाले मात्र होइन, सिक्न मन गर्ने अरूले पनि सिक्न सकून् । तिनीहरूका उद्योगका उत्पादनलाई सरकारले आफ्ना कार्यालयमै प्राथमिकता दिएर उपयोग गर्ने अभियान थाल्न सक्छ अनि ती सर्दामका लागि बजारको चाँजो मिलाइदिन सक्छ । ‘ज्येष्ठ नागरिकलाई गुरु बनाएर हाम्रा परम्परा सिकौँ’ भन्ने अभियान हरेक प्रदेशका र हरेक पालिकाका हरेक जातिले सरकारको सहयोग र भरबाट थाल्नुपर्छ भन्ने मलाई लाग्छ ।

(ञ) मातृभाषा जगाउने कार्य क्रम अहिले लम्जुङको दुराडाँडामा बोल्नुपर्ने दुरा भाषा दुरा जातिलाई बोल्न आउँदैन, मुक्तिनाथ घिमिरे भन्ने ज्येष्ठ नागरिकलाई मात्र आउँछ । कुसुन्डा भाषा फरर्र बोल्न सक्ने रोल्पाकी कमला खत्री ५० वर्षजतिकी भइन् होला । त्यो भाषा फरर्र बोल्न सक्ने उनका बडाबाकी छोरी देउखुरीकी ज्ञानीमैया सेनले ८० वर्ष काटिसकिन् होला । त्यो भाषा अलिअलि बोल्न जान्ने उनीहरूका मामा दाङका प्रेमबहादुर शाहीले पनि ८० वर्ष काटिसके । ज्ञानीमैयालाई गुरु थापेर भाषा वैज्ञानिक भोजराज गौतम कुसुन्डा भाषा फरर्र बोल्ने भएका छन् ।

अहिले भाषा आयोगले पनि ज्ञानीमैया र कमला खत्रीलाई गुरु बनाएर कुसुन्डाहरू र अरू रहर गर्नेलाई कुसुन्डा भाषा सिकाउँदै छ भन्ने मैले सुनेको छु । खोटाङको च्यास्मिटारमा तिलुङ भाषा बोल्न जान्ने त्यस्तै ३(४ जना ज्येष्ठ नागरिक छन् अरे ! तिलुङहरूलाई उनीहरूको मातृभाषा फर्काउन तिनै ज्येष्ठ नागरिकलाई गुरु बनाउन सकिन्छ । हालसालै डा. तारामणि राई र भीम गौतमले इलाममा लुङ्खिम भाषा बोल्न जान्ने ७ जना वक्ता फेला पारेका छन् । तिनीहरूलाई गुरु बनाएर भोजपुरका लुङ्खिम र इलामका लुङ्खिमहरूलाई पनि उनीहरूको मातृभाषा र संस्कृति सिकाउन र फर्काउन सकिन्छ ।

हाम्रा सरकार चलाउनेहरूको अविवेक र मातृभाषी समुदायको सचेतताको कमीले अनि सम्भवतः भारतमा लागेको थोमस मेकालेको शिक्षा नीतिको कुटिल डढेलो नेपालसम्म सल्किनाले हाम्रा मातृभाषा, संस्कृति र परम्पराहरू हाम्रा ज्येष्ठ नागरिकहरूसित टाँसिएर उनीहरूका लाससँगै डढिरहेका छन् । यसपालि मेरी ९२ वर्षकी आमा बित्नुभयो । उहाँ नै मेरो मातृभाषा र मैले जानेको संस्कृतिकी गुरु हुनुहुन्थ्यो । उहाँलाई आर्जे हेर्न आउँथ्यो । काग कराएको अर्थ लगाउन आउँथ्यो । सकुन अपसकुनको ज्ञान थियो । साइत पर्ने–नपर्ने थाहा थियो । बिजुली चम्केको हेरेर, नाकको चन्द्र श्वास र सूर्य श्वासको फलाफल विचार गर्न आउँथ्यो । हात हेर्न पनि आउँथ्यो । जिउको लक्षण हेरेर भविष्यवाणी गर्न आउँथ्यो । जडीबुटीको ज्ञान थियो । आफ्ना सबै सन्तानलाई दश जीवनसम्म सिकाउन पुग्ने उपदेश र अनुशासनको ज्ञान थियो ।

आदर्श नेपाली हुन र आदर्श नेपाली बनाउन चाहिने सबै संस्कार थियो । तर, मेकालेको एबिसिडीबाट आउने गोरखधन्दा र आफ्नो सांस्कृतिक परम्परालाई लत्याएर असभ्य मूर्खता ठान्ने ‘विद्वता’ चाहिँ थिएन । आफूले नजानेका ठाउँमा जहिले पनि म उहाँसितै मेरो मातृभाषा, संस्कृति, लोकाचार र परम्पराको कुरा सोध्थेँ, तर मेरी प्रथम गुरुसँगै मेरो संस्कृतिको शिक्षा र उहाँले जानेको अक्षय लौकिक ज्ञान उहाँकै चितासित डढेर खरानी भयो । जुन आमा र हजुरआमाहरूले हामीलाई हाम्रो संस्कृति, परम्परा, लोकाचार र कर्तव्याकर्तव्य सिकाए, अङ्ग्रेजीको ‘एबिसिडी’ पढेनन् भनेर हामी कसरी उनीहरूलाई अशिक्षित र अन्धविश्वासी ठह¥याउन सक्छौँ ? हाम्रो नेपाली शिक्षा व्यवस्थाले त ती हाम्रा मातृभाषा र लोक संस्कृतिका गुरुहरूलाई ‘अशिक्षित’ नै ठह-याइरहेको छ !  मलाई त सबै जातिले आआफ्ना गाउँमा आफ्नो संस्कृति र परम्परा ज्येष्ठ नागरिकबाट सिक्ने र सिकाउने औपचारिक अथवा अनौपचारिक कक्षा थालेर आआफ्नो जातीय गौरव र सांस्कृतिक समृद्धि जोगाउन आजै संकल्प गर्नुपर्छ भन्ने लाग्छ ।