• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
माधवी बन्जाडे काठमाडाैं
२०७६ असार ७ शनिबार ०९:००:००
सम्झना

काकीलाई ‘अलच्छिनी’ करार गर्ने त्यो चिठी

२०७६ असार ७ शनिबार ०९:००:००
माधवी बन्जाडे काठमाडाैं

१३ वर्षको कलिलो उमेरमै भित्रिनुुभएको थियो काकी हाम्रो घरमा, कान्छा काकाको दुलही बनेर । म त्यसवेला सात वर्षकी थिएँ । आखिर १३ वर्षे उमेर किशोरावस्था प्रवेशको उमेर न हो, केही चञ्चलता र धेरै जिज्ञासाले भरिएको । कम उमेरमै दुलही बनेकी काकीलाई त्यसवेला कस्तो लागेको हुँदो हो ? सुरुमा काका–काकी खुलेर बोलेको मैले सुनिनँ । त्यसवेला भर्खरै जोडी कसेका बेहुला–बेहुली अरूका अगाडि प्रायः एक–आपसमा कुरा गर्दैनथे । तर, काकीका चञ्चल आँखाले मसँग केही कुरा गर्न खोजेझैँ लाग्थ्यो । 

उमेरमा ६ वर्षको अन्तर भए पनि केही समयपछि नै हामी साथीजस्तै थियौँ । एकदम मिल्थ्यौँ । मेरो मामाघर र काकीको माइतीसँगै थियो । स्कुल केही दिन बिदा हुनासाथ सँगै मामाघर जान्थ्याैँ । अनि यो दिनसम्म फर्कनु भनेर दिएको म्याद नाघेपछि घर फर्केर ठूलाबडाको गाली खानु उपक्रम बनिसकेको थियोे हाम्रो । दक्षिणाको पैसा बाटामै सक्थ्याैँ, केही खित्रीमित्री किनेर । त्यो खित्रीमित्रीको स्वादले ढिलो गरी फर्केकोमा घरमा खाइने गालीको तीतो भुल्न खोज्थ्यौँ । 

त्यो दिन पनि त्यस्तै भयो । तिजको बिदा सकिएर मेरो स्कुल सुरु भइसकेको थियो । बाटोमा बुढामावली (काकीको मामाघर) पथ्र्यो । मामा घरबाट फर्किँदै गर्दा हामी दुई दिन त्यतै भुल्यौँ । घरभित्र पनि पस्न पाएका थिएनौँ, आमाले झपार्न थाल्नुभयो । हजुरआमाले त काकीलाई झन् धेरै सुनाउनुभयो । दुई दिन थप बुढामावलीमा बिताउने रहर र जिद्दीको आधा हिस्सा त मेरो पनि थियो । बालक नै भएकाले अझ आधाभन्दा बढी थियो । तर, मेरो भागको गाली पनि काकीले नै सुन्नुप-यो । किनकि, उहाँ बुहारी भइसक्नुभएको थियो, म छोरी नै थिएँ । 

पारिवारिक संरचना र बन्धनका कारण महिला–महिलाबीच गरिने विभेदको प्रकार निर्धारण हुने समाजमा लिंगका आधारमा हुने विभेदको आयाम त झनै फराकिलो थियो । एउटा वैशाखमा मेरो कलिलो आँखामा यस्तो दृश्य घोपियो, जुन अझै ताजै छ । काका भारतबाट घर आउनुभएको थियो । मकै छर्ने सिजन थियो । काका जोत्दै हुनुहुन्थ्यो, काकी डल्ला फुटाउँदै । म मकै छर्दै थिएँ । त्यसैवेला हजुरआमाले चिया पठाउनुभयो ।

काका र मेरो भागमा पानी नराखेको चिया थियो भने काकीको भागमा पानी पनि राखेको । आमा र काकीका पालासम्म पनि घरमा दुई थरी खाना पाक्थ्यो । महिलाका लागि आँटो र पुरुषका लागि भात । त्यतिवेला महिलाले भात खान दसैँ वा विवाह, व्रतबन्धजस्ता कुनै अवसर नै कुर्नुपथ्र्यो । कुरा परिवारको आयस्रोतसँग मात्र जोडिएको थिएन । निम्नमध्यम वर्गीय परिवारमा महिला–पुरुषबीच खाना नै फरक पार्नुपर्ने अवस्था थिएन । फरक पारेको थियो त घोडाले खाएको र छोराले खाएको खेर जाँदैन भन्ने सोचले ।अरू धेरैकै जस्तो हाम्रो घरका पनि सबै पुरुष घर चलाउने खर्चको जोहो गर्न भारत जान्थे, काम गर्न । यस्तोमा हजुरआमामा छोराहरू विशेष हुन् भन्ने सोच नहुने कुरै भएन । त्यो एउटा घटना सधैँ सम्झना आउँछ । 

दसैँको पूर्णिमाको दिन थियो, घरको काम सकेर हामी सबै राम मेला हेर्न ठूला पोखरा जाने तयारीमा थियौँ । सबैले खाना खाइसकेका थियाैँ, आमा भान्साको काम सक्दै हुनुहुन्थ्यो । बुबा सधैँझैँ खाना खाएर आराम गरिरहनुभएको थियो । आँगनमा कल्याङ्मल्याङ् सुनियो । एक–दुईजना गर्दै हाम्रो घरमा मान्छेको भिड बढ्न थाल्यो । हजुरआमा माथिपट्टीको घरमा बस्नुहुन्थ्यो । बुबालाई सन्चो नभएको भन्दै हजुरआमालाई तल झारियो । आमा एउटा कुनामा रुँदै गरेको देखेर हजुरआमा सम्झाउँदै हुनुहुन्थ्यो, ‘सन्चो हुन्छ नरो, लागन (देवी–देउता) पो लाग्यो कि !’ 

कलिलैमा बिहे गरेर आउनुभएकी काकीले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी राख्नुभएन । लोग्नेको खराब लत हटाउन परदेशसम्मै पुग्नुभयो । त्यतिन्जेलसम्म सुशील बुहारी काकी, काका स्वयंको गलत निर्णयका कारण एकाएक अलच्छिनी कसरी हुनुभयो ? 

मेरी आमालाई सम्झाइरहेकी हजुरआमालाई पो एकाएक दुई–तीनजनाले सिरकले च्यापे । मैले अझै घरमा के भइरहेको हो केही मेसो पाउन सकेकी थिइनँ । खाना पकाएका ठूला भाँडा कहिल्यै माझ्न नपठाउने आमाले त्यस दिन मलाई भाँडा माझ्न भन्नुभयो । पाहुना आएकी एकजना दिदी र म मिलेर भाँडा माझ्यौँ । त्यसपछि कसलाई के भएको भनेर छिमेकी काकीलाई सोधेँ । उहाँले भन्नुभयो, ‘कान्छा बा रहनुभएन रे !’ मैले कान्छो हजुरबुबा बित्नुभएछ भन्ठानेँ । त्यसो भए हाम्रो घरमा मान्छे किन भेला भएका ? मलाई अचम्म लाग्यो । फेरि सोधेँ, ‘को कान्छा बा ?’ काकीले भन्नुभयो, ‘भारतमा भएका तेरा कान्छा काका के !’ गाउँमा एक घन्टापरको 
दूरीमा दुईवटा मात्र थिए ल्यान्डफोन, तिनैमध्ये एकमार्फत आएको कान्छा काकाको मृत्युको अप्रिय खबरले पो हाम्रो आँगनलाई बिस्तारै कोलाहलमय बनाएको रहेछ । 

मेरो बालमनोविज्ञानमा २३ वर्षे काकाको आत्महत्याको खबरले ठूलै झट्का दियो । आँखाभरि काकी झल्झली घुमिरहनुभयो । काकीकै मायाको धागोले बेरेर हो वा किन मलाई अझै पनि यदा–कदा काका कतैबाट टुप्लुक्क आइपुग्नुहुन्छ कि’झैँ लाग्छ । सायद दोहोरिने भइदिए ! काकालाई लटरी खेल्ने आदत लागेको रहेछ । कमाएको पैसा सबै त्यसैमा खत्तम । सँगै भएपछि सुध्रिनुहुन्छ कि भनेर घर सल्लाहमा काकी पनि एक वर्षदेखि भारतमै बस्दै आउनुभएको थियो । आखिर जुवाको लत न प-यो, काका सुध्रिनुभएन । काकीले कमाएर पठाएको पैसाले घर गुजारामा जेनतेन भरथेग पुगेको थियो । तर, काकाले लिएको ऋण भने बढ्दै गयो । ठूलै लटरी पारेर एकैपटकमा ऋण तिर्ने आशामा रहेका काका सायद बिस्तारै ‘डिप्रेसन’मा जानुभयो र अन्ततः आत्महत्याको बाटो रोज्नुभयो । त्यसवेला अठार वर्षको हुनुहुन्थ्यो काकी, नेपालको प्रचलित कानुनअनुसार भर्खर मात्र विवाह गर्ने उमेर पुगेकी । 

पाँच–सात दिनपछि काकीलाई घर ल्याइयो । बाटोबाटै चिच्याएको सुनेर म घरपछाडि गएर एक्लै बसेँ र केहीबेर रोएँ । काजकिरिया अवधिभर सेतो पहिरनमा रहेकी काकीलाई मैले कुनै दिन हेर्न सकिनँ । किरिया सकिएपछि मात्रै फरक कपडामा हेरेँ । म काकीका अगाडि जान्थेँ । स्नेही नजरले हेर्थेँ । मन कुँडिएर आँखाबाट केही थोपा आँसु पनि झर्थे । अनि म रुन्थेँ, तर बोल्न सक्दिनथेँ । काकीको पीडामा मलम लगाउन, कसरी उहाँका पीडा बाँड्न सकिएला भनेर त सोच्थेँ, तर केही गर्न सक्दैनथेँ । 

किरिया सकिएपछि गाउँमा अनेक खालका कुरा हुन थाले । काकीले नै काकालाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाउन थालियो । घटना हुँदा भारतमै रहनुभएका माइलो काकाले ‘कान्छो काकाले लेखेर छाडेको भनिएको’ चिठी पठाउनुभयो । त्यो चिठीमा के थियोे ? मलाई अहिलेसम्म थाहा छैन । तर, लाग्छ त्यो काकीलाई दोषी ठहर गर्ने प्रपञ्च थियो । त्यसपछि त झन् काकीले अलच्छिनी, पोई टोकुवा, बुढो खाएर पनि घरै बसेकी भन्नेजस्ता दुर्वचन पाइलैपिच्छे सुन्नुप¥यो । त्यसपछिका कुनै दिन मैले काकीका ओभाएका आँखा कहिल्यै देखिनँ । काकीलाई बेस्कन अँगालो हालेर भन्न मन लागेको थियो– ‘म छु काकी, पीर नगर्नु ।’ तर १२–१३ वर्षकी मैले कसरी त्यति ठूलो ढाडस दिन सक्थेँ र ?

पैँतालीस दिन पुगेपछि काकीले माइती जान बिदा माग्नुभयो । ‘कहिले फर्किऊँ’ भनेर सोध्दा ‘तेरो जेठाजु आएपछि मात्रै आएस्’ भन्ने जवाफ पाएपछि काकी रुँदै माइत जानुभयो । त्यसपछि काकी कहिल्यै घर फर्किनुभएन । र, यतिखेर मलाई लाग्छ, नफर्किएर काकीले राम्रै गर्नुभयो । किनकि, त्यसवेलाको समाज र घरको परिवेशले काकीलाई राम्रोसँग बाँच्न दिँदैनथ्यो ।

कलिलै उमेरमा बिहे गरेर हाम्रो घर भित्रिनुभएकी काकीले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी राख्नुभएन । लोग्नेको खराब लत हटाउन परदेशसम्मै पुग्नुभयो । काकाले लटरीमा पैसा सक्दा आफ्नो कमाइ जोगाएर घर खर्च पनि पठाइरहनुभयो । त्यतिन्जेलसम्म सुशील बुहारी काकी, काका स्वयंको गलत निर्णयका कारण एका–एक अलच्छिनी कसरी हुनुभयो ? आखिर त्यो कसको र कस्तो चिठी थियो, जसले काकीलाई अलच्छिनीको प्रमाणपत्र दियो ?