• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

यो भूमि तिम्रो हो

२०७६ भदौ ७ शनिबार ०८:२०:०० | काठमाडाैं

उडी गथ्री । जन्म सन् १९१२, जुलाई १४, ओक्लाहोमा । चर्चित अमेरिकी लोकगायक । वब डिलनलाई अत्यन्त प्रभाव पार्ने संगीतकार । उही डिलन, अमेरिकी लोकगीत परम्परालाई नयाँ काव्यिक अभिव्यक्ति दिएकोमा सन् २०१६ को साहित्यको नोबेल सम्मान पाउने गीतकार । 

गथ्री मध्यमवर्गीय परिवारमा जन्मेका थिए । अमेरिकी श्रमिक वर्गको दुःख, पीडा, संघर्ष र सपनालाई वाणी दिने गायकका रूपमा गथ्री चिनिन्छन् । सन् १९२९ को स्टक मार्केट धरायसी भएपश्चात् उत्पन्न प्रभावले बैंक, उद्योग, कलकारखानाहरू बन्द भई करिब डेढ करोड कमदार बेरोजगार भएका थिए ।

अमेरिकी इतिहासको यस आर्थिक मन्दीलाई ‘द ग्रेट डिप्रेसन’ भनेर चिनिन्छ जुन सन् १९२९ देखि १९३९ सम्मै कायम रह्यो । त्यसको मारबाट त्राण नपाउँदै सन् १९३५ मा अमेरिकाको दक्षिणी क्षेत्रमा भीषण धुलोको हुन्डरी चल्यो । खेत–बस्तीहरू माटो र बालुवामुनि पुरिए । र, खडेरीका कारण लाखौँ कृषक भोकमरीको चपेटामा परे । धेरै कृषक आफ्ना परिवार लिएर पश्चिमतर्फ बसाइँ सरे ।

ग्रामीण जीवनमा धुलोको आँधीले निम्त्याएको कठिनाइ, संघर्ष र नयाँ आशालाई विषय बनाएर गथ्रीले एल्बम निकाले– ‘डस्ट वउल ब्यालेड्स’ । जीवनकालमा हजारभन्दा बढी गीत रचना गरे । बालबालिकाहरूका निम्ति पनि धेरै गीत लेखेर गाए । तर ‘दिस ल्यान्ड इज योर ल्यान्ड’नै सम्भवतः उनको सबभन्दा लोकप्रिय र कालजयी रचना हो । उल्थामा, ‘यो भूमि तिम्रो भूमि हो ।’ सन् १९४० मा लेखिएको यो गीत समस्त श्रमिकवर्ग र प्रतिरोधी आन्दोलनको मुक्ति–गीत बन्यो । 

नेपालको सन्दर्भमा समेत ‘यो भूमि तिम्रो भूमि हो’ गीत सान्दर्भिक छ । भूमि प्रकृतिको देन हो कि व्यक्तिगत सम्पत्ति ? आधारभूत प्रश्न हो । उक्त गीत त्यस प्रश्नको जवाफ पनि हो । उनी भूमि प्रकृतिको देन भएकोले सामूहिक स्वामित्व र पहुँचको वकालत गर्छन् ।

राज्य र निजी व्यवसायीहरूबाट श्रमिकवर्गलाई विस्थापन गर्नु गलत हो भन्छन् । यो राजनीतिक गीत हो, जसले दर्जनौँ कवि, संगीतकार र करोडौँ श्रमिकवर्गको प्रतिरोधको आन्दोलनलाई बल पु¥याएको थियो । सन् १९६० ताका बब डिलन अमेरिकाको नागरिक आन्दोलनमा होमिनुको पछाडि पनि यिनै प्रेरणा थियो भनिन्छ । 

लामो समयसम्म रेडियो र रेकर्डमा नबजेको यो गीत, श्रोताहरूको माध्यमबाटै वन डढेलोसरि फैलियो ।‘दिस ल्यान्ड इज योर ल्यान्ड’ कति लोकिप्रय बन्यो भने यो गीत कालान्तरमा दर्जनौँ संगीतकार, गायकले पनि गाए । यस गीतलाई पिट सिगर, बब डिलन, द किङ्स्टन ट्रिओ, ट्रिनी लोपेजले गाएका छन् भने पछिल्लो समय राम्बलिङ ज्याक इलियट र ब्रुस स्प्रिङग्स्टिनहरूले पनि आफ्ना कार्यक्रममा प्रस्तुत गरेका छन् । सर्वाधिक चर्चित ऐक्यबद्ध गीत बन्यो यो । यस गीतको भिन्न संस्करण चल्तीमा छन् ।

अमेरिकामा सन् १९६० लोकपरम्पराको पुनर्उदयको काल मानिन्छ । यस समयमा लोकगीतहरूमा निहित राजनीतिक अर्थप्रति अघिल्ला संगीतकारको तुलनामा पछिल्ला पुस्ताको ध्यान मिहिन रूपमा आकृष्ट भयो । पुनर्उदयकालमा भएको नागरिक अधिकार आन्दोलन र वाक् स्वतन्त्रताको आन्दोलनलाई समेत गथ्रीको रचनाहरूले ठूलो ऊर्जा प्रदान ग-यो ।

लिडवेली, पिट सिगर, सोनी टेरी र ब्राउनी म्यागेगजस्ता प्रतिरोधी गायकहरूको अलमानक समूहका निम्ति गीत लेख्न गथ्री अगाडि आए । यो समूहले रंगभेदविरोधी, फाँसीवादविरोधी र श्रमिकहरूको हकअधिकारको विषयमा गीतहरू गाउँथ्यो । क्याम्ब्रिज, म्यासाच्युसेट्स र न्युयोर्क सहरको छिमेक ग्रिनविच भिलेजमा लोकगायकहरू भेट्न, आफ्ना रचना सुनाउन र छलफल गर्न जुट्थे । 

ग्रेस्टोन पार्कमा भएको त्यस्तै एक कार्यक्रममा जाने हजारौँ प्रशंसकमध्ये एक बब डिलन थिए, जो त्यसबखत मात्रै १९ वर्षका थिए । डिलन गथ्रीबाट अत्यन्त प्रभावित भए । गथ्रीबारे डिलनले लेखेका छन्, ‘उनका रचनाहरू वर्गीकरणभन्दा पर छन् । उनको संगीतमा अपिरिमित मानवतावादका झिल्काहरू भेटिन्छन् ।’ डिलन गथ्रीको विरासतलाई धेरै पर र माथि लैजान समर्थ भए । 

धेरैको तर्क छ, उक्त रचना माक्र्सवादी विचारधारामा आधारित वैकल्पिक संगीत हो । गथ्रीको जीवनी र रचनाहरू विश्लेषण गर्दा त्यो तर्क सही लाग्छ, तर यो रचनाको अपिल यति फैलियो कि त्यसलाई मनपराउनेहरू माक्र्सवादी मात्र थिएनन्, उत्तिकै देब्रे ढल्कुवा, मानवतावादी र अहिंसात्मक सामाजिक आन्दोलनका अभियन्ताहरू पनि थिए । 

पुँजीमार्फत भूमि र प्रकारान्तरले प्राकृतिक वातावरणमाथि नै एकाधिकार जमाउने रवैयाविरुद्ध यो गीत लक्षित छ । प्राकृतिक वातावरणअन्तर्गत हावा, पानी, जंगल, कृषिभूमि र सिंगो पारिस्थितिक प्रणाली समस्त मानवको हो भन्ने सन्देश बोकेको यो गीत समतामूलमक समाजको पक्षमा उभिन्छ । त्यसैले होला, गथ्री अहिलेसम्म अग्लो उभिरहेका । त्यही वैचारिक धरातलमा बब डिलन पनि । 

पहिलो अनुच्छेद हेरौँ :
यो भूमि तिम्रो पनि, यो भूमि मेरोे पनि 
क्यालिफोर्नियादेखि न्युयोर्क आइल्यान्डसम्म
रेड उड जंगलबाट गल्फ स्ट्रिमसम्म
यो भूमि तिम्रो र मेरो निम्ति बनेको हो 

गीतको आसय छ– भौगोलिक सिमाना तोकेरै भूमि कुनै एक वर्गको मात्र नभई सबैको अर्थात् तिम्रो र मेरो पनि हो । भूमिलाई बजारको वस्तु बनाउने वैचारिकीको विपक्षमा छ । त्यसैले खुला बजार अर्थतन्त्रको विरोधमा । अमेरिकाजस्तो खुला बजार अर्थतन्त्र अपनाएको देशमा त्यसखाले गीत लेख्नु र गाउनु जोखिमपूर्ण थियो । भूमि, तालतलैया, पानी, बतास, वनजंगल र चरण क्षेत्र समस्त मानवजातिको हो । सदियौँदेखि प्राकृतिक स्रोतमा निर्भर रहेका स्थानीय रैथाने, महिला, दलित र आदिवासी जनजातिको झनै बढी हो । 

सन् २००४ को युएनडिपीको रिपोर्टअनुसार, नेपालमा झन्डै एकचौथाइ परिवार भूमिहीन छन् । सात प्रतिशतसँग अत्यन्त थोरै, ०.२ एकडभन्दा कम भूमि छ । बडाल आयोगकै तथ्यांकअनुसार, सन् ९० को दशकमा मात्र पाँच लाख भूमिहीन छन् । यसमा मधेसका दलित र अतिसीमान्तकृत आदिवासी जनजाति धेरै छन् । कृषिमा आधारित जनसंख्या धेरै हुनुपर्छ भन्ने होइन । तर, कृषिमा श्रम गर्ने वर्गको भूमिमाथि पहुँच हुनु आवश्यक छ ।

कृषियोग्य भूमि बाँझो राख्नु अपराध हो । त्यसलाई दण्डित गर्नैपर्छ । सत्ता परिवर्तनसँगै बन्ने र सत्ता परिवर्तनसँगै भत्कने भूमि सुधार आयोग सत्ताधारी राजनीतिक पार्टीको देखाउने दाँत मात्रै भएको छ । राष्ट्रिय भूमि अधिकार मञ्चजस्ता संस्था लामो समयदेखि क्रियाशील छन् तर सरकारको भूमिमैत्री नीति र कार्यक्रमविना दिगो उपलब्धि सम्भव छैन । भूमिमैत्री नीति र कार्यक्रमको रोडम्याप खोज्ने हो भने नाफामुखी भूमण्डलीकरण र उपभोक्तावादसँग जुध्नैपर्छ । 

भूमिको सवाल हाम्रो समाजमा कति गहिरोसँग गाँसिएको छ भन्ने खुलस्त पार्ने केही पुस्तक पनि छन् । यज्ञशको ‘भुइयाँ’ त्यसमध्ये एक हो । त्यो पुस्तकमा भूमिहीनता र त्यसले निम्त्याउने नकारात्मक असरको फेहरिस्त छ । मनमोहक भाषाशैली छ । अर्को किताब डा. जगन्नाथ अधिकारीलिखित ‘नेपालमा भूमि सुधार : समस्या र सम्भावना’ हो । त्यस्तै सामुदायिक आत्मनिर्भर केन्द्रका अनुसन्धान र तथ्यांक पनि महत्वका छन् ।

भूमिहीनहरूको भूमिप्रतिको निर्भरता, उनीहरूको संस्कृति र पहिचानमा त्यसको भूमिका र भूमिहीनताले जन्माएको विभेद थाहा लाग्दा, गथ्रीको रचनाको अर्थ हाम्रो समाजको वास्तविकतासँग मेल खान्छ । संख्यात्मक दृष्टिले नेपाल अझै कृषिप्रधान देश हो । यद्यपि कृषककै आर्थिक सामाजिक अवस्था सबभन्दा नाजुक छ ।

त्यसका केही कारण छन् । कृषकसँग कृषियोग्य भूमि नहुनु, कृषि कर्म नगर्नेसँग यथेष्ठ भूमि हुनु, कृषकहरूको सेवासुविधा कटौती हुनु, भएका कृषि सेवा र सुविधाको वितरण प्रणाली प्रभावकारी नहुनु, भूमि नाफाको माध्यम बन्नु, माफियातन्त्र हाबी हुनु, खुला बजार अर्थतन्त्रको जगजगी हुनु र राज्यको अनुगमन संयन्त्र कमजोर बन्नुले कृषि सबभन्दा हेपिएको क्षेत्र बनेको छ । अरू त के कुरा, सागसब्जी र फलफूलसमेत भारतबाट आयात गर्नु परेपछि समस्या विकराल भएको थाहा हुन्छ । 

गथ्रीको गीतको चौथो अनुच्छेद हेरौँ :
जब घाम चम्कदै आयो, म हिँडिरहेको थिएँ
जब गहुँ झुलिरहेको थियो, धुलोका बादलहरू मडारिरहेका थिए
जब कुइरो माथि उड्दै थिए, ध्वनि निस्किएको थियो 
यो भूमि तिम्रो र मेरो निम्ति बनेको हो 

चौथो अनुच्छेदमा प्राकृत विम्बहरूको प्रयोग भएको छ । गीतमा प्राकृत विम्बहरू प्रयोग गर्नुको अर्थ भूमिलाई प्रकृतिप्रदत्त मान्नु हो । गथ्रीले घाम, बादल र कुहिरोको सुन्दर काव्यात्मक स्केच खिचेका छन् । गथ्रीको विचारमा, भूमि सबैका निम्ति अर्थात् तिम्रो र मेरो निम्ति पनि हो । भूमि जब उत्पादनको साधन मात्र नभई नाफाको माध्यम बन्यो, समस्या सुरु भयो । भूमिमा वर्चस्व राख्ने होड चल्यो । त्यसपछि उत्पादनको स्रोतमा स्वामित्व नहुने श्रमिक वर्ग बहिस्करणमा प-यो । 

गथ्रीबाट प्रभावित बब डिलनले पनि केही राजनीतिक गीत लेखेका छन् । सन् १९८९ ‘वो मर्सी’ शीर्षकको एल्बम निस्क्यो । २६औँ स्टुडियो एल्बम । यसमा ‘वी लिभ इन अ पोलिटिकल वल्ड’ शीर्षकको एउटा गीत छ । उल्थामा, हामी राजनीतिक विश्वमा बाँचेका छौँ । त्यो गीतले तत्कालीन समयको विद्रुप राजनीतिक अवस्थालाई दर्साएको छ । डिलन विम्बको सहारा लिन्छन् । गथ्रीजस्तै सोझै भन्दैनन् डिलन । बिटनिक कविहरूको प्रभावले होला । 

हामी राजनीतिक विश्वमा बाँचेका छौँ
जहा प्रेमलाई ठाउँ छैन
हामी यस्तो समयमा बाँचेका छौँ, जहाँ मान्छे अपराध गर्छ
तर अपराधको कुनै अनुहार भेटिँदैन 

हामी अरू नै विश्वमा बाँचेका छौँ– कसैले भन्न सक्छ । तर, त्यो सत्यको नजिक हुँदैन । हामी राजनीतिक विश्वभन्दा बाहिर बाँच्दैनौँ । हाम्रावरपर दृश्य वा अदृश्य शक्तिमाझ अनवरत घर्षण र संघर्ष छ । परिवारिक तहमा, समुदायको तहमा, राज्यको तहमा, क्षेत्रीय र वैश्विक तहमा । वरपर मात्र होइन, परपर पनि । 

‘दिस ल्यान्ड इज योर ल्यान्ड’गीतको आशय छ– भौगोलिक सिमाना तोकेरै भूमि कुनै एक वर्गको मात्र नभई, सबैको अर्थात् तिम्रो र मेरो पनि हो । भूमिलाई बजारको वस्तु बनाउने वैचारिकीको विपक्षमा छ गीत । त्यसैले गीत खुला बजार अर्थतन्त्रको विरोधमा लेखिएको छ ।

भूमिमै फर्कौं । धेरै स्रोतमा शक्तिको एक स्रोत हो भूमि । इतिहासको अध्ययनबाट थाहा लाग्छ, भूमिमा पहुँच हुनेको शिक्षामा पहुँच हुन्थ्यो । पढेलेखेकैले उनीहरू राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा गए । माखेसाङ्लोजस्तै भूमिले शिक्षा, शिक्षाले सत्ता र सत्ताले एकाधिकारलाई संस्थागत ग-यो । कसैलाई नामेट पार्नु छ भने, भूमिबाट बेदखल गरेपछि केही गर्नै पर्दैन । ऊ स्वतः बहिस्करणमा पर्छ । सस्तोमा श्रम बेच्ने खुला बजारमा पुग्छ । र, त्यसकै दुष्चक्रमा आजन्म फन्फनी रिँगिरहन्छ । यस्तै संरचनाको विपक्षीमा गथ्रीको रचनाले आलोचनात्मक चेतसहित हामीलाई हेर्न आह्वान गर्छ । 

गीतको पाचौँ अनुच्छेद हेरौँ :
जब म हिँड्दै थिएँ मैले बोर्ड देखेँ
बोर्डमा लेखिएको थियो– प्रवेश गर्न मनाही 
तर अर्कोछेउमा त्यस्तो केही लेखिएको थिएन
त्यो छेउ तिम्रो र मेरो निम्ति बनेको हो 

अतिशय भावुकता बिक्ने नेपाली समाजमा बहुसंख्यक गीतहरू माया र पिरतीकै छन्, सुनिनसक्नु । मेरो अल्पज्ञानमा कम्तीमा पनि सतासी प्रतिशत नेपाली गीत माया पिरतीकै वरिपरि घुमिरहेको छ । विरह, बिछोड, निराशा र पीडा पनि माया पिरतीकै सहोदर विषयवस्तु भइहाले । नेपाली गीतको विविधता अत्यन्तै टाक्सिएको छ ।

मायाइतर विषयवस्तुहरू वरपर नभएका पक्कै होइनन् । बरु दृष्टि नभएको हो । बौद्घिक आडम्बर, राजनीतिक विकृति, माओवादी सशस्त्र युद्ध, आममानिसको संघर्ष, पदयात्राको महत्व, असमानताले उत्पन्न गरेको आक्रोश, शिक्षा र स्वास्थ्य क्षेत्रको विकराल समस्या, सामाजिक सञ्जालले निम्त्याएको एक्लोपना, बढ्दो मानवीय अविश्वास, कृत्रिमता, बेरोजगारी, समाजवादउन्मुख अर्थतन्त्रको ओरालो, खाद्य संस्कृति, महिला हिंसा, सांस्कृतिक सम्पदा, पर्यावरण आदि अनेकौँ विषयवस्तु हाम्राअघि छन् । तर, हाम्रा अधिकांश गीत रचनाकार र गायकहरूको दृष्टि त्यतातिर परेकै छैन । 

विद्यमान नेपाली संगीतको विषयवस्तुको साँघुरोपना खिन्नता उब्जाउनेखालको छ । एक दशकै भयो मैले केही संगीतकार, रचनाकारबाहेक अरूलाई नसुनेको । सिनेमाको संगीत त कलाको दर्जामै राख्न नमिल्ने स्तरको छ । नाच्नका लागि लेखेका गीत आँखाको निम्ति मात्र हो । दिक र कालको अगाडि नटिक्ने सिर्जनाहरू । मैले यो लेख्दा केही फरक पर्दैन, तर संगीतको श्रोताको हिसाबले आफ्नो प्रतिबद्घता लेखेको हुँ । 

रैथाने लोकगीत–संगीतप्रतिको पुनर्जागरण, केही लोक रक र प्रयोगधर्मी सांगीतिक समूहहरूले नै नेपाली संगीतलाई जोगाएको छ जस्तो लाग्छ । प्रयोगधर्मी गीत–संगीत आउनु सुखद, तर ती निकै अपर्याप्त छन् । गथ्रीको अन्तरदृष्टिले हाम्रो सांस्कृतिक चेतलाई उन्नत बनाउन सघाउ पु-याउने देख्छु । फेरि पनि हामीलाई चाहिएको अनेकौँ नवराल्फा प्रवृृत्तिहरू हो ।

त्यस्ता प्रवृृत्ति, जसले नछोइएका ताजा विषयवस्तु उठाओस् र गीत सिर्जना गरोस् । मान्छेका संवेदनालाई छोओस् र विचारलाई उद्वेलित गरोस् । अहिलेको नेपालको आर्थिक–सामाजिक सांस्कृतिक र राजनीतिक सन्दर्भअनुकूलका गीतसंगीत प्रस्तुत गरोस् र संगीतको भाषा निर्माण गरोस् । श्रमिक वर्गसँग आफ्ना रचनामार्फत सदैव उभिएको गथ्रीको निम्न भनाइले त्यतापट्टि हेर्न सघाउला कि ?

‘म त्यस्ता गीत रचनालाई घृणा गर्छु, जसले तिमीलाई तिमी कुनै कामको लायक छैन भनेर सम्झाइरहन्छ । म त्यस्ता गीत रचनालाई घृणा गर्छु, जसले पराजित हुनलाई तिमी जन्मेका हौ भन्छ ।

मानौँ तिमी हार्न अभीशप्त छौ । कसैलाई काम नलाग्ने । कसैको भलो गर्न नसक्ने । कारण तिमी बुढो भयौ, वयस्क हुनै बाँकी छ । धेरै मोटो भयो वा धेरै दुब्लो । कुरूप पनि उत्तिकै, आदि इत्यादि कारणहरू । त्यस्ता गीतहरू जसले सधैँ तिमीलाई होच्याउँछ, हाँसोको पात्र बनाउँछ र तिम्रो खराब भाग्य वा कठिन यात्रालाई पराजयको जिम्मेवार मान्छ । 

म त्यस्ता रचनाहरूसँग अन्तिम सास र रगतको थोपा रहुन्जेल लडिरहने छु । म तपाईंहरूको सामुन्ने त्यस्ता गीत गाउन चाहन्छु, जसले तपार्इंलाई यो तपार्इंकै संसार हो भन्ने आभास गराओस् । तपार्इं जुनसुकै रंग, आकार र वर्णको भए पनि यदि समयको असंख्य प्रहार तपाईंमाथि परेको छ भने, म तपाईंको सामुन्ने त्यस्ता रचनाहरू गाउन चाहन्छु, जसले तपाईंलाई आफू र आफ्नो कर्मप्रति गर्व गर्न सघाओस् ।’

 

 

प्रतिकृया दिनुहोस