• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २५ शनिबार ०७:४५:००
समाज

नोम चोम्स्कीसँग अन्तर्वार्ता : ‘मार्क्सवादीहरू भ्रममा छन्’

२०७६ श्रावण २५ शनिबार ०७:४५:००
नयाँ पत्रिका काठमाडाैं

फ्रान्सेली अराजकतावादी चिन्तक पियरे जोसेफ प्रुडोनले भनेका थिए, ‘समाजवाद र एकात्मकवादले समयक्रममा सबैभन्दा खराब अधिनायकत्व जन्माउँछ ।’ रुसको फेब्रुअरी क्रान्तिको प्रजातान्त्रिक उपलब्धि सोहीअनुरूप अक्टोबर क्रान्तिले ध्वस्त बनाएको भनेर ड्यानियल गुरिनजस्तामार्क्सवादीले भनेका छन् । संसारमा सर्वहाराको अधिनायकत्वको आवरणमा सर्वहारामाथिको अधिनायकत्व कुनै नौलो कुरा नभएका नजिर हाम्रै सामु छन् ।

समाजवादी भनिएको सोभियत अर्थव्यवस्थालाई अमेरिकी इतिहासकार चाल्र्स भ्यान डोरेन अन्ततः राज्य प्रायोजित पुँजीवादको संज्ञा दिन्छन् । यस्ता उदाहरण विश्वमा धेरै भेटिन्छन् । यस्तैमा मार्क्सवाद  र व्यवहारमा आएको भनिएको मार्क्सवादमाथि फरक आलोकमा हेर्नका लागि यो अन्तर्वार्ता गरिएको हो । घोषित मार्क्सवादीको व्यवहार र चिन्तनमाथि दार्शनिक नोम चोम्स्कीले प्रश्न उठाउँदै गर्दा यसको सान्दर्भिकता नेपालमा पनि उत्तिकै छ । आफ्नो बहुमूल्य समय खर्चेर मलाई इमेलमा उत्तर दिने चोम्स्कीलाई विशेष धन्यवाद । अन्तर्वार्ता क्रममा लेखक शिवप्रसाद तिवारीले पनि सहयोगी भूमिका खेलेका छन् । 

हिटलर वा अमेरिकाको अपराधको निन्दा गर्ने कम्युनिस्टहरू स्टालिन वा माओको अपराधको कुरा गर्दा बचाउ गर्छन् नि, किन ?
मानिसहरूको अनौठो प्रवृत्ति हुन्छ, आफूलाई असहज लाग्ने कुराको विश्वास नै नगर्ने । 

तपाईंले ‘द कमन गुड’ पुस्तकमा लेनिनवादका धेरै पक्षमा उग्रदक्षिणपन्थी चिन्तन देखिन्छ भन्नुभएको छ । तर, पनि संसारका प्रायः क्रान्ति मार्क्सवाद–लेनिनवादकै नारामा छन् नि ?

संसारमा मार्क्सवाद र लेनिनवादको नाममा क्रान्ति हुनुमा केही कारण छन् । पहिलो, मार्क्सवाद मान्नेहरू केही हदसम्म भ्रममा छन् । दोस्रो, पश्चिमा शक्तिहरू दुस्मन हुन् भन्ने बुझाइका कारण पनि मानिसहरू त्यस्ता आन्दोलनमा लागेका हुन् । तेस्रो, त्यो वेला रुसबाट सहयोग पाउने आशाका कारण पनि (मार्क्सवाद–लेनिनवादलाई) भजाइएको हो । चौथो र अन्तिम कारण आन्दोलन नेतृत्व गर्नेहरूमा अधिनायकवादी चिन्तन छ । 

साम्यवाद र अराजकतावाद (एनार्किज्म) बीचको भिन्नताबारे छोटकारीमा बताइदिनुस् न !

यी दुई धारणाका धेरै आयाम छन् । तिनका बारेमा थप गहिराइमा र स्पष्ट व्याख्या नगरीकन यो प्रश्नको प्रस्ट उत्तर दिन सकिँदैन । फ्रेडरिक एंगेल्सका अनुसार, साम्यवादी र अराजकतावादीको उद्देश्य एउटै थियो, तर उनीहरूको त्यहाँसम्म पुग्ने माध्यम भने फरक थिए । तर, एंगेल्सले अथ्र्याएको साम्यवाद बोल्सेभिक क्रान्तिमा जीवित थिएन । 

कम्युनिष्ट घोषणापत्रमा लेखिएको छ– व्यक्तिको स्वतन्त्र विकास नै अन्ततः सम्पूर्ण विकासको आधार हो । तथापि मिखायल बाकुनिनले साम्यवादलाई स्वतन्त्रताको बाधक भनेका छन् । यसलाई स्पष्ट पारिदिनुस् न !

(मार्क्स  र बाकुनिनबीचको) विवाद फरक विषयमा थिए । संगठित हुने र अगाडि बढ्ने कार्य अधिनायकवादी नियन्त्रणमा गर्ने वा स्वतन्त्र रूपमा संगठित भएर जाने भन्ने विषयमा विमति थिए । असहमति यहाँ भनिएकोभन्दा पनि जटिल प्रकृतिको थियो । 

भियतनामको सन्दर्भमा रोबर्ट डी कप्लानले उनको पुस्तक ‘द रिभेन्ज अफ जिओग्राफी’मा भनेका छन्, ‘अमेरिकी सेनाको उपस्थितिपूर्व नै भियतनामी कम्युनिस्टले दसौँ हजार भियतनामी मारेका थिए ।’ यसलाई कसरी हेर्नुहुन्छ ?

कप्लान यस विषयमा त्यत्ति विश्वास गरिनुपर्ने स्रोत होइनन् । मलाई लाग्छ, उनले भियतनामको उत्तरी क्षेत्रमा भएको असफल भूमिसुधारको कुरा गरेका हुन्, जसमा धेरै मानिस मारिएका थिए । जब कि सन् १९५० को दशकमा अमेरिकाले जेनेभा सम्झौताविपरीत स्थापना गरेको भियतनामी सरकारले ६० देखि ७० हजार मानिस मारेको थियो । साथै, यसले जनतालाई नराम्ररी दमन पनि गरेको थियो । त्यसले गर्दा सत्ताले धान्न नसक्ने गरी विद्रोह हुन थाल्यो । त्यसैकारण जोन एफ केनडीले युद्धको गति अझै तीव्र बनाए । भियतनाम युद्ध यसैको निरन्तरता थियो । 

निकिता ख्रुस्चेवको ‘शान्तिपूर्ण सहअस्तित्व’ को नीति विश्वशान्तिका लागि एउटा पहल थियो वा विश्वक्रान्तिलाई धोका ?

न ख्रुस्चेव न अन्य कुनै सोभियत नेताले नै साँचो अर्थमा विश्वक्रान्ति चाहेका थिए । उल्टै, उनीहरू यस्तो क्रान्तिसँग डराउँथे । 

एउटा बहस छँदै छः बोल्सेभिकले गरेको क्रान्ति हो वा ‘कु’? तपाईं स्वयं यसलाई ‘कु’ भन्नुहुन्छ । क्रान्ति र ‘कु’मा के फरक छ ? 

‘कु’ले सीमित व्यक्तिको हातमा शक्ति केन्द्रित गरिदिन्छ । क्रान्तिले व्यापक र बृहत् (सामाजिक, राजनीतिक आदि) परिवर्तन ल्याउँछ । 

स्टालिनले सुरु गरेको दमनकारी शैलीलाई खुकुलो बनाउने ख्रुस्चेवको कदम (ख्रुस्चेव थ)ले सम्पूर्ण पूर्वी ब्लकको शासनमा केही परिवर्तन ल्याएको थियो ? 

अस्थायी रूपमा केही परिवर्तन भएको थियो । तर, उनको प्रयासलाई अमेरिकाको शत्रुतापूर्ण व्यवहारले रोक्यो र सफल हुन दिएन । उनी आक्रामक अवस्थामा रहेको सोभियत सेनाको संख्यामा कटौतीका लागि पहल गर्दै थिए । यद्यपि सैनिक मामलामा रुस अमेरिकाभन्दा धेरै पछि थियो । केनडी प्रशासनले दोस्रो विश्वयुद्धपछिकै ठूलो सैन्य शक्ति निर्माण गरेर उल्टो प्रतिक्रिया दियो । त्यसलगत्तै (क्युबाको) मिसाइल संकट सुरु भयो । त्यसैकारण समयक्रममा हार्डलाइनरहरू मजबुत बने र उनीहरूले ख्रुस्चेवलाई हटाए । 

अराजकतावादी भए पनि तपाईं राज्यलाई तत्काल विलय गराउनुहुँदैन भन्ने राय राख्नुहुन्छ । राज्य जत्ति नै दमनकारी होस्, यसले थोरै भए पनि आवाजविहीनलाई न्यायको प्रत्याभूति दिन्छ भन्ने तपाईंको राय छ । राज्य विलयका लागि कस्तो सामाजिक, आर्थिक र राजनीतिक अवस्था हुनुपर्छ ?

अराकतावाद (एनार्किज्म)ले दमनकारी र विभेदकारी (हाइ-यार्किक) संस्थाहरूलाई विघटन गरेर (साँचो अर्थमा) लोकतान्त्रिक नियन्त्रण भएका र सहभागितामूलक संस्थाहरू स्थापना गर्ने लक्ष्य राख्छ । यस्तै पृष्ठभूमि सिर्जना भए दीर्घकालीन रूपमा अहिले विद्यमान रहेको किसिमको राज्य शक्तिको विघटन–विस्थापन सम्भव हुन्छ । 

मिखायल गोर्वाचेव बर्लिनको पर्खाल ढल्न र शीतयुद्धको अन्त्यको कारण हुन् । तपाईं उनलाई कसरी हेर्नुहुन्छ ?

म उनीप्रति अलि सकारात्मक छु । नेतृत्व तहमा यस्ता व्यक्ति प्रायः हुँदैनन् ।

 सोभियत संघ र पूर्वी ब्लकको पतनसँगै उनीहरूले एक्कासि खुला बजार अर्थतन्त्रअन्तर्गत ‘शक इकोनोमिक थेरापी’ अँगाले, जसले आर्थिक असमानता बढायो भन्ने तपाईंको निष्कर्ष छ नि ! 

यस विषयमाथि आर्थिक इतिहासकार एलिस आम्स्डेनले लेखेकी छिन् । 

सोभियत संघको पतनसँगै शक्ति फेरि केही सीमित व्यक्तिको मुट्ठीमा गयो । जस्तोः रुसमा बोरिस यल्त्सिन वा उज्वेकिीतानमा इस्लाम करिमोभ । सोभियत युगपछि भएका यस्ता परिवर्तनलाई कसरी बुझ्ने ? 

बजार सुधारका क्रममा ती मुलुकका अर्थतन्त्र सरदर पचास प्रतिशतले खुम्चिए र १० लाख मानिसले ज्यान गुमाए । केही आकलनले यही कारणले एक करोड मानिसको ज्यान गुमेको दाबी गरेका छन् । त्यो विध्वंस निकै ठूलो थियो । यस्तै कारण ‘रुसलाई फेरि महान् बनाऔँ’ भन्ने नारामा भ्लादिमिर पुटिनजस्ता अधिनायकवादी तानाशाहको उदय गरायो । 

(अन्तर्वार्ताकार नवीन तिवारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् । उनी अध्यापनरत छन् ।)