• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केशव सिलवाल
२०७६ श्रावण ४ शनिबार ०९:०४:००
साहित्य

नयाँ बान्की, नयाँ स्वर

किताब

२०७६ श्रावण ४ शनिबार ०९:०४:००
केशव सिलवाल

महिला हुनु नितान्त जैविक सवाल मात्र होइन, यसको छुट्टै सामाजिकता छ । महिला बन्ने लहरो परिवारबाट सुरु हुन्छ । बालिकालाई खेल्न दिने कुरा, लगाउन दिने लुगा, भाषा सबैले महिला भनेको भिन्न हो भन्ने दर्शनजीवनको प्रथम प्रहरमै आमा, बा र समाजले सिकाउँछन् । बालिकाले पुतली खेल्नुपर्ने, भात पकाई खेल्नुपर्ने । केटाले बल खेल्नुपर्ने, मोटर गुडाउनुपर्ने, चङ्गा उडाउनुपर्ने । महिलाको सामाजिकीकरण गलत चिन्तनको प्रत्यारोपणबाट सुरु हुन्छ, जुन विभेदको पहिलो खुड्किला हो । यसरी तयार गरिएको महिलामा पछिसम्म ‘हामी फरक नै हौँ’ भन्ने दिग्भ्रम रहिरहन्छ । अरूले होइन, हामी आफैँले, हाम्रा आमाबाले यो कार्य गरिरहेका छन् ।

महिला समाजका अभिन्न अंग हुन्, समाजका निर्माता हुन् । महिला नहुँदो हो त समाज बन्ने थिएन, पुरुषको निर्माण हुने थिएन । तर, महिलाको सामाजिक अवस्था उच्चाटलाग्दोे छ । समाजको ढुंगाजस्तो कलेजोले महिलालाई अझै पनि समाजको हिस्सा मान्न कन्जुस्याइँ गर्छ । महिला लेखनको अवस्था त झन् पिँधमै छ । औँलामा गन्न पनि मुस्किल । कुनै कार्यक्रम गर्नुप-यो, वक्ता उनै दुई–चारजना । कविता वाचनमा निम्ता गर्न प¥यो झन् कम । उफ्, वैचारिक लेखनको नियति त झन् कन्तबिजोग छ । 

हाम्रो विभेदी सामाजिक संरचनाले महिला प्रतिभाको हत्या गरिरहेको छ । भातभान्छामै निसासिएका छन् महिला । जो आएका छन् बाहिर, निकै संघर्ष र दुःखले आएका छन् । मरुभूमिमा पानीको एक थोपाजस्तो बिन्दु शर्माले कविता संग्रह लिएर आइन् । शून्यतामा एक अंक थपिन्, नत्र पाँच पुग्न पनि सकस । चरा, पशुपक्षी र हिमालका बिम्ब छाडेर मानवीय संवेदना र पीडालाई कवितामा उन्ने सत्प्रयास गरेकी छिन् । 

कविता र समाजको निकटतम सम्बन्ध हुन्छ । समाज हाजिर नभएका, जीवनशून्य कविताको कुनै अर्थ र प्रयोजन हुँदैन । खुसीको कुरा हो कि बिन्दु शर्माको कवितामा समाजका भोगाइ, पीडा र उत्पीडन पाउन सकिन्छ । खासगरी महिला संवेदनालाई टपक्क टिपेकी छिन् । यस संग्रहको शीर्षक कविता यही सामाजिक मनोविज्ञानमा टेकेर रचिएको छ– ओक्कल दोक्कल पीपल पात । 
तिमीले किनिदिएको
साइकलको रफ्तारमा
लाखौँ माइलको दूरी
पार गरिसक्दा उसले 
मचाहिँ तिमीले नै ल्याइदिएको
कुरुस र एक लच्छी उनको धागोलाई
सिँगारेर सिपालु औँलाहरूमा
जिन्दगीको सादापनलाई 
भरिरहेँ रंगीन बुट्टाहरूले र
खुम्चिरहेँ त्यसकै गोलो परिधिमा
अझै मौन भइरह्यौ तिमी

मैले लुकेरै उडाउँदा च्यातिएको
भाइको पुरानो चंगाको मोल
चड्कनले सम्झाएकी तिमीले
थाहा पाइनौ आमा ।

प्रत्येक महिना केशसँगै छाँटिरहँदा
भाइले आफ्नो धीरता
मैले भने चुल्ठोसँग कस्दै लगेँ
र रिबनको फूलजस्तै फुलाइरहेँ
ओठमा बनावटी हाँसो
तर पनि मौन भइरह्यौ तिमी
(ओक्कल दोक्कल पीपल पात)

वास्तवमा, महिलाले कविता लेख्नु, लेखक बन्नु चुनौतीको भीषण पहाडलाई सानो हथौडाले फोर्न खोज्नु हो । बाधकका राक्षस त यही व्यवस्था र प्रतिकूत परिस्थिति हुन् । । जोखिमको विष पिएर मात्र पारिजात पारिजात बन्न सकेकी हुन् । तिनै पारिजातले खनेको बाटोमा हिँड्ने आँट गरेकी छिन् कवि बिन्दु शर्माले । 

पुँजीवादको विकास १७औँ शताब्दीको सन् १६४० मा बेलायतका राजा चाल्र्स प्रथमलाई फाँसी दिएपछि सुरु भएको मानिन्छ । राज्य सधैँ पुरुष, धनी, व्यापारी र पुँजीवादको सम्भारमा लाग्यो । तर, महिलालाई सधैँ तुच्छकोटीमा राखियो । पुँजीवादको महिलाद्वेषी चरित्रका विरुद्ध महिला आफैँले विद्रोह गरेर नै महिला हकहितका कुरा उठेका हुन् । पुरुषले दिएको निगाहा होइन यो । पौराणिक ग्रिस र एथेन्समा महिला, केटाकेटी, वृद्ध र दासलाई नागरिक मानिने थिएन ।

पुँजीवादले महिलाप्रति कुनै सहानुभूति दर्साएन, नाफामै केन्द्रित भयो, महिलालाई बेच्न पाएर पुँजीवाद दङदास भयो । बेलायतमा सन् १९२८ सम्म महिलालाई चुनावमा मतदान गर्ने अधिकार थिएन । यसको अर्थ हो महिला नागरिक हुन पाएका थिएनन् । तर, द्वितीय विश्वयुद्धमा जब आफू आफैँ लडेर पुरुषको जनसंख्या घट्यो, तब उद्योग चलाउन, अफिस चलाउन र कामकाज गर्न महिलाको आवश्यकता प-यो । महिला घरभित्रबाट बाहिर निस्किए र आफ्नो दक्षता प्रस्तुत गरे । महिलाले राष्ट्र प्रमुख भएर देश हाँक्ने आफ्नो कार्यकाल सम्हाले । तिनै विद्रोही महिला मन पर्छ कवि बिन्दु शर्मालाई । 

थारू समाजको चित्रण उनको कविताको अर्को विशेषता हो । कवितालाई भिन्न स्वाद र परिवेशको अनुभूति दिदैँ  थारूगाउँका अनेक प्रसंग गाँसिएका छन् , कविताभित्र थुप्रै थारू भाषा सजाइएका छन् । गोचाली, भिवाँ, गुरै, अट्वारी, लद्या, बुदी, झुल्वा, गतैया, भौका, बुकु, बुई, गब्दा, सिकलसिस एनिमियाँ, लालकिरनी आदि । कविता पढ्दा कवि थारूगाउँमा हुर्के बढेको हो कि भन्ने झलक आउँछ । ‘सम्बन्धमा सखी’ कवितामा कवि थरुहटकी सखीलाई विषमताका विद्वेषी वर्णहरू तोड्नको लागि आह्वान गर्छिन् । ‘दङ्गीशरणको आँगनबाट’ कवितामा दाङ जिल्लाको ऐतिहासिक थारू राजाको बिम्ब प्रस्तुत गर्दै साथीलाई जिमिदारको खलिहानबाट, उत्पीडनबाट निस्केर बाहिर आउन आह्वान गरिएको छ ।

दङ्गीशरणको विलुप्त इतिहासबाट
पुनः आह्वान गरिरहेछु म
प्रिय भिवाँ !
चिच्याइरहेछु म चुरेको आदिवासी उचाइबाट
मेरो गोचाली !
बनकसको मुट्ठाझैँ कसिएर आऊ
हलाको फालीझैँ तिखारिएर आऊ । 
(दङ्गीशरणको आँगनबाट)
बिन्दु शर्मा भन्छिन्– मेरा निम्ति कविताको बीज मूलतः विचार नै हो, उत्पीडनको प्रतिरोध हो । उनलाई फूलको रङभन्दा मानिसको विद्रोहको स्वर प्रिय लाग्छ । कवितामा तिनै प्रिय मान्छेलाई आह्वान छ, कमरेडलाई सुझाब छन् । सङ्ग्रहभित्र ‘समविधानको स्वरूप’ शीर्षकमा ६ वटा कविता समेटिएका छन्, जसमा राज्यको विधानमा केन्द्रित द्वेषी परिभाषाविरुद्ध आगो ओकलिएको छ । विद्यमान कुरीतिविरुद्ध असन्तोष व्यक्त गरिएको छ । ‘तिम्रो विधानमा’ प्रश्न तेस्र्याइएको छ– कस्तो हुनुपर्छ मेरो पछ्यौराको रङ ? कसलाई घुम्नुपर्छ दाहिने पारेर मैले ? कसको वंशज हुर्किनुपर्छ मेरो गर्भमा ? थाहा छैन राज्यको रङ, रातो हुन्छ कि हरियो ? ‘तिम्रो बिरासतको अनुष्ठानमा’ कवितामा विद्रोही भावको अब्बलता छ । कविता यसरी सुरु हुन्छ– 
ठकुन्र्या !
तिम्रो बिरासतको अनुष्ठानले
हाम्रो घरको शिरमाथि
सधैँसधैँ तुसारो परिरहँदा
किन लाग्छ तिम्रो बार्दलीमा मात्र
पुसको पारिलो घाम ?

नेपालको सामाजिक संरचनामा महिलापछि सबैभन्दा बढी दलन खप्ने वर्ग दलित हो । शासकले दलितलाई मानिसभन्दा तल तुच्छकोटीमा पु¥याउने दुष्कार्य गरे । तीन हजार वर्षभन्दा बढी उत्पीडनको जाँतोमा पिसिइरहेका दलितबाट उपल्लो जातले फाइदा लुट्ने, तर घरमा छिर्न नदिने दुव्र्यवहार प्रदर्शन गरिरहे । दलित चेलीबेटीमाथि दाँत गाड्ने नीच कार्य छोडिएन, अधिकार नै ठानियो । तिनै दलित छोरीको विद्रोह कोरिएको छ ‘गोधुलिमा मालती’ कवितामा, विद्रोहको चरम भावना विस्फोट गरिएको छ । 

विष्टको आँगनको ओसिलो कुनामा अछट्टै,
बाको हातेकल नजिकै बसेर
मालिकको पाइजामा तुर्पाइ गर्दागर्दै
कति वेला पोखिदियो मेरो तनमा
समयले तरुनी रङ, पत्तै भएन
र त
मेरा बाले सिएका सुकिला लुगा लगाउनेहरूले नै
मसलाको रूखजस्तै 
एकैचोटि नाङ्गो बनाए मलाई

युगौँपछि, मेरा प्रिय रातहरूलाई ब्युँझाउँदै
कुमारी कुन्तीसित संसर्गको तृप्ति मिसाएर उदाएको
ए, नकचरो सूर्य
पर्दरको दुर्गन्धी पानीले धोएको
तेरो रातो अनुहारमा घिनाउँदै थुकिदिन्छु म 
भट्टीभित्र मातेका लठैतहरूले जसरी 
फलाक्छु अश्लील गाली 
                      (गोधुलिमा मालती)

यस संग्रहमा विविध विषय र बान्कीका कविता छन् । नारा छैनन्, इन्टर हानेर जबरजस्त लेखिएका छैनन् । यस्तो लाग्छ अचेल कविताको ट्रेन्ड फेरिँदै छ । भूपी शेरचन, विमल निभाको चोटिलो मारक कविताबाट अति भावनात्मक, रुन्चे र लयात्मक बान्कीमा कविता देखा पर्दै छन् । तर, बिन्दु शर्माको कविता दुवै ट्रेन्डको समिश्रण हो, नयाँ बान्की र स्वरमा लेखिएका ।

कतिपय कवितामा प्रचुर बिम्ब र प्रतीकको प्रयोगले कविता बोझिल पनि भएका छन्, भावना तत्व  बढी हो कि जस्तो । भावना पनि बिस्तारै तौली–तौली, परिस्थिति हेरेर, विचार गरेर खन्याउनुपर्छ भन्ने लाग्छ ।बिन्दु शर्मा कविता लेखनमा निकै प्रतिबद्ध र क्रियाशील नाम हो । अविरल जनसाहित्य यात्रा, लेखन, प्राध्यापन सबैतिर समय बाँडिरहेकी छिन् । उनको यो ऊर्जा कायम रहोस् । नयाँ–नयाँ कविता पढ्न पाइयोस् । महिला लेखनको अभावलाई टार्न सकियोस् । 

लेखक : बिन्दु शर्मा
प्रकाशक : शिखा बुक्स
पृष्ठ : १०४
मूल्य : १७५