• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विमल वैद्य काठमाडाैं
२०७६ असार २८ शनिबार ०८:२२:००
साहित्य

स्कुल जाने छोरालाई

कविता

२०७६ असार २८ शनिबार ०८:२२:००
विमल वैद्य काठमाडाैं

छोरा, तिमी स्कुल नजानू
पढेर मात्रै केही हुन्न
यदि पढ्यौ भने पनि
पाठ्यसामग्रीसँगै
इमान र नैतिकता पनि पढ्नू 
पुस्तकका ठेली पढेर 
ठूलो मान्छे त बन्लाउ
तर असल मान्छे बन्न सक्दैनौ
असल बन्नु भनेको 
डिग्रीका पानाहरू मात्रै बटुल्नु होइन ।

सरकारको एउटा कर्मचारी 
सरकारी दायित्वको आफ्नो काम गरेबापत
गरिब नागरिकसँग घुस माग्छ
न्यायालयको न्यायाधीश आफ्नै 
च्याम्बरमा लेनदेन गरेर
जित्नेलाई हराउँछ
र, हार्ने मुद्दालाई जिताउँछ
शपथ खाएर बर्दी लगाएको प्रहरी 
सिमानामा तस्करसँग मिलेर
रातभर मुलुकको राजस्व दोहन गर्छ
औद्योगिककर्मीहरू
केमिकलयुक्त खाद्य सामग्रीमा सहीछाप गरेर
नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्छन्
नैतिक साहसमा उभिन नसक्ने हो भने 
छोरा, तिमीले पढेर केही हुन्न
अब स्कुल नगए हुन्छ ।

एउटा प्राविधिक स्तरहीन निर्माणको
फर्जी बिल पास गर्छ
र, केही दिनमै पुल र पर्खाल भत्किन्छ
कानुन पढेका वकिलहरू
रुपैयाँका लागि दाहिने हातले वादी लेख्छन्
र, देब्रे हातले प्रतिवादी खाप्छन्
उपचार गर्ने डाक्टर 
अस्पतालमा निःशुल्क पाइने दबाई नलेखेर पुर्जामा
नजिकैको मेडिकलबाट कमिसन खान्छ
शिक्षक स्कुलमा नपढाएर 
कुनै राजनीतिक दलको झोले बनेर हिँड्छ
इमानको बाटोमा हिँड्न नसक्ने हो भने 
छोरा, पढेर केही हुन्न 
तिमीले स्कुल नगए हुन्छ ।

एउटा प्राध्यापक आफ्नो क्याम्पसमा 
हाजिर मात्र गर्छ
र, दिनभर निजी कलेजहरू धाएर
ज्यालादारी गर्छ
पढेलेखेका भनिने बुद्धिजीवीहरू
राजनीतिक पार्टीले पूरा गर्नै नसक्ने
हावादारी घोषणा–पत्र लेख्छन्
नागरिक समाजका अगुवाहरू
रातभर होटेलमा सरकारी दारु पिएर 
नागरिक अधिकारको खिल्ली उडाउँछन्
देशको आवाज बोल्नुपर्ने कूटनीतिज्ञहरू
विदेशीको इसारामा ट्वाल्ल पर्छन्
स्वाभिमानको पाइला पछ्याउन नसक्ने हो भने
मेरो छोरा, 
तिमीले पढेर केही हुन्न
यदि पढ्यौ भने पनि 
स्कुलका पाठ्यसामग्रीसँगै
चरित्र र आत्मस्वाभिमान पनि पढ्नू
पुस्तकका ठेलीहरू पढेर 
तिमी ठूलो मान्छे त बन्लाउ
तर, असल मान्छे बन्न सक्दैनौ
असल बन्नु भनेको 
योग्यताको प्रमाणपत्रहरू बटुल्नु मात्र होइन ।