• वि.सं २०८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
सुरेश किरण काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार ०९:५६:००
समाज

त्यो फ्रिक स्ट्रिट ज्वाइनको खुला बजार

२०७६ श्रावण ३२ शनिबार ०९:५६:००
सुरेश किरण काठमाडाैं

सन् १९५० सम्म त नेपाल बाँकी विश्वका लागि बन्द नै थियो । प्रजातन्त्र बहालीसँगै जब नेपाल खुल्यो, त्यो खुलेको ढोकाबाट राम्रा मात्र होइन, केही मात्रामा नराम्रा कुराहरू पनि छिरे । तिनै नराम्राहरूको सूचीमा परेको एउटा पदार्थ हो– गाँजा । अझ गाँजाकै उन्नत स्वरूप ह्यासिस र ब्राउन तथा ह्वाइट सुगर पनि । सन् १९६० मा सुरु भएर करिब १२–१५ वर्षसम्म नेपालमा जगजगी मच्चाएको त्यो गाँजा–युगको राजधानी थियो– काठमाडौंको झोछेँ ।

हुन त गाँजा नेपालका अन्य जिल्लामा पनि उत्पादन हुन्थ्यो । तर, त्यसको बजार भने झोछेँ नै थियो । गाँजा, चरेसको बिक्री वितरणलाई कानुनी मान्यता प्राप्त भएको युग थियो त्यो । नेपालमा पर्यटन युग सुरु भएकै दशक अमेरिका र युरोपमा उदाएको हिप्पीवाद काठमाडौं पनि छि-योे । काठमाडौंमा महँगा पर्यटक बस्ने केही ठूला होटेल खुलिसकेका थिए । तर, सस्तोखाले पर्यटकका लागि राम्रो ठाउँ भने काष्ठमण्डप पछाडि रहेको क्याम्प होटेल थियो ।

बसन्तपुर दरबार परिसर उसै पनि पर्यटकीय क्षेत्र । त्यही परिसरछेउमा खोलिएको क्याम्प होटेल पर्यटकका लागि सजिलो पनि थियो । काठमाडौं आउने हिप्पीहरूको अखडा पनि त्यहीँबाट विस्तार भएको देखिन्छ । वसन्तपुर क्षेत्रमा खोलिएको सम्भवतः त्यो पहिलो होटेल हो । होटेल सानो भए पनि नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान भएको कारण उक्त होटेललाई सरकारले पछि एक तारे (वान स्टार) मान्यता प्रदान गरेको थियो । 

क्याम्प होटेलपछि वसन्तपुर परिसरमा अरू पनि होटेल र लजहरू खुल्दै जान थाले । त्यसपछि यो क्षेत्र सस्ता पर्यटकहरूको केन्द्रजस्तै बन्न थाल्यो । र, ह्यासिसको मक्का पनि । त्यतिवेला झोछेँ क्षेत्रमा ह्यासिस व्यापक हिट थियो । झोछेँ क्षेत्रमा केही पसलहरू साइनबोर्ड नै राखेर ह्यासिस बेच्थे । यहाँ ह्यासिस तोलामा किनबेच हुन्थ्यो । ह्यासिसको खुला बजार भएको र ह्यासिस खाएर जो–कोही पनि हल्लिएर हिँड्ने भएकाले यस ठाउँलाई ‘फ्रिक स्ट्रिट’ नाम सुहाएको थियो ।

ह्यासिसको बानी लागेका, तर सधैँ किन्न पैसा नहुने केटाहरू पनि झोछेँमा थुप्रै थिए । उनीहरूलाई ‘जंकी’ भनिन्थ्यो । झोछेँका बाटोभरि ठाउँ–ठाउँमा उभिएर जंकीहरू पनि ह्यासिस बेचिरहेका हुन्थे । कुनै नयाँ पर्यटक आएको देख्यो कि उनीहरू ‘डु यु वान्ट ज्वाइन ?’ भनेर सोधिहाल्थे । झोछेँमा त्यतिवेला ह्यासिसलाई ‘ज्वाइन’ भन्ने गरिन्थ्यो । यी जंकीहरू कुनै अर्को ठाउँबाट ह्यासिस लिएर आउँथे । बाटोमै उभिएर बेच्थे र बचेको पैसाले आफ्नो भाग निकाल्थे । आवश्यक परेका पर्यटकलाई लज–होटेलको कोठामा पनि यिनीहरू नै पु-याउने गर्थे ।

फ्रिक स्ट्रिट ह्यासिसको केन्द्र नै भएको कारण त्यहाँ ह्यासिस नचाखेका युवा भेटिन करिब–करिब असम्भव थियो । तथापि उनीहरू दुव्र्यसनी नै चाहिँ थिएनन् । फ्रिक स्ट्रिटभरि नै ह्यासिसको गन्ध आइरहन्थ्यो । गाँजाको बोट माडेर त्यसबाट ह्यासिस निकाल्ने विधि बच्चा–बच्चालाई थाहा हुन्थ्यो । हामी १०–१२ वर्ष उमेरका बच्चाहरू समेत ओमबहालको छेउ–छेउमा रहेका बारीमा गाँजाको बोट माड्न जान्थ्यौँ । र, त्यसबाट निस्केको कालो मयल ल्याएर मेरा दुव्र्यसनी दाजुलाई दिन्थ्यौँ । दाजु हामीलाई ५–६ रुपैयाँ दिने गथ्र्यो । 

ह्यासिसको ठूलै कारोबार हुने ठाउँचाहिँ होटेल इडेन नै हो । होटेल इडेनलाई सम्पूर्ण ह्यासिस कारोबारको सुपरमार्केट भन्दा पनि हुन्छ । र, त्यसका सञ्चालक थिए– देवीदत्त शर्मा । छोटकरीमा डीडी शर्मा चलेको नाम थियो । उनले आफ्नो होटेलको नाम ‘होटेल इडेन एन्ड रेस्टुरेन्ट’ राखेका थिए । तर, त्यो रेस्टुरेन्ट भए पनि त्यहाँ पाइने खाना र पेय पदार्थ भने जम्मै ह्यासिसले बनाइएका हुन्थे ।

त्यहाँको मेनुमा राखिएका खानाहरूको नाम यस्तो हुन्थ्यो– ह्यासिस मिल्क कफी, ह्यासिस ब्लाक कफी, ह्यासिस हट चकलेट, ह्यासिस लेमन स्क्वास, ह्यासिस लस्सी, ह्यासिस टोस्टेड चिज स्यान्डविच, ह्यासिस केक, ह्यासिस चकलेट आदि । होटेल इडेनमा ह्यासिस सेन्टर भन्ने ठूलो साइनबोर्ड त थियो नै । साथै, होटेलले आफ्नो प्रचार गर्न विभिन्न हिन्दू देवीदेवताको फोटोसहितको क्यालेन्डर छापेर बाँड्ने गथ्र्यो । त्यस्तो साइनबोर्ड त्यो वेला झोछेँ, वसन्तपुरका घरघरमा टाँगिएका हुन्थे । 

तत्कालीन श्री ५ को सरकारले ह्यासिस, गाँजामाथि प्रतिबन्ध लगाएपछि इडेन होटेलले त्यस्तो क्यालेन्डर बाँड्न त बन्द ग-यो, तर झोछेँ, ओमबहाल टोलका अधिकांश घरमा भने त्यो क्यालेन्डर धेरै पछिसम्म पनि झुन्डिरहेको थियो । त्यतिवेला केही पश्चिमा पर्यटकहरूले त्यो क्यालेन्डर चाङका चाङ किनेर पनि लगेका रहेछन् । अहिले उनीहरू अनलाइन विज्ञापन हालेर यही क्यालेन्डर प्रतिगोटा ४०० अमेरिकी डलरमा बिक्री गरिरहेका छन् । त्यो क्यालेन्डरमा राम्रो र असली ह्यासिस खरिद गर्नुपरे ‘इडेन ह्यासिस सेन्टर’मा सम्पर्क गर्नु भनी पूरा फोन नम्बरसहितको ठेगाना दिइएको छ । 

योबाहेक पनि होटेल इडेनले झोछेँका बिजुली पोलहरूमा ‘बजारमा नक्कली ह्यासिस आइरहेको छ, असली ह्यासिसका लागि हामीलाई सम्पर्क गर्नु’ भनी विज्ञापन पनि टाँस्ने गरेको थियो । डीडी शर्मा काठमाडौं आउँदा एउटा साइकल लिएर आएका थिए । उनी हालको सिद्धिचरण चोकनजिकै एउटा पुरानो घरमा डेरा लिएर बसेका थिए ।

उनको ह्यासिस पसल झोछेँ, वसन्तपुरमा थियो । त्यही पसलमा ह्यासिस बेचेर उनले धेरै कमाए । र, ओमबहाल टोलमा आएर होटेल इडेन खोले । होटेल इडेन त्यतिवेला ओमबहाल टोलमा सबैभन्दा अग्लो घर थियो । त्यो घरमा लिफ्ट पनि थियो । निजी घरमा लिफ्ट राखिएको पनि पहिलो पहिलोपटक नै हो । आठ–नौ तलाको त्यो पूरा घर ह्यासिस कारोबारको केन्द्र थियो । त्यहाँ ह्यासिसको खुद्रा र थोक दुवै कारोबार हुन्थ्यो ।

कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका वेला राजा वीरन्द्रकै ठाडो आदेशले ह्यासिसमाथि प्रतिबन्ध लगाउने कानुन बन्यो । त्यसपछि झोछेँका सबै ह्यासिस पसलहरू या त बन्द भए या त अर्को पसलमा रूपान्तरण भए । तर, होटेल इडेनमा भने साइनबोर्ड निकाले पनि ह्यासिस बिक्री रोकिएको थिएन । खुद्रा पसलहरू बन्द भएपछि बाटोमा उभिएर ‘ज्वाइन’ बेच्ने जंकीहरू सक्रिय हुन थाले । तर, उनीहरू पहिलेजस्तो नकराईकन मान्छे हेरेर मात्र कारोबार गर्थे । 

सरकारले ह्यासिसमाथि प्रतिबन्ध लगाए पनि इडेन होटेलको कारोबार भने ‘अन्डरग्राउन्ड’ चालू थियो । त्यसैले त्यसमाथि सरकारी निगरानी पनि कडा बन्दै गयो । त्यो वेला झोछेँ–ओमबहाल क्षेत्रमा चौबिसै घन्टाजस्तो प्रहरी भ्यान कुदिरहेको हुन्थ्यो । कतिपटक त राति नै आएर पनि होटेलमा प्रहरीले रेड हान्यो । तर, डिडी शर्मा फरार भइसकेका थिए र उनलाई प्रहरीले समाउन सकेनन् ।

केही वर्षअघि डिडी शर्माको निधन भइसकेको छ । उनले खोलेको होटेल इडेन अहिले रुफटप रेस्टुरेन्टका रूपमा चालू छ । झोछेँमा सबैभन्दा बढी बिक्री हुने वस्तु कालो ह्यासिस भए पनि ब्राउन सुगर र ह्वाइट सुगरको मुख्य बजार पनि झोछेँ नै थियो । खास खास पसलहरूमा त्यो पाइन्थ्यो । तैपनि मुख्य खुद्रा विक्रेताचाहिँ सडकमा हल्लिएर हिँड्ने जंकी नै हुने गर्थे ।

उनीहरूलाई प्रहरीले समाइहाले पनि दुई–चार दिनभन्दा बढी राख्दैनथे । प्रहरीले उनीहरूबाट जफत गरेको ब्राउन सुगर फेरि अर्को जंकीमार्फत झोछेँमै बिक्री गर्न पठाउने समेत गर्थे । कतिपय जंकीहरू ह्वाइट सुगर भन्दै नयाँ दुव्र्यसनी पर्यटकहरूलाई धुलो चुन दिएर पैसा कुम्ल्याउने पनि गर्थे । फ्रिक स्ट्रिट पहिलेजस्तो खुला ज्वाइन बजार त अहिले रहेन, तर पनि कुनै पुराना ग्राहक आफूलाई चाहिने ‘माल’ खोज्न आउँछन् भने उनीहरू निराश हुनुपर्ने अवस्थाचाहिँ छैन । झोछेँ अहिले आधुनिक युवाहरूको आकर्षक ‘हट स्पट’ बनेको छ । यसको पुरानो गाथा उनीहरू कथाजस्तै सुनेर रोमाञ्चित हुन्छन् ।