• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिवानी सिंह थारु
२०७६ श्रावण २५ शनिबार ०७:२९:००
सम्झना

महुवा

सम्झना

२०७६ श्रावण २५ शनिबार ०७:२९:००
शिवानी सिंह थारु

के तपाईंले गर्मीको लामो न लामो दिनमा मयूर कराएको सुन्नुभएको छ ? मेहाओऽऽ...मेहाओऽऽ...। 
मैले सुनेको छु, तराईको वैशाख–जेठमा । एक्लै खेल्दा–खेल्दा उच्चाहट लागेपछि पिछवाडको बुढो जामुनको रूखनिर जान्थेँ । रूखतल लाखौँ खुट्टावाला किरा भनेर चिनिने गोजर किरिङ–किरिङ हिँडिरहेका हुन्थे । हत्केलामा गोजरलाई लिएर तिनका मसिना खुट्टी गनेर बसिरहेको हुन्थेँ । यहीवेला पर सुरेन्द्र राजाको भवनबाट मयूरको आवाज आउँथ्यो । मेहाओऽऽ... मेहाओऽऽ...। मेरो मुन्टो अकासिँदै उतै फर्किन्थ्यो । भवनमा पालिएको मयूरले लेघ्रो तानेर पोथीलाई आवाज दिन्थ्यो । टाढाबाट त्यो आवाज हामीसम्म आइपुग्दा बडो व्याकुल सुनिन्थ्यो । म लामो निःश्वास भर्थेँ । दिउँसोतिर सुनिने त्यो ध्वनिले नजाने किन मनभरि उदासी भथ्र्यो । 

के तपाईंले वर्षाको समयमा उसिसनिसिस सास फेर्नुभएको छ ?
मैले फेरेको छु, तराईको असार–साउनमा । पानी पर्नुअघि हावा बन्द हुन्थ्यो । डम्म वातावरणमा हप्प गर्मी चढ्थ्यो । हावामा एकप्र्रकारको च्याप–च्याप व्याप्त हुन्थ्यो । त्यसपछि भरभराएर पानी बर्सिन्थ्यो । जताततै मेहन्दीको बुट्यान हरहराएर आउँथ्यो । हावामा मेहन्दीको बास्ना रगमगिन थाल्थ्यो । मन उमंगले त्यसै–त्यसै सरसराउँथ्यो । 

के तपाईँले फुल्दै गरेको महुवाको फूल देख्नुभएको छ ? रूखमा फल्ने सेतो, पाकेपछि पोटिलो हरियो, मदले भरिएको ?
मैले देखेको छैन । देखेको छु त केवल सुकेका महुवाका रास । खैरो, कालो, गमझैँ च्यापच्यापिने सिकसिकाउँदो । सुँघेको छु त केवल छिः गनाउने महुवाको लेदो । छामेको छु त केवल भेलीसित कुहाएको महुवालाई ग्याजग्याजी । त्यो पनि तराईमै वैशाखदेखि–वैशाखसम्म । किनभने, त्यो नै मैयाँसाहेबको आय–आर्जनको बाटो थियो ।  हो ! मैले देखेको छु, महुवाले एउटी विधवालाई आफ्नो सर्तमा जीवन बाँच्ने स्वतन्त्रता दिएको । तर, मैले यो पनि देखेको छु, त्यही महुवाले हरेक दिन तिनलाई आफ्नो आत्मा मार्नु परेको ।म अर्थात् शिव । ती विधवा अर्थात् मैयाँसाहेब । मैयाँसाहेब मेरी हजुरआमा ।  

मेरा लागि त्यो समय नै अर्को युग थियो । त्यो ठाउँ नै अर्को देश थियो । त्यो बाल्यकाल नै अजिबोगरिब थियो । बुझ्नेगरी भन्ने हो भने, कुनै कुरा पनि अरूहरूको जस्तो सामान्य थिएन । असामान्य थियो हामी नातिनी–हजुरआमाको सम्बन्ध र हामीबीच फैलिएको संसार । यही असामान्य नै हाम्रा लागि सामान्य थियो । 


मैयाँसाहेबसित मलाई थुरथुर डर लाग्थ्यो । म मात्र होइन, पूरा गगनगन्ज टोल हच्किन्थ्यो उनीदेखि । उनलाई यो कुरा सायद थाहा थियो । त्यसैले, आफ्नो छविले पार्ने छायाको आकार भुत्तिन दिएकी थिइनन् । पाँच फुट सात इन्चको उचाइ ७० वर्षे बुढ्यौलीमा केही घिसिएको हुँदो हो । तर, अहँ ! उनको हिँडाइ नुहेको थिएन । सेतो धोती, नांगो–बुच्चो नाक कान, नाडीमा न बाला न धागो, भर्खरै विधवा भएकीजस्ती उजाड । भए पनि उनको उजाड रूपमा सुकसुकाउँदो वैधव्य होइन, एक किसिमको जर्जरपन थियो । 

रुखो जमिनमा उम्री आउने काँटिलो झारजस्तै । जतिखेर पनि निधारमा गाँठो पारिरहने । आँखीभौँ खजमजिइरहने । झर्कोफर्को गरिरहने । स्यानस्याना कुरामा गर्जिहाल्ने । घरमा हालखबर सोध्न आउनेलाई नरुचाउने । त्यो उमेरमा गलेर नरम हुनुपर्ने, उनी थिइन् जिब्रो लपलपाउन मात्र बाँकी भएकी श्वेतकाली । 

यति साह्रो रुखी किन थिइन् ? के उनी रक्सी बेच्ने भएर हो ?
हो ! मैयाँसाहेब रक्सी बेच्थिन् । महुवाको रक्सी । त्यो जमानामा रक्सी बेच्न सायद कडक मिजास चाहिन्थ्यो । एक त प्रतिबन्धित व्यापार,जतिखेर पनि पक्रिन सकिने जोखिमको किनारै–किनार बचेर बेच्नुपर्ने । अर्को, पिउन आउने सबै लोग्नेमान्छे । टिल्ल भएर बसिरहने, मातेर होहल्ला गर्ने, उधारोमा तलमाथि गर्नेजस्ता जड्याँहाजन्य व्यहोरा बेहोर्नुपर्ने । त्यही भएर उनले कडकसाथ आफ्नै नियम लागू गरेकी थिइन्– रक्सी मात्र बेच्ने । किन्नेले त्यो पनि उभी–उभी लिएर जाने ।

उनकहाँ बसेर खान पाइँदैनथ्यो । नबसून् भनेरै बस्नलाई टेबल–कुर्सी, खटिया, मचिया, बेन्ची केही पनि थिएन । कोही–कोही एकछिन बस्न दिन अनुरोध गर्थे । उनी कड्केर हुन्न भन्थिन् । कोही पुराना गाहकी छन् भने केहीबेर बस्न दिन्थिन् । १५–२० मिनेट भएपछि उनी हकारिहाल्थिन् । त्यसैले, पिउनेहरू महुवाको रक्सीको ‘टकिला सट’ मारेर रफादफा हुनुपथ्र्यो । 

बेच्नु छ रक्सी, त्यो पनि गाहकीमाथि अनुशासन थोपरी–थोपरी । अनि चाहिएन त जर्नेली पारा ! यति हाँकडाँक नभए त एक्ली स्वास्नीमान्छे त्यसमाथि बुढी, कहाँबाट धान्न सक्नु मर्दाना व्यापार ! उनकै आडमा टोलमा अरू दुई–तीनवटा घरले पनि रक्सी बेच्ने गर्थे । पुलिसको खानतलासी भइहालेमा बुढियालाई सारेर पार पाउन सकिन्छ भनेर । यही कडक मिजासले सायद मैयाँसाहेबलाई लयालु‘ जिजुमुवा’ बन्न दिएको थिएनँ ।

 कोलकाताबाट फर्किंदाको दृश्य मैयाँसाहेब जाडोमा मकल ताप्दा अक्सर सुनाउँथिन् । उनीहरू फर्किने दिन कोलकाताको ट्रेन स्टेसनमा दंगा सुरु भइसकेको थियो । स्टेसनमा भागदौड मच्चिएको थियो । किनभने त्यसैदिन गान्धीको हत्या गरिएको थियो । बोल्दाबोल्दै उनी आफैँ टोलाउन थाल्थिन् ।


मसित उनको संवाद भनेको निषेधात्मक आज्ञा मात्र हुने गथ्र्यो । शिव चुपचाप माथि गएर खेल्, पर्दैन देशी केटाहरूसित खेल्न । शिव चप्पल लगा, बाहिर नझाँक् । शिव फराक तल सुरुवाल लगा, माटो नखेल् । शिव यो गर्, त्यो नगर् । म भने काखीमा डर च्यापेर त्यही गर्थेँ, जुन मलाई नगर् भनिएको हुन्थ्यो । त्यसपछि मार गालीको चुटाइ भेट्थेँ । तर, मैले कहिल्यै दोहोरो सफाइ दिइँन, न झुटो बोलेर उम्किएँ । बहाना बनाउँदा पत्याएको जस्तो गर्न पनि त झ्याम्मिएको  सम्बन्ध चाहिन्छ ।

दुई वयस्कको सम्बन्धझैँ म चुपचाप माथि जान्थेँ । पिछवाडतिर पर्ने पछाडिको कोठा छिर्थेँ । ढोकाजत्रो झ्यालमा काठको रेलिङ हालिएको थियो । रेलिङ मभन्दा अग्लो थियो । म रेलिङको बारमा टाउको अड्याएर माथि आकाशतिर हेर्न थाल्थेँ । यहीवेला जब मयूरको मेहाओऽऽ...मेहाओऽऽ...सुन्थेँ, ममा एक्लोपन बढेर आउँथ्यो । मलाई मेरी आमाको याद आउँथ्यो, जसले मलाई जन्मेको ९ महिनामा मामाघरमा हजुरआमाको काखमा छाडेर घर फर्केकी थिइन् । तर, आमासितका मेरा कुनै सम्झना थिएनन् । कल्पेर परेला भिजाउन यादका निजी एल्बम थिएन । मलाई थाहा थिएन, मैले केको अभाव महसुस गरिराखेकी थिएँ ! बस् एउटा अभाव थियो कुनाकानीमा, यस्तै–यस्तै वेला दुखिरहने । 

आकाशको शून्यताले अघाएपछि म पछाडि कोठातिर फर्किन्थेँ । कोठाको बीचौबीच महुवाको रास लागेको हुन्थ्यो । माथि–माथि हरियो माखा भुनभुनाइरहेको हुन्थ्यो । वेला–वेला महुवा ठ्वास्सै नाकमा लाग्थ्यो । महुवाले मेरो गुडिया खेल्ने ठाउँ ओगटेको हुन्थ्यो । त्यो कोठा मेरो एकान्तिक कुना थियो, जहाँ म मेरो काल्पनिक साथीसँग एक्लै बोल्दै खेल्थेँ । तर, त्यहाँ प्रायःजसो महुवाको ढेर लगाइन्थ्यो । किनभने पछाडिको त्यो कोठामा महुवा लुकाउन सुरक्षित हुने गथ्र्यो ।

 
जबसम्म महुवाको रास अलि–अलि गर्दै घट्दैनथ्यो, तबसम्म मलाई त्यो कोठा छिर्नै मन लाग्दैनथ्यो । कोठामा यताउति गर्दा पाइतालामा टाँसिने, लामो सास फेर्दा रक्सीको खार आउने, हरियो माखाको भुँभुँले जीउ चिलाउने,अनि को खेलोस् त्यहाँ कल्पनामा रमाउँदै ! यस्तै वेला म बाहिर फुत्किने ताकमा रहन्थेँ । अनि मौका पाउनेबित्तिकै मैयाँसाहेबको चौहद्दीबाट सुट्ट गायब भैहाल्थेँ । त्यसपछि उनी टोल थर्काउँदै शिव ! शिव !! शिव !!! को हकारो लगाउँथिन् । 

म सँग–सँगै टोले केटाकेटीहरू पनि तर्सिन्थे । उनीहरू पनि खुर्रर्र लाएर घरतिर दौडिन्थे । मचाहिँ खेल बिगार्ने अपराधीझैँ अनुहार लुकाएर, मुन्टो घोप्ट्याएर लुरुलुरु घर फर्किन्थेँ। दिक्क लाग्थ्यो । न बाहिर कसैसित खेल्न दिएको छ । न भित्र खेल्ने ठाउँ छोडिदिएको छ । होइन, कति कडा हुन् के मेरी हजुरआमा ? के मैयाँसाहेबमा नरमपन नै छैन ? के उनी मुलायम चिजले बनेकै होइनन्? बनाउनेले उनलाई मलिलो माटोले होइन, फलामको साँचोमा ढलोट गरेको हो ?फलामभन्दा पनि साह्रो, खस्रो र गह्रँुगो जिन्दगानीको ढलोटमा मैयाँसाहेब बिस्तारै–बिस्तारै कठोर भएकी हुन् । 

भारतको कोलकातामा जन्मिएकी मैयाँसाहेबहरू आठजना दिदीभाइ थिए । हुर्कंदै गर्दा आठजनामा तीन भाइ र तिनी मात्रै बाँकी बचे । अरू चारजनालाई टिभीले लग्यो । मैयाँसाहेबका पिता कोलकाताका कुनै स्टेटका महाराजाकहाँ कारिन्दा थिए । भारत स्वतन्त्र भएपछि स्टेटका महाराजाको व्यवस्था खारेज भयो । त्यसपछि कारिन्दाहरूलाई पनि बिदा गरियो । मैयाँसाहेबहरू त्यसपछि नेपालको नयाँ मुलुक भनेर चिनिने नेपालगन्ज फर्किए । किनभने बराजुमाथि पहाड जाजरकोटबाट झरेर नेपालगन्ज हुँदै भारत लागेका थिए ।

कोलकाताबाट फर्किंदाको दृश्य मैयाँसाहेब जाडोमा मकल ताप्दा अक्सर सुनाउँथिन् । उनीहरू फर्किने दिन कोलकाताको ट्रेन स्टेसनमा दंगा सुरु भइसकेको थियो । स्टेसनमा भागदौड मच्चिएको थियो । किनभने, त्यसै दिन गान्धीको हत्या गरिएको थियो । बोल्दा–बोल्दै उनी आफैँ टोलाउन थाल्थिन् । नेपालगन्ज फर्कंदा मैयाँसाहेब १५–१६ वर्षकी थिइन् । यता फर्केपछि उनीहरूको चरम गरिबी सुरु भयो । खजुराको खोरिया फाँडेर मकैको भरमा उनीहरूले जेनतेन जिन्दगी घिच्याउन थाले । यहीवेला उनकी मुवालाई पनि टिबीले लग्यो । भोक, अभाव र टिबीबाट बच्दै जब मैयाँसाहेब २०–२२ वर्षकी पुगिन्, उनी विवाहका लागि ताकिन थालिन् । विवाहको प्रस्ताव लिएर एक–दुईजना लाहुरे आइसकेका थिए । यस्तैमा एकदिन उनको हात माग्न एकजना जात मिल्ने ठकुरी जागिरदार टुपुल्किए । उनका बाबुले उनैसित विवाह गरेर अन्माए । 

उनीहरूबाट ६ वटी छोरी जन्मिए । भन्नै परेन, यत्तिका छोरीहरू छोराकै आसमा जन्माइएका थिए ।मैयाँसाहेबको विवाहपछि नेपालमा राणा शासनविरुद्ध क्रान्ति सुरु भयो । ००७ साले क्रान्तिमा मैयाँसाहेब खुलेरै लागिन् । उनका श्रीमान् श्री ३ सरकारको मुखिया पदमा जागिरे थिए । उनलाई मैयाँसाहेबको संलग्नता हेरिनसक्नु भयो । यही कारणले उनीहरूबीच मनमुटाव बढ्दै गयो । मैयाँसाहेब जब्बर थिइन् । क्रान्ति सफल नहुन्जेल कांगे्रसको झन्डा लिएर हिँडिरहिन् । आफ्नै श्रीमान्विरुद्ध ‘इन्कलाब जिन्दाबाद !’ गर्नुपर्ने अवस्था आएपछि लोग्ने–स्वास्नीको सम्बन्ध जोड्न नसकिने गरी फाटियो । मैयाँसाहेबकी कान्छी छोरी जब पाँच वर्षकी पुगिन् उनको श्रीमान्को मृत्यु भयो । एक्ली मैयाँसाहेबको काँधमा छोरीहरूकोलालन–पालन आइलाग्यो । 

बचाएर राखेको पैसा कति दिन खान पुग्छ ! पैसा टाकटुक सक्किनुअगावै उनले व्यापार गर्ने सोचिन् । बाँके जिल्लाको सिमानामा त्यसवेला पदनाहा मेला लाग्थ्यो । त्यो खासमा थरूहट मेला थियो । त्यहाँ थरुनीले रुचाउने गिलटको सस्तो गहना बेच्न कसैले सुझायो । चिनजानको एकजना मुसलमान रज्जाकसित उनी मिलिन् । र, व्यापारमा हात बढाइन् । बनारसबाट गहना ल्याउने काम रज्जाकले गर्ने र पदनाहामा बेच्न उनी जाने । 

तर, मैयाँसाहेबलाई यो व्यापार फापेन । एक त गरिब थारूहरू, फेरी–फेरी गहना के गरी लगाउन् ! फेरी गिलट त चाँदीभन्दा नि बलियो हुन्छ । एकपटक किनेपछि वर्षौँवर्ष टिक्छ । नभइनहुने उपभोग्य सामान भए पो मान्छेहरूले किनिरहुन् ! त्यसैले मैयाँसाहेबका लागि यो व्यापार घाटा हुनथाल्यो । 

अब के गर्ने ? घरको आर्थिक अवस्था झन्–झन् खस्कँदै थियो । आफू बसिरहेको घरसमेत उनले ऋणमा राखेकी थिइन् । घर छुटाउन भए पनि उनलाई त्यही सुझ्यो, जुन त्यतिवेला केही निम्न वर्गीय मुसलमानहरूले गरिराखेका थिए । चरेसको पैठारी । माथि हिमाली जिल्लाबाट हटेरुहरू चरेस लिएर आउँथे । तलका मुसलमान व्यापारीहरूले किनेर प्याकिङ गर्थे । र, जंगलैजंगल सिमानापारि भारत पु¥याउँथे । यो कर्ममा अलि–अलि पैसा हुनुपथ्र्यो, पैसाभन्दा धेरै धैर्य हुनुपथ्र्यो, र सबैभन्दा धेरै आँट हुनुपथ्र्यो । मैयाँसाहेबले ६ वटी छोरीको मुख हेरिन् । शिरबाट उठ्नै लागेको घर हेरिन् अनि आँखा चिम्लेर हाम्फालिन् । 

चरेस पैठारी गर्न नेपालको सिमाना सहर नेपालगन्जदेखि भारतको युपीमा पर्ने मुरादाबादसम्मको ‘लाइन क्लियर’ हुनुपथ्र्यो । त्यो भनेको नेपालका सुरक्षाकर्मी र पारिका सिआरपीबाट बच्दै बचाउँदै मुरादापुरसम्म पुग्नु । सबैभन्दा ठूलो डर नेपाल–भारत सिमाना रुपैडिया बोर्डरमा रहेका गाउँमा हुन्थ्यो । रहरका खेतमा लुकेर बसेका डाँकाहरू गुरिल्ला शैलीमा आक्रमण गर्थे । र, ‘माल’ लुटेर लग्थे । 

त्यत्रो जोखिममा ‘माल’ पार गराएपछि अर्को समस्या आइलाग्थ्यो । मुरादाबादमा पैसा चुक्ता गर्न तस्करले झुलाउँथ्यो । १५–२० दिन त्यत्तिकै कुर्नुपथ्र्यो । अनि जति पैसा पाइन्थ्यो खाँदाबस्दा त्यहीँ नै टकटकिन्थ्यो । एकपटक उनले आफ्नो सट्टा एकजना चिनेका मुसलमानका छोरा रंगरेजलाई पठाइन् । तिनी भने त्यही खेपमै पक्राउ परे । तिनलाई तिहाड जेलमा चलान गरियो । यसपछि मैयाँसाहेबले यो कामै छाडिदिइन् । दुईवर्षपछि रंगरेज जब जेलबाट फर्किए, मैयाँसाहेबलाई उनमा छोराको प्रतीक झल्कियो । शायद । त्यसैले त उनको जिम्मेवारी त्यसउप्रान्त मैयाँसाहेबले लिन थालिन् । 

पछि उनी नै मेरा कल्लु मामा हुन पुगे । आकाशमा उदाउने चन्दामामाभन्दा पनि प्यारा ! चरेस पैठारीको काम छाडेपछि मैयाँसाहेबलाई धौधौ भयो । बिहान खाएपछि भरे के खाने ! निरक्षर मैयाँसाहेबलाई नांगा खुट्टा हिँड्न मन्जुर थियो, तर शिरको सप्कोमा सहानुभूति बटुल्न मन्जुर थिएन । ‘मैयाँसाहेब’ हुनुले उनको जीवनमा केही अर्थ राख्थ्यो । जातको अहम् ? सायद ! तर दमडी नहुनेका लागि त त्यै जात न खान मिल्छ न लगाउन । खालि भिर्न मात्र मिल्छ । त्यही भिरेर उनले महुवाको रक्सी बेच्न थालिन् । प्रतिबन्धित व्यापार भए पनि उनले यही काम आँटिन् । जोखिम मोल्दा–मोल्दा उनी दुस्साहसी भइसकेकी थिइन् । 

परम्परामा जकडिएकी, यथार्थले पेलिएकी मैयाँसाहेब विरोधाभासकी प्रतीक थिइन् ।  ‘रक्सी बेच्ने आइमाई’ भनेर उनी पहाडिया समाजको घेराभन्दा बाहिर पर्दै गइन् । छोरीहरू जवान भइसक्दा पनि कोही ठकुरी वर माग्न आएनन् । फलस्वरूप तीनैवटी छोरी ‘बेजात’सित हिँडिदिए । लोग्नेको मृत्युभन्दा पनि उनलाई यस कुराले ठेस पु¥यायो । मान्छेले हाकाहाकी उनका सामु केही भन्न नसके पनि त्यसको कसर छोरीहरूमा निकाल्न थाले । त्यसैले स्कुलदेखि सभासम्म हेलाहोचो सहन छोरीहरू अभिशप्त भए । निरुपाय मैयाँसाहेब झोंकजति गाहकीमाथि निकाल्थिन् ।

रक्सी खान आउनेसित उनको रुखो व्यवहार देख्दा त यस्तै लाग्थ्यो । यी सबको बाबजुद महुवाको रक्सीले मैयाँसाहेबलाई भर दिएको थियो । धरमर भइरहने बाँच्ने उपायलाई आडिलो बनाएको थियो । यस्तो पनि होइन, उनलाई वालछ्याल भएको होस् । वर्षामा चुहिने खपरैल घरको छानो वर्षैपिच्छे टाल्न जुर्दैनथ्यो । बस् पुगेस्–पुगेस् थियो जिन्दगानी । मुख्य कुरो उनी आत्मनिर्भर भएकी थिइन् । र, म जन्मेर उनीकहाँ हुर्कंदा मैयाँसाहेब आफ्नै सर्तमा जीवन धानिरहेकी थिइन् ।

लु लाग्ने गर्मी होस् वा शीतलहर चल्ने जाडो, मैयाँसाहेबको जीवन एक लयमा चलिआएको थियो । बिहान चार बजे उठ्ने । उठेर ठूलो चुलोमा दाउरा जोड्ने । पिछवाडमा गाडिएको गाग्रीबाट कुहाएको महुवा झिक्ने । त्यसलाई पित्तले ताउलोमा बसाल्ने । बीचमा स–साना प्वाल भएको घ्याम्पो जोड्ने र माथिबाट नरिवलको खपटा आकारको भाँडोमा पानी राख्ने । केहीबेरपछि पकाएको महुवाबाट बाफ उठ्थ्यो । त्यो बाफ बिस्तारै तरल हुँदै रक्सी बन्थ्यो ।

बिहान ११ बजेसम्म रक्सी तयार भइसक्थ्यो । एक अँगालो दाउराको घारी सक्काइवरी । तात्तातो रक्सी लिएर मैयाँसाहेब अँध्यारो कोठामा जान्थिन् । त्यो कोठाको नाम थियो ‘उहीघर’ । त्यस्तो नाम किन र कसरी रहन गयो कहिल्यै थाहा भएन । यत्ति बुझेकी थिएँ ‘उहीघर’ मैले जानु हुँदैनथ्यो । वर्जित थियो मेरा लागि । मैयाँसाहेब ‘उहीघर’को अँध्यारो कोठामा छिर्थिन् । त्यहाँ गएपछि उनले के गर्थिन् मैले थाहा पाउँदिनथेँ । तर, कान लगाएर सुनिरहेको चाहिँ हुन्थँे । निकैबेरपछि मात्र त्यहाँबाट एकनासको ध्वनि आउँथ्यो । मसिनो धारले खाली सिसीमा कलकलाउँदै रक्सी भरिरहेको । 

एकदिन मैले चिहाएर हेर्ने हिम्मत गरेँ । त्यहाँ मैले जे देखेँ, आँखा फा¥याफारै भएँ । मैयाँसाहेब त भित्र रक्सीमाआगो पार्दिरहिछन् । सिलावरे मगको रक्सीमा पारेको आगो भुइँमा पोखाउँदा पनि ननिभ्ने । तरल पदार्थको माथि–माथि निभ्दै बल्ने । अँध्यारो कोठामा नीलो लप्काको खेल जादुमय देखिन्थ्यो ।  त्यसरी मैयाँसाहेबले आफूले पारेको रक्सीको शुद्धता जाँच्दी रहिछन् ।

सिलावरको मगमा रक्सी बालेर । रक्सीबाट उठ्ने नीलो आगोको लप्का यति पन्यालो र पातलो हुँदोरहेछ, त्यसलाई हेर्न अँध्यारो कोठा नै चाहिने रहेछ । त्यति गरेपछि मैयाँसाहेबले पहिला त्यसलाई ढोग्थिन्, हत्केलामा जलझैँ लिन्थिन्, पञ्चामृतझैँ ओठमा छुवाउँथिन् र गंगाजल छर्केझैँ आफूमाथि छर्किन्थिन् । त्यसपछि उनी विभिन्न बान्कीका बोतलमा खन्याउँथिन् र खोयाबिर्को लगाउँथिन् । उनको ‘अध्धा’, ‘पौवा’ र ‘एक पूरा’ तयार हुन्थ्यो । 

यसरी बिहान चार बजेबाट मन लगाएर बनाएको रक्सी साँझमा झरक–फरक गर्दै बेच्थिन् । बिहानपख रक्सी खान आउनेलाई त मार झपारेर पठाउँथिन् । त्यति सबेरै खच्चर र गधामा लुगा लादेर धोबीहरू आइपुग्थे, डुँडुवा खोलामा दिनभरि लुगा धुन जानुअगाडि रक्सीको डोज लिन । तर, मैयाँसाहेब अडिग थिइन्, बिहानदेखि रक्सी नबेच्न । जब साँझको ६ बज्थ्यो, उनको व्यहार पूरै परिवर्तन हुन्थ्यो । एक त नातिनी अघिल्तिर रक्सी बेच्दाको ग्लानी, अर्को रक्सी बेच्नु परिरहेको कर्म सम्झेर आफैँसितको दिग्दारी ।

पिउन आउनेहरू पिँधका मान्छे हुन्थे । धोबी, दमाई, ठेला चलाउने, निम्न वर्गका मधेसी । प्रायःले त्यहाँ बसेर खान पाउँदैनथे । जो–जोलाई बस्न दिइन्थ्यो ती वर्षौँ–वर्षका वफादार गाहकी हुनेगथ्र्यो, जसले आफ्नो पिउने अड्डा यताबाट उता गर्दैनथ्यो । ती गिनेचुनेका हुन्थे । ‘अध्धा’ लिएर तिनीहरू आधा घन्टासम्म बसिरहन्थे । हग्न बसेको जस्तो भुइँमा टुक्रुक्क । तिनले सालका पातमा सितन बेरेर ल्याएका हुन्थे । धेरैजसो घमन्जा हुन्थ्यो । विभिन्न पकौडाको मिसमासलाई भनिन्थ्यो ‘घमन्जा’ । तिनीहरू भित्तातिर भावहीन अनुहार लगाएर पिइरहेका हुन्थे । 

म भने ट्वाल्ल परेर हेर्थेँ । तिनीहरू हरेक घुटपछि छाती जलेझैँ सास बाहिर फ्याल्थे । पकौडालाई बचेराको आहाराजति अलि–अलि टोक्थे । त्यसरी नै दुई टुक्रा पकौडा खान जुग लगाइदिन्थे । मैले हेरिरहेको देखेर कहिलेकाहीँ ‘ल मैयाँ खाऊ’ भन्दै मतिर पकौडा बढाइदिन्थे । मलाई कडिकडाउ थियो । नाइँ भनेर टाउको हल्लाउँथे । मैयाँसाहेबले देखिहालेमा खैरियत थिएन । दिने र पाउने दुवैलाई पुग्ने गरी कड्किन थाल्थिन् । 

जो–जोले आफूसित सितन ल्याएका हुँदैनथे, तिनीहरू थोरैतिनो नुन माग्थे । मैयाँसाहेब नुन दिन नि सकस मान्थिन् । बाहिरी ढोकाको आडमा एउटा खोपी थियो । खोपीमा उनले औषधिको अँध्यारो सिसीमा पिँसेको नुन–खुर्सानी राख्थिन् । अनि जोकोहीले नुन माग्थे तिनलाई खोपीको सिसी देखाएर आफैँ लेऊ भन्थिन् । मलाई भने त्यो खोपी जुठो छ, छोएमा मुखमा खटिरा आउँछ भन्दै सचेत गराउँथिन् । झुक्किएर जुठो खोपीमा हात पुग्दा मात्र पनि मैयाँसाहेबले सातो लिन्थिन् ।

रक्सी बेच्ने समयमा मैयाँसाहेब अनावश्यक रिसाइरहेकी हुन्थिन् । रक्सी खान आउनेसित बोल्दै नबोल्ने उर्दी हुन्थ्यो मलाई । उनी आफू पनि बोल्दैनथिन् । पिउनेहरू त्यहाँ एकछिन् बसेर घुट्क्याउँछु भन्दा झिझ्याहट मान्थिन् । उनी कस्तो मनोदशाबाट गुज्रँदै छिन् भन्ने मैले के बुझ्नु ! बाध्यताकी मारी मैयाँसाहेबप्रति सहानुभूति भन्दा मलाई रिस उठ्थ्यो । म पनि भित्रभित्रै उनीसित मुरमुरिरहेको हुन्थेँ । अहँ ! मलाई एकथोपा पनि ‘जिजुमुवा’ खाले माया लाग्दैनथ्यो । 

माया मलाई यिनको त्यतिवेला लाग्थ्यो, जब गाहकीहरू सबै गइसक्थे । उनी कमाएको पैसा गन्न बस्थिन् । खिया लागेको एउटा नीलो ल्याक्टोजिनको बट्टा थियो । मैयाँसाहेबले आफ्नो ‘बोहनी’ त्यसैमा राख्थिन् । चिमचिमाउँदै बुढ्यौली आँखामा बल दिँदैउनी बट्टाबाट पैसा निकाल्थिन् । र, एक–एक गर्दै सम्याउँथिन् । किनभने, ती पैसा उनका गाहकी जस्तै गलेका, तोडेर मोडिएका, च्यातिएका हुन्थे । बत्तीतिर पैसा देखाउँदै उनी ओर्काइफर्काइ च्यातिएको हो÷हैन जाँच्थिन् । नम्बर कटेका पैसा छन् भने आएका एक–एक गाहकी याद गर्दै बस्थिन् । अलि भेउ पाउनेबित्तिकै सराप्न थाल्थिन् ।

उनका अड्बांगे बानीले मान्छे कमै आउँथे । त्यसैले पनि भनेजति पैसा उनीसित हुन्थेन । तर, उनलाई कुनै गुनासो थिएन । कमाएर कसका लागि राख्ने ! उनी दुःखी हुन्थिन् ! छोरा भए पो ! यसो सुन्दा मलाई चसक्क बिझ्थ्यो । उनको बानीको औँसीपुर्णे सहेका एकजना थिए । कानपुरे मामा । हाम्रो गगनगन्ज टोलका लुगा सिलाउनेकर्मी । मैयाँसाहेबको अड्बांगेपनले उनलाई केही फरक पार्दैनथ्यो । त्यसैले होला, मैयाँसाहेबलाई पनि उनको कुटाइमा आउनेसित वास्ता थिएन । उनी टोल सुतिसक्दा बल्ल आइपुग्थे । हामी पनि बाहिर खटियामा झुल लगाएर पल्टिरहेका हुन्थ्यौँ । उनी अबेरसम्मै लुगा सिइरहन्थे । कामले नभ्याएर उनी अबेला आइपुग्थे । मैयाँसाहेबले उनका लागि रक्सी र गिलास छुट्याएर एक कुनामा राखिसकेकी हुन्थिन् । 

‘मुवा ! सुतिसक्नु भो ?’ भन्दै कानपुरे मामा आउँथे । र, त्यति राति पनि ‘नमस्ते’ आदान–प्रदान गर्थे । त्यसपछि उनी आफ्नो भागको ‘अध्धा’आफैँले उठाउँथे । अनि हामी सुतिरहेको खटिया अघिल्तिर टुक्रुक्क बस्थे । र, टोलभरिका बतासे कुरा सुनाउन थाल्थे । उनका कुरा मैयाँसाहेब उँघ्दै सुन्थिन् । यति सानो स्वरमा उनी कुरा गर्थे पल्लोपट्टि सुतेकी मैले केही बुझ्दिनथेँ । तर, उनका गुनगुन मलाई लोरीजस्तो लाग्थ्यो । उनी जानुअघि नै म भुस भइसक्थेँ । 

एकरात छोटौवा आइपुग्यो । छोटौवा पनि मैयाँसाहेबको गाहकी थियो । तर, त्यति राति आउने खालको होइन । ऊ रातको एक बजे जिन्नझैँ उभिएको थियो । मैयाँसाहेब हडबडाउँदै उठिन् । उनको साथसाथै मेरो निद्रा पनि खलबलियो । हामी घरबाहिर सडक किनारमा सुत्थ्यौँ । गर्मीमा टोलेहरू प्रायः त्यसरी नै सुत्ने गर्थे । 
छोटौवा राति त्यसरी आउँदा मैयाँसाहेब ज-याकजुरुक उठिन् । यसो हेरेको छोटौवा त आत्तिएको थियो । थोरै रक्सी मागिरहेको थियो । मैयाँसाहेबको पारा छुट्यो ।

तर, ऊ दुवै हात जोडेर उनको अघिल्तिर बस्यो । अनि भन्न थाल्यो, आफूमाथि परेको विपत् । छोटौवा आफ्नो साथी जुग्नुसित भारत गएको रहेछ । बहिराइच स्टेसनमा जुग्नु पिसाब फेर्न भनी लिकतिर गएछ । आधा घन्टा–पैँतालीस मिनेटपछि स्टेसनमा हल्लीखल्ली मच्चियो । थाहा भयो, पिसाब फेरिरहेको जुग्नुको खुट्टा बडीलाइलनको लिकमा च्यापिएछ । अनि ऊ आइरहेको ट्रेन तल कटेर मारिएछ । परेन फसाद ! ऊ एक्लै नेपालगन्ज फर्कियो । तर, जुग्नुको घरमा यो खबर कसरी सुनाओस् ! ऊ घरै नगई मैयाँसाहेबकहाँ आएछ । आँट बटुल्न उसलाई रक्सीको सहारा चाहिएछ ।

जुग्नुलाई मैयाँसाहेबले पनि राम्रैसित चिन्थिन् । उनी पनि खङ्रंग भइन् । चुपचाप खटियाबाट उठिन् र एक गिलास रक्सी ल्याएर छोटौवालाई दिइन् । छोटौवाले चुपचाप रक्सी पिइरह्यो । पिउन्जेल ऊ केही बोलेन । अध्ँयारो सन्नाटामा उसले घुटुक–घुटुक निलेको आवाज मात्र आइरह्यो । उसको अनुहार पसिनाले झिजेको थियो । त्यसमा उसको आँसु पनि मिसिएको हुँदो हो । पिइसकेपछि जुग्नुले गिलास हाम्रो खटिया तल थपक्क राखिदियो । र, केही नभनी सुटुक्क उठेर गयो । त्यस रात मलाई एकदमै डर लाग्यो । म मैयाँसाहेबको धोतीको फेर समाएर सुतेँ । 

बिहान उठ्दा मैयाँसाहेब छोटौवाको जुठो गिलास माझिरहेकी थिइन् । गाहकीका जुठा गिलास उनी आफैँ माझ्ने गर्थिन् । उनले छोरीहरूलाई कहिल्यै मझाइनन् । मलाई त झन् ती गिलासनिर फट्किन पनि दिन्नथिन् । त्यसदिन उनी कताकता टोलाएर छोटौवाको गिलास माझिरहेकी थिइन् । बडो एक्ली लागिरहेकी थिइन् । 
बुढ्यौलीमा मैयाँसाहेब एक्लिँदै गएकी थिइन् । केही आफ्नो कारणले, केही नियतिले । उनको दुईतले खपरैल घरमा हामीसँगै त थियौँ, तर एक–अर्काबाट धेरै टाढा । ‘छौँ’ भन्नलाई सहारा थियौँ, तर साथी हुन सकेनौँ । हामी एक–अर्काबाट काटिएर आ–आफ्नो एक्लोपनमा बाँचिरहेका थियौँ । 

मेरा लागि त्यो समय नै अर्को युग थियो । त्यो ठाउँ नै अर्को देश थियो । त्यो बाल्यकाल नै अजिबो–गरिब थियो । बुझ्ने गरी भन्ने हो भने कुनै कुरा पनि अरूहरूको जस्तो सामान्य थिएन । असामान्य थियो हामी नातिनी–हजुरआमाको सम्बन्ध र हामीबीच फैलिएको संसार । यही असामान्यता नै हाम्रा लागि सामान्य थियो ।

एक्लोपन कस्तो हुन्छ, सुन्नुभएको छ ?
मैले सुनेको छु । लामा दिनमा दिउँसो जब टोल चकमन्न हुन्थ्यो, म बिजुलीको पोलनिर जान्थेँ । बेसर्माको सन्ठीले पोलको फेदमा हिर्काउँथे । अनि बिजुलीको पोललाई च्याप्प समाउँदै पोलमा कान सटाउँथेँ । त्यसबाट मधुरो ‘टन्नऽऽ’को आवाज आउँथ्यो । म आँखा चिम्लेर सुनिरहन्थेँ । टोलको हरेक पोलबाट फरक–फरक ‘टन्नऽऽ’ सुनिन्थ्यो । सब बिर्सिएर म ध्यानस्थ हुन्थेँ । एक्लोपनको ध्वनिले मेरो एक्लोपन माथ्र्यो । 

मेरा लागि ‘एक्लोपन’ सुन्न सकिन्थ्यो, खेल्न सकिन्थ्यो । तर, मैयाँसाहेबका लागि ‘एक्लोपन’बडो क्रुर थियो । मेरो लागि ‘एक्लोपन’ शून्यता थियो । मैयाँसाहेबका लागि ‘एक्लोपन’ उदासी थियो । र, त्यसले उनलाई कुटुकुटु खाइरहेको थियो । दिउँसो–दिउँसो तखतमा बसेर बाटोतिर हेर्दै टोलाउनु ! सँगै खाए पनि चुपचाप केही नबोली खानु ! रक्सीको भरभराउँदो आगोमा एकटकले हेरिरहनु ! एक्लोपन नभई के थियो त ?

मलाई मैयाँसाहेबको छायामा परेको ‘जिजुमुवा’ को माया लाग्थ्यो । तर, उनीजस्तो कडक मान्छेलाई माया कसरी देखाउनु ? माया गर्न जान्न त माया कसैले गरेर देखाएको पनि त हुनुप-यो ! त्यसैले मायाभन्दा मैले उनको इज्जत गर्न जानेँ । सानोमा मेरो परिचय कसैले सोध्दा, म आफ्नो नाम सानो स्वरमा भन्थेँ । र, त्यसपछि ‘मैयाँसाहेबको नातिनी’ भन्न छुटाउँदिनथेँ । किनभने, मधेसी र मुसलमान समुदायमा मैयाँसाहेबलाई अदब गर्थे । तिनीहरूलाई प्रायः नागरिकताको समस्या आइलाग्थ्यो । र, मैयाँसाहेब दलबलसहित अञ्चलाधीशकहाँ जान्थिन् । अनि आफ्नो रोहबरमा सर्जमिन गराइवरी नागरिकता दिलाउँथिन् । त्यसैले ‘मैयाँसाहेबको नातिनी’ भन्दा मलाई सबले काखैकाख गर्थे ।

अब भन्नुस्, यस्ती मैयाँसाहेब जसले रक्सी बेचेर छोरीहरूलाई पढाइन् तिनीमाथि गर्व लाग्छ कि लाग्दैन ? यस्ती मैयाँसाहेब जसले गरिब हुनु भनेको पैसा नहुनु होइन स्वाभिमान नहुनु हो भनेर सिकाइन्, तिनी आदर्शकी लायक हुन् कि हैनन् ? त्यस्ती मैयाँसाहेब तपाईंको ‘जिजुमुवा’ भएकी भए के तपाईं उनको परिचय लुकाउनुहुन्थ्यो ? तर, मैले लुकाएको छु ! जब समाजको वर्ग, वर्ण, जातपात मेरो चेतनामा घुस्यो । मेरा ६ जनै आमाहरूले लुकाएका छन् । जब समाजले उनीहरूलाई ‘रक्सी बेच्नेकी छोरी’ भनेर हेला गरिरहे । 

वर्ग, वर्ण, लिंग, समुदायमा आधारित विभेद गर्ने समाजमा आज पनि कतिजनाले आफ्नो परिचय र पृष्ठभूमि लुकाउनुपरेको छ । सहरमा डेरा खोज्न, विवाह गरेर नाता जोड्न, ‘सोसाइटी’मा ‘फिट’ हुन हामी कतिजनाले आफ्नो परिचय ढाँटेका छौँ । आफ्नो पृष्ठभूमि लुकाएका छौँ । यो व्यक्तिविशेषको ढँटाइ मात्र होइन, यसमा समाजको पनि मिलेमतो छ । यी उँचनीचका कसी र ‘भित्र’ र ‘बाहिर’ पारिने घेराबाट के हामी मुक्त हुन सक्दैनौँ ? मैयाँसाहेब बितेको ३२ वर्ष भइसकेको छ । उनको जस्तो संघर्ष गर्ने महिलाका कथा लेखेर मैले प्रायश्चित गर्नु छ । र, माथिको प्रश्न समाजसित बारबार सोध्नु छ । 

उपसंहार
एकपटक म र मैयाँसाहेब भारतको कानपुर गएका थियौँ । उनको स्वास्थ्य जँचाउन । हस्पिटलको परिसरमा हामी उनको पालो कुरिरहेका थियौँ । एउटा अजंगको रूखमुनि हामी सुस्ताउँदै थियौँ । मैयाँसाहेब वेला–वेला मास्तिर रूखलाई हेरिरहेकी थिइन् । एकछिनपछि उनले भनिन्, ‘यो महुवाको रूख हो ।’  ‘महुवाको रूख !’ वाल्लिदै म रूखका एक–एक पातलाई सशंकित आँखाले हेर्न थालेँ । मानौँ यस्तो ज्यानदार हरियो रूखमा कुहिएको महुवा फुल्नै सक्दैनजस्तो । तर, रूखमा फूल लाग्ने वेला भएको थिएन ।

मचाहिँ घरमा देख्दै आएको सुकेको महुवा खोजिरहेको थिएँ । त्यसपछि मैयाँसाहेबले बल्ल भनिन्– त्यो महुवा पहिला सेतो फूलको रूपमा यसमै फल्छ । पाकेपछि पोटिलो हरियो बन्छ र त्यसमा मद भरिएको हुन्छ । जब त्यो झर्छ, त्यसपछि नै त्यसलाई सुकाइन्छ । म भने चारैतिर हाँगा फिँजाएर फैलिएको रूख हेर्दै दंग परिरहेँ । मैयाँसाहेबले वर्णन गरिरहेको महुवाको फूलको कल्पना गर्दै । हरियो, चिल्लो र सफा रूखमा चिपचिपाउँदो कालो–खैरो महुवा कल्पना गर्नै गाह्रो ।

त्यस्तै, कल्पना गर्न गाह्रो भयो जब मैले विवाहपूर्वको मैयाँसाहेबको वर्णन आमाबाट सुनेँ । जवानीमा मैयाँसाहेब अति सुन्दर युवती थिइन् अरे । अग्ली, गोलो बाटुलो आँखा, नितम्बसम्मको झप्प कपाल भएकी । उनी कुशल पौडीबाज पनि थिइन् अरे । गहिरो फराकिलो पोखरीमा पौडी खेल्नमा माहिर । यस्तैमा एकजना लाहुरेले उनलाई असाध्यै मन पराए रे ! तर, उनका पिता जातका कारणले बिहेका लागि राजी भएनन् । पछि ती लाहुरेले उनलाई सुटुक्क खबर पठाए रे– म घोडा लिएर आउँछु, तिमी झ्यालबाट हाम्फाल्नु भनेर । तर, मैयाँसाहेबले त्यसो गर्न सकिनन् । 

फुंग उडेको खरानीजस्ती मैयाँसाहेब कुनै वेला हेरिरहुँ लाग्ने स्वास्नीमान्छे पनि थिइन् होला र ? कठोर आचरण भएकी मैयाँसाहेबमा कसैलाई प्रेम गर्न सक्ने नौनी मन पनि थियो होला र ? अचम्म !मैले त मैयाँसाहेबको जरजर रूप देखेको थिएँ । जस्तो मैले देखेको थिएँ, महुवाको कुहिएको रूप मात्र ! र, यही नै मेरो जिन्दगीको सबैभन्दा सुन्दर सम्झना हुन पुग्यो । म रक्सी खान्नँ । वाइन, स्याम्पेन, बियर, गुरीगुरी जाँड केही लिदिनँ । यत्तिमै म जिन्दगीसित लट्ठिएर डेढ इन्चमाथि छु । हो, मलाई मैयाँसाहेबको घरमा रगमगिने महुवाको मद लागेको छ !