• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नवीन विभास काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार ०८:०१:००
समाज

गाँजा प्रतिबन्ध : एक आख्यान

२०७६ श्रावण ३२ शनिबार ०८:०१:००
नवीन विभास काठमाडाैं

जेईको दायाँ हातको बूढी, चोर र साहिँली औंलाको तालमा एउटा जिनिस फननन फन्कन्थ्यो । धागोको आकार दिन घान हाल्ने बायाँ हातको बूढी र चोर औँलालाई अघिल्ला दाँतले रेसा चिरेर सहजीकरण गथ्र्यो । त्यो जिनिस कुनै वेला ‘स्यानीमाय’ तालमा फननन फन्कन्थ्यो त कुनै वेला ‘बरै’ मसिनो तालमा । जेई मनमा चलेको आँधीअनुसार रफ्तारिने जिनिसको नाउँ थियो, टाकु । धागो थपिँदै जाँदा टाकुको सरा मोटाउँथ्यो भने काखीमा च्यापिएर गादाभित्र पसेको रेसाको मुठा दुब्लाउँथ्यो । 

टाकुको करिब पौने एकफिटे (काठ या चोया या बाँसको मसिनो डन्डी) सरामा फन्काइअनुसार बतासे टाकुरामा बेलुकीपख ठिंग उभिएको रूखमा सर्प बेरिएजसरी धागो भएर बेरिन्थ्यो । सराको टुप्पामा जेईको दायाँ हात हुन्थ्यो भने फेद पसेको पै । पै काठ वा साँदा (भेडाको भाले) वा भैँसी सिङबाट बनाइएको हुन्थ्यो । 

सराबाट झिकेपछि बन्ने झन्डै झुसिलकिरा आकारे धागोलाई कतै नरी भन्थे त कतै कुक्री ।  टाकु नचाएर धागो कात्दाकात्दै जेईले भन्थिन्, ‘आज यति कुक्री कातेँ । अब एउटा बोल्ला बुन्न पुग्छ ।’पानी लिन झाँक्रीखोला जाँदा होस् या मेलापात जाँदा या कुनै जमघटमा फन्कने टाकुका सामूहिक सुइँसुइँ स्वर आदिवासी गीत भएर बाहिरिन्थे । कातेको धागो घरिघरि लामो भएर परपर लग्दै सरामा बेर्दा फेरिने गीतको भाका अझ सुरिलो सुनिन्थे । फनन फन्किरहेका टाकु घरि पैसरी नाचिरहेका नचारु लाग्थे त घरि पिठ्युँमा मयूरको प्वाँख बोकेर नाच्ने सारंगे नचारु । 

आदिवासी जीवनशैली भएर टाकु यसरी घुलेथ्यो कि, आकाशे पानीसमेत टाकुको सरासित दाँज्थे । भन्थे, ‘पानी त स्याऽऽऽनो परिरा’छ, टाकुको सराजत्रो !’ जेईले कुक्रीबाट धागो उफारेर गोलो आकार दिँदै डल्ला बनाउँथिन् । जाडो यामसँगै डल्लाबाट धागो झिक्दै आँगनमा बोल्ला ‘पुर्थिन्’ । पुरेको धागोलाई भाँरीमा हालेर बोल्ला बुन्थिन् । बुन्ने काठको घरेलु मेसिनलाई भाँरी भन्थे भने भाँरीमा सार्न ठिक्क नापनक्सा बनाउनुलाई ‘पुर्ने’ । बुनेपछि कुनै बोल्ला बन्थे त कुनै भाङ्रा । बेच्न तयार बोल्ला गन्दै जेईले भन्थिन्, ‘तेर्बाबैले दुनियाँको घर टालेर र मैले धागोधर्सो गरेर नुनतेल गरिम् । तेरो ठुल्दाजुलाई लेखापरा गराइम् ।’

मेलापात जाँदा होस् या पानी लिन झाँक्रीखोला जाँदा, जेईको टाकु कहिल्यै सुस्ताएन । टाकु गाउँघरका मगरबाहेक क्षेत्री र दलित महिलाका हातमा पनि उसैगरी फन्कन्थे । 
टाकुले कात्ने धागोसँगै सर्वसाधारण जिन्दगी–धागो ‘मैने गाँठो’ परेको थियो । टाकु फन्का गतिअनुसार तिनका जीवनगति साइत नहेरी कहिले ओरालिन्थे त कहिले उकालिन्थे । 
जन्म, बिहे र मृत्युमा मात्र होइन, प्रेम प्रकट गर्न पनि आदिवासी मगर दैनिकीमा कहिले फल सामेलिन्थ्यो त कहिले–कहिले रेसा, कहिले रेसाबाट बनेका लुगा त कहिले तेल ।

जरा, पात, डाँठ, चोप(रस), रेसासमेत मगर जीवनशैलीसँग गाँसिएको त्यो जिनिस थियो, भाङ्ङु । वनपाखामा आफैँ उम्रनेलाई ‘वन भाङ्ङु’ भन्थे भने बारीमा छरेकोलाई ‘घर भाङ्ङु’ । बोल्ला मसिनो र ‘असल’ मानिन्थ्यो भने भाङ्रा तुलनात्मक रूपले खस्रो र ‘कमसल’ । बोल्ला र भाङ्रा गादा पार्थे (कतै भने भाङ्ङुले बुनेको लुगा भाङ्रा र पुवा(अल्लो) धागोले बुनेकोलाई बोल्ला भन्ने चलन पनि छ ।) गादा पार्नु भनेको गादा पहिरिनु हो ।

रोल्पा/रुकुमका कुनै गाउँमा भाङ्रा नाउँ बढी चल्तीमा छ भने कुनै गाउँमा बोल्ला । मान्छेका सुखदुःखमा सामेल यति ‘सद्नाम’ भाङ्ङु भने सरकारी आँखामा ‘गाँजा’ नाउँले ‘बद्नाम’ थियो । गाँजा ‘प्रतिबन्ध’ले भाङ्ङु र आदिवासी मगरका कति साइनो तोडिएका थिए त कति जीवनशैली बिथोलिएका । कति तोडिन र बिथोलिन ठिक्क ।

पेवा 
घरकी एक मात्र फुपू थिइन्, तिर्सना । गाउँमा भने अरू फुपू पनि थिए– मन्सरा, बिन्सरा आदि । गाउँमा सन्सारी, भुमा, झौसरी, पाम्सु, बुङ्ची आदि नाना थिए । तिनले बाजी लाग्दै बोल्ला बुन्थे । नुन लिन कोइलाबास (पहिले) घोराही(पछि) जाँदा बोल्ला बेच्थे । बोल्ला बेचेको पैसाले मनको ‘रहर’ किन्थे । निदाउन नदिने ससाना ‘सपना’ साकार पार्न कोसिस गर्थे । तिनका ससाना रहर कहिले नाकको बुलाकीमा ठोकिन्थे भने रहर रातो मखमलको गादामा ।

‘कुनै दिन चल्ला काढ्ला’ भनेर आश देखाउँथे आमाबाले । र, बचेको पैसा छोरी नाउँमा लगानी गरिदिन्थे । बोल्ला बेचेको पैसा तिनै फुपू र नानाका ‘कुनके’ हुन्थे । कुनके भनेको बिलकुल निजी हो । यसरी छोरी आफैँले आर्जेको सम्पत्तिलाई ‘पेवा’ भन्थे । ‘पेवा गोडा’ले ससाना सपना र रहरवाले ती फुपू र नाना ‘मनबाटो’मा सुइँसुइँ हिँड्थे । धागो कात्ने, बोल्ला बुन्ने आदिवासी कलाले तिनलाई गच्छे र चेतनाअनुसारको आकाशमा उडान भर्ने पखेटा दिएको थियो । यस्ता सीप मेलापात जाँदा र वस्तुभाउ चराउन जाँदा सानैमा सिकेका थिए । कला जाँच्ने तिनका कला पनि गज्जब कला थियो । 

कसरी ? 
बुनेको बोल्ला जति सक्यो सानो आकारमा बेर्थे । त्यसपछि बाँसको ढुंग्रोमा छिराउँथे । छि¥यो भने बोल्ला ‘बबाल’ गनिन्थ्यो भने कला ‘अब्बल’ ।  यस्तो अब्बल बोल्ला मनको मायालुलाई ‘माया चिनो’ दिन्थे ।पेवाले फुपू र नानाहरूलाई आत्मनिर्भर बनाएको थियो । कारण, नगद उत्पादन स्रोत भाङ्ङुमा महिला सहभागिता र कला निर्णायक हुनु हो । फलस्वरूप, तुलनात्मक रूपले समाजमा मगर महिला शक्तिशाली र निर्णायक थिए ।

नाम्लोदेखि दाम्लोसम्म 
रोल्पाबाट हात हल्लाउँदै चुनबाङखोला दाङ झथ्र्यो । खोलासँग कहिले किनारैकिनार बग्दै त कहिले लेक उकालिँदै एउटा दुब्लो बाटो घोराही पुग्थ्यो । त्यो बाटो निधारमा ऐना राखेका अघौरे घोडासहितका घोडा–खच्चर, कालापारे र हटारुले जाम हुन्थ्यो । घोराहीबाट फर्कने हटारु र घोडाले बोकेका थैला/भल्की नुनले भरिएका हुन्थे । अन्न वा वस्तु एक ठाउँबाट अर्को ठाउँ लाने भल्की÷थैला भाङ्ङुको हुन्थ्यो । 

हटारुले बोकेका भारेडोकोले सिउर हालेका हुन्थे । त्यो सिउरलाई ‘जालीखकन्ना’ भन्थे, जुन भाङ्ङु डोरी जेलिएर बन्थ्यो । डोको बोक्ने बर्रे (नाम्लो) र सर(बर्रेसँग गाँसिएको लामो डोरी) पनि भाङ्ङुकै हुन्थ्यो । पुर्सा भाङ्ङु रेसाबाट बोल्ला बुन्थे भने माउ भाङ्ङु रेसाबाट भाङ्रा । गह्रौँ वस्तु तान्न, अड्याउन प्रयोग हुने बलिया डोरी भाङ्ङु रेसाकै हुन्थे ।  गोठमा पिठो लाने, भाँडाकुँडा बोक्ने ठूला झोलालाई डाङ्रे र भिर्ने सानो झोलालाई झन् भन्थे । यी झोला पनि भाङ्ङुकै हुन्थे । 

बोल्ला वा भाङ्रा बुनेर भाँरी मेट्दा उब्रिएको ‘दसी’बाट जाबी सिलाउँथे । जाबी माछा मार्न, पात र फूल टिप्न प्रयोग गर्थे । भाङ्ङु रेसाबाट बुनेको डोचा जुत्ताको रूपमा भेडा चराउँदा वा हिउँमा लगाउँथे । भाङ्ङु धागोबाट बुनेकोलाई भाङ्रा र पुवा धागोले बुनेकोलाई बोल्ला भन्ने चलन पनि थियो ।स्याउला र रूखका बोक्रापछि लगाएको बोल्ला महिलाले बुन्थे । परिवारलाई ओढाउँथे । पूर्वसांसद बर्मन बुढामगर सुनाउँदै थिए, ‘जान्ने हुन थालेपछि बल्ल विदेशी कपडा आयो । पहिले त लंगौती पनि भाङ्राकै हुन्थ्यो । महिलाले लगाउने गुन्ने र गादा पनि भाङ्राकै ।’

भाङ्ङु संस्कृति
जन्म : भाङ्ङुको फल कोलमा तेल पेल्थे । नवजात शिशुका लागि उपयुक्त मानिने भाङ्ङु तेलले मालिस गर्थे । सेक्थे । न्वारन भोजमा भाङ्ङुको तेलबाट नै रोटी पकाउँथे । सुत्केरी आमालाई भाङ्ङुको तेलमा ‘झानेको रक्सी’ खुवाउँथे ।

सुत्केरी हुनुअगावै भाङ्ङु रेसाको भित्री सेतो भागबाट निकालेर ‘सामा’ गरेको सफा रेसाले नाभी बाँधिदिन्थे । ‘सुत्केरी कुना’का आमा र बच्चालाई जालले ढाक्थे । ‘काक्सीबोक्सी’बाट बचाउन ढाकिएको जालले झिंगा र धुलोबाट भने बचाउँथ्यो । बच्चाको टोपीमा जालको टुक्रा, बच्चालाई पिठ्युँमा बोक्ने बर्को (जसलाई घुर्का भन्छन्) मा पनि भाङ्ङुको जाल हुन्थे । 

बिहे : मन मिलेका दुई साथीले सम्बन्धलाई नातामा परिणत गर्न वा नातेदार पनि आफ्ना छोराछोरी (नजन्मँदै/जन्मेपछि) बीच बिहे छिन्ने चलन थियो । छोरीतिरकाले ‘छोरी तिम्रो बुहारी’ भनेर छोरातिरकाले थापेको बोल्लामा राखिदिन्थे । यसरी बोल्ला थापेर बच्चैमा मगनी गर्नुलाई ‘डाल थाप्ने’ भन्थे । 
०००
जन्ती स्वागतार्थ बाटोमा ‘पर्सौनी’ थाप्थे । बर्कोमा कतै दुबोपाटी मात्र राखेका हुन्थे भने कतै दुबोपाटीसहित दही वा रक्सी/जाँड । कतै बन्दुक पड्काएका हुन्थे । पर्सौनी थाप्नेलाई दुलहीले कोसेली दिने चलन थियो । कोसेलीमध्ये एउटा हुन्थ्यो, माटेखाजामा भटमाससहित भाङ्ङु फल पनि भुटेर मिसाइएको । कोसेली डाङ्रेमा लान्थे । 

‘शुद्ध’ मानिने बोल्ला बिहे ‘सगुन’ दिने चलन पनि थियो । मागी घरजम मेलोमेसो मिलाउन ‘आदिवासी कला’ अनिवार्यजस्तै थियो । युवकलाई हलोकिलो र चोयचेत्रो जाने÷नजानेको, दाम्लो, बर्रे बुन्ने सीप सोध्थे । बुन्न लगाएर जाँच्थे । दैनिक जीवनमा नभई नहुने यस्ता आदिवासी कलाविना घरजम जम्दैन भन्ने मान्यता थियो । युवतीलाई पनि भन्थे, ‘धागोधर्सो गर्न नजानेपछि कसरी धानिन्छ, घरपरिवार ?’ धागोधर्सो भनेको भाङ्ङुको धागो कात्नु, बोल्ला बुन्न आदि जान्नु हो । 
०००
घाट लानअघि नुहाइ–दुहाइ गरिदिई भाङ्ङुको तेल लगाइदिने चलन थियो । त्यसपछि नयाँ लुगा लगाइदिएर बोल्लाले बेर्थे । घाट लाने ‘बाटो’ भनिने कात्रो पनि बोल्लाकै हुन्थ्यो । ‘देशीको चोखो हुँदैन’ भनेर धेरै पछि मात्र कारखानामा बुनेको लुगाको कात्रो बनाए । मृतकका लागि चाहिने नौ अन्नमा भाङ्ङु पनि एक थियो । 

भान्सामा भाङ्ङु
माउ भाङ्ङु फल्थ्यो । फल भुजुंगामा भुट्थे । भुटेको मकै वा गहुँ वा माटेखाजामा मिसाउँथे । भुटेको फल नुन र टिमुरसँग पिँधेर ‘छोप’ बनाउँथे । रोल्पा–रुकुमका भान्सामा भाङ्ङुको छोप विशेष मानिन्थ्यो । छोप भनेको अचार–चटनी हो । भाङ्ङु फल पोसिलो हुन्छ भन्दै बच्चालाई खुवाउने चलन थियो । तेलले तिहुन भुटेर खान्थे । भाङ्ङु तेलमा ‘झानेको रक्सी’ प्रचलित थियो । यसैगरी, भाङ्ङु तेलमा पकाएको रोटी कोसेली लाने चलन थियो । 

माया मापन
रोल्पा जेलबाङको मझीबाङको कुरा हो । एउटी विवाहित महिला भेडीग्वालासँग माया गाँसेर हिँडिन् । बोल्लाले माया मापन गर्दै ती चेलीका निवर्तमान ससुरा कड्केको कुरा पत्रकार कुमार शाह उद्धृत गर्दै थिए, ‘उहिल्यै थाहा थियो, यो पोइल जान्छ भन्ने । ‘तीन वर्षसम्म पनि एउटा बोल्ला गादासमेत आङमा हाल्दिएन ।’प्रस्ट थियो, बोल्ला पति–पत्नी माया मापन गर्ने चिज पनि थियो । 
०००
कान्छा बाजीका कान्छा छोरा कान्छा काकु थिए । काकु बर्रे र डोको बुन्न माहिर । गाउँमा भन्थे, ‘चामुले बुनेको ‘भारेडोको’बाट त पानी पनि छिर्दैन ।’भारेडोको एकदमै मसिनो प्वाल भएको डोको हो । पानी छिर्दैन भन्नुको मतलब हो, ‘डोको बुनाइ बबाल छ ।’ युवायुवती काकुलाई भारेडोको र बर्रे बुनिदिन कर गर्थे । मैले थाहा पाउँदा, बोल्ला बूढापाकाका आङमा मात्र थिए । मायालुलाई चिनो दिने बोल्लालाई कारखाने लुगाले विस्थापित गरिसकेको थियो । 

मान्छेका सुखदुःखमा सामेल यति ‘सदनाम’ भाङ्ङु भने सरकारी आँखामा ‘गाँजा’ नाउँले ‘बदनाम’ थियो । गाँजा ‘प्रतिबन्ध’ले भाङ्ङु र आदिवासी मगरका कति साइनो तोडिएका थिए त कति जीवनशैली बिथोलिएका । कति तोडिन र बिथोलिन ठिक्क ।

माया चिनो दिन बर्रे रोज्नुको कारण थियो, परम्परागत पशुपालन र कृषिकर्म गर्नेसँग बर्रे सधैँ साथ रहन्थ्यो । मायाको चिनो त सधैँ ‘याद’ दिलाउन दिइने चिज थियो । पलपल सम्झिऊन् भनेर बर्रे उपहार दिन्थे । युवाले उपहार दिने अर्को चिनो थियो, झन । भिर्ने हुनाले सधैँ साथ रहन्छ भनेर झन दिने चलन थियो । कपाल कोर्दा सम्झना होस् भनेर चोयाको कलात्मक काइयो पनि चिनो दिन्थे । दिल बसेको युवालाई ढुंग्रोमा छिर्ने ‘अब्बल’ बोल्ला दिन्थे । मसिनो धागोले बुनेको झुली र आकर्षक बुट्टावाल सुर्केथैली पनि । काकुलाई गुहार्नुको अर्को कारण पनि थियो । त्यो थियो, सम्झना सधैँ सम्झाउने गरी सम्झना दिलाउने ‘चिनो’ बुन्ने कला सबैसित सर्वसुलभ सम्भव थिएन । गतिलो सीपवाला भने आफैँले माया मिसाएर मदहोस मिहिनेतले बुनेर माया चिनो दिन्थे । 

मुर जोर्ने 
कोही बिरामी भए वा दुर्घटनामा परेर बाँचे, जीवनसाथी गुमाए वा माता वा पिता गुमाएकालाई भेट्न जानेले (पुरुष भए) पगरी गुथाइदिन्थे । महिलालाई बर्को टाउकोमा राखिदिन्थे । 
सिस्नेलाई गाउँतिर मुरकाटे भन्छन् । सगर(आकाश) प्वाल पार्छ भनेर मुर काटिएको रे ! यसैगरी, कुनै जित हासिल गर्नेलाई पनि पगरी गुथाउने वा बर्को शिरमा राखिदिने चलन थियो । यसरी शिरमा राखिने पगरी वा बर्काे दुवै बोल्लाकै हुन्थे । यस्तो चलनलाई मुर जोरिने भन्थे । शिरमा शिर थपिदिनु भाँचिएको वा भत्केको मुर पुनस्र्थापना गरेजस्तो थियो । जित हासिल गरेका वेला मुर अझै चुलियोस् भनेर गरिने कामना थियो । 

सङाती 
दिन घर्कन थालेपछि (हातगोडा र आँखा सद्दे हुँदै) आफूसँग लाने मनको सामान ‘सामा’ गर्थे । त्यो सामान बोल्ला हुन्थ्यो । सम्भव भए, बोल्ला आफ्नै हातले बुनेर साँच्थे । ‘मरौटी’को भन्दै सुम्सुम्याउँथे । सम्भव नभए, पत्नीले, नभए दिदी–बहिनीले र ती पनि नभए आफन्तले दिन्थे । कोही नहुने बूढापाका ‘आफ्नो त ‘सङाती’ पनि छैन, दिने आफ्ना नि छैनन्’ भन्दै गुनासिन्थे । मर्दाखेरि पनि आफूसँगै लाने सबभन्दा प्रिय चिज हो, सङाती । 
०००
भनिन्छ, गामालेखबाट उत्पत्ति भएका १२ भाइ वराह र २२ बहिनी बजु मगरका कुलदेउता र देवी हुन् । त्यही गामा हो, माओवादी आन्दोलनमा चर्चित जलजला पहाड ।
२२ बहिनी बजुमध्ये पूर्वेनी बजुलाई भाङ्ङुको रेसा र बोल्ला बुन्दा प्रयोग हुने भाँरी चढाउँथे । भन्थे, ‘उनै बजुले रेसाबाट कपडा बुन्ने सीप सिकाएकी हुन् ।’ 
माघे संक्रान्तिमा थबाङतिर गाउने ‘स्याम्भो’मा सिकार खेल्ने प्रसंग आउँदा धनुषकाँधको कुरा आउँथ्यो । गीतमा मैकोटको भाङ्ङु र खुङ्रीको बाँसको धनुषकाँध सबैभन्दा राम्रो उल्लेख छ– खुङ्रेली धनु, मैकोटी भाङ्ङुको धागो !
०००
पहिले महिला–पुरुषले बोल्ला गादा पार्थे । पछि महिलाले मात्र । बोल्लाको चारकुना एकापसमा गाँठो पारेर छातीमा गाँठो पर्ने गरी पिठ्युँ ढाक्ने लुगा लगाउँथे । 
पति–पत्नी पारपाचुके हुँदा वा सौता भित्र्याएर  ‘गादा भर्ने’ चलन थियो । गादा भर्ने भनेको अन्याय परेकी चेलीलाई क्षतिपूर्ति दिलाउनु हो । यो संस्कृतिले ‘परम्परागत कानुन’को रूप लिएथ्यो ।

गाँजा र अत्तर औषधि 
बिरामी भएका वेला दूध वा पानीमा अत्तर घोलेर औषधिको रूपमा खान्थे । टाइफाइड छनक्कै पाथ्र्यो । पेट दुखेका वेला खान्थे भने चोट लागेको ठाउँमा अत्तरले सेक्थे ।गानो (ग्यास्ट्रिक) हुँदा भाङ्ङुको हरियो पात तताएर सेक्थे । पातकै प्रांगारिक मल बनाउँथे । भाङ्ङुको तेलले मसाज गर्थे । थाप्लो र नाभीमा राखिदिन्थे । निमुनिया भएको र जिउ दुख्दा तेल फुराएर मालिस गर्ने चलन थियो । जानभानले भन्थे, ‘साँझ–बिहान दुई–दुई चम्चा तेल किमोभन्दा पनि तगडा छ ।’ थबाङबाट वैद्यखानालाई भाङ्ङु बेच्थे । 
०००
गाउँघरमा राति एक ठाउँबाट अर्को ठाउँ जाँदा भङ्ङाली (भाङ्ङुकोे डाँठ) बालेर हिँड्ने चलन थियो । आगो सल्काउन र दाउरा बाल्नभन्दा बढी भङ्ङाली टर्चको रूपमा प्रयोग हुन्थ्यो । गाउँघरमा आगो बालेर राति हिँड्नुलाई ‘भाङ बालेर हिँड्ने’ भन्थे ।थबाङका अमिट घर्तीमगर सुनाउँदै थिए, ‘एकदमै भूकम्प जाने जापानका कुनै भागमा त भङ्ङाली पेलेर ढुंगा/सिमेन्टजस्तै बनाएर घर बनाउँछन् रे ! जापानमा हेम्प व्यापार गर्नेले थबाङबाट भङ्ङाली लाने कुरा गरेका छन् ।’ हल्का हुनाले गाउँघरतिर ‘यो मान्छे त कस्तो भङालीजस्तो’ भन्ने चलन पनि छ । 

थबाङमा राजा वीरेन्द्र
राजा वीरेन्द्र सुटुक्क सहर पस्थे भने गुपचुपमा गाउँ । मध्यपश्चिम भ्रमणक्रममा वीरेन्द्र उसै तालमा ‘माओवादी मक्का’ मानिने रोल्पाको थबाङ पुगे । क्षेत्रीय भ्रमणमध्ये सायद त्यो नै अन्तिम थियो । थबाङले ०१५ को चुनावमा कम्युनिस्ट उम्मेदवार खगुलाल गुरुङलाई भोट हाल्यो । जनमत संग्रहमा बहुदललाई । ०३८ को राष्ट्रिय पञ्चायत चुनाव बहिष्कार ग¥यो । पूर्वराष्ट्रिय पञ्चायत सदस्य बमकुमारी बुढामगर भन्दै थिइन्, ‘चुनावमा खटिएका कर्मचारीका १२ भोट मात्र खस्यो ।’ 

अमेरिकी चस्मा लगाएर काठमाडौंले भाङ्ङु चोपको चरेस देख्यो । औषधि देखेन । पातको गाँजा देख्यो, औषधि र प्रांगारिक मल देखेन । फलबाट खाने खाजा, छोप र तेल त झन् देख्दै देखेन । रेसाबाट बनेका बोल्ला देखेन । आदिवासी सर्वसाधारणका जीवनपद्धति गाँसिएर बनेको समाज–अर्थ–राजनीति देखेन ।

चुनावको ६ महिनापछि (कात्तिकमा) इन्स्पेक्टर मंगलबहादुर शाहको नेतृत्वमा थबाङ अप्रेसन भयो । थबाङको यस्तो ‘विद्रोही’ रूप ‘रम्चाउन’ राजा वीरेन्द्र सपत्नी पुगेथे । माग बोकेर ‘राजा हेलिकोप्टर’ उड्यो । भोलिपल्टै हेलिकोप्टरले ‘माग’ खसाल्यो । ती थिए, पुल बनाउने सिमेन्ट र सरिया । एउटा माग भने बाटो हेर्दाहेर्दा आँखा पहेंलिए नि खसेन । त्यो माग थियो, ‘भाङ्ङु मगर संस्कृतिसँग जोडिएको छ । प्रतिबन्ध फुकुवा होस् ।’ युएसएड सहयोगमा मर्सी कर्प्सले सन् २००३ मा तयार पारेको रिपोर्टमा रोल्पाली÷रुकुमेलीले राजालाई ‘तीनपालि माग गरेको’ उल्लेख छ । 
०००
पहिलो संविधासभा चुनावमा थबाङ रहेको रोल्पा–२ बाट पुष्पकमल दाहालले जिते । प्रधानमन्त्री भए । गाँजा नाउँमा आदिवासी बाजा बजाएप्रति दाहाल ‘चुँ’समेत गरेनन् । रोल्पा–रुकुमबाट जितेर उपप्रधानमन्त्री, सभामुख, मन्त्री (आदिवासी समुदायकै पनि), सांसद नि बोलेनन् । 

गाँजा ‘राजनीति’ 
पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष एवं थबाङवासी मौसम रोकामगरले रोल्पाको ‘पुलिस–गाँजा’ किस्सा सुनाउँदै थिए–रोल्पामा पुलिस प्रमुख फेरिनेबित्तिकै गाँजाको कुरा उठाउँछ । स्थानीय भन्छन्, ‘खेती हुन्छ । थाहै छ । यसले न कोहीको घरबार बिग्रेको छ, न भत्केको सुनिएको छ ।’ ०३३ मा लागुपदार्थ नियन्त्रण कानुन बनाएर नेपालले गाँजा प्रतिबन्ध लगायो । प्रतिबन्ध अगुवाइ गर्ने अमेरिकाले राप्ती एकीकृत विकास परियोजनाको कार्यालय दाङमा खोल्यो । गाँजा प्रतिबन्धपीडित रोल्पा–रुकुम लक्षित परियोजनाकृत काम पूर्वसांसद बमकुमारी बुढामगरले लेखेकी छन्– 

रोल्पा र रुकुम सदरमुकाममा बाटो थिएन । तर, अड्डाका नाउँमा परियोजनाले गाडी र मोटरसाइकल किन्यो । जनप्रतिनिधिलाई विदेश घुमायो । त्यसमा म पनि (२०४०) थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरिया गएँ । जीविकोपार्जनको बाटो भत्काइएका पीडितले भने परियोजना ‘आए–गए’को ‘पत्ता’ पाएनन् ।मर्सी कर्प्सले एउटा रिपोर्ट ल्यायो । रिपोर्टले ‘गाँजा प्रतिबन्ध तिक्तताको स्रोत’ र ‘पहिले गाँजा खेती हुने क्षेत्रमा माओवादी धेरै प्रभाव’ भन्दै गाँजा प्रतिबन्धले नै ‘जनयुद्ध’ भएको निष्कर्ष निकालेको थियो । मर्सी निष्कर्ष गलत थियो । ती जिल्लामा अन्य दलभन्दा पहिले माओवादी पुग्नु, संगठन मजबुत हुनु र राज्यसत्ताले सर्वसाधारणसमेतलाई चर्को दमन गर्नु नै ‘जनयुद्ध’ प्रभावका कारण थिए ।
०००
गाँजा सहरमा ‘बदनाम’ छ । भाङ्ङु सहरमा गुमनाम छ । गाउँघरमा ‘सदनाम’ । अमेरिकी चस्मा लगाएर काठमाडौंले भाङ्ङु चोपको चरेस देख्यो । औषधि देखेन । पातको गाँजा देख्यो, औषधि र प्रांगारिक मल देखेन । फलबाट खाने खाजा, छोप र तेल त झन् देख्दै देखेन । रेसाबाट बनेका बोल्ला देखेन । आदिवासी सर्वसाधारणका जीवनपद्धति गाँसिएर बनेको समाज–अर्थ–राजनीति देखेन । 

जडौरी चस्माले फल, तेल, रेसा, पात, चोपमा आदिवासी सास साँचिएको कसरी देख्थ्यो ? कोइबात छैन कि, प्रतिबन्ध लगाओस्, गाँजालाई । दुव्र्यसन रोकोस् । यसमा कोइसक छैन । तर, गाँजा नाउँमा भाङ्ङुमा अडिसिएको आदिवासी समाज, संस्कृति र तिनका जीवनशैलीमा प्रतिबन्ध किन ?नोम चोम्स्की भन्दै थिए– गाँजा खाएर अपराध गरेको थाहा छैन । तमाखुले प्रत्येक वर्ष सयौँ हजार मानिस मर्छन् । तर, किन गाँजा अवैध र तमाखु वैध ? प्रतिबन्ध त तमाखु बेच्नलाई हो ।

प्रतिबन्धले बारा, पर्सा, मकवानपुर, जुम्ला, कालीकोट, सुर्खेतलगायत ठूलो संख्या झन् गरिब भए । ‘एक–रङे’ राज्यसत्तामा ‘गैर–सरकारी–रङे’ आदिवासी समाज झन् लाहुरियो । छाती नपाउँदै कारगिल–अफगानिस्तान र भारतमा कालापारिदै तिनका लाली जोवन अरबमा बिते । फलस्वरूप, झन् भन्दा झन् देश परनिर्भर भयो । रुकुम तकसेरामा अध्ययन गरेका डेभिड वाटर खाम भाषामा भाषण दिँदै थिए, ‘सुरुमा नेपाल आउँदा तपाईंहरू आफैँले धागो कात्नुहुन्थ्यो । लुगा बुन्नुहुन्थ्यो । तेल, ऊन, जुत्ता आफैँ बनाउनुहुन्थ्यो । ३५–३६ वर्षपछि आएँ । अहिले त सब किन्नुहुँदो रहेछ ।’

बिसौनामा
बमकुमारी बुढामगरले गे यन्–गे सः नामक पुस्तकमा लेखेकी छन्, ‘राणाले खानी बन्द ग¥यो, पञ्चायतले भाङ्ङु । परम्परागत कलामा आधारित भाङ्ङु रेसालाई पनि चरेसको व्याख्या गरी प्रतिबन्ध लगाउने दुस्साहस भइरहेछ ।’खानी र कपास बन्द भएपछि सबैभन्दा मगर पीडित भए । कारण थियो, खानी र कपास खेतीमा मगर माहिर थिए । कपास खेतीकै क्रममा मगर तराईमा फैलिएथे । 

आत्मनिर्भर बनाउनेजति एवंरीतले बन्द गरेपछि नेपाल हरिकंगाल भयो । साहित्यकार आहुति कंगालीकरणको कारण केलाउँदै थिए– ब्रिटिस इन्डियाको पहिलो सर्त थियो, फलाम र तामा खानी बन्द गर्ने । नेपालको फलाम र तामा राम्रो मानिन्थ्यो । 
दोस्रो थियो, कपास खेती बन्द गर्नेे । 
नेपालमा राम्रो कपास खेती हुन्थ्यो । 
तेस्रो थियो, गाँजा खेती बन्द गर्ने । 
मुख्य कारण थियो, ब्रिटिस इन्डियाले चुरोट बेच्ने । बानी पार्न उसले एक महिनासम्म त सित्तैमा चुरोट बाँड्यो ।
०००
गाँजा प्रतिबन्ध भएको ४३ वर्ष भयो । वनपाखामा भने न वन भाङ्ङु उम्रन छाडेको छ, न त घर भाङ्ङु । भाङ्ङु रेसा चेप्दै धागोको घान हाल्ने जेईका दाँत भने झरे । दाँतलाई सहजीकरण गर्ने बायाँ हात प्यारालाइसिसले चुपचाप छ ।कान्छा काकु घाँस काट्न चढेको दुध्ला रूखबाट सधैँलाई खसे । घरको सिकुवामा कोचेका जेईको टाकु–भाङ्ङु र काकुको फिर्कीमा माकुराले जालो लगाएको छ । 

दाजुभाइ र दिदी–बहिनीका दाँत र हात सहीसलामत छन् । तर, तिनका हातमा टाकु र फिर्की फिर्लुङ–फिर्लुङ फन्किरहेका छैनन् । किन हो कोजानी, तिनका तन्नेरी हातमा फनफन फन्केको हेर्न मन छ । भलै काठमाडौं खिलाफमा किन नहोस् । कारण, आदिवासी ज्ञान र आयआर्जन नहुनु त सिंगो नेपाल नै गरिब हुनु हो ।