
भनिन्छ, साहित्य समाजको प्रतिबिम्ब हो । समाजको यथार्थ प्रतिबिम्बन गर्न लेखकले त्यही समाजको इतिहास, संस्कृति र अर्थ–राजनीतिको कत्तिको अध्ययन गर्छन् ? कथा–उपन्यास लेख्नुअघि आख्यानकारहरूले गर्ने अध्ययन र अनुसन्धानबारे राजु स्याङ्तानको रिपोर्ट :
गैरआख्यान लेख्नेहरू भन्छन्, ‘अध्ययन–अनुसन्धानविना लेखिएको आख्यान मासुको थुप्रोसरह हुन्छ । त्यो थुप्रोभित्र प्राण हुँदैन, ब्रह्मनालमा तेर्सिएको शरीरजस्तै हुन्छ ।’ आख्यान लेख्नेहरू भन्छन्, ‘आख्यान भनेको लेखकले कल्पनाद्वारा निर्माण गर्ने नयाँ संसार हो । त्यस्तो संसार निर्माण गर्न कल्पनाको तीव्रता चाहिन्छ । कल्पनाको तीव्रताले सिर्जना जन्मिन्छ, अनुसन्धान बढी भयो भने शोधग्रन्थ बन्छ ।’
यी भनाइलाई उदाहरण मानेर भन्न सकिन्छ– आख्यान र गैरआख्यान लेखकबीच बहस चर्को छ । उनीहरूको बाटो फरक छ । गैरआख्यान लेखक अनुसन्धानविनाको लेखन अधुरो ठान्छन् भने आख्यान लेखक सिर्जनाका लागि कल्पना अति–आवश्यक ठान्छन् । आख्यान लेख्नुअघि लेखकहरू कत्ति अध्ययन–अनुसन्धान गर्छन् ? आख्यान लेखक समाजमा खट्किएको विषयमा नयाँ साहित्य थप्छन् कि भइरहेको साहित्य–भण्डारमा अर्को एक थान
किताब थप्छन् ? यही विषयमा केही चर्चा गरौँ ।
‘लिटरेचर रिभ्यु’ कति आवश्यक ?
किताब लेख्नुअघि गरिने अध्ययन–अनुसन्धान र खोजको चरणलाई आख्यानकार आ–आफ्नै ढंगले विश्लेषण गर्छन् । समाज अध्ययनका अन्य विधामा अपनाइने ‘लिटरेचर रिभ्यु’ आख्यान लेखनमा समेत उपयोगी हुने समाजशास्त्री मधुसूदन सुवेदी बताउँछन् । ‘लिटरेचर रिभ्यु समाजलाई अझ गहिरिएर बुझ्ने प्रक्रिया हो,’ सुवेदी भन्छन्, ‘राम्रा आख्यान समाजमा बढी सान्दर्भिक लाग्नु लेखकले गरेको लिटरेचर रिभ्युकै परिणाम हो ।’
‘ज्ञ’ उपन्यासका लेखक कुमार नगरकोटी ‘लिटरेचर रिभ्यु’ अति आवश्यक भएको बताउँछन् । ‘लेखकको पहिलो पुँजी नै अध्ययन हो । आख्यान लेख्दा मात्र होइन, अरू वेला पनि पढ्नु आवश्यक हुन्छ ।’ ‘योगमाया’ उपन्यासकी लेखक नीलम कार्की ‘निहारिका’ आख्यान लेखनपूर्वको अध्ययन–अनुसन्धान अपरिहार्य कार्य भएको बताउँछिन् । भन्छिन्, ‘योगमाया लेख्न मैले केही ऐतिहासिक तथ्यगत पुस्तक पढेँ, केही ऐतिहासिक उपन्यास पनि पढेँ ।’ ‘योगमाया’कै लागि उनले लामो समय योगमायाको जन्मस्थल पुगेर स्थलगत अध्ययन पनि गरिन् । ‘लेख्नुपूर्व समाजको सूक्ष्म अध्ययन गर्नुपर्छ, जीवनभित्र पस्नुपर्छ ।’
‘नथिया’ उपन्यासकी लेखक सरस्वती प्रतीक्षा आख्यानकारलाई लिटरेचर रिभ्यु झनै आवश्यक पर्ने ठान्छिन् । ‘लिटरेचर रिभ्युले लेखकलाई बड्र्स आई भ्यु दिन्छ,’ प्रतीक्षा भन्छिन्, ‘आफूले कुँदेर मूर्ति बनाउनुअघि अरूले बनाएका मूर्तिको अनुहार पनि हेर्नु जरुरी हुन्छ, ता कि आफूले बनाउने मूर्ति अरूको भन्दा फरक होस् ।’
‘मैदारो’ उपन्यासका लेखक भूपिनको विचार पनि प्रतीक्षासँग मिल्छ । भू्पिन भन्छन्, ‘लिटरेचर रिभ्यु वस्तुगत, तथ्यगत र विश्वसनीय सिर्जनाका लागि अपरिहार्य छ ।’
‘दमिनी भिर’ उपन्यासका लेखक राजन मुकारुङ भन्छन्, ‘आख्यानकारहरू लेख्नुअघि मै जान्ने छु भन्दै घमन्ड गर्छन्, अनि लेखिसकेपछि लिटरेचर रिभ्यु गर्नुपर्ने रहेछ भन्दै पछुताउँछन् ।’ जब पाठकको प्रतिक्रिया आउन थाल्छ, त्यसवेला मात्रै लेखकको होस खुल्ने गरेको राजन बताउँछन् । ‘पैताला’ उपन्यासका लेखक गनेस पौडेल लेख्ने विषय अध्ययनसँगै व्यक्ति, समाज वा आफ्नै अनुभवको विवेचनाबाट फेला पर्ने बताउँछन् । पौडेलको निष्कर्ष छ, ‘अध्ययन–अनुसन्धानविना आख्यान लेख्न सम्भव छैन । लेख्दै जाँदा तथ्य र सन्दर्भको व्यापक सोधखोज गर्नुपर्छ ।’
‘फातसुङ’ उपन्यासका लेखक छुदेन काविमोको विचार पनि अघिल्ला लेखकसँग मिल्छ । उनी पुरानो इतिहास मेट्नेले कहिल्यै नयाँ इतिहास लेख्न नसक्ने बताउँछन् । भन्छन्, ‘लेख्नुअघि आफूले लेख्न लागेको विषयमा अरूले के लेखे भनेर बुझ्नु जरूरी छ ।’ ‘लाटो पहाड’ कथासंग्रहका लेखक उपेन्द्र सुब्बाको दृष्टिमा पनि आख्यान लेख्नुअघि पूर्वसाहित्य समीक्षा अत्यन्त जरुरी हुन्छ । ‘सयौँ पुतली’ कथासंग्रहकी लेखक उमा सुवेदी भन्छिन्, ‘आफूले लेख्न थालेको विषयमा अरूले के लेखे भनेर खोज्नु महत्वपूर्ण छ ।
‘ऐना’, ‘सखी’ उपन्यासका लेखक रामलाल जोशीका अनुसार, कुनै पनि विषयको परिपक्व ज्ञान र सामाजिक व्यवस्थालाई विश्वसनीय ढंगले प्रकट गर्न पूर्वसाहित्य समीक्षा आवश्यक हुन्छ । अझ आञ्चलिक र अनुसन्धान्मूलक लेखनका लागि यो बढी आवश्यक देख्छन् उनी । ‘तर, लेखक स्वयं लेख्न खोजिएको विषय, त्यहाँको समाज र दर्शनबारे भलिभाँती जानकार छ भने लिटरेचर रिभ्यु आवश्यक नहुन सक्छ,’ उनी भन्छन्, ‘किनभने आख्यान भनेको लेखकले आफ्नो कल्पनाद्वारा निर्माण गरेको नयाँ संसार हो ।’
उनी आख्यानकारले नयाँ पात्र, नयाँ समाज र नयाँ संसार निर्माण गर्न लिटरेचर रिभ्युभन्दा कल्पनाको तीव्रता बढी आवश्यक देख्छन् । भन्छन्, ‘कल्पनाको तीव्रता बढी भयो भने सिर्जना जन्मिन्छ, लिटरेचर रिभ्यु बढी भयो भने सिर्जना होइन, शोधग्रन्थ तयार हुन्छ ।’ लिटरेचर रिभ्युबारे माथिका विचारभन्दा भिन्न विचार राख्छन् ‘अविजित’का लेखक विप्लव प्रतीक । भन्छन्, ‘आफूले लेख्न लाग्दा अरूले के लेखे भन्दा पनि म के लेख्दै छु, त्यसमा स्वयं लेखक कति कन्भिन्स छ भन्ने विषय महत्वपूर्ण छ ।’ आफ्ना लागि आफैँ निर्मम समीक्षक बनेर भित्रैबाट आफू कन्भिन्स भएपछि मात्रै लेख्नुपर्ने उनको मत छ ।
कसले के पढे ?
माथि उल्लेखित आख्यानकारका आख्यान पाठकमाझ चर्चामा छन् । प्रायः किताबले महत्वपूर्ण पुरस्कार पनि जितिसकेका छन् । अधिकांश आख्यानकार पूर्व–साहित्य समीक्षाको पक्षमा देखिए । उनीहरूले आफ्नो किताब लेख्नुअघि कस्ता–कस्ता किताब पढे ? किताब लेख्न उनीहरूले समाज–अध्ययन कति गरे ? यो महत्वपूर्ण विषय हुन सक्छ ।
‘फिक्सन डिजाइनर’ नगरकोटी आख्यान लेख्नुअघि कस्ता किताब पढ्छन् ? सांसारिक दुनियाँभन्दा पर काल्पनिक दुनियाँमा चुर्लम्म डुबेर लेख्छन् कि समाजको गतिसँग हेलिँदै लेख्छन् ? किताब लेख्नुअघिको उनको अध्ययन अनुभव अरूभन्दा भिन्न छ । भन्छन्, ‘उपन्यासकै लागि भनेर कुनै निश्चित पुस्तक पढ्नुपर्छ भन्ने छैन । अध्ययन त निरन्तर गरिरहनुपर्छ ।’ आख्यान लेखनमा वास्तविक चरित्रभन्दा काल्पनिक चरित्रमा निर्भर हुने उनको स्टाइल छ । उनी उपन्यास लेख्न किताब अध्ययन एउटा मात्रै माध्यम भएको र अध्ययनका विभिन्न ‘डाइमेन्सन’ हुने बताउँछन् । भन्छन्, ‘सिनेमा हेर्दाहेर्दै र पेन्टिङमा डुब्दाडुब्दै पनि विषय क्लिक हुन सक्छ । मेरो लेखन प्रक्रिया यही हो ।’
‘अविजित’ लेख्नुअघि स्वदेशी र विदेशी धेरै पुस्तक पढेको अनुभव छ, प्रतीकसँग पनि । भन्छन्, ‘स्वेदशी र विदेशी पुस्तक पढिसकेपछि पुस्तकमा केही अपुग भएको अनुभव गरेँ । ती पुस्तकमा लेखकका घमन्ड र ईष्र्या पाएँ । त्यसपछि अविजित लेख्न थालेँ ।’ जे. कृष्णमूर्तिको केही किताब र ओशोका भाषण पनि सुनेको प्रतीक बताउँछन् ।
आफ्नै परिवेशको कथा भएकाले ‘लाटो पहाड’ लेख्नुअघि कुनै पुस्तकको आवश्यकता नपरेको बताउँछन्, सुब्बा पनि । भन्छन्, ‘लाटो पहाडका कथाहरू मेरै समाजको, मैले नै भोगेका कथाहरू भएकाले सजिलो भयो । धेरै दुःख झेल्नु परेन ।’ तर, ‘सयौँ पुतली’ लेख्नुअघि पुराना र समकालीन कथाकारका धेरै पुस्तक पढेको बताउँछिन्, सुवेदी । भन्छिन्, ‘महिला मुद्दामा केन्द्रित महिलाले नै लेखेका पुस्तक धेरै पढेँ ।’ अर्चना थापा, आन्विका गिरी, मनीषा गौचन, माया ठकुरी, प्रेमा शाहलगायतका लेख तथा कथा पढेको उमा बताउँछिन् ।
‘नथिया’ लेख्नुअघि बादी समुदायमाथि विश्वविद्यालयमा बुझाइएका थेसिस अध्ययन गरेको अनुभव सुनाउँछिन्, प्रतीक्षा । त्यसपछि ज्ञानको दायरा फराकिलो बनाउन जनकलाल शर्माको ‘हाम्रो समाजः एक अध्ययन’, नगेन्द्र शर्माको ‘नेपाली जनजीवन’, प्रेम खत्रीको ‘नेपाली समाज र संस्कृति’ र आचार्य चतुरसेनको उपन्यास ‘वैशाली की नगरवधू’को पत्रपत्र केलाएर पढेको सुनाउँछिन् उनी ।
‘पैताला’ तान्त्रिक कथावाचन भएकाले हिन्दू र बौद्ध धर्मका केही किस्साको पुनर्पठन गरेको अनुभव सुनाउँछन्, पौडेल । भन्छन्, ‘मूल सन्दर्भका लागि ‘विज्ञान भैरव तन्त्र’ पढेँ । माक्सोतीको चित्रणका लागि मुन्धुम पढेँ । जनकपुरको मिथिला तन्त्रलाई महसुस गर्न ‘विदेह दर्शन’ पढेँ ।’ ‘सखी’ थारू जातिसँग सम्बन्धित आञ्चलिक उपन्यास भएकाले उपन्यास लेख्नैका लागि धेरै अध्ययन नगरिएको जोशी बताउँछन् । भन्छन्, ‘उपन्यास लेख्नकै लागि भनेर मैले कुनै किताब पढिनँ ।’ उनी ‘सखी’लाई आफ्नै जीवनको नजिकको छाया मान्छन् । भन्छन्, ‘जुन विषयमा म बढी जान्दछु, बुझ्दछु र अनुभवले भिजेको हुन्छु, त्यही विषयमा लेख्ने गर्छु ।’ ‘सखी’ लेख्दा केही थारू गीत थारू बुढापाकाहरूबाट सापटी लिएको उनी बताउँछन् ।
‘मैदारो’ लेख्नुअघि लैनसिंह वाङ्देलका कृति, सत्यमोहन जोशीको ‘अरनिको’, पिकासो’को डकुमेन्ट्री, खगेन्द्र संग्रौलाको ‘जुनकिरीको संगीत’, शरद पौडेलको ‘लिखे’, आहुतिको ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष,’ गान्धीको अटोबायोग्राफी र सयौँ फुटकर लेख पढेको भूपिन सुनाउँछन् । नेपाली भूगोलको चौघेराभन्दा परको आख्यान हो ‘फातसुङ’ । ‘फातसुङ’ लेख्न माटोसँग जोडिएका पुस्तक पढेको अनुभव सुनाउँछन् काविमो । भन्छन्, ‘दार्जिलिङसँग सम्बन्धित केही ऐतिहासिक दस्ताबेज र उपन्यास पढेँ । म्याक्सिम गोर्कीको ‘आमा’ दोहो-याएर पढेँ । पर्ल.एस.बकको ‘द गुड अर्थ’ पढेँ ।’ ‘दमिनी भिर’ लेख्नुअघि मुन्धुमबारे लेखिएका पुस्तक खोजिखोजी पढेको बताउँछन् मुकारुङ ।
फिल्डमा कति समय ?
कतिपयको आरोप छ, आख्यानकारहरू वृत्तचित्र हेरेर कथा लेख्छन् । पाँच तलामाथि वातानुकूलित कोठामा बसेर कर्णालीको पोस्टर हेर्दै कर्णालीका कथा बुन्छन् । तर, आख्यानकारहरू यस्ता आरोपलाई अस्वीकार गर्छन् । उनीहरू वर्षौं फिल्डमा बिताएको अनुभव सुनाउँछन् । सुवेदी भन्छिन्, ‘स्थलगत भ्रमण, अध्ययन, सरोकारवालाहरूसित छलफल मनग्य गरेकी छु ।’
एकाध महिना र वर्षको फिल्ड भिजिट पर्याप्त नहुने भनाइ छ, जोशीको । त्यसरी फिल्डमा छोटो समय बिताउँदा शोधग्रन्थ त तयार हुने, तर सिर्जना तयार नहुने बताउँछन् उनी । भन्छन्, ‘सिर्जना गर्न पहिला आफैँ भोक्ता हुनुपर्छ ।’ लिटरेचर रिभ्युका लागि काठमाडौंका पुस्तक पसल र पुस्तकालयहरू पटकपटक धाएको अनुभव छ, प्रतीक्षासँग । भन्छिन्, ‘उपन्यास लेख्ने प्लट तयार भइसकेपछि पनि दुई वर्षसम्म लिटरेचर रिभ्युमै खर्चिएँ ।’
‘दमिनी भिर २२ दिनमा लेखेँ,’ मुकारुङ भन्छन्, ‘त्योभन्दा अगाडि समाजको सांस्कृतिक जीवन अध्ययन गर्न फिल्डमा अढाई वर्ष बिताएँ । त्यसपछि २३ पटक लेखेर फाइनल गरेँ ।’ चार महिना लिटरेचर रिभ्युकै लागि खर्चिएको भूपिन बताउँछन् । ‘अविजित ९ पटक रिभिजिट गरेँ,’ प्रतीक सुनाउँछन् । उपन्यास लेख्न फिल्ड भिजिट गरिएको समयलाई तौलन गाह्रो हुने काविमोको भनाइ छ ।
अनुसन्धान गरेर लेखिएका किताब धेरै विश्वसनीय मानिन्छन् । समाजविज्ञानका सबै विधामा अनुसन्धानमूलक लेखनको महत्व हुन्छ । सिर्जनात्मक विधा भएकाले साहित्यमा भने अनुसन्धानको मात्रै होइन, कल्पनाको झन् बढी भूमिका र महत्व हुन्छ । नेपाली भाषामा लेख्ने अधिकांश आख्यानकारहरू भने लेख्नुअघि आफूले अनिवार्य अनुसन्धान गरेको दाबी गर्छन् ।
पुस्तक पढ्ने कि समाज ?
भनिन्छ, सुन्दर विचारको गर्भबाट नै सुन्दर सिर्जनाको जन्म हुन्छ । त्यो सुन्दर विचारको नजिक पुग्ने माध्यम नै समाजको अध्ययन हो । आजका आख्यानकार राम्रो सिर्जनाका लागि पुस्तक मात्रै पढ्छन् कि समाज पनि ? समाज पनि पढ्छन् भने कस्ता–कस्ता ‘टुल्स’हरू प्रयोग गर्छन् ? ‘उपन्यासका लागि जति पढ्छु, त्यत्ति नै घुम्छु पनि,’ पौडेल भन्छन् ।
उपन्यासमा उल्लेख गरिएका हरेक लोकेसनमा पुग्ने गरेको उनको भनाइ छ । साथै, उनी सम्बन्धित विषयका विज्ञसँग सोधखोज गर्छन् । आत्मिक सुख र ज्ञानका लागि पुस्तक पढ्ने र समाज पढ्न गाउँघर घुम्ने, अग्रज भेट्ने, उनीहरूको अनुभव सुन्ने गरेको जोशी बताउँछन् । भन्छन्, ‘नयाँ खालका पात्रहरूसँग गफिँदा आफ्ना पात्रहरू निर्माण गर्न सहज हुन्छ ।’ उनी प्रश्न गर्छन्, ‘आख्यान लेख्न अरूले लेखिदिएको किताब मात्रै के पढ्नु ! त्यो त लेखिसकियो नि । नलेखिएको समाज पो पढ्ने हो त ।’
लेखकहरू बन्द कोठाभन्दा समाजसँग अन्तक्र्रिया गर्न फिल्डमै पुग्नुपर्ने सुब्बाको धारणा छ । ‘सामाजिक कथा उठाउँदै हुनुहुन्छ भने त्यो समाजसँग अन्तक्र्रिया गर्नु राम्रो हुन्छ,’ भन्छन्, ‘त्यसो गर्दा समाजलाई अप्ठ्यारो पर्ने विषयसँग सचेत भइन्छ र समाजको आस्थामाथि कम खेलबाड हुन्छ ।’ समाजसँग अन्तक्र्रिया नगरी विषयसँग लोभिएर मात्रै लेख्दा सम्बन्धित समाजको विश्वासमाथि न्याय गर्न नसकिने उनको विचार छ ।
आख्यानकारले पढ्नुपर्ने विषयलाई प्रतीक्षा दुई आँखासँग तुलना गर्छिन् । उनको विचारमा किताब पढ्नु दाहिने आँखाले हेर्नु हो भने जीवन पढ्नु देब्रे आँखाले हेर्नु हो । भन्छिन्, ‘म आधा किताब र आधा जीवन पढ्ने कुरामा विश्वास गर्छु । समग्रमा हेर्न त दुवै आँखाको जरुरी हुन्छ ।’मुकारुङ गैरआख्यान लेख्ने अनुसन्धाता तथा लेखकहरूप्रति व्यंग्य गर्दैै भन्छन्, ‘आफ्ना शिष्यलाई फिल्डबाट रिपोर्ट ल्याउन लगाएर विद्वान् हुने जस्तो होइन यो । वृत्तचित्र हेरेर पनि आख्यान लेखिन्न ।
आख्यान लेख्न समाजको राजनीति, सांस्कृतिक जीवन दर्शन, मनोविज्ञान र मनोदशा सबै पढ्नुपर्छ ।’ आख्यानका लागि किताब, मानिस, समय र समाज सबै बुझ्न आवश्यक हुने भूपिनको बुझाइ छ । भन्छन्, ‘उपन्यासका काल्पनिक पात्रहरू समाजकै पात्रहरूका प्रतिच्छाया हुन् ।’ प्रतीकको भनाइ पनि भूपिनसँग मिल्छ । उनका अनुसार, किताब–अध्ययन, जीवनको अनुभव, समाजको प्रभाव सबैको योगफलबाट आख्यान लेखिन्छ । भन्छन्, ‘मैले जस्तो जिन्दगी ट्राभल गरेँ, त्यसले पनि मलाई आख्यान लेखनमा सहयोग ग-यो ।’
काविमो प्रश्न गर्छन्, ‘चामलको कथा लेख्दा धान उमार्ने कृषकको कथा नबुझ्न पाइन्छ र ? लेख्न चाहेको समाजको घाउ के हो ? उसले बोल्न नसकेको आवाज के हो ?’ समाज नबुझेसम्म आख्यान फिक्का हुने उनको भनाइ छ । आख्यान लेखनका लागि समाज–अध्ययन पहिलो सर्त भएको नगरकोटीको बुझाइ छ । भन्छन्, ‘दिमागलाई समृद्धशाली, चिन्तनशील र कल्पनाशील बनाउन अध्ययन आवश्यक छ । कसले के पढिरहेको छ भन्ने कुराले उसको सिर्जनास्तर निर्धारण गर्छ ।’ तर, आफ्नो अध्ययनको शैली भिन्न रहेको उनी बताउँछन् । यथार्थवादी साहित्यकारलाई उनी भन्छन्, ‘उहाँहरू तोल्स्तोय, गोर्की र लुसुनबाट तल झर्नै सक्नुभएको छैन ।’
गैरआख्यान भर्सेस आख्यान
गैरआख्यान लेख्नेको भनाइ छ, ‘आख्यान लेख्नेहरू समाज–अध्ययनमा अल्छी गर्छन् । उनीहरू अनुसन्धान गर्दैनन् । बन्द कोठामा बसेर मनगढन्ते कुरा लेख्छन् ।’ के यो तर्कमा सत्यता छ ? आख्यानकारहरू यसमा आंशिक सहमति जनाउँछन् । प्रतीक्षा यो आरोप केही हदसम्म सत्य भएको बताउँछिन् । भन्छिन्, ‘केही लेखकहरू लेख्नु भनेको कल्पनाको खेल ठान्दै वायुपंखी घोडा कोठाभित्र मात्रै उडाउने गरेको पनि देखेको छु ।’ तर, यही नै सम्पूर्ण सत्य नभएको उनको भनाइ छ । भन्छिन्, ‘अहिलेका अधिकांश आख्यान हे-यौँ भने ती समाजशास्त्रका कुनै आधिकारिक किताबभन्दा कम छैनन् ।’
आख्यानकारहरू समाजको अध्ययन गर्दैनन् भन्ने आरोप स्विर्काछन्, जोशी । ‘कोठामा बसेर कल्पनाको भरमा मात्र लेख्दा त्यो सामान्य पाठकको सूचनाभन्दा पनि निम्न कोटिको हुन सक्छ,’ जोशी भन्छन्, ‘लेखकभन्दा बढी पाठक जानकार छन् भने लेख्नुको कुनै अर्थ छैन । त्यसैले आजका लेखकले समाजको अध्ययन बढी गर्नु आवश्यक छ । कोठामा बसेर समाजको कथा लेख्नु समाजसँग मजाक गर्नु हो ।’
‘आरोप सत्य हो,’ नगरकोटी स्वीकार गर्दै भन्छन्, ‘तर, गैरआख्यानले गर्ने अपिल र आख्यानले गर्ने अपिल फरक छ । आख्यानको उद्देश्य आनन्द र ऊर्जा दिने हो । गैरआख्यानको उद्देश्य सूचना र ज्ञान दिने हो ।’ दुवैको आ–आफ्नै महत्व भएको र गैरआख्यान पढेर नै आख्यान बलियो हुने नगरकोटीको भनाइ छ । अल्छी आख्यानकारको दुर्गति उनको आख्यानबाटै थाहा हुने सुवेदी बताउँछिन् ।
पछिल्लो समय लेखन फास्ट फुड बनेको भूपिनको निष्कर्ष छ । भन्छन्, ‘आख्यानको बजार छ भनेर धेरै लेखकहरू यतातिर लागे । पुरस्कारमा पनि लोभिए । यसले समस्या निम्त्यायो ।’ तर, उनी आख्यानमा मात्र होइन, हरेक विधामा छिपछिपे लेखनको प्रभाव बढेको बताउँछन् । ‘त्यो रोग गैरआख्यान लेख्नेहरूमा पनि छ । उनीहरूको बीचमा दन्तबझान छ । आफू ठीक अरू बेठीक भन्ने छिपछिपे सोच आख्यानकारमा भन्दा बढी त म गैरआख्यानकारहरूमा देख्छु,’ उनी भन्छन् ।
तर, पौडेल त्यो आरोप मान्न तयार छैनन् । भन्छन्, ‘यो उक्साहट मात्रै हो । चिया गफमा कसैले आरोप लगाएको भए बेग्लै कुरा । मैले अल्छी भएको आरोप कहिल्यै खेपेको छैन ।’ उनी गैरआख्यानकारलाई प्रश्न गर्छन्, ‘त्यसो भए के सन्दर्भसूची राखेर आख्यान लेख्ने ?’ काविमो पनि त्यो आरोप अस्वीकार गर्छन् । भन्छन्, ‘त्यो चरम फेन्टासीको कुरा गरिएको होला । तर, आममान्छेको कथा लेख्नु त्यति सहज हुन्न । भनिन्छ, ‘इतिहासमा नाम र समयबाहेक अरू सबै कुरा गलत हुन्छ । तर, आख्यानमा नाम र समयबाहेक अरू जम्मै कथा सही हुन्छ ।’
आख्यान लेख्नुअघि लेखकले के पढे ?
लेखक किताब पढेको किताब
उमा सुवेदी सयौँ पुतली महिला मुद्दाका कथाहरू
रामलाल जोशी सखी कुनै किताब पढिनँ
गनेस पौडेल पैताला ‘विज्ञान भैरवतन्त्र’ हिन्दू र बौद्ध धर्मका किस्साहरू, मुन्धुम, स्यापियन्स
उपेन्द्र सुब्बा लाटो पहाड कुनै पुस्तकहरू खोजिएन
कुमार नगरकोटी ज्ञ आवश्यक छैन
सरस्वती प्रतीक्षा नथिया बादी जातिबारे गरिएका थेसिसहरू, जनकलाल शर्माको हाम्रो समाज ः एक अध्ययन र आचार्य चतुरसेनको उपन्यास वैशाली की नगरवधू
राजन मुकारुङ दमिनी भिर मुन्धुम
विप्लव प्रतीक अभिजित जे. कृष्णमूर्तिका केही किताब र ओशोका भाषणहरू
भूपिन मैदारो लैनसिङ वाङ्देलका कृतिहरू, सत्यमोहन जोशीको अरनिको, मारिना पिकासोको पिकासो माई ग्रान्डफादर, दा भिन्ची, भ्यान गग, पिकासोका डकुमेन्ट्री, खगेन्द्र संग्रौलाको जूनकिरीको संगीत, आहुतिको नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष
नीलम कार्की ‘निहारिका’ योगमाया ऐतिहासिक पुस्तकहरू