• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बिपी काेइराला
२०७६ श्रावण ४ शनिबार ०९:१४:००
समाज

‘चीनसँगको गोप्य वार्तापछि भारत रुष्ट भयो’

२०७६ श्रावण ४ शनिबार ०९:१४:००
बिपी काेइराला

१९५५, जुलाई १५
काठमाडौं : मैले स्टिनबर्गको ‘इन द वर्कसप अफ द रिभोल्युसन’ भर्खरै पढेर सिध्याएँ । म आफ्नै देशको एउटा सानो क्रान्तिमा पनि सहभागिता जनाइरहेको थिएँ । तर, मलाई लाग्यो, भाग्यले ममाथि थोपरेको भूमिकाका लागि म पर्याप्त अनुपातमा क्रूर भइसकेको थिइनँ । नेपालका लागि कुनै महान् काम गर्ने अवसर मेरा सामु आएको पनि थियो, तर त्यसका लागि आवश्यक क्रूरताको अभावमा मैले उक्त अवसर गुमाएँ । सायद, क्रान्तिका लागि म त्यति गम्भीर भइसकेको थिइनँ । 

जुलाई २१
काठमाडौं : म आर मार्टिन डी गार्डको ‘समर १९१४’ पढिरहेको छु । म यसलाई महान् पुस्तक त भन्दिनँ, तर यो प्रथम विश्वयुद्धको एउटा प्रभावशाली कथा भने अवश्य हो । पूर्वी युरोपतिरका एक व्यक्तिको जीवनका मिहिन पक्षको आख्यानीकरणसहित लेखकले यस पुस्तकमा युद्धको एउटा शक्तिशाली चित्र खिचेका छन् । यो एक शान्तिकामी पुस्तक हो, तर त्यसो भन्नुको तात्पर्य एउटा कमजोर तथा शान्तिप्रिय मान्छेले युद्धप्रति जनाएको कुनै कमजोर प्रतिक्रिया भने होइन ।

यसले पाठकलाई युद्धको भयंकर त्रासप्रति सजग गराउँछ, र त्यसको क्रूरता र छलको परिचय दिन्छ । यसको पात्र जेक्स मेरो सम्झनामा सधैँ रहिरहने साथी हो । ऊ सहिद भएर जानु मेरा लागि एउटा व्यक्तिगत क्षति हो, तर पनि ऊ मेरा लागि एउटा पथप्रदर्शक पनि हो । म उसको बलिदानीलाई व्यर्थ अथवा वीरतालाई अर्थहीन भन्दिनँ । उसको सहादतको क्षण तथा उसको मित्रवत् व्यवहार मेरा लागि मलाई घेर्न आइरहने अँध्यारा पलहरू चिर्ने उज्यालो हो । यो पुस्तक जीवनका धेरै शाश्वत प्रश्नहरूका बारेमा आत्ममन्थन तथा विद्वत् टिप्पणीहरूले भरिएको छ । ती प्रश्न सोध्न मात्र सकिन्छ । तिनको उत्तर पाउन मुस्किल छ । 

जुलाई २८
काठमाडौं : आज सुर्वणजी आउनुभयो । सन्धिको पुनरावलोकन तथा सामान्य कूटनीतिक सम्बन्धको सुरुवातका लागि एउटा चिनियाँ प्रतिनिधिमण्डल राजधानी आइपुगेको थियो ।  वार्ताहरू अत्यन्त गोप्य रूपमा सम्पन्न भए । यसबारे सल्लाह नगरेको भन्दै भारतीय खेमा रुष्ट पनि भयो । तर, मैले भने यी वार्ताको स्वागत गरेको थिएँ । मैले भनेको थिएँ, ‘यी वार्ता मौजुदा सरकारले होइन, एउटा जननिर्वाचित सरकारले गर्नुपर्छ ।’ 

जुलाई २९
मैले आजको साँझ प्रमुख निर्वाचन आयुक्तसँग बिताएँ । सुवर्णजीले मलाई भन्नुभयो, ‘दरबार र भारतीय पक्ष बालिग मताधिकारको प्रयोगको पक्षमा छैनन् ।’ भारतीय सल्लाहकारहरू आसन्न निर्वाचन केही मतदातामा सीमित रहोस् भन्ने चाहन्थे । र, उनीहरू चुनाव अप्रत्यक्ष होस् भन्ने चाहन्थे । यस सम्बन्धमा गान्धीजीको नाम पनि लिइयो । यो पनि भनियो, बालिग मताधिकारका आधारमा गरिने चुनाव नेपालका लागि ज्यादै खर्चिलो हुन जानेछ । यो सुनेर म यति आश्चर्यचकित भएँ कि मेरो प्रतिक्रिया शून्य रह्यो । तर, मैले केही साहस बटुलेर प्रमुख निर्वाचन आयुक्तलाई भनेँ, ‘सीमित मतदान र अप्रत्यक्ष मतदान दुवै कांग्रेसजस्तो क्रान्तिको पक्षधर पार्टीका लागि मान्य हुनेछैनन् ।’

मलाई थाहा भएन, भारतीयहरू नेपालमा किन एउटा नाम मात्रको संसद् चाहन्थे ? के उनीहरू यथास्थितिको निरन्तरता चाहन्थे ? कि उनीहरू नेपाल अति विपन्न भएका कारण आमनिर्वाचन र बालिग मताधिकारका लागि अझै परिपक्व छैन भन्ने ठान्थे ?

सीमित मतदान र अप्रत्यक्ष मतदानभित्र क्रान्तिकारी क्षमता हुँदैनथ्यो । यसको परिणाम एउटा यस्तो संसद् हुने थियो, जसले केही पक्षको निहित स्वार्थ तथा यथास्थितिको रक्षा गर्नु मात्रै हुने थियो । तर, म आसन्न निर्वाचनलाई एक अत्यावश्यक सामाजिक परिवर्तनको माध्यमको रूपमा हेरिरहेको थिएँ । अर्को शब्दमा भन्ने हो भने यसले यथास्थिति बिथोल्ने अपेक्षा गरेको थिएँ । यदि निर्वाचन बालिग मताधिकारकै आधारमा गरियो भने त्यसमा सामाजिक रूपान्तरणका लागि कानुन बनाउने थलोको रूपमा संसद्लाई प्रयोग गर्न चाहने हामीहरूको योबाहेक अरू कुनै निजी स्वार्थ रहने थिएन ।

 सुवर्णजीले के पनि स्पष्ट पार्नुभयो भने भारतीय पक्ष सीमित र अप्रत्यक्ष निर्वाचनकै पक्षमा थियो । मैले भगवान् सहाय (नेपालस्थित तत्कालीन भारतीय राजदूत) सँग पनि कुरा गरेँ । मलाई थाहा भएन, भारतीयहरू किन एउटा नाम मात्रको संसद् चाहन्थे ? के उनीहरू यथास्थितिको निरन्तरता चाहन्थे ? कि उनीहरू नेपाल अति विपन्न भएका कारण आमनिर्वाचन र बालिग मताधिकारका लागि अझै परिपक्व छैन भन्ने ठान्थे ? तर, हामी निर्वाचनकै पक्षमा थियौँ, किनकि उनीहरूको कुरा मान्नु हो भने निर्वाचन नै नहुन सक्थ्यो । नियन्त्रित नै सही, हामी संसद् चाहन्थ्यौँ । तर, हामी उनीहरूको कुरा बुझिरहेका थिएनौँ । 

(नेहरू स्मारक संग्रहालय तथा पुस्तकालय, भारतबाट अनुवादक पदमबहादुर थापाले संकलन गरेको कोइरालाको अंग्रेजी डायरीको अंश ।)
उल्था : महेश पौड्याल