• वि.सं २०७६ कार्तिक ५ मंगलबार
  • Tuesday, 22 October, 2019

भाग्यमानी छोरी ! अभागी बुहारी !

२०७६ असार १४ शनिबार ०८:००:०० | काठमाडाैं

बिहे गरेको ६ महिनापछि म श्रीमती आकाङ्क्षासहित घर पुगेँ । त्यो दोस्रोपटकको पुगाइ थियो । बेलुकी खाना खाएपछि आमाछोराबीच संवाद चल्यो । ‘कस्तो हुँदै छ त दाम्पत्य जीवन ?’ आमाको प्रश्नमा केही व्यङ्ग्यमिश्रित भावको सहजै अड्कल गर्न सकिन्थ्यो । मैले मन्द मुस्कानमा भनेँ, ‘हजुरहरूको आशीर्वादले सबै राम्रै छ ।’

आमाछोराबीचको संवाद केहीबेर चलिरह्यो । आमाले विवाहित बहिनीतर्फ  सङ्केत गर्दै भन्नुभयो, ‘हेर त, तेरो बैनी कति भाग्यमानी छे । ज्वाइँलाई हात लिन जानी । ज्वाइँ जे भने‘नि मान्ने परे । छोरीको भाग्य होस् त त्यस्तो । ज्वाइँ पनि जे गर्दा पनि बुढीकै सल्लाह लिँदा रहेछन् । बहिनीले उठ् भने उठ् बस् भने बस् । यसको खुब पिर थियो । कडा स्वभावकी थिई । कतै केही घटना पो घटिहाल्छ भन्ने डर थियो । ढुक्क भो ।’ 

आमाको एकोहोरो आत्मालाप सुनेपछि मलाई कुनै प्रतिक्रिया दिन मन लागेन । मात्र मुसुक्क हाँसे । म नबोलेपछि आमा पुनः बोल्नुभयो, ‘आकाङ्क्षा सुत्न गई ?’ ‘गई ।’ उत्तर दिएँ । दिनभर गाडीले हल्लाएको जिउ थकित थियो । सुत्न जाने इच्छार्थभाव प्रकट गर्दै भनेँ, ‘आमा भोलि कुरा गरौँला । आज सुत्न गएँ है ?’ आमाले सुत्न जान बिदा दिनुभएन । ‘एकछिन् बस् । कुरा गर्नुछ ।’ आमाको वचन काट्न असमर्थ भएँ ।

‘तँ हिजोआज निकै परिवर्तन भाको छस् । बुहारी आएपछि छोरा बेचिन्छ भन्थे, हो रहेछ । अनि सुन्, बुहारी आएको ६ महिना पनि भा‘को छैन । सबैलाई शासन लाउन खोज्दै छे । तेरो टाउकोमा टेक्ने भइसकी । स्वास्नीका सबै कुरा सुन्ने होइन । आइमाई मान्छेलाई टाउकामा टेक्न दिनुहुँदैन । तैँले भनेको चल्नुपर्छ । तेरी बुढीले तेरो सल्लाह मान्ने हो, उसको सल्लाहमा तँ चल्ने होइन ।’

‘आमा, तपाईँले यो के भन्नुभा ? छोरो हिजो जस्तो थियो, आज पनि उस्तै छ । मात्र जिम्मेवारी थपिएको छ । आमा, तपाईँकी ‘छोरी भाग्यमानी’ बन्दै गर्दा तपाईँकी बुहारी पनि त कसैकी छोरी हो भन्ने कुरा किन भुल्नुभो ? तपाईँकी छोरी अर्थात् हाम्री बहिनी जति भाग्यमानी बन्ने अधिकार राख्छे, उत्तिकै अधिकार तपाईँकी बुहारीले राख्न हुँदैन ? के तपाईँको छोरा पनि कसैको ज्वाइँ भएको सत्य होइन र ? अनि तपाईँकी बुहारी अर्थात् कसैकी छोरीकी आमाले तपाईँले जस्तै भूमिकामा तपाईँलेजस्तै व्यवहार गरिन् भने ? मलाई उत्तर दिनोस् आमा, हिजो तपाईँकी सासूले तपाईँलाई गरेको व्यवहार हामीलाई सुनाउँदै गर्दा आज तपाईँ सोही भूमिकामा हुनुहुन्छ । तपाईँकी पुरानी सासू र आजकी सासूका बीचमा के फरक ? के तपाईँले तपाईँकी बुहारीलाई पनि छोरीजस्तै भाग्यमानी तुल्याउन मिल्दैन ?’

०००
श्रीमतीको ‘टिट फर ट्याट’ बानी परिवारका निम्ति ‘पाच्य’ बनेन । पितृसत्ताको लगाम लगाउन खोज्ने पारिवारिक परिपाटी र नारी खेलौना होइन, भन्ने बुहारी एकअर्काका ‘एन्टी’ बनिरहे । विवाहका प्रारम्भिक महिनाहरू सकेसम्म म ‘पुरुषप्रदत्त’ सोचले घोचिरहन्थेँ/दबाउन खोजिरहन्थेँ । दुई बलियो शक्तिबीचको समानान्तर घर्षणबाट ‘आगो’ निस्कनु स्वाभाविक थियो । लाग्थ्यो, यही आगोको झिल्काले पारिवारिक घर डढाउनेछ । घरीघरी सोच्थेँ, ‘विवाहको पहिलो वार्षिकोत्सव मनाउन पाइँदैन कि क्या हो !’ 
०००
आकाङ्क्षा आफ्नो अडानबाट टसमस नभएपछि निष्कर्षमा पुगेँ, ‘ऊभित्र स्थापित गुणलाई बदल्न खोज्नु स्वयम्लाई पीडा दिनु हो । तिमी यसरी नै चल्नू ।’ अनेक आरोह–अवरोहबीच एक वर्ष बित्यो । पहिलो वार्षिकोत्सवका दिन कुनै केक काटेनौँ, क्यान्डिल बालेनौँ, गिफ्ट साटासाट गरेनौँ । मात्र मुस्कुराएर भनेँ, ‘आकाङ्क्षा, ‘कङ्ग्रयाचुलेसन’ हामीबीचको परीक्षणकाल सम्पन्न भयो । अब हामी ‘स्थायी’ रह्यौँ ।’ 
०००
आयु घट्छ बाबै !

आकाङ्क्षा भान्साकोठामा खाना तयार गर्दै थिइन् । बेलुकीका केही जुठा भाँडा ‘खलान’मा असरल्ल थिए । आँगन बढार्ने काम सकेर म भाँडा भएतिर हानिएँ । कसौँडी मस्काउन लाग्दै गर्दा पल्लाघरे काकी टुप्लुकिइन् ।  काकी उवाच, ‘हेर् त बिहे गरेपछि पनि यो त ‘लुतेधन्दा’मै व्यस्त छ । सानैदेखि दैलो पोत्ने, भाँडा माझ्ने सप्पै केटीले गर्ने काम गथ्र्यो । बिहे गरेपछि पनि उस्तै छ । बिहे गरेपछि केटा मान्छेले भाँडा माझ्न हुँदैन बाबै ! ‘आयु घट्छ’ भन्छन् ।’

‘काकी, यस्ता मिथ्या कुराको पछाडि लागेर हुन्छ त ? आयु घट्दो हो त मेरो मावली हजुरबुबाको घट्थ्यो, जसले बत्तीस वर्षको उमेरमा जीवनसाथी गुमाए । त्यसपछि उनले कहिल्यै आफ्ना कपडा धुन र खाएको थाल–कचौरा माझ्न बुहारीहरूलाई दिएनन् । आज हजुरबाको चौरासी पूजा गरेको पनि ३ वर्ष भइसक्यो ।’
‘तँसँग बोलेर कसले सक्ने ? बुहारीको ‘खप्पर’ बलियो रैछ ।’

मान्छेले देखे भने... 

तीर्थप्रसाद मेरा असाध्यै मिल्ने मित्र हुन् । धर्मशास्त्र, दर्शन, कानुन, जीवनी तथा समसामयिक मुद्दामाथि उनको बडो चाख छ । विश्वविद्यालयमा ‘नारीवादी समालोचना’ बडो काइदाले घोकाउँछन्/फलाक्छन् । उनैले हो नारीचिन्तनको पाश्चात्य जग बसाल्ने कृति एङ्गेल्सकृत ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’का बारेमा सुनाएका । सिमोन दी बुभायरको ‘द सेकेन्ड सेक्स’, योगमाया न्यौपानेका आन्दोलन, सफ्फोको क्रान्तिकारी गीतिकाव्यकारिताका इत्यादि । तीर्थ नारीमुक्तिका पूर्वीय एवं पाश्चात्य दृष्टान्तहरू साक्ष्य लिँदै भन्थे, ‘हामीले सिद्धान्ततः जे भन्छौँ, व्यवहारमा सोही कुरा लागू गर्न सक्नुपर्छ, अनि मात्र नारी मुक्ति सम्भव हुन्छ ।’ लाग्थ्यो, यिनी नारीमुक्तिका निम्ति नै जन्मिएका एक थान मनुवा हुन् । यिनकी नारी कति ‘सौभाग्यवती’ ।

०००
एकदिन काम विशेषले तीर्थको ‘कुटी’सम्म डोहो-याइएँ । उनी श्रीमतीलाई ‘धर्मपत्नी’ भन्थे । बाथरुममा कपडा धुँदै रहेछन् । मैले व्यङ्ग्यमिश्रित स्वरमा पुकारेँ, ‘धर्मपतिज्यू, कपडा त दह्रै धुलाइ भइराछ त, म्याडम खै त ?’ उनले श्रीमतीजीको धुँदै गरेको ‘भित्री वस्त्र’ छोपछाप पार्दै भने, ‘बाहिर गाछिन् । बसौँ न ।’
उनलाई बाधा तुल्याउन उचित ठानिनँ । अध्ययन कक्षमा उनलाई कुरेँ । कपडा धोएर सुकाईकन म भए ठाउँ आए । केहीबेरको भलाकुसारीपछि बिदा भएँ । बाहिर निस्कने क्रममा तीर्थ पनि निस्किए । आँगनमा कपडा सुकाइएका थिए । कपडामा नजर लगाएँ, तर अघि छोपछाप पारिएका श्रीमतीजीका भित्री वस्त्र सुकाइएका थिएनन् । प्रश्न गरेँ, ‘तीर्थजी धोइएका सबै कपडा सुकाइएनछन् नि ?’

चारैतिर नजर घुमाईकन बिस्तारै बोले, ‘मित्र, वरिपरि यत्रा घर छन्, मान्छेले देखे भने के भन्लान् ? विश्वविद्यालय पढाउने मान्छे श्रीमतीको ‘पेटिकोट, ब्रा, पेन्टी’ धोएर बस्छ भन्दा के जवाफ दिनू ? अर्धनारीवादी तीर्थको अल्पविकसित पुरुषसोचका अगाडि मलाई कुनै प्रश्नोत्तर गर्नु उचित लागेन ।  बिदा हुने वेला मनुस्मृति श्लोक वाच्दै बिदा भएँ– ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः/यत्रैतास्तु नपूज्यन्ते सर्वास्तत्राफलाः क्रिया : (३ः५६) (छायानुवाद: जहाँ नारीको पूजा (मान्यता/प्रतिष्ठा ?) हुन्छ, त्यहाँ ईश्वर (कर्म/पहिचान ?) प्रसन्न रहन्छ । जहाँ नारीको पूजा हुँदैन, त्यहाँ गरिएका सबै कर्म निष्फल रहन्छ ।)

जोइटिङ्ग्रे भइछस्... 
नारी अफिस धान्छे । भान्सा धान्छे । इष्टमित्र, बाहिर–भित्र । काममा कमी हुनुहुँदैन । सबैतिर फिट । अलिकति कम भयो कि पुरुष वा पारिवारिक ‘खप्पी’ । कामको प्रकृति उस्तै हो । नारीले गर्दा ‘जन्मसिद्ध, कर्मले दिएको, भाग्य नै त्यस्तै’ इत्यादि । पुरुषले गर्दा ‘नामर्द, जोइटिङ्ग्रे, हुतिहारा’ इत्यादि । सामाजिक रूपमा जरो गाडेर बसेको ‘जोइटिङ्ग्रे’ सभ्यताको ‘एन्टियोबायोटिक’का रूपमा ‘पोइटिङ्ग्रे’ बन्न तयार हुने कति छन् ?

एक मित्र छ । ऊ आफ्नो पैताला देखाउँदै भन्छ, ‘आइमाईलाई यी यहाँ राख्नुपर्छ ।’ कयौँपटक ऊसँग बहस गर्दा भन्ने गर्छ, ‘स्वास्नीको औँलामा नाँच्ने तँ त नामर्द रैछस् । किचनको काम गर्ने, लुगा धुने, केटी हुनुपर्ने केटा भैछस् ।’ अनि भेटैपिच्छे घोचिरहन्छ, ‘तँ त जोइटिङ्ग्रे भइछस् ।’ 

अर्घेलो अभ्यास 

नारीबाट नारीकै ‘भाग्य परीक्षा’ आज पनि उत्तिकै चुनौतीको विषय बनेर देखापरेको छ । आफ्नोे छोरीको उच्च चरित्र देख्ने वा प्रशंसा गर्ने ‘सासूहरू’ अर्काकी छोरीलाई (बुहारी) किन ‘अर्घेलो’ ठान्छन् ? किन सासूहरू ‘आमा’ भूमिकामा देखापर्न हिच्किचाउँछन् । किन सोच्दैनन् आमाहरू, ‘मजस्तै आमा मेरी छोरीका निम्ति सासू चरित्रमा उभिएकी छन्’ भन्ने कुरा ? समाज रूपान्तरणका ठूला–ठूला कुरा गर्दै गर्दा स–साना कुरामा अड्किएको मनोविज्ञानको रूपान्तरण 
कहिले हुन्छ ?

नारीमुक्तिको डिस्कोर्स हाम्रा लागि नौलो होइन । जबसम्म निषेधको व्यवहार, घृणा वा ईष्र्याभावबाट हामी मुक्त हुन सक्दैनौँ, तबसम्म लैङ्गिक समस्याको दीर्घकालीन समाधान सम्भव छैन ।

बाथरुममा बसेर श्रीमतीजीको कपडा धुन सक्ने तीर्थप्रसाद चरित्रहरूले खुला रूपमा श्रीमतीका भित्री वस्त्र सार्वजनिक रूपमा धुन र सुकाउन सक्ने वातावरण कहिले बन्छ ? यस कार्यमा ‘आयु नघटाईकन’ काम गर्न प्रेरित गर्ने नारीहरू कति भेटिन्छन् ? पङ्क्तिकारलाई जे भन्नोस्, त्यो छुट तपाईँलाई छ । मलाई त्यसमा कुनै गुनासो अलाप्नु अथवा क्रिया–प्रतिक्रियामा सहभागी हुनु छैन । यद्यपि म मेरी जीवनसङ्गिनीका भित्री वस्त्र धुन्छु पनि र सुकाउँछु पनि । जब मेरी जीवनसङ्गिनीले मेरा सबै काम खुला रूपमै गर्न हुन्छ भने त्यही काम मैले गर्न हुँदैन ? के त्यो काम केटीको जन्मसिद्ध काम हो ? र पुरुष लिङ्गधारीको निम्ति आयु घटाउने कर्म ? 

प्रमिलापुरीको दुःखान्त कथा
जीवन नियमित आकस्मिकता हो । प्राकृतिक सत्यको व्यतिरेकमा हामी जान सक्दैनौँ । सृष्टिको सत्य यो हो, नारी–पुरुष दुवै उत्तिकै पूज्य र बराबरी हैसियतका छन् । अवसर र चुनौती स्वीकार गर्न नसक्नु ‘सर्भाइभ’ हुन नसक्नु हो । यद्यपि ‘फिटनेस’का निम्ति अनुकूल वातावरण तय गर्ने काम मान्छेकै हो । सिद्धान्ततः चर्को भाषण छाँट्ने यस्ता प्रवृत्तिका वैचारिक बहसले सामाजिक रूपान्तरण अर्थात् ‘जेन्डर इस्यु’को दीर्घकालीन समाधान हुन सक्दैन । जबसम्म हामी एकले अर्कोमाथि प्रतिशोधको भावना कायम राख्छौँ, तबसम्म समाज बालकृष्णकृत ‘स्वास्नीमान्छे’मा रूपान्तरण भइजान्छ । 

समकृत ‘स्वास्नीमान्छे’मा एउटा राज्य छ, ‘प्रमिलापुरी’ । यो कपोकल्पित राज्य अमादब्लम हिमालप्रान्त वा तन्द्री हिमालमा अवस्थित छ । चोभारको चँखुती–बँखुतीको गुफामार्गबाट उक्त राज्यमा पुगिन्छ । जहाँ हरेक उच्च तहमा स्वास्नीहरू (नारी)को बोलवाला चल्छ । अर्थात् राज्य उनीहरूबाट निर्देशित छ । पुरुषहरू चरम घृणाका पात्र छन् ।

महादम्बिका, भा, धीराधा आदि नारी चरित्र, जो पितृसत्ताको चरम पीडाबाट प्रताडित भईकन ‘प्रमिलापुरी’को आविष्कार गर्न पुग्दछन् । उनीहरूमा पुरुष जातिप्रति नै चरम घृणा छ । जसको कारण पुरुष व्यवहार नै हो । प्रमिलापुरीको सत्ता धेरै दिन टिक्न सक्दैन । यसको मुख्य कारण हो, कुनै एक पक्षको ‘निषेध’ । निषेधले अन्ततः द्वन्द्व र पछि विनाश निम्त्याउँछ । प्रमिलापुरीमा यही भएको छ । शीतकण्ठ नाम गरेको पात्र प्रमिलापुरी राज्यको बाधक बनेको छ । ऊ पितृसत्तात्मक राज्यको पुनःस्थापनाद्वारा सनातन धर्मको रक्षाका निम्ति हतियार उठाउन पुगेको छ र अन्ततः राज्य ध्वस्त भई सम्पूर्ण नाटकीय कार्यव्यापार दुःखान्त बन्न पुगेको छ । 

डा.केशवप्रसाद उपाध्याय लेख्छन्, ‘नारी र पुरुष दुवै लिङ्गका अनुदार, उग्र र अतिवादी व्यक्तिहरूका कारण नै प्रमिलापुरीमा सद्भावनाको राज्य गराउन चाहने धीराधाको इच्छा पूरा हुँदैन र दुर्भावना विकसित भई दुःखान्त घटित हुन्छ ।’ धीराधा यस्ती चरित्र हो, जो मनुको स्वास्नीमान्छेलाई लोग्नेमान्छेका अधीनमा राख्ने स्मृति र नित्सेका दयालाई पाप र कमजोरी ठानी सद्भावनालाई बहिष्कार गर्ने दर्शन मान्दिन । 
०००
नारीमुक्तिको डिस्कोर्स हाम्रा लागि नौलो होइन । जबसम्म निषेधको व्यवहार, घृणा वा ईष्र्याभावबाट हामी मुक्त हुन सक्दैनौँ, तबसम्म लैङ्गिक समस्याको दीर्घकालीन समाधान सम्भव छैन । समाजशास्त्री प्रा.डा. चैतन्य मिश्र एक लेखमा भन्छन्, ‘मैले समाजशास्त्रका धेरै सिद्धान्तहरू बुझेँ/पढाएँ तर म बाँचेको समाज बुझ्न सकेनछु ।’ यसर्थ सैद्धान्तिक बहस होइन, व्यावहारिक रूपान्तरणमा लागौँ । होइन भने ‘भाग्यमानी’ छोरी ‘अभागी’ बुहारी’को शृङ्खला समाप्त हुनेछैन । 

 

 


 

प्रतिकृया दिनुहोस