• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २८ शनिबार ०८:०८:००
साहित्य

कसको फात ? कसको सुङ ?

किताब

२०७६ असार २८ शनिबार ०८:०८:००
नयाँ पत्रिका काठमाडाैं

पृष्ठभूमि
२०१७ को फेब्रुअरीमा टिस्टापारिको कालिम्पोङ छुट्टै जिल्ला बन्नुअघि दार्जिलिङसहितको एउटै जिल्ला थियो यो पहाडी क्षेत्र । १८६४ मा बेलायतले भुटानसँग जितेको कालिम्पोङ १८६६ देखि दार्जिलिङअन्तर्गत राखेको थियो । बेलायती साम्राज्यको अंग बन्नुअघि कालिम्पोङ कहिले सिक्किमद्वारा र कहिले भुटानद्वारा शासित हुँदै आएको थियो । असीको दशकमा उठेको छुट्टै राज्यको माग भएको आन्दोलनले आजसम्म विभिन्न घुम्ती पार गरिसकेको छ । आन्दोलनको लागि स्थानीय बासिन्दाले गरेको त्याग र बलिदानको इतिहास पनि लामो छ ।

जुन भूमिका लागि बलिदानपूर्ण आन्दोलन भयो, उक्त भूमि वास्तवमा ‘कसको’ भन्ने प्रश्न भित्रभित्रै गुम्सिरहेको बोध हुन्छ । छुदेन काविमोको उपन्यास ‘फातसुङ’ले गोरखाल्यान्ड आन्दोलनले दबाएको यो प्रश्नलाई बाहिर ल्याएको छ । उपन्यासको मुख्य कथा नोर्देनको वरिपरि घुमेको छ । लेप्चा जातिको नोर्देन आन्दोलनमा गोरखा स्वयम्सेवी दल नामको गोरखा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)को युवादस्ताको जुझारु युवक हो । १९८८ मा गोरामुमोले दिल्लीको केन्द्र सरकार र कोलकाताको प्रदेश सरकारसँग दार्जिलिङ गोरखा पार्वत्य परिषद् (दागोपाप)का लागि गरेको सम्झौताको चर्चासँगै नोर्देन बेपत्ता भयो । उपन्यासले नोर्देनको बाबु र नोर्देनको छोरा रिपदेनसमेत तीन पुस्ताले व्यहोरेको वास्तविकतालाई छोएर तत्कालीन कालेबुङ क्षेत्रका लेप्चा जातिको कठोर जीवनलाई झल्काउने प्रयास गरेको छ ।

उपन्यासमा लाछिरिङ नामको पात्रको भूमिका सानो छ । तर, लेप्चा जातिको दृष्टिकोण राख्नलाई यति भूमिका नै पर्याप्त देखिन्छ । लाछिरिङ दार्जिलिङ र कालिम्पोङ क्षेत्रका स्थान नाममा लेप्चा भाषाको मौलिकता भएकाले राज्यको नामचाहिँ गोरखाल्यान्ड राखिएकोप्रति असहमति व्यक्त गर्छ । यस अर्थमा उपन्यासले गोरखाल्यान्डको नाममा लेप्चा जाति, भाषा र संस्कृतिलाई समाप्त पार्ने इतिहासमा भएका प्रयासको नयाँ शृङ्खला हो कि भन्ने शंकालाई उजागर पनि गरेको छ ।

उपनिवेशीकरण
अङ्ग्रेजहरूका अनुसार तत्कालीन दार्जिलिङ एकाध झुप्राबाहेक लगभग बन्जर (मानवहीन) भूमि नै थियो । सनाटोरियम स्थापना गर्ने र गृष्मकालीन छुट्टीको गन्तव्य बनाउने उद्देश्यले अङ्ग्र्रेजहरूले १८३५ मा दार्जिलिङको केही भूभाग लिजमा लिए । त्यही बिन्दुबाट दार्जिलिङको उपनिवेशीकरण सुरु भयो । तिबेतन धर्मगुरुहरूको प्रभाव बढेसँगै लेप्चा संस्कृति दबिन थालेको थियो । अङ्ग्रेजहरूसँगै भित्रिएको इसाई धर्मको विस्तारले त्यसमाथि अर्को प्रहार ग¥यो । नेपालीहरूको सङ्गतले हिन्दू धर्मको प्रभाव पनि बढाएकै थियो ।

अङ्ग्रेजहरूको दार्जिलिङ क्षेत्रलाई निर्जन भूमि भन्नु इतिहासलाई दिग्भ्रमित गर्ने प्रयास हो । किनभने १७८९ मा नेपालले टिस्टाभन्दा पश्चिमको दार्जिलिङ विजय गरेको थियो । १८१६ को सुगौलीको सन्धिमा नेपालको गुमाउनुपरेको भूमिमा दार्जिलिङ पनि पर्छ । नेपालले कब्जा गरेको र त्यसअघि सिक्किमबाट शासित भूमि निर्जन तथा जङ्गलैजङ्गलले ढाकेको थियो भन्नु सत्य देखिँदैन ।

‘फातसुङ’को निर्माणमा १९८६ को आन्दोलनसँग परिचित व्यक्तिहरूले कुन पात्र कसको प्रतिनिधि भन्ने चिन्न पनि सक्छन् । त्योभन्दा बाहिरका व्यक्तिका लागि ‘फातसुङ’ एउटा उत्तरऔपनिवेशिक उपन्यास हो । आन्दोलन पूर्वतयारीविना लडिएको थियो र यस्तो विनातयारीको आन्दोलन दुई वर्षसम्म टिक्नु नै अचम्म थियो । 

सम्भवतः अङ्ग्रेजहरूले यो क्षेत्रको उपयोगिता देख्न नसकेकोले सुगौलीको सन्धिसँगै यो भूमि सिक्किमलाई नै फिर्ता दिएका हुन् । उक्त समय लेप्चाहरू त्यहाँका मूल बासिन्दा भए पनि नेपाली भाषा त्यस क्षेत्रमा फैलिसकेको पुष्टि हुन्छ । १८२० मा कोलकाताको फोर्ट विलियम कलेजमा नेपाली भाषाको अध्यापन सुरु गरिसकिएको थियो । उक्त पाठ्यक्रमका लागि जर्ज ऐटनले एउटा सानो व्याकरण पुस्तिका पनि तयार गरेका थिए–ग्रामर अफ द नेपलिज ल्याङ्ग्वेजु । नेपाली भाषामार्फत इसाई धर्म प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली भाषाको अध्यापन सुरु भएकोमा कुनै शंका छैन ।

दार्जिलिङ क्षेत्र चियाका लागि उपयुक्त हुने देखिएपछि यसको महत्व अकस्मात् बढ्न थाल्यो । जङ्गल फँडानी गर्दै र खेतीयोग्य जमिन अधिग्रहण गर्दै चिया बगानहरू स्थापना हुन थाले । चिया बगानका लागि आवश्यक श्रमका लागि सीमावर्ती नेपाल र सिक्किमबाट श्रमिकहरू भिœयाइयो । त्यसमा अङ्ग्रेजहरूले लेप्चा र भुटिया जातिका मानिसभन्दा नेपालीलाई प्राथमिकता दिए । नेपालीलाई गैर–स्थानीयवासीका रूपमा अतिरिक्त शोषण गर्न पाइने उनीहरूको रणनीति थियो । श्रमिकको माग दिनानुदिन बढ्न थालेपछि विभिन्न माध्यम भएर भित्रिने नेपालीको संख्या पनि त्यही रूपले बढ्न थाल्यो ।

अस्थायी श्रमका लागि मात्र नभएर जङ्गल फँडानी गरेर वा लेप्चाहरूको जमिन कुतमा वा अँधियामा कमाउने गरी स्थायी रूपले बसाइँ सर्नेहरूको संख्या ह्वात्तै बढ्यो । फलस्वरूप केही दशकमै नेपाली स्थानीय लेप्चा र भुटियाभन्दा बहुमतमा हुन थाले । भाषाको प्रभाव छँदै थियो । भुटियाहरूले लेप्चासँग जमिन किन्न पाउँथे । नेपालीमा कृषि प्रविधि लेप्चाहरूको भन्दा राम्रो थियो । अङ्ग्रेजहरूले जमिन कब्जा बढाउँदै लगे । १८६१ को वेस्टल्यान्ड ऐनले भारतभरिका बंजरभूमिलाई निजीकरण गर्ने बाटो खोलिदियो । फलस्वरूप दार्जिलिङ क्षेत्रका ठूलो संख्याका लेप्चाहरू भूमिहीन हुन पुगे । एकातिर त्यो स्थिति थियो भने अर्काेतिर परम्परागत खेती वा खानेकुरा सङ्कलन गरेर जीवन निर्वाह गर्ने पद्धतिभन्दा चियाबगानको श्रमले लेप्चाहरूलाई आकर्षित गर्न थाल्यो ।

 १८५७ को सिपाही विद्रोहलाई दबाउन नेपाली (गोरखा)हरूले गरेको बहादुरी अङ्ग्रेजहरूको आँखाबाट लुकेको थिएन । उनीहरूले सुगौली सन्धिअघि पनि गोरखाहरूको इमानदारी र बहादुरी प्रत्यक्ष देखेका थिए । यसले उनीहरूलाई गोरखाहरूलाई सेना तथा प्रहरीमा लिँदा भारतमा शासन गर्न सजिलो हुने लाग्यो । त्यसका लागि जवान छनोटको मुख्य क्षेत्र पनि दार्जिलिङ नै बन्यो । यसप्रकार आइमाई, केटाकेटीका लागि चिया बगान र युवाहरूका लागि भर्तीको सम्भाव्यता बोकेर दार्जिलिङ आकर्षक गन्तव्य बन्न पुग्यो । गोरखाहरूलाई सेनामा लिने बेलायती नीतिले लेप्चा र भुटिया जातिका युवालाई पनि लाभ पुग्यो । गोरखाको परिचय लिएर उनीहरू सजिलै बेलायती सेनाको अंग बन्न सक्थे ।

राजनीतिक चेतना
चिया बगानका मालिकहरू दार्जिलिङ क्षेत्रलाई शासनको प्रत्यक्ष निगरानीबाट अलग राख्न चाहन्थे । यसरी अलग राख्दा श्रमको नियमन हुन नपाउने र सरकारलाई तिर्ने करमा पनि सुविधा हुने हुँदा उनीहरू त्यसका लागि नेपालीलगायत स्थानीय बासिन्दालाई उकास्थे । अङ्ग्रेजहरूकै प्रेरणाबाट १९०७ मा हिलमेन्स एसिसिएन नामको संस्था खडा भयो । संस्थामा नेपाली, लेप्चा र भुटियाको प्रतिनिधित्व थियो । स्थानीय स्वायत्तताका लागि यही संस्थाले पहिलो आवाज उठायो ।


१९२४ मा देहरादुनमा अखिल भारत गोरखा लिग स्थापना गरिएको थियो । १९४३ मा दार्जिलिङमा यसलाई ब्युँताइयो । लिग एउटा राजनीतिक संगठन थियो । लिगको नामबाट यसले विभिन्न प्रकारका राजनीतिक माग तत्कालीन बेलायती सरकार र पछि भारत सरकार तथा पश्चिम बंगालको प्रान्तीय सरकारसमक्ष राख्न थाल्यो । दार्जिलिङ क्षेत्रलाई छुट्टै राज्य वा पश्चिम बंगालअन्तर्गत स्वायत्त क्षेत्रका मागहरू आइरहे ।

स्वतन्त्रतापछि दार्जिलिङका चिया बगानहरू स्थानीयको हातमा नपुगेर दक्षिणतिरका बंगाली र अन्यत्रका साहुहरूको हातमा पुग्यो । फलस्वरूप चियाबगानका श्रमिक र दार्जिलिङका बासिन्दाहरू आन्तरिक उपनिवेशको चपेटामा पर्न थाले । गोरखा लिगले सबै जातिको प्रतिनिधित्व गर्ने प्रयास गर्दागर्दै पनि त्यसमा नेपालीको वर्चश्व हुन्थ्यो । लिगका नेताहरू सरकारमा सहभागी हुने र राजनीतिक माग व्यक्तिगत सफलतासँग सौदाबाजी गर्नेजस्ता काममा संलग्न हुन थाले । नेपाली मूलका गोरखालाई भारतीय पहिचान चाहिएकाले लिगको मुख्य माग त्यसैमा केन्द्रित थियो । लेप्चा, भुटियाजस्ता स्थानीय बासिन्दाहरू ओझेलमा पर्दै गए ।

१९७७ मा प्रान्तीय परिषद् नामको गैरराजनीतिक प्रकृतिको संगठन खडा भयो । यसले गोरखाल्यान्डको माग अघि बढायो । गोरखाल्यान्ड नै नेपालीलगायत लेप्चा आदिको साझा माग बन्यो । ‘गोरखा’लाई साझा जातिको रूपमा ग्रहण गर्न दबाब पनि प-यो । केन्द्र सरकार, प्रान्तीय सरकार र नेपालीको दबाबमुनि उनीहरूको पहिचान विलय हुन सक्ने सम्भावनाप्रति चेनतशील गैरगोरखाहरू जागरुक पनि थिए । तर, गोरखाल्यान्डबाहेक उनीहरूलाई तत्कालका लागि अर्को विकल्प पनि थिएन ।

लेप्चा भाषामा ‘फात’ भनेको ‘माटो’, ‘धरती’ र ‘सुङ’ भनेको ‘कथा’, ‘सम्बन्ध’ हो । संयुक्त शब्द ‘फातसुङ’ले ‘धरतीको कथा’, ‘माटोको कथा’, ‘माटोको नाता’ आदि अर्थ दिन्छ । उपन्यासको मुख्य पात्र नोर्देन लेप्चा भए पनि उसको बोलीमा लेप्चा देखिँदैन । उपन्यासभरिमा एउटा वाक्य मात्र लेप्चा भाषाको परेको छ ।

प्रान्तीय परिषद्भित्रबाट सुभाष घिसिङको नेतृत्वमा गोरखा राष्ट्रिय मुक्ति मोर्चा निर्माण भयो । १९८६ मा गोरखाल्यान्डको मुख्य माग राखेर भएको आन्दोलन यही संगठनको आह्वानमा भएको थियो । आन्दोलनको दौरान ठूलो परिणाममा धनजनको क्षति भयो । तर, सुभाष घिसिङले १९८८ मा ‘तत्कालका लागि’ पार्वत्व परिषद्का लागि सम्झौता गरे ।

उपन्यासको गठन
उपन्यासले मुख्य गरेर १९८६, जुलाई २७ को कालिम्पोङको जुलुस र त्यसपछिको गोरामुमोभित्रको आन्तरिक द्वन्द्वको सानो झिल्कालाई प्रस्तुत गरेको छ ।
उपन्यासका तीन पत्र छन् । पहिलो पत्रमा २०११ को दार्जिलिङ–सिक्किम क्षेत्रमा गएको विनाशकारी भूकम्पले निम्त्याएको वियोगान्त क्षणको चित्र छ । भूकम्पपछि गएको पहिरोमा एउटा लाप्चे गाउँमा धेरै धनजनको क्षति भयो । त्यसमा कथावाचकको बालसखा रिपदेन पनि परेको हुन्छ । तर, उसको लास फेला नपरेकाले पत्रिकामा ऊ मरेको खबर प्रकाशित गर्न कथावाचकलाई गाउँमा बोलाइएको हुन्छ । गाउँ पुगेपछि उसले सम्झेको प्रसङ्गबाट कथाको उठान गरिएको छ र त्यही प्रसङ्गलाई समेटेर उपन्यास टुङ्ग्याइएको छ । यस अर्थमा उपन्यास एउटा संस्मरणका रूपमा पेस भएको छ । यो संस्मरणका दुई भाग छन् ।

संस्मरणको पहिलो भाग कथावाचक र रिपदेनको बाल्यकालका प्रसङ्गहरूको वर्णन हो । लेप्चासहित नेपाली मूलका मानिस बसोवास गर्ने गाउँको कथा हो यो । गाउँ धेरै पिछडिएको छ । गाउँमा शोषण छ, भेदभाव छ । केही छाडेर सबैको आर्थिक अवस्था गएगुज्रेको छ । लेप्चाहरूको स्थिति झन् दयनीय छ । यो अंशले उपन्यासको मूल कथाको भूमिकाको काम गरेको छ । भूमिका खण्डको मुख्य समस्या रिपदेनको हराएको बाबु नोर्देन हो । रिपदेन बाबुका बारेमा जान्न जिज्ञासु छ । नोर्देनको साथी नासिमको मुखबाट रिपदेन र कथावाचकले नोर्देनका बारेमा थाहा पाउँछन् । नोर्देन आन्दोलनमा हिँडेको कथा नै फातसुङ हो, अर्थात् उपन्यासको तेस्रो पत्र ।

माटोको कथा
लेप्चा भाषामा ‘फात’ भनेको ‘माटो’, ‘धरती’ र ‘सुङ’ भनेको ‘कथा’, ‘सम्बन्ध’ हो । संयुक्त शब्द ‘फातसुङ’ले ‘धरतीको कथा’, ‘माटोको कथा’, ‘माटोको नाता’ आदि अर्थ दिन्छ । उपन्यासको मुख्य पात्र नोर्देन लेप्चा भए पनि उसको बोलीमा लेप्चा देखिँदैन । उपन्यासभरिमा एउटा वाक्य मात्र लेप्चा भाषाको परेको छ । कथाले दार्जिलिङ, कालिम्पोङ लेप्चाहरूको माटो हो भनेको छ । लेप्चा समुदायका पाका व्यक्तिहरूमा भूमिप्रतिको भावना गहिरो गरी गडेको छ । लेप्चाहरूको माटोको कथा अधिकारको आन्दोलन मात्र होइन । माटोसँगको सम्बन्ध, माटोसँगको नाता पनि माटोको कथा हो । रिपदेनलगायतका लेप्चाहरू आफ्नो भूमि छोड्न चाहँदैन् । भूमि त्यागेपछि फेरि आफ्नो हुँदैन भन्ने विश्वासले उनीहरूलाई माटोसँग जोडिराखेको छ । उपन्यासको दोस्रो पत्र वास्तवमा माटोसँगको सम्बन्धको गाथा हो ।

नोर्देन, जो कथाको केन्द्रमा छ, उसलाई ‘ल्यान्ड’ भनेको के हो थाहा छैन, मात्र उत्साहले, मात्र लहडले त्यता लागेको छ । राजु सरबाट प्रभावित छ ऊ । राजु सरले बुझेका होलान्, तर उनले नोर्देनलाई बुझाएका छैनन् । कतिसम्म भने राजु सरको नजिकको सहयोगी बनेको सूर्यलाई पनि ल्यान्ड भनेको के हो भन्ने थाहा छैन, थाहा पाउने जमर्काे पनि छैन । उनीहरू चिफप्रति, राजु सरप्रति बफादार छन् । माटोको वास्तविक आह्वान चिफले सुनेको छ । सेनामा काम गर्दागर्दै चिफलाई आफ्नो भूमिको लागि लड्न अन्तःप्रेरणा आयो । दार्जिलिङ पुगेपछि सुभाष घिसिङसँग भेट भयो । सेनाको अनुभवी भएकाले स्वयम्सेवक दलको गठन गर्ने जिम्मा पाए ।

चन्द्रसिंह सुब्बा ‘चिफ’को माटो र नोर्देनको माटो एकै हो कि होइन, उपन्यासले खोल्दैन । नासिम जो स्कुल पढ्दापढ्दै नोर्देनका कारण आन्दोलनमा फस्यो । उसलाई बन्दुकप्रति जिज्ञासा छ, त्यसैले बन्दुक चलाउन पाइन्छ भनेर आन्दोलनमा होमियो । उसले मन पराएकी रचेला नामकी किशोरी गोलीको सिकार भएपछि रचेलालाई मार्नेसँग बदला लिनकै लागि आन्दोलन त्याग्न सकेन । उसलाई माटो भनेको पनि थाहा छैन, जित भनेको पनि थाहा छैन, जुलाई २७ को जुलुसमा के हुन्छ, किन हुन्छ भन्ने पनि थाहा छैन ।

नोर्देन र नासिमले सुभाष घिसिङको भाषण सुनेका पनि छैनन् । ‘सन्धि’ जलाउने भन्ने कुराको छेउटुप्पो थाहा नभएका मानिसहरू जुलुसमा सहभागी भएका छन् । आन्दोलनमा भिड्ने भुइँमानिसको दृष्टिबाट हेर्दा त्यो आन्दोलन माटोको कथा हो कि होइन भन्ने प्रश्न उठ्छ । आन्दोलनमा विजित भइयो, दार्जिलिङ छुट्टै प्रान्त बन्यो भने राम्रो हुन्छ भन्ने रमरम भावना छ उनीहरूमा । उपन्यासकारले आन्दोलनकारी युवाहरूको सपनाको कुरा किन गरेनन्, त्यो प्रस्ट छैन । जबकि गाउँमा पढाउन जाने मिसले उनीहरूलाई सपना देख्न प्रेरित गरेकी थिइन् ।

नेपाली मूलका बासिन्दाहरू राज्यविहीनताको सिकार हुने सम्भावना बढेको थियो । सत्ताबाहिर हुँदा समर्थन गर्ने कम्युनिस्टहरू सत्तामा पुगेपछि आन्दोलन दबाउन लागिपरेका थिए । केन्द्र सरकार दार्जिलिङलाई स्वायत्तता वा छुट्टै राज्य दिए पूर्वाेत्तरमा आदिवासीका नाममा उठेका थुप्रै विद्रोहसम्म पुग्ने सिलगुढी करिडोरमाथि नियन्त्रण छुट्ला भनेर डराइरहेको थियो । दार्जिलिङ क्षेत्र पर्यटन र चियाका कारण आम्दानीको ठूलो स्रोत भएकाले प्रान्तीय सरकार यो भूमि गुमाउन चाहँदैन । अर्कातिर नेपालीमाथि आक्रमण र असुरक्षा बढ्दो थियो ।

१९६७ मा मिजोरामबाट नेपाली लखेटिए । १९७२ मा आसामबाट मेघालय छुट्टियो, दार्जिलिङका नेपालीले केही पाएनन् । मेघालय, आसाम, मणिपुरसमेतबाट नेपाली धपाइए । कतिसम्म भने १९७९ मा प्रधानमन्त्री मोरारजी देसाइँले नेपालीलाई विदेशी भाषा बोल्ने विदेशीको संज्ञा दिए । त्यो त्यही समय थियो, नेपाली मूलका भारतीय आफूहरूलाई गोरखा जातिका मानेर आफ्नो भाषालाई संविधानको आठौँ अनसूचीमा राख्न माग गरिरहेका थिए ।

१९५० को नेपाल–भारत सन्धिको व्याख्याले पनि नेपाली मूलका भारतीयलाई अप्ठ्यारो पार्ने सम्भावना देखियो । सो सन्धिअनुसार नेपाल र भारतका नागरिकले एकअर्काका मुलुकमा काम तथा व्यवसाय गर्न पाउँछन् । त्यो प्रावधानअनुसार दार्जिलिङलगायतका नेपाली भारतमा काम गरिरहेका नेपाली नै रहने, भारतीय हुन नपाउने सम्भावना देखिएको भन्दै सो सन्धि जलाउने योजनासहितको आन्दोलनको आह्वान थियो जुलाई २७ को । लेप्चाहरूको कोणबाट हेर्दा सन्धि जलाउनु र नजलाउनुको कुनै अर्थ थिएन ।

नेपाली मूलकाहरूलाई भारतीय पहिचान चाहिएको थियो भने नेपाली भाषाबाट जोडिएका लेप्चा आदि जातिलाई स्वायत्तता र उत्थान । आत्मनिर्णयसहितको स्वराज्यले यी उपलब्धि दिलाउने आशा भएकाले यो आन्दोलन उनीहरूको पनि माटोको आन्दोलन थियो ।तर, आन्दोलन सम्झौतामा टुङ्गियो । आन्दोलन जारी राख्नुपर्छ, छुट्टै राज्य नभई सम्झौता हुनुहुँदैन भन्नेहरू शत्रु घोषित भए । उनीहरूलाई आफ्नै सहयोद्धाहरूबाट सुरक्षाको समस्या प¥यो । अन्त्यमा सूर्य कहाँ पुग्यो थाहा भएन । नोर्देन बेपत्ता भयो । नासिम खुट्टामा लागेको चोटका कारण अपाङ्ग भएर गिटी कुटेर जीवन निर्वाह गर्नुपर्ने स्थितिमा पुग्यो । राजु सर पढाउने नाममा फेरि लेप्चा गाउँ छि-यो । 

केही भित्री कुरा
‘फातसुङ’को निर्माणमा १९८६ को आन्दोलनसँग परिचित व्यक्तिहरूले कुन पात्र कसको प्रतिनिधि भन्ने चिन्न पनि सक्छन् । त्योभन्दा बाहिरका व्यक्तिका लागि ‘फातसुङ’ एउटा उत्तरऔपनिवेशिक उपन्यास हो भन्नेचाहिँ प्रस्ट हुन्छ । प्रस्तुत उपन्यास पढिसक्दा उक्त आन्दोलन पूर्वतयारीविना लडिएको थियो भन्ने प्रस्ट हुन्छ । यस्तो विनातयारीको आन्दोलन दुई वर्षसम्म टिक्नु नै अचम्म थियो । आन्दोलनको माग र त्यसको परिणामप्रति सर्वसाधारणलाई मात्र होइन, आन्दोलनमा उत्रिनेहरूमा पनि न्यूनतम ज्ञान नभएको हो वा उपन्यासका पात्रमा नदेखाइएको हो यो बहसको विषय बन्नुपर्छ । गोरखाल्यान्डको माग सदाका लागि रोकिएन ।

फेरि बौरियो । तर, पछिल्ला आन्दोलन पनि उस्तै प्रकारले सम्झौतामा टुङ्गियो । आन्दोलनकारीसँग छुट्टै राज्यका लागि कार्यक्रम नै थिएन भन्नेसम्मका आवाज उठिराखेका छन् । २०१२ को सम्झौतापछि पश्चिम बंगाल सरकारले गैरनेपाली आदिवासीलाई आकर्षित पार्ने कार्यक्रम ल्याएर आन्दोलनलाई भाँड्न खोजेको आरोप लागिरहेको पृष्ठभूमिमा लेखिएको प्रस्तुत उपन्यासको राजनीतिक सन्देशले बहस निम्त्याउन सक्ने सम्भावना भने रहेको छ । लेखकले गोरखाल्यान्ड र माटोको आन्दोलनका फरक पात्रहरूमाथि निरन्तर कथा लेख्दै जाने हो भने आन्दोलनको सिङ्गो कथा आउन सक्छ ।

कथा एकोहोरो आन्दोलनको मात्र छैन । नासिमको र चेलाप्रतिको आकर्षण, नोर्देन र रिपपन्दीको गोप्य विवाह तथा रिपदेनको जन्म, बुढाथोकीकी छोरीको पागलपन, सूर्यको पुनमलाई प्रेम प्रस्ताव राख्न नसक्दाको मानसिक अवस्था आदिले कथालाई आन्दोलनको एकोहोरो प्रवाहबाट बाहिर निकालेर बेग्लै स्वाद दिन खोजेको छ । जुलुसको विभिन्न मोर्चामा उपस्थित भएर हिंसालाई भड्काउने र स्वयम्सेवीहरूको क्याम्पमा पनि देखिएको ‘अग्लो केटो’ सम्भवतः घुसपैठियाहरूको उदाहरण हो । कथाको अन्त्यतिर नोर्देनले आफ्नो जिन्दगीमा बाबु फर्केर नआएको र आफ्नो छोराले कहिल्यै बाबु नदेख्ने बताउनु र रिपदेनको दुःखद अवसान हुनु गोरखाल्यान्ड आन्दोलनप्रतिको निराशाको सङ्केत हो । रिपदेनको निःसन्तान अवसानसँगै लेप्चाहरूको सपनाको पनि अन्त्य भएको हो ?

उपन्यासको सबभन्दा आकर्षक पक्ष यसको भाषा हो । दार्जिलिङ क्षेत्रको भाषिकाको प्रतिनिधित्व राम्रोसँग भएको छ । उपन्यासको भाषा र शैलीमा ‘ल’को प्रभाव छर्लङ्ग देखिन्छ । केही प्राविधिक त्रुटि बाँकी देखिन्छन् । समकालीन नेपाली टेलिशृङ्खलाको चल्तीको थेगो ‘मुला साग’को प्रयोग, १९८६ सालमै ‘सिडी’ सुनेको प्रसङ्ग आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ ।