• वि.सं २०८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
अविनाश श्रेष्ठ
२०७६ श्रावण ११ शनिबार ०७:०९:००
सम्झना

यारोँका यार

२०७६ श्रावण ११ शनिबार ०७:०९:००
अविनाश श्रेष्ठ

०३९ सालमा आफू पहिलोपटक काठमाडौं आउँदाका दिन सम्झन्छु । कविताका लागि ‘रत्नश्री स्वर्णपदक’ थाप्न बोलाइएको थियो । फुरुङ्ङ थिएँ । मनभित्र हलचल थियो । काठमाडौं देख्ने, जान्ने, बुझ्ने भर्जिन उत्सुकता । धेरैभन्दा धेरैलाई भेट्ने, चिन्ने औडाहाले अटेसमटेसिएको मस्तिष्क । कुतूहल थियो, अन्त्यहीन । तर, हातमा मात्र आठ दिनको समय । साँच्ची नै धेरैजनासँग चिनजान भयो । भलाकुसारी गर्ने अनमोल अवसर मलाई मिल्यो । नयाँ, पुराना, चर्चित, बहुचर्चित, समकालीन अनि उत्तरपुस्ताका अनुहारहरू । कवि, कथाकार, उपन्यासकार, समालोचक, नाटककार, अभिनेता, संगीतकार, गायकगायिका आदि इत्यादि । तर, जसलाई भेट्ने हुटहुटी मनमा बोकेर असमबाट हिँडेको थिएँ, उनै विजय मल्लसँग भने भेट हुन सकिरहेको थिएन ।
८ दिनको मात्र काठमाडौं बसाइ ।
६ दिन चिप्लिसकेका थिए ।

सातौँ दिन बल्ल विजय मल्ललाई भेट्न जाने अवसर जु¥यो । तिनताका उहाँ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्यसचिव हुनुहुन्थ्यो । बहुचर्चित लेखक र ठूलो पदाधिकारी । उहाँलाई भेट्न प्रज्ञाभवन गइरहँदा एक किसिमको दकस, आत्मभय र आतंक मनमस्तिष्कमा व्याप्त थियो । उहाँको व्यवहार र व्यक्तित्वबारेको अनभिज्ञताले उब्जाएको थियो, त्यो हीनता ।

हुनलाई २०३६ सालतिर विजय मल्लको पहिलो उपन्यास ‘अनुराधा’ पढेपछि म उहाँको प्रशंसक बनेको थिएँ । आफ्नो प्रतिक्रिया अवगत गराउन उहाँलाई पत्र लेखेको थिएँ तिनै दिनमा । उहाँले पनि पत्रको जवाफ मन फुकाएर दिनुभएको थियो । यसरी उहाँ र ममाझ पत्राचार थालिएको थियो । एकपटक नेपाली साहित्य परिषद्, असमको वार्षिक समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याएका थियौँ । इच्छा हुँदाहुँदै पनि उहाँ आउन सक्नुभएन । अनि एकपटक मैले असममा नेपाली पुस्तक किन्न–पढ्न नपाइने दुखेसो पोख्दै पत्र पठाउँदा प्रत्युत्तरमा उहाँले नेराप्रप्र रजत जयन्ती प्रकाशन मालाअन्तर्गत प्रकाशित २५ थान पुस्तक (जसमा उहाँको दोस्रो उपन्यास ‘कुमारी शोभा’ पनि संलग्न थियो) र प्रज्ञा संक्षिप्त शब्दकोश उपहारस्वरूप पठाइदिनुभएको थियो ।

सम्पर्कका यति बलिया सूत्रहरू आफूसँग हुँदाहुँदै पनि पहिलोपटक विजय मल्ललाई भेट्न जाँदा मेरो मनमस्तिष्कमा अत्यास थियो । तर, उहाँलाई भेटेर कुराकानी थाल्नेबित्तिकै आफूभित्रको त्यो अकिञ्चनता, डर अनि दकस कता बिलायो–बिलायो । पहिलो भेटमै उहाँको सरलता र भद्रताले म कायल बनेको थिएँ । उहाँले ममा पहिलो भेटमा छाडेको त्यो छाप, त्यो इम्प्रेसन पछि–पछि उहाँसित भेटघाट बाक्लिँदै जाँदा झन्–झन् प्रगाढ बन्दै गएको थियो ।

२०४० साल फागुनमा म फेरि काठमाडौं आएँ । 
यसपालि त्रिविमा एमएमको विद्यार्थी बनेर । कीर्तिपुर छात्रावासको चार वर्ष लामो बसाइमा मेरो एउटा गन्तव्य प्रज्ञाभवन कमलादी पनि बन्यो । काठमाडौं बसाइको एक वर्ष बित्दा नबित्दै विजय मल्लसँग म निकै झ्याम्मिइसकेको थिएँ । दिनहरू बित्दै जाँदा उहाँका निकटतम आफन्त, परिवारका सदस्य, इष्टमित्र र सहयोगीहरूलाई मैले चिन्दै जान थालेको थिएँ । तिनताका दाजु गोविन्द गोठालेसँगै गणबहालस्थित घरमा उहाँ सगोलमा बस्नुहुन्थ्यो । उहाँ मलाई प्रायः त्यस पारिवारिक निवासमा लगिरहनुहुन्थ्यो । त्यहाँ आउनेजाने गरिरहँदा गोविन्द गोठालेलाई पनि नजिकबाट चिन्ने, जान्ने र बुझ्ने अवसर पाएँ । गोविन्द गोठाले र विजय मल्ल सहोदर दाजुभाइ । उहाँहरूका बुबा ऋद्धिबहादुर मल्ल आफ्नो समयका लेखक, अनुवादक र बहुचर्चित साहित्यिक पत्रिका ‘शारदा’का संस्थापक, सम्पादक प्रकाशक । बाजे वीरबहादुर मल्ल पनि ‘कीचक वध’, ‘चर्पटमञ्जरी’, ‘श्रीमद्भागवत एकादशस्कन्ध’, ‘निर्गुण भजन’ आदि नेपाली भाषामा श्लोकबद्ध गर्ने रचनाकार ।

यसरी तीनपुस्ते लेखनधर्म धान्दै आइरहेका यी दुई दाजुभाइ गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजयबहादुर मल्लमाझ म अद्भुत मेलमिलाप र आत्मीयता देख्थेँ । धेरैपटक उहाँहरू दुवैसँग बसेर खानपिन गर्ने, उहाँहरूका कुरा सुन्ने सौभाग्य मलाई प्राप्त भएको थियो । दुवैजनाको बाल्यकाल र किशोरवय लक्ष्मणराजाको वागदरबारमा उर्मिला महारानी (श्री ३ जुद्धशमशेरकी जेठी छोरी)को रेखदेख र संरक्षणमा बितेको तथा दुवै दाजुभाइले शाह र राणा दरबारहरूमा घटेका धेरै घटना–कथा आदिबारे मौखिक परम्परामा सुनेका अनि आफ्नो समयमा देखेभोगेका पनि हुँदा दुवै दाजुभाइसँग साझा अनुभवको फराकिलो संसार थियो । तिनै साझा अनुभवसँग गाँसिएर आउने भिन्न–भिन्न कथाका प्लटबारे दुुवैजना रस लिई–लिई घन्टौँ चर्चा–परिचर्चा गरिरहनुहुन्थ्यो । म निकै आनन्द मान्दै सुनिरहेको हुन्थेँ । दुवै दाजुभाइका भोगाइ र अनुभव मिल्दाजुल्दा भए पनि तिनै प्लटमा दुवैले लेख्ने कथाका अनुहार भने प्रस्तुति शिल्प अनि वैचारिक धरातलमा निकै भिन्न हुने गर्थे ।

त्यसो त विजय मल्लको सरसंगत, सम्बन्ध र साथित्व धेरैजनासित थियो । तर, अन्तरंग मित्रहरू, जसमाथि उहाँले भरोसा राख्नुहुन्थ्यो, तिनको संख्या औँलामा गन्न मिल्ने मात्र थियो । मैले संगत गर्दाको बखतमा दाजु गोविन्द गोठालेबाहेक उहाँका दुई अन्तरंग साहित्यिक मित्र प्रेमा शाह र दौलतविक्रम विष्ट थिए । प्रेमा शाह तिनताका वीरगन्ज बस्नुहुन्थ्यो । काठमाडौं आउँदा दिनभरि उहाँ विजय मल्लसँग कला, साहित्य र लेखनबारे गफिएर बसेको देख्थेँ । अर्कातिर, दौलतविक्रम विष्टसित विजय मल्लको दोस्तीको आयाम भने धेरै साझा अनुभव र अनुभूतिहरूले विनिर्मित थियो । धेरैपटक दौलतविक्रम विष्टको मीनभवन पाखामा रहेको घरमा विजय मल्लसँग म पुगेको छु । दुई पाका स्रष्टाका संस्मरण र चिन्तनको संसारमा सहभागी बनी डुबुल्की मारेको छु । रमेश विकल, कृष्णचन्द्रसिंह प्रधान, तीर्थराज तुलाधर, सूर्यबहादुर पिवा, माधवलाल कर्माचार्य, चित्तरञ्जन नेपाली, पुरुषोत्तम बस्नेत, भागीरथी श्रेष्ठहरूसित पनि उहाँको निकटता र व्यावहारिक आदानप्रदानको धरातल फराकिलो रहेको अनुभव गरेको थिएँ । तीर्थराज तुलाधरले विजय मल्लका कविताहरू अंग्रेजीमा अनुवाद गरिरहनुहुँदा उहाँको बिजेश्वरीस्थित निवासमा विजय मल्लले मलाई लगिरहनुहुन्थ्यो । त्यस्तै, २०४७ सालपछि उहाँ सबैभन्दा बढी घन्टाघरस्थित सूर्यबहादुर पिवाको निवास र कमलादीमा रहेको मेरो डेराघरमा आउनेजाने गर्न थाल्नुभएको थियो । २०५६ सालमा उहाँ बिरामी हुनुअघिसम्म यो क्रम यथावत् रहेको थियो ।

उहाँ जहिल्यै ‘त्यो कथा वा त्यो नाटक त लेखेर सिध्याउनै आँटे’ भन्ने गर्नुहुन्थ्यो । तर, पछि थाहा हुन्थ्यो, उहाँले एक हरफ पनि लेख्नुभएको छैन । अनि आजित बनेर म उहाँलाई भन्थेँ, ‘सर, यसरी काम चल्दैन । अब तपाईं भन्दै जानोस्, म टिप्दै जान्छु ।’

विजय मल्लसँग निकटता राख्ने धेरैलाई अझ पनि सम्झना होला, उहाँ पद, ओहोदा र आर्थिक हैसियतका आधारमा भेदभाव नगरी सबैसँग एकनासको व्यवहार गर्नुहुन्थ्यो । प्रज्ञाभवन, जोरगणेश छापाखाना, निजी निवास, छोरीज्वाइँ वा मित्रहरूका घरहुँदी मैले देख्ने विजय मल्लको व्यक्तित्वमा कुनै भिन्नता म पाउँदिनथेँ । ती दिनमा उहाँ जहाँ उभिँदा पनि सबैको सम्मान, आदर र श्रद्धाका पात्रका रूपमा म उहाँलाई देख्थेँ । त्यति हुँदा पनि उहाँ अत्यन्त विनम्र र विनयी हुनुहुन्थ्यो । कुनै पनि कृत्रिमता, आडम्बर र स्वाङबाट कोसौँ टाढा पाउँथेँ उहाँलाई । हिन्दीका केही शब्द सापटी लिएर भन्नुपर्दा उहाँ ‘मस्तमौला’ हुनुहुन्थ्यो, ‘बिन्दास’ हुनुहुन्थ्यो, ‘यारोँका यार’ हुनुहुन्थ्यो ।

सधैँ प्रसन्न, सधैँ उत्साहले भरिएको अनुहार । कसै न कसैको हात समातेर गफ गर्दै हिँडिरहेको देखिने । न कसैसँग ईष्र्या–द्वेष, न कसैको बद्ख्याइँ । उच्च पहुँच राख्ने, तर पाले, पिउन, खरदार, ड्राइभरहरूको कुममा हात राखेर भलाकुसारी गरिरहेको, समस्या सुनिरहेको भेटिने । प्रज्ञा–प्रतिष्ठानको सदस्यसचिव, उच्च प्रशासक व्यक्तित्व, तर सबैको विजय दाइ । सादा जीवन, उच्च विचारका प्रतिमूर्ति । बाहिर जतिसुकै सरल, नम्र र भद्र भए पनि आफ्नो कामप्रति भने अनुशासित र प्रतिबद्ध । उहाँको व्यक्तित्वमा देखापर्ने हृदय र मस्तिष्कको यो सन्तुलन मलाई गजबको लाग्थ्यो । हृदय र मस्तिष्कको यही सन्तुलन उहाँका कविता, कथा, उपन्यास र नाटकमा पनि पाइन्छ– विशेष कृतिको प्रस्तुति पक्षमा । न अति हार्दिक, न अति बौद्धिकताको आडम्बर । सकेसम्म सरल, सन्तुलित र अर्थयुक्त सिर्जनयात्रामा उहाँको विश्वास अटुट रहेको देख्न सकिन्छ ।

विजय मल्लको व्यक्तित्वबारे यति लेखिसकेपछि यहाँ के प्रस्ट पार्न चाहन्छु भने उहाँमा कुनै अवगुण र दुर्बलता थिएनन्, उहाँ दोषमुक्त सत्पुरुष हुनुहुन्थ्यो भन्न खोजेको होइन मैले । सकेसम्म उहाँका सद्गुण, सद्व्यवहार र चारित्रिक सबलताको मात्र यहाँ चर्चा गर्न चाहेको हुँ । उहाँका कमसल पक्ष र दुर्गुण मात्र खोज्दै जाने हो भने ती पनि प्रशस्तै नभेटिएलान् भन्न सकिँदैन । तर, यस सानो लेखोटमा मैले उहाँका निम्नताहरू, लघुताहरू खोतल्न चाहिनँ ।
राम्रो कलाकृति, सिनेमा र नाटकको पारखी हुनुहुन्थ्यो– विजय मल्ल । अब्बल साहित्यका त पारखी र अम्मली दुवै । साहित्यबाहेक पनि मैले देखेका उहाँका अन्य अम्मल थिए– ५५५ ब्रान्डको चुरोट, कडा कालो कफी, नत्र चिया । पाएसम्म उत्कृष्ट मदिरा । अनि समय कटाउन तासको खाल । तर, जुवामा उहाँ रत्तिएको मलाई थाहा छैन ।

विश्वसाहित्य र विचार–दर्शनको बलियो अध्ययन थियो उहाँमा । समकालीन विश्वमा घटिरहेका घटनाहरूप्रति उहाँ अत्यन्त सचेत र चनाखो हुनुहुन्थ्यो । विश्व साथै आफ्नो मुलुकको समसामयिक राजनीति, साहित्य, कलाकौशल र इतिहासको चर्चामा चुर्लुम्म डुब्ने बानी थियो उहाँको । बाहिरफेर घुमफिर गर्न निस्कँदा पनि साहित्य, कला, राजनीति र इतिहासकै चर्चामा रमिरहनुहुन्थ्यो उहाँ । सायद यिनै सद्गुणहरूले उहाँलाई विजय मल्ल बन्नमा सघाएका थिए । र, उहाँ सिर्जनसामथ्र्यको त्यस उचाइलाई स्पर्श गर्न सफल बन्नुभएको थियो ।
तर, समय एकनास कहाँ रहिरहन्छ र !
२०४६ सालको जनआन्दोलन र राजनीतिक परिवर्तनले धेरै कुरामा फेरबदल ल्यायो । २० वर्षदेखि आफ्नो क्रीडाभूमि रहेको प्रज्ञा–प्रतिष्ठानबाट विजय मल्ल एकाएक पदमुक्त हुनुप¥यो । यसरी आफूलाई उपकुलपतिबाट पदमुक्त गरिनु अप्रत्याशित र अकल्पनीय घटना थिए उहाँका निम्ति ।

ती जनआन्दोलनपछिका दिन थिए । पुरानो व्यवस्था ढलिसकेको र नयाँ व्यवस्था थालनीको संक्रमणकालीन हावामा बत्ताइरहेका अनिश्चयका दिन–रातहरू । यिनै दिनहरूमा मलाई नेराप्रप्रबाट प्रकाशित हुने ‘समकालीन साहित्य’, ‘कविता’ र ‘प्रज्ञा’को कार्यकारी सम्पादकको जिम्मेवारी दिइएको थियो । विजय मल्ल पदबाट मुक्त हुनुभए पनि एकजना लेखकका रूपमा उहाँ यथावत् सम्माननीय र वरण्य हुनुहुन्थ्यो मेरा निम्ति । ती अप्ठ्यारा अँध्यारा दिनमा उहाँलाई भावनात्मक रूपमा साथ दिन म उहाँकहाँ दिनहुँजसो पुगिरहेको हुन्थेँ । बाहिरको राजनीतिक र सामाजिक माहोल भने विजय मल्लको नितान्त विरोधमा थियो, प्रतिकूल थियो । समाजमा बनेको यस किसिमको नकारात्मक वातावरण र विशेषगरी परिवर्तनसँगै आएका नयाँ राजनीतिक पार्टी तथा व्यक्तिहरूको उपेक्षापूर्ण व्यवहारले लेखक विजय मल्लको संवेदनशील मनमा आघात–अभिघात बल्झिनु स्वाभाविक घटना थियो । तर, यस्तो संक्रमणको समयमा समाजका केही चिनिएका व्यक्ति, केही लेखकहरू अनि विशेषगरी आफूले समय–समयमा कृपा गरेका व्यक्तिहरूबाट समेत आफूप्रति तीव्र उपेक्षा र तिरस्कारपूर्ण व्यवहार भएको थाहा पाएपछि उहाँ केही समय निकै विचलित मनोदशामा देखिनुभयो । 

म अनुभव गर्थें, २०४७ सालको राजनीतिक व्यवस्थाको परिवर्तनले नेपाली समाजमा सर्वत्र खुसी र उत्साहको माहोल बनिरहेको थियो । बाहिर सबै खुसी थिए, प्रफुल्ल देखिन्थे । तर, विजय मल्ल भने जीवनभरिको जम्मा पुँजी गुमाउन पुगेको मान्छेजस्तो हुनुभएको थियो– क्लान्त, जीवन्तताविहीन र हतास । मानौँ, उहाँले बिताएर आएको २० वर्षयताको अतीत नै गलत थियो ! न त्यस अतीतलाई सुधार्न सकिन्थ्यो न मेटाउन मिल्थ्यो न कोतरेर खोस्रेर वा उप्काएर फाल्न नै सकिन्थ्यो । तर, उहाँमा भने आफूले त्यस्तो जीवन रोजेर, त्यस्तो जीवन बाँचेर गर्नै नहुने गल्ती गरेको ग्लानिबोध र पछुतो बाक्लिँदो थियो, झाँगिँदो थियो । यस्तो विक्षुब्ध र अवसादग्रस्त मानसिक अवस्थाका कारण ती दिनहरूमा उहाँ हीनभावना र आत्मभत्र्सनामा डुबिरहनुहुन्थ्यो । 

यसै समयमा फेरि उहाँमाथि अर्काे ठूलो बज्रपात पारिवारिक व्यवसाय जोरगणेश प्रेस विघटनको सँघारमा पुग्नुका रूपमा निम्तियो । यसरी उहाँ त्यस कालखण्डमा सबैतिरबाट समस्याहरूको भुमरीमा पर्दै गइरहनुभएको थियो, जसबाट लरतरो उपायले त्राण पाउनु सम्भव थिएन । सम्भवतः उहाँका ती अप्ठ्यारा, अँध्यारा दिनहरूमा प्रायः घरमा पुगेर भेटिरहने र उहाँको मर्मलाई सुनिदिने कि सूर्यबहादुर पिवाजी र म थियौँ, कि त प्रज्ञा–प्रतिष्ठानमा वर्षाैंदेखि उहाँको गाडीचालकका रूपमा काम गरेका इन्द्र महर्जन । (प्रज्ञा–प्रतिष्ठानमा आफू शक्तिमा छँदा ज–जसलाई माथि पु¥याउन उहाँले भूमिका निर्वाह गर्नुभएको थियो, तीमध्ये केहीले उहाँले गरेको फोनसमेत उठाउन छाडेको कुरा उहाँ वेलावेला निकै मर्माहित बनी मलाई सुनाउने गर्नुहुन्थ्यो ।)

०४७ सालको परिवर्तनले नेपाली समाजमा सर्वत्र खुसी र उत्साहको माहोल बनिरहेको थियो । विजय मल्ल भने जीवनभरिको जम्मा पुँजी गुमाउन पुगेको मान्छेजस्तो हुनुभएको थियो– क्लान्त, जीवन्तताविहीन र हतास । 

२०४८ सालको उत्तराद्र्धपछि भने सुस्तसुस्त उहाँ जीवनको पुरानै लयमा फर्कन थाल्नुभएको थियो । समय, समाज र लेखन–सिर्जनसँग फेरि जोडिने क्रम थालिएको थियो उहाँको । तर, क्रमशः उहाँ शारीरिक रूपमा खस्किँदै जान थाल्नुभएको थाहा पाइरहन्थेँ । यसले गर्दा पनि घरपरिवारकाले उहाँको असाध्यै फिक्री गर्थे । चिन्ता लिन्थे । कति कुरामा मुख बार्न लगाउँथे । म देख्थेँ– श्रीमती, छोरीहरू, नातिनीहरू उहाँलाई अत्यधिक माया र आदर गर्थे । उहाँको ख्याल राख्थे । उहाँ भने घरबाट बाहिर निस्कनेबित्तिकै घरेलु अनुशासन लत्याएर फुक्काफाल बनिदिनुहुन्थ्यो । मकहाँ वा पिवाजीकहाँ आउँदा उहाँ थोरै भए पनि रक्सी खाने इच्छा जाहेर गर्नुहुन्थ्यो । उहाँको इच्छाको सम्मान र शारीरिक अवस्थाको ख्याल गर्दै ठिक्क हिसाबले उहाँलाई खान दिइन्थ्यो । विशेषगरी स्याउ, सुन्तला, चामल वा अझ मकैको अड्ढला भनेपछि उहाँ भुतुक्कै भइहाल्ने । तर, अड्ढलाको मामिलामा २०५२/५३ सालपछि भने उहाँ निकै संयमित बन्न थाल्नुभएको थियो ।

विजय सरका केही अनौठा बानी सम्झना भइरहन्छ । 
घरबाट निस्कँदा उहाँ प्रायः पैसा नबोकी निस्कने । पीपलबोट सडकपेटीछेउको नाङ्लो पसलनिर पुगेर उहाँ उभिने गर्नुहुन्थ्यो । अनि मतिर हेर्दै सोध्नुहुन्थ्यो– ‘अविनाशजी, एउटा दुई रुपैयाँ छ होला, तपाईंसित ?’
उहाँतिर मुस्कुराएर हेर्दै म दुईको नोट झिकेर दिन्थेँ ।
उहाँ दुई खिली चुरोट किन्नुहुन्थ्यो । एउटा कमिजको माथिल्लो गोजीमा राखेर अर्काे सल्काउनुहुन्थ्यो र सर्काे तान्दै मेरो दायाँ हातलाई आफ्नो बायाँ हातले च्याप्प समातेर आफ्नै लहडमा गफिँदै 
हिँड्न थाल्नुहुन्थ्यो ।
यसरी हिँड्दा नै हो, उहाँले नलेखिएका आफ्ना कथा र उपन्यासका प्लटहरू सुनाउने । सुनाउँदै बीच–बीचमा सोध्नुहुन्थ्यो, ‘अहिलेसम्म सुनाएको तपाईंलाई कस्तो लाग्दै छ ?’
सोधिसकेपछि उहाँ हिँड्दाहिँड्दै टक्क उभिनुहुन्थ्यो । मेरा आँखामा आँखा गाडेर गहिरिएर हेर्दै फेरि प्रश्न गर्नुहुन्थ्यो, ‘नढाँटी भन्नोस् त, कस्तो लाग्यो ?’
जे–जस्तो भए पनि तत्काल प्रतिक्रिया दिनैपर्ने । तर, सामान्य प्रभाववादी प्रतिक्रियाले उहाँको चित्त बुझ्दैनथ्यो । कुनै सिद्धान्तमा टेकेर कथानक, पात्र वा परिस्थितिको विश्लेषण सुनाउन सके उहाँ भित्रैदेखि तरंगित बन्दै फेरि दुवै हातले च्याप्प समात्नुहुन्थ्यो, आफ्नो प्रसन्नता जाहेर गर्न । वरपर बाटामा हिँड्ने बटुवाहरूले उहाँ र मलाई फर्कीफर्की हेर्दैै जान्थे । तर, उहाँलाई अरूको हेराइको कुनै 
मतलबै हुँदैनथ्यो ।

यसरी आफ्नै सुरमा गफिँदै हिँडिरहँदा सडकछेउमा चिया वा कफीस्टल देख्दा विजय सर फर्माइस गर्दै भन्नुहुन्थ्यो, ‘ल अविनाशजी, आज कफी खुवाउने जिम्मा तपाईंको । आफू त कानो कौडी नबोकी हिँडिया छ क्या’रे !’
कति निश्छल र अकृत्रिम उहाँको आकांक्षा ।
उहाँजस्तो आदरणीय व्यक्तिसित एक कप कफी वा चिया सँगै बसेर खान पाउनुलाई मैले जहिल्यै आफ्नो अहोभाग्य ठान्थेँ ।

यसरी नै सन्ध्याभ्रमणमा बरालिँदै हिँडिरहँदा कहिले फेरि कुनै अर्डिनेरी (साधारण) भट्टी पसलअगाडि पुगेपछि विजय सरको रसिक मिजासले उहाँको तलतललाई वाणी प्रदान गथ्र्याे, ‘धेरै भयो अविनाशजी, यहाँ नपसेको । जमानामा यहाँ खुब जम्ने गथ्र्याैं हामी ।’
मैले उहाँको आशय बुझ्थेँ ।
त्यो साँझ, त्यहीँ भित्रिएर जम्थ्यौँ हामी दुवै ।

वास्तवमा खानुपिउनु त बहाना मात्र हुन्थ्यो । उहाँलाई आफूभित्र गुम्सिएका अनन्त कथाहरू सुनाउने उखरमाउलो ! अनि मलाई उहाँसितको संसर्गका ती अनमोल पल–क्षणहरू उम्केर नजाऊन् भन्ने हुटहुटी !!
कथाका प्लट सुनाउँदा उनैउनै पात्र, घटना, परिवेश अनि चरित्रका विशेषता साथै विकासक्रमलाई जतिपटक सुनाउँदा पनि कमा, फुलस्टप नबिराई जस्ताको तस्तै सुनाइरहन सक्ने विशेषता थियो उहाँमा । उहाँको यस विशेषताबाट म निकै प्रभावित थिएँ । ‘समकालीन साहित्य’को सम्पादकका नाताले ती सुनाइएका कथा लेखेर दिन उहाँसित म अनुरोध गरिरहन्थेँ । उहाँ जहिल्यै ‘त्यो कथा वा त्यो नाटक त लेखेर सिध्याउनै आँटेँ’ भन्ने गर्नुहुन्थ्यो । तर, पछि थाहा हुन्थ्यो, उहाँले एक हरफ पनि लेख्नुभएको छैन । अनि आजित बनेर म उहाँलाई भन्थेँ, ‘सर, यसरी काम चल्दैन । अब तपाईं भन्दै जानोस्, म टिप्दै जान्छु ।’

यसरी नै उहाँले बोल्दै र मैले कागजमा टिप्दै गएर लेखिएको कथा हो– खण्डहरूको कथा । यो कथा पटक–पटक उहाँले बोल्दै जाने र मैले लेख्दै जाने अनि उहाँले फेरि लेखाउन बस्दा सुरुदेखि सुनेर फेरि कथा अगाडि बढाउने गर्नुहुन्थ्यो । खण्डहरको कथा यसै विधिद्वारा लेखेर सक्न झन्डै २०–२५ दिन लागेको मैले बिर्सेको छैन । पछि लेखिसकेको खेस्रा लगेर पढ्दै परिष्कार–परिमार्जन गर्न उहाँले आठ–दस दिनजति खर्चिनुभयो । अनि बल्ल एउटा सग्लो अब्बल कथा अस्तित्वमा आकारिएको थियो । कथाको शीर्षक भने पछि मैले नै राखेको थिएँ । ‘खण्डहरको कथा’ मेरो दृष्टिमा विजय मल्लको मास्टर पिस हो, जसलाई मैले ‘मान्छेको नाच’ कथासंग्रहमा सगर्व संगृहीत गरेको छु । खण्डहरको कथाको अर्काे विशेषता के हो भने यो विजय मल्लको कथालेखनको तेस्रो चरणअन्तर्गत लेखिएको पहिलो कथा हो । यो कथा ‘समकालीन साहित्य’मा प्रकाशनका लागि २०४८ सालको उत्तराद्र्धमा बुझाएपछि उहाँले त्यही उत्साहमा अन्य केही कथा लेख्नुभएको हो ।

यसरी बोल्दै कथा लेखाउने क्रममा उहाँ रुसी आख्यानकार दोस्तोभ्स्कीले एउटी स्टेनोलाई यसै गरी बोल्दै टिपाएर आफ्ना प्रसिद्ध कृतिहरू लेखाएको कुरा बारम्बार गरिरहनुहुन्थ्यो । पछि–पछि विजय सरलाई चिनी रोगले पिरोल्न थाल्यो । उहाँका दुवै आँखामा समस्या बल्झँदै गयो । आँखाका कारणले गर्दा आफू लेख्न असमर्थ बन्दै गएकोमा उहाँ निकै व्यथित बन्नुभएको थियो । उहाँले बोल्दै जाने र मैले लेख्ने गरेर भए पनि केही लामा कथा अक्षरमा उतार्ने उहाँको आन्तरिक धोको थियो । उहाँले धेरैपटक सुनाउनुभएको एउटा लामो कथा मलाई निकै मन परेको पनि थियो । तर, ती दिनमा आफ्नो दोहोरोतेहरो दायित्वहरूका कारण मैले समय–व्यवस्थापन गर्न सकेको थिइनँ । अन्य कुनै उपाय नदेखेपछि तिनताका प्रज्ञा–प्रतिष्ठानका सचिव धु्रवचन्द्र गौतम र प्राज्ञ रमेश विकलसँग कुरा राखेँ । विजय मल्लकहाँ प्रज्ञा–प्रतिष्ठानकी कर्मचारी गायत्री विष्ट गाउँलेलाई पठाउने निधो गरियो । २०५५ को फागुन–चैतमा २०–२२ दिन लगाएर गायत्रीले आफूले जानेबुझेसम्म राम्रो किसिमले– विजय मल्लले बोलेर टिपाउनुभएको १६ परिच्छेद लामो कथा मलाई ल्याएर बुझाएकी थिइन् । मैले पढेर त्यो कथामा प्रशस्त परिष्कार र परिमार्जन गर्नुपर्ने कुरो विजय सरसित गरेको थिएँ । उहाँले परिमार्जन गर्ने इच्छा पनि जाहेर गर्नुभएको थियो । तर, २०५६ सालको आरम्भदेखि नै उहाँलाई रोगले च्याप्दै लगेकाले त्यस लामो कथाको परिष्कार–परिमार्जन वा पुनर्लेखन सम्भव हुन सकेन । २०५६ साल साउन ८ गते अकल्पनीय रूपमा उहाँको निधन भयो । त्यसपछि त्यस लामो कथाको पाण्डुलिपिलाई मैले नै सक्दो संशोधन–परिमार्जन गरेँ । शीर्षक पनि म आफैँले राखेँ– ‘श्रीमती शारदा’ । यो लामो कथा ‘श्रीमती शारदा’ ‘समकालीन साहित्य’, (पूर्णांक ३६, कात्तिक–पुस, २०५६)मा लघु उपन्यासका रूपमा विजय मल्लको मरणोपरान्त प्रकाशित गरिएको थियो । यसरी नै बोलेर लेखाइएको उहाँको अर्काे कथा हो– ‘इतिहासमा नलेखिएको सहिद’ । ‘समकालीन साहित्य’ (पूर्णांक ३४, वैशाख–असार, २०५६) मा यो कथा प्रकाशित छ ।

विजय मल्लको अर्काे पनि एउटा रमाइलो बानी सम्झँदै छु । तर, यो बानी उहाँको लेखनसँग सम्बन्धित छ । कथा, नाटक आदि लेखिसकेपछि (वा लेखाइसकेपछि) प्रायः मकहाँ इन्द्र महर्जन हस्ते पाण्डुलिपि पठाउँदा उहाँ शीर्षक नराखी पठाइदिने गर्नुहुन्थ्यो । पछि फोनमा भन्नुहुन्थ्यो, ‘लेखिसकेर नाम जुराउनुजस्तो झ्याउ काम मलाई अरू कुनै लाग्दैन । ल नामकरणको जिम्मा तपाईंको भयो ।’ उहाँले ममाथि जताउनुभएको भरोसाको मान राख्न सक्दो प्रयास गर्थें ।

‘समकालीन साहित्य’मा प्रकाशित विजय मल्लका प्रायः कथा–नाटकको नामकरणमा आफ्नो योगदान रहेको सम्झँदा गर्वबोध हुन्छ । उहाँको अन्तिम कृति, लघु उपन्यासको नामकरण गर्दा उहाँका पूर्वप्रकाशित दुई उपन्यास ‘अनुराधा’ र ‘कुमारी शोभा’को स्त्रीवाची नामको परम्परालाई विचार गरी ‘श्रीमती शारदा’ राख्ने निधो पनि मैले नै गरेको थिएँ ।

स्रष्टा विजय मल्लसँगको लामो संगतमा आफूले थाहा पाएका धेरै कुरा छन् । सबैलाई यहाँ पस्कन सम्भव छैन । आफूले नजिकबाट नियाल्न पाएको विजय मल्लबारे कुरा गर्दा उहाँको घर र पारिवारिक स्थितिको सामान्य चर्चा गर्नु समीचीन ठान्छु । विजय मल्ल एउटा खँदिलो पारिवारिक पृष्ठभूमिबाट अगाडि आउनुभएका लेखक । बहुमुखी प्रतिभा र बहुआयामिक रुचिको प्रभामण्डलसहित राजनीति र साहित्यमा सँगसँगै गतिमान । सुरुमा संयुक्त पारिवारिक संस्कारले गढेको छरितो सन्तुलित व्यक्तित्व । १६ वर्षेे किशोरवयमै उहाँको बिहे १३ वर्षीया श्यामा प्रधानसँग भयो । विजय मल्ल दम्पतीका नौ बहिनी छोरी भए । सातौँ छोरीको सानैमा निधन भएकाले आठ छोरी पारिवारिक बिरासतका वाहक बन्न पुगे ।

ती दिनहरूमा केही मानिस विजय मल्ललाई होच्याउनुप¥यो भने वा उहाँलाई तल खसाल्नुपर्दा प्रायः उहाँका धेरै छोरीहरू भएको प्रसंग निकाल्ने गर्थे, ‘...विचरा विजय मल्ल, आठआठओटी छोरी छन् ...’ आदि । कुरा सुनेर मलाई झनक्क रिस उठ्थ्यो । मुखभरिको जवाफ दिन मन लाग्थ्यो, ‘छोरीछोरी छन् त के भयो ? तपाईंहरूले पालिदिनुपर्ने त होइन होला ! लाउनखान दिनुपरेको पनि छैन क्यार ! स्वयं विजय मल्ललाई आठओटी छोरी भए भनेर सुर्ताएको कहिल्यै देखेको छैन । तपाईंहरूलाई चाहिँ केको टाउको दुखाइ नि ?’  

तर, शिष्टता र भद्रताको सीमा नाघेर कहिल्यै कटु जवाफ नफर्काउने विजय मल्ल सरको सिको गर्दै चुप लागेर बस्ने गर्थें । र, जवाफ समयले नै दिएको छ– विजय मल्लका छोरीहरू शिक्षित, होनाहार र आ–आफ्नो पारिवारिक–व्यावहारिक जीवनमा सफल छन् । कोही अमेरिकाका विश्वविद्यालयहरूमा प्राध्यापक छन्, कोही नेपालका क्याम्पसमा पढाउँछन् । अनि कोही घरपरिवार र पारिवारिक जिम्मेवारीलाई सफलतासाथ अगाडि हाँक्नमा रमाएका छन् ।

विजय मल्ल आफ्नो जैविक बिरासत वहन गर्ने छोरीहरूमा आज पनि जीवितै हुनुहुन्छ । अनि आफ्ना कथा, कविता, उपन्यास, नाटक आदि सिर्जनामा नेपाल र नेपाली भाषा रहेसम्म जीवित रहनुहुनेछ विजय मल्ल ।

[email protected]