• वि.सं २०८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शार्दूल भट्टराई
२०७६ असार २१ शनिबार ११:०५:००
सम्झना

सामुएल बेकेटलाई एक थप्पड !

बेकेटको तनाव

२०७६ असार २१ शनिबार ११:०५:००
शार्दूल भट्टराई

उनी त्यतिधेरै अस्थिर मानिस होइनन् । स्वभावका हिसाबले पनि उनी त्यति चञ्चल होइनन् । उनी अधिक समय चिन्तामा रहने मानिस पनि होइनन् । सधैँभरि गम्भीर र गहिरो सोचमा डुबिरहने बानी पनि उनको होइन । दुःखमा आत्तिने र सुखमा मात्तिने मानिस पनि उनी होइनन् । तैपनि उनी वेलावेला विचलन, चिन्ता र तनावमा देखिन्थे । अनुहार र हाउभाउले उनी ठूलै दुःखमा परेझैँ लाग्थ्यो । अन्य मानिसका आ–आफ्नै स्वभावगत विशेषताजस्तै उनका पनि खास स्वभावगत विशेषताहरू थिए । 

त्यसबखत उनी ठूलै छटपटीमा थिए । कहिले यता, कहिले उता । कहिले बस्ने, कहिले उठ्ने । कहिले भित्र, कहिले बाहिर । उनको मन निकै नै अस्थिर बन्न पुगेको थियो । के गर्ने र कसो गर्ने भन्ने मनस्थितिमा उनले कुनै सिर्जनात्मक कल्पना गर्न सकिरहेका थिएनन् । दिमागले कुनै कुरा सोच्नै नसकेजस्तो भइरहेको थियो उनलाई । उनको दिमागलाई एउटै प्रश्नले घोचिरहेको थियो, ‘सुरुवात त भयो, तर अन्त्य कसरी गर्ने होला ?’ 

उनका अगाडि उनकै पाठक वा अन्य कोही चिनजानको मानिस देखापथ्र्यो, तर उनी त्यसलाई चिन्दैनथे । कहिले नचिनेको मानिसलाई पनि चिनेकोजस्तो गर्थे, कहिले नजिकबाट चिनेको मानिसलाई समेत नचिनेझैँ गर्थे । यसको अर्थ उनी सन्की पनि थिएनन् । तर, कहिलेकाहीँ सनक चढेजस्तो उनी एकसुरमा हुन्थे । न बोल्थे न हाँस्थे । ज्यादै रिसाहा मानिसजस्तो देखिन्थे । अरूमा जस्तै अलि–अलि रिस उनमा पनि थियो, तर उनी रिसाहा थिएनन् । तनावको वेला उनी आफैँँसँग मुर्मुरिएका हुन्थे । उनलाई फेरि पनि उही प्रश्नले ठुँगिरहेको हुन्थ्यो, ‘सुरुवात त भयो, तर अन्त्य कसरी गर्ने होला ?’  

बिहानीपख दिमागले काम गर्छ कि भनेर एक बिहान उनी अलि सबेरै उठे । उनी सोच्न थाले, ‘... अन्त्य कसरी गर्ने होला ?’ तर, उनको दिमागले काम गरेन । झ्याल–ढोका थुनेर एकान्तमा बस्दा हुन्छ कि भनेर उनी सिंगो घरमा एक्लै बसेर पनि सोच्न थाले । तैपनि दिमागले काम गरेन । मानिसहरूको संगतबाट दिमागमा केही फुर्ने हो कि भनेर पेरिस सहर घुमे । चिनजानका धेरैलाई भेटे । क्याफेमा कफी खाइरहेकाहरूलाई पनि भेटे । उनीहरूसँगै बसेर कफी खाए र कुराकानी पनि गरे । तैपनि उनको दिमागले केही सोच्न सकेन । उनको दिमागलाई फेरि पनि उही प्रश्नले प्रहार गरिरहेको हुथ्यो, ‘सुरुवात त भयो, तर अन्त्य कसरी गर्ने होला ?’ 

कुनै पनि कामको सुरु र अन्त्य अलि गाह्रै  हुन्छ । कुन काम कसरी सुरु गर्ने र कसरी अन्त्य गर्ने ? कामको निश्चित ढाँचा, स्पष्ट परिकल्पना र ठोस योजनाबिना सुरु पनि राम्रो हुँदैन र अन्त्य पनि राम्रो हुँदैन । कुनै पनि कामको अर्थपूर्ण उपलब्धि र ठोस निष्कर्षका लागि सुरु र अन्त्यको सार्थक महत्व रहन्छ । कामको सफलता पनि त्यसमै निर्भर रहन्छ । अन्य काममा जस्तै लेखनमा पनि सुरु र अन्त्यको अधिक महत्व हुन्छ ।

सुरुआतले पाठकलाई तान्ने कुरामा भूमिका खेल्छ भने अन्त्यले पाठकलाई एउटा खास प्रभावको उत्कर्षमा पु-याउँछ । त्यसकारण पनि कुन विषयलाई कसरी सुरु गर्ने र कसरी अन्त्य गराउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिका लागि सुरुआत र अन्त्य उस्तैउस्तै, सामान्य विषय लाग्नसक्छ । तर, अधिकांशका लागि लेखनको अन्त्य निकै कठिन विषय बन्ने गरेको छ । सृजनाको आरम्भ र मध्यभाग जतिसुकै राम्रो भएपनि अन्त्य राम्रो भएन भने सम्पूर्ण सृजना नै राम्रो नमानिने मान्यता धेरैमा पाइन्छ । त्यसैकारण पनि सृजनाको अन्त्यका बारेमा लेखकहरू बढी नै सचेत हुने गरेका छन् । त्यो स्थिति कतिपय लेखकका लागि ‘टाउको दुःखाइ’ को विषय बन्ने गरेको छ । कतिका लागि त त्यो स्थिति अत्यन्तै तनावपूर्ण नै बन्ने गर्छ । बेलाबेलामा त्यस्तै तनावमा पर्ने गर्थे – सामुएल बेकेट । 

०००
कवि, कथाकार, नाटककार, उपन्यासकार र नाट्यनिर्देशकका रूपमा चर्चित सामुएल बेकेटले फाट्टफुट्ट निबन्ध र समीक्षा पनि लेखे । उनी अनुवादकका रूपमा पनि चिनिन्छन् । कविता र निबन्धबाट सिर्जनात्मक लेखनमा लागेका बेकेट पछि विशेषगरी उपन्यास र नाटकका कारण विश्वचर्चित बन्न पुगे । उनले साहित्यमा नोवल पुरस्कार पनि पाए । आयरल्याण्डको डब्लिनमा जन्मे–हुर्केर पछि फ्रान्सको पेरिसमा बसोबास गर्न पुगेका उनी फ्रेञ्च र अंग्रेजी दुवै भाषामा लेख्ने गर्थे । डब्लिनको ट्रिनिटी कलेजमा अध्ययन गरेर केही समय सोही कलेजमा पढाउन पुगेका सामुएल बेकेटले ‘कन्सेन्ट्रिज्म’ नामको आन्दोलनसमेत चलाएका थिए । उनी जीवनमा अरूभन्दा फरक हुन चाहन्थे । त्यसैले लेखनमा पनि उनी नयाँ धार र शैलीको स्थापनामा लागे ।

 सामुएल बेकेट आफ्नो लेखनकै सन्दर्भमा वेलावेलामा चिन्ता र तनावमा पर्ने गर्थे । विशेषगरी उपन्यास र नाटकको विषयलाई अगाडि बढाउने सन्दर्भमा । तनावबाट मुक्त हुन उनी विभिन्न उपाय अपनाउँथे । जस्तै, खाने–पिउने, रमणीय ठाउँमा घुम्ने, एकान्त खोज्ने, एक्लै बस्ने, बगैँचामा घुम्ने, कोठामा निदाउने, सहरबजारमा टहलिने आदि–आदि । तीमध्ये पनि उनको सबैभन्दा मन पर्ने उपाय थियो– सुन्दर उद्यानहरूमा जाने, घुम्ने र पूmलहरूको सुगन्ध लिने । त्यसमा पनि बेलायती पार्क । बेलायती पार्कमा गएर घोत्लिएपछि आफ्नो तनाव कम भएको वा आफू तनावबाट मुक्त भएको अनुभव उनी गर्थे । त्यसैले उनी पेरिसबाट लन्डनका पार्कतिर गइरहन्थे ।  

जुनवेला सामुएल बेकेट ‘मर्फी’ उपन्यास लेख्दै थिए, त्यसवेला पनि उनी वेलावेला तनावमा पर्ने गरेका थिए । थुप्रै तनाव सहेर उनले त्यस उपन्यासको लेखनकार्य सम्पन्न गरेका थिए । उनले ‘मर्फी’ प्रकाशित हुनुभन्दा ५–६ वर्षअघि नै उपन्यास पनि लेखेका थिए । त्यसको नाम थियो ‘ड्रिम अफ फेयर टू मिडलिङ ओम्यान’ । उनले त्यो उपन्यास २६ वर्षको उमेरमा लेखेका थिए । तर, त्यसलाई प्रकाशकले प्रकाशित गर्न अस्वीकार गरेपछि उनी केही झस्किए । उनले सोचे, ‘के यो उपन्यास प्रकाशनयोग्य छैन ?’

उनले फेरि एकपटक पढे र अन्त्यमा थन्क्याउने निर्णय गरे । अनेकौँ तनावबीच लेखिएको त्यो उपन्यास प्रकाशित भएमा थप तनाव सहनुपर्ने ठानेर उनले आफ्नो जीवनकालमा त्यसलाई प्रकाशित गरेनन् । उनलाई लाग्यो– लेख्दै गरेका विषयहरूमा अलमलिएर तनाव भए पनि कुनै न कुनै अवस्थामा तनावबाट मुक्त भएर अगाडि बढ्न सकिन्छ । तर, लेखेर प्रकाशित भइसकेको विषयका कारण कुनै तनाव उत्पन्न भयो भने त्यसबाट मुक्त हुने ठाउँ नै रहन्न । त्यसपछि जीवनभर तनावमा पिल्सिनुपर्ने हुन्छ । 

यसरी आफ्ना केही कमजोरीको महसुस गरेर नै उनले उक्त उपन्यास आफ्नो जीवनकालमा प्रकाशित नगरेको हुन सक्छ । कमजोर रचनाका कारण आलोचित हुनु नपरोस् भन्ने भावना पनि उनमा थियो । उनी बितिसकेपछि मात्र उनको सो उपन्यास प्रकाशित भएको थियो । यसबाट सामुएल बेकेट आत्ममूल्यांकनमा सचेत रहेको बुझ्न सकिन्छ । यद्यपि आफूले आफैँलाई बुझ्ने कुरामा उनी द्विविधामा रहेको मान्नेहरू पनि छन् । 

अन्य विधामा लेख्दै आएका सामुएल बेकेटलाई ‘मर्फी’ले उपन्यासकार बनायो । यही कृतिले उनलाई चर्चामा ल्यायो । अनेक तनावबीच ‘मर्फी’ लेख्न पुगेका उनी यस कृतिको चर्चाले भने खुसी भए । लेख्नुपर्छ, तर केही नयाँपनका साथ भन्ने भावना उनमा जागृत भयो । उनी नयाँ शैलीमा लेख्न थाले । यस अवधिमा उनले केही कथाहरू पनि लेखे । 

उनलाई जाँ पाल सात्र्र र सिमोन द बोभाएरको म्यागेजिन ‘मोडर्न टाइम्स’ मा कथा छाप्ने इच्छा भयो । उनले ‘स्विट’ शीर्षकको कथाको पहिलो खण्ड लगेर दिए । सात्र्रले राम्रै माने र छापिदिए । सामुएल बेकेट निकै खुसी भए । लगत्तै उनले कथाको दोस्रो खण्ड बुझाए । तर, त्यो प्रकाशित भएन । त्यसलाई सिमोन द बोभाएरले अस्वीकार गरिन् । आफ्नो कथाको अर्को खण्ड अस्वीकृत भएपछि सामुएल बेकेटले ‘असह्य तनाव’को अनुभव गरे । उनी दौडिए लन्डनतिर । लन्डनको पार्कमै बसेर उनले ६–७ घन्टा बिताए । तनाव कम भएपछि मात्र उनी पेरिस फर्किएका थिए ।  

सामुएल बेकेट ‘यथार्थ’का नाममा कायम रहेको ‘परम्परागत लेखन’बाट मुक्त हुने प्रयासमा लागे । विषयवस्तु, प्रस्तुतीकरण र शैलीमा नवीनताको आग्रह उनमा पलायो । ‘मर्फी’मै पनि उनी आफ्ना आग्रहबाट मुक्त रहेनन् । ‘मर्फी’ प्रकाशित भएको लगभग १० वर्षपछि उनी ‘परम्परागत शैलीका सट्टामा अझै नयाँ शैली’को प्रयोगमा लागे । उनी ‘वेटिङ फर गोदो’ नाटकको कल्पना गर्न पुगे । उनी कल्पनामा मात्र सीमित रहेनन्, लेख्नै थाले । 

उनले ‘वेटिङ फर गोदो’को कल्पना त गरे, तर लेख्न थालेपछि तनाव नै तनाव । त्यही तनावबीच उनी अन्य विषय र तिनको प्रस्तुतीकरणबारे समेत कल्पना गर्न थाले । ट्रिलोजी – ‘मलोए’, ‘मलोन डाइज’ र ‘दी अननेमेवल’ मात्र होइन, ‘वाट’ उपन्याससमेत उनको कल्पनामा थुप्रिन पुग्यो । उनको तनाव झनै बढ्यो । 
आफूले लेख्दै गरेका र लेख्ने तयारीमा रहेका कृतिहरूको कल्पनाकै कारण पनि सामुएल बेकेट तनावमा पर्ने गरेका थिए । उनले ‘वेटिङ फर गोदो’ लेखिसक्नेबित्तिकै प्रकाशित गर्ने निर्णय गरेनन् । त्यसको अन्त्यबारे उनी अझै सोच्दै थिए, पुनर्विचार गर्दै थिए । त्यसको अन्त्यलाई कसरी प्रभावशाली बनाउने होला भन्ने कल्पनाशीलतामा उनी थिए । कल्पनाशीलता आफैँमा तनाव होइन । त्यसले त झनै जागरुक र जाँगरिलो बनाउँछ । सामुएल बेकेट कल्पनाशीलताले परिपूर्ण लेखक हुन् । तर, उनी एकैपटक धेरै कुराको कल्पनामा डुब्न पुगे । मस्तिष्कले कतातिर केचाहिँ सोच्ने ? 
०००
त्यसपटक उनी अलि बढी नै तनावमा परे । अन्य उपायबाट तनावमुक्त हुने प्रयास गरे । तर, तनावमुक्त हुन सकेनन् । त्यसपछि उनी पेरिसबाट लन्डनतिर लागे । उनी लन्डनको ठूलो पार्कभित्र छिरे, जहाँ अरू पनि धेरै मानिस मन बहलाउन जाने गर्थे । कति मानिस त त्यहीँ बसेर दिन बिताउँथे । उनी पार्कको बीचमा पुगे र त्यहीँको खाली बेन्चमा बसे । उनी यस पार्कमा आउँदा जहिल्यै यही बेन्चमा बस्ने गर्थे ।

सामुएल बेकेट बेन्चमा बसेर सोच्न थाले । ‘... अन्त्य कसरी गर्ने होला ?’ उनी यही प्रश्नमा घोत्लिन थाले । पार्कमा मानिसको आउने–जाने सिलसिला चलिरहेको थियो । उनी सोचमग्न मुद्रामा थिए । दायाँ–बायाँ, अगाडि–पछाडि कतै नहेरी उनी एकनासले भुइँतिर हेरिरहेका थिए । पार्कका खाली बेन्चहरू बिस्तारै भरिन थाले । पार्कमा बेन्चको संख्या धेरै थियो । पार्कभित्र छिर्नेहरूको संख्या पनि बढ्दो थियो । पार्कभित्र आउने, एकैछिन बस्ने र हिँड्नेहरूको संख्या धेरै थियो । लामो समयसम्म बेन्चमा बसिरहनेहरू भने कमै थिए । सामुएल बेकेट त्यस पार्कमा लामो समय बस्नेमध्ये पर्थे । 

पार्कमा भिड बढ्दै गएपछि उनी तनावकै बीचमा पनि वरपरका बेन्चमा बस्नेहरूको हाउभाउ नियाल्न थाले । पार्कभित्रका अनेक दृश्यले उनको तनावलाई कम गर्ने कुरामा सहयोग पु-याइरहेका थिए । उनको ठीक अगाडिको बेन्च भने खाली नै थियो । दायाँ–बायाँका बेन्च भने भरिइसकेका थिए । सामुएल बेकेट दायाँतिर नियालिरहेका थिए । दायाँतिरको बेन्चमा दुईजना बुढाबुढी बसेका थिए ।

उनीहरू दुवैजना दुःखी देखिन्थे । उनीहरू केही बोलिरहेका पनि थिएनन् । दुवै चुपचाप थिए । उनीहरूमा कुनै उत्साह पनि थिएन । अलिपरको बेन्चमा बसिरहेका दम्पतीको एउटा सानो बच्चा दौडिँदै–दौडिँदै उनीहरूको अगाडि आइपुग्यो । तर, त्यस बच्चाप्रति पनि उनीहरूको कुनै प्रतिक्रिया थिएन । सुन्दर र रमणीय पार्कमा आएर बस्दाको आनन्दको अनुभूति पनि उनीहरूमा थिएन । उनीहरूको अनुहारको भावले जीवनको निराशालाई अभिव्यक्त गरिरहेझैँ लाग्थ्यो । 

केही बेरपछि उनी बायाँतिर हेर्न थाले । उनको बायाँतिरको बेन्चमा बसेको थियो एक प्रेमजोडी । त्यो जोडी रमाइलो खालको थियो । युवक–युवती दुवै राम्रा थिए । राम्रो चलचित्रका राम्रा नायक–नायिकाजस्तै । उनीहरू निकै खुसी थिए । दुवै हँसिला र रसिला लाग्थे । केही खाइरहेका पनि थिए । उनीहरू खुब गफ गरिरहेका थिए । अलि टाढै भएकाले उनीहरू के कुरा गरिरहेका थिए भन्ने बुझिँदैनथ्यो । खालि आवाज मात्र सुनिन्थ्यो । तैपनि उनीहरूको रंगीन जीवनलाई देखेर सामुएल बेकेट रमाइलो मानिरहेका थिए । 

सामुएल बेकेटका आँखा उही प्रेमजोडीतिर आकर्षित भइरहेकै वेला एउटी महिला फटाफट आइन् र उनको अगाडिको खाली बेन्चमा बसिन् । बेन्चमा बस्नेबित्तिकै उनी मुन्टो निहु-याएर रुन थालिन् । सामुएल बेकेटका आँखा प्रेमजोडीबाट उनीतिर तानिए । उनमा कौतूहल जाग्यो– ‘यी महिलालाई के दुःख परेछ ? खुसी हुनुपर्ने ठाउँमा आएर किन रोएकी होलिन् ?’ 

उनी त्यही प्रश्नमा घोत्लिएका थिए । ‘के दुःख प-यो’ भनेर ती महिलालाई सोध्ने इच्छा उनमा जाग्यो । उनी उठेर ती महिलातिर जान खोज्दै थिए । तर, ती महिला आँसु पुछेर त्यहाँबाट हिँडिहालिन् । उनको जिज्ञासा पूरा हुन पाएन । उनीभन्दा एकैछिन अगाडि प्रेमजोडी पनि त्यहाँबाट हिँडिसकेको थियो । निराशमुद्राका बुढाबुढीको जोडी अझै अगाडि हिँडिसकेको थियो । 

उनी नजिकका बेन्चहरू खाली भए पनि अलि परतिरका बेन्चहरू भने भरिएकै थिए । उनलाई टाढातिर आँखा लगाउने इच्छा भएन । आफ्नो लेखनबारे उनी सोच्न थाले । ‘... अन्त्य कसरी गर्ने होला ?’ उनको चिन्ता यसैमा थियो । उनी यही चिन्तामा घोत्लिए । सामुएल बेकेट चिन्तित मुद्रामा घोत्लिएर भुइँतिर हेरिरहेका थिए । अचानक एउटा पुरुष उनको अगाडि आइपुग्यो । उनले मुन्टो उठाएर त्यस पुरुषको अनुहारतिर हेरेका मात्र थिए, त्यस पुरुषले उनको गालामा एक थप्पड हान्यो । सामुएल बेकेट डराए । उनी गाला सुमसुम्याउँदै उठे । त्यो पुरुष फटाफट आफ्नो बाटो लाग्यो । सामुएल बेकेट जिल्ल परेर उभिइरहे । 

सामुएल बेकेटले आफूलाई थप्पड हान्ने पुरुषबारे सबै कुरा राम्रैसँग ख्याल गर्न त भ्याएनन्, तर पनि उसको अनुहार भने स्पष्टसँगै देखे । ऊ दुब्लोपातलो थियो । शारीरिक हिसाबले निकै दुर्बल खालको थियो । उसले नीलो सर्ट, खैरो ज्याकेट र कालो पाइन्ट लगाएको थियो । ‘तर, त्यो को थियो ?’ उनले ठम्याउन सकेनन् । उनी फेरि बेन्चमा बसे र घोत्लिएर सोच्न थाले, ‘यसरी एक्कासि मलाई थप्पड हान्ने त्यो व्यक्ति को होला ? किन यसरी थप्पड हान्यो त्यसले ?’ उनमा अर्को तनाव थपियो । तनावमाथि तनाव ! 
०००
उनको ‘ट्रिलोजी’ लेखेर मात्र सकिएन, तीनवटै प्रकाशित पनि भए । ‘वेटिङ फर गोदो’को चर्चा फैलिइरहेको थियो । केही आलोचक भए पनि उनको ‘एब्सर्ड’ शैलीका प्रशंसक बढ्दै थिए । उनी निकै खुसी थिए । उनलाई लाग्यो– अब लेखनमा कुनै समस्या छैन, किनकि अबको बाटो यही हो । अबको शैली पनि यही हो । कुनै तनावको अनुभव गर्नुपर्ने छैन ।

उनी सदाका लागि तनावमुक्त हुन खोजिरहेकै वेला उनको लेखनलाई जेम्स ज्वाइसको लेखनसँग जोडेर हेर्नेहरू पनि भए । उनको लेखन ‘जेम्स ज्वाइसबाट प्रभावित’ रहेको भन्नेहरू पनि भए । केहीले ‘जेम्स ज्वाइसको अनुकरण’जस्तो पनि भने । लेखनमा नयाँ विषय र नयाँ शिल्पशैलीलाई स्थापित गर्ने अभियानमा लागेका सामुएल बेकेट त्यस आरोपबाट फेरि पनि तनावमा परे । उनी जेम्स ज्वायसभन्दा कनिष्ठ थिए । उनको सम्बन्ध जेम्स ज्वाइससँग निकै राम्रो थियो । उनी जेम्स ज्वाइसका प्रशंसक नै थिए । तर, लेखनमा उनीबाट ‘प्रभावित’ भएको वा ‘अनुकरण’ गरेको भन्ने आरोप सामुएल बेकेटका लागि सह्य भएन । यो आरोप उनका लागि अर्को तनावको कुरो बन्यो । 

तनावमुक्त हुन सामुएल बेकेट फेरि लन्डनको उही पार्कमा पुगे । उद्यानको सौन्दर्यमा रमाउनेहरू धेरै थिए । उनी सबैलाई पछाडि छाड्दै आफ्नो उही बेन्चतिर अगाडि बढे । अगाडितिर पनि भिडभाड नै थियो । उनी सरासर ‘आफ्नो बेन्च’तिर लागे । तर, बेन्चमा नपुग्दै अलि परैबाट उनले देखे– आफ्नो बेन्चमा त अरू नै कोही बसिरहेको छ । उनले खिन्न माने । त्यही बेन्चको अगाडिपट्टिको बेन्चमा बस्ने उद्देश्यले उनी अगाडि बढे । 

उनी गएर बेन्चमा बसे । पछाडिपट्टि आफू बस्ने गरेको बेन्चतिर आँखा दौडाए । त्यस बेन्चमा झोक्राएर बसिरहेको मानिसलाई देख्नेबित्तिकै उनी झस्किए । दुब्लोपातलो, ख्याउटे मानिस । ज्यादै उदास अनुहार । उनले नियालेर हेरे– उही पुरुष, जसले केही समयअघि उनलाई एक थप्पड हानेको थियो । 
सामुएल बेकेट जुरुक्क उठे । उनी सरासर त्यही पुरुषको अगाडि पुगे । त्यस पुरुषले सामुएल बेकेट आफ्नो अगाडि आएर उभिएकोमा कुनै प्रतिक्रिया जनाएन । ऊ विनाहलचल पूर्ववत् अवस्थामै बसिरह्यो । उसको त्यस्तो व्यवहार देखेपछि सामुएल बेकेट रिसाए । रिसकै झोकमा उनले भन, ‘ए, तिमी को हौ ? तिमीले त्यस दिन मलाई किन थप्पड हानेको, भन त ?’

सामुएल बेकेटको जिज्ञासापछि त्यो पुरुष उठ्यो । उसले आफ्नो अनुहार सामुएल बेकेटको अनुहारसँग जुधायो । साह्रै दुब्लो र मलिन अनुहार । धेरै दिनदेखि केही खान नपाएर साह्रैै भोकाएकोजस्तो । आँखा पनि भित्र कता–कता गडेकाजस्ता । सामुएल बेकेटलाई उसका आँखामा अलि–अलि आँसु पनि रसाएकोजस्तो लाग्यो । एकदमै मायालाग्दो अनुहारमा ऊ बोल्यो, ‘सामुएल बार्कले बेकेट, तपाईंले त मसँग त्यो थप्पड किन हान्यौ भनेर सोध्न भ्याउनुभयो । मैले तपाईंलाई किन थप्पड हानेँ, मैले त त्यो कुरा सोच्नै भ्याइनँ । त्यसवेला म त्यति ठूलो पीडामा थिएँ, बुझ्नुभयो ?’

‘त्यसवेला म आफैँ तनावमा थिएँ,’ सामुएल बेकेटले भने । त्यस पुरुषले जवाफ दियो, ‘तपाईंले आफ्नै तनावलाई मात्र देख्नुभयो । तपाईंले हाम्रो पीडालाई देखेको खोइ ?’यति भनेर त्यो पुरुष त्यहाँबाट हिँड्यो । सामुएल बेकेट फेरि पनि जिल्ल परेर उभिइरहे । धेरै चर्चित मानिसका जीवनका यथार्थ भविष्यमा किंवदन्तीजस्ता लाग्छन् । मानौं, यो पनि एउटा किंवदन्ती नै हो ।