लाहुर भर्ती जाने परम्परा रोकिएको छैन, नेपाली समाजमा । यसप्रति आकर्षण पनि उस्तै छ ।लाहुरे बन्न अर्थात् ब्रिटिस गोरखा सैन्यमा भर्ना हुन तीनवटा चरण पार गर्नुपर्ने हुन्छ । तीमध्ये पहिलो गल्लावालबाट छानिनुपर्छ । गल्लावालको काम हो– उम्मेदवारको शारीरिक तन्दुरुस्ती र प्रारम्भिक अनुशासन हेरी उनीहरूमध्येबाट योग्यलाई छानी अर्को छनोट प्रक्रियामा पठाउने ।
त्यहाँबाट छनोट भएका भावी लाहुरे बन्न इच्छुक एआरओमा पुग्छन्, अर्थात् एरिया वेल्फेयर अफिसरकहाँ । त्यहाँ शरीर मात्र होइन, उम्मेदवारको शिक्षा, बुद्धिको पनि परीक्षण हुन्छ । त्यसलाई छिचोलेपछि मात्र पुग्न सकिन्छ डिआरओकहाँ । डिआरओ अर्थात्, डाइरेक्टर रिक्रुटिङ अफिसर । त्यहाँबाट उत्तीर्ण भएपछि मात्र लाहुरे हुन योग्य ठहरिन्छ । यस प्रक्रियामा उम्मेदवारहरूबीच बुद्धि र शरीर दुवैको प्रतिस्पर्धा हुन्छ । अनि दसैँको खसीबोका छनोट गरेजसरी नेपाली युवाहरूलाई लाहुरे बनाइन्छ ।
नेपाली लाहुरेसम्बन्धी दुईवटा भ्रम तोडिइसकेका छन् । एक, बलभद्र कुँवरलाई पहिलो नेपाली लाहुरेका रूपमा धेरै वर्ष स्थापित गरियो, त्यो भ्रम भएको यस लेखकले अन्नपूर्ण पोस्ट (२०७३ फागुन १४) मार्फत खण्डन गरिसकेको छ । दोस्रो, लामो समयदेखि बलभद्र कुँवर नालापानी युद्धपछि लाहोर गई पन्जाबी राजा रणजीत सिंहको सेनामा भर्ना भई लाहुरे भए भन्ने भ्रम पनि तोडिइसकेको छ । यसबारे जान्न बुद्धिलाल भण्डारीको ‘राष्ट्र निर्माणका केही योद्धाहरू’ (२०५०ः१००) पढ्नुहोला । यसमा विक्रम सम्वत् १८७३ सुदी १३ रोज ६ मा सरदार जगदेउ भण्डारीको नाममा जारी रुक्कामा उनको ठाउँमा बलभद्र कुँवरलाई पठाइएको उल्लेख छ ।
‘पूर्णिमा’को पूर्णांक ९९ (आश्विन २०५७ः६३–६४)मा महेशराज पन्तले छाप्नुभएको तत्कालीन राजा राजेन्द्रविक्रम शाहले बलभद्रलाई सम्बोधन गर्दै १८७३ माघ सुदी ६ रोज ५ मा लेखेको पत्रअनुसार उनी त्यो वेला दैलेखको दुल्लुमा सक्रिय थिए भन्ने बुझिन्छ ।
नेपाल–अंग्रेज युद्ध
‘हिमाल’ खबरपत्रिका (पुस ७, २०७०) मा प्रकाशित योगेशराजलाई पढेर यसबारे चर्चा गरिन्छः
व्यापारको सिलसिलामा भारत आइपुग्यो अंग्रेज । अधिकांश एसियाली मुलुकलाई आफ्नो उपनिवेशमा पारिसकेको यसले भारतको गर्मी छल्ने ठाउँको खोजी गर्दै र चीन तथा तिब्बतसँग व्यापार बढाउने मनसुवा पनि बोकेको थियो । यसले नेपाली भूभागमा आँखा लगाइरहेको थियो । अंग्रेजका लागि नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा काँगडा पुगिसकेको थियो । यस्तो अवस्थामा यसलाई पहाडी नाका हुँदै तिब्बत र चीनतर्फ बढ्ने आफ्नो पहाडी मार्ग अवरुद्ध भएको महसुस हुने नै भयो । यही र इत्यादि कारण बुटवलको स्युराजमा अंग्रेजले सानो निहुँमा बखेडा झिकिहाल्यो । विवाद बढ्दै जाँदा अंग्रेजले नेपालविरुद्ध युद्धकै हाँक दियो । इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड हेस्टिङ्सले नेपालविरुद्ध लखनउबाट युद्धको घोषणा गरे । हेस्टिङ्सका तर्फबाट इस्ट इन्डिया कम्पनीका तत्कालीन सचिव जे. एडमले हस्ताक्षर गरेको युद्ध घोषणामा ‘नेपाल सरकारले बुटवल, स्युराज र रौतहटमा अतिक्रमण गरेको, कम्पनी सरकारलाई अनादर गरेको र आपसी सद्भावको बेवास्ता गरेको कारण युद्ध निर्विकल्प भएको’ उल्लेख गरे ।
युद्ध घोषणाको ४७ वर्षअघि मात्रै पौवागढीमा गोर्खाली सेनाबाट कप्तान किनलकको नेतृत्वको फौजले धुलो चाटेको थियो । इतिहासशिरोमणि बाबुराम आचार्यले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णांक २७ (आश्विन २०२९ः१६६) मा उल्लेख गरेअनुसार विक्रम सम्वत् १८२४ असोज ९ गते पौवागढीमा नेपालतर्फ अगाडि बढिरहेको कप्तान किनलकको नेतृत्वको अंग्रेज फौजलाई पृथ्वीनारायण शाहको सेनाले नराम्ररी पराजित गरी लखेटेको थियो । सायद यसको बदला लिने ताकमा पनि थियो, त्यसवेला अंग्रेज ।
पछि, फेरि युद्ध भयो । युद्ध घमासान भयो । योद्धाको ठूलो संख्या र आधुनिक हातहतियारसहितको अंग्रेज फौजविरुद्ध परम्परागत हतियार र सानो संख्यामा रहेको नेपाली फौजले आफ्नो बुताले भ्याएसम्म लडे । अंग्रेज पक्षको निकै ठूलो क्षति पनि गराए । विक्रम सम्वत् १८७२ फागुन २४ गतेको सुगौली सन्धिसम्म आइपुग्दा नेपाल एकतिहाइ लोभलाग्दो भूभाग अंग्रेजलाई सुम्पन बाध्य भयो ।
बलभद्रको पलायन
नेपाली इतिहासमा नालापानीको युद्ध निकै चर्चित रहेको छ । नालापानी किल्ला त्यही किल्ला हो, जहाँ नेपाली फौजले अंग्रेज सेनापति जिलेस्पीको ज्यान लिएको थियो । ‘पूर्णिमा’, पूर्णांक ३ (कात्तिक २०२१ः५९) पढ्दा जिलेस्पीले नालापानीको युद्धमा विक्रम सम्वत् १८७१ कात्तिक १७ गते ज्यान गुमाएका हुन् भन्ने थाहा हुन्छ ।
यस (उही, पृष्ठ ६३–६४)अनुसार नालापानी किल्लामा बाहिरबाट पानी जान्थ्यो, अर्थात् ओसारिन्थ्यो । अंग्रेजहरूले त्यो पानी जाने ठाउँ बन्द गराए । त्यहाँ सवा सयजति माटोको घ्याम्पामा पानी सञ्चित गरिएको थियो । त्यो पनि अंग्रेजहरूले गोलाले हानी फुटाई पानी पोखाइदिए । नेपाली सेना भात पकाएरसमेत खान नपाई काँच्चै चामल खान बाध्य भए । पानीको समेत हाहाकार भएपछि विक्रम सम्वत् १८७१ मंसिर १६ गते राति बलभद्र कुँवरहरू नालापानी किल्ला छाडी बाहिर निस्के ।
बलभद्र कुँवरलाई समेत लाहुर भर्तीमा लैजाने भूपालसिंह थापा नै नेपाली लाहुरेका पहिलो गल्लावाल हुन् । उनी अमरसिंह थापाका छोरा हुन् ।
यसरी किल्ला छाडेपछि अन्य मोर्चाहरूमा पुगेर लड्दालड्दै सुगौली सन्धिपछि बलभद्र कुँवर काठमाडौं फर्के र केही समय दैलेखको दुल्लुमा जागिर खाए । पछि। पञ्जाबकेशरी रणजीत सिंहको सेनामा भर्ना भए । पन्जाब र अफगानिस्तानबीच पेसावरमा भएको युद्धमा लड्दालड्दै सुवेदार बमसिंह खड्का, जमदार ऐमान खवास, जमदार रूपसिंह खड्का, जमदार जिउनसिंह दुरासहित कप्तान बलभद्र कुँवरले विक्रम सम्वत् १८७९ चैत ३ गते वीरगति पाएको इतिहास ‘पूर्णिमा’को पूर्णांक ५ (वैशाख २०२२ः ६८–६९) पढे थाहा हुन्छ ।
नेपाल–अंग्रेज युद्धको समय अमरसिंह थापाले मलाउको किल्लाबाट नेपाली योद्धाहरूको कमान्ड सम्हालेका थिए । उनलाई थाहा थियो, अंग्रेजसँग युद्ध जित्न सकिन्न । यसो हुँदा युद्ध रोक्न भीमसेन थापासमक्ष आग्रह गरेका थिए । तत्कालै युद्ध रोक्न सकिन्छ कि भनी कुटनीतिक भूमिका निर्वाह गर्दै अंग्रेज सेना कमान्डर अक्टरलोनीका छोरासँग आफ्नो छोरा रामदासको मित लगाइदिएका थिए, उनले । यो कुरा बुढाकाजी अमरसिंहले अर्का जनरल अमरसिंह थापा (भीमसेन थापाका बाबु)लाई सतजल इलाकाको बघाटबाट १८७० मंसिर १० गते लेखेको पत्रमा उल्लेख छ । यो तथ्य थाहा पाउन पढ्नुहोस् ‘पूर्णिमा’ पूर्णांक ९ (वैशाख २०२३ः४८–४९)।
तर, बुढाकाजी अमरसिंहको कुराको कुनै सुनुवाइ गरेनन्, भीमसेन थापाले । आफ्नो कुरा सुनुवाइ नभए पनि कर्तव्य निर्वाह गर्दै उनी अन्तिम समयसम्म लडिरहे ।
युद्ध हारिएको, सुगौली सन्धिपछि आफ्नो कुनै भूमिका नभएको अवस्थामा अमरसिंह नेपाल फर्के । उनी सीधै राजधानी काठमाडौं आएनन्, बरु दशहरा मेला भर्न भनी गोसाइँकुण्डतिर गए । उनी विक्रम सम्वत् १८७३ साल जेठ महिनामा गोसाइँकुण्ड पुगी पूजापाठ गरेर बसेका र जनैपूर्णिमाको १० दिनअघि अर्थात् साउन १२ गते आइतबार राति पौने १२ बजे ६५ वर्षको उमेरमा परलोक भए भन्ने ‘पूर्णिमा’को पूर्णांक ५८ (चैत्र २०४०ः४६) मा उल्लेख छ ।
‘पूर्णिमा’ पूर्णांक ५ (वैशाख २०२२ः६५–६८)अनुसार युद्ध हारेर अमरसिंह फर्के भने उनका छोरा–नाति भने पञ्जाबकेशरीको पल्टनमा लाहुरे बनेर बसे । उनका छोरा अर्जुन, भूपाल र अर्जुनका छोरा लाहुर लागेको देखिन्छ ।
अमरसिंह थापाका चारजना श्रीमती थिए । तीमध्ये अक्टरलोनीका छोरासँग मित लगाउने रामदास साहिँली श्रीमती धर्मदेवीका तर्फबाट जन्मेका ठाहिँला छोरा तथा अर्जुन र भूपालचाहिँ कान्छी श्रीमती लालवतीका तर्फबाट जन्मेका क्रमशः जेठा र कान्छा छोरा हुन् भन्ने विवेचना ‘पूर्णिमा’ पूर्णांक ५८ (चैत्र २०४०ः४७) लाई पढेर गर्न सकिन्छ ।
यता, अर्का योद्धा बलभद्रले भने युद्धबाट फर्केपछि जागिरको जिम्मेवारी पाएकै देखिन्छ । इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ पूर्णांक ३ (कात्तिक २०२१ः६४)मा उल्लेख गरेअनुसार विक्रम सम्वत् १८७१ मंसिर १६ गते राति बलभद्र कुँवरहरू नालापानी किल्ला छाडी बाहिर निस्कन बाध्य भए ।
बलभद्र कुँवरकै सन्तानहरूको धारणाअनुसार पनि बलभद्र कुँवर विक्रम सम्वत् १८७६ सम्म नेपालमै रहेर सैन्य जीवन बिताइरहेका थिए । रामराजा कुँवर र डा. धनबहादुर कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ (२०६९ः५१–५२) मा यस्तो तथ्य पढ्न पाइन्छ । यस पुस्तकमा उल्लेख गरिएअनुसार बलभद्रले आफ्ना मामाहरू अर्जुनसिंह र भूपालसिंह थापासँगको भेटपछि अन्य मुलुकमा जाने इच्छा जनाएका थिए । उनले त्यसवेला आफ्ना मामाहरूसँग ‘मुलुकभित्र खुकुरीको सान र अवसर या अवस्था नभएको देखिएकाले अन्य मुलुकमा जाने’ इच्छा देखाए । यही चाहनाअनुसार उनले विसं. १८७६/७७ ताका नेपाली फौजबाट अवकाश लिएका थिए ।
उनलाई उनका मामाहरू अर्जुनसिंह थापा र भुपालसिंह थापाले लाहोरतिर लगेर लाहुरे बनाएका थिए ।
पूर्णिमा पूर्णांक ५ (वैशाख २०२२ः६८) मा प्रकाशित अर्को एक पत्रअनुसार अमरसिंह थापाको छोरा कप्तान भूपालसिंह थापामार्फत गोर्खाली सेना लाहोरमा भर्ना हुने गरेको बुझिन्छ । पन्जाबी राजा रणजित सिंहले भूपालको नाममा जारी गरेको पर्वानामा लेखिएको छ, ‘...वर्सात् सक्यापछि उम्दा उम्दा सिपाहीहरू दस्तुर बमोजिम जस्मा केही सन्देह छैन साथ लि तँ हाम्रा हजुरमा हाजिर हो ।’
यस्तै ‘पूर्णिमा’को सोही पूर्णांक (पृष्ठः ६८) मा छापिएको अर्को पत्रमा ‘...नोकरी गर्न जान्या पाहाडीले भुपाल थापाको बाटो गरी रंजित्सींसित हाजि हुन्छ. भुपाल थापाले जस्माफिक् अघीको भनी विंति पतिछ सोहमाफिक दर्जा मिल्छ एस् कुराको मार्फत् भुपाल थापाललाई तुत्याएको छ...’ भन्ने परेको छ ।
यसबाट के स्पष्ट हुन्छ भने बलभद्र कुँवरलाई समेत लाहुर भर्तीमा लैजाने भूपालसिंह थापा नै नेपाली लाहुरेका पहिलो गल्लावाल हुन् । उनी अमरसिंह थापाका छोरा हुन् ।