• वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७५ चैत २ शनिबार ०८:४९:००
समाज

आमा–छोरी सम्बन्ध : पुराना जन्जिर भत्काउँदै, नयाँ डोरी बाट्दै

२०७५ चैत २ शनिबार ०८:४९:००

‘पहिला आमाले छोरीको चिन्ता गर्थिन् । अहिले छोरीले आमाको चिन्ता गर्छिन्,’ समाजशास्त्री डा. मीना उप्रेती भन्छिन्, ‘छोरी स्वतन्त्र हुँदै छिन् । बरु छोराहरू संकटमा छन् ।’ उनको भनाइले समाजमा पछिल्लो समय आमाछोरीको सम्बन्धमा आएको परिवर्तनको झल्को दिन्छ ।  नेपालमा कुनै समय श्रीमान्को चितामा दर्जनौँ श्रीमती सती जान्थे । बहुविवाह गर्ने पुरुषको सामाजिक हैसियत माथि हुन्थ्यो । तर, समाज उही रूपमा रहेन । समाजमा परिवर्तन भयो । बितेको अढाइ दशकमा नेपाली समाजमा निकै ठूला खैलाबैला आएको विज्ञहरू बताउँछन् ।

समाजका तीन महत्वपूर्ण  खम्बा– अर्थतन्त्र, राजनीति र संस्कृतिमा निकै ठूलो धक्का पुगेपछि पुरानो संरचनागत परिवारमा ठूलो असर परेको समाज विज्ञानका अध्येताको भनाइ छ । त्यो धक्काले आमाछोरीको सम्बन्धमा के बदलाव ल्यायो ? ५० नाघेकी आमाको जीवन र आजको छोरी पुस्ताबीचको तात्विक अन्तर के छ ? आजका छोरी पुस्ता आमा पुस्ताभन्दा कति स्वतन्त्र छ ? आमा पुस्ताले भोगेका सामाजिक बन्धनबाट छोरी पुस्ता कति मुक्त छ ? आमाछोरीको सम्बन्धमा के परिवर्तन आयो ? यसबारे पर्याप्त छलफल नभएको समाजशास्त्रीको भनाइ छ । 

आमाछोरी सम्बन्ध :टाढा कि नजिक ?
लेखक सरला गौतम भन्छिन्, ‘छोरीलाई परम्परागत नियममा बाँध्न चाहने आमाहरू अब ज्ञानको पंखले छोरीहरू उडेको देख्न चाहन्छन् ।’ सबै नियम पालना गरी समाजसँग प्रश्न नगर्ने छोरी होइन, आफ्नै बलबुतामा उभिने बलियी छोरी आजको आमाले चाहेको धारणा उनको छ । भन्छिन्, ‘आजकी आमा लजालु छोरी होइन, निर्भीक र निडर छोरी चाहन्छिन् ।’ उनका अनुसार, पहिले आमा–छोरीका दुःख मिल्दाजुल्दा हुन्थे । अब त्यो फेरिँदै छ । आमा पुस्ताभन्दा छोरी पुस्ताको दुःख र अनुभूति बदलिएको छ । छोरीहरू घरबाहिर निस्किए । चुनौती र अवसर फेरियो । उनी भन्छिन्, ‘सोचाइको तरिका नमिल्ने आमाछोरीबीच निकटता पक्कै कम छ ।’ 

तर, समाजशास्त्री उप्रेती आमाछोरीबीचको निकटता पछिल्लो समय बढेको बताउँछिन् । कृषिप्रधान समाजमा आमा र छोरीको सम्बन्ध छोटो हुने उनी बताउँछिन् । ‘त्यसको कारण बिहे हो । १० वर्ष नपुग्दै छोरीको बिहे गरेपछि आमाछोरी लामो समय सँगै बस्न पाएनन्,’ उनी भन्छिन्, ‘तर, अहिले ढिलो बिहे हुने भएपछि आमाछोरी लामो समय सँगै बस्न पाउँछन् ।’ आमाछोरीको सम्बन्ध नै फेरिएको उनको मत छ । भन्छिन्, ‘बुबाछोराको सम्बन्ध वंश, अंश र स्थानीयतासँग जोडिएको हुन्छ । आमाछोरीको सम्बन्ध भावनासँग मात्रै जोडिएको हुन्छ ।’ उनका अनुसार हिजो छोरीलाई संस्कार सिकाउने आमा आज छोरीबाट सल्लाह लिन्छिन् । उप्रेती भन्छिन्, ‘हिजो आमा सक्रिय, छोरी निष्क्रिय थिइन् । आज छोरी सक्रिय छिन्, आमा निष्क्रिय छिन् ।’ आर्थिक कारणले आमाछोरीको सम्बन्धमा फेरबदल आउने मत राख्छिन्, उनी । भन्छिन्, ‘जब समाजको आर्थिक क्रियाकलापमा परिवर्तन हुन्छ, तब समाजका पारिवारिक सदस्यको सम्बन्धमा पनि परिवर्तन आउँछ ।’ 

चुलोमा के छ ? 
चुलो परिवर्तनको बिम्ब मानिन्छ । परिवारको आय बढेपछि चुलोमा पाक्ने परिकार फेरिन्छ । समाजमा लैंगिक समानता भए भान्से फेरिन्छ । तर, के छ चुलोमा ? आमाको पालो सकिएपछि चुलोमा फेरि छोरीको पालो सुरु भएको छ कि ? समाजशास्त्री डा. उप्रेती भन्छिन्, ‘चुलोबाट हिजो पनि छोरीहरू मुक्त थिए । आज पनि मुक्त छन् । किनकि परम्परागत हिन्दू समाजमा बिहे नगरी छोरीलाई चुलोमा जाने अनुमति नै थिएन । अहिले बच्चैमा बोडर्समा राखिन्छन् ।

कतिपय चियासमेत पकाउन जान्दैनन् ।’ सहरका आमाहरूसमेत चुलोबाट करिब मुक्त भइसकेको उनको भनाइ छ । तर, रिपोर्टिङका क्रममा भेटिएकी १६ जना महिलामध्ये १५ ले चुलोमा आमालाई सघाउने गरेको बताए । सिन्धुपाल्चोककी २१ वर्षीय अनिता माझी भन्छिन्, ‘म आमालाई चुलोमा सघाउँछु ।’ ५२ वर्षीया सरस्वती मर्हजन आफूलाई भान्सामा छोरीले सघाउने गरेको बताउँछिन् । समाज परिवर्तनको संकेत घरघरमा पुगिरहेको बताउँछिन्, लेखक गौतम । भन्छिन्, ‘शासन बदलियो । थोरै भए पनि महिलाले शासन चलाउन थाले । तर, पुरुषहरूमा भान्सामा सँगै जानुपर्छ भन्ने मान्यताको विकास भएन ।’ पुरुषले काममा समान सहभागिता जनाए मात्रै चुलोबाट महिला मुक्त हुने उनी बताउँछिन् । 

छोरी कति स्वतन्त्र ? 
गुल्मीकी २६ वर्षीय मोनिका महतारालाई आफ्नो जीवनसाथी आफैँ चुन्न पाउने स्वतन्त्रता मन पर्छ । निर्धक्क हिँडडुल गर्न मनपर्छ । त्यति मात्रै होइन, क्षमताअनुसारको काम र कामअनुसारको पारिश्रमिक पाउने स्वतन्त्रता उनको चाहना हो । तर, मोनिकाको चाहनाजस्तै स्वतन्त्र छ त आजको छोरी पुस्ता ? परिवर्तित युगमा उनीहरू साँच्चै स्वतन्त्र छन् कि फेरि नयाँ बन्धनमा बाँधिएका छन् ? विश्लेषकको मत बाझिएको छ । कवि प्रणिका कोयू छोरी कसरी हुर्काइयो भन्ने प्रक्रियालाई महत्वपूर्ण  मान्छिन् । ‘छोरीलाई कसरी हुर्काइयो, यो महत्वपूर्ण  छ,’ उनी भन्छिन्, ‘अपवादलाई छाड्ने हो भने आजको छोरी पुस्ता हामीले चाहेजस्तो शक्तिशाली र स्वतन्त्र छैन ।’

तर, लेखक गौतमको धारणा कोयूसँग मिल्दैन । उनी छोरीमाथि निर्णय थोपर्ने पुरानो परम्परा भत्किएको बताउँछिन् । भन्छिन्, ‘छोरीमाथि निर्णयको जुन घनत्व थियो, त्यो धेरै कमजोर भएको छ । पहिला बुबाछोरीबीचको संवाद पनि मुस्किल थियो । अहिले बाबुछोरीको सम्बन्ध साथीको जस्तो बन्दै छ ।’ उनका अनुसार, छोरी पुस्ता खाने, लाउने, पढ्ने र करिअर बनाउने सम्बन्धमा स्वतन्त्र छ । उनीहरू कम हस्तक्षेप सहन्छन् । ‘सम्भवतः छोरीको जीवनमा देखिएको सबैभन्दा सकारात्मक परिवर्तन यही हो,’ उनी भन्छिन्, ‘तर, कन्यादान स्विकार्छन् । मलाई किन गाईवस्तुसरह दान गर्छौ भन्न सक्दैनन् । आजको छोरी पुस्ता सतहमा आएको परिवर्तनमै रमाएका छ । विभेदको जडमा प्रश्न गर्नु आफ्नो दायित्व ठान्दैन ।’ आजको छोरी पुस्तालाई ‘अराजक पुस्ता’ ठान्छिन्, डा. उप्रेती । हिजो एउटै परिवारमा पाँच–सातवटीसम्म छोरी हुन्थे । उप्रेती भन्छिन्, ‘जसको एउटी मात्रै छोरी छ, उसले धेरै स्वतन्त्रता पाएर ऊ अराजक पनि भएकी छे ।’

लेखक वन्दना ढकाल छोरीहरू अराजक भएरै बितेको अढाइ दशक साँच्चै उथलपुथलकारी भएको बताउँछिन् । उनी भन्छिन्, ‘कहिल्यै बन्दुक नसमातेका महिलाले बन्दुकको ट्रिगर पनि दबाए । छोरीहरूले डाडुपन्यु मात्रै होइन, एलएमजी पनि चलाउन सक्छन् भन्ने साबित गरेर देखाए ।’ पुरुषसत्तासँग विद्रोह गर्ने आँट छोरी पुस्ताले नै देखाएको उनको दाबी छ । भन्छिन्, ‘तर, चुलोमा कैद हुन पुगेको आमाको जीवन उस्तै छ ।’ 

सामाजिक हैसियत के छ ?
छोरीलाई आफ्नै घरको ‘क्षणिक पाहुना’ ठान्ने मान्यता छ समाजमा । त्यस्तै विधुवा, गरिब र सीमान्तकृत महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउने कुप्रथा पनि समाजमै कायम छ । बितेको अढाइ दशकमा महिलाको सामाजिक हैसियतमा के फरक देखियो ? आमा पुस्ताले भोग्नुपरेको सामाजिक भेदभाव छोरी पुस्ताले कति भोग्नुपरेको छ ? समाजशास्त्री उप्रेती भन्छिन्, ‘संरचनात्मक परिवर्तन नभएसम्म मानिसको सोचाइमा परिवर्तन आउँदैन । मानिसको सोचाइ परिवर्तन नभएसम्म छोराहरू छोराकै स्थानमा र छोरीहरू छोरीकै स्थानमा हुन्छन् ।’ उनका अनुसार, आज उत्पीडनको स्वरूप फेरियो । भन्छिन्, ‘हिजो महिलालाई बोक्सीको आरोप लगाइन्थ्यो । आज यौनहिंसा गरिन्छ । आज पनि महिलालाई मुख्य स्थानमा जिम्मेवारी दिइन्न । आजका छोरीहरू योग्य छन्, कमाउन पनि सक्छन् । तर, रिस्क पोजिसनमा छन् ।’ 

महिला हिंसाको स्वरूप परिवर्तन भएको, तर अन्त्य नभएको बताउँछिन्, कोयू । उनी महिलाको सामाजिक हैसियतमा  तात्विक  भिन्नता नआएको बताउँछिन् । दलीय राजनीतिमा लागेका महिला कार्यकर्ता र पुरुष कार्यकर्ताबीचको प्रगति नै भिन्न हुने गरेको उनी बताउँछन् । भन्छिन्, ‘प्रमुख राजनीतिक दलमा आबद्ध महिला र पुरूष नेताको शक्ति, स्रोत, प्रभाव नै फरक छ । अनि सामाजिक हैसियतमा सुधार आयो भनेर कसरी भन्ने ?’ छोराप्रतिको मोह अझै कायम रहेको लेखक रीता साह बताउँछिन् ।

सहरी क्षेत्रमा यो धारणा परिवर्तन हुँदै गए पनि ग्रामीण इलाकामा अझै विद्यमान रहेको उनको भनाइ छ । भन्छिन्, ‘छोरा पाउन अझै लिंग पहिचानपछि छोरी–भ्रूण हत्या गरिन्छ ।’ केही छोरीहरू निर्णय प्रक्रियामा सहभागी हुन थाले पनि गरिब र निम्न वर्गका छोरी अहिले पनि पुरानै अवस्था रहेको उनको भनाइ छ । तर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीकी उपमेयर जानुका पराजुली राजनीतिक क्रान्तिले महिलाको सामाजिक–राजनीतिक हैसियतलाई माथि उठाएको बताउँछिन् । भन्छिन्, ‘नेपाली इतिहासमा महिलाको पक्षमा भएको निकै ठूलो उपलब्धि हो यो ।’ स्थानीय तहमा ठूलो संख्यामा दलित महिलासमेतको प्रतिनिधित्व भएपछि महिलामाथि गरिने परम्परागत व्यवहारमा परिवर्तन आएको उनको भनाइ छ । ‘समाजको अवहेलित वर्ग, जाति, लिंग नेतृत्व तहमा पुग्दा उनीहरूप्रति गरिने व्यवहारमा परिवर्तन आएको छ,’ उनी भन्छिन् ।

छोरीको आफ्नै बैंक खाता 
रिपोर्टिङ क्रममा भेटिएका २० देखि २६ वर्ष उमेर समूहका १६ मध्ये १५ महिलाको बैंकमा खाता छ । उनीहरू अधिकांशको आमाको बैंक खाता छैन । आमा पुस्ताको अचल सम्पत्ति पेवा राख्ने संस्कृति थियो । आजको सहरिया र गाउँकै पनि कतिपय छोरीको बैंकमा व्यक्तिगत खाता छ । यो कस्तो परिवर्तन हो ? समाजशास्त्री उप्रेती आजको छोरी पुस्तासँग एउटा होइन, दुईवटा बैंक खाता रहेको बताउँछिन् । भन्छिन्, ‘एउटा आफैँले कमाएको पैसा राख्न, अर्कोे विदेशबाट श्रीमान्ले पठाएको पैसा राख्न ।’ आमा पुस्ताको सम्बन्ध कामसँग मात्रै रहेको र छोरी पुस्ताको सम्बन्ध पैसासँग बढेको उनको मत छ । भन्छिन्, ‘बैंकमा पैसा भएपछि आजका छोरीको बार्गेनिङ क्षमता बढेको छ ।’ बैंकको खाता नम्बरलाई फगत अंक मात्रै होइन, आर्थिक आत्मनिर्भरताको पनि बिम्ब मान्छिन् गौतम । ‘परिवर्तनका लागि आर्थिक  आत्मर्भिरता निर्णायक हुन्छ,’ उनी भन्छिन् । 
 तर, कोयूको भनाइ फरक छ । छोरी पुस्ता आर्थिक आत्मनिर्भरतातिर अघि बढे पनि कमाएको त्यो पैसा कहाँ खर्च हुन्छ भन्ने पक्ष महत्वपूर्ण  भएको बताउँछिन् । भन्छिन्, ‘आजको छोरी पुस्ताले व्यक्तिगत खाताको पैसा कसका लागि, कहिले र किन खर्च गर्छ भन्ने कुरा सोचनीय छ ।’ 

५० नाघेकी आमाको जीवन र आजको छोरीपुस्ताबीचको तात्विक अन्तर के छ ? आजको छोरीपुस्ता आमापुस्ताभन्दा कति स्वतन्त्र छ ? आमापुस्ताले भोगेका सामाजिक बन्धनबाट छोरीपुस्ता कति मुक्त छ ? आमाछोरीको सम्बन्धमा के परिवर्तन आयो ?

वंश र अंशमा फेरिएको सम्बन्ध 
‘बाहिरी रूपमा छोरीलाई पनि अंश दिनुपर्छ भने पनि भित्री रूपमा आमाहरू नै छोरीलाई अंश दिन चाहँदैनन्,’ समाजशास्त्री उप्रेतीको तर्क छ । उनी भन्छिन्, ‘छोरीलाई माया गर्छन्, पीडा बाँड्छन् । तर, अंश लगोस् भन्ने चाहँदैनन् । आमाको दिमागमा भरिएको यो वर्षौंदेखिको संस्थागत मान्यताको प्रभाव हो ।’ तर, पछिल्लो समय यो धारणामा परिवर्तन आइरहेको निचोड उनको छ । उनका अनुसार, कानुनमा समानता देखियो । तर, परिवारभित्र बाँकी छ । भन्छिन्, ‘छोरी पुस्ता गतिशील छ । आमाको सोच गतिशील छैन । भावनात्मक सम्बन्ध प्रगाढ भए पनि आमा र छोरीबीच अन्तद्र्वन्द्व भने जारी छ ।’ 

सम्पत्तिको उपभोग गर्ने छोरा नै हो भन्ने मान्यता पहिलाको भन्दा कम भएको विचार राख्छिन्, समाजशास्त्री निर्मला ढकाल । भन्छिन्, ‘अंशको उत्तराधिकारी छोरा नै हो भन्ने धारणा पहिलेभन्दा कम भएको छ ।’ लेखक वन्दना ढकाल पनि वंश निरन्तरता र अंश रक्षाका लागि छोरा चाहिने धारणा केही खुकुलिएको तर्क गर्छिन् । उनी भन्छिन्, ‘छोरी अंश र वंशका उत्तराधिकारी हुन् भन्ने धारणा पूर्ण रूपमा स्थापित हुन लामो संघर्षको आवश्यकता पर्छ ।’ तर, आजका छोरीहरू पुराना जन्जिर भत्काउँदै नयाँ डोरी बाट्दै अगाडि बढेको बताउँछिन्, समाजशास्त्री डा. उप्रेती । ‘कत्ति छोरीहरू नयाँ डोरी बाटेर पिङ खेल्न पुगिसकेका छन्,’ उनी भन्छिन्, ‘कतिपयचाहिँ नयाँ डोरीमा गुजुल्टिएका पनि छन् । तर, आजका छोरीहरू बन्धन तोड्ने प्रयासमा छन् ।’ रिपोर्टिङमा भेटिएका १६ मध्ये ११ महिलाले वंश धान्न छोरा नै चाहिन्छ भन्ने मान्यता परिवारमा भएको बताए । केहीले वंश र अंशको उत्तराधिकारी छोरा नै हो भन्ने मान्यतामा एक प्रतिशत पनि हलचल नभएको बताए । 

पितृसत्ताको बन्धन 

आमा पुस्ता पितृसत्ताबाट पीडित भयो । छोरी पुस्ता पितृसत्ताबाट पीडित हुनुपरेको छ ? लेखक वन्दना ढकाल भन्छिन्, ‘छोरीहरू पितृसत्ताको नयाँ स्वरूपबाट पीडित छन् ।’ कोयू वन्दनासँग सहमत छिन् । आमा पुस्ताभन्दा छोरी पुस्ता पितृसत्ताबाट झन् पीडित भएको कोयू बताउँछिन् । डा. उप्रेती उनीहरूसँग सहमति छिन् । भन्छिन्, ‘आमा पुस्ताको पितृसत्ता परिवारको शक्तिसम्बन्धसँग जोडिएको थियो । छोरी पुस्ताको पितृसत्ता बजार र नाफासँग जोडिएको छ ।’ भत्काउने नाममा पितृसत्ता भन् हाबी हुँदै गएको उनको भनाइ छ । उप्रेती भन्छिन्, ‘पितृसत्ता हिजो पनि हाबी थियो, आज पनि छ । फरक यत्ति छ, आमा पुस्ता सामाजिक बन्धनमा थियो । छोरी पुस्ता बजारको बन्धनमा छ ।’ 

संक्रमणमा छोरीहरू 

डा.मीना उप्रेती
आमाछोरीबीचको सम्बन्धमा व्यापक परिवर्तन आएको छ । आमाछोरीबीचको सम्बन्ध हेर्न सबैभन्दा पहिला संरचनागत तह हेर्नुपर्छ । हिजोभन्दा आजको छोरी पुस्ताको हैसियतमा परिवर्तन आएको छ । कृषिप्रधान समाजमा आमा र छोरीको सम्बन्ध छोटो थियो । त्यसवेला आमा र छोरी लामो समय सँगै बस्न पाउँदैनथे । किनभने १० वर्ष नपुग्दै छोरीको बिहे भइसक्थ्यो । 

बुबाछोराको सम्बन्ध वंश, अंश र स्थानीयतासँग जोडिएको छ भने आमा र छोरीको सम्बन्ध भावनात्मक मात्रै हुन्छ । हिजोका आमाहरू छोरीको भविष्य सम्झेर चिन्तित हुन्थे । कृषिप्रधान समाजको उपज हो त्यो । अबको समाजमा आमाछोरीको सम्बन्ध ठीक उल्टो छ । अब आमा सुन्ने, छोरी भन्ने समाज बन्दै छ । काठमाडौंका अधिकांश घरहरू आमाका नाममा छन् । रजिस्ट्रेसनमा कम शुल्क लाग्ने भएकाले यो पनि भएको हो । यसले आमाको सम्पत्तिमाथि अधिकार बढाएको छ । पुरानो मान्यता बुबासँग छ । सम्पत्तिको मालिकचाहिँ आमा हुँदै छन् । आर्थिक पाटो आमासँग छ, वंशजको पाटो बुबासँग छ । आमा जागिरे नभएपछि बुबाको तलब, एटिएम, सम्पत्तिको व्यवस्थापन आमाले गर्न थालिसके । आर्थिक कारोबारमा पुरुषहरू बढी खट्नुपर्ने भएकाले उनीहरू प्रायः घरबाहिरै हुन्छन् । बाहिरै काम गर्ने, घरमा पैसा पठाउने काम गरिरहेका 
छन् पुरुषहरू । 

गृहिणी नै किन नहोस्, आर्थिक पक्षमा बिस्तारै आमाको भूमिका बढ्दै छ । आमाहरू आर्थिक रूपमा शक्तिशाली हुँदै छन् । आर्थिक रूपमा शक्तिशाली भएपछि आमाको बार्गेनिङ पावर बढ्छ । आमालाई छोराहरूको चिन्ता हुन थालेको छ । छोरालाई भन्न नसकेका जटिल सम्बन्ध आमासँग हुन्छन् । छोरासँगको सम्बन्ध बिग्रेला भन्दै छोरीसँगको सम्बन्ध लुकाउने र जटिल बनाउने गर्छन् । परिवारभित्र आमाछोरीको सम्बन्ध बाहिर एउटा हुन्छ, भित्र एउटा हुन्छ । 

आजका छोरी गतिशील छन् । उनीहरू आफ्नो पहिचानको कुरा गर्छन् । परिचय र ‘सेल्फ पावर’को कुरा गर्छन् । आमाहरू अझै सामाजिक मूल्यको कुरा गर्छन् । आमाहरू ‘समाज’ भन्छन्, छोरीहरू ‘म’ भन्छन् । आमा पुस्ता श्रीमान्को पिएचडीमा मख्ख पथ्र्यो । छोरी पुस्ता आफैँ पिएचडी गर्न तम्सिन्छ् । पहिले ‘विमेन फर अदर्स’ भनिन्थ्यो । अहिले ‘सेल्फ’ भन्न थालेका छन् । छोरी पुस्ता पुरानो सामाजिक बन्धनबाट मुक्त हुन खोजिरहेको छ । आमा पुस्ता सामाजिक बन्धन र कर्तव्यमा थियो । छोरी पुस्ता त्यो बन्धनलाई केही मात्रामा तोड्दै बाहिर निस्किएको छ । 
अहिले छोरीहरू संक्रमणकालमा छन् । ‘रिक्स पोजिसन’मा बाँचिरहेका छन् । तर, जब छोरीले आफ्नै पहिचान बनाउँछन्, त्यतिवेला पितृसत्ता स्वतः भत्किन्छ ।
(कुराकानीमा आधारित)