मधेसको परिवेशमा केन्द्रित रहेर नेपालीमा उपन्यास लेख्ने काम तुलसीराम कुँवर (रने, २०१८) बाटै सुरु भएको हो । त्यसपछि विजय मल्ल (अनुराधा, २०१८), विश्वेश्वरप्रसाद कोइराला (नरेन्द्र दाइ, २०२६), दौलतविक्रम विष्ट (एक पालुवा अनेकौँ याम, २०२६), धच गोतामे (घामका पाइलाहरू, २०३५) र यहाँदेखि त्यहाँसम्म, २०४२) जस्ता उपन्यासकारले मधेसको परिवेशमा उपन्यास लेखे ।
ध्रुवचन्द्र गौतम (अलिखित, २०४० आदि), नयनराज पाण्डे (उलार, २०५६), इस्माली (जिरो माइल, २०५६) आदि उपन्यासकारले मधेसी समुदायका समस्या, उनीहरूमाथिका विभेदका बारेमा निकै चासो दिएर लेखेका छन् । यही पृष्ठभूमिमा पछिल्लो मधेसकेन्द्रित उपन्यासका रूपमा गणेश अधिकारीको ‘मालिकहरूको मधेस’ उपन्यास प्रकाशित भएको छ ।
शिक्षण पेसाबाट सेवानिवृत्त भई लेखन कार्यमा लागेका अधिकारी राजनीति, इतिहास र संस्कृतिका विषयमा गम्भीर र विश्लेषणात्मक लेख लेख्ने गर्छन् । खोटाङका उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता पनि हुन् । झापा आन्दोलनको रापतापभन्दा अघिदेखि नै वाम विचारतिर आकर्षित रहेका अधिकारीले माले, एमाले हुँदै माओवादी निकट बुद्धिजीवीका रूपमा रहेर काम गरिसकेका छन् । गोपाल किराती संस्कृतिमन्त्री हुँदा पशुपति विकास कोषका कोषाध्यक्ष भएका अधिकारी पछिल्लो समय लेखन कार्यमा समर्पित भएर लागेका छन् । ‘मालिकहरूको मधेस’ अधिकारीको पहिलो पुस्तकाकार कृति हो । शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासमा मधेसका अन्तर्विरोधलाई नजिकबाट नियाल्ने प्रयत्न गरिएको छ ।
‘मालिकहरूको मधेस’ मधेसी समुदायमाथिका विभेद, शोषण आदिको विरोधमा लेखिएको उपन्यास हो । मधेसको इतिहास, संस्कृति, आर्थिक प्रणाली, काठमाडौँ केन्द्रित सत्ता राजनीतिले मधेसी समुदायमाथि गर्ने विभेद र यी सबैको जोडबाट निर्मित मधेसी मनोविज्ञानको चित्रण यसमा राम्रोसँग गरिएको छ । यो मधेस केन्द्रित आञ्चलिक उपन्यास त हुँदै हो, साथसाथै राजनीतिक तथा ऐतिहासिक उपन्यास पनि हो । मधेसीहरू कसरी शोषणको जालोमा परे भन्ने चित्रण पुस्तकमा राम्ररी गरिएको छ ।
मधेसीहरूले झाडी फाँडेर मधेसलाई बस्नयोग्य बनाए । तर ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तै मधेसका खास बासिन्दा पाखा लागे । आयातीतहरूले मधेसमा रजाइँ गरे । वास्तविक मधेसीहरू आफैँले बनाएको जमिनमा सुकुम्बासी भए । यस उपन्यासमा यो ऐतिहासिक यथार्थलाई चित्रण गरिएको छ । उपन्यासमा मधेसमा लाग्ने हाटबजार, चाडपर्व, पूजाआजा, व्रत, उत्सव, मेला आदिको चित्रण गरिएको छ । घुर ताप्ने सन्दर्भदेखि त्यहाँका खानपान, पोसाक, शिष्टाचार, पात्रहरूका संवादमा स्थानीय कथ्यभाषा, त्यहाँको वातावरण, खेतीपाती आदिको सघन चित्रण गरिएको छ । उपन्यास पढ्दा पाठकले मधेसका विशिष्टतालाई राम्रोसँग बुझ्न सक्छ । यस उपन्यासले उपन्यासकार अधिकारीलाई धच गोतामे, ध्रुवचन्द्र गौतम, नयनराज पाण्डे, कृष्णराज सर्वहारीजस्ता मधेसकेन्द्रित आञ्चलिक उपन्यासकारको शृंखलामा जोडेका छन् ।
नेपालको संविधान २०७२ जारी भएपछि मधेसमा भएको आन्दोलन जायज थियो भन्ने यस उपन्यासको निष्कर्ष छ । नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट बन्न लागेको गणतन्त्रात्मक संविधानमा मधेसका मुद्दा र मधेसीको भावना समेटिनुपथ्र्यो । काठमाडौँको सत्ताले त्यस कुरालाई गम्भीरतापूर्वक सोचेन । त्यसैले मधेसले विद्रोह बोल्नु स्वाभाविक थियो भन्ने यस उपन्यासको निष्कर्ष छ । सविता नामकी पात्रका माध्यमबाट उपन्यासमा भनिएको छ :
‘गणतन्त्रका असली मालिक हिजो विभेदमा परेकाहरू हुनुपथ्र्यो, तर ती त भएनन्, यता सिंगो मधेसलाई हिजो जुन मालिकले कामत बनाएका थिए, आज पनि तिनीहरूकै हित रक्षा गर्ने किसिमले संविधान आएपछि मधेसमा आगो लागेको हो (पृष्ठ : १८३) ।’
पुलिस, प्रशासनलगायत राज्यका अंगहरू जनताको हितका लागि स्थापना गरिएका हुन् । तर, मधेसमा सत्ताका अंगहरू जनतामाथि शोषण, उत्पीडन गर्न खडा भएको जस्ता छन् भन्ने कुरा उपन्यासमा जोड दिइएको छ । राज्य र राज्यका अंग मधेसप्रति विभेदकारी छन् भन्ने देखाइएको छ । सविता नामक पात्रका माध्यमबाट उपन्यासमा भनिएको छ– ‘मधेससँग जमिन छ र मधेसीसँग पाखुरी । पाखुरीको परिश्रम परेपछि मधेसमा सुन फल्छ । तर, त्यो सुन विगत दुई सय वर्षदेखि लुटिँदै आएको छ (पृष्ठ : १८४) ।’
उपन्यास मधेसी समुदाय र श्रमजीवी वर्गको हितको पक्षमा छ । महिला अधिकारको विषयलाई पनि सशक्त रूपमा उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासमा सविता भन्छिन्, ‘बच्चा पाउने, गर्भधारण गर्ने, त्यसलाई पेटमा हुर्काउने, जन्माउने जस्ता अधिकार र सबैभन्दा पहिले त कोसित सहवास गरेर भ्रूण धारण गरूँ भनेर रोज्ने अधिकार एउटी आइमाईका रूपमा मेरो मात्रै हो (पृ. १८६) ।’
उपन्यासमा नेपालको जातीय विविधता समस्या नभएर सम्पत्ति हो भन्ने कुरामा जोड दिइएको छ । नेपालमा खस–आर्य, जनजाति, मधेसी सबैको आफ्नै प्रकारको गौरवपूर्ण इतिहास छ । यसलाई ठीक तरिकाले बुझ्न र सबैको सहअस्तित्वलाई आत्मसात् गर्न सक्दा मात्रै नेपालको भविष्य उज्ज्वल हुन्छ भनिएको छ । वर्तमान शासकले नेपालको विशिष्टतालाई ठीक तरिकाले नबुझेको र शोषक वर्गको स्वार्थअनुरूप सत्ता चलाएकाले मधेसी, जनजाति, महिला आदि उत्पीडनमा छन् भन्ने उपन्यासको निष्कर्ष छ ।
उपन्यासमा रकमबहादुर नामक पात्रलाई काठमाडौँको सत्ताको प्रतिनिधि पात्रका रूपमा उभ्याइएको छ । विगतमा काठमाडौँको सत्ताले मधेसमाथि एकछत्र हैकम चलाएको थियो । तर, अब मधेस जागेको छ । अब मधेसमाथि काठमाडौँ मनपरी गर्न सक्दैन भन्ने उपन्यासको सार छ । काठमाडौँ र मधेस एक–अर्काका विरोधी होइनन्, बरु एक–अर्काका परिपूरक हुन् भन्ने उपन्यासको निष्कर्ष हो । एकातिर मधेसले काठमाडौँलाई पालेको छ भने अर्कोतिर काठमाडौँको सुरक्षा हुँदा मात्रै मधेस पनि सुरक्षित हुन्छ भन्ने उपन्यासकारको बुझाइ छ ।
नेपालमा रहेका विभिन्न जातजातिमध्ये कुनै एक जाति, एक भाषा, एक समुदायको हित मात्रै सोचियो भने नेपालमा शान्ति र विकास असम्भव छ । जहाँ उत्पीडन हुन्छ, त्यहाँ प्रतिरोध अवश्य हुन्छ । मधेस आन्दोलन पनि त्यस्तै प्रतिरोध हो । यस्तो प्रतिरोध हुन्छ नै र हुनु पनि पर्छ । ‘मधेस जिन्दावाद !’ को नारा त्यस्तै स्वाभाविक प्रतिरोध हो भन्ने यस उपन्यासको समग्र निष्कर्ष रहेको छ ।
उपन्यास वर्णनात्मक छ । संवादहरू लामा छन् । १५ वटा परिच्छेद छन् । मधेसमाथिको उत्पीडनका साथै महिला र श्रमजीवी वर्गमाथिको उत्पीडनविरुद्ध पनि यसमा आवाज उठाइएको छ । नेपालको इतिहास, संस्कृतिका विशिष्टताको चित्रण गर्दै श्रमजीवी वर्गको पक्ष लिइएको छ । समग्रमा मधेसकेन्द्रित यस उपन्यासले तराई क्षेत्रको आञ्चलिकताका पृष्ठभूमिमा सबै जातीय, क्षेत्रीय, वर्गीय तथा लैंगिक उत्पीडनको विरोध गर्दै उत्पीडनमुक्त नेपालको परिकल्पना गरेको छ ।
शैली शिल्पगत रूपमा अझै परिष्कार हुन सक्ने ठाउँ छ । विषयवस्तु र भावका दृष्टिले उपन्यास सफल छ । जीवनका उर्वर समय नेपालको राजनीतिक परिवर्तन र शैक्षिक जागरणमा बिताएका अधिकारीले ७० वर्षको प्रौढ उमेरमा लेखेको यो उपन्यासमा विचारको प्रौढता छ । पहाडी समुदायको लेखकले मधेसमाथि लेखेको यस उपन्यासले मधेसमाथि न्याय गरेको छ । उपन्यासमा नेपालको समाजशास्त्रीय विशिष्टतालाई आख्यानीकरण गरिएको छ ।