• वि.सं २०७६ असार ३१ मंगलबार
  • Tuesday, 16 July, 2019

युरोपमा पनि छुवाछुत भोगेँ : प्रकाश सपुत

२०७६ असार २१ शनिबार ०८:२५:०० | काठमाडाैं

प्रकाश सपुतको ‘गलबन्दी’ गीत  युट्युबमा हिट छ । यसअघि उनका ‘बोल माया’ र ‘दोहोरी ब्याटल’ले पनि करोडभन्दा माथि भ्युअर्स बटुलेको थियो । बाग्लुङ, धम्जाका प्रकाशले बाल्यकाल र संगीतयात्रामा भोगेका विभेदका केही घटना ‘झन् नयाँ’लाई सुनाएका छन् । उनीसँग राजु स्याङ्तानले कुराकानी गरेका थिए ।

टिभीमा राजेश हमालको फिल्म ‘एक नम्बरको पाखे’ आउँछ रे भन्ने हल्ला चल्यो । त्यसवेला कुनै पनि दलितको घरमा टिभी थिएन । राति घरबाट टाढा गैरदलितको घरमा टिभी हेर्न गएँ । ढोकाको चेपबाट टिभी हेरिरहेको थिएँ । एकजनाले मलाई धकेलेर ढोकाभित्र पु-याइदियो । घरबेटी झम्टिन आइपुग्यो । त्यसपछि मलाई बेस्सरी गाली ग-यो । म रुँदै–रुँदै घर फर्किएँ । त्यसदिन म अबेलासम्म निदाउन सकिनँ ।

धेरै रोएँ । कसैलाई केही पनि भनिनँ । १४ वर्षको उमेरमै मैले विभेद भोगेँ । समाजको पिँधमा रहेछु भन्ने त्यसवेला धेरै महसुस गरेँ । त्यो घटनापछि ६ महिनासम्म स्कुल गइनँ । कसैसँग बोल्न मन लागेन । म विचलित नै भएँ । त्यो घटनाभन्दा अगाडि जात व्यवस्थाबाट म कन्भिन्स भइरहेको थिएँ । बाहिर बसेर खानुपर्छ, भाँडा माझेर हिँड्नुपर्छ भन्नेमा अभ्यस्त भइसकेको थिएँ । तर, त्यो घटनापछि मैले जात व्यवस्थालाई राम्रैसँग बुझेँ ।

०००
हजुरबुबा लालबहादुर विश्वकर्मा आरनमा काम गर्नुहुन्थ्यो । बुबा बलबहादुर विश्वकर्मा कहिले भारत कहिले दुबई–कतार जानुभयो । आमा मीनाकुमारी विश्वकर्माले हामी चार दाजुभाइलाई हुर्काउनुभयो । हजुरबुबाले वर्षभरि आरनमा बसेर काम गर्नुहुन्थ्यो । अन्न भित्र्याउने वेला हजुरबुबा बोरा बोकेर बाली उठाउन गाउँमा जानुहुन्थ्यो, हाम्रो जीविकोपार्जनको आधार त्यही थियो । किनकि, हाम्रो बारीमा उब्जनी भएको अन्नले वर्षभरि खान पुग्दैन थियो । 

हाम्रो गाउँमा सांस्कृतिक कार्यक्रम भन्नु नै भजन गाउनु हुन्थ्यो । विदेशबाट कोही लाहुरे फर्किएमा, कसैको घरमा छोरा जन्मिएमा रातभरि भजन गाइन्थ्यो । हजुरबुबा गैरदलितको बीचमा बसेर भजन गाउनुहुन्थ्यो । म पनि हजुरबुबासँगै जान्थेँ । हजुरबुबा ८० वर्षको उमेरमा बित्नुभयो । बित्नुभन्दा केही दिनअघिसम्म पनि आरनमै काम गरिरहनुभयो । 

घरबाट स्कुल १ घन्टा टाढा थियो । बिहान दाउरा–घाँस काट्ने र दिउँसो स्कुल जाने गर्दै जनता प्राथमिक विद्यालयमा प्राथमिक तह पास गरेँ । एसएलसी लक्ष्मी माध्यमिक विद्यालयबाट पास गरेँ । बुबा भारतबाट नेपाल फर्केपछि साउदी जाने चक्करमा लाग्नुभयो । तर, उहाँको ४ वर्षसम्म भिसा आएन । त्यो चार वर्ष हामीले चरम अभावका दिनहरू भोग्यौँ । त्यही अवधिमा हामी गोठमा समेत बस्यौँ । 

त्यो घटनापछि ६ महिनासम्म स्कुल गइनँ । कसैसँग बोल्न मन लागेन । म विचलित भएँ । त्यसभन्दा अगाडि ‘बाहिर बसेर खानुपर्छ,’ ‘भाँडा माझेर हिँड्नुपर्छ’ भन्नेमा म अभ्यस्त भइसकेको थिएँ । तर, त्यो घटनापछि मैले जात व्यवस्थालाई राम्रैसँग बुझेँ ।

४ वर्षपछि बल्ल बुबाको भिसा आयो । बुबा साउदी जानुभयो । त्यसपछि हामीलाई अलि सहज भयो । तर, दसैँ–तिहारमा घर एकदमै शून्य लाग्थ्यो । बुबाको न्यास्रो लाग्थ्यो । म घरको जेठो छोरा भएकाले बुबा नहुँदा मैले नै जिम्मेवारी बहन गर्नुपथ्र्यो । मेरा गीत प्रायः विदेश जाने सन्दर्भसँग मिल्नु पनि बुबाकै कारणले हो । 

०००
सानोमा हजुरबुबासँग बाली उठाउन दुई–चारपटक हिँडे । त्यसवेला खान पाउने लोभ पनि हुन्थ्यो । हजुरबुबा अरूले लिएको अन्न अलग्गै थाप्नुहुन्थ्यो । खाएको भाँडा माझेर हिँड्नुपथ्र्यो । सबै सामान्य रूपमै लिइन्थ्यो । ‘म दलित समुदायको हुँ’, ‘मैले छोएको अरूले खाँदैनन्,’ ‘मैले खाएको भाँडा माझ्नुपर्छ’ भन्ने पहिला नै दिमागमा सेट भइसकेको हुँदोरहेछ । त्यसवेला विभेदका व्यवहारले दुखाएन । 

गाउँमा भलिबल खेल्थेँ । एकपटक घरबाट अलि टाढा भलिबल खेल्न जाँदा रात पर्‍यो । त्यसदिन हामी घर फर्किन सकेनौँ । एकजना गैरदलितको घरमा खाना खान गयौँ । गैरदलित साथीहरू घरभित्र फटाफट गए । म भित्र जान सकिनँ । एक्लै बाहिर बसिरहेँ । भित्र गएका कुनै पनि साथीले मलाई सम्झिएनन् । उनीहरूले मेरो भाग पनि नराखी सबै खाना सकाएछन् । म भोकै परेँ । रातको ११ बजेतिर एकजना साथी बाहिर आएर सोधे, ‘तिमीले खाना खाएनौ ?’ मैले ‘छैन’ भनेँ । त्यही वेला घरबेटी आइपुग्यो । म बाहिर बसेको थाहा पाएपछि घरबेटीले यो हुलमा दलित पनि आएका रहेछन् भन्ने थाहा पायो । त्यही हुलमूलमा भित्र पसेर दुईजना दलित साथीले खाना खाइसकेका थिए । त्यसपछि घरबेटीले मलाई नराम्रोसँग गाली गरे ।

एसएसली पास गरेपछि प्लस टु पढ्न बाग्लुङ आएँ । पढ्दै फर्निचरमा काम गर्न थालेँ । त्यसपछि रेडियोका कार्यक्रम चलाउन थालेँ । नाटक, गीत–संगीतमा सहभागी हुन थालेँ । म बाग्लुङ बस्दाबस्दै अन्तरजातीय विवाह गर्ने एक जोडीले आत्महत्या गरे । त्यसपछि मैले छुवाछुतविरुद्ध नाटक बनाएँ । बाग्लुङ बजारमा त्यो नाटक एकदमै लोकप्रिय भयो । रेडियोमा छुवाछुतविरुद्ध कार्यक्रम पनि चलाएँ ।

बाग्लुङ पढ्दापढ्दै संगीतप्रति झुकाव बढ्दै गयो । गीत गाउँदै विभिन्न मञ्चहरूमा पुग्न थालेँ । म गायक भनेर चिनिन थालिकेको थिएँ । तर, संगीत क्षेत्रमा पनि विभेद भोगेँ । कार्यक्रमहरूमा जाँदा नाम, थर ढाँट्नुपथ्र्यो । कति आयोजक आफैँले मेरो नाम र थर जुराइदिन्थे । कतिले स्टेज पछाडि भन्थे, ‘तँइले थर ढाँट्दे है ।’ 
बाग्लुङ बजार साँघुरो लाग्न थाल्यो । मलाई अब काठमाडौं जानुपर्छ भन्ने लाग्यो । तर, कलाकार नै बन्छु भन्ने उद्देश्य थिएन । घरबाट विदेश जाऊ भन्ने दबाब आइरहेको थियो । त्यसपछि म पैसा कमाउँछु भन्दै ०६९ मा काठमाडौं छिरेँ ।

ब्याचलर पढ्दै ठमेलको एउटा दोहोरी साँझमा काम गर्न थालेँ । दोहोरीले महिनाको ८/१० हजार रुपैयाँ दिन्थ्यो । टिप्स पनि हुन्थ्यो अलिअलि । गीत गाउँदागाउँदै गीत रेकर्ड गर्ने रहर लाग्थ्यो । ७ महिनामा ३५ हजार जम्मा गरेँ । ४ जना साथी मिलेर पहिलो गीत रेकर्ड गर्‍यौँ । गीत ठीकै चल्यो । सहरको ठूलो भिडमा छुवाछुत हुँदैन होला जस्तो लाग्थ्यो । दोहोरी साँझमा विभेद भोग्नुपरेन पनि । तर, जब बिहे गरेर कोठामा बस्न थालेँ त्यसपछि फेरि भोगेँ विभेद । 

हामी गोंगबुमा एकजना गैरदलितको घरमा बस्थ्यौँ । मेरो श्रीमतीको नाम बिन्दु बोहरा हो । उनीहरूले क्षेत्री बोहरा ठानेर हामीलाई कोठा दिएका रहेछन् । टिभीमा मेरो अन्तर्वार्ता हेरेपछि म दलित भएको घरबेटीले थाहा पाए । त्यसपछि कोठा भाडा लिँदा भुइँमा राखिदेऊ भन्न थाले । त्यो कोठा छाडेँ । छाड्ने क्रम रोकिएन । त्यसदिनदेखि यता पाँच वर्षमा चारपटक कोठा सरिसकेँ ।

०००
दिउँसो सुटिङ हेर्न जाने र राति दोहोरीमा गाउने गरिरहेँ । लोकदोहोरी क्षेत्रमा केही न केही नयाँ गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । त्यसपछि दोहोरी ब्याटल बाहिर ल्याएँ । गीत रुचाइयो । त्यसले मलाई ऊर्जा मिल्यो । ‘चरर बरर’, ‘यस्तै छ कहानी परेदेशीको’ भन्ने गीतहरू रेकर्ड गरेँ । तर, वैदेशिक रोजगारबारे लेखिएका गीतहरूले धीत मरेन । 

विदेशबाट कफिनमा बन्द भएर युवाहरू फर्किने क्रम रोकिएन । मेरै गाउँको दुईजनाको शव बाकसमा आयो । गाउँको एकजना फूपू इन्स्योरेन्सको पैसा निकाल्न आउनुभएको थियो । उहाँले इन्स्योरेन्सको पैसा सजिलै पाउनुभएन । उहाँलाई स्कुटरपछाडि राखेर कैयन दिन काठमाडौंको गल्ली चहारेँ । त्यसवेला उहाँले भन्नुभएको थियो, ‘पानीसमेत खुवाउन पाइनँ ।’ उहाँले भन्नुभएको प्रत्येक शब्द मेरो दिलदिमागमा गडेर बस्थ्यो । उहाँसँग हिँडेपछि थाहा पाएँ, वैदेशिक रोजगारको पीडा सहज छैन । त्यसपछि यो घटनालाई बाहिर ल्याउन कथा बुन्न थालेँ ।

टिभीमा मेरो अन्तर्वार्ता हेरेपछि म दलित भएको घरबेटीले थाहा पाए । त्यसपछि कोठाभाडा लिँदा भुइँमा राखिदेऊ भन्न थाले । त्यो कोठा छाडेँ । छाड्ने क्रम रोकिएन । त्यसदिनदेखि यता ५ वर्षमा ४ पटक कोठा सरिसकेँ । 

कथा बुनिसकेपछि बल्ल शब्द र लय खोज्न थालेँ । ‘बोल माया’ धेरैले मन पराउनुभयो । गीत हेरेर धेरैले फोन गरे । धेरैले भने– परिवारले विदेश जाऊ भनेर कर गरिरहेको थियो । यो गीत आएपछि नजाऊ भन्न थालेका छन् ।कति युवाले विदेशबाट फर्केपछि अब नजाने भनेरसमेत मलाई सुनाए । ‘बोल माया’पछि ‘दोहारी ब्याटल’ ल्याएँ । त्यो पनि धेरैले मन पराए । त्यसपछि ‘गलबन्दी’ ल्याएँ । धेरैले बधाई दिए । नेपालकै एकजनाले मलाई भने, ‘जता हे¥यो उतै दिक्क लागिरहेका वेला यो गीतले छुट्टै उमंग र ऊर्जा दियो ।’

०००
संगीतले मलाई देश–विदेश घुमायो । विभिन्न स्टेजहरूमा पुगेँ । प्रत्यक्ष विभेद कम भोग्न थालेँ । तर, विभेदको स्वरूप फेरियो । अप्रत्यक्ष विभेदचाहिँ भोगिरहेँ । पहिला सीधा–सीधा विभेद हुन्थ्यो, हिजोआज सानो भोल्युममा हुन्छ । युरोपको एउटा घटना सम्झिन्छु । होटेल महँगो भएपछि हामी एकजना नेपालीको घरमा गयौँ । म दलित भएको थाहा पाएपछि ती घरबेटीले भने, ‘बस्न त हुन्थ्यो, तर भाइ अर्कै जातको हुनुहुँदोरहेछ । आमाले मान्नुहुन्न । अर्कोपटक बसौँला नि है ।’ त्यसपछि हामी अन्तै गयौँ । पछिल्लो समय गलबन्दी गीतलाई लिएर सामाजिक सञ्जालमा मलाई होच्याएर लेखेको पनि देखेँ । आफ्नै समुदायले पनि लाखौँ दलितको अपमान भयो भन्दै मलाई भने । त्यसले मलाई थप पीडा दियो । तर, मैले कुनै गल्ती गरको थिइनँ । 

०००
समाजमा भएको विभेद र गरिबी हेर्दा केही त गरौँ भन्ने लाग्छ । तर, म सोच्छु, एउटा सर्जकले गर्न सक्ने कति हो ? सिर्जनाको शक्ति र सीमा के–कति हो ? अनि सोच्छु, सिर्जनाको पहुँच भनेको मानिसको संवेदनामा प्रहार गर्ने हो । मेरो गीतले राज्यको निर्णायक तहमा कति फरक पार्ला त्यो त म भन्न सक्दिनँ, तर एउटा कलाकारले सक्ने भनेको सिर्जनामार्फत समाजको चित्र देखाउने हो । म त्यही चित्र देखाउने कर्म गर्दै छु ।

मेरा गीत एक करोडभन्दा धेरै मानिसले हेरे । त्यसमा मलाई कुनै घमन्ड छैन । म जुन धरातलबाट आएँ आज पनि म त्यसैको वरिपरि छु । मैले धरातल बिर्सिएको छैन । किनकि मेरो समाज, मेरो छरछिमेक, मेरो परिवार आज पनि त्यहीँ छ । म मात्रै माथि पुगेँ भन्ने नै लाग्दैन । म अझै सिक्दै छु । मैले अझै धेरै काम गर्न बाँकी छ । बस् यति हो, मेरो कामलाई दर्शक–श्रोताले मन पराइदिँदा मैले केही अवसर पाइरहेको छु । म आज पनि त्यही अर्काको घरमा लुकीलुकी फिल्म हेर्ने प्रकाश नै हुँ । 
 

प्रतिकृया दिनुहोस