• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विमला तुम्खेवा
२०७६ श्रावण २५ शनिबार ०८:२२:००
समाज

८१ मा काइँला ‘म त लोसे मान्छे’

२०७६ श्रावण २५ शनिबार ०८:२२:००
विमला तुम्खेवा

मुन्धुमको मीठो हरफजस्तो लाग्छ, बैरागी काइँलाको जीवन र कविता यात्रा । अक्करे भिरजस्तो यति लामो यात्रामा उनी हिँडेर यहाँसम्म आइपुग्दा नेपाली कविताको क्षेत्रमा तीर्थस्थलझैँ श्रद्वालु बनेका छन् । नेपालमा मात्र होइन, नेपालीभाषी जहाँ–जहाँ पुगेका छन्, ती स्थानमा कविताको एउटा ब्रान्डकै रूपमा स्थापित छन्, काइँला ।

०००
सुकेधाराचोकबाट पश्चिमतिर धुम्बाराहीमार्ग उकालो लागेपछि महाकालीमार्ग भेटिन्छ । त्यही मार्ग हुँदै केही पाइला अघि बढेपछि देखिन्छ उनको अढाइतले घर । यही घरमा बस्छन् काइँलाका परिवार । परिवारमा उनीकी श्रीमती, देवकुमारी नेम्वाङ र छोरी नामोती नेम्बाङ छन् । घर पुग्दा काइँलाले अलि बिसन्चो भएको बताए । 

नामोती अहिले काइँलाको पर्सनल सल्लाहकारझैँ छिन् । बुबाले लेख्दै गरेको लिम्बू मिथक कथाहरू अंग्रेजीमा अनुवाद गर्ने र बुबालाई निमन्त्रणा गरिएको साहित्यिक गोष्ठीहरूको समय तालिका मिलाउने काम नामोतीको हो । छोरी नामोती पनि कुनै समय ‘द काठमान्डु पोस्ट’मा रिपोर्टर र ‘द हिमालयन टाइम्स’मा न्युज डेस्कमा काम गरिन् । इसिए प्रकाशनगृहको म्यागेजिन ‘द बिल्ड’को सम्पादन पनि गरिन् । अचेल भने उनी बुबाका अधुरा रहेका काम सिध्याउन सघाइरहेकी छिन् । 

०००
पाँचथरको पौवा सारतापस्थित पौवागाउँमा बुबा खड्गबहादुर नेम्बाङ र आमा सरस्वतीदेवीको चौथो सन्तानका रूपमा विस. १९९६, साउन २५ गते जन्मेका काइँलाको खास नाम तिलविक्रम नेम्बाङ हो । पछि बैरागी काइँला नामले प्रसिद्व भए । काइँलाका ‘अन्धा मान्छेहरू र हात्ती’ तथा ‘बैरागी काइँलाका कविता’ प्रकाशित छन् । उनका लिम्बू मुन्धुमसम्बन्धी किताब दर्जनभन्दा धेरै प्रकाशित छन् ।

खान–लाउन पुग्ने बाबुको छोरा काइँला हक्की स्वभाव थिए । त्यो निडर स्वभाव उनको कवितामा पनि झल्किन्छ । नयाँ पुस्ताका कवि उनको त्यही स्वभावबाट पनि प्रभावित छन् । आयामेली लेखनको अभियानका प्रवर्तकमध्ये इन्द्रबहादुर राई र ईश्वर बल्लभपछि काइँला नै एक्ला धरोहर हुन् । ०२० मा पहिलोपटक ‘तेस्रो आयाम’ पत्रिका यिनै तीनजना मिलेर निकालेका थिए । त्यसपछि नेपाली साहित्य र सर्जकका बीच साहित्य र साहित्यलेखनमाथि नयाँ ढंगले चर्चा र बहसको थालनी भएको थियो । 

विसं. २०१८ मा ईश्वर बल्लभ सम्पादक र काइँला प्रकाशक भएर ‘फूल पात पतकर’ पाक्षिक पत्रिका दुई अंक निकाले । तर, ‘तेस्रो आयाम’को प्रकाशनपछि नै कविका रूपमा आफू परिचित भएको उनको स्वीकारोक्ति छ । भन्छन्, ‘म त लोसे मान्छे । उनीहरूसँग भेट नभएको भए म कहाँ कवि हुन्थेँ होला र !’
राष्ट्र र समसामयिक राजनीतिबारे काइँलाको भनाइ छ, ‘यो देशमा कोही जन्मदै शासक हुन्छन्, कोही जन्मदै शाषित हुन्छन् । राज्यसत्ताको विभेदपूर्ण व्यवहार हिजो पनि थियो, आज पनि छ । आफ्नो सत्ताको स्वार्थसँग जोडेर मात्र राष्ट्रियता र एकताका कुरा गरिन्छ ।’ राष्ट्रियता भनेको मुलुकको साझा चिन्तन, अनुभव र अनुभूति हुनुपर्ने उनी बताउँछन् ।

सानै भए पनि भौगोलिक, जैविक, जातीय, भाषिक, सांस्कृतिक एवं धार्मिक विविधताले सुन्दर देश ठान्छन् उनी नेपाललाई । सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, सभ्यताका साथै सबै विचार र भावनालाई सम्मानपूर्वक स्वीकार गर्दै साझा भावनाको विकास नहुँदा नै हाम्रो देश र समाज अनेकताको द्वन्द्वमा फसेको उनी बताउँछन् । भन्छन्, ‘द्वन्द्वले असन्तोषलाई जन्म दिन्छ र असन्तुष्टिले विद्रोहलाई ।’ राष्ट्रिय एकता सबल र सुदृढ बनाउन सामाजिक सद्भाव र सहिष्णुताको संस्कृति विकास गर्दै मुलुकको विविधतालाई सम्मान गर्नुपर्ने विचार उनी राख्छन् । 

बैरागी काइँला भन्छन्, ‘इन्द्रबहादुर राई र ईश्वर बल्लभसँग भेट नभएको भए म कहाँ कवि हुन्थेँ होला र !’

अबको साहित्य–लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नुपर्ने काइँला बताउँछन् । भन्छन्, ‘मानिस एक्लै वा आफू मात्र रमाउन थालेकाले समग्रता हरायो । आज हाम्रो हराएको सम्पदा हो सम्पूर्णता ।’ अबको लेखन त्यो सम्पूर्णताको पुनप्र्राप्ति हुनुपर्ने धारणा उनको छ । उनी थप्छन्, ‘सम्पूर्णता भनेको कसैलाई बाहेक नगरिएको अवस्था हो ।’ नेपालमा चलिरहेको र संविधानले आंशिक रूपमा अंगीकार गरेको समावेशिताको मर्मलाई राज्यले इमान्दापूर्वक पालना गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘त्यो मर्म पालना गरेपछि मात्रै महाकवि देवकोटाले भनेझैँ हाम्रो देश ‘सुन्दर, शान्त र विशाल’ हुनेछ ।’ आजको साहित्यिक पुस्ता त्यो मर्म बुझ्न अघि बढेका देख्दा काइँला खुसी व्यक्त गर्छन् ।

थोरै कविता लेखेर धेरै पाठकमाझ लामो समयसम्म बाँचिरहने केही नेपाली कविमध्ये काँइला एक हुन् । कविताप्रेमी र कविहरू सधैँ उनको नाम सद्भाव र प्रेमले लिन्छन् । उनको चर्चित कविता ‘मातेको मान्छेको भाषण मध्यरात पछिको सडकसित’ कैयौँ पाठकका निम्ति एउटा ‘एडिक्सन’ नै हो भन्दा अतिशयोक्ति हुँदैन । यति ठूलो उचाइ र पाठकबाट प्रेम पाएका काइँला भने आफूलाई बित्थामा अरूले कवि मानेकोमा गुनासो गर्छन् । ख्याल–ख्यालमै अरूले भनिदिएर कवि बनेको उनी सुनाउँछन् ।

आफूले साहित्यमा दिएको योगदानभन्दा धेरै माया पाएको उनी भन्छन् । भन्छन्, ‘नेपाली साहित्यका मर्मज्ञले बढी नै माया र स्नेह दिएजस्तो लाग्छ ।’ यसो भनिरहँदा उनको अनुहार उज्यालिएको थियो । काइँलालाई आफ्नो जीवनसँग कुनै गुनासो छैन । काव्यक्षेत्रमा लागेर ठीक काम गरेको उनको भनाइ छ । पाठक र समालोचकबाट प्रशस्त माया र प्रोत्साहन पाएको उनी बताउँछन् । पछिल्लो समय आफूभित्रको सिर्जनात्मक ऊर्जा खेर नजाओस् भनेर लिम्बूजातिको मुन्धुम (लोकसाहित्य)को संकलन, सम्पादन र अनुवादतिर लागेका छन् काइँला ।

त्यसो त काइँलालाई ०४७ पछि जातिवादी कुरामा लागेर नेपाली साहित्यबाट टाढा भएको आरोप लाग्यो । मूलधारको साहित्यमा उनले जे काम गरे, सीमान्तकृत समुदायका लागि गरेनन् भन्ने पनि कुरा उठ्यो । यी दुवै भनाइप्रति उनको गुनासो छ । भन्छन्, ‘म त दोहोरो मारमा परेँ ।’ आफूले थालेका धेरै काम अधुरा रहेको र कसरी सिध्याउने भन्नेमा चिन्ता लागेको उनी बताउँछन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ सदस्यदेखि कुलपतिसम्म भएका काइँला प्रविधितिर कम समय बिताउँछन् । तर, वेला–वेलामा फेसबुकमा फोटो पोस्ट गर्न र अरूले लेखेका स्टाटस पढ्न पनि भ्याउँछन् । अब फेसबुकमा समय बिताउन पनि बेकार लाग्न थालेको छ उनलाई ।  वैवाहिक जीवनले ५० वर्ष नाघिसक्यो । पारिवारिक जीवन सहज रूपमा बढिरहेको छ । घर थामिदिने श्रीमतीकै कारण आफूले साहित्य र समाजका गतिविधिमा लागेर सम्मान र प्रतिष्ठा पाएको स्विकार्छन् काइँला । भन्छन्, ‘यसको श्रेय मेरी श्रीमती नै हुन् ।’ 

उमेरमा अत्यन्तै कोमल र प्रेमिल कविता लेख्ने काइँलाको प्रेमिल कविता ‘माया र मफलर’ कतिपय पाठकलाई कण्ठस्थ हुनुपर्छ । उनीबारेका किस्सा पनि मिथक र उखानजस्तै भइसकेका छन् । उहिले दार्जिलिङमा पढ्दाताका कुनै अनाम युवतीको प्रेममा चुर्लुम्मै डुबेका थिए रे । यी किस्साको यथार्य खोतल्न प्रश्न गर्दा काइँलाले हाँसेरै टारिदिए । आफ्नो उमेरमा कहिल्यै दोहोरो प्रेममा नपरेको बताउँछन्, काइँला । भन्छन्, ‘केटी मान्छेसँग बोल्न पनि धक लाग्थ्यो ।’काइँला ८१ वर्षको उकालो यात्रामा छन् । उनी अझै क्रियाशील छन् । पाठकहरूमाझ उनका कविता आज पनि उत्तिकै लोकप्रिय छन् । आज पनि वैचारिक अस्त्रका रूपमा उनका कविता पाठकमाझ जीवित छ ।