• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयनराज पाण्डे काठमाडाैं
२०७६ असार २८ शनिबार ०७:०६:००
साहित्य

जियरा

२०७६ असार २८ शनिबार ०७:०६:००
नयनराज पाण्डे काठमाडाैं

ब्राकेटभित्रको कथा
(यो गाउँका गुडियाहरू बोल्छन् । राति–राति गीत पनि गाउँछन् । मैले कथामा यो कुरा उल्लेख गरेको छु । जुन गाउँको कथा मैले लेखेँ, त्यहाँ अझै यस्तो घटना हुने गरेको छ । मैले जे देखेँ, त्यही लेखेँ । तर, समालोचक महोदयलाई यसैमा आपत्ति भइदियो । उनले यो कथाको पाण्डुलिपि पढेपछि मसित असन्तुष्टि पोखे ।
‘गुडियाहरू पनि बोल्छन् र ? के यो वैज्ञानिक दृष्टिले सही छ ? लेखकीय दृष्टिले तपाईंले भन्नचाहिँ के खोजेको ? बिम्बको प्रयोग गर्न खोजेको हो भने, योभन्दा सजिलो र बोधगम्य बिम्ब अरू पनि त हुन सक्थे ।’

कथाबारे यसरी मसित असन्तुष्टि पोख्दा उनको अनुहार लाललाल भएको थियो । उनी उच्च रक्तचापका रोगी हुन् । मेरै कथाका कारण उनको मुटुको गति अस्वाभाविक भइदियो र उनको जिउज्यानमा दखल प-यो भने मेरो यो कथा नेपाली आख्यान समालोचनाको जगत्मा एउटा कलंकित कथाको रूपमा स्थापित भइदेला भन्ने खतरा महसुस भयो मलाई । तर, उसरी नै अनुहार लाललाल पार्दै उनले फेरि उही प्रश्न दोह-याए, ‘के गुडिया पनि बोल्छन् ?’
‘तर, जुन गाउँको यो कथा हो, त्यहाँ यस्तो प्रश्न कसैले गर्दैन । त्यहाँ सबैलाई गुडियाहरू बोल्छन् भन्ने विश्वास छ । त्यहाँको समाजका लागि यो कथा होइन, उनीहरूको भोगाइ हो,’ मैले जवाफ दिएँ । 

मैले यस्तो जवाफ नदिएको भए राम्रो हुन्थ्यो । लेखकले आफ्नो रचनाबारे सफाइ दिँदै हिँडेको ठीक पनि होइन । लेखक त सिर्जनामा बोल्नुपर्छ । लेखकले त रचनामा हल्ला गर्नुपर्छ । यसरी सफाइ दिँदै हिँड्न थाल्यो भने एक दिन लेखक, लेखक रहनेछैन, सफाइ कर्मचारी हुनेछ । त्यस्तो लेखक त साहित्यमा भन्दा नगरपालिकाको सफाइ विभागमा जागिरे भएको राम्रो । तर, मैले जवाफ दिइसकेको थिएँ र मेरो मनमा त्यसको पछुतो धुवाँझैँ पुत्पुताइरहेको थियो ।

‘उसो भए एकपटक तपाईंकै मुखारविन्दबाट यो कथा मलाई पढेर सुनाउनुस् । तपाईंको वाचन सुनेर कथाप्रति मेरो दिमागमा बनेको धारणा परिवर्तन भइ पो हाल्छ कि !’ उनले प्रस्ताव गरे । मेरा समकालीन लेखक साथी नयनराज पाण्डे मेरो ठाउँमा भएको भए समालोचकको कोठाबाट जुरुक्क उठ्ने थिए । समालोचकको ट्वाइलेटमा एक लट सुुसु गरेर उनी समालोचक महोदयसित हात पनि नमिलाई हिँडिदिने थिए ।

मैले त्यसो गर्न सकिनँ । हिम्मत भएन । अलिकति लोभ थियो मलाई । समालोचक माध्यमिक विद्यालय तहको नेपाली पाठ्यक्रम निर्माणका संयोजक भएका थिए । उनी प्रभावित भए भने पाठ्यक्रममा आफ्नी जहान र जेठानको रचना समावेश गरेजस्तै मेरो रचना पनि सामेल गरिदिन सक्थे ।उनलाई रिझाउनकै लागि पनि म यो कथा वाचन गर्न तयार भएँ । सबैभन्दा पहिला कथाको शीर्षक भनेँ–बोल्छन् गुडियाहरू । 

समालोचकले शीर्षक सुनेरै अनुहार विकृत बनाए । मैले कथावाचनलाई निरन्तरता दिइरहेँ ।) 

ब्राकेटबाहिरको मूल कथा
गाउँको नामै गुडिया गाउँ । गुडिया अर्थात् पुतली । कपडाका रंगीचंगी टुक्राटाक्री जोडजाड पारेर बनाइएका गुडियाहरू । खास गरेर बालिकाको प्रिय खेलौना । यो गाउँ गुडिया बनाउनेहरूको गाउँ हो । यहाँका व्यक्तिहरूको सुख, दुःख या समस्याबारे कसैलाई खासै जानकारी र सरोकार नभए पनि यहाँको गुडिया भने लोकप्रिय छ । यहाँको गुडिया बेलायती महारानी एलिजावेथको शयनकक्षमा पनि सजाएर राखिएको छ भन्ने हल्ला पनि छ । सत्यको खोजी गरिएको छैन । त्यो सत्यको खोज गर्ने यो कथाको अभीष्ट होइन ।तर, कसैले नपत्याए पनि एउटा कुरा भने सत्य हो ।

यहाँका गुडिया बोल्छन् । यिनीहरू आफ्नो विरह–व्यथा पोख्छन् र रुन्छन् । हाँसो त गुडियाहरूको नियतिबाट पनि गायब छ ।पुरुषहरूले रोजगारका लागि अरू काम गरे पनि महिलाहरू भने प्रायः सबैले गुडिया बनाउने पेसालाई नै निरन्तरता दिएका छन् । सासूबाट बुहारी, आमाबाट छोरी, दिदीबाट बहिनी या भाउजूबाट नन्दले सिक्छन् यो कला । त्यसपछि त यो गाउँमा जन्मिने हरेक चेलीहरू जीवनपर्यन्त यो कलासित जोडिन्छन् । गुडिया यिनीहरूको जिन्दगीको अनिवार्य हिस्सा बन्छ ।

बिहे भएर गएका गाउँका चेलिबेटी जलेर मरेको यो पहिलो घटना थिएन । गएको वर्ष मात्र यो गाउँका आठजना छोरीहरू लोग्नेको घरमा जलेर मरेका थिए । गाउँ सधैँ शोकमै भइरहन्थ्यो । तर, केही दिनपछि गाउँलेहरू चित्त बुझाउँथे । किनभने गाउँका हरेक छोरीहरूले पिहर जानुअघि आफूजस्तै देखिने एउटा गुडिया घरमा छाडेर जान्थे ।

गुडिया बनाउने र बेच्ने क्रम त चलिरहन्छ । तर, यहाँ हरेक महिलाले आफ्ना लागि एउटा खास गुडिया बनाउँछन् । तर, छोरीहरूले भने बिहे भएर जाँदा माइतीकै जिम्मा लगाएर जान्छन् । त्यसरी जिम्मा लगाउँदा उनीहरू भन्ने गर्छन्, ‘यसमा मेरो आत्मा बसेको छ । पराइ भए पनि यो गुडियाको रूपमा म सधैँ यही माइतीमै बसिरहेकी हुनेछु । यो गुडियालाई माया गरेर राख्नू है !’ आमा या बैनीहरूले अक्षय तृतीयाको दिन कुनै सुन्दर, असल गुण भएको र आफ्नी लुगाई (श्रीमती) लाई असाध्यै माया गर्ने गुड्डासित त्यसको बिहे पनि गरिदिन्छन् ।यसरी माइतीमै छोडिएका गुडियाहरू बोल्छन् । गीत पनि गाउँछन् ।

ब्राकेटभित्रको कथा
(यहीँनेर समालोचक महोदयलाई दनदनाएर खोकी लाग्यो । उनले हातले संकेत गरेर केहीबेरलाई कथावाचन स्थगित गर्न आग्रह गरे र खोकी निखार्न थाले । उनले खोकुन्जेल मैले उनको बैठक कोठा नियालेँ । केही महिनाअघि आउँदा यो कोठाका चारै भित्तामा उनकी जहानको पनि तस्बिर थियो । यसपटक ती तस्बिर गायब थिए ।ती तस्बिर किन गायब भए या गायब पारिए ! यसबारे केही कुरा मलाई थाहा छ । म ती कारणबारे केही विचार गर्दै मात्र के थिएँ, उनले कथा पुनः सुरु गर्न संकेत गरे । मैले कथावाचन सुरु गरेँ । उनी तस्बिर हराएका चारै भित्तातिर हेर्दै कथा सुन्न थाले ।)

ब्राकेटबाहिरको मूल कथा
गाउँका महिला या किशोरीले आफ्नै आकृति झल्किने यस्तो गुडिया बनाउने खास प्रक्रिया हुन्छ । यस्ता गुडियाको निर्माण नागपञ्चमीको दिन सुरु हुन्छ र चैतको रामनवमीका दिन यसलाई अन्तिम रूप दिइन्छ ।  यसरी लगभग ९ महिनामै जन्मिन्छ यस्तो बोल्ने गुडिया । त्यही दिन यो गुडियालाई गाउँकै कुनै सुत्केरी महिलाको दूधले स्नान गराइन्छ । भनिन्छ, त्यही रात गुडिया बनाउने महिला या किशोरीको आत्माको एउटा अंश यो गुडियाभित्र प्रवेश गर्छ र गीत गाउन थाल्छ ।

जबसे देखी तोरे सुरतिया प्यारी
मोरे जियरा पे चलत है आरी ।।
गाउँभरि सबैलाई थाहा छ, पार्वतीको गुडियाले राति–राति यही गीत गाउँछे । पार्वतीले धेरैपटक मध्यरातमा गुडियाले गाएको सुनिसकेकी छ ।  ‘राति–राति मेरी गुडियाले गीत गाउँछे । उसको आवाज मेरी दिदी रेश्माको जस्तै छ ।’

रेश्माले आफ्ना साथीहरूका गौनामा प्रायः यही गीत गाउँथी । रहर, सपना र गुनासोले भरिएको सुन्दर प्रेमगीत । रेश्माको मधुरो आवाज, ऊ आफैँले बजाएको ढोलकको ताल र त्यससँगै बजेका उसका हातका चुराहरूको छमछमले यो गीत पार्वतीका लागि सधैँ स्मरणीय भएको थियो । भर्खर खाँडसारीमा पकाएको ऊखुको गाढा रस घोलिएजस्तो लाग्ने रेश्माको आवाजले यो साधारण गीतलाई पनि असाधारण बनाइदिएको थियो । 

रेश्मा अठार वर्षकी भइसकेकी थिई । त्यसैले रामअवतार र जानकीलाई उसको बिहेको चिन्ताले सताउन थालेको थियो । तर, रेश्मा भने गाउँकै खबरी लखिरामको छोरा जगतलालसित प्रेम गर्थी । ऊ एकान्तमा जगतलाललाई नै सम्झेर गुन्गुनाउँथी– जबसे देखी तोरे सुरतिया प्यारी । मोरे जियरा पे चलत है आरी ।।
बाबुआमाले बिहेको कुरा गर्दा रेश्माले सोझै भनी, ‘म जगतलालबाहेक कसैसित बिहाव गर्दिनँ ।’

यस्तो कुरा गर्दा भर्खर खाँडसारीमा पकाएको ऊखुको गाढा रस मिसिएजस्तो लाग्ने उसको स्वरमा तीतो मिसिएको थियो ।‘के जगतलालको नागिर्ता छ ? छ भने तेरो उसैसित बिहाव गरिदिन्छु । नत्र, प्राण गए पनि हामी तेरो बिहाव त्योसित गर्दिन्नौँ । तँ ऊसित भागेर गइस् भने हामी जहर खाएर मरिदिन्छौँ ।’ जगतलालसित नेपाली नागरिकता थिएन । यसरी रेश्मा र जगतलालको प्रेम असमय नै समाप्त भयो । रेश्माले बाबुआमाको वचन तोड्न सकिनँ । उनीहरूले धुइँपत्ताल खोजे र राप्तीपारिको गाउँमा नागरिकतावाल केटो फेला पारे । 


‘हाम्रो छोरो पढेलेखेको नभएर के भयो, योसित नेपाली नागिर्ता छ । त्यसैले हामीलाई पचास हजार नगद चाहिन्छ । दुई लाखभन्दा कममा नागिर्ता भएको लड्का आजकल कहीँ मिल्दैन । अहिले चलेको रेट यही हो ।’अनेक मोलभाउपछि अन्ततः तिलकवापत नगद पचास हजार दिएपछि रेश्माको बिहे भयो । गौना भएर लोग्नेको गाउँ जानुअघि रेश्माले नागफनीको काँडाले बैनी पार्वतीको कान छेडिदिएकी थिई । कानको घाउ छिटो निको होस् भनेर रेश्माले पार्वतीको कानमा तेल–बेसार पनि लगाइदिएकी थिई । तर, पनि पार्वतीलाई दुई दिनसम्मै ज्वरो आयो । पिहर फर्कनुअघि रेश्माले बैनीको चित्त बुझाउन आफूले बनाएको र आफ्नो आत्माको अंश मिसिएको गुडिया पार्वतीको हातमा राखिदिई ।

रेश्मा पिहर अर्थात् पतिको घर गई । पार्वतीले गुडियाको रूपमा दिदी आफूसितै छ भनेर चित्त बुझाई । गुडियाको अनुहारमा पनि रेश्माकै जस्तो करौंदाको फलको जस्तै हल्का रातो रोगन मिसिएको थियो । रेश्मा हाँस्दा त्यो रातो उसको अनुहारबाट बास्नादार रुहअफ्जा सर्वत भएर भुइँमै चुहिएलाजस्तो हुन्थ्यो । गुडियाको हाँसो पनि दुरुस्तै त्यस्तै थियो । कपाल पनि रेश्माकै जस्तै लामालामा, घुँडाघुँडासम्म आउने । गुडियाको नाकमा पनि रेश्माकै जस्तो नथिया थियो । चिउँडोमा उस्तै कालो कोठी । आँखा पनि रेश्माकै जस्तै ठुल्ठूला । परेला उस्तै लामालामा । लाललाल ओठमा उस्तै ताजा मुस्कान । दिदी बिदा भएकै रात पार्वतीले पहिलोपल्ट गुडियाले गाएको सुनी । रेश्माले सधैँ गाउने गीत– जबसे देखी तोरे सुरतिया प्यारी । मोरे जियरा पे चलत है आरी ।।

ब्राकेटभित्रको कथा
(समालोचक महोदयले फेरि कथावाचन रोक्न संकेत गरे । म रोकिएँ । कथा भन्दाभन्दै रोकिएपछि मेरा कथाका पात्रहरू पनि छट्पटिए । उनीहरूलाई जतिसक्दो चाँडो मेरो कथाका माध्यमबाट अभिव्यक्त हुन हतार भइरहेको थियो । यसरी छिनछिनमा कथा रोक्दै, सुनाउँदै गर्न थालेपछि तिनलाई मेरो कथाकारितामाथि अविश्वास हुन लागेको आभास भयो मलाई । यसले मूल कथाको गति पनि अवरुद्ध गरिरहेको थियो । म ग्लानिले भुतुक्क भएँ र आफ्ना कथाका पात्रहरूजस्तै छट्पटिएँ । वास्तवमा कथालाई बीचमा रोक्ने काम कुनै कथाकारले नगरोस् । कथा पो हो, पिसाब त होइन नि । यसपटक समालोचकले खोकेनन् । केही बोल्ने सुरसार गरे । मैले ठानेँ, मेरै कथाका बारेमा टिप्पणी गर्नेछन् र फेरि प्रश्न गर्नेछन्– के गुडिया पनि बोल्छ ? तर, उनले अर्कै कुरा गरे । मलाई भित्तातिर देखाए र सोधे, ‘तिमीलाई थाहा छ, यो कोठाको चारै भित्तामा कसको तस्बिर थियो ?’
मैले जवाफ दिनुअघि नै उनैले भने, ‘यहाँ एउटी रन्डीको फोटो थियो ।’
म अवाक् भएँ । आफ्नै पत्नीलाई कसरी रन्डी भन्न सकेका यिनले ?
तर, मैले राम्ररी आफ्नो अनुहारमा आश्चर्यका भाव एकत्रित गर्न पनि नभ्याउने गरी उनले भने, ‘कथा भन्नुस्’ ।)

लगभग नौ महिनामै जन्मिन्छ बोल्ने गुडिया । त्यही दिन यो गुडियालाई गाउँकै कुनै सुत्केरी महिलाको दूधले स्नान गराइन्छ । भनिन्छ, त्यही रात गुडिया बनाउने महिला या किशोरीको आत्माको एउटा अंश यो गुडियाभित्र प्रवेश गर्छ र गीत गाउन थाल्छ ।

ब्राकेटबाहिरको मूल कथा
गौना भएर गएको केही दिनमै रेश्मा गाउँ आई । तर, हाँस्न बिर्सिएर आई । उसको अनुहारबाट करौंदाको हल्का रातोपन हराइसकेको थियो । शरीरमा त्यहाँ जताततै नीलडाम थिए । पार्वतीले रेश्मासित सोधेकी थिई, ‘दिदी, तिमीलाई कसरी यति धेरै चोट लागेको ?’ रेश्माले पार्वतीसित ढाँटी ।  ‘पिहरमा पानी लिन बहुत दूर जानुपर्छ । बाटो बहुतै खराब छ । गगरी पनि बडा–बडा छन् । त्यसैले बारबार पैर फिसलिन्छ । त्यही मारे चोट लागेको हो ।’ रेश्माको स्वर पहिलेजस्तो थिएन । पार्वतीको मनमा प्रश्न फल्यो, ‘मेरी दिदीको आवाजलाई के भयो ? उसको आवाजबाट आउने खाँडसारीमा पकाएको ऊखुको गाढा रस कता गायब भयो ?’
अहँ, पार्वतीले दिदीसित प्रश्न गर्न सकिनँ । बरु उसले दिदीका कुरा पत्याई । तर, एक रात माईले कर गरेर सोधेपछि रेश्माले रुँदै भनेकी थिई, ‘दाइजोमा मोटरसाइकल दिएन भनेर उनीहरूले मलाई पिटिरहन्छन् । सासससुरले मट्टितेल छर्किएर जलाइदिने धम्की दिइरहन्छन् ।’

छोरीको कुरा सुनेर माईलाई करेतले डसेजस्तै भएकोे थियो । पार्वती पनि स्तब्ध भएकी थिई । बाबु पनि लाचार भएर रोएका थिए । माइतीबाट गएको केही दिनमै खबर आइहाल्यो, ‘रेश्मा ससुरालमा जलेर मरी ।’ माई र बाबु कैयन् दिनसम्मै रोइरहे । पार्वती पनि उनीहरूसितै रोइरही । केही दिनपछि उसले चित्त बुझाई ।
‘मेरी रेश्मा दिदी त मसितै गुडिया बनेर बसेकी छ । उसले रातरातभरि मलाई गीत सुनाइरहन्छे । मेरी दिदी जिन्दा छे ।’

बिहे भएर गएका गाउँका चेलिबेटी जलेर मरेको यो पहिलो घटना थिएन । गाउँमा यस्ता दुःखद खबर वेला–वेलामा आइरहन्थे । गएको वर्ष मात्र यो गाउँका आठजना छोरीहरू लोग्नेको घरमा जलेर मरेका थिए । कतिले नागरिकता भएको केटो भनेर मोटो रकम दाइजोमा दिए पनि मोटरसाइकल दिन सकेनन् । कतिले मोटरसाइकल दिए । तर, थप नगद दिन सकेनन् । कतिले पम्पसेट या थ्रेसर दिन सकेनन् । त्यसैले यो गाउँ सधैँ शोकमै भइरहन्थ्यो । त्यो शोक गाउँलेहरूको अनुहारमा स्थायी रूपमा टाँस्सिएको थियो । तर, केही दिनपछि गाउँलेहरू चित्त बुझाउँथे । किनभने गाउँका हरेक छोरीहरूले पिहर जानुअघि आफूजस्तै देखिने एउटा गुडिया घरमा छाडेर जान्थे ।गाउँका सबै आमा र बैनीहरूलाई थाहा छ, उनकी छोरी या दिदी मरेर गए पनि उसको आत्मा गुडियामा समाहित भएको छ र त्यसले हरेक रात गीत गुन्गुनाइरहन्छ । 

अन्ततः पार्वतीले गुडियाको बिहे गरिदिने भई । ऊ चाहन्थी, रेश्माले दुःख पाएर ज्यान गुमाए पनि उसको आत्मा बसेको यो गुडियाले भने सुख पाओस् । गुडियालाई उसको लोग्नेले माया गरोस् । यो गाउँमा सबैले लोग्नेको घरमा अकालमा मरेका आफ्नी छोरीको सम्झनामा उसले बनाएको गुडियाको बिहे गरिदिन्छन् । यो गाउँको रीति नै भइसकेको छ ।पार्वतीलाई ललिताको गुड्डा मन परेको थियो । ललिताले पनि बाचा गरेकी थिई, ‘मेरो गुड्डाले तेरो गुडियालाई कहिले पनि दुःख दिनेछैन ।’
पार्वतीको सबैभन्दा मिल्ने साथी हो ललिता । त्यसैले ललिताको कुरामा उसलाई के शंका हुन्थ्यो र !

हिजै पार्वतीले गुडियाको बिहामा आउने जन्तीहरूलाई ख्वाउन जंगलबाट सानो डालोजस्तो चँगेरीभरि बयर टिपेर ल्याएकी थिई । बिहानै साथीहरू पनि भेला भइसकेका थिए । उनीहरूले जन्ती अर्थात् बरियाती भएर को–को आउने र केटीको माइती अर्थात् घराती भएर को–को बस्ने भनेर आपसमा छिनोफानो पनि गरे ।  
ललिताले आफ्नो गुड्डालाई रंगीचंगी टालाटुली गाँसेर बनाएको लुगा लगाइदिएर चिटिक्क पारेकी थिई । पार्वती पनि के कम ! उसले आफ्नी गुडियाको नाम नै दिदीको सम्झनामा रेश्मा राखेकी थिई । उसले गुडियालाई दिदीलाई जस्तै सिँगारी । पार्वतीले आफ्नो बुबाको फाटेको गन्जीलाई बेसर्माको लट्ठीमा झुलुंगोजस्तो बनाएर डोली तयार गरेकी थिई । त्यही डोलीमा चढेर गुडिया आफ्नो घरबाट बिदा भई । बिदाइका वेला गुडियाको भाकामा पार्वतीले गीत गाई– 
एकहि कोखी के भैया बहिनियाँ
एकहि दूध पियायो महतारी ।
भैया जन्मे बाजे आँगन मे बाजा
हमरे जन्मे काहे रोयो महतारी ?

नजिकैको अम्बाको रूखलाई एक फन्को लगाएपछि गुडिया आफ्नो गुड्डासित ससुराल पुगी । एकैछिनमा गुड्डीले पेट बोकी । गुड्डा भने रेल चढेर कमाइ गर्न परदेश लाग्यो । ललिताले रेललाई अर्काको खसमलाई आफ्नो जालमा पारेर टाढा लैजाने सौताको रूपमा कल्पना गरी र गुडियाको भाकामा गाई– रेलिया होइ गै मोर सवतिया, पिया कै लादी लै गे हो । 

एकैछिनमा हल्ला भयो, ‘अब गुडियाले बच्चा पाउने वेला आयो ।’पार्वतीले भनी, ‘मेरी रश्मी दिदीले अब बेटी पाउँछे ।’ललिताले मानिनँ । भनी, ‘बेटी भयो भने सादीमा बहुत तिलक दिनुपर्छ । बेटा ठीक हुन्छ ।’सबैले ललिताको समर्थन गरे । पार्वतीलाई पनि दाइजो दिन नसकेर जलेर मर्नुभन्दा छोरो नै जन्मिएको ठीक लाग्यो । उसले पिहर जाने वेलामा रेश्मालाई बाबुआमाले भनेको पनि सम्झी, ‘बिटिया नजन्माउनू ।’ गुड्डा परदेश गइसकेपछि पेट बोकेकी गुड्डीलाई हातमा नचाउँदै पार्वतीहरूले फेरि अर्को गीत गाए–

मोरे पिया हमका आवै ओकाई 
मोरे पिया हमका भावै खटाई ।। 

एकछिनपछि नै गुड्डी सुत्केरी भई । ललिताहरूले कपडाकै अर्को सानो गुड्डा बनाएर गुड्डीको छेउमा राखिदिए । गुडियाको छातीमा टाँसिदिएर नवजातलाई दूध पनि ख्वाउन लगाए ।सुत्केरीपछि गुड्डीले ‘पानी भराई’ को परम्परा पूरा गरेर चोखिनुपर्ने भयो । त्यसैले भर्खर सुत्केरी भएकी गुड्डी गाग्री बोकेर कुवानिर गई । उसका पछिपछि गीत गाउँदै बालिकाहरू पनि कुवासम्म गए । गुड्डीको हात समातेर पार्वतीले कुवाको पूजा पनि गरिदिई । टाउकोमा पानी भरिएको गगरी बोकेर घर आई । परालको जुँगा लगाएर अर्की केटी गुड्डीको देवर बनी । देवर बनेकी केटीले भाउजूको बाटो छेकी । उसले पानी भराईको नेग नलिएसम्म भाउजूको शिरबाट गाग्री उतारिदिइनँ । तोता छाप दिया सलाईको खोलले बनाएको पैसा नेगको रूपमा दिएपछि बल्ल देवर बनेकी बालिकाले गुड्डीको शिरबाट गाग्री उतारिदिई । 
यी सबै प्रक्रिया पार्वती र उसका साथीहरूले कुशल अभिनयमार्फत अभिव्यक्त गरेका थिए । असाध्यै रमाइलो भयो उनीहरूलाई ।

हुन त गएको अक्षय तृतीयामा पार्वतीको गुडियाको बिहे सविनाको गुड्डासित हुने पक्कापक्की भएको थियो । पार्वतीले आमासँग बजार गएका वेला फोहोर फाल्ने ठाउँमा एउटा खेलौना मोटरगाडी फेला पारेकी थिई । त्यसको अगाडिको एउटा पांग्रा थिएन । तर, पार्वतीले खपडालाई पांग्राको आकारमा घोटेर त्यसमा फिट गरेकी थिई । पार्वतीले उतिवेलै निधो गरेकी थिई, ‘रश्मी दिदीले बेटवा पाउँछे । अनि त्यही बेटवालाई दिन्छु यो मोटरगाडी ।’

उसले त्यो खेलौना जतनले राखेकी थिई । सविनालाई पार्वतीसित मोटरकार छ भन्ने थाहा थियो । बिहेका वेला उसले दाइजोमा त्यही गाडी मागी । बस्, के थियो, सविना र उसको झगडा परिहाल्यो । पार्वती र सविनाले एकअर्कालाई भुत्ल्याए । पार्वतीले भनी, ‘तँ बहुत हुज्जती छेस् । एक्खट दुक्खट खेल्दा पनि बैमानी गर्छेस् । आजदेखि तेरो र मेरो कट्टी भयो ।’ 

सविनाले पनि रिसाएर भनी, ‘आजदेखि मेरो गुड्डा र तेरी गुडियाको पनि कट्टी भयो ।’यसरी उनीहरूका गुड्डागुड्डीको बिहे 
भाँडिएको थियो । त्यही ईखले पनि पार्वतीले ललिताको गुड्डासित आफ्नो गुडियाको बिहे गरिदिने निर्णय गरेकी थिई । उसले बिहेमा सविनालाई बोलाइन । सविनाले पनि आफ्ना साथीहरूसित कुरा काटी, ‘पार्वतीको गुडिया छिनार हो । त्यो पतिविरता छैन । त्यसले पहिला मेरो गुड्डालाई भतार बनाउन खोजेकी थिई ।

अहिले ललिताको गुड्डालाई भतार बनाई । त्यसले दहेज पनि दिन सक्दिन ।’तर, केटाकेटीलाई गुडियाको चरित्रसित मतलब थिएन । उनीहरूलाई त रमाइलो गर्ने बहाना चाहिएको थियो । त्यसैले हिजो सविनाबाहेक गाउँका सबै केटाकेटी बिहेमा सरिक भएका थिए । यो सबै खेल सकिँदा झमक्क साँझ परिसकेको थियो । बिहेपछि पार्वतीको गुडियालाई ललिताले आफैँसित लगेकी थिई । गुडियालाई ललिताको जिम्मा लगाएर पार्वती घर फर्की  । अलिकति उदास भने थिई ऊ  । रेश्माले गाउँ छाडेर जाँदा पनि ऊ यसरी नै उदास भएकी थिई । गए राति पनि अबेरसम्म उसले रेश्मालाई सम्झिरही र रेश्माजस्तै चिटिक्क पारेको गुडियालाई पनि सम्झिरही ।

ब्राकेटभित्रको कथा
(समालोचकले नभने पनि यसपटक मैले नै कथावाचन रोकेँ । किनभने छेउकै अर्को घरबाट एउटी युवती खित्का छाडी–छाडी हाँसिरहेको आवाज आइरहेको थियो र कुनै पुरुषले उनलाई हकारिरहेका थिए, ‘हाँस्नु छैन कदापि नारीहरूले, वेश्या हुन्या हाँस्तछन् ।’तर, युवतीले पुरुषको कुरा टेरिरहेकी थिइनन् । ती लगातार हाँसिरहेकी थिइन् ।के ती युवती वेश्या थिइन् ?समालोचकले गहिरिएर मेरो अनुहारमा हेरे । सम्भवतः उनलाई मेरो मनमा उत्पन्न भएको भयानक प्रश्नबारे जानकारी भयो । उनले भने, ‘जहाँबाट आवाज आइरहेछ, त्यो मेरी स्वास्नीको माइती हो । त्यो वेश्या अहिले मेरो घरको भित्ताबाट त्यो घरको पर्खालमा पुगेकी छ ।’ म चकित भएँ र फेरि प्रश्न गरेँ, ‘अनि त्यो पुरुष आवाज कसको हो ?’उनले सहज किसिमले उत्तर दिए, ‘महाकवि भानुभक्त आचार्य ।’मलाई भनन्न रिँगटा लाग्यो । एकछिनलाई जगतै अँध्यारो देखेँ ।उनले भने, ‘महाशय, कथा जारी राख्नुस् ।’)

ब्राकेटबाहिरको मूल कथा
राति सपनामा पार्वतीले आफ्नी गुडियालाई सजीव भएको देखी । गुडियाले रेश्माकै जस्तो टिकुली लगाएकी थिई । रेश्मा बिदा भएर जाँदाकै जस्तो सलमा सितारा भरेको चोलो र हरियो धोती लगाएकी थिई । गुडियाको अनुहारमा करौंदाको रातो मिसिएको थियो । गुडियाको आवाज पनि रेश्माकै जस्तो थियो । तर, त्यो आवाजमा खुसी थिएन । गुडियालाई दुःखी देखेर ऊ पनि दुःखी भई । उसले गुडियासित सोधी, ‘दिदी, तँ किन उदास भएकी ? किन तेरो आवाजमा खुसी छैन ?’
गुडियाले भनी, ‘बहिनी, तैंले दाइजोमा मोटरकार दिइनस् । त्यसैले मलाई दुलहाले पिटिरहन्छ । उसका बप्पा र महतारीले पनि मलाई पिटिरहन्छन् । मलाई मिट्टीको तेल हालेर जलाइदिन्छु भनिरहन्छन् । यस्तो माहोलमा म कसरी खुसी हुन सक्छु ? कसरी हाँस्न सक्छु ?’

पार्वती सपनाबाट ब्युँझिई । तर, उसले सपना हो भनेर चित्त बुझाउन सकिनँ । उसको मन अस्थिर भइरह्यो ।ऊ घाम नउदाउँदै उठी । मुख पनि धोइन । रेश्माको छोराका लागि काठको सन्दुकमा लुकाएर राखेको खेलौना मोटरगाडी झिकी । उसलाई कति वेला ललिताको घर पुग्नुजस्तो भइरहेको थियो । ऊ हतारहतार घरबाट निस्किई ।बाटोमा गाउँको पुछारमा रहेको कुवामा पानी लिन गाग्री लिएर गइरहेका रेश्माकै उमेरका गाउँले दिदीहरू देखी । ती सबै माइती आएका थिए । तर, कसैको अनुहार पनि उज्यालो थिएन । कसैको ओठमा पनि मुस्कान थिएन । सबैको अनुहार र शरीरमा चोटका दागहरू थिए । उसले कराएर सोधी सबैसित, ‘ए पानी लिन जान लागेका पनिहारिन दिदीहरू, तिमीहरूको उनहार र देहींमा कसरी चोट लाग्यो ?’ 

सबैले एक स्वरमा जवाफ दिए, ‘ससुरालमा पानी लिन दूर–दूर जानुपर्छ । बाटो बहुतै खराब छ । गगरी पनि भारी छ । पैर बारबार फिसलिन्छ । त्यही मारे हाम्रो उनहार र देहींमा चोट लागेको हो ।’ऊ ललिताको घर पुगी । बाहिरैबाट ललितालाई कराएर बोलाई । धेरै बेरसम्मै बोलाउँदा पनि कोही ननिस्किएपछि बिस्तारै घरको ढोका खोली । भित्र ललिता थिइन । ललिताका बाबुआमा पनि थिएनन् । ऊ आत्तिई । अचानक कोठाको एउटा अँध्यारो कुनामा उसले कसैलाई सुँक्कसुँक्क रोइरहेको देखी । नजिक गई । त्यो ललिताकी बैनी सीता थिई । 

‘तँ किन रोइरहेकी सीता ? ललिता खै ? अनि तेरो बप्पा र माई खै ?’‘मेरी दिदीलाई उसको खसम र सासससुरले जलाएर मारेछन् । सबै उसलाई माटी दिन गएका छन् ।’ सीताको जवाफ सुनेर पार्वतीको मन आगोले पोलेजस्तो भयो । ऊ अझ आत्तिई । सीता सुँक्कसुँक्क रोइ नै रही । पार्वतीलाई ललिताले टिनको बक्सामा आफ्नो गुड्डासँगै बिहा गरेर ल्याएको उसकी गुडिया पनि राखेकी छ भन्ने थाहा थियो । सीता बसेकै ठाउँनिर थियो त्यो बक्सा । पार्वतीले हतारहतार बाकस खोली ।

उसले बाकसभित्र भेटी ललिताको गुड्डा र आफन्त बनेर बिहामा आएका गुड्डाका आमाबुबाहरू । ललिताले बनाएका अरू धेरै गुड्डा पनि भेटी उसले । तर, कति खोज्दा पनि उसले रेश्मालाई भेटिनँ । पार्वती आत्तिई । उसले सीतासित रुन्चे स्वरमा सोधी, ‘तैंले रातो टिकुली, सलमा सितारा जडेको चोली र हरियो धोती लगाएकी मेरी गुडियालाई देखिस् ? त्यसको उनहार करौंदाजस्तो हल्का रातो थियो ।’

‘राति यहाँ सविना आएकी थिई । गुडियाको सादीमा उसलाई नबोलाएकोमा बहुत गुस्साएकी थिई । विनादहेज आफ्नो गुड्डाको पार्वतीको गुड्डीसित बिहाव गराएको भनेर ललितालाई भड्काई । अनि ललिताको पनि दिमाग खराब भैहाल्यो ।’  सीताको कुरा सुनेर पार्वतीको मन झनै आत्तियो । रेश्मालाई भेट्न अझ व्यग्र भयो । उसले सीताको कुरा आधा सुनी, आधा सुनिन । सोधी, ‘खै, मेरी रेश्मा ? मलाई उसलाई जसरी भए पनि भेट्नु छ ।’

लेखकले आफ्नो रचनाबारे सफाइ दिँदै हिँडेको ठीक होइन । लेखकले त रचनामा हल्ला गर्नुपर्छ । यसरी सफाइ दिँदै हिँड्न थाल्यो भने एक दिन लेखक, लेखक रहनेछैन, सफाइ कर्मचारी हुनेछ । त्यस्तो लेखक त साहित्यमा भन्दा नगरपालिकाको सफाइ विभागमा जागिरे भएको राम्रो ।

सीताले अप्ठ्यारो मानी–मानी जवाफ दिई, ‘तेरी गुड्डीलाई त ललिताले राति नै जलाएर खतम गरिदिई ।’ पार्वती हेरेको हे-यै भई । उसको नसाभित्र शीतलहर चल्यो । मुखभित्र थुक सुक्यो र जिब्रो तालुमा टाँस्सियो । आँखामा पानीवाला बादल फैलियो । जियरामा आरी चल्यो ।उसको हातबाट मोटरगाडी खस्यो । 
उसलाई लाग्यो, उसकी दिदी रेश्मा दोस्रोचोटि मरी ।पार्वती खुब रोई । तर, गाउँलेहरू कोही पनि ऊसँग रोएनन् । किनभने सबैलाई थाहा छ, जति रोए पनि यो गाउँमा जन्मने हरेक केटीहरू दुईचोटिमर्नैपर्छ । त्यसैले त उनीहरू छोरी जन्मनेबित्तिक्कै रुन्छन् र मृत्युमा मौन हुन्छन् ।

अचेल घरमा पार्वतीको पनि बिहेको कुरो चल्न थालेको छ । यसपालि नागपञ्चमीको दिनदेखि उसले पनि बनाउन थालेकी छ रंगीचंगी कपडाको एउटा गुडिया । आफूजस्तै देखिने गुडिया । चैतको रामनवमीका दिन उसको गुडिया तयार हुन्छ । त्यही रात कुनै सुत्केरीको दूधले नुहाइदिएपछि गुडियामा उसको आत्माको अंश पस्छ । त्यसपछि उसले राति–राति एकान्तमा गुडियालाई रेश्मा दिदीले जस्तै गीत सिकाउनेछ । किनभने पार्वतीलाई थाहा छ, बिहे गरेर पिहर जाँदा त्यो गीत उसको ओठबाट छुट्नेछ । त्यसपछि नैहरमा यही गुडियाले नै खाँडसारीमा भर्खर पकाएको ऊखुको गाढा रस मिसिएजस्तो आवाजमा हरेक रात गीत गाउनेछ । आफूलाई माया गर्ने प्रेमी या पतिको सम्झनामा आफ्ना सबै रहर, आशा र सपनाहरूले भरिएको त्यही गीत ।  

जबसे देखी तोरे सुरतिया प्यारी
मोरे जियरा पे चलत है आरी ।

ब्राकेटभित्रको बाँकी कथा, जसलाई ब्राकेटमा राख्न सकिएन मेरो कथा सकिएको थियो । कथामा आफ्नो भूमिका सकिएपछि मेरो कथाका पात्रहरू पनि लाखापाखा लागिसकेका थिए । बाँकी रह्यौँ म र समालोचक ।कथा सुनिसकेपछि समालोचक महोदय करिब एक शताब्दी मौन भए । त्यसपछि उनले नजिकैको टेबलबाट सादा कागज टिपे र केही लेख्न थाले । एकैछिनपछि उनले त्यो कागज मलाई दिए ।

‘यसमा तपाईंको यो ताजा कथाबारे मेरा केही धारणा छन् । एकपटक घर गएर राम्ररी मनन गर्नुहोला ।’म कागजसहित घर आएँ । आउनासाथ मैले कागजमा लेखिएका टिप्पणी पढ्न थालेँ । टिप्पणी लामै थियो । तर, मेरो ध्यान सोझै उनले लेखेको अन्तिम दुई टिप्पणीमा पुग्यो–

 १) कथामा गुडियालाई बोल्न नदिनुस् । गुडियाहरू बोल्दैनन् । बोल्न दिनु पनि हुन्न । कथा अस्वाभाविक हुन्छ ।
२) यस्तो कथा लेख्नुभन्दा ऊखु खेतीमा लाग्नुस् । किनभने तपाईंलाई खाँडसारीमा पकाएको ऊखुको गाढा रसप्रति विशेष मोह रहेछ ।
मलाई त्यसपछि अगाडिका टिप्पणी पढ्न मन लागेन । मैले अनिच्छापूर्वक कागज पल्टाएँ । पछाडि पनि केही लेखिएको थियो । तर, त्यो मेरो कथाबारे लेखिएको टिप्पणी थिएन । त्यो उनकी पत्नीको चिठी थियो ।

पत्रमा लेखिएको थियो– समालोचकज्यू, अब म तपाईंलाई पति परमेश्वर मानेर तपाईंको पाउमा पसारिन त्यो घरमा फर्केर आउँदिनँ । त्यो घर मेरो लागि घर होइन, मेरो रहर, सपना र आशाहरूको चिहान हो । मलाई चिहानमा बस्नु छैन । भोग्नु छैन मलाई रेश्मा र पार्वतीको नियति । सहनु छैन मलाई तपाईंको अत्याचार र बलात्कार । चलाउनु छैन मलाई जियरामा आरी । मलाई बाँच्नु छ । मलाई स्वतन्त्र हुनु छ । म गुडिया बनेर जल्न अस्वीकार गर्छु ।