• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अशोक सिलवाल
२०७६ श्रावण ४ शनिबार १०:५३:००
सम्झना

मदनमणिसँग मिथक–वार्ता

धरोहर

२०७६ श्रावण ४ शनिबार १०:५३:००
अशोक सिलवाल

मैले मिथकबारे केही जिज्ञासा नराख्दै मदनमणि दीक्षितले कुरा बुझिसकेका थिए । तर, केहीबेर उनी बोलेनन् । न त मतिरै हेरे ? यो उनको ‘स्टाइल’ हो । मिथकबारे उनीसँग छलफल सुरु गर्न लाग्दै गर्दा मैले त्यसलाई ‘मिथकीय स्टाइल’ भनिदिएँ । तर, उनले नसुन्ने गरी । ‘मिथक भनेको के हो, मलाई राम्ररी थाहा छैन, तर म उनलाई एउटा मिथककै रूपमा बुझ्छु । म गलत छु कि सही ? त्यो पनि मलाई थाहा छैन,’ यस्तै सोच्दै थिएँ म । उनी पनि मजस्तै केही सोच्दै थिए, पक्कै । केही छिन सोचेपछि उनले बल्ल बोल्न सुरु गरे । ‘कल्पना, अनुमान र सत्य । यी तीन शब्द हाम्रो साहित्यमा छन् । लेखकलाई पनि यी तीन कुरा समस्याका रूपमा आउँछन् । लेख्नेक्रममा यदि समस्याका रूपमा नभए विधिका रूपमा आउँछन् ।’ 

‘सत्य भनेपछि ...,’ उनी फेरि एक छिन अड्किए, अघिकै स्टाइलमा । र, फेरि बोल्न थाले, ‘तपाईं र म कुरा गरिरहेका छौँ । यो सत्य हो ।’ ‘कल्पना भनेको ...,’ फेरि एक छिन अडिएर बोले, ‘तपाईं  आउनुभएको छैन । म पनि आएको छैन । तर, कसैले हाम्रो भेट भएको छ भनेर भेटेको कुरा गर्छ भने त्यो कल्पना हो ।’ ‘तपाईं र म बसेर मिथक वा साहित्य लेखनबारे चर्चा गरेका थियौँ र भविष्यमा त्यसमाथि वा त्यसबारे कसैले लेख्यो भने त्यो मिथक हुनेछ । त्यतिवेला ‘तपाईं हामी कतै अज्ञातबाट भनौँला, तपाईं र मबारे फलानाले मिथक खडा ग-यो ।’

०००
उनी एक्कासि बनारसतिर पुगे, ‘त्यहाँका दुर्गाप्रसाद खत्रीले लेखेका हिन्दी कथासंग्रह ‘चन्द्रकान्ता सन्तति’ आद्योपान्त कल्पना हो । घटना, पात्र सबै । हिन्दीका विख्यात लेखक प्रेमचन्दको ‘गोदान’ भन्ने उपन्यासलाई मिथक भनेर भनिन्छ । किनभने, पात्र र घटना इतिहासका कुरा थिए र त्यसलाई उनले आफ्नो किसिमले प्रस्तुत गरे ।’ त्यसरी मिथक केलाउँदै गर्दा उनले मलाई फेरि एकपटक सोधे, ‘माधवी त पढ्नुभएको छ ?’ मैले उत्तर दिइनँ । मेरो मौनताबीच उनी आफैँ बोल्न थाले, ‘उपन्यास ‘माधवी’का घटना सत्य होइनन् । तर, महाभारतको आधार र अनुमानमा माधवी र गालवबीच व्यवहार हुँदै जान्छ । तसर्थ ‘माधवी’मा मिथकको पर्याप्त प्रयोग भएको छ ।’ 

म कुरोको चुरोमा पुग्न सकेको छैन । के हो र के होइनको बीचबाट म कतै गइरहेको छैन । बरु अलमलमा छु । के हो मिथक ? १७ फागुन । दिउँसो २ः३० बजेको छ । ठीक त्यति नै वेला हामी एकाएक झन्डै ३० सेकन्ड मौन रह्यौँ । तर, वातावरणमा घरै हल्लिने, मनै हल्लिने भयंकर आवाज आयो । आइरह्यो । चट्याङको आवाज । आवाजको तुलनामा बिजुली प्रकाश भने एक निमेष मात्र । के चट्याङ मिथक होइन ? किनभने, मिथक आफैँ बन्दैन । त्यसलाई लेखकले कसरी प्रस्तुत गर्छ ? प्रकृतिको एउटा घटनालाई मिथक बनाउन सकिन्छ ? सकिँदैन ? चट्याङको आवाज र हाम्रो मौनताबीच म सोच्दै छु । त्यहाँनेर मिथक ... । मनोवादतिर म अगाडि बढ्न चाहन्नँ ।
०००
‘माधवी’ उपन्यास एउटा कल्पना हो भने उपन्यासका घटनाहरूचाहिँ मिथक । होइन त ?  उनी अर्को सन्दर्भ उप्काउन थाल्छन्, ‘ऋग्वेदका ऋषि विश्वामित्रलाई सत्य, कल्पना र मिथक कुनचाहिँमा राख्नुहुन्छ ?’ उनको प्रश्नले म रन्थनिनँ । तर, पनि मसँग उत्तर थिएन । बरु उल्टै प्रश्न गरेँ– भनेपछि मिथक सत्य र कल्पनाको बीचको चीज हो ?  ‘तपाईं र मैले अनुभव गर्ने रोजैको घटनालाई लिऔँ । यो जाडो महिनामा गाउँमा आगोको डंगुर तापेर बस्छन् राति । त्यो सत्य कुरा हो । तर, डंगुरलाई रातभरि ताप्यो, बिहान ताप्न पर्दैन ।

बिहान आगोलाई खरानीले छोपिदिन्छन् र दिउँसोभरि खरानीले छोपिएर बसेको हुन्छ आगोको फिलिंगो । एक दिन वा एक महिना वा एक वर्ष वा दश वर्षपछि हटाउनुस्, तर त्यो आगो फिलिंगोकै रूपमा रहन्छ । खरानीको पत्रैपत्रले छोपिएको आगोको त्यो फिलिंगो मर्दैन । यो घटना कसैले परीक्षण गरेको छैन । तर, खरानीको फिलिंगोभित्र आगोको थुप्रैथुप्रो थियो यदि कसैले भन्छ भने त्यो कल्पना हो । यो कुरा मैले पढेको हुँ । तर, किताब मलाई थाहा छैन । कार्ल माक्र्सका साथी फ्रेडरिक एंगेल्सले कतै लेखेका छन् यो कुरा ।’

(नोट : पर्सिपल्ट अर्कै सिलसिलामा पुगेँ, उनलाई भेट्न । मलाई देख्नेबित्तिकै भन्न थाले, ‘कल्पना, सत्य र अनुमानको विषयलाई लिएर एकजना युरोपेली विद्वान्ले अंग्रेजीमा ‘मिथ एन्ड रियालिटी’ नामक पुस्तक लेखेका छन् । नेपालमा यो पुस्तक ब्रिटिस अथवा भारतीय दूतावासले चलाएका पुस्तकालयमा हुनुपर्छ । अस्ति तपाईंसँग ‘कार्ल माक्र्सका साथी फ्रेडरिक एंगेल्सले कतै लेखेका छन् यो कुरा’ भनेको थिएँ, जो मेरो विस्मृतिको परिणाम थियो । म अहिले त्यो सच्याउँछु ।’)
०००
मिथकलाई कसरी प्रयोग गरे, उनले ? तीनवटा किताबलाई हेरौँ । ‘माधवी’, ‘मेरी नीलिमा’ र ‘भूमिसूक्त’ । ‘माधवी’ र ‘भूमिसूक्त’ मिथकमय छन् । तर, ‘मेरी नीलिमा’मा कल्पना मात्रै । ‘मेरी नीलिमा’को अन्तिम पृष्ठमा नीलिमा र मास्टर आकाशमा उडिरहेका छन् । नीलिमा भन्छे, ‘हेर मास्टर, तिमी ढिकिच्याउँ ढिकिच्याउँ गरेर ताराहरूलाई कुट्दै जाऊ । म ताराहरूलाई घान हालिरहन्छु । र, त्यहाँबाट निस्केका उज्यालोलाई संसारभर छरौँ ।’

‘सूर्यको प्रकाशमा मानिसको उज्यालो थपौँ,’ यो झन्डै अन्तिम वाक्य हो, मेरी नीलिमाको । जसरी माधवीमा, चरैवति चरैवति । अर्थात् हिँडिराख । हिँडिराख । ‘भूमिसूक्त’मा, अहल्यालाई लोग्ने सदानन्दले गाउँबाट निकालेको छ । आरोप छ, ऊ इन्द्रसित सुती । रामायणअनुसार त्यो श्रापबाट अहल्या मुक्त भई । त्यो सत्य घटना हो । तर, मिथकका रूपमा विश्वामित्रले सम्झाई बुझाई गरिसकेपछि ऊ आफैँले सभामा गएर आफूबाट भुल भएको भनेर मुक्ति पाउँछे । यो घटनालाई उनले मिथकका रूपमा प्रस्तुत गरेका छन् । विश्वामित्र, अहल्या, इन्द्र सत्य हुन् । तर, तिनमाथि उनले जे घटना रोपे, त्योचाहिँ आगोको थुप्रोमाथिको खरानीको पत्रैपत्रको डंगुर हो । 

महाभारत आफैँ पनि मिथक हो । अर्कोतिर, महाभारतका पात्रलाई नयाँ घटनामा हालेर लेखिन्छ भने त्यो भनेको महाभारत, त्यसका पात्र र घटनाको मिथकिय प्रयोग हो । उनी रोकिएका छैनन्, ‘पुराणहरूबारे भन्ने अधिकार मलाई छैन, पहिलो कुरा । तर, पुराणहरूले प्रस्तुत गर्ने पात्र र घटना असत्यचाहिँ होइनन् । थपघट बढी भएकाले प्रस्तुतिचाहिँ कल्पनाजस्ता लाग्छन् । तर, कल्पनाले पनि मिथकको आधार लिएको छ ।’ 

एउटा उदाहरण । भागवत महापुराणको मुख्य पात्र कृष्ण सत्य हो कि मिथक ? के हो ? ‘कृष्णलाई कल्पना भन्न मिल्दैन । उसको इतिहास हजारौं वर्ष पुरानो भए पनि असंख्यलाई प्रभावित गरेकाले त्यसलाई कल्पना भन्न मिल्दैन । धमिलै गरेर भए पनि उनको इतिहास सुरक्षित भएकाले मान्छेमा प्रभाव परेको हो ।’ 
‘महाभारत’, ‘रामायण’ वा यस्तै रचना आफैँ मिथक भएका छन् एकातिर भने, त्यहाँ पनि मिथकिय प्रयोग भएको पाइन्छ ।

उनको कुरा रोचक र गम्भीर दुवै लाग्दै छ, ‘म आफू सत्य घटना हुँ । तर, मैले भन्ने सबै कुरा त सत्य घटना त होइनन् नि । मैले आफ्नो विचार व्यक्त गर्न मिथक र कल्पना दुवैको प्रयोग गर्न सक्छु । मैले बिपी कोइरालाबारे भन्नु सत्य कुरा हो । तर, बिपी कोइरालाबारे भन्दा मिथक र कल्पना दुवै प्रयोग गर्न सक्छु । बिपीले जहानियाँ शासनको अन्त्यका निम्ति संघर्ष गरे । यो सत्य घटना हो ।

यो सत्य घटनालाई लेख्दा, उनले वीरगन्जको परवानीपुरमा आएर राणाको फौजहरूसँग लडेका थिए भन्नु कल्पना हो । किनभने उनी परवानीपुर आएकै थिएनन् । उनले परवानीपुरमा लड्दा म पनि सँगै थिएँ भन्नु शुद्ध कल्पना हो ।  उनले वीरगन्जमा भाषण गरेका थिए । त्यो सत्य हो । उनले हतियार उठाएका थिए । बल्ल यो मिथक हो । उनले हतियार नउठाए पनि हतियार उठाउनलाई प्रोत्साहन गरेका थिए । सत्यको परिवर्तित रूप मिथक हो । सत्यको असत्य प्रस्तुतिचाहिँ कल्पना हो ।
०००
‘मोहनराज शर्माको ‘वैकुण्ठ एक्सप्रेस’ शुद्ध कल्पना हो । ध.च. गोतामेको ‘घामका पाइला’ मिथक हो । र, कसैले गोतामे र मोहनराजबारे डायरीमा केही लेखेको छ भने त्यो सत्य घटना हुन सक्छ ।’ 
०००
माधवी ? 
कति प्रतिशत सत्य, मिथक र कल्पना हो ? ‘तर, त्यो तीनवटै कुराचाहिँ हो ।’ मिथकको प्रयोग किन हुन्छ लेखनमा ? ‘सबै घटनाको सत्य प्रस्तुति हुन सक्दैन र गर्न पनि हुँदैन । लेखकले सत्यको त्यो रूपलाई प्रयोग गर्न थाल्छ, मिथकका रूपमा । र, सत्यता र मिथकीयताको वास्ता नगरी प्रस्तुत गरेकालाई कल्पना भनिन्छ ।’ प्रश्नको जवाफ सजिलो छैन । मिथकतिरै हराएजसरी उनले भने ।
०००
‘नेपाली छोटा कथाहरूका कुरा गर्दा केही कथाहरूलाई कल्पना भन्न सकिएला । सत्य घटनाबाट कथा लेखिँदैन । सत्य घटनालाई मिथकका रूपमा प्रयोग गरिएका छन् । मेरा अधिकांश कथामा मिथकको प्रयोग भएका छन् । सीधै नभनी सत्यलाई मिथकको आकार दिई सत्य उद्घाटित गरेको छु । उदाहरण । लट्टुमियाँकी घोडी । यो कथाको टाँगामा चढेको म ।

टाँगावाला जीवित थियो, लेख्दाका दिनसम्म । घोडी पनि थिई र उसको पिठ्युँमा घाउ भएको पनि सत्य हो । तर, लट्टुमियाँले आफ्नो टाँगा र घोडीबारे जो कथामा वर्णन गर्छ, त्योचाहिँ शुद्ध कल्पना हो । अर्को कथा, ढुंगामा जन्म । आद्योपान्त कल्पना । मिथकका आधारमा उभिएको कल्पना । त्यो मिथक इतिहासको कुनै क्षणमा सत्य घटना थियो ।’ 
०००
कुनै पनि इतिहासको घटना वा पात्र प्रस्तुतिको आधारमा मिथक हुन जान्छ । कुनै वेला । र, धेरैजसो । जंगबहादुरलाई मैले इतिहासबाट झिकेँ र मेरै तरिकाबाट अभिव्यक्त गर्न थालेँ । त्यतिवेला मैले जंगबहादुरलाई मिथक बनाएँ । ‘समग्र छलफलको निचोडको रूपमा एउटा घटना प्रस्तुत गर्छु । अनुमति दिन हुन्छ ?’ उनको अति विनम्रताले म लज्जित हुने गर्छु ।

‘अस्ति प्रज्ञाप्रतिष्ठानमा मलाई प्रमुख अतिथिका रूपमा बोलाइएको थियो, एउटा कार्यक्रममा । त्यहाँ आफ्नो भाषणमा त्रियानब्बे वर्षमा आइपुग्दा पहिलोपटक एउटा सत्य कुरा भनेँ, ‘साहित्यमा कोही ठूलो, कोही सानो हुँदैन, विश्वभरिमै । बालक जन्मन्छ । १० महिनाको हुँदा आमाको काखमा बसेर हातखुट्टा उफार्दै हाँस्छ । त्यो हाँसोबाट साहित्य, दर्शन र विज्ञानको प्रारम्भ हुन्छ । यसैलाई म अनन्त चैतन्य ठान्छु ।’

 अब हेर्नोस्, त्यो वाक्य मैले पहिलोपटक भनेको हुँ त्यहाँ । जीवनमा मबाट पहिलोपटक त्यो वाक्य निस्क्यो । त्यो वाक्यलाई वाक्यकै रूपमा मात्र बुझ्दा मैले कल्पनाकै आधारमा बोलेको भन्ने बुझिन्छ । तर, त्यसको व्याख्या गर्न थाल्नुभयो भने त्यो मिथक र सत्य दुवै साबित हुनेछ । संसारको पहिलो सत्य हो यो । त्यसलाई त्यहाँ मैले आफ्नो प्रकारले भनेँ । त्यसकारणले त्यो मिथक हो ।’ सत्य, कल्पना र मिथकबीच के सम्बन्ध छ ?‘यो चिजलाई तपाईं आफ्नो लेखनमा जति गहिरो गरी लेख्न सक्नुहुन्छ, तपाईंको लेखनीले त्यत्तिकै महत्व  पाउँछ, विश्वमा ।’
०००
‘मेघदूतमा कालिदासले मेघलाई सन्देशकका रूपमा आफ्नो प्रेमिकाछेउ पठाउँछन् । एक सय २३ श्लोकको मेघदूत आद्योपान्त कल्पना हो । परन्तु त्यो कल्पना मिथकका रूपमा छ, कालिदास स्वयंले भोगेको मिथक हो । मिथकको आधारमा एउटा घटनाचाहिँ सत्य छ, त्यहाँ । ७० वर्षअगाडि पढेको । आज पनि सम्झन्छु र अति नै प्रशंसा गर्छु, एउटा श्लोक । चार पंक्तिको त्यो श्लोकले भन्छ ... 

म प्रेमिकाबाट छुटिएर बसेको आठ महिना भयो । गाउँको ठूलो ढुंगामा कमेरोको डल्लोले मैले चित्र बनाइसक्दा म देख्छु, तिमी मसँग रिसाएकी रहिछौ । तिमीलाई फकाउन, तिम्रो चित्रको खुट्टामा ढोग्न चाहन्छु । तर, ढोग्न खोज्दा मेरा आँखाबाट बरर आँसु झर्छन् । र, दृश्यबाट चित्र ओझेल हुँदै जान्छ । तिमीसँग चित्रमा भेट्दा पनि भगवान्लाई मन पर्दो रहेनछ । यहाँ सत्य, मिथक र कल्पना एकत्रित भएका छन् । त्यस्तै रुसका लियो टल्सटायका दुईवटा उपन्यास पढेको छु । एनेकेरिनिना र वार एन्ड पिस । यी दुवै विश्वका महान पुस्तक हुन् । उनले सत्य, मिथक र कल्पनालाई यति सफल तरिकाले प्रयोग गरेका छन् कि त्यतिको कसैले प्रयोग गर्न सकेकै छैनन्, आजसम्म ।’

०००
मैले वर्षौं तपाईंसँग कुरा गरेँ । तर, मैले तपाईंलाई पात्र बनाएर तपाईंले भनेभन्दा भिन्दै तरिकाले प्रस्तुत गरेँ भने तपाईं मेरो लेखनमा मिथकको रूपमा आउनुहुन्छ । मैले प्रश्न होइन, घोषणा गरेँ । मिथक मदनमणि । मेरो निष्कर्षमा उनले फेरि मलाई भित्रैबाट झुकाउने गरी विनम्रतासहित सहमति जारी गरे । अब म के गरौँ ? भविष्यमा लेखिने किताबमा उनलाई उनकै छविमा प्रस्तुत गरौँ कि अर्कै स्वरूपमा ? मदनमणि मेरो मर्जीका मिथक । प्रिय र आदरणीय पात्र ! अहिलेलाई यति नै ।