• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
उमा सुवेदी काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार ०८:४२:००
सम्झना

सिक्का

२०७६ श्रावण ३२ शनिबार ०८:४२:००
उमा सुवेदी काठमाडाैं

स्मृति ठीक कि कथा ? मनमा प्रश्न उठ्यो ।उत्तरका लागि खल्तीबाट एक रुपैयाँको सिक्का झिकेँ र उफारेँ । सिक्का जमिनमा खस्यो र ठाडो भएर बस्यो ।
०००
मलाई त्यस्तो चप्पल लगाउने रहर कति थियो कति ! आमाले अनेक जोरजाम गरेर त्यो चप्पल किनिदिनुभयो । आहा ! कति हलुका र मुलायम ! त्यो चप्पल मात्र चप्पल थिएन । मेरो कति दिनदेखिको सुन्दर सपना पनि थियो । त्यो चप्पल लगाएको दिन जमिनमा टेकेर हिँडेको होइन, उडेर स्कुल पुगेजस्तो लाग्यो । कति खुसी थिएँ म त्यो दिन । तर, मेरो खुसी धेरैबेर टिक्नै पाएन । 
मैले फेरि आफ्नो खुट्टामा हेरेँ । मेरो खुट्टामा चप्पल थिएन । म रुन चाहन्थेँ । सकिनँ । अब फेरि यस्तो चप्पल मैले कहिले लगाउन पाउँला र ? यो आभासले मुटु बटारियो । एकैपटक मनमा अभाव, रहर र खुसीको लडाइँ चल्यो र सधैँझैँ जित्यो अभावले । तर, यो मेरो चप्पलको कथा होइन ।

यो त मेरा ती स्कुले साथीहरूको स्नेहको सम्झना हो, जसले मलाई कक्षामा खाली खुट्टा आएको देखे र मैले आस मारिसकेको चप्पल फेरि मेरो खुट्टानिर ल्याएर राखिदिए । कुरा यति मात्र भइदिए यो घटना साथीबीचको स्नेहको सामान्य किस्सा मात्र हुन्थ्यो । तर, केही कारण छन्, जसले यसलाई मित्रताको जीवन्त कथा बनाइदिएको छ । 

आज ती सबै घटनालाई कथाजस्तो सम्झिरहेकी छु । यो स्मृतिलाई कथा बनाएर फेरि मेरो आँखाअगाडि चलायमान बनाइदिने श्रेय बुद्ध आदर्श मावि अर्थात् मेरो स्कुललाई । 
स्मृतिजस्तो कथा या कथाजस्तो स्मृति ! नाम जे दिए पनि हुन्छ । यो कथाको प्रमुख पात्र म अर्थात् उमा सुवेदी आफैँ भए पनि यो कथाको निर्माण मेरा साथीहरूको उपस्थितिविना सम्भव थिएन ।
०००
सपनामा पटक–पटक पुग्छे उमा सुवेदी बुद्ध आदर्श मावि अर्थात् उसको हाई स्कुल । उसैगरी पुग्छे, जसरी स्कुले जीवनमा हातमा किताब च्यापेर प्लास्टिकका चप्पल पड्काउँदै दौडिँदै पुग्ने गर्थी । उही स्कुल, उही स्कुल परिसर । सपनामा पनि स्कुलबाहिर उसैगरी डफे दाइ प्लास्टिकको रातो मगमा चटपटे फिटिरहेका हुन्थे । चटपटेको मीठो स्वादले नाकको टुप्पोसम्म हरक्कै बास्ना छोडिहाल्थ्यो ।

बास्नाको मोहनीमा एक राउन्ड फ्रकको गोजी छामिहाल्थी उमा । सपनामा पनि उही एक रुपैयाँको सिक्कामा देब्रे हातका औँला चलमलाउथेँ । अनि सपनामै ऊ आफूलाई सम्झाउँथी, ‘यसरी टिफिन खर्च सुरुमै मासेर कहाँ हुन्छ !’ अनि ऊ सपनामै पनि नाक थुनेर आँखालाई अर्को दृश्यमा जबर्जस्ती कैद गराउने प्रयास गर्छे । स्कुलको गेटबाट थोरै भित्र दाहिने साइडमा चार–पाँचवटा खानेपानीका धारा थिए । चटपटेको मोह त्यागिदिएकी ऊ दौडिँदै गएर दुई हत्केला जोडेर अनवरत झरिरहेको धाराको पानी थापेर अनुहार पूरै भिजाउँदै पिउँछे ।

उसको क्लास ठूलो घाँसेचौरको पश्चिमतिर थियो । भर्खर बन्दै गरेको एकतले भवन । निर्माण सम्पन्न हुन कुनै दातालाई पर्खिरहेको झ्याल–ढोकाविनाको । प्लास्टर गरिनै बाँकी । ऊ त विद्यार्थी । उसलाई त त्यही आधा बनिसकेको भवन सर्वप्रिय थियो ।सपनामा पनि ऊ हतार–हतार किताब राखेर मैदानको दक्षिणतिर रहेको शौचालय पुग्थी । उही चार स्टेप काठको सिँडी उक्लेर पुगिने शौचालय । खुट्टा टेक्ने पनि काठकै अनि दिसापिसाब बगेर सेफ्टीट्यांकीसम्म पुग्ने मार्ग पनि काठकै ।

काठकै मार्गबाट मानव विष्टा बग्नुपर्ने भएकाले आधा विष्टा त काठको डुँड आकारको मार्गमै रहेको हुन्थ्यो । त्यो फोहोरको आलो गन्ध सहन नसकेर नाक थुन्दै एकै सासमा ऊ बाहिर निस्कन्छे । सपनामै ऊ मैदानको पूर्वतिर रहेको काठैकाठले बारेको स्टेजमा खुट्टाले ताल पक्रिँदै देब्रे हातले माइक समातेर गीत गाउँछे । अनि सपनामै ऊ सिसौको सयलमा साथीका माझ घेरिएर गमक्क पर्दै भर्खर रेडियोमा बज्न थालेका नयाँ–नयाँ गीत गाउँदै हुन्छे । ठूलो घाँसेमैदानको वरिपरि हरिया सिसौका रूख आरामले सास फेरिरहेका हुन्थे ।
०००
यसरी म आफैँ पात्र भएको एउटा स्मृति–कथा आज पनि मेरो मस्तिष्कमा सल्बलाइरहेको छ । मानौँ एल्बमको पाना पल्टिँदै छ र दुवै पानामा मेरै तस्बिर प्लास्टिकको खोलभित्र उनेर राखिएको छ । केही दिनअघि जब म मेरो सपनामा जीवन्त रहेको त्यही हरियालीयुक्त ज्ञानको मन्दिरमा झन्डै बीस वर्षपछि पुग्दा भने मलाई स्कुलको गेट ठम्याउनै हम्मेहम्मे प¥यो । मेरो स्मृतिमा रहेको स्कुलले पूरै काँचुली फेरिसकेको रहेछ । त्यसो त मेरो जीवनले पनि कति पल्टा मारिसकेको छ । ममा पनि त किशोरावयको चुलबुलेपन मासिएर मेरो व्यवहारमा ठूला–ठूला हाँगा पलाए । कति पात झरे, कति पलाए । जीवनरूपी वृक्षमा कहिले पतझड आयो, कहिले वसन्तको उल्लास पनि आयो । उराठ र उल्लास दुवै छ र जीवनको रौनक छ । 
बुद्ध आदर्श मेरो पहिलो स्कुल थिएन । त्रिभुवन निम्न मावि होक्सेमा कक्षा सातसम्म पढेर पुगेको स्कुल थियो त्यो । गाउँको स्कुल सकेर पुगेको बजारको स्कुल थियो । साँच्चै भन्नुपर्दा बाल्यकालीन सपनाको स्कुल । गाउँको स्कुलमा पढिरहँदा त्यो स्कुलमा पढ्न जाने सपना धेरैपटक देखेकी थिएँ मैले । आज सोच्छु जस्तोसुकै सपना पनि खेर नजाँदोरहेछ । सपना त मान्छेका लागि त्यस्तो पूँजी पो, जसले मान्छेलाई जीवनप्रति मोह जगाइदिँदोरहेछ । सपनालाई पैसा या अरू उपलब्धिसित साटेर सपनाहीन बन्छन् कति–कति मान्छेहरू र जीवनभर दुःखी भइरहन्छ । सपना नदेख्ने आँखा कति बिझाउँछ होला, कति पोल्छ होला ।

त्यतिवेला राजाको जन्मदिनमा हातमा ‘श्री ५ वीरेन्द्र चिरायु रहून्’ लेखेको प्लेकार्ड बोकेर धुलो उडाउँदै बुधबारे पुग्दा लाग्थ्यो, म कुनै ठूलो सहरमा आइपुगेँ । बाफरे ! कति धेरै मान्छे ? चिल्लो सडक, अनि कति धेरै गाडी ? कति राम्रो स्कुल ? अनि कत्रो ठूलो खेलमैदान ? होक्सेबाट बुधबारे बजार भर्न झर्दा म आमाको फरिया समात्दै पछि लागिहाल्थेँ । हिँड्न सक्दिनँ भनेर आमाले मलाई घरमै छोड्ने जुक्ति निकाल्नथाल्दा म घरै उचाल्ने गरी रोइदिन्थेँ ।

आँसुले मेरो अनुहार लफक्कै भिजेको हुन्थ्यो । मेरो आँसुले आमाको मन भतभती पोल्थ्यो सायद । छोड्न सक्नुहुन्नथ्यो उहाँ । सारीको फेरले मेरो अनुहारभरि लतपतिएको सिँगान र आँसु पुछिदिँदै भन्नुहुन्थ्यो, ‘ल हिँड् छिटो । भरे बजारमा पुगेर यो किन्दिनू र त्यो किन्दिनू भनिस् भने तेरा खुट्टा भाँच्छु । अनि बाटामा हिँड्न नसकेर ‘खुट्टा दुखे’ भनिस् भने उतै छाडेर आउँछु ।’

म एकैछिनमा फुरुक्क परिहाल्थेँ । नाकभरिको सिँगान घाँटीसम्म स्वाँक्क तान्दै भनिहाल्थे , ‘भन्दिन हौ भन्दिन । विद्या कसम ।’ मलाई त बजारभन्दा पनि राजाको जन्मदिनमा जाँदा देखेको त्यो ठूलो स्कुल हेर्नु थियो । आमालाई भन्थेँ, ‘स्कुलको बाटोबाट लानु ल । कत्रो ठूलो स्कुल पो छ त त्याँ ?’ आमा झर्किँदै भन्नुहुन्थ्यो, ‘आफूलाई कतिवेला फर्केर दशथरी काम भ्याउनु छ । यसलाई भने रमिता हेर्नुप¥यो अब । छिटो बाटो पो जानुपर्छ त । तैँले भनेर हुन्छ ?’ 

म जिद्दी गर्थेँ । मेरो जिद्दीको अगाडि आमाको के लाग्थ्यो र ! उहाँ बजार पस्ने छिटो बाटो छोडेर लाग्नुहुन्थ्यो स्कुलतिर । जब स्कुल आउँथ्यो, म मेरा आँखालाई स्कुलतिरै बिछ्याइदिन्थेँ एकछत्र । स्कुलको दृश्यावलोकनमा जति समय गए पनि कुनै हतार हुन्नथ्यो मलाई । तर, आमालाई त हुन्थ्यो नि ! वेलैमा बजार भरेर एक घन्टा हिँडेर घर पुग्नुपथ्र्यो । घर पुगेर गाईबाख्रालाई खोले–पराल गरेर भान्छाको काम भ्याउनुपथ्र्यो । उहाँ मलाई तान्दै भन्नुहुन्थ्यो , ‘कति हेरेकी ए तैँले ! राम्ररी पढ् न ! सात कक्षा पास गरेपछि यही स्कुल आउने त हो नि तँ पनि । अनि अघाउन्जेल हेर्नू दिनैपिच्छे ।’ 

आहा ! मेरो भविष्यको स्कुल । म दंग पर्थेँ । कहिले आउला त्यो दिन ? र, आयो त्यो दिन । बुद्ध आदर्शको पहिलो दिन । छिट्टै पुग्ने हतारोमा म र केही साथी दौडिँयौँ नौ नबज्दै । होक्सेको सिरान भोटेटारबाट हल्का ओरालो बाटो हुँदै दौडिँदा एक घन्टाको बाटो आधा घन्टामै छिचोलियो । बुधबारेको माथिल्लो चोकमा पुगेर घुँडासम्मको धुलो पखालेँ मैले । हातमुख धोएँ ।

सिनिक्क परेर हातभरिको किताब–कापी देब्रे काखीमा च्यापेर पिच बाटोमा प्लास्टिकको चप्पल पट्काउँदै हिँड्दा यस्तो लाग्यो म कुनै दुर्गम गाउँबाट सहर पस्दै छु । 
नयाँ स्कुल, नयाँ साथी, नयाँ शिक्षक–शिक्षिका, नयाँ परिवेशमा केही दिन त मलाई नयाँ–नयाँ अनुभव बटुल्दै ठिक्क भयो । शिक्षकको पढाउने तरिकासँगै मेरो स्वभावमा पनि नयाँपन भेटिनथाल्यो । उमेरको प्रभाव र नयाँ स्कुलको परिवेशले मेरो चुल्बुले स्वभाव अलिक शान्त हुँदै गयो । हरेक कुरा नौला थिए त्यहाँ । त्यो नौलैनौलो वातावरणभित्र घुलमिल हुन केही समय त पक्कै लाग्यो मलाई । मेरो सपनाको स्कुलभित्र विपनाको गोरेटो पहिल्याउन केही दिन संघर्ष गर्नुप-यो मैले । 

स्कुलको अध्ययन सकिएपछि कयौँपटक कल्पनाको उडान भर्दै म त्यही स्कुले जीवनमा फर्किन्थेँ । तर, यथार्थमा मलाई मेरै स्कुल पुग्न जीवनका २० वर्ष पर्खनुप-यो । २० वर्षपछि स्कुल पुग्दा मेरो स्मृतिमा रहेका स्कुले जीवनका अविस्मरणीय दिनले एकोहोरो बनाए मलाई । म पुगेँ उही सुदूरपूर्व स्मृतिमा । फेरि ती स्मृति कथा बने र त्यो कथामा फेरि टुप्लुक्क आइपुगी उमा सुवेदी ।
०००
ऊ साथीहरूको भिडमा रमाई । गणेश सरको क्लासमा शान्त भएर बसी । उहाँले सुनाउनु भएका कवितामा डुबी । हरेक हप्तान्तमा गणेश सरको क्लासमा साथीमाझ उभिएर गीत गाई । काठैकाठको ठूलो स्टेजमा उभिएर देब्रे हातले माइक समात्दै स्कुल र स्रोत केन्द्रका हरेक सांगीतिक कार्यक्रममा धेरैपटक गीत गाई । साह्रै थोरै हाँस्ने धनबहादुर सरको विज्ञानको कक्षामा चुपचाप लागेर बसी । बेनु सरको क्लासमा साथीसँगै बेस्सरी हल्ला गरी । दीपक सरको क्लासमा बसेर नरिवलभन्दा अल्जेब्राका सारा सूत्र रटी । एकराज सरको कृषिको क्लासमा सरका मीठामीठा जोक्स सुन्दै स्कुलपछाडिको बगैँचामा फूल र तरकारीका बिरुवा रोपी । 

टिफिनमा डफे दाइले बनाएको पिरो चटपटेतिर हेरी र खल्तीमा आफूसित भएको एक रुपैयाँको सिक्का छामी । कथामा पनि उसले त्यो सिक्काले चटपटे किनेर खाने आँट गर्न सकिन । चटपटेको काल्पनिक स्वाद जिब्रो फट्कार्दै धाराबाट अनवरत झरेको पानीमा अनुहार भिजाउँदै हत्केलामा थापेर पेट भरिउन्जेल पिई ।

कहिले हरियो चौरको पुछारमा वरिपरि साथीहरू राखेर उनीहरूका फर्माइसका गीत सुनाउन थाली त कहिले भुतका कथा सुनाउँदै होक्सेको उकालो बाटो हुँदै घरतिर लागी । कहिले क्लास बंक गरेर भर्खरै बनेको दुर्गा टाकिज सिनेमा हलमा सिनेमा हेर्न पुगी त कहिले मैया, अञ्जु, मेनुका सरिताहरूसँग भविबल खेल्दा स्कुलमै झमक्क साँझ पारी र एक हातमा किताब र अर्को हातमा चप्पल बोकेर घरतिर दौडिई । 
०००
स्मृतिको गहिरो सागरमा घरी डुब्दै, घरी तैरिँदै म २० वर्षपछि फेरि स्कुलको प्रांगणभित्र पस्दै थिएँ । स्कुलको गेटबाहिरको परिवेश पूरै फेरिएछ । ढकाल्नी आमैको थुक्पा पसल र डफे दाइको चटपटेको ठेला उभिएको ठाउँतिर थुप्रै टहराले जरो गाडिसकेछन् । हरिया सिसौका रूखले छपक्कै छोपेको ठाउँमा पनि थुप्रै टहरा बनिसकेछन् । लामो काठैकाठको मेरो स्कुल त इँटा र सिमेन्टको भवनमा परिणत भइसकेछ ।

ठूलो घाँसेमैदान परिपरिका सिसौका रूख मेरो सपनामा मात्र रहने गरी पूरै गायब भइसकेछन् । उतिवेला आधा अधुरै रहेको मेरा क्लास रहेको भवन दुईतले भइसकेछ । भौतिक उन्नति निकै भएछ । एक चञ्चले मनकी किशोरी उमा सुवेदी आज लेखक उमा सुवेदी बनेर स्कुलकै आयोजनामा भर्खरै निस्केको आफ्नो कथासंग्रह ‘सयौँ पुतली’को परिचर्चा कार्यक्रममा लेखकको हैसियतले पुगेकी थिएँ ।

जीवनमा, स्मृति महत्वपूर्ण कि कथा ? म यसको निक्र्योल गर्न चाहन्छु । त्यसैले स्मृतिमै मैले निकालेँ एउटा सिक्का र स्कुलबाहिर डफे दाइले फेटिरहेको चटपटेको स्वाद कल्पँदै उफारेँ ।

मलाई पढाउने तीनजना गुरु र एक गुरुआमा अझै रिटायर्ड भइसक्नुभएको रहेनछ । उहाँहरूलाई देख्नासाथ आफूलाई उही किशोरवयकी चञ्चले उमा सुवेदीमा परिणत गराइहाल्यो मनले । लेखक उमा सुवेदी र विद्यार्थी उमा सुवेदी भएर मन बाँडियो । उसरी नै बाँडियो, जसरी एलबमका दुई पानामा रहेका हुन्छन् एउटै अनुहारका दुई तस्बिर । स्मृतिको बाढी उर्लिँदै गर्दा मैेले कहिल्यै बिर्सन नसकेको मेरो चप्पलसित गाँसिएको त्यो क्षण । त्यो क्षणमा अझ गाढा भएर आयो मेरो निन्याउरो अनुहार र मेरो टिठलाग्दो अनुहार देखेर गम्भीर भएका मेरा साथीहरूको स्नेह । 

जुत्ता लगाएर स्कुल जाने चलन आइसकेको थिएन । हातमा एक चाङ किताब बोकेर प्लास्टिकका चप्पल पड्काउँदै भोटेटारबाट बुधबारे स्कुल पुग्न करिब एक घन्टा लाग्थ्यो । जति लामो बाटो उति नै चप्पलको आयु छोटो । बजारतिर बस्ने साथीहरू नयाँ–नयाँ डिजाइनका चप्पल फेरीफेरी लगाएर आउँथे । तर, मेरा लागि त्यो सम्भव थिएन । एउटा नयाँ चप्पल किन्दा पनि मेरा बाआमाले धेरै पहिलेदेखि योजना नै बनाउनुपथ्र्यो । म कति महिनासम्म एउटै चप्पल फित्ता सिईसिई लगाउँथे । घरमा हरेक कुराको अभाव देख्दा चप्पल खिइएर कुर्कुच्चाले भुइँ छोइसक्दा या फित्ता चुँडिएर तीन–चार ठाउँ टाल्दासम्म पनि मलाई नयाँ चप्पल चाहियो भन्न सक्दिनथेँ । 

कक्षा दशमा पढ्दै थिएँ त्यतिवेला । धेरैपछि आफूलाई मन परेको डिजाइनको चप्पल किन्दिनुभो आमाले । नयाँ चप्पल पाएका दिन छिट्टै स्कुल पुगेँ । मैलेभन्दा अगाडि त्यो डिजाइनको चप्पल धेरैले लगाइसकेका थिए । मेरो क्लासका पनि धेरै साथीको खुट्टामा त्यही डिजाइनको चप्पल थियो । उनीहरूको हाराहारीको चप्पल लगाएर जान पाएकोमा औधी खुसी थिएँ म त्यो दिन । नयाँ चप्पल पड्काउँदै स्कुलको ओल्लोछेउ र पल्लोछेउ धेरैपटक गरेँ । धेरैपटक धारामा गएर खुट्टा पखालेँ । त्यो दिन मेरा खुट्टा कति राम्रा देखिएका थिए । साह्रै सुहाएको थियो त्यो चप्पलले मेरा खुट्टालाई । क्लासमा सरले पढाइरहेका वेला पनि पटक–पटक खुट्टातिर हेर्दै बसेँ । कामै नपरी पनि बाहिरभित्र गरिरहेँ । 

टिफिनपछिको क्लास सकिनै लाग्दा पिसाबले बेस्सरी च्याप्यो । छेउमा मेनुका थिई । घन्टी लाग्नासाथ सरसँगै मेनुका र म बाहिरियौँ । दुईकोठे ट्वाइलेटमा हतार–हतार पसेँ । पेट खाली भएपछि हतारमै उठेँ । खुट्टा उचाल्दा मेरो दाहिने खुट्टाको चप्लल खुट्टाबाट बाहिरियो र भर्खरै कसैले गरेको दिसामा गएर थपक्कै बस्यो । काठको ढुंग्रोबाट सेफ्टीट्यांकीसम्म नपुगेको दिसामाथि अड्केको चप्पल देखेर म उभिएको उभियै भएँ । एकछिन त के गरुँ–गरुँ भएँ ! निकालुँ भने जति निहुरिए पनि हात पुग्दैन । ननिकालुँ भने आजै मात्र किनेको मन पर्ने चप्पल ! मेनुका बाहिर निस्किएर कराउन थाली, ‘ओइ छिटो निस्की । सर क्लासमा गइसक्नुभयो ।’

म एकछिनसम्म ननिस्किएपछि मेनुका कराउँदै क्लासतिर दौडिई । एक खुट्टामा चप्पल टेकेरै म बाहिर निस्किएँ । यताउता हेरेँ अलिक पर सिमालीको बोट देखेँ । त्यो एउटा भएको चप्पल पनि त्यही भुइँमा छोडेर खाली खुट्टा दौडिएँ र सिमालीको एउटा हाँगो भाँचे । फोहोरको वास्ता नगरी खाली खुट्टै ट्वाइलेटमा बसेँ र सिमालीको हाँगाले चप्पल निकाल्न खोजेँ । बल्ल–बल्ल हाँगाले के छोएको थियो चप्पल त तलै सेफ्टीट्यांकीको मुखसम्मै पुग्यो ।

उपायविहीन म एउटा चप्पल लगाएर क्लासमा जान सकिनँ । निरीह भएर घरी ट्वाइलेटतिर घरी क्लासतिर हेर्दै उभिएँ । धन्न कुनै शिक्षकको नजर ममा परेन । क्लास सिध्दियो । म निन्याउरो अनुहार लगाएर एउटा चप्पल हातमा बोकेर क्लासमा पसेँ । ट्वाइलेटमा चप्पल छिरेको कुराले पूरै क्लासमा मनोरञ्जन छायो । अरूको त्यस्तो अवस्था भएको भए सायद सबैभन्दा धेरै म आफैँ हाँस्ने थिएँ । तर, सबै साथीहरू हाँस्दा पनि म थोरै हाँसेजस्तो अभिनय गरेँ । आज सम्झँदा लाग्छ, मेरो त्यो अभिनय एकदमै खराब थियो । नत्र मेरो अनुहारमा देखिएको त्यो थोरै हाँसोभित्रको मेरो निरीहता साथीले देख्ने थिएनन् । 

मेरो घरायसी अवस्थाबारे सबै साथी परिचित थिए । मेनुका इशु, सरिता, सन्जु र टीका मेरा मिल्ने साथीहरू । त्यो दिन धनबहादुर सर आउनुभएको थिएन । सबै साथी बाहिर निस्किए । एकातिर, आमाको गालीको डर, अर्कातिर मन परेको चप्पल पहिलो दिनै गुमाउनुपर्दाको दुःख । म घोसेमुन्टो लाएर क्लासमै बसिरहेँ ।केहीबेरपछि साथी परैबाट हल्ला गर्दै ठुल्ठूलो हाँसो हाँस्दै क्लासमा पसेँ । मैले उदास मनले साथीतिर हेरेँ र जिल्ल परेँ ।

 मेरो चप्पल यतिखेर इशुको हातमा थियो । सरिताले बेलीबिस्तार लगाई, ‘विचरी बल्लबल्ल नयाँ चप्पल लगाएर आकी थिस् । तँलाई यसरी अँध्यारो अनुहार लगाएर खाली खुट्टा घर जान दिन हामीलाई मनै लागेन ।’उनीहरूले स्कुलपछाडिको घरबाट एउटा लामो बाँसको भाटो ल्याएछन् । अनि दिसैदिसामा डुबेको मेरो नयाँ चप्पल तानेछन् । ट्वाइलेटभन्दा सय मिटर पर थियो धारा । धारामा चप्पल पखालेर पूरै फोहोरमुक्त गरेछन् । उनीहरूको कुराले म पग्लिएँ । केहीबोल्न सकिनँ ।
०००
आफ्नो किताबको अन्तरक्रियामा आफ्नै स्कुल आइपुग्दा, मेरो स्मृतिमा फेरि फनफनी घुम्यो त्यो दिन र मेरा अति सहयोगी साथीहरू इशु, मेनुका, सन्जु, टीका र सरिताको हँसिलो अनुहार । त्यस्तो फोहोरबाट मेरो चप्पल टिपेर ल्याइदिने उनीहरूको स्नेह मेरो आँखाबाट आँसु बनेर उतिवेला छचल्कियो÷छचल्किएन, थाहा भएन । तर, यसपटक २० वर्षपछि त्यही स्कुलमा पुग्दा भने मेरा आँखा रसाए ।

जीवनको खातामा मेरो २० वर्ष स्वतः कट्टी हुने गरी सबै हिसाब–किताब मिलान भइसकेको छ । तर, स्नेहको हिसाब सधैँ बाँकी हुँदोरहेछ । र, त बाँकी छ मेरो मनमा बुद्ध आदर्श स्कुलमा बिताएको तीन वर्षमा मैले शिक्षक–शिक्षिकाबाट पाएको हौसला र प्रेरणा । त्यसैको ऊर्जाले कोरेको गोरेटो पछ्याउँदै म आज मूलबाटोसम्म आइपुगेकी छु । यसरी उमा सुवेदी आफैँलाई आफ्नो कथा सुनाउँछे । किनभने स्मृति बिस्तारै कथा बन्दारहेछन् ।

तर, एउटा अलमल भने मलाई अझै भइरहन्छ– जीवनमा, स्मृति महत्वपूर्ण कि कथा ? म यसको निक्र्योल गर्न चाहन्छु । त्यसैले स्मृतिमै मैले निकालेँ एउटा सिक्का र स्कुलबाहिर डफे दाइले फिटिरहेको चटपटेको स्वाद कल्पँदै उफारेँ । सिक्का जमिनमा खस्यो । तर, ठाडो भएर ।