• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विवेक ओझा काठमाडाैं
२०७६ श्रावण २५ शनिबार ०९:०८:००
सम्झना

कमरेडले मलाई बिर्सिसके

द्वन्द्व कथा

२०७६ श्रावण २५ शनिबार ०९:०८:००
विवेक ओझा काठमाडाैं

अछाम मुजाबगर । दुवैतिरका भीमकाय पहाडलाई छुट्याएर फेदीमा हतार–हतार बगिरहेको थियो कैलाश खोला । ठूला–ठूला ढुंगाबीच निर्मल पानी हुत्तिँदै–फुत्किँदै बग्दै थियो । खोलाको सुसेलीले मुजाबगरलाई छपक्क छोपेको थियो । म पनि सायद कुनै नदीजस्तै जिन्दगी बगाउँदै त्यो बगरको चिया पसलमा चिया पिउँदै थिएँ । यो जानेरै कि त्यो पसल कमरेड प्रचण्डको थिएन । बरु कमरेड ‘प्रकाश’ को थियो । तर, उनी प्रचण्डपुत्र थिएनन् । होइनन् ।

हाम्रा गफ लट्टाईबाट धागो फुत्किएजसरी फुत्किँदै गए । गफको धागोमा बाँधिएको चंगा मुजाबगरलाई बेवास्ता गर्दै वरिपरिका पहाडभन्दा निकै माथि उठ्यो ।कमरेड प्रकाश खिस्स हाँसे, ‘ती पाका मानिस कमरेड प्रचण्ड रहेछन् ।’उनी ०६१ चैतमा खारा आक्रमणको घटना सुनाइरहेका थिए । त्यो युद्धमा स्वयं प्रचण्ड उपस्थित थिए । एक हप्ताअगावै प्रचण्ड रुकुम पुगिसकेका थिए ।

शाही सेनाले प्रचण्डलाई घेरा हाल्ने योजनाको सुइँको पायो माओवादीले । त्यसपछि विशेष सतर्कता अपनाइयो । रुकुमकै एक स्कुलमा तीसजनाको विद्रोही फोर्ससमेतले प्रचण्डको सुरक्षा दियो । फोर्सको नाम थियो ‘लिस्नेगाम बौबिर कमान्ड फोर्स’ । प्रकाश त्यही फोर्सका योद्धा थिए, जो खारा हान्दा मात्र चौध वर्षका थिए । र, उनको हातमा एसएलआर थियो ।

प्रकाशलगायतलाई यत्ति थाहा थियो– ज्यानको माया मारेरै गोप्य चिजको सुरक्षा दिइँदै छ । गोप्य चिज थिए– कमरेड प्रचण्ड । उनले प्रचण्डलाई चिन्न सकेनन् । युद्ध सकिएपछि मात्र त्यो कुरा बाहिरियो । भन्छन्, ‘साँझ–बिहान खाना खाँदा सेतो धोती बाँध्ने मानिस प्रचण्ड रहेछन् । मैले त कुनै स्कुलको हेडमास्टर ठानेको थिएँ ।’ 

प्रकाशका अनुसार खारा आक्रमण पूर्वसूचित थियो सेनालाई । त्यहाँ जित निकाल्ने महत्वाकांक्षा  थियो । जित भएमा प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्ने हल्लासमेत सुनिन्थ्यो । भौगोलिक हिसाबले भने कठिन थियो युद्ध । निकै भिरालो थियो । र, ब्यारेक त्यसको टुप्पोमा थियो । तर, सोचेजस्तो नतिजा आएन । खाराको लडाइँ सम्झेर उनी भावुक भए– ‘प्रत्येक आर्क लिँदा साथीहरूको लास हुँदै गुज्रिनुपथ्र्यो । त्यो डरलाग्दो विनाश थियो । सर्वहाराको सपनाका खातिर । तर, खारा कब्जा गर्न सकेनौँ । हामीलाई ब्याक गरियो ।’

बन्दुकसँगको संगत र लडाइँको परस्परको सम्बन्ध हुन्छ । लड्दालड्दै सूर्योदय र सूर्यास्त दोहोरिएका सम्झना छन्, उनीसँग । हरेक युद्ध अन्तिम हुन सक्थ्यो । हरेकपल्ट उनलाई पहिलो फायर खोल्न सधैँ डर लाग्थ्यो । तर, पहिलो फायर खुलिसकेपछि जोस सल्बलाउँथ्यो शरीरभरि । खारा हान्नुभन्दा पहिल्यै उनले म्याग्दी बेनीको लडाइँ देखिसकेका थिए । केही घन्टा बेनी कब्जामा रहे पनि ब्यारेक नियन्त्रणबाहिर थियो । रातभरिको भिडन्त ! बिहान हेलिकोप्टरले आकाशबाट गरेको हमला ताजै छ उनको मस्तिस्कमा । 

विगत सम्झिँदा उनलाई आफू बाँच्नु संयोग लाग्छ । सपनामा समेत प्रायः उनी युद्धका छाया देख्छन्, ‘कैयौँ गोली केही सेन्टिमिटर मात्र भएर चुके हिसाब छैन ।’
घटना बेग्लाबेग्लै, भाव बेग्लाबेग्लै । नोस्टाल्जिक भइरहे उनी । कैलालीको पन्डोनको जित सुनाउँदै गर्दा उनी उत्तेजित देखिए, ‘त्यो जितले राज्यपक्ष अचम्मित भयो । त्यो निरीक्षण गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुगेका थिए ।’

कञ्चनपुर चेकपोस्ट हान्दाको अनुभव बेग्लै छ प्रकाशसँग । भारतीय भूमिबाट भारतीय सेनाले उनीहरूलाई लखेटेको थियो । भारतीय पक्षले आफूमाथिको आक्रमण ठान्यो सायद । भारतीय सेनाको अत्याधुनिक हतियारले त्यहाँ माओवादी टिक्न सकेन । भारतीय सैनिकको गोलीले एकजना साथीसमेत गुमाए उनले ।
०००
छेउमा बगिरहेकै थियो कैलाश खोला । सम्झिँदै गए युद्धमा आफू लडेका ठाउँहरू । सिन्धुपाल्चोकको चौतारा, थानकोट, झुरझुरे, रम्बापुर, बारा, विनायक, पनौती, डोटी, धनगढी आदि । प्रत्येक युद्धसँग जोडिएका फरक सम्झना छन्, उनीसँग । 

सेनाको दमनले माओवादी बनायो 
४ फागुन ०५८, मंगलसेनमा माओवादीले जित्यो । आठजना सर्वसाधारणसहित राज्यतर्फबाट एक सय बाइसजना मारिए । ऐतिहासिक मंगलसेन दरबार ध्वस्त मात्र भएन, पूरै मंगलसेन माओवादीले कब्जामा लियो । त्यसपछि खटाइएका सैनिक अछामका कुनाकुना पसे । र, सुरु भयो सेनाको बर्बरता । रामारोसनका फुच्चे लालबहादुर मात्र १२ वर्षका थिए । उनले समेत भोगे सेनाको यातना, ‘सेना देख्दा नजिकै गोबर वा माटो शरीरमा दल्थेँ । उनीहरूलाई लागोस् म गोठालो हुँ । त्यति गर्दासमेत हातपात गरिहाल्थे ।’

महिलासमेत सेनाको अभद्रता र दुव्र्यवहारबाट बचेनन् । कुटपिट, गालीगलौज सास फेरे समान थियो सेनालाई । त्यतिमा मात्र सीमित भएन त्रासदी । उनकै गाउँका दुई निर्दोष वृद्धलाई सेनाले डाँडामा लगेर गोली ठोक्यो । मंगलसेनको हारमा सेनाहरूमा प्रतिशोध डरलाग्दो गरी सर्वसाधारणमा पोखियो । तमाम घटनाका प्रभावले उनीभित्र डर नजन्मियोस् पनि कसरी ? त्यसवेला उनलाई आफू बाँच्छु होलाजस्तो लागेन । 

त्यही डरले माओवादी बनायो लालबहादुरलाई । फलामलाई फलामले नै काट्छ भनेझैँ हतियारको डरका विरुद्ध हतियार उठाउने निर्णय लिए उनले । सुरुमा उनलाई माओवादीले सामान्य कार्यकर्ता मात्र बनायो, हतियार बोक्न दिएन । यद्यपि उनी लालबहादुर बुढाबाट ‘कमरेड प्रकाश’ भइसकेका थिए ।  हतियार नसमाउँदासम्म खासै सुरक्षित महसुस गरेनन् उनले । लगभग छ–सात महिनापछि जब हतियार प-यो, हातमा तब ढुक्क भए । अनि मात्र खास माओवादी भएको महसुस भयो । फेरियो उनको डर र मृत्युमाथिको दृष्टिकोण । सोचे, अब यत्तिकै मरिन्न । मरे पनि कसैलाई मारेरै मरिन्छ ।

हतियार समाइसकेपछि सुरु भयो मुठभेड । आक्रमण । घम्साघम्सी । उनमा फेरिँदै गयो युद्धको उद्देश्य । जुन चेतनाले माओवादी भएका थिए । त्यो चेतना रूपान्तरण भयो, ‘मेरा कोरा दिमागमा रंगीन सपना भरिए । व्यक्तिवादीभन्दा समाज र देशको खातिर सपना देख्न थालेँ । पार्टीले त्यही सपना देखायो ।’
तर, गुनासोको चाङ चुलिएको छ आजभोलि उनमा । भन्छन्, ‘नेतृत्वले देश र जनताको सपनामा स्वार्थको एम्बुस थाप्यो । सर्वहाराहरू सर्वहारा नै छन् । सीमित मान्छेहरू धन, दौलत, ऐसआराममा रमाइरहेका छन् । जुन किताब हामीले बुर्जुवा भनेर जलायौँ, मेरा केटाकेटी त्यही किताब पढ्छन् ।’ जुन सहिदका लासमाथि नेतृत्वले शक्ति सिर्जना ग-यो, ती सहिदलाई बाँडिएका सपना पूरा भए त ? उनी प्रश्न तेस्र्याउँछन् नेतृत्वलाई ।

मृत्युले पछ्याएको दिन 
०६०–०६१ मा बौनियाँ कैलालीको कुरा हो । उनलाई महिना र गते ठ्याक्कै सम्झना छैन । एम्बुस थापेर तार फिजाउँदै थिए । सडकबाट टाढा पुगिसकेका थिए खेतैखेत । उनको रेडियोमा गडबडी भयो । शंका लाग्यो, वाकिटकीको असर हुन सक्छ । त्यही शंकामा तार छाडेर साधारण मानिसझैँ परिवेश नियाल्दै सडकतिरै हिँडे । तारलाई पछ्याएर सेना अगाडि बढिसकेको रहेछ । केही मिनेट हिँडेपछि एकजना सैनिक झ्याप्प उनकै अगाडि ठडियो । उनी विपरीत दिशातिर वेगले भागे । त्यो दिन सेनाले कैयौँ किलोमिटरसम्म लखेट्यो ।

भागिरहँदा उनको मनमा बाँच्ने कुनै आशा थिएन । आफ्नो अन्तिम दिन ठानिसकेका थिए । सेनाले केही राउन्ड गोलीसमेत चलायो, ‘उनीहरू मेरो खुट्टामा गोली हान्न चाहन्थे । चारैतिरबाट ठूलो घेरामा पारिसकेका थिए । त्यो दिन मलाई मार्न सक्थे । तर, उनीहरूले मलाई समात्न मात्र खोजे ।’ बाँच्नुको दुई कारण छन् उनीसँग । पहिलो कारण थियो, उमेर । बच्चै देखिन्थे । दोस्रो कारण उनीसँग कुनै हतियार थिएन । त्यो दिन बाक्लो झाडीमा लुकेर बाँचेँ । भन्छन्, ‘मलाई त्यति डर कुनै पनि आर्मी क्याम्पमा आक्रमण गर्दासमेत लागेन । त्यो दिन नै मैले काललाई सबैभन्दा नजिक देखेँ ।’

रणभूमि/प्रेमभूमि 
प्रकाशको उमेर सानै थियो । जतिखेरै लाग्न सक्थ्यो छातीमा दुस्मनको गोली । पड्किन सक्थ्यो, आफैँले बोकेको बम । त्यस्तो परिवेशमा पनि प्रकाशको हृदयमा माया पलायो । आफ्नै विद्रोही साथीको प्रेममा फसिगए । उनी आफ्नो प्रेम प्रसंग सुनाइरहँदा रोमाञ्चित देखिए, ‘प्रेम त नर्कमा पनि भैजान्छ होला । त्यसमाथि हामी एउटै सपनाका लागि हिँडिरहेका योद्धा । म प्रेममा परेँ ।’

तर, पार्टीभित्र प्रेम अप्ठेरो विषय थियो । माया लुकाउन पनि मुस्किल, अँध्यारोमा दियो लुकाउन मुस्किल परेझैँ । उनको प्रेम पार्टीलाई थाहा भयो आखिर । पार्टीले अरू कारबाही त गरेन, केबल प्रेमी–प्रेमिकालाई अलग्याइदियो । उनलाई पश्चिमकै फोर्समा राख्यो, प्रेमिकालाई पठाइदियो पूर्वको किल्ला । उसो त मायालुसँग टाढा हुनु, भेट्न नपाउनु, संवाद नहुनुजस्तो सजाय अरू के हुन सक्छ ? युद्धमा हुँदा प्रेमिकालाई भेट्ने अवसर पाएनन् । युद्ध सकियो । समायोजनको लागि जब उनी ब्यारेक पसे, आफ्नी प्रेमिकाको बारे सोधखोज गरे । थाहा पाए, प्रेमिका सहिद भइसकेकी रहिछन् । एकाएक उनका ओभाना आँखाहरू भिजे, ‘त्यो पीडा बयान गर्न सक्दिनँ ।’ 

प्रचण्डसँग प्रकाश 
शान्ति–प्रक्रियाका दौरान महिनाँै प्रचण्डको सुरक्षामा तैनाथ भए प्रकाश । उनीसहित प्रचण्डको सुरक्षामा ५० जनाको टिम थियो । प्रचण्डले बिबिसीमा बोल्दा होस् वा खुलामञ्चमा भाषण गर्दा उनी छेउछाउ हुन्थे । उनको झोलामा हतियार हुन्थ्यो–‘खुलामञ्चमा हजाराैँ मान्छेका अगाडि कमरेड प्रचण्ड भाषण गर्दैगर्दासमेत म उनको छेउछाउ थिएँ । मेरो झोलामा हतियार थियो । चलाउनुपर्ने परिस्थिति आए चलाउने कुरामा दृढ थिएँ ।’

प्रकाशलाई यत्ति थाहा थियो– ज्यानको माया मारेरै गोप्य चिजको सुरक्षा दिइँदै छ । गोप्य चिज थिए– कमरेड प्रचण्ड । भन्छन्, ‘साँझ–बिहान खाना खाँदा सेतो धोती बाँध्ने मानिस प्रचण्ड रहेछन् । मैले त कुनै स्कुलको हेडमास्टर ठानेको थिएँ कमरेडलाई ।

प्रचण्डसँग उनको त्यस्तो निकट सम्बन्धचाहिँ थिएन । तर, सामान्य कुरा भने हुन्थ्यो, ‘शान्तिपश्चात् मेरो गाउँ (रामारोसन) पुग्ने वाचा गरेका थिए । मेरो गाउँजस्तै दुर्गम ठाउँहरू जाने कुरा गर्थे । गरिब किसानका र सर्वहाराका कुरा गर्थे ।’ त्यसवेला प्रचण्डप्रति प्रकाशलाई भरोसा थियो । अहिले विश्वास गुनासोमा रूपान्तरण भएको छ । भन्छन्, ‘अब कमरेडले मलाई पक्कै बिर्सिसके । मेरो गाउँको नाम बिर्सिसके । मजस्ता तमाम साथीहरूलाई बिर्सिसके ।’ 

शिविरबाट घर
सेना समायोजका लागि तोकेबमोजिम माओवादीसँग सैन्य संख्या थिएन । संख्या पु-याउन माओवादीले सेना भर्तीका लागि आह्वान ग-यो, गाउँ–गाउँमा । थुप्रै युवा माओवादी भए । प्रकाश नयाँ–पुराना साथीसँग चितवनको शक्तिखोर ब्यारेकमा बस्न थाले । त्यहाँको जीवनशैलीको अर्कै पाटो छ । एकैनासको । सबैभन्दा महŒवपूर्ण र पृथक् पाटो भने उनको विवाह थियो । ब्यारेकमै । जनवादी विवाह । 

नयाँ जोडीलाई पारिवारिक भेटघाटका लागि ब्यारेकले घर पठायो । ब्यारेकले दिएको खर्च निकै अपुग थियो । घर पुग्नै हम्मे–हम्मे । पछि..., घरबाट फर्किन उनीसँग भाडासमेत भएन । घर जानु उनको भूल भयो । भन्छन्, ‘एकजना कमरेडसँग मेरो चिसो सम्बन्ध थियो । उनकै षड्यन्त्रजस्तो लाग्छ । मलाई परिचयपत्रसमेत दिइएन । त्यो अझै उनीहरूसँगै होला ।’

रामारोसन अछामको पनि दुर्गम भेग । त्योमाथि बाटो, सञ्चार एवं अन्य सुविधाको नामनिसान थिएन । रामारोसनबाट पुनः शक्तिखोर ब्यारेक फर्किन अलमलिए । फर्किने पैसा जुटाउन सकेनन् । जिल्लाका साथीहरूसँग सम्पर्कमा आउन सकेनन्–‘भाडाकै अभावले जान सकिएन । कस्तो–कस्तो भयो । कुहिरोको कागजस्तो । केही मेसो पाइएन ।’

सेना समायोजन त भयो । त्यसमा उनकी पत्नी ‘वर्षा’को नाम परेन । न त उनको नाम नै अट्यो । उनीहरू अयोग्यको सूचीमा समेत परेनन् । न त आर्थिक सहयोग मिल्यो । प्रकाशले आजसम्म दुईपटक भरिसके घाइतेको फारम । तर, उनको नाम कुनै राहतको सूचीमा समेत आएन । बरु जो सद्दे र पहुँचमा छन्, उनैले पाए राहत । प्रकाशले भावुक हुँदै भने, ‘के गर्नु, बन्दुक समाउँदा, एम्बुस थाप्दा पहुँच पुग्यो, सहयोग पाउन पहुँच पुगेन ।’
०००
प्रकाश अहिले श्रीमतीसँग मिलेर चिया पसल चलाइरहेका छन् । पसलको नाम राखेका छन्, ‘प्रशिका होटेल–सुन्तली’ । उनको चिया पसल मुजाबगरमा प्रख्यात छ । उनी आफ्नो विगत बिर्सिन चाहँदैनन् । विगतमा बाँच्न पनि उनलाई मन छैन । उनीसँग कुरा गरिरहँदा महसुस गर्न सकिन्छ, उनलाई युद्धसँग गर्व छ । तर, युद्धका छायाले लखेटिरहन्छन् उनलाई । उनीभित्रको एक मान्छे कैलाश खोलाझैँ सुसाइरहन्छ भित्रभित्रै । कहिल्यै उनीभित्रको कैलाश खोलामा धमिलो बाढी आउँछ । जोरजोरले छाल हान्छ उनको हृदयका पर्खालमा । उनलाई युद्धकालको सपनाले तर्साइरहन्छ ।

तर, अब ठूला छैनन् प्रकाशका सपना । छोराछोरीलाई राम्रो शिक्षा दिने । परिवारमा खुसी कायम राख्ने जस्ता सामान्य चाहना छन् । छोरी कक्षा चारमा, छोरा दुईमा पढिरहेका छन् । हामी गफ गरिरहँदा उनकी सानी छोरी बारम्बार चिहाएर जान्थी । भोलि ठूली भएपछि ऊ पक्कै आफ्नो बाबाले बोकेको इतिहास चिहाउनेछे । उसले कसरी लिनेछे बाबाको इतिहास ? त्यो भविष्यकै गर्भमा छ । अहिले राज्यले कसरी लिएको रहेछ प्रकाशजस्ता कमरेडको अभिलेख ? अहिले सरकारमा उनका कमान्डर छन् । तथापि प्रकाशहरू नदीछेउको बगरमा चिया बनाइरहेका छन् । भलै प्रकाशहरू माओवादीको अभिलेखबाट मेटिन सक्लान् । तर, इतिहासको कालखण्डमा अभिलिखित दिनमा छुट्नेछैनन् ।

उनको हृदयबाट जसरी युद्धका सम्झना मेटिएका छैनन्, जसरी पछ्याइरहेका छन् पुराना दिनहरू । ठीक त्यसैगरी उनको दायाँ छेउ निधारभित्र बमको छर्रा छ, जो हिडिरन्छ उनीसँगै । युद्धताका टाउकोभित्रै पसेको छर्रा राम्रो अस्पतालमा देखाउन पाएका छैनन् । छर्राले आँखा पोलिरहन्छ । टाउको दुखाइरहन्छ । उनी चाहन्छन्, आफ्नो उपचार होस् । उचित न्याय मिलोस् ।