• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सम्झना वाग्ले भट्टराई काठमाडाैं
२०७६ असार २८ शनिबार ०७:३३:००
समाज

‘गलबन्दी’को समाजशास्त्रीय चिरफार

हाम्रो सामाजिक मनोविज्ञान अझै पनि केटीमान्छे अन्तर्मुखी र लजालु होऊन् भन्ने चाहन्छ, ‘गलबन्दी’ गीत र यसको भिडियोले समाजको यो मनोविज्ञानलाई ‘क्यास’ गर्ने प्रयास गरेको छ

२०७६ असार २८ शनिबार ०७:३३:००
सम्झना वाग्ले भट्टराई काठमाडाैं

सफलताका अहिलेका विविध मानकहरूको आधारमा हेर्ने हो भने प्रकाश सपुतको (स्वरः प्रकाश सपुत र शान्तीश्री परियार) ‘गलबन्दी’ गीत सफल छ । गीत ‘युट्युब’मा अपलोड भएको ४० दिन हाराहारीमै झन्डै १ करोड ८५ लाखपटक हेरिएको छ । गीतले अपेक्षा गरेभन्दा बढी सफलता दिलाएको गायक आफैँले बताएका छन् । कार्यक्रमहरूमा गायक–गायिकाको माग बढेको छ । गीतमा प्रयुक्त संवादहरूका विविध ‘ट्रोल’हरू सामाजिक सञ्जालहरूमा ‘भाइरल’ बनेका छन्, व्यापक ‘टिकटक’हरू बनेका छन् । गीत धेरैले गुनगुनाएका छन् र यसबारे चर्चा भएको छ । यो नै गीत सफल भएको प्रमाण हो । 

‘गलबन्दी’को संगीतलाई लिएर विवाद पनि भयो । त्यसो त विवादको समाधान पनि निस्किइसकेको छ । यस लेखको चासो भने यस गीत सफल हुनुको कारण के हो र के छ गीतमा त्यस्तो, जसले यसलाई त्यति सफल बनायो भन्ने हो । नेपाली गीतका श्रोताका लागि प्रकाश सपुत परिचित नाम हो । यसभन्दा अघिको ‘बोल माया’ र ‘दोहोरी ब्याटल’का शृंखला आदिले ‘सपुत’लाई श्रोतामाझ चिनाएको हो । उनको ‘बोल माया’ गीतले वैदेशिक रोजगारीका लागि गएका युवाको मृत्यु भएर शव फर्काइएको कारुणिक कथा भनेको छ । नेपालका धेरै घरपरिवारको आयको प्रमुख स्रोत वैदेशिक रोजगारी बनेको छ । घरकै सदस्य नगए पनि कोही आफन्त वा साथीभाइ वैदेशिक रोजगारीमा गएकै छन् । यस क्रममा भोग्नुपरेको दुर्घटनालाई गीतले विषय बनाएकाले पनि सायद गीतलाई आमनेपालीले आफ्नै कथाका रूपमा बुझे होलान् । 

तथ्यांकबारे कुरा गरौँ । नेपालको कुल गार्हस्थ उत्पादनको एकचौथाइभन्दा बढी हिस्सा विप्रेषण आयले ओगटेको छ । हालसम्म झन्डै ४४ लाख नेपाली महिला–पुरुष वैदेशिक रोजगारीका लागि विश्वका एक सय १० मुलुकमा गएका छन् । आर्थिक वर्ष ०७४÷७५ मा तीन लाख ३९ हजार एक सय ३८ पुरुष र २२ हजार आठ सय तीन महिला गरी तीन लाख ६१ हजार नौ सय ४१ कामदार बिदेसिएका थिए भने चालू आर्थिक वर्षको प्रथम आठ महिनासम्ममा एक लाख ५६ हजार ९३ कामदार वैदेशिक रोजगारीमा गएका छन् । यसरी कामका लागि बिदेसिएका युवाहरूमा १.५ प्रतिशत दक्ष कामदार, २४ प्रतिशत अर्धदक्ष कामदार र बाँकी ७४.५ प्रतिशत अदक्ष कामदार छन् । उनीहरू मूलतः निम्नमध्यम र निम्न वर्गीय परिवारका हुन् । 

वैदेशिक रोजगारीबाट भएको आयले ती घरपरिवारको जीवनस्तरमा सुधार आएको छ । जीविकोपार्जन सहज भएका, छोराछोरीको शिक्षामा लगानी गरेका, परिवारको स्वास्थ्य समस्यामा गर्जो टारेका सुखद कथा एकातर्फ छन् भने अर्कातर्फ अंगभंग भएका, लामो समयदेखि ‘कोमा’मा रहेका तथा असामयिक मृत्यु भई बन्द बाकसमा फर्कनुपरेका पीडादायी कथा पनि प्रशस्त छन् । सरकारी तथ्यांकअनुसार, बितेका पाँच वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्य हुनेहरूको संख्या चार हजार दुई सय ७६ रहेको छ । जसमध्ये ९२ महिला रहेका छन् । त्यस्तै, चालू आर्थिक वर्षको प्रथम आठ महिनामा १५ महिला र चार सय ८९ पुरुष गरी पाँच सय चारजनाको मृत शरीर स्वदेश फर्काइएको छ । त्यति मात्र होइन, विगत पाँच वर्षमा वैदेशिक रोजगारीमा गई अंगभंग र बिरामी भई फर्किएर आउनेको संख्या ३३ महिलासहित एक हजार ४२ रहेको छ । झन्डै ७५ प्रतिशत कामदार अदक्ष भएकाले जोखिमयुक्त श्रमका लागि उनीहरू बाध्य छन् । 

पारिजात भन्छिन्, ‘जुन गायकको गीत बढीभन्दा बढी लोकप्रिय  हुन्छ अथवा जुन गीत बढीभन्दा बढी जनताले गाउँछन् त्यही लोकगीत हुन्छ ।’ यस ढंगबाट हेर्दा ‘गलबन्दी’ नेपाली ‘लोकगीत’ बनेको छ । 

समग्रमा हेर्दा यी तथ्यांकलाई आ–आफ्नै किसिमले व्याख्या गर्न सकिएला । तर, पीडित परिवारको आँखाबाट हेर्दा यो महाविपत्ति हो । अनिश्चित भविष्यको सुरुवात हो । र, हो एक भयानक ‘ट्रेजेडी’ । यिनै विडम्बनापूर्ण अवस्थाहरू नै वियोगान्त नेपाली लोकगीत सिर्जनाका स्रोत बनेका छन् । विदेशमा भोग्नुपरेका दुःखान्त घटना र तिनले सिर्जना गरेका पीडादायी अनुभूतिलाई गीतको विषय बनाउने नेपाली अभ्यास पुरानै हो ।

नेपालकी प्रथम महिला गायिकाका रूपमा चिनिने मेलवादेवी गुरुङको वि.सं. १९८५ तिर रेकर्ड भएको ‘सवारी मेरो रेलैमा’ गीतको ‘बिरानो देशमा लैलै, मै मरिजाउँला बरिलै रोइदिने कोइछैन’ ले बिदेसिनेको पीडा व्यक्त गरेको छ । झलकमान गन्धर्वको कालजयी गीत ‘ए बरै ...’ भन्ने गीतले पनि बिदेसिएकाको दुःखान्त कथा भनेको छ । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’को रचनागर्भ पनि रोजगारीको लागि बिदेसिनुको पीडा नै हो । त्यस्तै, लक्ष्मी क्षेत्रीको संकलन र लोकबहादुर क्षेत्रीको स्वरमा रहेको ‘आमा रुँदै गामबेसी मेलैमा, छोरा रुँदै गोरखपुर रेलैमा ...’ होस् वा बुद्धिकृष्ण लामिछानेको संकलन र स्वरमा रहेको ‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर ...’ जस्ता गीतहरूले पनि बिदेसिएकाको पीडा पोखेको छ । 

यी त केही पुराना उदाहरण भए । पछिल्लो समय बढ्दो वैदेशिक रोजगारीमा जाने क्रमसँगै यससम्बन्धी गीत बन्ने क्रम निरन्तर छ । गत वर्ष मात्रै चर्चामा रहेको हिमाल साउदको शब्द, कालीप्रसाद बास्कोटाको संगीत र हेमन्त रानाको स्वरमा रहेको ‘सुन साइँली ... चालिस कटे’सी रमाउँला’ देखि नितेशजंग कुवरको ‘हाम्रो नेपालमा’ गीतले पनि बिदेसिनुको व्यथा भन्छ । लक्ष्मीप्रसाद देवकोटाको शब्दमा, पुष्पण प्रधानको स्वरमा रहेको ‘पैसा हैन पासो छ, विदेशमा’ र सन्दीप विष्ट ‘मिस्टर डी’को ‘खाडी’ नामक ‘र्‍याप’ले पनि वैदेशिक रोजगारीको विशद कथा भनेको छ । यी त केही प्रतिनिधि गीत मात्र हुन् ।  

दुई साताअघि ‘झन् नयाँ’मा प्रकाशित ‘पुँजीवादको यो मोहोरा’ शीर्षक लेखमा गाउँले ध्रुव दाइको कुरा उल्लेख गरेकी थिएँ । यस लेखमा पनि तिनै ध्रुव दाइको गीतका हरफ सम्झिएको छु । कहिलेकाहीँ उनीलगायत गाउँका अरू पनि गाउने गर्थे :
‘आज त हो जुगेडी भन्ज्याङ, भोलि त  चढौँला रेलैमा ।’
मैले यस गीतबारे त्यतिखेरै उनीहरूसँग सोधेको थिएँ । उनले त्यस भेग (तनहुँ, लमजुङ, गोर्खा) तिरका मान्छे कामको खोजीमा मुग्लान जाने क्रममा बाटोमा यस्ता गीत गाउने बताएका थिए । यस क्षेत्रका मान्छे तनहुँ बन्दीपुरको बाटो हुँदै हिँडेर चितवनको जुगेडी पुगेर वास बस्ने र भोलिपल्ट भारत पुग्थे रे । बटुवाहरूले जुगेडी पुगेको साँझमा यो गीत गाउने गर्थे भनेर मलाई उनीहरूले नै सुनाएका हुन् । जुगेडीमा वास बसेको भोलिपल्ट मुग्लान पुगेर ‘रेल चढ्ने’ कुरा गीतमा छ । मैले गीतको बीचको वाक्य मात्र सम्झिएर हो वा औपचारिक गाएर रेकर्ड नगरिएकाले हो ‘युट्युब’मा यो गीत खोज्दा भेटिनँ । 

यस लेख भने प्रकाश सपुतको ‘गलबन्दी’ गीतको सफलताको समाजशास्त्रीय कारण खोज्ने प्रयास हो । माथि तथ्यांकमा नै उल्लेख गरेकी छु, झन्डै ४४ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । एक परिवारबाट एकजना वैदेशिक रोजगारीमा गएका र औसत परिवार सदस्य चार–पाँचजना मान्ने हो भने पनि वैदेशिक रोजगारबाट प्रत्यक्ष प्रभावित जनसंख्या दुई करोडभन्दा बढी हुने रहेछ ।

अझ बिदेसिएकाको नाता, साथीभाइ र चिनजान भएकाको हिसाब गर्ने हो भने यो संख्या धेरै बढी हुन्छ । यस तथ्यबाट हेर्दा सपुतको बिदेसिएका व्यक्ति र तिनका परिवारको व्यथा समेटेको ‘बोल माया’ र त्यसकै ‘प्रिक्वल’का रूपमा आएको ‘गलबन्दी’लाई धेरै नेपालीले आफ्नै कथाका रूपमा लिनु र रुचाउनु स्वभाविक देखिन्छ । गीतको कथा भन्ने शैली उत्कृष्ट छ । ‘बोल माया’ जस्तो हृदयविदारक वियोगान्त गीति कथाको रोमान्टिक आधारका रूपमा बुनिएको छ ‘गलबन्दी’को कथा । गीतका अन्य पक्षहरू पनि बलिया छन् । शब्दहरू सजिला, भाका छोटो र स्थानीयतालाई सजीव ढंगले प्रस्तुत गरिएको हुँदा पनि श्रोतामाझ गीत भिजेको हुन सक्छ । 

साथीहरूसँगको छलफलमा गीतको म्युजिक भिडियोबारे धेरै चर्चा भयो । भिडियोको प्रस्तुतीकरण, लोकेसन छनोट, विनातामझाम प्राकृतिक प्रकाशमा खिचिएकोजस्तो लाग्ने दृश्य र स्थानीयतालाई सजीव बनाउन गीतको बीच–बीचमा आएका संवाद आदिले गीतलाई सबल बनाएको छ । केटी साथीहरूले भिडियोको चञ्चले केटाको हाउभाउलाई खुब मन पराए भने केटाहरूले लजालु केटी मोडलको प्रस्तुतीकरणले मन जितेको बताए ।

गीतको सुरुवाती चरणमा पुरुष गायक भन्छ, ‘गाइदेऊ गीत, किन भाउ खाकी छौ ...?’ र, यता मसँग छलफलमा सहभागी साथीहरू भन्छन्, ‘त्यति भाउ नखाएको भए त केटी उत्ताउली लाग्थी नि !’ हाम्रो सामाजिक मनोविज्ञान अझै पनि केटीमान्छे अन्तर्मुखी र लजालु होऊन् भन्ने चाहन्छ । गीत र यसको भिडियोले समाजको यो मनोविज्ञानलाई ‘क्यास’ गर्ने प्रयास गरेको छ । ‘लज्जा’लाई केटीमान्छेको एक गहनाका रूपमा हेर्ने सामाजिक मनोविज्ञानको सापेक्षमा महिला मोडललाई प्रस्तुत गर्न सक्नुले पनि सायद गीतका दर्शक तथा श्रोता बढेका हुन् कि ? 

गाउँले मात्र होइन, सहरी युवापुस्ताले पनि यो गीत निकै मन पराएको देखिन्छ । सामाजिक सञ्जालमा देखिएको गीतमाथिको प्रतिक्रिया र साथीहरूसँगको प्रत्यक्ष कुराकानीले पनि यस तर्कलाई केही हदसम्म बल पुर्‍याउँछ । त्यसो त केही पहिलेसम्म आधुनिक र सहरी युवाले हामीले परिभाषित गरेका ‘लोकगीत’ सुन्दैनन् र मन पराउँदैनन् भन्ने गरिन्थ्यो । मान्छेको आ–आफ्ना रुचि हुनु स्वाभाविक हो । तर, म क्याम्पस पढ्न काठमाडौं आएको सुरुवाती दिनमा केही साथीले ‘पाखेले जस्तो को लोकगीत सुन्छ ?’ भन्थे । तर, यो समूहले पनि गीत मन पराउनुमा गायकको यसअघिका ‘दोहोरी ब्याटल्स’का दुई शृंखलाको पनि भूमिका देखिन्छ । यी गीतमा प्रयुक्त भाषाशैली, प्रस्तुतीकरण आदिका कारण पनि नेपाली लोकगीतका ‘रेगुलर’ दर्शक–श्रोताभन्दा बाहिरसम्म पनि गीत फैलन सक्यो कि ! गायक र गीतको सफलतामा यो सायद ‘अतिरिक्त लाभ’ हो । 

सरकारी तथ्यांकले ६० प्रतिशत नेपाली सहरी क्षेत्रमा बस्ने उल्लेख गरे पनि अधिकांश नेपालीको उद्गम गाउँ नै हो । लोकभाका तथा दोहोरी गीत गाउँका परम्परा हुन्, संस्कृति हुन् । एकलासको जंगलमा घाँस दाउरा गर्न जाँदा डर भगाउन होस् वा विरह मेट्न गीत गाउने गर्छन्, गाउँले नेपाली । त्यति मात्र होइन, पूजाआजामा दोहोरी गाउनेदेखि गण्डकी, धौलागिरि क्षेत्रमा घाँटु, चुड्का नाच र रोधी गाउने चलन अहिले पनि छँदै छ । केही वर्षअघिसम्म मनोरञ्जनको एक मात्र माध्यम थिए यस्ता गीत र चलन । मनोरञ्जनका अतिरिक्त यस्तै गीत तथा नाचको माध्यमबाट तन्नेरीहरू प्रेमी वा जीवनसाथी खोज्नेसम्म गर्थे । यस्तो अतीत लिएर अहिले सहरमा बसेका तिनै समुदायलाई ‘गलबन्दी’ विगतको झझल्को पनि हुन सक्छ र गीत सफल हुनुको आधार । 

हिजोआज गीतको सफलताको मानकका रूपमा ‘युट्युब भ्युअर्स’लाई लिने गरिन्छ । ‘भ्युअर्स’ पनि कस्ता प्रकृतिका, कहाँ बस्ने, कुन उमेर समूहका जस्ता ‘इन्डिकेटर’हरू विश्लेषण गर्ने प्रविधि भएको भए तथ्यपरक नतिजा दिन सकिन्थ्यो । जे भए पनि ‘भ्युअर्स’ संख्या र चर्चाको हिसाबले ‘गलबन्दी’ गीत सफल भएको हो । यसको प्रमुख कारण बिदेसिएका लाखौँ व्यक्ति र तिनका परिवारका सदस्यको डर र पीडा महसुस गराएकाले नै यी गीतको शृंखला सफल भएको हो । लोकगीतहरू आममानिसका भावना अभिव्यक्तिका माध्यम हुन्, समाजका प्रतिबिम्ब हुन् । यसै लेखको बीचतिर ‘हामीले परिभाषित गरेका लोकगीत’ वाक्यांश प्रयोग गरेकी छु ।

सैद्धान्तिक परिभाषा त मलाई थाहा छैन, तर हाम्रोमा लोकगीत तथा लोकभाकाको मानक फरक ढंगबाट प्रयोग गरेजस्तो लाग्छ । संगीतदेखि वाद्यवादनको आधारमा पो छुट्याइएको हो कि ? तर, यस सन्दर्भमा ‘युगधारा’ पत्रिकामा २०४२ साल मंसिर १७ गते प्रकाशित पारिजातको ‘तपार्इं लोकगीत गाउनुहुन्न ?’ शीर्षक लेख सम्झन्छु । लेखमा उनले कुनै फिनिस (फिनल्यान्डका नागरिक) युवाको भनाइ यसरी उद्धृत गरेकी छिन्, ‘हामीकहाँ कसैले पनि गीत बनाउँछ र त्यो गीत हामी सबै गाउँछौँ भने त्यो हो लोकगीत ।’ अमेरिकीबाट पाएको उत्तर भन्दै पारिजात थप्छिन्, ‘जुन गायकको गीत बढीभन्दा बढी लोकप्रिय हुन्छ अथवा जुन गीत बढीभन्दा बढी जनताले गाउँछन् त्यही लोकगीत हुन्छ ।’ यस ढंगबाट हेर्दा पनि ‘गलबन्दी’ अहिलेको नेपाली ‘लोकगीत’ बनेको छ । 

लेख लेख्दै गर्दा सम्भन्छु, सन् २०१६ मा साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी लोकगायक ‘बब डिलन’लाई दिने निर्णय सार्वजनिक भएपछि सुरु भएको बहस । बहस ‘के गीतका शब्दहरू (लिरिक्स) पनि साहित्य हुन सक्छ (?)’ भन्ने विषय केन्द्रमा थियो । डिलनलाई नोबेल पुरस्कार दिने निर्णयको पछाडि नोबेल कमिटीले ‘अमेरिकीको महान् सांगीतिक परम्पराको काव्यात्मक अभिव्यक्ति सिर्जनाका लागि’ भनेको थियो । त्यसो त यो सन्दर्भ र यस लेखबीचको सम्बन्ध त्यति छैन । तर, पनि विश्व परिदृश्यमा लोकगीतमाथि बहस सिर्जना भएको पृष्ठभूमिमा नेपाली लोकसंगीतबारे छलफल हुनु सुखद हुन सक्छ ।  र अन्त्यमा, यस लेख तयार गर्ने क्रममा मानवशास्त्री सुरेश ढकाल तथा समाजशास्त्रीद्वय शारदा क्षेत्री र निर्मला ढकालसँग कुरा गरेकी थिएँ । लेखमा उहाँहरूको केही विचार पनि संलग्न गरेको छु । तीनै जनाप्रति हार्दिक आभार ।

[email protected]