• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अनुराधा
२०७६ असार २८ शनिबार ११:०७:००
साहित्य

के बालसाहित्य लेख्नु बच्चाको खेल हो ?

लेखन

२०७६ असार २८ शनिबार ११:०७:००
अनुराधा

बालसाहित्य पनि ठीकै छ । तर, तपाईं अलि गहन अनि महत्वपूर्ण विषयका पुस्तकहरू पनि लेख्नुस् न !’ यो सुझाब मलाई धेरैजनाले धेरैपटक दिएका छन् । हुन त बालसाहित्यलाई उति महत्वका साथ नलिनु कुनै नौलो विषय होइन । कारण खोज्दै जाने हो भने यसको जरो हाम्रो समाजमा अवस्थित बालबालिकाप्रतिको दृष्टिकोण नै हो । हाम्रो दैनिक कुराकानीबाट पनि यो कुरा बुझ्न सकिन्छ :
‘यो त बच्चाले पनि गर्न सक्छ ।’ 
‘कस्तो बच्चाजस्तो कुरारव्यवहार गरेको !’
‘तिमी अहिले बच्चै छौ, केही बुझ्दैनौ ।’
यतिसम्म पनि भनेको पाइन्छ कि ‘छ्या, के लेखेको होला, बच्चाले पढ्ने जस्तो !’ 

यसका आधारमा यो भन्न सकिन्छ कि हामी धेरैले हाम्रा बालबालिकालाई सोच्न, बुझ्न र तर्क गर्न सक्नेभन्दा ठूला मान्छेको सहाराविना केही पनि गर्न नसक्ने उमेर समूहका रूपमा बढी लिने गरिरहेका छौँ । बालबालिकालाई प्राथमिकता दिइएकोे हुँदैन र उनीहरूसँग सम्बन्धित विषयलाई पनि महत्व दिइएकोे हँुदैन । त्यसैको परिणामस्वरूप ‘बालबालिकाका लागि कथा लेख्नु त के नै गाह्रो काम हो र’ भन्ने मानसिकताको उपज पनि हुन सक्छ । 

वयस्क मानिसका लागि साहित्य लेख्नु र बालबालिकाका लागि साहित्य लेख्नुमा उत्तिकै मिहिनेत लाग्छ । अझ भनिन्छ– बालसाहित्य लेख्नु झनै कठिन काम हो । उदाहरणका लागि वयस्क साहित्य लेख्ने क्रममा कुनै अनुभवलाई वर्णन गर्नुप-यो भने धेरैभन्दा धेरै शब्द खर्चेर लेखकले बुझाउन सक्छन् र त्यस पुस्तकका पाठकले नभनिएका र नलेखिएका विषय पनि आफ्नो अनुभवका आधारमा बुझ्न सक्छन् । तर, त्यो छुट बालसाहित्यकारलाई हुँदैन किनभने बालसाहित्यकारलाई थोरैभन्दा थोरै वाक्यमा धेरैभन्दा धेरै कुरा भन्नुपर्ने हुन्छ । अझ त्यो चित्र पुस्तक हो भने त आधा कुरा वाक्यमा र आधा कुरा चित्रमा बुझाउनुपर्ने हुन्छ ।

बालमनोविज्ञान बुझेर, उमेरअनुसारका शब्द चयन गरेर, सन्देश हालेर एउटा मनोरञ्जनात्मक कथा साहित्य पुस्तक तयार पार्नु सजिलो काम पक्कै होइन । 
स्विडेनकी १५ वर्षीया छात्रा ग्रेटा थुनबर्गेको जलवायु परिवर्तनको समस्या समाधानको अभियानलाई संसारभरिका मानिसले प्रोत्साहन र साथ दिँदै छन् । १५ वर्षकी मलाला युसुफजाई तालिवानविरुद्धको बौद्धिक लडाइँ जितेर नोबेल शान्ति पुरस्कार पाउन सफल भइन् । हाम्रो देशमा अझै पनि बालबालिकालाई महत्व दिनु अनावश्यक र लज्जास्पद मानिन्छ । 

गत वर्ष १८ सेप्टेम्बर २०१८ मा पारित भएको बाल ऐन २०७५ ले नेपाली बालबालिकाले पाउने इज्जत, हक र अधिकार पनि समावेश गरिसकेको छ । राज्यले त महत्व दियो, तर हामीले व्यावहारिक रूप दिने कहिले ? त्यसलाई हामीले प्रयोगमा ल्याउने कहिले ?  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवको मुख्य उद्देश्य साहित्यप्रति मानिसको मोह जगाउनु र साहित्यकारको रचनालाई प्रवद्र्धन गर्नु पनि हो ।

हाम्रो देशमा यस्ता महोत्सव अनि सम्मेलनले राम्रो स्थान पाउन आवश्यक छ र पाएका पनि छन् । दिनहुँ जस्ता साहित्यिक गतिविधि हुन्छन्, त्यहाँ पुस्तकको महत्व र पठन संस्कृतिको विकासबारे चर्चा गरिन्छ । ती अन्तक्र्रियामा वयस्क मानिसका कथा, कविता, नाटक तथा अन्य विधाका रचनामा छलफल हुन्छ । बहस हुन्छ । तर, त्यहाँ बालसाहित्य, बालसाहित्यकार वा चित्रकार कसैका बारेमा पनि चर्चा हुँदैन । उनीहरूले स्थान नै पाउँदैनन् । 

बालबालिकामा पठन संस्कृतिको विकास र बालसाहित्यको महत्वबारे बहस हुँदा बालसाहित्यकारले नै स्थान पाएका हुँदैनन् । छलफलका लागि निम्त्याइन्छ, कुनै सेलेब्रिटी, लेखक, कलाकार, व्यापारी, पत्रकार, खेलाडी र समाजसेवी । यसो भन्दै गर्दा धेरैलाई लाग्न सक्छ, ‘मेरो परिवारले यो कुरा बुझेको छ । किनभने, मेरा छोराछोरीले ह्यारी पोर्टरजस्तो मोटो किताब पढिसकेका छन् ।’ तर, सोचनीय कुरा के छ भने हामी हाम्रा छोराछोरीले बाल पुस्तक पढे भनेर गौरवान्वित छौँ कि अंग्रेजी पुस्तक पढ्न सक्छन् भनेर गौरवान्वित छौँ ?

बाल पुस्तक पढ्छन् भन्नेमा गर्व गरिरहेका छौँ भने हाम्रा छोराछोरीले नेपाली बाल पुस्तकहरू कत्तिको पढ्छन् ? अभिभावकका नाताले बजारमा के–कस्ता नेपाली बाल पुस्तक छन् भन्ने कुरा हामीमध्ये कतिलाई थाहा छ ? सायद कमैलाई थाहा हुनुपर्छ । जसरी हामी ठूलाका पुस्तक गर्वका साथ किन्छौँ, फेसबुकमा पोस्ट गर्छौँ, त्यसबारे टीकाटिप्पणी गर्छौं, खोइ त हामीले बालसाहित्यबारे त्यसो गरेको ? 

कतिपय पत्रपत्रिकामा बालसाहित्यका लागि स्थान छुट्याइएको हुन्छ र बालबालिकाका निम्ति रोचक र ज्ञानवद्र्धक विषय समावेश गरिएका हुन्छन् । ती सबै बालबालिकाले पढून् भन्ने मनसायले प्रकाशित गरिएको हुन्छ । तर, कुनै अभिभावक वा वयस्कहरूले त्यो स्तम्भलाई कत्तिको ध्यान दिन्छन् त ? यो पनि महत्वपूर्ण पाटो हो । हप्तामा एकपटक यस्ता कुरा पत्रिकामा देख्न पाउनु खुसीको कुरा हो, तर यतिले मात्रै पुग्दैन । 

बालसाहित्यको प्रवद्र्धनका लागि आवाज कम उठ्छ । इमानदारीसाथ भन्ने हो भने केहीलाई छाडेर धेरै बालसाहित्यमा लागेकाहरूले यो विषयलाई प्राथमिकतासाथ अगाडि बढाएको देखिन्न । धेरैका लागि बालकथा लेख्नु सजिलो छ भन्ने भ्रम देखिन्छ । बालसाहित्यबारे शोध–अनुसन्धानमा आधारित लेख खासै देखिन्नन् । बाल पुस्तकहरूबारे समीक्षा गरेको पनि खासै पाइँदैन । पत्रपत्रिकामा आउने पुस्तक समीक्षाको नाममा अक्सर बाल पुस्तकको बाहिरी कभरको साथमा कथाको सार, लेखक, चित्रकार, सम्पादक तथा प्रकाशकको नाममै सीमित रहेको हुन्छ । त्यहाँ पुस्तकको कुनै विश्लेषणात्मक पुनरावलोकन हुँदैन । लेखनशैली, शब्द चयन, चित्रहरूको व्याख्या, कथाको मनोवैज्ञानिक पाटोबारे केही पनि उल्लेख हुँदैन ।

काठमाडाैंमा थुप्रै बालसाहित्यिक संस्था नभएका होइनन् । तर, पछिल्लो समयमा आएर यस प्रकारका संस्थाको क्रियाकलाप वर्षमा एउटा सम्मेलन गर्नु र केही पुस्तक प्रकाशन गर्नुजस्ता क्रियाकलापमा मात्रै सीमित रहेको पाइन्छ । बालसाहित्यप्रतिको अवधारणा बदल्न सबै निकायबाट महत्वपूर्ण भूमिका खेल्न जरुरी छ । यसमा सञ्चारमाध्यमले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाली सञ्चारमाध्यमले बालपुस्तक, बालसाहित्यकार, चित्रकार, लेख इत्यादिलाई महत्व र स्थान दिनु जरुरी छ । 

बाल पुस्तकको महत्वबारे कुनै पनि सचेत पाठकलाई बुझाउन जरुरी छैन । बालसाहित्यलाई ध्यान दिनु भनेको बालबालिकालाई महत्व दिनु हो । बालबालिकाको स्वास्थ्य, खाना र शिक्षाप्रति चासो राखेजस्तै उनीहरूको बौद्धिक पक्षमा पनि उत्तिकै चासो राख्न जरुरी छ ।