• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ज्ञानु अधिकारी काठमाडाैं
२०७६ असार २१ शनिबार ०७:१३:००
साहित्य

यो आख्यानको समय हो

बहस

२०७६ असार २१ शनिबार ०७:१३:००
ज्ञानु अधिकारी काठमाडाैं

नेपाली साहित्य अहिले आख्यानमय भएको छ । प्रकाशनका दृष्टिले हेर्ने हो भने कविता र गैरआख्यानका किताबको संख्या बढी देखिए पनि चर्चा र चासो भने आख्यानले नै पाउने गरेको छ । खासगरी पछिल्लो समय नेपाली साहित्यमा आख्यान लेखनको लहर चलेको छ । यो लहर लेखकको एउटा रहर मात्र बन्छ कि नेपाली साहित्यको सुखद प्रहर पनि बन्छ, त्यो त हेर्न बाँकी नै छ । यसरी आख्यानमै लेखक किन बढी आकर्षित भए भन्ने प्रश्न वर्तमान नेपाली साहित्यको बजारले उब्जाएको मुख्य प्रश्न हो ।

लेखकहरू आफ्ना विचार, भावना, दृष्टिकोण, चिन्तन, अनुभूति आदिलाई साहित्यका जुुनसुकै विधाका माध्यमबाट व्यक्त गर्न स्वतन्त्र हुन्छन्् । साहित्यका विधा, उपविधा त केवल लेखकले प्रकट गर्ने अभिव्यक्तिको स्वरूप र संरचना मात्र हुन् । लेखकलाई आफ्ना कुरा जुन विधाका माध्यमबाट बढी प्रभावकारी रूपमा राख्न सक्छु जस्तो लाग्छ, या विषयवस्तुमाथि न्याय गर्न सक्छु जस्तो लाग्छ, उसले त्यही विधालाई रोज्न सक्छ । आफ्नो रुचि र विषयवस्तुको स्वरूप हेरेर लेखकले विधा छनोट गर्नु आवश्यक हुन्छ । अहिलेको नेपाली साहित्यको परिप्रेक्ष्यलाई हेर्ने हो भने अधिकांश लेखकहरू आख्यान विधामा आकर्षित देखिन्छन् । यसरी नयाँ, पुराना, स्थापित, सिकारु सबै लेखकले आख्यानलाई नै बढी प्राथमिकता दिएका छन् । 

आजका मानिसको जीवन भोगाइका जटिलतालाई कविताका सूत्रले थेग्न नसकेकै हो त ? कि, यथार्थलाई विभिन्न ढंगबाट प्रस्तुत गर्न आख्यान नै उपयुक्त र स्वाभाविक हुने भएकाले हो ? अथवा लेखकले आफ्ना भोगाइ र अनुभूतिलाई व्यक्त गर्न कुनै काल्पनिक पात्रको सहारा लिनुपर्ने आवश्यकता भएकाले आख्यानलाई नै रोजेका हुन् ? यस्ता धेरै जिज्ञासा अहिलेको लेखनको ट्रेन्डले उब्जाएको छ । विश्वमै लोकप्रिय विधाका रूपमा चिनिएको र नेपाली साहित्यमा पनि आख्यानका पाठक नै बढी हुने भएकाले लेखकहरू पछिल्लो समय यस विधामा बढी आकर्षित भएको हुन सक्ने अनुमान एकातिर गर्न सकिन्छ भने अर्कातिर विभिन्न स्तरीय पुरस्कार प्रायजसो आख्यान विधाले नै पाउने गरेकाले पनि लेखकहरूको ध्यान यसतर्फ गएको हो कि भन्ने अड्कल काट्न सकिन्छ ।

समालोचक तथा आख्यानकार प्रा.डा. गोविन्दराज भट्टराई भन्छन्, ‘आख्यान एउटा ठूलो क्यानभास हो, यहाँ लेखकले सबै कुरालाई कलात्मक रूपमा राख्न सक्छ । विश्व परिवेशलाई हेर्दा होस् या नेपालकै साहित्यिक परिवेशलाई हेर्दा होस्, मानवीय जीवनका विविध यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने काम आख्यानले नै गरेको छ भने नोबेल, ओस्कारजस्ता विश्वका ठुल्ठूला पुरस्कार अधिकांशतः आख्यान कृतिले नै पाएका छन् । लेखकले आफ्ना भोगाइ, विचार र अनुभवलाई आफू छेलिएर पात्रका माध्यमबाट व्यक्त गर्न चाहन्छ । यसरी आफ्ना भोगाइ, अनुभूति, विचारलाई लेखकले सीधै नभनी परोक्ष रूपमा व्यक्त गर्न पाउने विधा नै आख्यान हो । आख्यानले राष्ट्रिय गाथा, इतिहास, युद्ध, द्वन्द्व र समयको झड्कालाई विभिन्न शैली र शिल्पका साथ प्रस्तुत गर्न सक्ने भएकाले पनि यसको ट्रेन्ड पछिल्लो समय बढ्दै गएको हो । पहिले महाकाव्य यस्तै थियो, तर शिल्प पक्षमा बाँधिनु र अल्झिनु परेकाले महाकाव्य जटिल बन्न पुग्यो र लेखकले आख्यानलाई रोज्न पुगे ।’

मानवीय जीवन र जगत्को यथार्थलाई वर्णनात्मक शैलीमा चित्र उतार्ने काम आख्यानले गर्छ । आख्यान विषयवस्तुको प्रस्तुतीकरण मात्र नभई नव–नव सिद्धान्त तथा अवधारणा अवलम्बन गर्ने प्रयोगभूमि पनि हो । साहित्यका अधिकांश सिद्धान्त वा पद्धतिको प्रयोग सबैभन्दा प्रभावकारी रूपमा आख्यान विधामैै गरिएका हुन्छन् । आदर्शवाद, स्वच्छन्दतावाद, यथार्थवाद, प्रगतिवाद, अस्तित्ववाद, विसंगतिवाद, मार्क्सवाद, प्रकृतवाद, अति यथार्थवाद, शून्यवाद, प्रभाववाद, मनोविज्ञान, स्थानीयता–आञ्चलिकताजस्ता सिद्धान्त तथा चिन्तनको व्यावहारिक प्रयोग आख्यानमा नै गरिएको पाइन्छ । साथै पछिल्लो समय सांस्कृतिक अध्ययनका विषय र उत्तरआधुनिक बहुलवादी अवधारणाको सशक्त प्रयोग पनि आख्यानमा नै भएको देखिन्छ । नेपाली साहित्यमा विशेष गरी पचासको दशकयता पाश्चात्य साहित्यबाट भित्रिएका र विकसित भएका नारीवाद, अभिघात, सीमान्तीकृत, लैंगिकता, पर्यावरण, डायस्पोरा, साइबर संस्कृति आदिको प्रयोगभूमि पनि मूलतः आख्यान विधा नै हुने गरेको छ ।

आजका मानिसको जीवन–भोगाइका जटिलतालाई कविताका सूत्रले थेग्न नसकेकै हो ? अथवा लेखकले आफ्ना भोगाइ र अनुभूतिलाई व्यक्त गर्न कुनै काल्पनिक पात्रको सहारा लिनुपर्ने आवश्यकता भएकाले आख्यान नै रोजेका हुन् ?

आख्यान कृतिहरू धेरै लेखिएका छन्, तर लेखिएका कृतिका तुलनामा पढिने र रुचाइने आख्यान कृतिको संख्या अत्यन्त न्यून छ । यसरी लेखेर चर्चा नपाउनु, प्रतिस्पर्धामा आउन नसक्नु र कृतिको पहिचान बन्न नसक्नुमा केही बाह्य कारण अर्थात् साहित्यिक गुट, मिडिया आदि हुन सक्लान् । तर, यसको मुख्य कारण भनेको आन्तरिक नै हो । आख्यानमा विषय, पात्र, परिवेश र भाषाका बीचमा सन्तुलन मिलाउन नसक्नु, पात्रको हैसियत र वास्तविकताभन्दा पर गएर आदर्श छाँट्नु, यौन र करुणाको जबर्जस्ती प्रयोग गरेर पाठकलाई सस्तो प्रभाव पार्न खोज्नु, आफूले जान्दैनजानेका र प्रशस्त ज्ञान नभएका भाषा र संस्कृतिलाई हचुवाका भरमा प्रयोग गर्नु, कथावस्तुलाई क्रान्तिकारी र प्रयोगशील बनाउने नाउँमा अस्वाभाविक र कृत्रिमताको साहरा लिनु, मनगढन्ते कल्पनाको प्रयोग गरी शब्दहरूको थुप्रो लगाउनुजस्ता कमजोरी र सीमाहरूकै कारण अधिकांश आख्यानले सचेत पाठकलाई प्रभाव पार्न नसकेको हो ।

साहित्यमा आख्यानले पारेको प्रभावबारे प्रा. डा. सावित्री मल्ल कक्षपती भन्छिन्, ‘पछिल्लो समय आख्यान प्रशस्त लेखिएका छन् र लेखिनु पनि पर्छ । यसरी धेरै लेखिएपछि नै निश्चय पनि राम्रा कृति आउँछन् । तर, अहिले आख्यानका किताबमा बन्द भएर जति पनि विषय आइरहेका छन्, ती सबै आख्यान जस्ता छन् त ? कतै यो आख्यानको भिडले आफ्नै गथासो र दुखेसो मात्र पोखेर आख्यान भनी नेपाली पाठकलाई झुक्याएको त छैन ?

कथा र उपन्यासका नाममा लेखकले जेजस्तो लेखे पनि हामी उनीहरूलाई सफल आख्यानकार भनिदिन बाध्य छौँ । आख्यान कति लेखिए ? कस–कसले लेखे ? कति छापिन्छन् ? कति बिक्री हुन्छन् ? भन्नु भन्दा पनि आख्यान कृति पाठकमा छाप छाड्न सफल भयो कि भएन, आख्यान विधाको एउटा गतिलो कृति बन्न सक्यो कि सकेन भन्ने कुरा महत्वपूर्ण हो ।’ उनको विचारमा जीवनका भोगाइको सपाट वर्णन लेखेर पनि आख्यानकार बन्न सकिने अवसर पाइने भएकाले पनि पछिल्लो समय लेखकहरूको ध्यान यता तानिएको हुन सक्छ ।

प्राचीन युगमा साहित्यमा काव्यको वर्चस्व थियो । काव्यले नै साहित्यको सबै विधालाई प्रतिनिधित्व गथ्र्याे । प्राचीन समयको लामो कालखण्डसम्म काव्य र नाटक विधाले साहित्यको बिरासत थामेर बस्यो । आधुनिक काल प्रारम्भ भएपछि भने बिस्तारै काव्यको ठाउँ आख्यानले लिन पुग्यो । त्यसैले आख्यानलाई आधुनिक समाज र साहित्यको महत्वपूर्ण प्राप्ति पनि मानिन्छ । विश्व–साहित्यमा अठारौँ शताब्दीपछि बढ्दै गएको आख्यानको क्रेज नेपाली साहित्यमा भने अहिले पछिल्लो समयमा आएर बढ्न थालेको छ ।

जटिल बन्दै गएका जीवनका व्यापक यथार्थलाई सीधै र निर्बाध रूपमा अभिव्यक्त गर्ने साहित्यको एउटा विशिष्ट माध्यम आख्यान हो । आख्यान लेखन–प्रकाशनमा वृद्धि भएसँगै यसको विषयगत विविधताका साथै शैली र शिल्पमा समेत केही नवीनता देखिएका छन् । पछिल्लो समयको आख्यानमा अधिकांशतः अनुभूत सत्यको प्रचुरता देखिन्छ भने केही आख्यान कृति इतिहास, राजनीति र पौराणिक मिथकबाट लिइएको देखिन्छ । वास्तवमा, आख्यान आत्माभिव्यक्तिको माध्यम र घटना वा दृश्यको वर्णन मात्र पनि होइन, यो त समयलाई सम्बोधन गर्ने र समयसँग संवाद गर्ने माध्यम पनि हो । आख्यानमा देखिएका नयाँपन, समुच्चय भावले तत्समयको जीवनबोधलाई मात्र अभिव्यक्त गर्दैन, त्यसले पुराना मूल्य–मान्यतालाई अस्वीकार गरेको संकेत पनि गर्छ ।

‘आख्यान’ शब्दलाई ‘कहिने वा भनिने कुरो वा भाव, बयान, वर्णन, वृत्तान्त’ भनी शब्दकोशले अथ्र्याएको छ । वास्तवमा आख्यान त्यस्तो विधा हो, जसले साहित्यिक पाठकलाई वस्तुतथ्यात्मक विवरणभन्दा भिन्न स्वरूप प्रदान गर्छ । साहित्यमा काव्याख्यान, नाट्याख्यान र गद्याख्यान गरी तीन प्रकारका आख्यान हुन्छन् । अहिले पछिल्लो समय आख्यान भनेर गद्याख्यानलाई मात्र बुझिन्छ । खास गरी उपन्यास, लघु–उपन्यास, लामो कथा, कथा र लघुकथालाई मात्र आख्यानका रूपमा लिइन्छ भने लघु–उपन्यास र लामो कथा लेखिने गरिए पनि यसको सैद्धान्तिक स्वरूप र संरचनाबारे नेपाली साहित्यमा चर्चा भएको पाइँदैन । महाकाव्य, खण्डकाव्य र लामो कवितामा पनि आख्यानको प्रस्तुति हुन्छ र यसरी काव्यमा मिसिएर आएको आख्यानलाई काव्याख्यान र नाटकमा प्रस्तुत भएको आख्यानलाई नाट्याख्यान भन्ने गरिन्छ । यसरी आख्यानको स्वरूप र संरचनालाई हेर्दा आजको नेपाली साहित्यको समय भनेको गद्याख्यानको हो ।

नेपाली साहित्यमा आख्यान लेखनको लहर चलेको छ । यो लहर लेखकको एउटा रहर मात्र बन्छ कि नेपाली साहित्यको सुखद प्रहर पनि बन्छ, त्यो हेर्नै बाँकी छ ।

के आख्यान लेख्नु सजिलो छ ? यसमा चुनौती छैनन् ? आख्यान लेखिनु एउटा कुरा हो र आख्यान जीवन्त र स्तरीय बन्नु अर्कै कुरा हो । कतिपय आख्यानमा घटना, पात्र, परिवेश, द्वन्द्व, समस्या सबै कुरा आएका त छन्, तर ती आख्यान बन्न सकिरहेका छैनन् । यस्तो हुनुमा धेरै कारण छन् । जबसम्म लेखकमा आफ्नो लेखनप्रति आत्मविश्वास, विचारप्रति प्रतिबद्धता र चिन्तन र दायित्वबोध हुँदैन, तबसम्म आख्यानको निर्माण आकारमा मात्र हुन्छ, सारमा हुँदैन ।

विषयवस्तुबारे यथेष्ट जानकारी र सूचना छैन, लेख्ने अभ्यास छैन, सम्बन्धित विषयमा लेखिएका लेख र आख्यानको अध्ययन छैन, सम्बद्ध विषयमा विज्ञसँग संवाद र अन्तक्र्रिया छैन अनि सिद्धान्त र पूर्वधारणाबारे कुनै ज्ञान नै छैन भने कसरी लेखिन्छ, एउटा सफल आख्यान ? एउटा कोठामा बसेर कल्पना र अनुमानका भरमा हावादारी आख्यान लेखेर त्यो आख्यान पढ्ने कसले ? अनि आफूले लेखेको कृति समीक्षक, समालोचक र पाठकले पढिदिएनन्, राम्रो भनिदिएनन् भनेर लेखकले गुनासो गर्न सुहाउँछ र ? श्रम, समय र पैसा खर्च गरेर पाठकले कुनै कृति पढ्छ भने उसको यो लगानीले न्याय अवश्य पनि पाउनुपर्छ । यस विषयमा लेखकहरू उत्तरदायी हुनैपर्ने देखिन्छ ।

काव्यले लोकप्रियताको उचाइ प्राप्त गर्न नसकेकाले आख्यानले काव्य विधालाई विस्थापित गर्‍यो भन्ने दाबी नेपाली साहित्यको परिप्रेक्ष्यमा गर्ने स्थिति अझै बनिसकेको छैन, तर तुलनात्मक रूपमा साहित्यमा पाठकहरूको सहभागिता बढाउन र पठन–संस्कृतिको निर्माण गर्न आख्यान नै सबैभन्दा प्रभावकारी भएको यथार्थलाई भने स्वीकार गर्नैपर्ने हुन्छ । त्यसैले विशेषतः साठी र सत्तरीको दशकमा नेपाली साहित्यमा आख्यान विधा नयाँ वेग र नयाँ सोचसहित तीव्र हुँदै गएको छ र यसले गर्दा आख्यानमा विविधता पनि मनग्य देखिएको छ । यसरी लेखक तथा पाठकमा आख्यानप्रति रुचि र आकर्षण बढ्नु नेपाली साहित्यको सुखद पक्ष हो ।