• वि.सं २०८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रतन भण्डारी
२०७६ श्रावण १८ शनिबार १०:५६:००
इतिहास

भीमदत्त पन्त : शिरोच्छेदनको इतिहास

२०७६ श्रावण १८ शनिबार १०:५६:००
रतन भण्डारी

सन्दर्भ : भीमदत्त स्मृति
धानमन्त्री मातृकाप्रसाद कोइरालाको सरकारले २०१० साउन १७ गते किसान योद्धा भीमदत्त पन्तको हत्या गरी साउन १८ गते उनको टाउको बाँसको लिंगोमा झुन्ड्याइयो । २००७ सालको क्रान्तिमा सक्रिए भीमदत्तले राज्ययन्त्रबाट उक्त सजाय दिल्ली सम्झौताको विरोध र गरिब किसानका पक्षमा आवाज उठाएबापत पाएका थिए । भीमदत्तको विद्रोह दमनमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारतीय सेना नेपाल भित्र्याएका थिए । आखिर के थियो भीमदत्त पन्तको विद्रोह ? 

को थिए भीमदत्त ? 
भीमदत्त पन्तको जन्म बुवा तारानाथ र आमा सरस्वतीदेवीको कोखबाट विसं. १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा भएको थियो । सानैमा आमा गुमाएका भीमदत्तको शिक्षा–दीक्षा भने भारतको सिगाहीमा भएको थियो । कल्याण ओझा (शहीद भीमदत्त पन्त, २०६७ः ११) का अनुसार भीमदत्तले सिगाहीबाट म्याट्रिक पास गरेका थिए । म्याट्रिक पास गरेर घर फर्किंदा भीमदत्तका बुबाको मृत्यु भएको थियो । पन्तको विवाह ११ वर्षको उमेरमा पार्वतीदेवी (ईश्वरी)सँग भयो । पार्वतीदेवीबाट भीमदत्तका दुई छोरा र एक छोरी जन्मे पनि कोही जीवित रहेनन् । भीमदत्तले डडेल्धुरा शैक्षिक विकास एवं सामाजिक परिर्वतनका क्षेत्रमा अहम् भूमिका निर्वाह गरेका थिए । दलितहरूको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गरेका थिए । 

इतिहासकार डा. राजेश गौतमले भीमदत्तले २००६ सालमै नेपाली कांग्रेसको सदस्यता लिएको उल्लेख गरेका छन् (गोरखापत्र, २०५१ फागुन २७) । भीमदत्तसँगै डडेल्धुरा कब्जा गर्न हिँडेका गगनराज भट्टका अनुसार भीमदत्त २००७ सालको क्रान्तिताका कञ्चनपुरबाट नेपाली कांग्रेसमा आबद्ध भएका थिए । २००८ सालपछि भीमदत्त नेपाली कांग्रेस परित्याग गरी नेपाल प्रजापरिषद्मा प्रवेश गरेका थिए । नेपाल प्रजापरिषद्का गोविन्दप्रसादले भीमदत्तलाई पार्टीको सदस्यता दिई कैलाली–कञ्चनपुर र डोटी–डडेल्धुरामा संगठन विस्तारको जिम्मेवारी दिएका थिए (आर.डी. प्रभास चटौत र बेलुदेवी चटौत, बेलाको बोली बखतको इतिहास, पृ. ८३) । 

कम्युनिस्ट नेता निरञ्जनगोविन्द वैद्यले एक अन्तर्वार्तामा भीमदत्त काठमाडौं आएका वेला पार्टी सदस्यताका लागि आफूसँग अनुरोध गरेको, तर कामको मूल्यांकनका आधारमा पछि सदस्यता दिने बताउँदै उनलाई पश्चिममा किसान संघ खोल्ने अनुमति दिएर पठाएको दाबी गरेका छन् । भीमदत्तको सम्पर्क पुष्पलाल र मनमोहन अधिकारीसँग भएको दाबीसमेत वैद्यको छ (जनएकता, २०५३ जेठ २८)। तर, भीमदत्तले काठमाडौंमा भेटेका नेताहरूको सूचीमा गोपाल–गोविन्दमान, जगतरञ्जन, गोपालचन्द्र अमात्य, कमलराज रेग्मी, दुर्गाराज गौतम आदिको नाम भए पनि पुष्पलाल, मनमोहन अधिकारी, निरञ्जनगोविन्द वैद्य कसैको नाम छैन । डडेल्धुरा फर्केपछि ब्रह्मदेवमण्डीमा बस्दै आएका भीमदत्त भारतीय माक्र्सवादी नेता कृष्णस्वामी अयंगरसँगको सम्पर्कमा आएपछि कम्युनिस्ट विचारधारासँग नजिकिएका थिए ।

२००७ सालको क्रान्तिमा भीमदत्त
२००७ असोजमा नेपाली कांग्रेसले बैरगनिया सम्मेलनमा राणाशासनविरुद्ध ‘सशस्त्र क्रान्ति’को घोषणा गरेको थियो । कांग्रेसले मातृकाप्रसाद कोइरालालाई सुप्रिम कमान्डर घोषणा गरी ‘मुक्तिसेना’ नामक सशस्त्र दस्ता गठन गरेको थियो । शासन सत्ता कब्जाका लागि कांग्रेसले तेह्रवटा मोर्चामा नेताहरूलाई खटाएको थियो । कैलाली–कञ्चनपुर मोर्चाको जिम्मेवारी राजेश्वरीप्रसाद उपाध्यायलाई दिइएको थियो । पार्टीको योजनाअनुसार चन्द्रवीर सिंह (सिबी सिंह) नेतृत्वको मुक्तिसेनाको टोली गौरीफन्टा पुगेको थियो । सिबी सिंह, गौरीलाल कुँवर र रूपसिंह सिजापति सम्मिलित मुक्तिसेनाको टोलीले २००७ मंसिर १२ गते कैलालीको कनरीचौकी र मंसिर २६ गते धनगढी कब्जा गरेको थियो । धनगढी कब्जापछि मुक्तिसेनाले बडाहाकिम मइकरदेवनारायण सिंह थारूको हत्या गरेको थियो । मुक्तिसेनाले पुस ८ गते कञ्चनपुरको बेलौरी नियन्त्रणमा लिएको थियो । बेलौरीपछि मुक्तिसेनाले ब्रह्मदेवमण्डी कब्जा गरेको थियो । ब्रह्मदेवमण्डीबाट डोटी–डडेल्धुरा र बैतडी कब्जाका लागि अघि बढेको रूपसिंह, शेखर शर्मा र गौरीलालको टोलीमा भीमदत्त सम्मिलित भएका थिए । 

भीमदत्त डडेल्धुरा कब्जाका लागि आएको खबरसँगै स्थानीय सामन्तहरूको होस उड्यो । मुक्तिसेनाले ००७ पुस २६ गते डडेल्धुरा कब्जामा लियो । सोहीबीच स्थानीय सेठहरूले मोहनसिंह खडायतको घर लुटेको झुटो आरोप लगाई भीमदत्तविरुद्ध कमान्डर रूपसिंहकहाँ उजुरी गरे । सेठहरूको षड्यन्त्रप्रति अनविज्ञ रूपसिंह भीमदत्तलाई भौतिक कारबाही गर्ने निर्णयमा पुगे । त्यहीवेला एकजना दमाईले मृत्युदण्ड दिनुअघि बिगुल बजाउनुपर्ने परम्परा रहेको र त्यो प्रचलन आफूले थामेको बताएपछि रूपसिंहले उनलाई बिगुल बजाउन भने । त्यसपछि स्थानीय बृजलाल जोशीले भीमदत्त बाहुन भएका कारण उनलाई मृत्युदण्ड दिन नहुने बताए । अन्ततः भीमदत्त निर्दोष देखिएपछि रूपसिंहले उनीमाथिको कारबाही फिर्ता लिए । उक्त घटनापछि मुक्तिसेनाको टोली डोटीतिर लाग्यो । भीमदत्त पनि टोलीमा थिए । मुक्तिसेनाले २००७ माघ २ गते डोटी कब्जा गरी शिवराज पन्तलाई गभर्नर घोषणा गर्‍यो । डोटीपछि मुक्तिसेनाले माघ २३ गते बैतडी कब्जा गर्‍यो । त्यसपछि भीमदत्तलाई मुक्तिसेनाले डडेल्धुराको गभर्नर बनायो । 

सोहीबीच २००७ फागुनमा राजा, राणा र कांग्रेसबीच दिल्लीमा सम्झौता भई नेपाली कांग्रेसले सशस्त्र क्रान्ति स्थगनको घोषणा गर्‍यो, तर भीमदत्तले दिल्ली सम्झौताको विरोध गर्दै आफ्नो गतिविधि जारी राखे । सरकारले गतिविधि रोक्न दिएको निर्देशन भीमदत्तले अवज्ञा गरे । अन्ततः २००८ भदौ–असोजमा मेजर सिद्धिगणेश मानन्धरको नेतृत्वको सुरक्षा फौज डडेल्धुरा पुगी भीमदत्तलाई नियन्त्रणमा लियो । त्यहाँबाट डोटी, धनगढी हुँदै भीमदत्तलाई काठमाडौं जेल चलान गरियो । निर्दाेष पाइएपछि भीमदत्त थुनामुक्त भए । 

सशस्त्र किसान आन्दोलन
२००९ पुसमा काठमाडौं, हनुमानढोका कारागारबाट जेलमुक्त भएपछि भीमदत्त डडेल्धुरा फर्के । त्यतिवेला पूर्वी तराईमा चलेको किसान आन्दोलनबाट प्रभावित भीमदत्तले पछि आफ्नो विद्रोहको मुख्य एजेन्डा किसान मुक्तिलाई बनाए । भीमदत्तले मजदुर किसान, गरिब किसान, मध्यवर्गीय किसान, धनी किसान र जमिनदार बिर्तावाल भनेर किसानको वर्गीकरण गरेका थिए । उनले आफ्ना नारा र गीतहरूमा गरिब किसानका दुःखपीडाहरूलाई मुख्य स्थान दिएका थिए । त्यहीवेला कञ्चनपुरको ब्रह्मदेवमा भन्सारका कर्मचारीहरूले कालोबजारी गर्न नुनको कृत्रिम अभाव सिर्जना गरेको खबर भीमदत्तले पाए । त्यसपछि भीमदत्त ब्रह्मदेव पुगेर भन्सार नियन्त्रणमा लिई जनतालाई नुन बाँडे । त्यसैले कैलालीका बडाहाकिम धैर्यशमशेर भीमदत्तलाई पक्रने योजनामा थिए । जनतामाझ लोकप्रिय भीमदत्तलाई पक्रन सजिलो थिएन । पछि २००९ चैतमा बडाहाकिम धैर्यशमशेर भारतको बनबासामा आएर बसेका थिए । त्यहीवेला ब्रह्मदेवमा रहेका भीमदत्त र कृष्णस्वामी आयंगरलाई राति सुतिरहेका वेला पक्राउ गरी धैर्यशमशेरकहाँ पुर्‍याइयो । त्यहाँबाट अयंगरलाई भारतसमक्ष सुपुर्दगी गरी भीमदत्तलाई बेलौरी जेल चलान गरियो । 

अत्याधुनिक हतियारले सम्पन्न भारतीय सेना भीमदत्तका लडाकुहरूलाई तीनतिरबाट घेरा हाल्दै अघि बढ्यो । भीमदत्तका लडाकु भरुवा बन्दुकका भरमा लडिरहेका थिए । क्षति हुने देखेपछि भीमदत्तले उत्तरतिरबाट भाग्न सबैलाई निर्देशन दिएका थिए, तर सबैजना भाग्न सकेनन् ।

२०१० असार १० गते भीमदत्त बेलौरी जेल ब्रेक गरी भागे । त्यसपछि उनले नरबहादुर बोहरा, गर्भु राना र मुल्ली प्रधानलाई भेटी सशस्त्र क्रान्तिको योजना बनाए । मुल्ली, गर्भु र अन्य युवा भरुवा बन्दुकसहित डडेल्धुरातिर लागे । जेलब्रेकपछि स्थानीय प्रशासनले भीमदत्तका नाममा वारेन्ट जारी गर्‍यो । त्यसपछि भीमदत्त डडेल्धुरा गौँडामा हाजिर भए । त्यही मौकामा बडाहाकिम मोहनबहादुर सिंहले भीमदत्त र उनका सहयोगीलाई पक्रेर बेलौरी जेल चलान गर्‍यो । बेलौरी जेलचलानका क्रममा जोगबुढा पुर्‍याइएका भीमदत्त सुरक्षाकर्मीलाई प्रभावमा पारी फेरि भागे । त्यसपछि भीमदत्त सशस्त्र आन्दोलनको योजनासहित अघि बढे । भीमदत्तले आलिताल, गांगखेतलगायतका गाउँमा रहेका भूपू भारतीय सैनिक संगठित गरी युवाहरूलाई तालिम दिए । बुडरमा व्यापारी परमानन्द पन्तलाई कारबाही गरेपछि भीमदत्त दलबलसहित ब्रह्मदेव पुगे । ब्रह्मदेवमा भीमदत्तले भन्सारका सुब्बा जयदेव, डिट्ठा धर्मसिंह रावल र सुबेदार जोगराज ऐरलाई बाँधेर महाकालीमा बगाए । ब्रह्मदेव भन्सार कब्जापछि भीमदत्त र लडाकुहरूको टोली कञ्चनपुरको सुडा हुँदै बेलौरी कब्जाका लागि अघि बढ्यो । अघि बढ्दै गर्दा भुर्सा भन्ने गाउँमा एकजना हवल्दार र थानेदारहरूले स्थानीयलाई दुःख दिइरहेको खबर भीमदत्तले पाए । पछि भीमदत्तका लडाकुहरूको कारबाहीमा हवल्दार र थानेदार दुवैको मृत्यु भयो । २०१० असार २४ गते भीमदत्तको सशस्त्र दस्ताले बेलौरीमा रहेका मालअड्डा, प्रहरी थाना, बैंक र गोश्वारा कब्जा गर्‍यो । 

विद्रोह दमनमा भारतीय सेना
भीमदत्तको विद्रोहबाट त्रसित प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सैन्य सहयोगका लागि २०१० साउन ४ गते दिल्ली पुगे । कोइरालाकै अनुरोधमा भारतीय सेना भीमदत्तको विद्रोह दमन गर्न नेपाल प्रवेश गर्‍यो । भारतीय सेनासँग संयोजनका लागि प्रधानसेनापति किरणशमशेर बरेलीमा बसेका थिए । साउने झरीका कारण भीमदत्त लडाकुहरूसँगै कैलालीको बडेहा गाउँमा रोकिए । त्यहाँ लडाकुहरू खाना खाइरहेका वेला गाउँनजिकैको जंगलमा भारतीय फौज आइपुगेको खबर भीमदत्तले पाए । भारतीय सेनाको प्रतिकारका लागि लडाकुलाई तयार रहन निर्देशन दिए । गाउँबाट बाहिरिएको भीमदत्तका लडाकुको टोली र भारतीय सेनाबीच पाँच–६ घन्टा भीषण लडाइँ भयो । अत्याधुनिक हतियारले सम्पन्न भारतीय सेना भीमदत्तका लडाकुहरूलाई तीनतिरबाट घेरा हाल्दै अघि बढ्यो । भीमदत्तको लडाकु टोली भरुवा बन्दुकका भरमा लडिरहेको थियो । क्षति हुने देखेपछि भीमदत्तले उत्तरतिरबाट भाग्न सबैलाई निर्देशन दिएका थिए, तर सबैजना भाग्न सकेनन् । भीमदत्तसहित केही सहयोगी मात्रै उम्किन सफल भए । भिडन्तका क्रममा २ जना भारतीय सेना र २ जना भीमदत्तका लडाकुको मृत्यु भयो । भीमदत्तका ५२ जना लडाकु घाइते भए । २ सय ७२ जनालाई भारतीय सेनाले पक्राउ गरी बडाहाकिमलाई बुझायो । क्षेत्रविक्रम राणाको नेतृत्वको नेपाली सेनासमेत पन्तको खोजीमा कैलाली पुग्यो । बेहडा भिडन्तपछि पक्राउ परेका भीमदत्त पन्तका लडाकुलाई स्थानीय प्रशासनले विभिन्न मितिमा जेलमुक्त गर्‍यो । बाँकी बन्दीहरू तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा आममाफी पाएर छुटे । 

भीमदत्तको हत्या
भारतीय सेनासँगको बेहडामा भएको भिडन्तपछि भीमदत्त खिन्वा कार्की, बहादुर खत्री, वीरबहादुर खडायत र मोहनसिंह सेठीसँगै बुडर पुगेका थिए । बुडरमा दुई–तीन दिन भूमिगत रूपमा बसेका भीमदत्त त्यहाँबाट गल्लेक सरे । गल्लेकबाट भीमदत्तले बहादुर खत्री र खिन्वा कार्कीलाई घर पठाए । केही समयपछि उनले मोहनसिंह सेठीलाई डडेल्धुरा पठाए । तर, डडेल्धुरा पुगेका सेठी पक्राउ परे । सुरक्षाकर्मीको चरम यातनापछि उनले भीमदत्त बुडरमा रहेको बताएपछि लालबहादुर थापा (भीमदत्तका मीत), कर्णसिंह देउवा, तप्तबहादुर र भिम्वा दियालको टोली भीमदत्तलाई खोज्दै बुडर पुग्यो । 

मातृका सरकारले भीमदत्तलाई जिउँदो वा मृत ल्याउनेलाई ५ हजार पुरस्कार दिने घोषणा गरेको थियो । सोही पुरस्कारको प्रलोभनमा लालबहादुर थापाको टोली भीमदत्तको हत्यामा जुट्यो । बुडरमा पुगेर लालबहादुरले आफू भीमदत्तको मीत भएको र उनलाई बचाउन आएको भन्दै जनतालाई झुक्याएको थियो । २०१० साउन १७ गते बुडरको गल्लेकमा भीमदत्त स्थानीय हमजाली मगरको घरनजिकैको फुसको छाना भएको कटेरोमा थिए । लालबहादुर थापाले एकजना स्थानीय महिलालाई डराई–धम्क्याई भीमदत्त बसेको घर पत्ता लगाएको थियो । त्यसपछि भीमदत्त लालबहादुर र तप्तबहादुर भीमदत्त बसेको घरमा प्रवेश गरे । खाना खाइरहेका भीमदत्त देख्नेबित्तिकै लालबहादुरले उनीमाथि गोली चलायो । घाइते भीमदत्तले शोषक सामन्तविरुद्ध नाराबाजी गरे । त्यसपछि तप्तबहादुरले दोस्रो गोली प्रहार गरी भीमदत्तको ज्यान लियो । हत्यापछि भिम्वा दियालले पन्तको शरीरबाट टाउको छिनालेको थियो । अनि लालबहादुरको टोली भीमदत्तको टाउको बोकेर रातारात डडेल्धुरा पुग्यो । 

डडेल्धुरा पुगेर लालबहादुरले भीमदत्तको टाउको बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाए । बडाहाकिम सिंहले पन्तको टाउको साउन १८ गते डडेल्धुरा गोश्वाराअगाडिको भैरवस्थानमा बाँसको लिंगोमा झुन्डाएर प्रदर्शन गरे । टाउको मुनि ‘देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै हुन्छ’ भनेर लेखिएको थियो । मातृका सरकारको उक्त कदमले मध्ययुगीन बर्बरतालाई बिर्साएको थियो । आफ्ना श्रीमान्को हत्यापछि टाउको प्रदर्शन गरिएको खबर पाएपछि पार्वतीदेवी बडाहाकिम सिंहकहाँ पुगिन् । अन्त्येष्टिका लागि आफ्ना श्रीमान्को टाउको माग्दा बडाहाकिम सिंहले पार्वतीदेवीलाई हप्काए । अन्ततः ३१ वटा सर्तहरूमा सहीछाप गराएर बडाहाकिम सिंहले पार्वतीदेवीलाई भीमदत्तको टाउको दिए । पन्तको टाउको धर्मदेव पन्त, सिद्धराज पन्त, शिवराज उप्रेती, सोवे सार्की र फकिरे दमाईले घटालथाननजिक दाहसंस्कार गरे । 

०००

गरिब–किसानको मुक्तिका लागि प्राण आहुति दिएका वीरयोद्धा भीमदत्त साँच्चिकै जनताका नेता थिए । गरिब–किसानका पक्षमा आवाज उठाएका कारण मातृका सरकारले उनको ज्यान लिएको थियो । प्रधानमन्त्री जंगबहादुरको निर्देशनमा अछामका बलदेव शाही ‘बाँकावीर’को टाउको काटेर काठमाडौं पुर्‍याइएको थियो । जंगबहादुरकै पदचिह्न मातृकाप्रसादले पछ्याउँदै भीमदत्तको टाउको कटाएका थिए । डा. केआई सिंह र भीमदत्त पन्त (दुवैजना डोटेली)को विद्रोहमा मोहनशमशेर र मातृकाप्रसादले भारतीय सेना बोलाइनु अनि राज्ययन्त्रको शिरोच्छेदनको सिकार बाँकावीर र भीमदत्त (दुवै सुदूरपश्चिमेली)लाई नै बनाइनु संयोग थियो या षड्यन्त्र ! ? यस कुराको पुष्टि इतिहासले गर्ला ।