• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सुजित मैनाली काठमाडाैं
२०७६ असार १४ शनिबार ०७:४४:००
इतिहास

अर्जुनदृष्टिमा सन्देहको लेपन

२०७६ असार १४ शनिबार ०७:४४:००
सुजित मैनाली काठमाडाैं

दुःखान्त नियति भोगेका पात्रले समवेदनासँगै अतिरिक्त आकर्षण पैदा गराउँछन् । त्यस्ता पात्र चिरस्मरणीय हुन्छन् । दुर्दान्त नियति भोगेका महाभारतका दुई पात्र भीष्म र कर्ण यसका उदाहरण हुन् ।  अर्जुन त्यस्ता पात्रमा पर्दैनन् । तर पनि उनी महाभारतका चिरस्मरणीय पात्रको सूचीमा छन् । उनको पात्रता चिरकालिक हुनुका मुख्यतः दुइटा कारण छन् । पहिलो– उनी आफ्नो समयका सबैभन्दा कुशल योद्धा थिए । उनको शौर्यको आड पाएर कुरुक्षेत्रको युद्धमा पाण्डव पक्ष विजयी भएको थियो । दोस्रो– ‘महाभारत’ काव्यलाई अमर बनाउने कृष्णको विख्यात उपदेश भगवत गीताका निष्क्रिय साक्षी मात्र नभएर उनी कर्ता पनि थिए । गहकिला प्रश्नको गर्भबाट मात्रै गहन उत्तर निःसृत हुन्छ । अर्जुनले सघन प्रश्न नतेस्र्याउँदा हुन् त कृष्णको गीता अहिलेको जस्तो वजनदार हुने थिएन । 

प्रकट रूप
अर्जुन शब्दका तीनवटा अर्थ हुन्छन्– वर्ण अर्थात् दीप्ति, ऋजुता अर्थात् समता र धवल अर्थात् शुद्ध । यो नामले उनको चरित्र निष्कपट र मिलनसार थियो भन्ने संकेत गर्छ । यो नामसहित अर्जुनका जम्मा दशवटा नाम थिए । विराटपर्वमा अर्जुन स्वयंले मत्स्यदेशका राजकुमार उत्तरसमक्ष आफ्ना दशवटा नामको विवरण दिएका छन् । 

हस्तिनापुरका योद्धाहरू मत्स्यदेशका गाईवस्तु चोर्न पुगेको विराटपर्वमा उल्लेख छ । गाई चोर्न आएका हस्तिनापुरका योद्धालाई ठेगान लगाउन भनेर मत्स्यदेशका राजकुमार उत्तर रणभूमितर्फ प्रस्थान गर्छन् । तेस्रोलिंगी बृहनल्लाको भेषमा रहेका अर्जुनलाई उनले सारथि बनाउँछन् । त्यतिवेला राजा विराट सैनिकहरूलाई साथ लिएर त्रिगर्तसँग युद्ध गर्न गएका हुन्छन् । त्यही मौका छोपेर हस्तिनापुरका योद्धा गाईवस्तु हरण गर्न अग्रसर भएका हुन्छन् । 

राजा नरहेकाले देशको सुरक्षा गर्ने अभिभारा राजकुमार उत्तरको काँधमा आइलाग्छ । उनी हस्तिनापुरका योद्धाहरूविरुद्ध लड्न तम्सन्छन् । तर, मारिने भयले रथबाट उत्रिएर भाग्न खोज्छन् । उनलाई आश्वस्त गराउँदै बृहनल्लाले आफू अर्जुन भएको भेद खोल्छन् । आफूहरूलाई आश्रय दिएर ऋणी तुल्याउने मत्स्यदेशका निम्ति हस्तिनापुरका लुटेराहरूसँग युद्ध लड्ने आश्वासन दिन्छन् । उत्तरलाई बृहनल्लाको कुरा पत्याउन गाह्रो पर्छ । उनी भन्छन्, ‘मैले अर्जुनका दशवटा नाम सुनेको छु, यदि तिमीले दशवटै नाम भन्न सक्यौ भने तिम्रो कुरा पत्याउँला (विराटपर्व, ४४।७) ।’ त्यसपछि अर्जुनले आफ्ना सबै नाम बताउँछन् । 

अर्जुनका नामहरू यसप्रकार हुन्छन्– धनञ्जय, विजय, श्वेतवाहन, फाल्गुन, किरिटी, बीभत्सु, सव्यसाची, अर्जुन, जिष्णु र कृष्ण (विराटपर्व, ४४।९) । यी नामबाट आफू सम्बोधित हुनुको कारण पनि खुलाउँछन् । अर्जुनका अनुसार, राजसूय यज्ञमा धेरै देश जितेर कुतबापत प्रशस्त धनआर्जन गरेकाले उनलाई धनञ्जय भनियो । रणमैदानमा शत्रुलाई पराजित नगरी नफर्किने भएकाले विजय भनियो । उनको रथमा श्वेत अश्व नारिएका हुनाले श्वेतवाहन भनियो । उत्तराफाल्गुनी नक्षत्रमा दिउँसो जन्मिएकाले फाल्गुन भनियो ।

इन्द्रले उनको शिरमा किरिट (मुकुट) धारण गराइदिएकाले किरिटी भनियो । युद्धमा पनि बीभत्स कर्म नगर्ने भएकाले बीभत्सु भनियो । दुवै हातले गाण्डिव धनुषको डोरी तान्न सक्षम भएकाले सव्यासाची भनियो । सबैप्रति समभाव राख्ने र शुद्ध कर्म गर्ने भएकाले अर्जुन भनियो । शत्रुदमन गर्ने भएकाले जिष्णु भनियो । श्याम वर्णको भएकाले कृष्ण भनियो (विराटपर्व, १३–२२) । यसका अलावा कुन्ती अथवा पृथा (कुन्तीको अर्को नाम) को पुत्र भएकाले उनलाई कौन्तेय र पार्थ पनि भनिन्थ्यो । यद्यपि यी नामले युधिष्ठिर र भीमलाई पनि सम्बोधन गरिन्थ्यो । 

अर्जुनका सबै नामले उनको प्रकट रूपको छनक दिन्छन् । उनी वीर्यवान् थिए र एउटा वीरमा हुनुपर्ने यावत् गुण उनमा थियो भन्ने संकेत उनका नामहरूबाट मिल्छ । आफ्नो पौरुष उनले बिरासत र साधना दुवै स्रोतबाट हासिल गरेका थिए । राजकुलमा जन्मिएकाले आचार्य द्रोणजस्ता सिद्धहस्त व्यक्तिलाई गुरु थाप्ने सौभाग्य उनलाई मिल्यो । अथक साधनामार्फत् अर्जुनले कुरुकुलका सबै राजकुमारभन्दा आफूलाई अब्बल साबित गरे । द्रोणका शिष्यमध्ये अर्जुन विलक्षण थिए, जुन शस्त्रअस्त्रविद्याप्रतिको उनको गहिरो लगाव, एकाग्रता र समर्पणको उपज थियो ।  अर्जुनका नामहरूले उनको मनस्थिति र मनोविज्ञानतर्फ संकेत गर्दैनन् । अर्जुनको सग्लो चित्र कोर्ने हो भने उनको प्रकट र गुप्त व्यक्तित्व दुवैको विवेचना गर्न नितान्त आवश्यक छ । 

घटनारेखा
नियोगविधिअनुरूप कुन्तीले पति पाण्डुका निम्ति देवराज इन्द्रको सहयोग लिएर अर्जुनलाई जन्म दिएकी हुन्छिन् । अर्जुन पाण्डवमध्ये साइँला र कौन्तेयहरूमध्ये कान्छा हुन्छन् । भीष्मले सबै कुरुकुमारलाई शस्त्रअस्त्रविद्या आर्जन गर्न भनेर आचार्य द्रोणको जिम्मा लगाइदिन्छन् । गुरुको आश्रममा रहँदा अर्जुन कुरुकुमारमध्ये सबैभन्दा लगनशील सिद्ध हुन्छन् । शस्त्रअस्त्र विद्यामा सबैलाई उछिन्दै उनी गुरु द्रोणको प्रिय शिष्य बन्न पुग्छन् । 

केही व्यक्तिगत स्वार्थ पूरा हुने आशामा द्रोणले कुरुकुमारहरूको गुरु बन्न स्वीकार गरेका हुन्छन् । शिक्षादीक्षा समाप्त भएपछि कुरुकुमारहरूलाई गुरुभेटीबापत पाञ्चाल देशको अंश हडप्न लगाउने उनको अभिलाषा हुन्छ । पाञ्चाल नरेश द्रुपद र द्रोण बाल्यकालका साथी हुन्छन् । उनीहरूले एउटै गुरुकुलमा विद्या आर्जन गरेका हुन्छन् । द्रुपदसँग द्रोणको वैर हुन्छ । पाञ्चाल राज्यको भूमि हडपेर प्रतिशोध साध्ने लालसा उनीसँग हुन्छ ।

एक दिन सबै शिष्यहरू साथमा रहेका वेला द्रोणले भन्छन्– ‘राजकुमारहरू, मेरो मनमा एउटा अठोट छ । अस्त्रशिक्षा हासिल गरिसकेपछि तिमीहरूले मेरो अठोट पूरा गर्नुपर्छ । यस विषय तिमीहरूको विचार के छ (आदिपर्व, १३१।६) ?’ 

गुरुको कुरा सुनेर सबैजना मौन बस्छन् । गुरुले गुरुभेटीबापत के माग्ने हुन्, के थाहा ? तर, अर्जुन तम्सिएर अघि बढ्छन् र गुरुको अठोट पूरा गर्ने प्रतिज्ञा गर्छन् । अर्जुनप्रति द्रोणमा भरोसा बढ्छ । भावुक भएर अर्जुनको कपाल मुसार्छन् (आदिपर्व, १३१।६–८) । 

अस्त्रविद्याप्रति अर्जुनको लगावबाट पनि द्रोण प्रभावित हुन्छन् । एक दिन धनुर्विद्या अभ्यास गराउने क्रममा वृक्षमा राखिएको गिद्धको प्रतिमामाथि अर्जुनलाई निसाना साध्न लगाएर द्रोण सोध्छन्, ‘अर्जुन, के तिमीले वृक्षमा बसिरहेको गिद्ध, वृक्ष र मलाई देख्यौ ?’अर्जुन भन्छन्, ‘म सिर्फ गिद्ध देखिरहेको छु, वृक्ष अथवा तपाईंलाई देखिरहेको छैन ।’

अर्जुनको जवाफबाट प्रभावित भएर द्रोणले पुनः सोध्छन्, ‘गिद्धको कुन अंग देखिरहेका छौ ?’ ‘गिद्धको टाउको मात्र देखिरहेको छु, गुरुदेव (आदिपर्व, १३२।४–७) ।’  निसानमा स्थिर रहने अर्जुनको त्यस्तो दृष्टि समयक्रममा अर्जुनदृष्टिको नामले विख्यात हुन्छ । अर्जुनको जवाफबाट द्रोण प्रसन्न हुन्छन् । यसले भोलि गएर द्रुपदलाई पराजित गर्न सक्छ भन्ने ठानेर अर्जुनलाई अँगालो हाल्छन् (आदिपर्व, १३२।१०) । 

अर्जुनलाई अतिरिक्त प्रेम गरे पनि द्रोण उनीप्रति पूर्णतः उदार चाहिँ हुँदैनन् । आफ्नो पुत्र अश्वत्थामा सबैभन्दा श्रेष्ठ योद्धा बनोस् भन्ने उनको कामना हुन्छ । अश्वत्थामाले कुरुकुमारहरूसँगै रहेर बाबुबाट शस्त्रअस्त्रविद्या लिइरहेका हुन्छन् । अरू कसैलाई नसिकाएका केही विशेष अस्त्रविद्या द्रोणले छोरालाई गोप्य रूपमा सिकाउने गरेका हुन्छन् । यसका लागि द्रोणले पानी भरेर ल्याउन भनेर शिष्यहरूलाई सानो मुख भएको कमण्डलु दिन्छन् । अश्वत्थामालाई चाहिँ ठूलो मुख भएको गाग्री थमाइदिन्छन् । गाग्री चाँडै भरिन्छ । पानी लिएर अश्वत्थामा चाँडै आश्रम फर्किन्छन् । कुरुकुमारहरू नआउन्जेल द्रोणले छोरालाई अस्त्र सञ्चालनका केही विशेष विधिबारे शिक्षा दिने गर्छन् । 

एक दिन अर्जुनले त्यसको भेउ पाउँछन् । विशेष तरिकाले चाँडै कमण्डलु भरेर उनी अश्वत्थामासँगै आश्रम फर्किने गर्न थाल्छन् । त्यसपछि छोरोसँगै अर्जुनलाई पनि अस्त्रविद्याका दुर्लभ कला सिकाउन द्रोण बाध्य हुन्छन् (आदिपर्व, १३१।१६–२०) ।

प्रकृति र दैनन्दिनका घटनाबाट पनि अस्त्रविद्यासम्बन्धी गुह्य रहस्य बुझ्ने खुबी अर्जुनमा विकसित हुँदै जान्छ । एक साँझ अर्जुनले भोजन गर्दै गर्दा अचानक हुरी आउँछ र दियो निभाउँछ । अँध्यारोमा पनि अर्जुनले पूर्ववत् भोजन गरिरहन्छन् । खानमा अभ्यस्त भएकै कारण हातले अँध्यारोमा पनि मुखसम्म भोजन पु-याउने गरेको बोध उनलाई हुन्छ । अभ्यस्त हुन सके अँध्यारोमा पनि लक्ष्यभेद गर्न सकिने रहेछ भन्ने तत्वज्ञान उनलाई प्राप्त हुन्छ । त्यसपछि उनी राति पनि धनुर्विद्या अभ्यास गर्न थाल्छन् । एक रात द्रोणले अर्जुनको धनुषको टंकार सुन्छन् । उठेर हेर्दा अर्जुनले अँध्यारोमा लक्ष्य सन्धान गरिरहेको देख्छन् । धनुर्विद्याप्रति अर्जुनको लगन देखेर अत्यन्त प्रसन्न हुँदै अँगालो हालेर उनले वचन दिन्छन्, ‘तिमीलाई म सर्वश्रेष्ठ धनुर्धर बनाउने हरसम्भव प्रयास गर्नेछु (आदिपर्व, १३१।२३–२७) ।’ 

द्रोण अर्जुनप्रति भावुक भएझैँ अर्जुन पनि द्रोणप्रति अन्य शिष्यभन्दा बढ्ता समर्पित हुन्छन् । एक दिन नदीमा नुहाउँदै गर्दा गोहीले द्रोणको पिँडुला टोक्छ । त्यो देखेर सबै शिष्य भाग्छन् । तर, अर्जुनले वाण हानेर गोहीको पञ्जाबाट गुरुलाई मुक्त गर्छन् । आपत्मा परेका व्यक्तिलाई मद्दत गर्न तत्काल अग्रसर हुने अर्जुनको स्वभाव र साहसबाट द्रोण प्रभावित हुन्छन् । त्यस घटनाले अर्जुनको सामथ्र्य र निष्ठा दुवैप्रति द्रोणलाई विश्वस्त तुल्याउँछ । द्रोणले अर्जुनलाई ब्रह्मशिर नामक अत्यन्तै शक्तिशाली अस्त्र चलाउने र उपसंहार गर्ने कला सिकाउँछन् । भन्छन्, ‘यो अस्त्र अत्यन्तै शक्तिशाली छ, अल्पशक्ति भएको मानिसमाथि यसलाई कहिल्यै नचलाउनु (आदिपर्व, १३२।१८–२०) ।’ 

त्यतिकैमा एक दिन निषद्राज हिरण्यधनुका पुत्र एकलव्य द्रोण भएको ठाउँमा आउँछन् । द्रोणसमक्ष उनी आफूलाई शिष्य स्वीकार गर्न आग्रह गर्छन् । निषाद्पुत्रलाई शिष्य बनाउन मिल्दैन भन्दै द्रोण पछि सर्छन् । द्रोणको आश्रमबाट फर्किएर एकलव्यले लिसेलो माटो मुछी द्रोणको प्रतिमा बनाउँछन् । प्रतिमालाई गुरु मानेर उनी धनुर्विद्याको अभ्यासमा लाग्छन् ।

एक दिन द्रोणले कुरुकुमारहरूलाई सिकारसम्बन्धी तालिम लिन भनेर वनमा पठाउँछन् । उनीहरूको अगाडि एउटा कुकुर आइपुग्छ । कुकुरको मुखभित्र सातवटा वाण कोचिएका हुन्छन् । कुकुरलाई वाणको चोट लागेको हुँदैन । सातवटा वाण झन्डै एकसाथ प्रहार गरेर कुकुरलाई भुक्न नमिल्ने अवस्थामा पु¥याइएको हुन्छ । लक्ष्य सन्धान गर्न अत्यन्तै पोख्त हातबाट मात्र यस्तो गर्न सम्भव हुन्छ ।

कुकुरको मुखमा लक्ष्य सन्धान गर्ने ती अज्ञात धनुर्धरको क्षमता देखेर अर्जुनसहित सबै कुरुकुमारलाई हीनताबोध हुन्छ । खोजबिन गरेर उनीहरूले वाण प्रहार गर्ने युवक फेला पार्छन् । उनको परिचय मागिन्छ । ती युवकले जवाफ दिन्छन् ‘म निषाद्राज हिरण्यधनुको पुत्र तथा द्रोणाचार्यको शिष्य एकलव्य हुँ (आदिपर्व, १३१।४५) ।’ एकलव्य द्रोणको शिष्य रहेको कुरा सुनेपछि अर्जुन खिन्न हुन्छन् । गुरुसमक्ष गएर गुनासो गर्छन्, ‘म तपाईंका शिष्यहरूमध्ये सबैभन्दा पराक्रमी बन्नेछु भन्नुभएको थियो, तर एकलव्य नाम गरेको तपाईंको शिष्य मभन्दा कुशल र पराक्रमी कसरी भयो (आदिपर्व, १३१।४८–४९) ?’ 

एकलव्यले आफ्नो प्रतिमालाई गुरु मानेर धनुर्विद्या सिकेको द्रोणले चाल पाउँछन् । गुरुदक्षिणाबापत उनले एकलव्यसँग दाहिने हातको बुढीऔँला माग्छन् । एकलव्यले नाइनास्ती नगरी औँला काटेर चढाउँछन् । चोरी र माझी औँलाले वाण सन्धान गर्ने कला एकलव्यलाई सिकाएर शिष्यहरूलाई साथमा लिई द्रोण आश्रम फर्किन्छन् (आदिपर्व, १३१।५९) । 

शिक्षा सिध्याएर कुरुकुमारहरू हस्तिनापुर फर्किन्छन् । हस्तिनापुर पुगेपछि धृतराष्ट्र र पाण्डुका छोराबीचको वैमनश्य चुलिँदै जान्छ । लाक्षाको घरमा पाँच पाण्डवलाई आमासहित वास बसाउने र आगो लगाएर सबैजनाको हत्या गर्ने षड्यन्त्र कौरवहरूले बुन्छन् । तर, विदुरले षड्यन्त्रबारे पाण्डवहरूलाई सुटुक्क सूचना दिन्छन् । लाक्षागृहमा आगो लगाइनुअगावै गुप्त सुरुङमार्गबाट निस्किएर पाण्डवहरू बेपत्ता हुन्छन् । कौरवहरूले फेला पारे आफूहरूको हत्या हुने भयले पाँच पाण्डवहरू माता कुन्तीका साथ ब्राह्मण भेष धारण गरेर गुप्त जीवन बिताउन थाल्छन् । 

त्यत्तिकैमा पाञ्चाल देशकी राजकुमारी द्रौपदीको स्वयंवर हुने तय हुन्छ । लक्ष्यभेद गरेर अर्जुनले द्रोपदीबाट वरमाला पहिरिन्छन् । तर, माता कुन्तीको वचनको मर्यादा राख्दै द्रोपदीलाई पाँच दाजुभाइकी साझा पत्नी बनाउन मञ्जुर गर्छन् । ससुराली देश पाञ्चालको आड पाएर पाण्डवहरूले हस्तिनापुरसँग आफूहरूको हिस्सेदारी माग गर्छन् । उनीहरूका लागि हस्तिनापुरबाट अलग गरेर इन्द्रप्रस्थ राज्य दिइन्छ । युधिष्ठिर इन्द्रप्रस्थका राजा बन्छन् । युधिष्ठिरको कीर्ति फैलाउने गरी राजसूय यज्ञ गराउन अर्जुनसहित चार पाण्डव दिग्विजय अभियानमा निस्कन्छन् । 

जुवाको खालमा युधिष्ठिरले सम्पूर्ण श्रीसम्पत्तिसहित पाँच दाजुभाइ र द्रौपदीलाई समेत गुमाएपछि उनीहरूलाई वनवास पठाइन्छ । गुमेको आफ्नो राज्य हासिल गर्ने तयारीमा अर्जुन लाग्छन् । युद्धमा चाहिने अमोघ अस्त्रहरूको सञ्चय गर्न उनी क्रियाशील हुन्छन् । यही उद्देश्यका निम्ति इन्द्रकिल पर्वतमा गएर महादेवको तपस्यामा लीन हुन्छन् । 

अर्जुनको पात्रता चिरकालिक हुनुका मुख्यतः दुइटा कारण छन् । पहिलो– उनी आफ्नो समयका सबैभन्दा कुशल योद्धा थिए । उनको शौर्यको आड पाएर कुरुक्षेत्रको युद्धमा पाण्डव पक्ष विजयी भएको थियो । दोस्रो– ‘महाभारत’ काव्यलाई अमर बनाउने कृष्णको विख्यात उपदेश भगवत गीताका निष्क्रिय साक्षी मात्र नभएर उनी कर्ता पनि थिए । 

तपस्याबाट प्रसन्न भएर किरातेश्वर महादेवले अर्जुनको परीक्षा लिन्छन् । परीक्षामा अर्जुनले महादेवलाई सन्तुष्ट तुल्याउँछन् । महादेवबाट अर्जुनले त्यतिवेलाको सबैभन्दा शक्तिशाली अस्त्र पाशुपतास्त्र हासिल गर्छन् । पाण्डवहरूले वनवास र एक वर्षको गुप्तवास सिध्याएपछि पूर्वसहमतिअनुरूप उनीहरूले हस्तिनापुरसँग आफूहरूको भागमा पर्ने राज्य माग्छन् । कौरवहरूले दिन अस्वीकार गरेपछि दुई पक्षबीच युद्ध हुन्छ । अर्जुनको शौर्यको आडमा पाण्डवहरू विजयी हुन्छन् । उनीहरूले सग्लो हस्तिानपुर राज्य हासिल गर्छन् । हस्तिनापुरको राजमुकुट युधिष्ठिरले लगाउँछन् । राज्य भोग गर्दै गर्दा यधुवंश संहार भएपछि विरक्तिएर पाण्डवहरूले अर्जुनपुत्र अभिमन्युका छोरा परिक्षितको राज्याभिषेक गराउँछन् । परिक्षितलाई राजकाज सुम्पिएर सांसारिक जीवनबाट सन्यास लिई पाण्डवहरू द्रौपदीसहित स्वर्गतिर जान्छन् । 
 
मनोचित्रण
महाभारतमा माद्रीपुत्र नकुल र सहदेवको भूमिका नाम मात्रको छ । पाण्डवहरूको सामथ्र्य कौन्तेयमध्ये ज्येष्ठ युधिष्ठिरको नीतिज्ञता, माइलो भीमको सामथ्र्य र कान्छो अर्जुनको पराक्रमले थामिएको हुन्छ ।  युधिष्ठिर प्रखर नीतिज्ञ थिए । नीतिमाथिको उनको दख्खलको छनक यक्षसँगको उनको सवालजवाफमा पाइन्छ । लोकव्यवहारमा धर्म र आचारलाई समन्वित गराउने कला उनीसँग हुन्छ । नीतिको अधीन रहेर काम गर्ने स्वभावबाट राजाको शोभा बढ्छ । त्यस्तो स्वभाव युधिष्ठिरसँग थियो । नीतिबारे जानकार मानिस सचेत हुनुको अतिरिक्त भयभीत पनि हुन्छ । आफ्ना कर्म र व्यवहारप्रति युधिष्ठिर सचेत थिए । बढी सचेत रहने स्वभावले उनलाई हमेसा भयभीत पनि राख्थ्यो । उनी कर्णसँग बढी डराउँथे ।  

नीतिले राजाको शोभा बढाए पनि राज्यको क्षमता विस्तारको मुख्य आधारचाहिँ सामथ्र्य हो । भीममा अथाह सामथ्र्य थियो । बलिष्ठ काया भएका भीमको सामथ्र्यबारे चर्चा गर्दा उनमा हजार हात्तीको बल छ भन्ने गरिन्थ्यो । नीति र धर्माचरलाई भीम गौण मान्थे । पौरुषलाई उनी बढी प्राथमिकता दिन्थे । यस्तै स्वभावका कारण द्रौपदीको वस्त्रहरण हुँदा उनले धृतराष्ट्रपुत्रहरूको संहार गर्ने प्रतिज्ञा सभामै गरेका थिए । द्रौपदीलाई दाउ लगाएर उसको दुर्दशा गराएको भन्दै दाजु युधिष्ठिरविरुद्धसमेत जाइलागेका थिए । युधिष्ठिरको जुवा खेल्ने हात जलाउने प्रयत्न उनीबाट भएको थियो (सभापर्व, ६८।६) ।  

अर्जुनमा युधिष्ठिर र भीम दुवैका गुण थिए । युधिष्ठिरको नीतिज्ञता र भीमको सामथ्र्य उनको व्यक्तित्वमा आरोपित थियो । अर्जुनमा धर्म र नीतिसम्बन्धी यथेष्ट ज्ञान थियो भन्ने कुरा भगवत गीतामा कृष्णसामु उनले तेस्र्याएका तिखा प्रश्नबाट पनि पुष्टि हुन्छ । आफूमा निहित पराक्रम उनले युद्धभूमिमा पटक–पटक प्रदर्शन गरेका थिए । 

नीति र बल दुवै गुण एउटै व्यक्तिमा हुनुका लाभ र हानि दुवै हुन्छन् । यी दुवै गुण अर्जुनमा भएकैले गुरु द्रोणले उनलाई ब्रह्मशिरास्त्र र महादेवले पाशुपतास्त्रजस्ता अमोघ अस्त्र धारण गर्ने सही पात्र ठह-याएका थिए । नीति र बलको मिश्रणले बाह्य जगत्मा उनलाई सबल देखाए पनि मानसिक रूपमा चाहिँ विभाजित गराएको थियो । उनको यस्तो विभाजित मनोदशा पटक–पटक प्रकट भएको थियो । 

आफूहरूले पाउनुपर्ने न्यायोचित हक हासिल गर्न बन्धुबान्धवविरुद्ध युद्ध गर्नुपर्छ भन्नेमा युधिष्ठिर स्पष्ट थिए । सम्राट् हुनका लागि पनि उनले युद्ध गर्नैपथ्र्यो । आफूहरूमाथि भएको अत्याचारको प्रतिशोध लिन भीम युद्धका निम्ति तम्सिएका थिए । तर, अर्जुनको मानसिकता विभाजित थियो । उनको बाहिरी व्यक्तित्वले युद्धको तयारी गरिरहेको थियो । यही प्रयोजनका लागि उनले महादेवको तपस्या गरेका थिए । तर, उनको आन्तरिक व्यक्तित्व युद्धको सम्भावित परिणामबाट त्रस्त थियो । आन्तरिक र बाह्य जीवनमा विभाजित मानिस बढी विचारशील हुन्छ । सिद्धि हासिल गरेपछि मानिस विचारमा स्थित रहन सक्छ । अर्जुन सिद्ध थिएनन्, जिज्ञासु थिए । त्यसैले आकाशमा मडारिने बादलजस्तै उनको मनोवेग छिनछिनमा बदलिरहन्थ्यो । यसले जीवन–जगत् नियाल्ने उनको दृष्टिकोणमा सन्देहको लेपन लगाइदिएको थियो । 

मानसिक रूपमा स्थिर नहुने मानिसले मार्गदर्शक खोज्छ । मार्गदर्शकको अधीनमा रहन उसले सहज महसुस गर्छ । त्यस्तो व्यक्ति मार्गदर्शकको प्यारो बन्छ । विद्याश्रममा छँदा गुरु द्रोणलाई अर्जुनले मार्गदर्शक बनाए । विद्याश्रमबाट फर्किएपछि भीष्मलगायत परिवारका अग्रजलाई पथप्रदर्शक माने । अग्रजहरूको प्यारो बने । कृष्णकी बहिनी सुभद्रासँग अर्जुनले बिहे गरेपछि कृष्ण र अर्जुनबीच हिमचिम अझ बढ्यो । समवयष्क कृष्ण उनका मित्र थिए । कृष्ण प्रखर नीतिज्ञ र वीर थिए । उनी वाक्पटु थिए । अर्जुनको मनोवेग थाहा पाएर उचित परामर्श दिन सक्ने खुबी उनीसँग थियो । कृष्णमा त्यस्तो खुबी रहेको चाल पाएपछि अर्जुनले उनलाई मार्गदर्शकको आसनमा बसाए । 


कुरुक्षेत्रको युद्ध हुनुअघि कृष्णले दुर्योधन र अर्जुनसमक्ष निहत्था आफू अथवा आफ्नो शक्तिशाली सेनामध्ये एउटा रोज्ने विकल्प प्रस्तुत गरेका थिए । रोज्ने पालो सुरुमा अर्जुनलाई दिइएको थियो । अर्जुनले निहत्था कृष्णलाई रोजे । उनको रोजाइ समयक्रममा सही सावित भयो । पाण्डव पक्षसँग योद्धाहरूको कमी थिएन । विराट, द्रुपद, धृष्टद्युम्न, भीम, अर्जुन, घटोत्कचजस्ता वीरहरूले पाण्डव पक्षलाई दुर्जेय बनाएको थियो । अर्जुन स्वयं त्यस समयका सबैभन्दा पराक्रमी योद्धामध्ये एक थिए । कौरव पक्षमा उनीसरहको पराक्रमी सायदै थियो । भीष्म, द्रोण, कर्णजस्ता कौरव पक्षका सेनानायकहरू युद्धमा उनको पराक्रमसामु पटक–पटक निरीह बनेका थिए । 

अर्जुनले भीष्म र द्रोणलाई आदर गर्ने भएकाले युद्धमा यी दुईको वध गर्न उनी हच्किए । भीष्म कौरव सेनाका सेनापति भएर रणभूमिमा टिकुन्जेल महाभारत युद्ध केटाकेटीको लुकामारीजसरी चल्यो । भीष्मले युद्धलाई अनियन्त्रित हुन दिएनन् । पाण्डवहरूप्रतिको प्रेमले उनलाई कठोर सेनापति बन्नबाट रोक्यो । अर्जुनले पनि भीष्मको वध गर्न सकेनन् । कोमल मन लिएर उनी भीष्मसँग भिडे । भीष्मको वध नगर्ने अर्जुनको मनोदशा बुझेपछि युद्धको नवौँ दिनमा कृष्ण स्वयं हातमा चाबुक समातेर भीष्मलाई मार्न भनेर तम्सिए (भीष्मपर्व, १०६।६७) । अर्जुनले कृष्णलाई रोके र भोलिपल्ट भीष्मलाई रणमैदानबाट पन्छाउने प्रण गरे । 

दसौँ दिनको युद्धमा भीष्मलाई रणमैदानबाट पन्छाउने निश्चय गरेर पाण्डवहरूले शिखण्डीलाई भीष्मको अगाडि उभ्याए । शिखण्डी तेस्रोलिंगी भएकाले भीष्मले उनको प्रतिकार गरेनन् । तर, दुशासनलगायत कौरव महारथीहरूको सुरक्षा घेरा तोडेर भीष्मको वध गर्न शिखण्डी असमर्थ भए । त्यसपछि अर्जुन स्वयं भीष्मविरुद्ध जाइलागे । तर, पनि भीष्मको वध नगरी घाइते बनाएर उनलाई युद्धभूमिबाट पन्छाए (भीष्मपर्व, ११९।८७) । 

भीष्मपछि कौरव सेनाको सेनापतित्व ग्रहण गरेका द्रोण नमारिए हुन्थ्यो भन्ने चाहना अर्जुनले अन्तिम समयसम्म राखेका थिए । युद्धमा पाण्डव सेनाका सेनापति धृष्टद्युम्नले वाणको वर्षा गराएर गाह्रो पार्दै लगेपछि द्रोण शत्रुहरूको बीचमा फसे । धृष्टद्युम्नसहित भीम, नकुल, सहदेव आदिबाट घेरिए । मरणासन्न रहेको महसुस गरेपछि द्रोणले चिच्याउँदै भने, ‘कर्ण ! कर्ण ! कृपाचार्य ! दुर्योधन ! अब तिमीहरूले नै युद्ध जित्ने प्रयत्न गर..., पाण्डवहरूबाट तिमीहरूको कल्याण होस् । अब म अस्त्र–शस्त्र सबै त्याग्दै छु (द्रोणपर्व, १९२।४३–४४) ।’ यति भनेर द्रोण अस्त्रशस्त्ररहित भई रथको पछिल्लो भागमा समाधीको आसनमा बसे । द्रोणको वध गर्ने निश्चय गरी अघि बढेका धृष्टद्युम्नलाई अर्जुनले ‘आचार्य द्रोणलाई नमार्नू, बरु बन्दी बनाउनू’ भनेका थिए । तर, धृष्टद्युम्नले द्रोणको टाउको छिनालेर कौरवहरूतिर फ्याँकिदिए । गुरु मारिँदा अर्जुन स्तब्ध भए । भीमले चाहिँ प्रसन्न चित्त लिएर धृष्टद्युम्नलाई अँगालो हाले ।


ज्येष्ठ कौन्तेय कर्ण र अर्जुनको शौर्यबीच अक्सर तुलना गर्ने गरिन्छ । तुलना गर्दा कर्णलाई अर्जुनभन्दा पराक्रमी करार गर्ने गरिन्छ । यसो गर्ने क्रममा ‘महाभारत’सम्बन्धी सस्ता हिन्दी टेलिसिरियल, ‘महाभारत’ ग्रन्थमाथि आधारित रहेर पछि रचिएका रचना, प्रक्षिप्त भनि विज्ञहरूले ठहर गरेका महाभारतका श्लोक आदिलाई आधार बनाउने गरिएको छ । ‘महाभारत’को मिहिन अध्ययन गर्नेले कर्ण र अर्जुन बराबरीका योद्धा थिएनन् भन्ने भेउ सजिलै पाउँछ ।

कर्णले आफूलाई अर्जुनसँग बारम्बार दाँजेका हुन्छन् । तर, अर्जुनले चाहिँ कर्णको पराक्रमलाई त्यति वास्ता गरेको पाइँदैन । विद्या आर्जन गरेर हस्तिनापुर फर्किएका कुरुकुमारहरूले रंगभूमिमा रणकौशल देखाउने क्रममा अर्जुनले आफ्नो कौशल देखाइरहेका वेला कर्ण एकाएक रंगभूमिमा प्रवेश गर्छन् । ‘गुरु द्रोणकै सामु वाण हानेर म तिम्रो घाँटी छिनाइदिन्छु’ भनी अर्जुनलाई धम्की दिन्छन् (आदिपर्व, १३५।२०) । त्यसपछि विभिन्न सन्दर्भमा अर्जुनको वध गर्ने प्रतिज्ञा दोहो¥याइरहन्छन् । तर, अर्जुनले एकपटक मात्रै कर्ण वध गर्ने प्रतिज्ञा गरेका हुन्छन् । द्रौपदीको वस्त्रहरणपछि क्रोधले उम्लिरहेका दाजु भीमलाई शान्त पार्न अर्जुनले त्यस्तो प्रण गरेका हुन्छन् (सभापर्व, ७७।३३) । कर्णको सामथ्र्यलाई अर्जुनले त्यति भाउ दिएको पाइँदैन ।

विभिन्न सन्दर्भमा कर्ण र अर्जुन आमनेसामने हुँदा हरेकपटक कर्ण पराजित भएका हुन्छन् । कर्णले नसकेका कतिपय काम अर्जुनले सजिलै सम्पन्न गरेका हुन्छन् । कुरुकुमारहरूले पाञ्चालमाथि हमला गर्दा द्रुपदको वाण लागेर घाइते भई कर्ण रथबाट ओर्लिएर कुलेलम ठोक्छन् (आदिपर्व १३७।२३–२६) । कर्णसहित कौरवहरू असफल भएपछि अर्जुन अग्रसर हुन्छन् र द्रुपदलाई बन्दी बनाउँछन् (आदिपर्व, १३७।५७–५८) ।

अर्जुनले लक्ष्यभेद गरेर द्रौपदीको हातबाट वरमाला पहिरिएपछि सभामा उपस्थित राजपुरुषहरूसँग अर्जुन र भीमको लडाइँ हुन्छ । त्यसैक्रममा अर्जुन र कर्ण आमनेसामने हुँदा अर्जुनको पराक्रम देखेर कर्ण चकित पर्छन् । ‘यस्तो शौर्य देखाउने तपाईं धनुर्वेद हो कि परशुराम ?’ भन्दै ब्राह्मण भेषमा रहेका अर्जुनसमक्ष पराजय स्वीकार गर्छन् (आदिपर्व, १८९।२०–२२) । गन्धर्वहरूसँग कौरवको युद्ध हुँदा कर्णको घोडा र सारथि मारिन्छन् । रथ ध्वस्त हुन्छ । छेउमा रहेका दुर्योधनका भाइ विकर्णको रथ चढेर कर्ण युद्धभूमिबाट भाग्छन् (वनपर्व, २४१।३०–३२) । गन्धर्वहरूले दुर्योधनसहित हस्तिनापुरका स्त्रीलाई बन्दी बनाएको चाल पाएपछि अर्जुनले गन्धर्वराज चित्रसेनसमेतलाई पराजित गरेर सबैलाई मुक्त गराउँछन् (वनपर्व, २४५।२७) । मत्स्यदेशको गाई चोर्न गएका कर्णसहित हस्तिनापुरका सबै महारथिलाई अर्जुन एक्लैले पराजित गरेका हुन्छन् । अर्जुनले प्रहार गरेको वाणको चोट खाएर कर्ण रणभूमिबाट भागेको वर्णन महाभारतमा छ (विराटपर्व, ६०।२७) । 

कुरुक्षेत्रको युद्धमा पनि कर्णमाथि अर्जुन हाबी हुन्छन् । अर्जुनले गाह्रो पार्दै लगिरहेका वेला कर्णको रथ भासिन्छ । आफू सवार रथ काम नलाग्ने भएपछि छेउको अर्को रथमा आरुढ हुनुपर्ने युद्धको सामान्य अभ्यासविपरीत कर्णले भासिएको रथ निकाल्ने समय माग्छन् । अर्जुनले नमानेपछि भासिएकै रथबाट अर्जुनमाथि अस्त्र चलाएर रथको पाङ्ग्रा निकाल्न जमिनमा उत्रिन्छन् । त्यतिवेलै अर्जुनले अञ्जुलिक अस्त्र हानेर कर्णको घाँटी छिनालिदिन्छन् (कर्णपर्व, ९१।४०–५०) । 

अर्जुनजस्ता योद्धा साथमा भएकाले पाण्डव पक्षलाई योद्धाको भन्दा रणनीतिकारको बढ्ता आवश्यकता हुन्छ । कृष्णलाई अर्जुनले आफ्नो सारथि बनाएसँगै त्यस्तो आवश्यकता पूरा हुन्छ । व्यूहरचना, व्यूहभेदनलगायत रणनीति तय गर्न परामर्श दिएर तथा रणभूमिमा अर्जुनलाई सम्हालेर कृष्णले पाण्डव पक्षलाई विजयी गराउन मद्दत गर्छन् ।

पाण्डव पक्षका सबैभन्दा पराक्रमी योद्धा अर्जुनको सारथि बन्न कृष्णले स्वीकार गर्नु पाण्डव पक्षका निम्ति सबैभन्दा ठूलो उपलब्धि सिद्ध हुन्छ । पाण्डवहरूले अर्जुनकै आडमा हस्तिनापुरसँग आफ्नो हिस्सेदारी दाबी गरेका हुन्छन् । सबैको भरोसाको केन्द्र बनेका अर्जुन स्वयंचाहिँ कर्तव्य र धर्मसम्बन्धी अन्योलले बारम्बार कमजोर बनिरहन्छन् । सारथिको आसनबाट अर्जुनको अन्योल हटाउन परामर्श दिएर कृष्णले आफ्ना मित्रलाई सम्हाल्छन् ।

युद्धको शङ्खघोष भइसकेपछि अर्जुन विषादग्रस्त अवस्थामा पुग्छन् । अपरिचित शत्रुहरूसँग लड्न गइरहेझैँ गरी कृष्णसँग उनी भन्छन्, ‘युद्धक्षेत्रमा डटेर उभिएका युद्धका अभिलाषी विपक्षी योद्धाहरूलाई म राम्रोसँग हेर्न चाहन्छु, मेरो रथलाई दुई सेनाको बीचमा पु-याउनुस् । दुर्योधनको पक्ष लिएर युद्धभूमिमा आएका को–कोसँग मैले युद्ध गर्नुपर्छ, उनीहरूलाई एकपटक हेरिहेरौँ (भीष्मपर्व, २५।२१–२३) ।’ आफन्तजनसँग युद्ध गर्नुपर्ने अवस्थाको कल्पनाले विदीर्ण बनिरहेको उनको मनस्थिति बिस्तारै प्रकट हुन थाल्छ । दुई सेनाको बीचमा पुगेर कौरव पक्षमा उभिएका आफ्ना अभिभावक, बन्धुबान्धव, गुरुगण, सम्बन्धी आदिलाई देखेपछि अर्जुन शिथिल हुन्छन् । ‘मलाई विजय चाहिँदैन, मलाई राज्य र सुखभोग गर्नु पनि छैन, बरु आफू मारिन्छु तर आफ्ना बन्धुबान्धव र स्वजनहरूको हत्या गर्दिनँ’ (भीष्मपर्व, २५।३२–३५) भन्दै उद्विग्न भएर धनुवाण त्यागी रथको पछिल्लो भागमा गएर बस्छन् (भीष्मपर्व, २५।४७) । कृष्णले अर्जुनलाई आफ्नो धर्ममा स्थित रहन सम्झाई–बुझाई गरेर युद्धप्रति प्रतिबद्ध गराउँछन् । कृष्णले आफूमा रहेको सन्देह चिरिदिएपछि अर्जुन भन्छन्–

नष्टो मोहः स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।
स्थितोऽस्मि गतसन्देहः करिष्ये वचनं तव ।। (भीष्मपर्व, ४७।७३) अर्थात्, हे अच्युत, तपाईंको कृपाले मेरो मोह नष्ट भएको छ र मैले स्मृति प्राप्त गरेको छु । अब म संसयरहित भएर स्थित भएको छु । अब तपाईंको आज्ञा पालन गर्नेछु । तर, अर्जुनको मनोदशा अझै पनि स्थित भएको हुँदैन । भीष्म र द्रोणका सामु पर्दा उनी कमजोर हुन्छन् । त्यस्तो वेला सारथिको आसनबाट कृष्णले उनलाई सम्हालिरहनुपर्छ । 

युद्धकै क्रममा एकपटक उनी रिसले आगो भएर दाजु युधिष्ठिरको हत्या गर्न उद्यत हुन्छन् । कौरव पक्षको सेनापति भएपछि कर्णले युधिष्ठिरलाई रथ र अस्त्ररहित तुल्याई सख्त घाइते बनाउँछन् । ज्यान जोगाउन युधिष्ठिर घोडा चढेर शिविरतिर भाग्छन् । दाजु घाइते भएको थाहा पाएपछि अर्जुन कृष्णलाई साथ लिएर दाजुलाई भेट्न जान्छन् । अर्जुनले कर्णवधको सन्देश लिएर आए भन्ने ठानेर युधिष्ठिर प्रसन्न हुन्छन् । तर, कर्ण अझै नमारिएको थाहा पाएपछि क्रोधित हुँदै अर्जुनलाई धिक्कार्छन्, ‘तँ कर्णसँग डराएर युद्धभूमिबाट भागेर आइस् ? धिक्कार छ तेरो पराक्रमलाई ।

अब आफ्नो गाण्डीव धनुष अरू कसैलाई दे, जो अस्त्रबलमा तँभन्दा शक्तिशाली छ । तँजस्तो दुरात्मा माता कुन्तीको गर्भमै तुहिएको भए अथवा गर्भमै नआएको भए बेस हुने थियो । कम्तीमा पनि युद्धभूमि छाडेर आएको कलंक त तेरो निधारमा लाग्दैनथ्यो (कर्णपर्व, ६८।२६–२९) !’ युधिष्ठिरको दुर्वचन सुनेर अर्जुन आगो हुन्छन् र दाजुको हत्या गर्न भनेर तरबार उज्याउँछन् । ‘सख्त घाइते भएकाले उहाँले यस्तो बर्बराउनुभएको हो’ भनेर कृष्णले अर्जुनलाई भ्रातृहत्या गर्नबाट रोक्छन् (कर्णपर्व, ६९।७६) । 

व्यक्तित्वको प्रकट र गुप्त पाटोबीच विभाजित अर्जुनलाई कृष्णले कर्तव्यमा टिकाइराख्छन् । यदि पाण्डव पक्षलाई कृष्णको नीतिको सहारा प्राप्त नहुँदो हो त अर्जुनको पराक्रमले मात्र उनीहरूलाई विजयश्री दिलाउन सक्ने थिएन ।

अनुराग
पाँच पाण्डवमध्ये द्रौपदीले अर्जुनलाई बढ्ता प्रेम गरेकी हुन्छिन् । लक्ष्यभेद गरी आफ्नो हातबाट वरमाला पहिरिने व्यक्ति भएकाले अर्जुनप्रति उनमा बढी प्रेम हुन्छ । पराक्रमलाई प्रधानता दिने तत्कालीन परिवेशमा पाण्डवहरूमध्ये सबैभन्दा पराक्रमी अर्जुनप्रति द्रौपदी अनुरक्त हुनु अस्वाभाविक थिएन । रूपकै कुरा गर्ने हो भने सबैभन्दा सुन्दर नकुल थिए । नकुलसहित अन्य पाण्डवलाई द्रौपदीले परिबन्धमा परेर मात्रै पति स्विकारेकी थिइन् । 

आफूले सबैभन्दा बढ्ता प्रेम गरेका पति अर्जुनले कृष्णकी बहिनी सुभद्रासँग बिहे गरेपछि द्रौपदी मर्माहत हुन्छिन् । सुभद्रासँग बिहे गरेर द्वारकाबाट इन्द्रप्रस्थ फर्किएका अर्जुनसँग ‘तपाईंले यहाँ किन आउनुप-यो ? जानु नि आफ्नै सुभद्राकोमा’ भन्दै रुन्छिन् । सुभद्रासँग बिहे गरेपछि आफूप्रतिको अर्जुनको प्रेममा कमी आउने निश्चित रहेको भन्दै बिलौना गर्छिन्– 

सुबद्धस्यापि भारस्य पूर्वबन्धः श्लथायते ।। (आदिपर्व, २२०।१६–१७) अर्थात्, भारीलाई जतिसुकै दह्रोसँग गाँठो पारे पनि दोस्रोपटक सुर्किना कस्दा (अर्थात् दोस्रो पत्नी ल्याउँदा) आखिरमा पहिलो गाँठो खुकुलो भइहाल्छ (अर्थात् पहिलो पत्नीसँगको प्रेम कम भइहाल्छ) । 

अर्जुनप्रति द्रौपदीमा बढी प्रेम थियो भन्ने कुरा युधष्ठिरले समेत महसुस गरेका हुन्छन् । जीवनको उत्तरार्धतिर पाँच पाण्डव र द्रौपदी स्वर्गतिर जाँदै गर्दा द्रौपदी धर्मराउँछिन् र बाटोमै ढल्छिन् । कुनै पापकर्म नगरे पनि द्रौपदी किन स्वर्ग नपुगी ढलिन् भनेर भीमले सोध्दा युधिष्ठिरले भन्छन्–पक्षपातो महानस्या विशेषेण धनञ्जये ।

तस्यैतत् फलमद्यैषा भुङ्क्ते पुरुषसत्तम ।। (महाप्रस्थानिकपर्व, २।६) अर्थात्, उसको मनमा अर्जुनप्रति विशेष पक्षपात थियो, आज त्यसकै फल भोगिरहेकी छे । 
आफूप्रति आशक्त द्रौपदीप्रति अर्जुनमा भने विशेष लगाव थिएन । द्रौपदीलाई सबैभन्दा बढ्ता प्रेम गर्ने भीम थिए । द्रौपदीलाई संकटबाट उद्धार गर्नुपर्दा भीम सदैव तम्सिन्थे । विराट राजाकोमा रहँदा किचकले द्रौपदीलाई जबर्जस्ती गर्न खोज्दा भीमले उद्धार गरेका थिए ।

द्रौपदी अप्ठ्यारोमा पर्दा सबैभन्दा उद्विग्न हुने पतिमा पनि भीम नै थिए । कौरवसँग जुवा खेल्दा युधिष्ठिरले द्रौपदीलाई दाउमा लगाएर हारेपछि सभाबीचमा द्रौपदीको अपमान हुँदा अर्जुनले कुनै प्रतिक्रिया जनाएनन् । भीमचाहिँ आगो हुन्छन् । द्रौपदीलाई दाउमा लगाउने दाजु युधिष्ठिरको हात जलाइदिने निश्चय गर्दै उनी भाइ सहदेवलाई आगो ल्याउन आदेश दिन्छन् (सभापर्व, ६८।६) । अर्जुनले सम्हालेपछि मात्र भीम शान्त हुन्छन् । 

द्रौपदीको अपमान गर्नेहरूसँग प्रतिशोध साध्ने प्रतिज्ञा पनि भीमले नै गर्छन् । द्रौपदीलाई निर्वस्त्र पार्ने धृतराष्ट्रपुत्र दुशासनको छाती फोरेर रगत पिउने उद्घोष गर्छन् । द्रौपदीलाई ‘आइज, मेरो काखमा बस्’ भनी हियाउने दुर्योधनको तिघ्रा भाँच्ने र सबै धृतराष्ट्रपुत्रको हत्या गर्ने प्रतिज्ञा गर्छन् । रिसले उम्लिरहेका भीमको मन राखिदिन मात्रै अर्जुनले द्रौपदीलाई ‘वेश्या’ भनी अपमानित गर्ने कर्णको वध गर्ने प्रतिज्ञा गरेका हुन्छन् (सभापर्व, ७७।३३) ।

द्रौपदीको प्रेमले अर्जुनलाई कहिल्यै भावुक तुल्याउँदैन । आफूले लक्ष्यभेद गरी जितेर ल्याएकी वधूलाई आमा कुन्तीले भिक्षा सम्झिएर ‘सबै दाजुुभाइले बाँडेर राख’ भन्छिन्  (आदिपर्व, १९०।२) । आमाको यस्तो वचन सुनेपछि पाँच दाजुभाइ सबैले द्रौपदीलाई हेर्छन् । द्रौपदीलाई भोग्ने मनोभाव सबैको अनुहारमा प्रकट हुन्छ (आदिपर्व, १९०।१३) । आमाको वचन र दाजुभाइ–वासनाका खातिर द्रौपदीलाई सबै दाजुभाइकी साझा पत्नी बनाउन उनी मञ्जुर हुन्छन् । 

अर्जुनले स्त्री भोग्ने लालसा एकाधपटक व्यक्त गरे पनि उनी स्त्रीप्रति त्यति आशक्त हुँदैनन् । युधिष्ठिर र द्रौपदीबीचको एकान्तलापको साक्षी बन्नुपरेपछि सजायबापत वनवास गएका अर्जुनले गंगाको किनारमा नागराज पुत्री उलुपीको आह्वानपछि उनीसँग सम्भोग गरेका हुन्छन् (आदिपर्व, २१३।३३) । त्यहाँबाट मणिपुर पुगी त्यहाँका राजा चित्रवाहनकी छोरी चित्रंगदाप्रति कामाशक्त हुन्छन् । चित्रवहानको अनुमति लिएर चित्रंगदाको पाणिग्रहण गर्छन् (आदिपर्व, २१४।२६) । मणिपुरबाट घुम्दैफिर्दै अर्जुन प्रभास क्षेत्र पुग्छन् । कृष्णले गुप्तचरहरूमार्फत अर्जुन प्रभास क्षेत्रमा आइपुगेको चाल पाउँछन् र भेट्न जान्छन् । अर्जुनलाई साथ लिएर उनी द्वारका पुग्छन् । त्यहाँ कृष्णकी बहिनी सुभद्रालाई देखेर अर्जुन कामाशक्त भएको कृष्णले चाल पाउँछन् । कृष्णको सल्लाहअनुसार, अर्जुनले सुभद्रालाई हरण गरेर लैजान्छन् र बिहे गर्छन् (आदिपर्व, २१९।६–७) ।

अर्जुनले विभिन्न युवतीसँग सम्बन्ध राखेका भए पनि स्त्रीसँगको सम्बन्धलाई उनले त्यति महत्व दिएका हुँदैनन् । उनमा स्त्रीप्रति त्यति मोह हुँदैन । त्यही भएर विराट राजाको दरबारमा गुप्तवास बस्दा उनले तेस्रोलिंगीको भेष धारण गर्न मञ्जुर गरेका हुन्छन् । पाण्डवहरूको भेद खुलेपछि विराट राजाले पराक्रमी अर्जुनलाई ज्वाइँ बनाउन भनेर आफ्नी छोरी उत्तरालाई अर्जुनसमक्ष अर्पण गर्छन् (विराटपर्व, ७१।३४) । अर्जुनले उत्तरालाई छोरो अभिमन्युका लागि अर्थात् वधू बनाउने सर्तमा स्विकार्छन् ।

अर्जुनमा स्त्रीप्रति भन्दा नीति र पराक्रमप्रति बढ्ता अनुराग हुन्छ । उनको यस्तो प्यास कृष्णको सानिध्यमा पुगेपछि परितृप्त हुन्छ । कृष्ण अस्त्रशस्त्रको सैद्धान्तिक ज्ञान र तिनको सञ्चालनमा निपुण हुन्छन् । उनमा फौजी र राजनीतिक मामिलाको पनि गहिरो ज्ञान हुन्छ । यसका अतिरिक्त धर्म र आचारसम्बन्धी नीतिको व्याख्या गर्ने तथा नयाँ परिवेशमा धर्मलाई अनुकूलित गराउने क्षमता पनि उनीसँग हुन्छ । शौर्य र प्रज्ञाले सम्पन्न कृष्णसँग अर्जुनको अभिरुचि मिल्छ । दुवैजना एकअर्काका घनिष्ठ मित्र बन्छन् । अर्जुनको व्यक्तित्व कृष्णको जस्तो बहुआयामिकचाहिँ हुँदैन । 

अर्जुनसँग सुभद्राको बिहे भएपछि बहिनीका निम्ति दाइजो लिएर कृष्ण इन्द्रप्रस्थ पुग्छन् । त्यहाँ महिनौँ बस्छन् । कृष्ण इन्द्रप्रस्थमा रहँदा अर्जुनले उनको सानिध्यमा जीवनकै सुखद् क्षण भोग्छन् । सिकार गर्न भनेर कृष्ण र अर्जुन दुवै सँगै निस्कन्छन् । नदीकिनारमा गफिँदै घन्टौँ विचरण गर्छन् । गर्मी छल्न नदीमा सँगै स्नान गर्छन् । दुवैजनाले मिलेर नाग जातिका आदिवासी बस्ने खाण्डप्रस्थ दहन गरेर त्यस क्षेत्रमा इन्द्रप्रस्थको आधिपत्य सुनिश्चित गर्छन् । 

कृष्णको सानिध्यमा रहँदा अर्जुनको दोधार सम्हालिन्छ । समान अभिरुचि भएको मित्र कृष्णमा उनले आफूलाई दिशानिर्देश गर्ने परामर्शदाता भेट्टाउँछन् । त्यसैले श्रीमतीहरूप्रति नभई कृष्णप्रति अर्जुनको प्रेम उत्कट बन्छ । लामो समय इन्द्रप्रस्थ बसेर कृष्ण द्वारका फर्किन लाग्दा अर्जुन मित्रसँग बिछोडिने भयले व्यथित भएको चर्चा महाभारतमा गरिएको छ (सभापर्व, २।२०) ।

उपसंहार
अर्जुनको समग्र जीवन नियालेपछि उनको सप्तरंगी चित्र हाम्रोसामु निर्मित हुन्छ । उनी मिलनसार व्यक्ति थिए । त्यही भएर निकटस्थहरूका प्यारा भए । एकलव्यसँगको प्रसंगलाई बिर्सिदिने हो भने उनलाई आफ्नो सामथ्र्यप्रति आत्मविश्वास ज्यादा, अभिमान कम थियो । नीति र पराक्रम दुवैलाई धारण गरेकाले गुरु द्रोणदेखि महादेवसम्मलाई प्रसन्न तुल्याएर अस्त्रशस्त्रविद्यासम्बन्धी दुर्लभ ज्ञान हासिल गर्न उनी सफल भएका थिए । 

पराक्रम र प्रज्ञाप्रतिको अतिशय मोहले अर्जुनको जीवनका अन्य वैयक्तिक पक्षलाई गौण बनाइदिएको थियो । यही स्वभावका कारण उनले द्रौपदीलाई दाजुभाइमाझ साझा गरेका थिए । लक्ष्यभेद गरेर द्रौपदीलाई जितेपछि उनी पाञ्चालको ज्वाइँ बने । पाञ्चालको आड पाएपछि पाण्डवहरूमध्ये श्रेष्ठ बन्ने र दाजुभाइलाई अधीन गरेर हस्तिनापुरसँग हिस्सेदारी दाबी गर्ने जमर्को उनले गर्न सक्थे ।

परन्तु यसो गर्दा दाजुभाइबीचको एकतामा दरार आउन सक्थ्यो । विभाजित भएर हस्तिनापुरसँग हिस्सेदारी दाबी गर्न सक्ने अवस्था पनि थिएन । त्यसैले दाजुभाइबीचको एकतालाई अझ सुदृढ बनाउन उनले द्रौपदीलाई पाँच दाजुभाइकी साझा पत्नी बनाए । युधिष्ठरलाई सम्राट् बनाउने ध्येयमा आफूलाई समर्पित गरे । राजनीतिक लाभहानिको गणना गरेर उनले वैयक्तिक आकांक्षालाई तिजाञ्जली दिए । 

अस्त्रविद्या र प्रज्ञा दुवैमा गहिरो अभिरुचि भएकाले आफ्ना कर्म र तिनले भविष्यमा निम्त्याउन सक्ने परिणामप्रति उनी सदैव सचेत थिए । अतिशय सचेत रहने मनोभावले उनलाई मानसिक रूपमा विभाजित राख्थ्यो । यस्तै मनोभाव भएका कारण उनले कृष्णलाई पथप्रदर्शक बनाए र उनको इसारामा चल्न स्वीकार गरे । विचारमा स्थित रहन नसक्ने स्वभावका कारण सर्वश्रेष्ठ योद्धामध्ये एक भएर पनि कृष्णका अनुयायीको हैसियतमा खुम्चिन उनी राजी भए ।
@sujitmainali ‘शिलान्यास : नेपाल निर्माणको नालिबेली’ पुस्तकका लेखक हुन्