• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

नाद–अवतार गोपाल योञ्जन

गोपाल–स्मृति

२०७६ भदौ ७ शनिबार ०७:३२:००

जुनीभरि अर्जेका कमाइहरूलाई 
तेरो माटोभरि म फालेर जान्छु,
ए संसार तेरो म केही लानेछैन, 
म जिउको लुगासम्म फालेर जान्छु !
(शब्द : गोपाल योञ्जन, संगीत : कर्म योञ्जन, 
स्वर : महेश सेवा/स्वरूपराज आचार्य)

महेश सेवाले यो गीत रेकर्ड गराउने समयमा गोपाल योञ्जन परलोक भइसकेका थिए ! कर्म योञ्जनसँग गीत मागेपछि अनुमतिका लागि गोपालपत्नी रिन्छिन योञ्जनलाई भेट्न महेश काठमाडौँ आए ! त्यो बर्सादी यामको मुसलधारे पानीमा रुझ्दै रिन्छिनको घरमा उनलाई भेटे र सुनाए, यो गीत मन पर्नुको कारण ! रिन्छिनले भनिन्, ‘मलाई यो गीत खासै मन पर्दैन ।’ रिन्छिनको यो भनाइमा खास अर्थ छ ! गोपाल योञ्जनले नेपाली संगीतका लागि गरेको त्याग र राज्यले गरेको उपेक्षा ! यही गहिरो शूल रोपिएको थियो उनको मनमा ।

प्रि–नाद
दायाँबायाँ लोप्राकान, गुच्चाजस्ता आँखा भएको कागजको खोस्टो हो, नागरिकता । भलै त्यसमा अन्य थोक पनि होलान् । संसारमा त्यस्ता खोस्टा नभएका धेरै मानिस छन् । ती मानिसमध्येका एक थिए, गोपाल योञ्जन, जो आत्मा, मन, वचन र कर्मले पूर्णतः नेपाली भएर बाँचे र मरे । सन् १९४३ अगस्ट २६ मा दार्जिलिङको ओकाइटी टी एस्टेटमा जन्मिएका गोपाललाई उनका पिता डा. बुद्धिमान योञ्जनले उनी १० महिनाको हुँदा संसार छाडेर गएका थिए । माता छेकुडोल्माले हुर्काएकी थिइन् उनलाई, उनकी दिदी प्रतिमासँगै । (हुन् त जन्ममिति र तिथिले कोनै महान् हुने नै हो र !)


लाहुरेको छोरो लाहुरे बनोस्, डाक्टरको छोरो डाक्टर होस् भन्छ अझै हाम्रो समाज । मर्नुभन्दा अघि डा. बुद्धिमान योञ्जनले श्रीमती छेकुडोल्मालाई यसै भनेर गएका थिए । गोपाल योञ्जनलाई डाक्टर बनाउन स्थानीय सेन्ट जोसेफ कलेजमा जीव–विज्ञान विषय पढाउन भर्ना गरियो, नतिजा उल्टो आयो । इन्जिनियरिङ पढाउन जलपाइगुडी पनि पुर्‍याइयो तर उनी भैदिए– दार्जिलिङको लोक मनोरञ्जन शाखाका बाँसुरी–वादक ।

उनको बाँसुरीको कला अम्बर गुरुङ, शरण प्रधान, कर्म योञ्जन, अरुणा लामा, रञ्जित गजमेरहरूका सांगीतिक समूह र ग्याङमा गुञ्जिन थाल्यो । त्यति नै वेला उनले सत्यजित रेको चलचित्र ‘कञ्चनजङ्घा’मा बाँसुरी बजाए ।दार्जलिङको बजारमा दौरासुरुवाल र ढाका टोपी लगाएर ‘नौलाख तारा उदाए’ गिरी (अगमसिंह गिरी) सँग हिँडिरहेका वेला भेटिए, नगेन्द्र थापा ।

२४ वर्षका लक्का जवान ०२४ सालमै गीतकार नगेन्द्र थापाको साथ लागेर नेपाल पसे । त्यति वेला अम्बर गुरुङ नेपाली संगीतमा जमिसकेका थिए । गोपालले नारायणगोपालसँग ईश्वरबल्लवको साक्षित्वमा दार्जिलिङको महाकाल डाँडामा मकलमा आगो बालेर मितेरी साइनो गाँसिदिइसकेका थिए । यति वेलासम्म गोपाल योञ्जनले स्थानीय कलेजबाट स्नातक पास गरिसकेका थिए । ०२७ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरे, त्यसै वर्ष वनारसबाट शास्त्रीय संगीतमा बि.म्युज. पनि गरे । 

जन्मजात संगीतको प्रतिभा, नेपाली साहित्यको स्नातकोत्तर, शास्त्रीय संगीतका बि.म्युज.– गोपाल योञ्जन हीराझैँ टल्किए । त्यसपछि गोपाल योञ्जनले लेखेका हरेक गीत, भरेका धुन र गरेको संगीत संयोजन अमूल्य निधि बने । एकसे एक गीत नारायणगोपालले गाए । अरुणा लामा, ध्रुव केसी, किरण प्रधान, उदितनारायण झाहरू उनकै गीतले अझै उजेलिए । 

जातीय चेतना  र प्रेमभावमा गोपाल
अभावमा भाव उत्पन्न हुन्छ, त्यो भाव यति उच्च हुन्छ कि उचाइले परिधिको फेरोलाई सयौँ फन्को लगाउन सकिन्छ । गोपाल योञ्जनका जातीय अस्मिता र राष्ट्रभावका गीति लेखनको उत्कर्ष यही हो । प्रवासी हुनु, नेपाली भाषी हुनु, नागरिकतामा भारतीय हुनु, मुम्बई जान छाडेर काठमाडौँ आउनु, नेपाली भाषा–साहित्यमा स्नातकोत्तर गर्नु ।

जब कुनै व्यक्तिसँग आफ्नो नामको आधिकारिक खोस्टो हुँदैन, जब कुनै व्यक्तिसँग आफ्नो नामको चार पाउ टेक्ने जमिन हुँदैन, त्यति वेलाको राष्ट्रवादको उत्कर्ष बनेको छ, ‘पहाराले यो छाती मेरो’, ‘देशले रगत मागे’, ‘मेरो टोपी कैलाशको शिरजस्तो,’ ‘धेरै छ सेवा गर्नुलाई यहाँ नेपाली बन्नलाई’ (निसानी ५२ र ५३) आदि–आदि जस्तो हुन्छ ।

गोपाल योञ्जनका यिनै देशभक्तिका चेतनाका गीतले आजसम्मका पुस्तालाई पनि जातीय अस्मिता र देशभक्तिका गीति लेखनमा हजार गुणा भोल्टको चुनौती दिने गरेको छ । आजको पुस्ताले सम्म खुट्याउन सकिरहेको छैन कि संगीतको किराले टोकेको एउटा विषालु मनुले चार हजार जुनीका लागि सम्पूर्ण नेपालीका किन गीत लेख्यो ?

लोकसंगीतमा गोपाल
दार्जिलिङको पहाडी संगीत र नेपालको पूर्वको लोकसंगीतमा केही तादाम्य हुन सक्ला । गोपालका केही गीतमा तिनको सहज छनक पाइन्छ । जब गोपाल योञ्जनका लोकगीतको गणना हुन्छ, आउँछन् यी गीत– ‘छातीमा मेरो यो छोटो भोटो,’ ‘च्याङ्बा ओइ च्याङ्बा’, ‘मरी गए रेलीमै दैवको काखैमा,’ ‘ए कान्छी नानी नि कस्तो छ मनको सुर,’ ‘आहै भन भन भाइ हो, देउसुरे ।’ कहाँबाट सिके गोपालले नेपालको पश्चिमाञ्चल क्षेत्रका खाँटी लोकगीत ? कहाँबाट पलायो तामाङ सेलोको अग्र्यानिक टुसा ? हो, एउटा सच्चा साधकमा हुने खास गुण यिनै हुन्, पानी पिएपछि मूलकै पिउने ।

गोपाल योञ्जन नेपाली साहित्यका स्नातकोत्तर भएकै कारण नेपाली लोकसंगीतको सैद्धान्तिक अध्ययन गर्न समर्थ भएका थिए । सँगै थियो, संगीतका समकालिकको संगत । यी लोकसंगीतका सच्चा साक्षी लोकसंगीत अनुसन्धाता तथा चलचित्र निर्देशक चेतन कार्की हुन्, जसले ‘कान्छी’ सिनेमामा संवाद र गीत लेखेका थिए र उनकै पहलमा निर्देशक बिएस थापाले संगीतकारमा गोपाललाई उतारे र बने, ‘कान्छी हे कान्छी’ र ‘फरियालाई भुइँमा लतारी’ । त्यसअघि गोपाल योञ्जन ‘सिन्दुर’ चलचित्रका केही गीतमा लोकगीतका फ्लेभरमा दरिइसकेका थिए । त्यसपछि उनी ‘पहिलो प्रेम’, ‘बदलिँदो आकाश,’ ‘मायाप्रीति’जस्ता सिनेमामा संगीतकार बने । तिनका कुनै न कुनै गीत त्यही नेपाली लोकस्वादका थिए । 

गोपाल नेपाली संगीतका एक ग्वाला हुन्, जसले नेपाली संगीतमा सुनका धारा दूध दिने गाई पाले र आजीवन नेपालीलाई तिनै स्वर्णगाई सुम्पेर गएका छन् । 

अहिले पनि बिबिसी नेपाली सेवाले गोपाल योञ्जनको त्यही सेलो गीतको धुनलाई आफ्नो परिचायक धुन बनाएको छ– च्याङ्बा ओइ च्याङ्बा । गोपाल योञ्जनले नेपाली माटोबाट टिपेको यो धुन उनका शब्दले जीवन्त भएको हो, यहाँ ज्ञानु राणा आवाजमा खारिएकी छिन्, गोपालसँगै । अर्को गीत छ– छातीमा मेरो यो छोटो भोटो, यो गीतमा उनले नेपालका क्षेत्र गुरुङलाई आफ्नो सहकर्मी साक्षी बनाएका छन् । गोपालका लोकगीतका हजार बयान गर्न सकिन्छ, जहाँ आफ्नोपन, संस्कृति र नेपाली जाति हुनुको गौरवबोध गर्न सकिन्छ ।  

बागीना, संगीत गुरु र गोपालय 
बाजा, गीत र नाच । यी तीन तत्वविना संगीतको अस्तित्व छैन भन्ने बोध गोपाल योञ्जनमा थियो । उनले नगेन्द्र थापा र नारायणगोपालसँगको सहकार्यमा ‘बागीना’ पत्रिका प्रकाशन गरे, जहाँ नेपाली संगीतका विधागत परिचयदेखि विश्व संगीतका आलेखका साथै नेपाली संगीतको उत्थानका लेख रचनाहरू प्रकाशन हुन्थे । अम्बर गुरुङ, नारायण गोपाल, भूपी शेरचनलगायतहरू स्तम्भ लेख्थे । पाठक पत्र लेख्नेहरू तत्कालीन अभि सुवेदीहरू (अहिलेका प्रा. डा. अभि सुवेदी) थिए ।

संगीत शिक्षा र मनोरञ्जनलाई साथसाथै लैजानुपर्ने गोपाल योञ्जनको मान्यता थियो सायद । साथै, गोपाल योञ्जनले सेन्ट मेरिज, पद्मकन्याजस्ता कलेजमा संगीतको अध्यापक भई वर्षौं काम गरे । अहिलेका चर्चित सङ्गीतकार न्ह्यू बज्राचार्यको संगीत स्कुल ‘डोरेमी संगीत पाठशाला’को उद्घाटन गरी प्रशिक्षकसमेत बने । महाराजगन्ज चक्रपथमा आफ्नै घरमा ‘गोपालय’ नामक रेकर्डिङ स्टुडियोसमेत खोले । सयौँ, हजारौँ गीत लेखे, संगीत भरे, संगीत संयोजन गरे, गाउन लगाए । 
०४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा गोपाल योञ्जनले गीत लेखे र गाए– 

धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई,
शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई,
होइन भने नेपाली नभन, वीरको छोरा–नातिमा नगन ।

चाहे खेलकुदका क्षेत्रको गीत– खेलाडी हो खेलाडी किन नहोस्, वा युवा जागरणको गीत (स्वर सूर्य थुलुङ) ‘मागी मिठो खाँदैन’ किन नहोस्, गोपाल सधैँ गोपाल नै भए ।  भक्तिगीतदेखि प्रेमभावका गीत, बालगीतदेखि खेलकुदका गीत, सुरा–सुन्दरीका गीतदेखि सामयिक चेतनाका गीत । कोरेका सबै गीत हुन्नन्, गाएका सबै सुर हुन्नन्, बोलेका सबै वाणी हुन्नन्, जहाँ सरस्वतीको विश्वास हुन्छ, त्यसलाई विषले पनि गलाउन सक्दैन अनि त्यो पूर्णतः एउटा सग्लो गीत बन्छ, हिट हुन्छ, कालजयी बन्छ । त्यो हिटभित्रको अर्को तत्व हो, संगीत अर्थात् लय ।

गीतलाई लयमा ढाल्न त्यति सजिलो छैन । कुनै निर्जीव शब्दलाई एउटा गतिमा बगिरहेको सुर–तालको प्रवाहमा हिँडाउनु चानचुन कुरा होइन । सुर, ताल र संगीतको गहिरो ज्ञानविना यो असम्भवप्रायः छ । यो मानेमा गोपाल योञ्जन अति तीक्ष्ण थिए । आफूले जन्माएका गीतका सन्तानलाई संगीतको कर्मको बाटो आफैँ देखाएका हुनाले र सकभर आवाजको अमरपन आफैँले दिए, नभए समकालिक तर अब्बललाई दिए । 

प्रेमगीतका गोपाल सीमित प्रेमी–प्रेमिकाका फितला सम्बन्धभन्दा निकै गहिरा छन् । सम्बन्धका गीतका गोपाल क्षणभरमै टुट्ने कमसल डोरीभन्दा बलिया छन् । भक्तिगीतका गोपाल पापी मनका आडम्बरभन्दा माथि छन् । जातीय अस्मिताका गीतमा गोपाल छुत–अछुतभन्दा माथि छन् । बालगीतमा गोपाल बालसुलभ भावनाभन्दा निश्छल छन् । समग्रमा गोपाल नेपाली संगीतका एक ग्वाला हुन्, जसले नेपाली संगीतमा सुनका धारा दूध दिने गाई पाले र आजीवन नेपालीलाई तिनै स्वर्णगाई सुम्पेर गएका छन् । 

संगीतका सामान्य ताल दादरा, कहरवा, ख्याम्टा, समलामा जसले संगीत भर्न सक्छ तर गोपाल योञ्जनका गीत–संगीतका अप्ठ्यारा तालहरू रूपक, झपताल, दीपचन्दी आदिमा अझै कालजयी बनेका छन् । नाद अर्थात् वर्णको अव्यक्त मूल ध्वनि । संगीतशास्त्रका अनुसार हृदयमा नाभिस्थानभन्दा माथि रहेको वायुका सहायताले उत्पन्न भई मुखबाट प्रसारित हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा अभ्यास गर्ने साधकले सुन्ने शब्द, त्यस्तो साधकका मस्तिष्कमा उब्जेको सुमधुर शब्द वा उसद्वारा निस्केको मधुर ध्वनि हुन् गोपाल योञ्जन, जसको नाम उच्चारण हुँदा पनि वाद्यरहित लयात्मक ध्वनि हावामा तरंगित हुन्छ ।  
एउटा शासक र सत्ताको चाकरीमा एउटा मात्र राष्ट्रिय गीत बन्न सक्ला तर गोपाल योञ्जनका हरेक गीत ‘राष्ट्र–गीत’ हुन् ।

नेपाली हुन पूर्वजन्मको कमाइले पुग्दैन, 
पुर्खाको पौरख, श्रम र आशिष मात्रले पुग्दैन
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ,
पराया मुटु दौराको फेरले छोपेर पुग्दैन ।
(शब्द, संगीत, स्वर : गोपाल योञ्जन)

प्रतिकृया दिनुहोस