• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भानु बोखिम काठमाडाैं
२०७६ असार २१ शनिबार ०९:३३:००
साहित्य

गाडी : एक सपना

हुम्लाको सडक

२०७६ असार २१ शनिबार ०९:३३:००
भानु बोखिम काठमाडाैं

असार ३ गते कर्णाली किनारको बालुबिसौनाबाट ११ यात्रु बोकेको जिप कर्णालीमा खस्यो र बेपत्ता भयो । समाचारले निकै झस्किएँ । त्यसपछि हुम्लाका सडकमा हिँडेका पुराना दिन स्मृतिमा ओहोरदोहोर गरिरहे । 
०००
नेपालगन्जबाट उडेको तारा एयर सिमकोट एयरपोर्टमा ९ नबज्दै अवतरण भयो । यो २०६९ असोज २४ गतेको कुरा हो । जहाजबाट ओर्लिनेबित्तिकैको दृश्यले निकै रोमाञ्चित बनायो । लाग्थ्यो कि यो विकट कर्णाली होइन, युरोप–अमेरिकाको कुनै ठाउँ हो । बाहिरको दृश्य भने उति मनोरम थिएन । जिल्ला सदरमुकाममा सडक थिएन । सडक नभएपछि गाडीहरू हुने कुरै भएन । सडक चाहना नै हुम्लावासीको पहिलो प्राथमिकता थियो ।

कामको योजनाअनुसारै भोलिपल्ट उत्तरी सिमाना हिल्सातिर लागियो । हिल्सा जान रेडियो कैलाशका जनकबहादुर शाहीले एकजना पथप्रदर्शक खोजिदिएका थिए । यात्रा सुरु गरेको भोलिपल्ट ४ बजेतिर पानीपालुवांग पुगियो । यहाँबाट हिल्सा जाने गाडी पाइन्थ्यो । पानीपालुवांगको उचाइ तीन हजार मिटरभन्दा माथि भएकाले ठूला रूखहरू थिएनन् । ससाना झाडी मात्र थिए । मानिसको अस्थायी बसोवास मात्र थियो, जो हिल्साबाट सामान ल्याएर बेच्थे । ती ठाउँमा हुम्लाको दक्षिणी भेगका मानिस सामान किन्न आउँथे । दसैँ आउन लागेकाले सामान किन्नेको आवत–जावत बाक्लै थियो । 

आधा घन्टाजति बसेपछि गाडी आइपुग्यो । हिल्साका लागि गाडी प्रस्थान गर्दा साढे चार बजेको थियो । चालकले गीत बजाए अनि बेतोडले गाडी हाँके । सुक्खा पहाडको सडकबाट गाडी बाहिर गएको भए अड्याउने कुनै रूख थिएन । डाँडाले छेकेबाहेक परसम्मै सडक छ्यांगै देखिन्थ्यो । सुक्खा पहाडको कच्ची सडकमा गुडिरहेका वेला अगाडिबाट नम्बर प्लेटविनाको गाडी आइरहेको देखेँ । पछि थाहा भयो, त्यहाँ चल्ने कुनै पनि गाडीमा नम्बर प्लेट हँुदैन । त्यहाँका गाडी विनादर्ता, विनानियमन चलिरहेका थिए । भाडा पनि महँगो थियो, ३५ किलोमिटर दूरीको भाडा  ३५० रुपैयाँ । निश्चय नै यो काम सुशासनविरुद्ध थियो । तर, त्यहाँका मानिस सुशासनभन्दा पनि सुविधामा खुसी थिए । 

३५ किलोमिटर पैदलै पार गर्न बिहानदेखि बेलुकासम्मै बेतोडले हिँड्नुपथ्र्याे । साथै यसले सामान ढुवानीमा धेरै सहजता ल्याएको थियो । त्यसैले उनीहरू यो सडकयात्रामा खुसी थिए । उनीहरूका लागि आफ्नै देशको तराई क्षेत्रबाट भन्दा तिब्बततिरबाट सरसामान ल्याउन सस्तो र सहज पर्न जान्थ्यो । यही कारण पानीपालुवांगदेखि सिमकोटसम्म पनि चाँडै सडक बनेको देख्न चाहन्थे । तिब्बतबाट यही बाटो भएर मासुका लागि खपत हुने च्यांग्रा र अन्य सरसामान बोक्ने खच्चड सिमकोट आइपुग्थ्यो । 

सुक्खा पहाडको कच्ची सडकमा गुडिरहेका वेला अगाडिबाट नम्बर प्लेटविनाको गाडी आइरहेको देखेँ । पछि थाहा भयो, त्यहाँ चल्ने कुनै पनि गाडीमा नम्बर प्लेट हुँदैन  । त्यहाँका गाडी विनादर्ता, विनानियमन चलिरहेका थिए ।
 

हिल्साबाट फर्केर आएपछि मैले रवीन्द्र मिश्र (तत्कालीन बिबिसी नेपाली सेवाका प्रमुख) लाई फोन गरेँ । म आफैँचाहिँ त्यो वेला बिबिसी मिडिया एक्सनको कर्मचारी थिएँ । रवीन्द्र दाइसँग हुम्लाको उत्तरी भेगमा खनिएको सडकबारे रिपोर्टिङ गर्छु भनेर प्रस्ताव राखेँ । र, ३५ किलोमिटर सडकले पु-याएको फाइदा र खन्न बाँकी सडक खण्डमा चलेको राजनीतिक खिचातानीबारे रिपोर्ट तयार पारेँ । रिपोर्ट साँझ प्रसारण भयो । 
०००
असोजमा हुम्लामा जताततै स्याउ पाकेको थियो । सिमकोट बजारमा पाँच रुपैयाँमा स्याउ पाइन्थ्यो । काठमाडाैंमा स्याउलाई निकै महत्व दिइन्थ्यो । तर, हुम्लाको अवस्था ठीक उल्टो थियो । राम्रो भए पनि हुम्लाको स्याउले बजार पाएको थिएन । उसमाथि मैले त कत्ति घरमा सित्तैँमा स्याउ भेटेको थिएँ । सडक नभएकैले यहाँको स्याउले बजार पाएको थिएन । एकाध मानिस प्लेनबाटै स्याउ कोसेली लैजान्थे । 

भोलिपल्ट पनि सिमकोटमै बसियो । बसाइक्रममा हवाईजहाज यात्राबारे पनि रिपोर्टिङ गरेँ, बिबिसी नेपाली सेवामा । हवाईजहाजको यात्रा महँगो त थियो नै, साथै पैसा तिरेर पनि भरपर्दाे थिएन । मौसममा गडबडी भए धेरै दिन जहाज उड्दैनथ्यो । यिनै दुःखका कारण चाँडै हुम्लामा सडक आइपुगोस् भन्ने कामना सबैको थियो । तर, आजसम्म पनि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । 

अन्तिम रिपोर्टिङ थियो खरपेल र छिप्रामा । यी दुई गाउँबीच कर्णाली नदी बगेको थियो । छिप्रामा विद्यालयको रिपोर्टिङ गर्नु थियो । साँढे ९ बजेतिर विद्यालय पुग्दा विद्यार्थीहरू आउन थालेका थिए । देवनारायण साहु विद्यालयका प्रअ थिए, जो जीवन गुजाराका लागि पूर्वी तराईको सप्तरीबाट त्यहाँ पुगेका थिए । उनले स्थानीयले झैँ शिरमा ढाका टोपी ढल्काएका थिए । छिप्रापारि कुनै बस्ती र सडक थिएन । भर्खरै जनकबहादुर शाहीसँग फोनमा कुरा गरेँ । उनका अनुसार, अहिले त्यो ठाउँमा सडक फैलिएको छ ।

०००
गएको असार ३ गते कर्णाली किनारको बालुबिसौनाबाट ११ यात्रु बोकेको जिप कर्णालीमा खस्यो र बेपत्ता भयो । मर्नेका आफन्तले कुसको लास बनाएर दाहसंस्कार गरे । दाहसंस्कार गर्दा आफन्तको तस्बिर रेडियो कैलाशको अनलाइन समाचारमा हेरेँ । तिनको मुहारमा गहिरो पीडा थियो । सडक यात्रामा आफन्त गुमाउनेको त्यो पीडा, सायद कर्णालीभन्दा पनि गहिरो छ । यस्तै अनुभूति भयो, आफन्त गुमाउनेहरूको उदास मुहार हेरेपछि मलाई । २१औँ शताब्दीमा हुम्लीसँग फगत गाडी चढ्ने सामान्य सपना छ । यो सपना पानीजहाज र द्रुतगतिको रेलजस्तो महात्वाकांक्षी छैन । तर, सामान्य सपना पनि सुरक्षित र सुलभ छैन, हुम्लीका लागि । सपनाहरू चिसा छन्, बग्दो कर्णालीको पानीझैँ ।