• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
राजिन पनेरू
२०७६ श्रावण २५ शनिबार ०६:५३:००
साहित्य

शून्य प्रहरको ‘शून्यता’भित्र

२०७६ श्रावण २५ शनिबार ०६:५३:००
राजिन पनेरू

पूर्वीय ‘जेरोइज्म’ कि पाश्चात्य ‘निहिलिज्म’ ?
विलियम आई. ओलिभर आफ्नो प्रसिद्ध लेख ‘बिटुइन अब्सर्डिटी एन्ड दी प्लेराइट’ मा भन्छन्, ‘हामी पैदा हुन नखोजे पनि पैदा हुन्छौँ र मर्न नखोजे पनि मर्छौं । हामी जन्म र मृत्युका दोसाँधमा छौँ । यसो हुँदा नै हाम्रो अस्तित्व विसंगत छ ।’ झट्ट हेर्दा शीर्षक शून्य प्रहरभित्रको ‘शून्य’ यस्तै विसंगतिको दस्ताबेज हो कि भन्ने भान हुन्छ । तर, यसो हुँदैन ।

विषयवस्तुका दृष्टिले शून्य प्रहरका अधिकांश कविता विसंगति र अस्तित्वको दोसाँधमा उभिएको छ । झट्ट देख्दा विसंगत देखिए पनि अन्ततः कविचेत अस्तित्वको रक्षार्थ उभिएको छ । कवि उद्घोष गर्छ, ‘आर्यघाटमा चुपचाप बसेको म÷मृत शरीरमाथि दन्किरहेका ज्वाला हेर्दै/जीवनको क्षणभंगुरतामाथि कविता लेख्छु ।’ 
‘क्षणभंगुरता’भित्र एउटा डरलाग्दो रहस्य लुकेको छ, विसंगति र अस्तित्वको । झट्ट हेर्दा यसले विसंगतिको बोध (आर्यघाट र मृत्यु) गराए पनि अन्ततः अस्तित्वको खोज (सिर्जना र जीवनलय) मा पु-याएको छ ।

अस्तित्ववादीहरूको दाबी छ, ‘मनुष्यको निर्माणको मूलमा कुनै सजग प्रयोजन छैन । ऊ जन्मसँगै मृत्युलाई लिएर आएको हुन्छ । उसको इच्छाविना नै मनुष्य पृथ्वीमा वा संसारमा फ्याँकिएको छ ।’ यसैबीच हामीले ‘हुनु’ अर्थात् जाँ पाल सात्र्रको ‘विइङ’को लागि संघर्ष गरिरहन्छौँ । पश्चिमा जगत्को मिथ चरित्र ‘सिसिफस’को स्थानमा कविले पूर्वीय जगत्को मिथ चरित्र ‘अश्वत्थामा’लाई उभ्याएको छ । यी दुवै चरित्रले बाँचेको समय र सन्दर्भ पीडादायी छ । यद्यपि, दुवै पात्र ‘अस्तित्व’का निम्ति लडिरहेको छ । भोक्ता कवि र श्रोता हामीबीचको समय यस्तै छ । न छाड्न सक्छाैँ, न त धारण गर्न । 

व्यक्ति चाहन्छ– बोझमुक्त बनूँ । तर झन्–झन् बोझ थपिँदै जान्छ । ‘बोझ’ कवितामा म पात्र आफ्नो कुरूपताबाट भाग्न चाहन्छ । यसैबीच उसको भेट कसैलाई कुरिरहेकी सुन्दर युवतीसँग हुन्छ । म पात्र प्रश्न गर्छ, ‘तपाईंलाई कस्तो लाग्छ आफ्नो सौन्दर्य ?’ युवती भन्छे, ‘यो अरूकै लागि हो, कसैको कुरूपतासँग साट्न पाए पनि हुन्थ्यो ।’ कुरूप पात्र र सुन्दर पात्रबीचको यो वार्तालापले एउटा प्रश्न जन्माएको छ, ‘मान्छेलाई के हुँदा सन्तोष मिल्छ ? अथवा कसरी आनन्द प्राप्त हुन्छ ?’

कुरूपलाई सुन्दर बन्नु छ, सुन्दरलाई आफ्नै सुन्दरतासँग बोझ अनुभूति भइरहेको छ । दुवैले आफ्नो रूपाकृतिलाई बोझका रूपमा लिएका छन् । यी दुवैले आफ्नो सौन्दर्य साटे भने हामी ठानौँला दुवै बोझमुक्त हुनेछन्, तर त्यसो हुनेछैन । यदि साट्न मिल्यो र साटिहाले भने साटेपछि एउटा सन्नाटा उत्पन्न हुनेछ, जसलाई हामी शून्य प्रहरभित्र कैद गर्नेछौँ । 

अतः देखेको सत्यभन्दा भोगेको सत्यमा पुगेपछि व्यक्ति बढी ‘शून्य’ बन्छ । ऊ निमेषका लागि आफूबाट रित्तिन्छ र पुनः चलायमान हुन्छ । शून्य स्थिति प्रलयको संज्ञा हो । शून्य गति हो । शून्य समय हो । शून्य जीवन र मृत्युको सूचक हो । खासमा ‘शून्य प्रहरको साक्षी’ यिनै आरोह–अवरोहका बीच पाश्चात्य ‘अब्सर्डिटी’को नजिक पुगेर फर्किएको पूर्वीय ‘जेरोइज्म’ हो । 

शून्यताभित्र के छ ? 
पश्चिमा शून्यचिन्तक (उदा. फ्रेडरिक नित्से, अल्बेर कामु, सेमुअल बेकेट आदि) ले पात्रको ‘शून्यावस्था’लाई एकांगी बनाउँछन्, निस्सार तुल्याउँछन्, संसार असंगत नै असंगतले घेरिएको र बेरिएको देखाउँछन् र अन्ततः मृत्यसँग सम्झौता गर्न बाध्य पार्छन् । परन्तु पूर्वीय चिन्तन परम्परा (उदा. महाभारतको विष्णुसहस्रनाम, शंकराचार्य, बौद्ध वाङ्मय (महायान–मध्यमार्ग) अन्तर्गत बुद्धको उपदेश, नागार्जुन सम्प्रदाय, कैवल्य, नाथसाहित्य आदि) मा ‘शून्य’लाई भाव र अभावबीचको द्वन्द्व, रिक्तावस्था, शून्य वा शून्याशून्यभावको प्रज्ञापनका लागि प्रयोग गरिएको शब्द, प्रारम्भ, शिवलोक, अनित्य आदिका रूपमा प्रस्तुत गरिएको छ । यी दुवै शून्यका बीचबाट किताबभित्र प्रवेश गरौँ । 
०००
‘शून्य प्रहर’ जीवन र प्रकृतिबीचको ‘प्रहर’ हो । कुनै घटना घट्नुपूर्व अथवा पश्च समयबीचको ‘भ्याकुम’ अर्थात् ‘रिक्तता’ हो । किताबभित्रका अधिकांश कविता पूर्वीय शून्य अर्थात् रिक्तताको नजिक उभिएका छन् । रिक्ततापछिको सिर्जनामा पुगेर कविले विश्राम लिएको छ । कविले मृत्यु, आँसु, प्रलय देखाइरहँदा प्रश्न उठ्न सक्छ, ‘के हामीसँग मृत्यु, आँसु, प्रलय, वेदनाबाहेक लेख्नका निम्ति केही छैन ?’ तथापि कवितांशमा आएका सूक्ष्म बिम्बहरूले जगाउने बाँच्ने सपना, जीवन चेतना अर्थात् जीवनको लयले प्रश्नको सहज उत्तर दिएको छ, ‘जीवन–मृत्यु’को पूर्वीय व्याख्या बुझेपछि हामी यस्ता प्रश्नमा अल्झिनेछैनौँ ।

‘रहस्य’ शीर्षकको कवितांशमा लेखिएको छ, ‘केही नबोलेर नै हिउँ/शून्यभित्रको महाआख्यान सुनाएर गयो/जवाफमा मसँग/मात्र चिच्याहट बाँकी थियो ।’ वास्तवमा यहीँबाट प्रारम्भ हुन्छ हाम्रो जीवन अर्थात् पूर्वीय सभ्यता । हिउँको विलय ‘नहुनु’को विलय होइन, ‘हुनु’को विलय हो । हिउँ विलय भएर सागर बन्छ, सागर विस्फोट भएर हिमाल बन्छ । लय–प्रलयको क्रम यसै गरी चलिरहन्छ र कहिल्यै रित्तिदैन । मात्र निमेषका निम्ति हामी शून्य प्रहरमा विलय हुन्छौँ र पुनः जागृत अवस्थामा आउँछौँ । यसपछि हाम्रो जीवनलय उसैगरी चलायमान बन्छ, जसरी पहिला चलेको थियो । मात्र तौरतरिका बदलिएला, तर चलशक्ति बदलिने छैन । यही आरोह–अवरोहबीच रहेको रित्तो अवस्था नै ‘रहस्य’ हो ।  
०००
महेश पौड्यालको कविता–किताब ‘शून्य प्रहरको साक्षी’का कविता (उदा. कर्णाली, श्रमिकको कविता, सिसा, शीत र प्रिया, मान्छे र पुतली, बोझ, अश्वत्थामा, पीडा, रहस्य आदि) मा राज्यसत्ताको विद्रूपता, सैद्धान्तिक–व्यावहारिक जीवनको विरोधाभास, जीवन भोगाइका आरोह–अवरोह, दुःख–सन्नाटा, प्रलयानुभूति, प्रणयानुभूति आदिको चित्र कोरिएको छ र प्रत्येक चित्रमा अस्तित्वको खोजी गरिएको छ । जुन ‘निहिल’ अर्थात् केही छैन भन्ने दर्शनको ‘एन्टी’ बनेर खडा भएको छ । मान्छे प्रकृतिको व्यतिरेक जान सक्दैन ।

मान्छे केही न केही आशा बोकेर उभिएको छ । जसरी कविको कविता ‘पहाडको बत्ती’ उभिएको छ । पहाडको बत्ती जीवन बाँच्ने आधार हो । कविको मनमा पहाडको बत्ती निभेर अँध्यारो छाए पनि उज्यालोको आशा मरेको छैन । जसले गर्दा कविचेत ‘स्वीकारोक्ति’मा पुनः पहाडसँग मितेरी गाँस्दै भन्छ, ‘...यस्तै उथल–पुथल, ज्वालामुखी र प्रलयहरूले/सिर्जना गर्ने हुन् पहाड...मलाई मनपर्न थालेको छ÷उथल–पुथल ।’ कविशक्ति प्रकृतिको लयचेतनासँग सचेत छ ।

देखेको सत्यभन्दा भोगेको सत्यमा पुगेपछि व्यक्ति बढी ‘शून्य’ बन्छ । ऊ निमेषका लागि आफूबाट रित्तिन्छ र पुनः चलायमान हुन्छ । शून्य जीवन र मृत्युको सूचक हो । 

ऊ आफूलाई प्रकृतिसँग समाहित हुन खोज्छ, भन्छ– ‘हेर त/आकाशको छाती चिरेर/धरतीको छातीमाथि बज्रने/सिर्जनाले भरिएको/वर्षातको पानी...अनुमति दिन्छौ भने/म पनि वर्षात्को पानी बन्न चाहन्छु ।’देखेको सत्यभन्दा भोगेको सत्यमा पुगेपछि व्यक्ति बढी ‘शून्य’ बन्छ । ऊ निमेषका लागि आफूबाट रित्तिन्छ र पुनः चलायमान हुन्छ । शून्य जीवन र मृत्युको सूचक हो । 

आँसुभित्रको शून्य प्रहर
शून्य प्रहरका धेरै कवितामा आँसु छचल्किएको छ । आँसु पोखिएको छ । कतै मुटु चर्किएर त कतै मौन बनेर । धेरै कवितामा आँसुका अक्षरहरू कोरिएका छन् । भन्नेहरूले यो पनि भन्लान्– कुण्ठाकवि । किन पोखिए कविका आँसु, सिर्जनाका मलम बनेर ? प्रश्नको गम्भीर उत्तरभित्र पनि पंक्तिकार एउटा रहस्य देख्छ । दर्शन देख्छ । जसलाई ‘वसन्त’ शीर्षकको कविताबाट नियालौँ ।

कवितामा कविचेत बोल्छ, ‘वसन्त आएर मेरो आँगनमा वास बसेछ/सुस्ताएछ/र पुनः बाटो लागेछ/ चिसो अगेनोमा सपना पकाइरहेका हामीले/थाहै पाएनौँ ।’ यहाँनेर कविको शून्य प्रहर वसन्त र वषाद् (शिशिर–उजाड अवस्था)को दोसाँधमा विलय भएको छ ।वसन्तलाई सुमसुम्याउन नभ्याउँदै जीवनको अँगेनो चिसिएको छ र पनि कवि आफूलाई ‘हुनु’को भावबाट टाढा राख्न सक्दैन । वसन्त कविको भविष्य हो । भविष्य खसेर वर्तमान (अँगेनो) चिसिएको छ । 

आँसु जीवन हो । जीवन कहिले हर्ष बनेर बग्छ । कहिले शोक । कविका केही कविता शोक बनेर बगेको छ । आँसुपूर्वका प्रलयावस्थाले घेरिएको कविहृदय कुनै प्रलयकारी घटनापछि पुनः पूर्वलयमा फर्किएको छ । कवि भन्छ, ‘सधैँ अँगेनोमा/जीवन पकाउने आगोले/कुनै दिन, घर जलाएर ज्यानै लिएको खबर सुनेपछि÷थाहा पाएँ/जीवन र मृत्यु कति नजिक बस्छन् एक–अर्काको (जीवन र मृत्यु) ।’ जीवन पकाउने आगो लय हो ।

घर जलाएर ज्यान लिने आगो प्रलय हो । यसैबीच झरेको आँसु जीवनको गति हो । यिनै लय–प्रलयबीच कविको सिंगो जीवन ‘शून्य प्रहरको साक्षी’ बनेर उभिएको छ । भोक्ता पात्र कविले आँसुलाई शोकबाट शक्तिमा रूपान्तरण गरेको छ । यो कविशक्ति हो, जसले जीवनलाई पूर्वलय अर्थात् हुनुसँग साक्षात् गराएको छ । 

डिस्कोर्सका निम्ति थुप्रै कवितांश छन् । यसका आफ्नै सीमा र शक्ति पनि छन् । जसलाई दृष्टान्त बनाएर लामो आलेख लेख्न सकियोस् । मात्र उठान ‘शून्य प्रहरको साक्षी’भित्रको ‘शून्य’को हो । यो ‘जिरो डिजिट’ अर्थात् शून्य अंक हो । जहाँबाट जसरी पनि व्याख्यान सुरु गर्न सकिनेछ । पंक्तिकारको उठान कृतिलाई पूर्वीय ‘जेरोइज्म’ अथवा शून्यतामा राखेर अथ्र्याउने कि पाश्चात्य ‘निहिलिज्म’ अर्थात् नहुनुमा भन्ने हो ।

माथिका दृष्टान्तबाट प्रस्ट भइसकेको छ कि ‘शून्य प्रहरको साक्षी’ पूर्वीय जेरोइज्म हो ता कि पाश्चात्य निहिलिज्म । ध्वंसवादीका रूपमा ‘निहिलिस्ट’लाई अथ्र्याएको पाइन्छ भने कतै नहुनु नै ‘निहिल’ हो भन्ने विचार पनि पाइन्छ । यसर्थ शून्य प्रहरको साक्षी निहिल र निहिलिस्ट होइन, केवल जीवन–मृत्युबीच कोरिएको रिक्तता अर्थात् ‘महाशून्य’को आलेख हो ।

लेखक : महेश पौड्याल
प्रकाशक : शिखा बुक्स
पृष्ठ : १२५
मूल्य : रु. २००/-